प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ८३ p. १९४-p. १९५ par. १
  • रात्रिभोजको निम्तो—परमेश्‍वर कसलाई निम्तो दिनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रात्रिभोजको निम्तो—परमेश्‍वर कसलाई निम्तो दिनुहुन्छ?
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • एक जना फरिसीले उहाँको आतिथ्य गर्छ
    सबैभन्दा महान्‌ पुरुष
  • के तिमी सधैं पहिलो हुन चाहन्छौ?
    महान्‌ शिक्षकबाट सिकौं
  • विवाह भोजको दृष्टान्त
    सबैभन्दा महान्‌ पुरुष
  • राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन्‌
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ८३ p. १९४-p. १९५ par. १
गरिब, अपाङ्‌ग, लुला-लङ्‌गडा र अन्धा मानिसहरू भव्य रात्रिभोजमा आउँछन्‌

अध्याय ८३

रात्रिभोजको निम्तो—परमेश्‍वर कसलाई निम्तो दिनुहुन्छ?

लुका १४:७-२४

  • नम्रताको पाठ

  • निम्तालुहरू बहाना बनाउँछन्‌

येसु अझै ती फरिसीकै घरमा हुनुहुन्छ, जहाँ उहाँले जलोदर भएको मानिसलाई निको पार्नुभएको छ। येसु त्यहाँ अरू निम्तालुहरूले मुख्यमुख्य आसन रोजिरहेको देख्नुहुन्छ र उहाँ यस मौकामा नम्रताको पाठ सिकाउनुहुन्छ।

येसु भन्‍नुहुन्छ: “कसैले तिमीलाई विवाहभोजमा निम्त्याउँदा अगाडि गएर सबैभन्दा मुख्य आसनमा नबस। सायद तिमीभन्दा पनि प्रतिष्ठित मानिसलाई त्यहाँ निम्त्याइएको हुन सक्छ। अनि तिमीहरू दुवैलाई निम्त्याउने मानिस आएर तिमीलाई यसो भन्‍नेछ: ‘उहाँलाई यो ठाउँ छोडिदिनुहोस्‌।’ अनि तिमी लाजले भुतुक्क हुँदै सबैभन्दा पछाडि गएर बस्नुपर्नेछ।”—लुका १४:८, ९.

त्यसपछि येसु यसो भन्‍नुहुन्छ: “तिमीले निम्तो पाउँदा गएर सबैभन्दा पछाडि बस अनि तिमीलाई निम्तो दिने मानिस आएर तिमीलाई भन्‍नेछ: ‘मित्र, गएर अगाडि बस्नुहोस्‌।’ तब त्यहाँ भएका सबै पाहुनाको अगाडि तिम्रो इज्जत हुनेछ।” यसो गर्नु भनेको शिष्टाचार देखाउनु मात्र त होइन। उहाँ अझै भन्‍नुहुन्छ: “किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।” (लुका १४:१०, ११) हो, उहाँ आफ्ना श्रोताहरूलाई नम्र हुन प्रोत्साहन दिँदै हुनुहुन्छ।

त्यसपछि उहाँ आफूलाई निम्तो दिने फरिसीलाई पनि अर्को एउटा महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ। उहाँ तिनलाई परमेश्‍वरबाट इनाम पाउनेगरि कसरी भोज दिने भनी बताउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “तिमीले दिउँसो वा बेलुकी कसैलाई खान बोलाउँदा आफ्ना साथीहरू, दाजुभाइहरू, नातेदारहरू वा धनी छिमेकीहरूलाई नबोलाऊ। किनकि तिनीहरूले पनि तिमीलाई कुनै बेला खान बोलाउलान्‌ र हिसाबकिताब बराबर हुनेछ। तर तिमीले भोज दिँदा गरिबहरू, अपाङ्‌गहरू, लुला-लङ्‌गडाहरू र अन्धाहरूलाई निम्तो देऊ र तिमी आनन्दित हुनेछौ किनकि त्यसको साटो तिर्न तिनीहरूसित केही पनि हुँदैन।”—लुका १४:१२-१४.

साथीहरू, नातेदारहरू वा छिमेकीहरूलाई भोजको निम्तो दिनु स्वाभाविकै हो र येसुले पनि त्यसो गर्नु गलत हो भन्‍न खोज्नुभएको होइन। तर उहाँ गरिबहरू, अपाङ्‌गहरू वा अन्धाहरूलाई खानाको प्रबन्ध गरिँदिदा त्यसबाट ठूलो इनाम प्राप्त हुन्छ भनेर जोड दिनुहुन्छ। येसु आफूलाई निम्तो दिने फरिसीलाई भन्‍नुहुन्छ: “धर्मीहरू फेरि जीवित हुँदा तिमीले त्यसको इनाम पाउनेछौ।” निम्तालुहरूमध्ये एक जनाले उहाँको कुरामा सहमति जनाउँदै यसो भन्छ: “आनन्दित हो त्यो मानिस, जसले परमेश्‍वरको राज्यमा भोजन गर्नेछ।” (लुका १४:१५) उसले यो कत्ति ठूलो सुअवसर हो भनेर बुझेको छ। तर सबैले त्यस्तो कृतज्ञता देखाउँदैनन्‌, जुन कुरा येसुले अब भन्‍नुहुने कुराबाट प्रस्ट हुन्छ:

“एक जना मानिसले भव्य रात्रिभोज तयार गऱ्‍यो र धेरैलाई निम्तो दियो। . . . उसले आफ्नो दासलाई निम्तालुहरूकहाँ यसो भन्‍न पठायो: ‘आउनुहोस्‌, सबै कुरा तयार भइसक्यो।’ तर तिनीहरू सबका सबले बहाना बनाउन थाले। पहिलोले उसलाई भन्यो: ‘मैले एउटा खेत किनेकोले त्यो हेर्न जानु छ। त्यसैले माफ गर्नुहोस्‌, म आउन सक्दिनँ।’ अर्कोले भन्यो: ‘मैले पाँच हल गोरु किनेकोले ती हेर्न जाँदै छु। त्यसैले माफ गर्नुहोस्‌, म आउन सक्दिनँ।’ अर्कोचाहिँले भन्यो: ‘मैले भर्खरै विवाह गरेँ। त्यसैले म आउन सक्दिनँ।’”—लुका १४:१६-२०.

कस्तो बहानाबाजी! साधारणतया खेत वा गाईवस्तु किन्‍नुअघि नै राम्ररी हेरिन्छ; किनिसकेपछि हेर्नु जरुरी हुँदैन। उदाहरणको तेस्रो मानिसको विवाह भइसकेको छ। त्यसैले ऊ अहिले विवाहको तयारी गरिरहेको छैन। उसले त्यो विशेष निम्तो अस्वीकार गर्नुपर्ने कुनै कारण छैन। यस्ता बहानाहरू सुनेर मालिक अत्यन्तै रिसाउँछन्‌ र आफ्नो दासलाई यसो भन्छन्‌:

“तुरुन्तै मूलबाटो र सहरका गल्लीहरूमा जाऊ अनि गरिबहरू, अपाङ्‌गहरू, अन्धाहरू र लुला-लङ्‌गडाहरूलाई यहाँ ल्याऊ!” त्यस दासले मालिकले भनेअनुसारै गर्छ। तर अझै पनि ठाउँ बाँकी हुन्छ। त्यसैले मालिक त्यो दासलाई यसो भन्छन्‌: “सडकसडकमा र गल्लीगल्लीमा जाऊ अनि मानिसहरूलाई आउन कर गर ताकि मेरो घर भरियोस्‌। म तिमीलाई भन्छु, निम्तालुहरूमध्ये कसैले पनि मैले दिएको भोज चाख्न पाउनेछैन।”—लुका १४:२१-२४.

येसुले भर्खरै भन्‍नुभएको यस कुराबाट यहोवा परमेश्‍वरले कसरी येसु ख्रिष्टलाई मानिसहरूलाई स्वर्गको राज्यको भाग हुने निम्तो दिन लगाउनुभयो भन्‍ने कुरा प्रस्ट हुन्छ। सबैभन्दा पहिला यहुदीहरू, विशेषगरि धर्मगुरुहरूले निम्तो पाए। तर तिनीहरूमध्ये धेरैजसोले येसुले आफ्नो सेवाको दौडान दिनुभएको निम्तो स्विकारेनन्‌। तर तिनीहरूको सट्टा अरूलाई निम्तो दिइने थियो। भविष्यमा यहुदी राष्ट्रका नम्र व्यक्‍तिहरूलाई र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई दोस्रो निम्तो दिइनेछ भनेर येसुले प्रस्ट रूपमा सङ्‌केत गर्दै हुनुहुन्छ। त्यसपछि तेस्रो अर्थात्‌ अन्तिम निम्तो त्यस्ता व्यक्‍तिहरूलाई दिइने थियो, जसलाई यहुदीहरू परमेश्‍वरको नजरमा अयोग्य ठान्छन्‌।—प्रेषित १०:२८-४८.

हो, येसुले भन्‍नुभएका यी कुराहरूले निम्तालुहरूमध्ये एक जनाले भनेको यो कुरा सोह्रै आना सही हो भनेर पुष्टि गर्छ: “आनन्दित हो त्यो मानिस, जसले परमेश्‍वरको राज्यमा भोजन गर्नेछ।”

  • येसु नम्रताको सन्दर्भमा कस्तो पाठ सिकाउनुहुन्छ?

  • निम्तो दिने फरिसीले परमेश्‍वरबाट इनाम पाउनेगरि कसरी भोज दिन सक्छन्‌ र यसो गर्दा तिनी किन आनन्दित हुन सक्छन्‌?

  • रात्रिभोजसम्बन्धी उदाहरणमा येसु कुन कुरालाई जोड दिन खोज्दै हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने