प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१५ pp. २४-२६
  • हरेक मानिस आ-आफ्नो नेभाराको बोटमनि बस्नेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हरेक मानिस आ-आफ्नो नेभाराको बोटमनि बस्नेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दुई बालीको रूख
  • अविश्‍वासी राष्ट्रको चिह्न
  • “नेभाराको रूखबाट . . . सिक”
  • अन्जिरको रूखबाट विश्‍वासबारे पाठ सिकाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • एउटा निर्णायक दिनको प्रारम्भ
    सबैभन्दा महान्‌ पुरुष
  • फल—असल र खराब
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • के तपाईंसित यहोवालाई ‘चिन्‍ने हृदय’ छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१५ pp. २४-२६

हरेक मानिस आ-आफ्नो नेभाराको बोटमनि बस्नेछ

मध्य पूर्वीय मुलुकमा गर्मी महिनाहरूमा छायाको धेरै महत्त्व हुन्छ। घामको किरणबाट छहारी दिने कुनै पनि रूखको र अझ विशेष गरी घरसँगै रूख छ भने त्यो झन्‌ ठूलो मोलको हुन्छ। ठूलठूला चौडा पात र फिंजिएको हाँगा भएको नेभाराको रूखले जत्तिको छहारी यस भेगमा पाइने अरू कुनै पनि रूखले दिंदैन।

प्लान्ट्‌स अफ द बाइबल नामक पुस्तकअनुसार “पालमा भन्दा [नेभाराको रूखको] छहारीमा बस्दा पाइने स्फूर्ति र शीतलता आरामदायी हुन्छ।” पुरातन इस्राएलमा दाखबारीको छेउछाउमा रोपिने नेभाराको बोटले खेतालाहरूलाई एकछिन आराम गर्न उपयुक्‍त ठाउँ प्रदान गर्थ्यो।

गर्मी दिनको अन्तमा परिवारका सदस्यहरू आफ्नो घरको नेभाराको रूखमुनि बसेर आनन्ददायी संगतिको आनन्द उठाउन सक्थे। यसबाहेक, नेभाराको बोटले आफ्नो मालिकलाई प्रशस्त मात्रामा पौष्टिक फल दिन्छ। त्यसकारण राजा सुलेमानको समयदेखि आफ्नै नेभाराको बोटमनि बस्ने भन्‍ने अभिव्यक्‍तिले शान्ति, संवृद्धि र प्रशस्ताको प्रतिनिधित्व गर्थ्यो।—१ राजा ४:२४, २५.

शताब्दीऔंअघि प्रतिज्ञा गरिएको देश ‘नेभाराले भरिएको देश’ भनेर अगमवक्‍ता मोशाले बयान गरे। (व्यवस्था ८:८) बाह्र जना जासुसहरूले त्यहाँको उर्वर भूमिको प्रमाण देखाउन इस्राएली शिविरमा नेभारा र अरू फलहरू ल्याए। (गन्ती १३:२१-२३) उन्‍नाइसौं शताब्दीमा बाइबल देशहरूमा यात्रा गरेका एक जना यात्रुले नेभारा त्यस भेगको सामान्य रूख हो भनी वर्णन गरे। त्यसैकारण त, धर्मशास्त्रमा नेभारा र नेभाराको बोटबारे धेरै चोटि उल्लेख गरिएको छ।

दुई बालीको रूख

नेभाराको रूख जस्तोसुकै माटोमा पनि हुर्कन्छ र यसको एकदमै फिजिने खालको जरा भएको कारण मध्य पूर्वको लामो, सुक्खा गर्मी याममा पनि बाँच्छ। यो रूखले जून महिनामा पनि पहिलो फल दिन्छ र मुख्य बाली चाहिं सामान्यतया अगस्त महिनापछि देखिन थाल्छ। (यशैया २८:४) इस्राएलीहरूले साधारणतया पहिलो बालीलाई पाकेको फलको रूपमा खान्थे। पछिको फलचाहिं वर्षभरिको लागि भनेर सुकाउँथे। सुकेको नेभारा अनि कहिलेकाहीं बदाम मिसाएर रोटी बनाइन्थ्यो। नेभाराका रोटी बनाउन सजिलो, पोषिलो र स्वादिलो हुन्थ्यो।

बुद्धिमान्‌ स्त्री अबीगेलले दाऊदलाई दुई सय नेभाराका डल्ला दिइन्‌। भगुवा जीवन बिताइरहेका दाऊदको लागि यो उपयुक्‍त भोजन होला भन्ठानिन्‌। (१ शमूएल २५:१८, २७) त्यसरी रोटी बनाइएका नेभाराले औषधीको पनि काम गर्छ। राजा हिजकियाहको ज्यान नै खतरामा पारेको पिलोमा सुकेको नेभाराको लेप बनाएर लगाइएको भए तापनि हिजकियाहले स्वास्थ्यलाभ गर्नु वास्तवमा ईश्‍वरीय हस्तक्षेपको कारण नै थियो।a—२ राजा २०:४-७.

पुरातन समयमा भूमध्य सागरको सम्पूर्ण भूभागमा सुकेको नेभाराको धेरै मोल राखिन्थ्यो। राजनीतिज्ञ काटोले रोमी सेनेटलाई कार्थेज विरुद्ध तेस्रो प्युनिक युद्धमा भाग लिन विश्‍वस्त गराउन नेभाराको बोट फरफराए। रोममा सबैभन्दा उन्‍नत सुकेका नेभारा, एसिया माइनरको कारीयाबाट आउँथ्यो। अतः सुकेको नेभाराको ल्याटिन नाउँ नै कारीया हुन गयो। अहिले टर्कीमा पर्ने सोही भेगबाट अझै पनि उन्‍नत गुणस्तरको सुकेको नेभारा उत्पादन गरिन्छ।

इस्राएली किसानहरूले आफ्नो दाखबारीमा अक्सर नेभाराको बोट रोप्थे तर तिनीहरू फलदायी नभएका बोटहरू काट्‌थे। फल नफलाउने बोटको लागि राम्रो भूमि खेर फाल्नु बेकार थियो। फल नफलाउने नेभाराको बोटबारे येशूको दृष्टान्तमा किसानले मालीलाई यसो भन्यो, “हेर, तीन वर्ष भयो, म यस नेभाराको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ, यसलाई काटेर ढालिदे, किन यसले जमीन मात्र बेकम्मा तुल्याउने?” (लूका १३:६, ७) येशूको समयमा फलफूलको बोटमा कर लगाउने भएकोले फल नफलाउने रूख केवल अनावश्‍यक आर्थिक भार हुन्थ्यो।

इस्राएलीहरूको भोजनमा नेभाराको धेरै महत्त्व थियो। त्यसकारण नेभारा धेरै नफल्नुले यहोवाबाट कठोर न्याय भोग्नुलाई संकेत गर्ने हुँदा विपत्तिजनक हुनेथियो। (होशे २:१२; आमोस ४:९) अगमवक्‍ता हबकूकले यसो भने: “चाहे नेभाराको रूखमा फूल नफूलोस्‌, औ दाखको बोटमा फल नफलोस्‌, चाहे भद्राक्षको रूखमा फल नलागोस्‌, औ खेतले अन्‍न नउब्जाओस्‌ . . . भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।”—हबकूक ३:१७, १८.

अविश्‍वासी राष्ट्रको चिह्न

धर्मशास्त्रले कहिलेकाहीं नेभारा वा नेभाराको बोट लाक्षणिक रूपमा प्रयोग गर्छ। उदाहरणका लागि, यर्मियाले यहूदामा निर्वासित विश्‍वासी जनहरूलाई असल नेभाराको डालोसित तुलना गरे, जुन अगौटे फलहरूजस्तै साधारणतया ताजा खाइन्छ। तथापि, निर्वासित भएकाहरूमध्ये अविश्‍वासीहरूलाई नराम्रो नेभारासँग तुलना गरिएको छ जुन खान पनि नहुने भएकोले फाल्नुपर्ने थियो।—यर्मिया २४:२, ५, ८, १०.

फल नफलाउने नेभाराको बोटको दृष्टान्तमा येशूले इस्राएल राष्ट्रप्रति परमेश्‍वरले देखाउनुभएको धीरज प्रकाश पार्नुभयो। सुरुमा पनि उल्लेख गरिएझैं उहाँले आफ्नो दाखबारीमा नेभाराको बोट लगाउने एक जना मानिसबारे बताउनुभयो। त्यो रूखमा फल नफलेको तीन वर्ष भइसकेको थियो र मालिकले त्यो काटेर ढाल्न लागेका थिए। तर मालीले यसो भने: “प्रभु, यसलाई यो एक वर्ष अरू रहनदिनुहोस्‌। म यसको वरिपरि खनेर मल हाल्छु, औ त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाइले त्यसलाई काट्‌नुहोला।”—लूका १३:८, ९.

येशूले यो दृष्टान्त बताउनुहुँदा उहाँले यहूदी राष्ट्रका मानिसहरूबीच विश्‍वास खेती गर्ने प्रयास गर्दै प्रचार गर्न थाल्नुभएको तीन वर्ष भइसकेको थियो। येशूले आफ्नो गतिविधिमा तीव्रता ल्याउनुभएर लाक्षणिक नेभाराको बोटमा अर्थात्‌ यहूदी राष्ट्रमा ‘मल हाल्नुभयो’ र त्यसलाई फल फलाउने अवसर प्रदान गर्नुभयो। तथापि, येशूको मृत्यु हुनुभन्दा एक हप्ताअघि राष्ट्रले नै मसीहलाई तिरस्कार गरेको स्पष्ट भयो।—मत्ती २३:३७, ३८.

येशूले फेरि एक चोटि त्यस राष्ट्रको खराब आध्यात्मिक अवस्था चित्रण गर्न नेभाराको बोटको उदाहरण चलाउनुभयो। उहाँको मृत्यु हुनुभन्दा चार दिनअघि बेथानीबाट यरूशलेमसम्म यात्रा गर्नुहुँदा थुप्रै पातहरू भएको नेभाराको रूख देख्नुभयो तर त्यसमा एउटा पनि फल थिएन। अगौटे नेभाराहरू पातहरूसँगसँगै र कहिलेकाहीं त पात पलाउनुभन्दा अघि नै फल्ने भएकोले यो रूख बेकारको थियो भनेर प्रत्यक्ष भयो।—मर्कूस ११:१३, १४.b

स्वस्थ देखिने फल नफलाउने नेभाराको रूखजस्तै यहूदी राष्ट्रको पनि बाहिरी रूप भ्रामक थियो। तर यसले राम्रो फल फलाएको थिएन र अन्ततः यहोवाको पुत्रलाई समेत इन्कार गऱ्‍यो। फल नफलाउने नेभाराको रूखलाई येशूले सराप दिनुभयो र त्यसको भोलिपल्ट चेलाहरूले त्यो रूख ओइलाउन थालेको याद गरे। यहोवाले चाँडै यहूदीहरूलाई आफ्नो विशेष जातिको रूपमा इन्कार गर्नुहुनेछ भनेर त्यस सुकेको रूखले सही चित्रण गर्छ।—मर्कूस ११:२०, २१.

“नेभाराको रूखबाट . . . सिक”

येशूले आफ्नो आगमनबारे महत्त्वपूर्ण कुरा सिकाउन पनि नेभाराको रूख चलाउनुभयो। उहाँले भन्‍नुभयो: “नेभाराको रूखबाट एउटा उपमा सिक जब त्यसको हाँगा कमलो भएर पातहरू पलाउँछ, तब ग्रीष्म ऋतु आएछ भनी थाह पाउँछौ। त्यसरीनै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब उ नजीकै, ढोकाहरूमै छ भनी जान।” (मत्ती २४:३२, ३३) नेभाराको उज्यालो हरियो रंग झट्टै देखिन्छ र पक्कै पनि गर्मी मौसमको चिह्न हो। त्यस्तै गरी, मत्ती अध्याय २४, मर्कूस अध्याय १३, र लूका अध्याय २१ मा लिपिबद्ध येशूका महान्‌ भविष्यवाणीले स्वर्गीय राज्य शक्‍तिमा उहाँको आगमन भइसकेको कुरालाई स्पष्टसित देखाउँछ।—लूका २१:२९-३१.

हामी इतिहासको एकदमै निर्णायक मोडमा बाँचिरहेको हुँदा नेभाराको रूखबाट अवश्‍य पाठ सिक्न चाहन्छौं। पाठ सिकेर आध्यात्मिक तवरमा सजग रह्‍यौं भने हामीले महान्‌ प्रतिज्ञा पूरा भएको हेर्ने आशा गर्न सक्छौं: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”—मीका ४:४.

[फुटनोटहरू]

a उन्‍नाइसौं शताब्दीको बीचतिर बाइबल देशहरूमा यात्रा गरेका प्रकृतिविद्‌ एच. बि. ट्रिसट्रामले स्थानीय मानिसहरूले पिलोको उपचार गर्न अझै नेभाराको लेप प्रयोग गर्ने गरेको टिप्पणी गरे।

b यो घटना बेथफागे भन्‍ने गाउँ नजिकै भएको थियो। यसको अर्थ “अगौटे नेभाराको घर” हो। यसले यो इलाका अगौटे नेभाराहरू प्रशस्त पाइने ठाउँको लागि प्रख्यात थियो भनी संकेत गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने