ईश्वरीय शिक्षाका फाइदाहरूको आनन्द उठाउनुहोस्
“म [यहोवा] तेरा परमेश्वर हुँ, जसले तेरो फाइदाको निम्ति तँलाई सिकाउँछ।”—यशैया ४८:१७.
सर्वोत्तम कुरा के हो, त्यो यहोवालाई थाहा छ। विचार, वचन वा काममा कसैले उहाँलाई उछिन्न सक्दैन। हाम्रो सृष्टिकर्त्ता हुनुभएकोले उहाँले हाम्रा आवश्यकताहरूलाई बुझ्नुहुन्छ र प्रशस्त मात्रामा पूरा पनि गर्नुहुन्छ। हामीलाई कसरी सिकाउनु पर्ने हो त्यो उहाँलाई राम्ररी थाहा छ। हामीले ईश्वरीय शिक्षालाई अपनायौं भने हामी लाभान्वित हुन्छौं र साँचो आनन्दको अनुभव गर्छौं।
२ आफ्ना सेवकहरू विपत्तिबाट जोगिऊन्, परमेश्वरको व्यवस्था अनि सिद्धान्तअनुरुप चलून् र यसप्रकार आफ्नो जीवनको आनन्द उठाऊन् भनी परमेश्वरको उत्कट इच्छा छ भनेर ईश्वरीय शिक्षाले प्रकट गर्छ। यहोवाका प्राचीन जनहरूले उहाँका कुराहरू सुनेका भए थुप्रै आशिषहरूको आनन्द उठाउने थिए। किनभने उहाँले तिनीहरूलाई यसो भन्नुभएको थियो: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरा फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोर्याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!”—यशैया ४८:१७, १८.
३ परमेश्वरका प्राचीन सेवकहरूले उहाँको आज्ञा र निर्देशनहरूमाथि ध्यान दिएको भए तिनीहरूकै हित हुनेथियो। बेबिलोनीहरूको हातबाट विपत्ति भोग्नुको सट्टा तिनीहरूले नदीझैं गहन, चिरस्थायी अनि प्रशस्त मात्रामा शान्ति र समृद्धिको उपभोग गर्ने थिए। यस बाहेक तिनीहरूका धार्मिक कार्यहरू समुद्रको छालझैं असङ्ख्य हुने थिए। त्यस्तैगरि हामीले पनि आफ्नो जीवनमा ईश्वरीय शिक्षा पालन गऱ्यौं भने त्यसका थुप्रै फाइदाहरू उठाउन सक्नेछौं। यी फाइदाहरूमध्ये केही के हुन् त?
यसले जीवन परिवर्तन गर्छ
४ मानिसको जीवनमा राम्रो परिवर्तन ल्याएर ईश्वरीय शिक्षाले धेरैको हित गरिरहेको छ। यहोवाको निर्देशन पालन गर्ने जतिले अनैतिक आचरण, मूर्तिपूजा, प्रेतवाद, कलह र डाह जस्ता “शरीरका कामहरू”-मा भाग लिन छाड्छन्। बरु, तिनीहरू प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता र संयम जस्ता आत्माको फल प्रदर्शित गर्छन्। (गलाती ५:१९-२३) तिनीहरूले एफिसी ४:१७-२४ मा उल्लिखित पावलका शब्दहरू पनि ध्यान दिन्छन्। त्यहाँ उनले आफ्ना सङ्गी विश्वासीहरूलाई अन्यजातिहरूझैं आफ्नो मनको व्यर्थता, अज्ञानताको अन्धकार, परमेश्वरबाट बिराना भएका जीवनअनुसार नहिंड्न आग्रह गर्छन्। ख्रीष्टको अनुकरण गर्ने व्यक्तिहरू मूर्ख हृदयअनुसार चल्दैनन् बरु ‘अघि अघिको आचरणअनुसार, छलको लालसाबमोजिम भ्रष्ट भएर जाने पुरानो मनुष्यत्वलाई त्याग्छन्।’ तिनीहरूले ‘नयाँ मनुष्यत्वलाई धारण गर्छन् जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।’
५ ईश्वरीय शिक्षालाई प्रयोगमा ल्याउँदा यसले मानिसहरूलाई परमेश्वरसित हिंड्ने तरिका सिकाउँछ। ईश्वरीय शिक्षाको यो एउटा फाइदा हो। नूह जस्तै हामी यहोवासित हिंड्ने गऱ्यौं भने, हाम्रा महान शिक्षकले देखाउनु भएको बाटोमा हामी हिंड्नेछौं। (उत्पत्ति ६:९; यशैया ३०:२०, २१) पावलले भनेझैं अन्यजातिका मानिसहरू आफ्नो “मनको व्यर्थतामा हिड्छन्।” अनि त्यस्ता मनका केही लेखहरू वास्तवमा कति व्यर्थका छन्! पोम्पे शहरको पर्खालमा लेखिएका कुराहरूबारे एक दर्शकले यसो भने: “सम्झेर ल्याउँदा छक्क पर्छु, ए पर्खाल, तिमी आफूमाथि कोरिएका यति धेरै निरर्थक कुराहरूको बोझले अझसम्म ढलेका छैनौ।” तर “[यहोवाको] शिक्षामा” कुनै निरर्थकता छैन र यसले राज्य प्रचार कार्यलाई सम्भव बनाउँछ। (प्रेरित १३:१२) सत्य रुचाउने मानिसहरूले यही कामद्वारा बुद्धिमानीपूर्वक चल्ने मदत पाइरहेका छन्। परमेश्वरको उद्देश्यबारे अज्ञान भएर पापपूर्ण मार्गहरूमा चल्नदेखि कसरी अलग बस्ने भनी सिकाइँदैछ। तिनीहरूको मानसिक अवस्था अब अन्धकारमा छैन नता तिनीहरूलाई मूर्खता भरिएको हृदयले निरर्थक लक्ष्यहरू तर्फ जान उक्साउँछ।
६ ईश्वरीय शिक्षाले हामीलाई यहोवा अनि उहाँका व्यवहारहरूसित परिचित गराउँछ। यो पनि ईश्वरीय शिक्षाको फाइदा हो। यसप्रकारको ज्ञानले हामीलाई परमेश्वरको नजिक लैजान्छ, उहाँप्रति हाम्रो प्रेम अनि उहाँको आज्ञा पालन गर्ने हाम्रो इच्छालाई बढाउँछ। पहिलो यूहन्ना ५:३-ले यसो भन्छ: “हामीले उहाँको आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्।” हामी येशूका आज्ञाहरू पनि पालन गर्छौं किनभने हामीलाई थाहा छ, उहाँका शिक्षाहरू परमेश्वरबाट आएका हुन्। (यूहन्ना ७:१६-१८) यस्तो आज्ञा पालनले हामीलाई आध्यात्मिक हानिदेखि बचाउँछ अनि हाम्रो आनन्दलाई बढाउँछ।
जीवनको साँचो उद्देश्य
७ हाम्रो जीवनलाई उद्देश्यपूर्ण ढङ्गमा व्यतित गर्ने सम्बन्धमा पनि यहोवाको शिक्षा फाइदाजनक छ। वास्तवमा भन्ने हो भने, ईश्वरीय शिक्षाले हाम्रो जीवनका दिनहरूलाई एउटा विशेष ढङ्गमा गन्न सिकाउँछ। सत्तरी वर्ष लामो जीवनकालमा लगभग २५,५५० दिन हुन्छ। पचास वर्ष पुगेको व्यक्तिले १८,२५० दिन खर्च गरिसकेको हुन्छ र आशा गरेअनुसार बाँकी भएको ७,३०० दिन अति नै कम देख्न सकिन्छ। अब भने अगमवक्ता मोशाले भजनसंग्रह ९०:१२-मा परमेश्वरसित गरेको यस प्रार्थनाको भावलाई उसले अझ पूर्ण रूपमा बुझ्न सक्छ: “यसकारण हामीले आफ्नो दिन गनेर बस्न हामीलाई सिकाउनुहोस्, र हामीले बुझ्ने हृदय पाऔं।” तर मोशाको भनाइको तात्पर्य के थियो?
८ प्रत्येक इस्राएलीको जीवनकालमा ठीक कति दिन हुनेछ सो परमेश्वरले बताइ दिनुहुनेछ भनी मोशाले भन्न खोजेका होइनन्। बरु, एउटा जीवनकाल करीब ७० वा ८० वर्ष मात्र लामो होला भनेर ती हिब्रू अगमवक्ताले स्वीकार्दै थिए। यो कुरा हामी भजनसंग्रह ९०-को ९ र १० पदहरूबाट बुझ्छौं। अतः भजनसंग्रह ९०:१२ अनुसार, मोशा र उनका मानिसहरूले बुद्धिमत्तापूर्वक ‘आफ्ना दिनहरूको’ मोल गर्न र परमेश्वरलाई प्रसन्न पार्ने ढङ्गमा तिनको प्रयोग गर्न यहोवाले तिनीहरूलाई सिकाउन् भनेर मोशाले प्रार्थनाद्वारा बिन्ती गरेको हुनुपर्छ। तर हाम्रो विषयमा नि? के हामी पनि प्रत्येक मूल्यवान दिनको मोल गर्छौं? के हामीले प्रत्येक दिन हाम्रो महान शिक्षकको महिमाका लागि प्रयोग गर्न खोजेर आफूमा बुद्धिले भरिएको हृदय बनाउँदैछौं? ईश्वरीय शिक्षाले हामीलाई त्यसो गर्न मदत दिनेछ।
९ हामीले यहोवाको महिमाका लागि आफ्ना दिनहरू गन्न सिक्यौं भने सम्भवतः हामी सधैंभरि गन्न सक्नेछौं किनभने ईश्वरीय शिक्षाले अनन्त जीवनको ज्ञान दिन्छ। येशूले यसो भन्नु भयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) हामीले संसारभरिको ज्ञान आर्जन गरे तापनि त्यसले हामीलाई अनन्त जीवन दिंदैन। तर सारा ब्रह्माण्डका सबैभन्दा महान दुई मुख्य व्यक्तिहरूबारे सही ज्ञान हासिल गरेर त्यसलाई प्रयोगमा ल्यायौं अनि साँच्चै नै विश्वास गऱ्यौं भने मात्र हामीले अनन्त जीवन पाउन सक्छौं।
१० अतः हामीले आफ्नो जीवनमा जतिसुकै समय बिताइसकेका किन नहोऔं ईश्वरीय शिक्षाको यस उल्लेखनीय फाइदालाई कहिल्यै नबिर्सौं: ईश्वरीय शिक्षा पालन गर्नेलाई यसले जीवनमा एउटा साँचो उद्देश्य प्रदान गर्छ। द वर्ल्ड बुक इनसाइक्लोपिडिया यसो भन्छ: “शिक्षाले मानिसहरूलाई समाजका लाभकारी सदस्यहरू बनाउनु पर्ने हो। शिक्षाले मानिसहरूलाई आफ्नो सांस्कृतिक सम्पदाको मूल्याङ्कन गर्न र अझ सन्तृप्त जीवन बिताउन मदत दिनु पर्ने हो।” सन्तृप्त जीवन बिताउन मदत दिने सम्बन्धमा ईश्वरीय शिक्षा फाइदाजनक छ। यसले परमेश्वरका जनहरूको हैसियतमा हामीले पाएका आध्यात्मिक सम्पदाको गहिरो मूल्याङ्कन गर्न सहायता दिन्छ। अनि अवश्य यसले हामीलाई समाजका लाभकारी सदस्यहरू पनि बनाउँछ किनभने यसले संसारभरिका मानिसहरूका आवश्यकताहरू पूरा गर्ने काममा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मदत दिन्छ।
विश्वव्यापी शिक्षण कार्यक्रम
११ ईश्वरीय शिक्षाले जस्तो अरू कुनै शैक्षिक कार्यक्रमले मानिसहरूको शैक्षिक आवश्यकतालाई पूरा गर्न सक्दैन। संयुक्त राज्यका तेस्रो राष्ट्रपति हुन पुगेका थोमस जेफरसनले पनि मानिसहरूलाई शिक्षा दिने आवश्यकताको महत्त्वलाई बुझेका थिए। स्वतन्त्रताको घोषणामा हस्ताक्षर गर्ने आफ्नो मित्र जर्ज वीथलाई अगस्त १३, १७८६-मा लेखेको पत्रमा जेफरसनले यसो भने: “मेरो विचारमा, हाम्रो संविधानको सबैभन्दा महत्त्वपूर्ण ऐन नै मानिसहरूमा ज्ञान फैलाउनु हो। स्वतन्त्रता र आनन्दको संरक्षणका लागि योभन्दा बलियो जग बसाल्न सकिंदैन। . . . प्रचार गर्नुहोस्, मेरो प्रिय मित्र, अज्ञानताको विरुद्धमा जोडतोडका साथ अभियान चलाउनुहोस्; जनसाधारणलाई शिक्षित बनाउने नियमहरू स्थापना गर्नुहोस्, त्यसमा उन्नति गर्नुहोस्। मानिसहरूलाई अज्ञानतामै छाड्दा हामीमाथि हैकम चलाउन खडा हुनसक्ने राजाहरू, पूजाहारीहरू र प्रधानहरूलाई दिइने करभन्दा अहिले [शिक्षाको लागि] दिइने कर हजारको एक भाग बराबर पनि छैन भनी हाम्रा देशवासीहरूले थाहा पाऊन्।”
१२ धार्मिक झुकाव भएका मानिसहरूलाई अज्ञानतामा छाड्नुको सट्टा यहोवाको शिक्षाले तिनीहरूकै हितका लागि विश्वव्यापी शिक्षाको उत्तम कार्यक्रमको प्रबन्ध गर्छ। करीब ५० वर्षअघि दोस्रो विश्व युद्ध मच्चिरहेकै बेलामा पनि यु०एस० कमिटी अन एडुकेसनल रिकन्सट्रकसनले “विश्वव्यापी शैक्षिक” अभियान चलाउने ठूलो आवश्यकता देख्यो। त्यो आवश्यकता आज पनि यथावतै छ। तर त्यस विश्वव्यापी शैक्षिक अभियान चलाउने एकमात्र सफल कार्यक्रम ईश्वरीय शिक्षा हो। यो कार्यक्रम यस कारणले पनि अझ फाइदाजनक छ, यसले मानिसहरूको निराशालाई हटाउँछ, तिनीहरूको नैतिक र आध्यात्मिक स्तरलाई उकास्छ, संसारको अहङ्कार र पूर्वाग्रहबाट जोगाउँछ र अनन्त जीवनका लागि ज्ञान प्रदान गर्छ। सबैभन्दा ठूलो कुरा यस कार्यक्रमले सबै ठाउँका मानिसहरूलाई महान शिक्षक, यहोवा परमेश्वरको सेवा गर्न सिकाउँछ।
१३ सत्य सिकेर भर्खर यहोवाका उपासकहरू भएका असङ्ख्य मानिसहरूले ईश्वरीय शिक्षाको फाइदा उठाइरहेका छन्। तिनीहरू आफ्ना आध्यात्मिक आवश्यकताहरूबारे चेतनशील छन् र यहोवाको दिन नजिकै छ भनी राम्ररी जान्दछन्। (मत्ती ५:३; १ थिस्सलोनिकी ५:१-६) आज यी “पछिल्ला दिनहरूमा” सबै राष्ट्रबाट आउने ती मानिसहरू यहोवाको पर्वत अर्थात् उहाँको शुद्ध उपासनाका लागि ओइरिरहेका छन्। परमेश्वरको इच्छाको विपरीत गरिने हरेक उपासनाभन्दा यो उपासना उच्च र पक्कासँग स्थापित भएको छ। (यशैया २:२-४) यदि तपाईं यहोवाको समर्पित साक्षी हुनुहुन्छ भने उहाँको उपासना गर्ने यो बढ्दो भीडमा सामेल भएर ईश्वरीय शिक्षाबाट लाभ उठाउन पाएकोमा के तपाईं खुसी हुनु हुन्न र? “परमप्रभुको प्रशंसा गर!” भनेर हर्षोल्लासका साथ घोषणा गर्ने भीडको माझमा हुनु पाउनु साँच्चै नै कति राम्रो कुरा हो!—भजनसंग्रह १५०:६.
हाम्रो मनोभावमा फाइदाजनक प्रभाव
१४ ईश्वरीय शिक्षाका थुप्रै फाइदाहरूमध्ये एउटा फाइदा, हाम्रो सोचाइ अनि मनोभावमाथि यसले पार्न सक्ने राम्रो असर हो। यसले हामीलाई सच्चा, चोखा, सद्गुणी अनि प्रशंसनीय कुरा सोच्न लगाउँछ। (फिलिप्पी ४:८) यहोवाको शिक्षाले हामीलाई पावलको यो सल्लाह पालन गर्न मदत गर्छ: “खराबीमा बालकहरू होओ, तर समझमा मानिस होओ।” (१ कोरिन्थी १४:२०) हामीले यो सल्लाह पालन गऱ्यौं भने खराबीको ज्ञान खोज्नेछैनौं। पावलले यो पनि लेखे: “सबै तीतोपना, क्रोध, रीस, हो-हल्ला, सारा वैर-भाव [सबै खराबीसँगसँगै] तिमीहरूबाट त्यागिओस्।” (एफिसी ४:३१) यस्तो सल्लाह पालन गर्नाले त्यसले हामीलाई अनैतिकता र अन्य गम्भीर पापहरूदेखि टाढा बस्न मदत गर्नेछ। अझ विशेषगरि, शारीरिक र मानसिक रूपमा फाइदाजनक हुनुको साथै हामीले परमेश्वरलाई प्रसन्न पारिरहेका छौं भनेर थाहा पाउँदा यसले हामीलाई आनन्द दिनेछ।
१५ विचारमा सद्गुणी भइरहने हो भने, हामीले गर्नु पर्ने एउटा काम ‘भला चाल-चलन बिगार्ने खराब सङ्गत’ देखि टाढा बस्नु हो। (१ कोरिन्थी १५:३३) मसीहीहरू भएर हामी व्यभिचारी, परस्त्रीगामी र अरू कुकर्मीहरूसँग सम्बन्ध गाँस्ने छैनौं। कामुक आनन्दको लागि त्यस्ता व्यक्तिको वृतान्त पढ्नु वा टेलिभिजन, चलचित्रहरू हेरेर त्यस्ता व्यक्तिसित सम्बन्ध गाँस्नदेखि टाढा बस्नु पनि तर्कसङ्गत कुरा हो। हाम्रो हृदय छली हुन्छ र सजिलैसँग खराब कुराहरूप्रति इच्छा जागृत हुनसक्छ अनि त्यसो गर्न प्रलोभित हुनसक्छ। (यर्मिया १७:९) त्यसकारण ईश्वरीय शिक्षा पालन गरेर त्यस्ता प्रलोभनहरूदेखि हामी टाढा बसौं। “यहोवालाई प्रेम गर्नेहरू”-को सोचाइलाई “खराबीको घृणा” गर्ने स्थितिसम्म पुऱ्याएर यसले फाइदा गर्नसक्छ।—भजनसंग्रह ९७:१०.
१६ आफ्नो सहकर्मी तिमोथीलाई पावलले यसो भने: “प्रभु तिम्रो आत्मासँग रहून्। तिमीलाई अनुग्रह मिलोस्।” (२ तिमोथी ४:२२) तिमोथी र अरू मसीहीहरूलाई उत्प्रेरित गर्ने आत्मालाई परमेश्वरले प्रभु येशू ख्रीष्ट मार्फत् अनुमोदित गरून् भनी प्रेरित पावल चाहन्थे। मायालु, दयालु र नम्र मनोभाव प्रकट गर्न परमेश्वरको शिक्षाले हामीलाई मदत गर्छ। (कलस्सी ३:९-१४) अनि आखिरी दिनमा धेरैले देखाएको मनोभावभन्दा यो कति भिन्न छ! तिनीहरू हठी, बैगुणी, स्वाभाविक प्रेमरहितका, अर्कालाई दोष लाउने, दिमागी, सुख-विलास निको मान्ने र ईश्वरीय भक्तिविहीन छन्। (२ तिमोथी ३:१-५) जसै हामी आफ्नो जीवनमा ईश्वरीय शिक्षाका फाइदाहरूलाई प्रयोग गर्छौं, परमेश्वर र सह-मानवहरूप्रति हामीलाई प्रिय बनाउने मनोभाव हामी प्रकट गर्नेछौं।
मानव सम्बन्धहरूमा फाइदाजनक
१७ ईश्वरीय शिक्षाले हामीलाई सङ्गी उपासकहरूबीच विनम्र सहयोगको भावना राख्दा हुने फाइदाहरू बुझ्न मदत गर्छ। (भजनसंग्रह १३८:६) आजका अधिकांश मानिसहरूको विपरीत हामी धार्मिक सिद्धान्तहरू उल्लङ्घन गर्दैनौं अनि अरूसँग एकोहोरो जिद्दी गर्दैनौं। उदाहरणको लागि मण्डलीमा नियुक्त गरिएका निरीक्षकहरू प्राचीनहरूको सभामा हुने छलफलमा सहमत हुन राजी भएकोले थुप्रै राम्रा परिणामहरू हुन्छन्। सच्चाइको खातिर यिनीहरू शान्तपूर्वक कुरा गर्छन् अनि तार्किक वा विखण्डन गर्ने कुराहरूलाई भावनाले जित्ने मौका दिंदैनन्। हामीले ईश्वरीय शिक्षा पालन गऱ्यौं भने मण्डलीका सबैले एकताको आत्माको आनन्द उठाउनेछन्।—भजनसंग्रह १३३:१-३.
१८ सङ्गी विश्वासीहरूप्रति उचित दृष्टिकोण राख्न पनि ईश्वरीय शिक्षा फाइदाजनक छ। येशूले भन्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन।” (यूहन्ना ६:४४) विशेषगरि १९१९ देखि यहोवाले आफ्ना सेवकहरूलाई न्यायको घोषणा गर्न लगाउनुभयो। यस्तो विश्वव्यापी चेतावनीले शैतानको सांसारिक रीतिरिवाजलाई हल्लाइरहेको छ। यसको साथै ईश्वरभीरू मानिसहरू अर्थात् “धन-सम्पत्तिहरू” राष्ट्रहरूबाट अलग हुन अनि अभिषिक्त मसीहीहरूसित यहोवाको उपासना भवनलाई महिमाले भर्ने काममा भाग लिन परमेश्वरतर्फ खिंचिएका छन्। (हग्गै २:७) परमेश्वरले खिंच्नुभएका त्यस्ता धन-सम्पत्तिहरूलाई हामीले प्रिय सङ्गीको रूपमा अवश्य हेर्नुपर्छ।
१९ हामीहरू सबै असिद्ध भएको हुँदा निस्सन्देह समस्याहरू खडा हुनेछन्। पावलले आफ्नो दोस्रो मिसिनरी यात्रा शुरु गर्न लाग्दा बर्णाबासले मर्कूसलाई आफूसँगै लाने दृढ निश्चय गरे। तर पावल सहमत भएनन् किनभने मर्कूस “प्याम्फिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, औ तिनीहरूका साथ काममा गएका थिएनन्।” यही कुरालाई लिएर “चर्को मतभेद” भयो। बर्णाबासले मर्कूसलाई लिएर साइप्रसतर्फ र पावल चाहिं सिलाससित सिरिया अनि सिलिसियाभरि गए। (प्रेरित १५:३६-४१) तर पछि तिनीहरूबीचको फाटो स्पष्टतः अन्त भयो। किनभने रोममा मर्कूस पावलसँगै थिए र पावलले तिनको विषयमा राम्रो टिप्पणी गरे। (कलस्सी ४:१०) ईश्वरीय शिक्षाको एउटा फाइदा के पनि हो भने, यसले हामीलाई मसीहीहरूबीचको आपसी मतभेदलाई मत्ती ५:२३, २४ र मत्ती १८:१५-१७ मा येशूले दिनुभएको सल्लाहअनुरूप सुल्झाउने उपाय सिकाउँछ।
सधैं फाइदाजनक अनि विजयी
२० ईश्वरीय शिक्षाका केही फाइदा अनि विजयको यस संक्षिप्त छलफलबाट निस्सन्देह हामी सबैले ईश्वरीय शिक्षा पालन गरिरहनु पर्ने आवश्यकता देख्यौं। त्यसकारण आउनुहोस्, प्रार्थनापूर्ण मनोभावका साथ हाम्रो महान शिक्षकबाट सिकिरहौं। चाँडै ईश्वरीय शिक्षाले अपूर्व विजय पाउनेछ। यस संसारका ज्ञानीहरूले अन्तिम सास लिएपछि ईश्वरीय शिक्षा विजयी हुनेछ। (१ कोरिन्थी १:१९ तुलना गर्नुहोस्।) यस बाहेक, लाखौंले परमेश्वरको इच्छा सिकेर त्यसलाई पालन गर्दा, समुद्र पानीले भरिएझैं सारा पृथ्वी यहोवाको ज्ञानले भरिभराउ हुनेछ। (यशैया ११:९) आज्ञाकारी मानिसजातिको यसले कति हित गर्नेछ अनि कति भव्यसाथ सार्वभौम सत्ताधारी यहोवाको महिमा गर्नेछ!
२१ यहोवाको शिक्षा सधैं फाइदाजनक अनि विजयी हुनेछ। परमेश्वरको महान पाठ्यपुस्तकको परिश्रमी विद्यार्थी भएर के तपाईं पनि त्यसबाट लाभ उठाउनु हुन्छ? के तपाईं बाइबलअनुसार जीवन व्यतित गर्दै अरूलाई त्यसमा भएका सत्य कुराहरू सिकाउँदै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईंले ईश्वरीय शिक्षा पूर्ण विजयी भएको देख्ने आशा गर्न सक्नुहुन्छ। हाम्रा महान शिक्षक, सर्वसत्ताधारी प्रभु यहोवाको महिमाको लागि ईश्वरीय शिक्षा पूर्ण विजयी हुनेछ। (w94 2/1)
तपाईंले के सिक्नुभयो?
▫ ईश्वरीय शिक्षाले हाम्रो जीवनमा कस्तो असर पार्नसक्छ?
▫ यहोवाको शिक्षाले कसरी शैक्षिक आवश्यकताहरूलाई पूरा गर्दैछ?
▫ हाम्रो विचार अनि मनोवृतिमाथि ईश्वरीय शिक्षाले कस्तो फाइदाजनक असर पार्नसक्छ?
▫ मानव सम्बन्धको सिलसिलामा ईश्वरीय शिक्षा कसरी फाइदाजनक साबित हुन्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. आफ्नो जीवनमा ईश्वरीय शिक्षा पालन गऱ्यौं भने हामीले के पाउनेछौं?
२, ३. (क) परमेश्वरका प्राचीन जनहरूले उहाँको आज्ञा मानेका भए कस्ता फाइदा हुनेथिए? (ख) आज हामीले आफ्नो जीवनमा ईश्वरीय शिक्षा पालन गऱ्यौं भने के हुन्छ?
४. ईश्वरीय शिक्षाले कसरी थुप्रै मानिसहरूको जीवनलाई असर गरिरहेको छ?
५. मानिसहरू जुन ढङ्गमा चल्छन् त्यसमा ईश्वरीय शिक्षाले कसरी असर गर्छ?
६. यहोवाको शिक्षा पालन गर्नु र हाम्रो आनन्दबीच के सम्बन्ध छ?
७, ८. (क) भजनसंग्रह ९०:१२-लाई हामी कसरी बुझ्नसक्छौं? (ख) हामी बुद्धिले भरिएको हृदय कसरी पाउन सक्छौं?
९. यहोवाको महिमा गर्न आफ्नो दिनको गन्ती गर्न सिक्यौं भने हामीले के आशा गर्नसक्छौं?
१०. शिक्षाबारे एउटा इनसाक्लोपिडिया के भन्छ र ईश्वरीय शिक्षाका फाइदाहरूसँग यो कतिको मिल्दोजुल्दो छ?
११. उचित शिक्षाको आवश्यकतामाथि थोमस जेफरसनले कस्तो जोड दिए?
१२. विश्वव्यापी शिक्षाको लागि ईश्वरीय शिक्षा सबैभन्दा सफल अनि फाइदाजनक कार्यक्रम हो भनेर किन भन्न सकिन्छ?
१३. यशैया २:२-४ आज कसरी पूरा हुँदैछ?
१४. पहिलो कोरिन्थी १४:२०-मा पावलले दिएको सल्लाह पालन गर्नु कतिको फाइदाजनक छ?
१५. विचारमा सद्गुणी हुन हामीलाई कुन कुराले मदत गर्नसक्छ?
१६. हामीले प्रकट गर्ने मनोभावमाथि ईश्वरीय शिक्षाले कसरी असर गर्नसक्छ?
१७. विनम्र आपसी सहयोग किन महत्त्वपूर्ण छ?
१८. ईश्वरीय शिक्षाले हामीलाई सङ्गी विश्वासीहरूप्रति कस्तो दृष्टिकोण राख्न मदत गर्छ?
१९. आपसी मतभेदलाई समाधान गर्ने सम्बन्धमा परमेश्वरको शिक्षाले के भन्छ?
२०, २१. ईश्वरीय शिक्षाको यस छलफलले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्ने हो?
[पृष्ठ १४-मा भएको चित्र]
नूह जस्तै हामी पनि कसरी परमेश्वरसँग हिंड्न सक्छौं भनेर ईश्वरीय शिक्षाले देखाउँछ
[पृष्ठ १६-मा भएको चित्र]
यहोवाको पर्वततर्फ सबै राष्ट्रका मानिसहरू ओइरिरहेका छन्