प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१ pp. ३०-३१
  • येशूले ७० जना चेला पठाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले ७० जना चेला पठाउनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एक चित्त भएका सेवकहरू
  • हाम्रो लागि पाठ
  • आनन्दित खेताला हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१ pp. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

येशूले ७० जना चेला पठाउनुहुन्छ

यो सा.यु. ३२ वसन्त ऋतु अर्थात्‌ येशूको मृत्यु हुनुभन्दा छ महिनाअघिको घटना थियो। यसर्थ, प्रचारकार्यलाई अझ अघि बढाउन अनि आफ्ना अनुयायीहरूलाई थप प्रशिक्षण दिन उहाँले ७० जना चेला नियुक्‍त गर्नुभयो र “तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा पठाउनुभयो।”—लूका १०:१.a

येशू स्वयं पुग्नुहुँदा त्यहाँका मानिसहरूलाई मसीहको पक्ष लिने या नलिने, सो निर्णय गर्न सजिलो होस्‌ भनेर उहाँले “आफूभन्दा अगाड़ि” चेलाहरू पठाउनुभयो। तर उहाँले किन “दुइ दुइ गरी” पठाउनुभएको? स्पष्टतः विरोधको सामना गर्नुपर्दा एकअर्कालाई प्रोत्साहन दिन सकोस्‌ भनेर।

तिनीहरूको प्रचारकार्यको तदारूकताबारे जोड दिंदै येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “फसल ता प्रशस्त छ, तर खेतालाहरू थोरै छन्‌, यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌।” (लूका १०:२) यो कार्यलाई कटनीसित तुलना गर्नु उचित थियो किनभने कटनी गर्दा ढिलासुस्ती गऱ्‍यो भने मूल्यवान्‌ अन्‍नबाली खेर जानसक्थ्यो। त्यसरी नै चेलाहरूले प्रचारकार्यलाई हेलचेक्राइँ गरेको खण्डमा अमूल्य ज्यान जान सक्थ्यो!—इजकिएल ३३:६.

एक चित्त भएका सेवकहरू

येशूले आफ्ना चेलाहरूलाई यस्तो थप निर्देशन दिनुभयो: “नता पैसाको थैली, न झोली, न जुत्ता बोक, औ न कसैलाई बाटोमा सलाम गर।” (लूका १०:४) त्यतिबेला बटुवाहरूले थैली, खानेकुरा मात्र होइन तर एक जोर जुत्ता पनि लैजाने चलन थियो किनभने जुत्ताको तलुवा खिइन वा फित्ता चुँडिनसक्थ्यो। तर येशूका चेलाहरूलाई ती कुराहरूको पीर नगर्नू भनियो। बरु, यहोवाले सँगी इस्राएलीहरूद्वारा तिनीहरूको हेरचाह गर्ने प्रबन्ध मिलाउनुहुनेछ भनी उहाँमा भरोसा राख्दै ढुक्क हुनुपर्नेथियो किनभने ती इस्राएलीहरूको अतिथि सत्कार गर्ने चलन थियो।

तर येशूले किन कसैलाई पनि सलाम नगर भन्‍नुभयो? के तिनीहरू कठोर र रूखो हुनुपर्नेथियो? पटक्कै होइन! सलाम गरेर अंकमाल गर्नु भन्‍ने अर्थ बुझाउने युनानी शब्द आस्पाजोमाइ-ले शिष्टतापूर्वक “नमस्ते” भन्‍नु मात्र बुझाउँदैन। यसमा दुई जना चिनजानको भेटघाट हुँदा चलनचल्तीअनुसार आदानप्रदान गरिने चुम्बन, अंकमाल र लामो कुराकानी पनि समावेश हुनसक्छ। एक टिप्पणीकार यसो भन्छन्‌: “पूर्वीयहरूले सलाम गर्दा हामीले जस्तो अलिकता शिर झुकाउने, हात मिलाउने मात्र गर्दैनथे तर तिनीहरूको कैयन्‌ चोटि अंकमाल गर्ने, भूइँमा घोप्टो पर्ने वा ढोग्ने चलन थियो। यसो गर्न निकै समय लाग्थ्यो।” (२ राजा ४:२९ तुलना गर्नुहोस्‌।) यसरी येशूले आफ्ना चेलाहरूलाई चलनचल्ती मै भए तापनि अनावश्‍यक कुराहरूमा नअलमलिने सल्लाह दिनुभयो।

अन्ततः येशूले आफ्ना चेलाहरूलाई घरभित्र पुगेपछि कसैले तिनीहरूको स्वागत गरेमा “तिनीहरूले दिएका कुराहरू खानपीन गरेर त्यसै घरमा बस” भन्‍नुभयो। तर तिनीहरू पसेको शहरमा राम्रो स्वागत गरेनन्‌ भने “त्यसका गल्लीहरूमा निस्केर” भन्‍नुपर्नेथियो “हाम्रा खुट्टामा टाँसिएको तिमीहरूको शहरको धूलो समेत हामी तिमीहरूको विरूद्धमा पुछ्‌तछौं।” (लूका १०:७, १०, ११) खुट्टाको धूलो टक्टक्याउने वा पुछ्‌ने कार्यले चेलाहरूको कुरा नसुन्‍ने घर वा शहर शान्तपूर्वक छोडेर जे जति परिणाम भोग्नुपर्नेछ त्यो परमेश्‍वरकै हातमा छोडिदिएको देखाउँथ्यो। तर येशूका चेलाहरूलाई दयालु ढंगमा स्वागत गर्नेहरूले आफूलाई आशिष्‌को योग्य बनाइरहेका हुन्थे। येशूले एक चोटि आफ्ना प्रेरितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनेलाई ग्रहण गर्दछ। औ जसले यी सानाहरूमध्ये एउटालाई चेलाको नाउँमा एक कचौरा चिसो पानी मात्र भए पनि पिउन देला, म तिमीहरूलाई साँच्चै भन्दछु, त्यसले कुनै रीतिले त्यसको इनाम गुमाउनेछैन।”—मत्ती १०:४०, ४२.

हाम्रो लागि पाठ

परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने तथा चेला बनाउने आज्ञा अहिले यहोवाका ५०,००,००० भन्दा बढी साक्षीहरूले विश्‍वभरि पालन गरिरहेका छन्‌। (मत्ती २४:१४; २८:१९, २०) तिनीहरूलाई थाह छ, यो सन्देश जरूरी छ। तसर्थ तिनीहरू आफ्नो समयको पूर्ण सदुपयोग गर्दै यस महत्त्वपूर्ण कार्यमा पूरा मन लगाएर अरू कुराहरूमा नअलमलिने प्रयास गर्छन्‌।

यहोवाका साक्षीहरू आफूले भेटे जति सबै मानिसहरूसित मित्रैलो हुन खोज्छन्‌। तर तिनीहरू न बेमतलबको गफ नता सामाजिक विषय वा यस संसारको अन्यायलाई सुल्झाउने असफल प्रयासहरूबारे कुरा गरेर आफ्नो समय खेर फाल्छन्‌। (यूहन्‍ना १७:१६) बरु, मानिसका समस्याहरूको एक मात्र स्थायी समाधान अर्थात्‌ परमेश्‍वरको राज्यमाथि आफ्नो छलफल केन्द्रित गर्छन्‌।

प्रायजसो यहोवाका साक्षीहरू दुई दुई जना गरेर प्रचारकार्यमा लागिरहेका हुन्छन्‌। एक्लै एक्लै गएको भए के बढी काम पूरा हुनेथिएन र? हुन्थ्यो होला। तैपनि आज मसीहीहरूले सँगी विश्‍वासीसित सँगै काम गर्नुको लाभ बुझेका छन्‌। खतरनाक इलाकाहरूमा साक्षी दिंदा त्यसले केही हदसम्म सुरक्षा प्रदान गर्छ। साथै, प्रचारकार्यमा दुई जना सँगै जाँदा नयाँ व्यक्‍तिले सुसमाचारका अनुभवी प्रकाशकहरूबाट सिक्न सक्छन्‌। साँच्चै, दुवैले एकअर्कोलाई प्रोत्साहन दिनसक्छन्‌।—हितोपदेश २७:१७.

निस्सन्देह, यी “आखिरी दिनमा” भइरहेको सबैभन्दा जरूरी कार्य नै यो प्रचारकार्य हो। (२ तिमोथी ३:१) यहोवाका साक्षीहरू विश्‍वव्यापी भ्रातृत्वको सहयोग पाएकोमा खुशी छन्‌ र तिनीहरू “सुसमाचारको विश्‍वासको निम्ति एउटै मनको भई” काम गर्छन्‌।—फिलिप्पी १:२७.

[पादटिप्पणी]

a केही बाइबल तथा पुरातन युनानी हस्तलिपिअनुसार येशूले “बहत्तर जना” चेलाहरू पठाउनुभयो। तथापि, त्यो संख्या “सत्तरी” हुनुपर्छ भनी समर्थन गर्ने यथेष्ट हस्तलिपिहरू उपलब्ध छन्‌। यो पारिभाषिक भिन्‍नताले गर्दा हामी मूल बुँदाबाट अलमलिनु हुँदैन र त्यो हो येशूले प्रचार गर्न आफ्ना चेलाहरूको ठूलो समूह पठाउनुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने