पूरा निश्चित भई सुसमाचार प्रचार गर्ने
१ प्रथम शताब्दीमा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई राज्यको सुसमाचार प्रचार गर र “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने आज्ञा दिनुभयो। (मत्ती २४:१४; २८:१९, २०) यहोवाका साक्षीहरूले यस निर्देशनलाई गम्भीरतापूर्वक लिएका हुनाले नै २० औं शताब्दीको अन्तसम्ममा हाम्रा मसीही भाइहरूको संख्या बढेर २३४ मुलुकहरूमा ५९,००,००० भन्दा बढी भएको छ। स्वर्गमा हुनुहुने हाम्रा पिताको कत्ति ठूलो प्रशंसा!
२ भर्खरै हामी २१ औं शताब्दीमा प्रवेश गरेका छौं। राज्यको सुसमाचार प्रचार गर्ने र चेला बनाउने कार्यमा हाम्रो ठूलो शत्रु शैतानले चालै नपाउने गरी बाधा पुऱ्याउने कोसिस गर्दैछ। वर्तमान रीतिरिवाजले दिने दबाउहरूको फाइदा उठाएर त्यसले थुप्रै अनावश्यक चिन्ता तथा चाहनाहरूमा हामीलाई फसाउन खोज्छ। हाम्रो ध्यान भंग गर्नुका साथै समय र शक्ति नष्ट गर्ने प्रयास गर्छ। हामी यस रीतिरिवाजको दबाउमा परेर त्यसले भनेअनुसार गर्नुको सट्टा परमेश्वरको वचनले भनेअनुसार गर्छौं अर्थात् यहोवाको इच्छालाई जीवनमा प्राथमिकता दिन्छौं। (रोमी १२:२) यसको अर्थ ‘वचन प्रचार गर, समय र बेसमयमा तयार रह, र सेवाको काम पूरा गर’ भन्ने धर्मशास्त्रीय अर्ती पालन गर्नु हो।—२ तिमो. ४:२, ५.
३ पूरा निश्चित हुनुहोस्: मसीहीहरू “परमेश्वरका सब इच्छामा सिद्ध र पूरा निश्चय भएका” हुनु आवश्यक छ। (कल. ४:१२) यहाँ “पूरा निश्चय” भन्ने शब्दले “पूरै पत्यार वा विश्वास भएको अर्थात् दुविधामा नभएको अवस्था” बुझाउँछ। मसीही भएकाले हामी परमेश्वरको भविष्यसूचक वचन पक्का छ र हामी अहिले अन्तिम दिनको पनि अन्ततिर आइसक्यौं भनेर पूरा निश्चित हुनुपर्छ। हामीसित पनि प्रेरित पावलको जस्तै बलियो विश्वास हुनुपर्छ। तिनको भनाइअनुसार सुसमाचार “विश्वास गर्ने हरेकको . . . मुक्तिको निम्ति, यो परमेश्वरको शक्ति हो।”—रोमी १:१६.
४ दियाबलले अरूलाई प्रभाव पार्न र छक्काउन खराब मानिस र ठगाहाहरूलाई चलाउँछ। ती आफै पनि ठगिएका छन्। (२ तिमो. ३:१३) यसबारे हामीलाई पहिल्यै चेताउनी दिइसकिएको हुनाले हामीसित सच्चाइ छ भन्ने कुरामा अझ बढी निश्चित हुन कदमहरू चाल्नु आवश्यक छ। चिन्ताहरूको भुमरीमा परेर आफ्नो जोस सेलाउन दिनुको सट्टा हामी राज्यसम्बन्धी क्रियाकलापलाई प्राथमिकता दिन्छौं। (मत्ती ६:३३, ३४) यस रीतिरिवाजको अन्त धेरै टाढा छ भन्ने हाम्रो सोचाइ भएपनि समय धेरै छैन भन्ने जानेर गर्नुपर्ने कामहरूबाट आफ्नो दृष्टि फर्काउन चाहन्नौं। अन्त झन् झन् नजिकिंदै आइरहेको छ। (१ पत्रु. ४:७) केही मुलुकहरूमा पहिल्यै साक्षी दिइसकेको हुनाले सुसमाचार प्रचार कार्यले त्यहाँ त्यति राम्रो प्रभाव पार्नसकेको छैन भन्ने हामीलाई लाग्नसक्छ, तैपनि चेताउनी दिने कार्य गरिनै रहनुपर्छ।—इज. ३३:७-९.
५ यी अन्तिम दिनहरूमा सोध्नुपर्ने प्रश्नहरू हुन्: ‘के येशूले दिनुभएको चेला बनाउनु भन्ने आदेशलाई मैले गम्भीरतापूर्वक लिइरहेको छु? सुसमाचार प्रचार गर्दा के म त्यो राज्य वास्तविक हो भन्ने कुरा दर्शाउँछु? यस जीवन बचाउने सेवकाईमा धेरैभन्दा धेरै भाग लिन के मैले कम्मर कसेको छु?’ हामी अन्तको धेरै नजिक आइपुगेका छौं भन्ने जानेर हामीले आफू अनि आफ्नो प्रचार गर्ने तथा शिक्षा दिने दायित्वलाई ध्यान दिनुपर्छ। यसो गऱ्यौं भने हामीले आफू अनि आफ्नो कुरा सुन्ने व्यक्तिहरूलाई बचाइरहेका हुनेछौं। (१ तिमो. ४:१६) सेवकहरूको हैसियतमा हामी आफ्नो निश्चिततालाई अझ कसरी पक्का बनाउन सक्छौं?
६ थिस्सलोनिकीहरूको नक्कल गर्नुहोस्: प्रेरित पावलले थिस्सलोनिकीका भाइहरूको कडा परिश्रमलाई सम्झँदै यसो भने: “हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन, तर शक्तिमा पनि, र पवित्र आत्मामा, र ज्यादै आत्मविश्वासमा तिमीहरूकहाँ आएको हो, जसरी तिमीहरू पनि जान्दछौ, तिमीहरूका खातिर हामी आफैले हामी कस्ता किसिमका मानिसहरू थियौं भनी तिमीहरूलाई देखाएका थियौं। पवित्र आत्माको आनन्दसाथ, ज्यादै कष्टमा वचन ग्रहण गरेर तिमीहरू हाम्रो र प्रभुको देखा-सिकी गर्ने भयौ।” (१ थिस्स. १:५, ६) हो, पावलले थिस्सलोनिकी मण्डलीको प्रशंसा गरे किनभने कठिन समयमा पनि तिनीहरूले जोसिला अनि ज्यादै आत्मविश्वासी भई प्रचार गरे। तिनीहरूलाई यसो गर्न केले मदत गऱ्यो? तिनीहरूले प्रेरित पावल र तिनका सहकर्मीहरूमा देखेको जोस र आत्मविश्वासले निकै हदसम्म सकारात्मक असर पारेको थियो। कसरी?
७ पावल र तिनीसँगै भ्रमण गर्ने व्यक्तिहरूको जीवनशैलीले तिनीहरूमाथि परमेश्वरको आत्मा छ र आफूले प्रचार गरिरहेका कुराहरूलाई तिनीहरू निर्धक्क भई विश्वास गर्छन् भन्ने साक्षी दिन्थ्यो। थिस्सलोनिकीमा आउनुअघि पावल र सिलासलाई फिलिप्पीमा अशिष्ट व्यवहार गरिएको थियो। तिनीहरूको पुर्पक्ष नै नगरिकन पिटे, झ्यालखानमा हाले र ठिंगुरो ठोकेर राखे। तथापि, यस्ता कठिनाइहरूले सुसमाचारप्रतिको तिनीहरूको जोसलाई सेलाउन सकेनन्। परमेश्वरले तिनीहरूलाई छुटाउनुभयो। फलतः झ्यालखानका अधिकृत तथा तिनको घरानाले समेत धर्म परिवर्तन गरे अनि पावल र तिनका सहकर्मी भाइलाई आफ्नो सेवकाई कायमै राख्ने बाटो खोलिदिए।—प्रेरि. १६:१९-३४.
८ परमेश्वरको आत्माको बल पाएर पावल थिस्सलोनिकीमा आए। त्यहाँ तिनले आफ्ना आवश्यकताहरू पूरा गर्न कठिन परिश्रम गरे र थिस्सलोनिकीहरूलाई सच्चाइ सिकाउन पूरै समय बिताए। तिनले हरेक मौकामा सुसमाचार सुनाउन पछि परेनन्। (१ थिस्स. २:९) पावलले पूरा निश्चित भई प्रचार गरेको देखेर स्थानीय मानिसहरू यतिसम्म प्रभावित भए कि पहिला मूर्तिपूजा गर्ने कसै कसैले त्यो त्यागेर साँचो परमेश्वर यहोवाका सेवकहरू भए।—१ थिस्स. १:८-१०.
९ ती नव विश्वासीहरूलाई सुसमाचार प्रचार गर्नदेखि कुनै सतावटले रोक्नसकेन। भर्खरै भेट्टाएको नयाँ विश्वासको कारण जोसिएर अनि अनन्त आशिष्हरू पाउनेछौं भनी पूरा निश्चित भएकाले थिस्सलोनिकीहरू आफूले अँगालेको सच्चाइ अरूलाई उत्सुकतापूर्वक घोषणा गर्न उत्प्रेरित भए। थिस्सलोनिकीहरूको मण्डली यति सक्रिए भयो, तिनीहरूको विश्वास तथा जोसको खबर मेसिडोनियाका अन्यभागहरू अनि अखैयासम्मै पुग्यो। तसर्थ, पावलले थिस्सलोनिकीहरूलाई आफ्नो पहिलो पत्र लेख्दा तिनीहरूका सुकर्म राम्ररी थाह थियो। (१ थिस्स. १:७) कस्तो उल्लेखनीय उदाहरण!
१० परमेश्वर अनि मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित: आज सुसमाचार प्रचार गर्दा हामी पनि थिस्सलोनिकीहरू जस्तै व्यक्तिगत तवरमा कसरी पूरा निश्चित भइरहनसक्छौं? पावलले थिस्सलोनिकीहरूबारे यसरी लेखे: ‘तिमीहरूको विश्वासको काम र प्रेमको परिश्रम सम्झँदै।’ (१ थिस्स. १:३) तिनीहरू यहोवा परमेश्वरलाई र आफूले प्रचार गरेका मानिसहरूलाई हार्दिक प्रेम गर्थे भनेर यसबाट स्पष्टै देखिन्छ। हो, यसै प्रेमले गर्दा पावल अनि तिनका सहयोगीहरू थिस्सलोनिकीहरूका लागि “परमेश्वरको सुसमाचार मात्र होइन तर [आफ्नै] प्राणसमेत” दिन उत्प्रेरित भए।—१ थिस्स. २:८.
११ त्यस्तै गरी, यहोवा तथा हाम्रा सहकर्मीहरूप्रतिको गहिरो प्रेमले प्रचारको काममा पूर्णतया भाग लिन हामीलाई उत्प्रेरित गर्छ। त्यस्तो प्रेम भएकोले सुसमाचार फैलाउने काम यहोवा परमेश्वरले हामीलाई दिनुभएको व्यक्तिगत जिम्मेवारी हो भनेर हामी मानिलिन्छौं। “साँच्चै जीवन” तर्फ डोऱ्याउन यहोवा परमेश्वरले हाम्रोलागि जे जति गर्नुभयो त्यसलाई सकारात्मक दृष्टिकोणले मूल्यांकन गर्दै मनन गऱ्यौं भने अरूलाई पनि हामीले हृदयदेखि विश्वास गरेका त्यस्ता सच्चाइहरू सुनाउन उत्प्रेरित हुन्छौं।—१ तिमो. ६:१९.
१२ हामी प्रचार कार्यमा व्यस्त रह्यौं भने यहोवा अनि मानिसहरूप्रतिको प्रेममा बढ्दै जानेछौं। फलतः हामी ढोका ढोकामा गएर साक्षी दिन उत्सुक हुनेछौं र साक्षी दिने अन्य अवसरहरू छोप्न पनि पछि पर्नेछैनौं। हामी आफ्ना नातेदार, छिमेकी तथा चिनजान भएका मानिसहरूलाई अनौपचारिक साक्षी दिने मौकाको फाइदा उठाउनेछौं। धेरैजसो मानिसले सुसमाचार सुन्न अस्वीकार गरे पनि वा कसैकसैले राज्यको घोषणा गर्ने कार्यमा बाधा दिने प्रयास गर्दा समेत हामी भित्री आनन्द अनुभव गर्नेछौं। किन? किनभने हामीले राज्यबारे साक्षी दिन र मानिसहरूलाई मुक्तितर्फ लैजान मदत गर्न सक्दो प्रयास गरेका छौं भनेर हामीलाई थाह छ। अनि असल हृदय भएका मानिसहरू भेट्टाउन हामीले गरेका प्रयासहरूलाई यहोवाले आशिष् दिनुहुनेछ। जीवनका दबाउहरू हाम्रोअगाडि खडा भए तापनि अनि शैतानले हाम्रो आनन्द हरण गर्नखोजे तापनि हामी आफ्नो निश्चिततालाई पक्का बनाइराख्न अनि अरूलाई साक्षी दिने हाम्रो जोस कायमै राख्नसक्नेछौं। हामी सबैले आ-आफ्नो कार्यभार पूरा गऱ्यौं भने हाम्रो मण्डली पनि थिस्सलोनिकीजस्तै बलियो अनि जोसिलो हुनेछ।
१३ परिक्षामा पर्दा कहिल्यै हार नखानुहोस्: विभिन्न परिक्षाहरूको सामना गर्नुपर्दा पनि हामीसित पक्का निश्चितता हुनु आवश्यक छ। (१ पत्रु. १:६, ७) येशूका चेलाहरूले उहाँको अनुसरण गरेको खण्डमा ‘सबै जातिमध्ये घृणित हुनेछन्’ भन्ने कुरा स्पष्ट पार्नुभयो। (मत्ती २४:९) पावल र सिलासले फिलिप्पीमा हुँदा यो कुरा अनुभव गरे। पावल र सिलासलाई झ्यालखानको भित्री कोठामा ठिंगुरो ठोकेर राखियो भनी प्रेरित अध्याय १६ ले बताउँछ। साधारणतया त्यतिखेरको झ्यालखानमा बीचमा चोक र त्यसका वरपर प्रकाश र हावा छिर्ने व्यवस्था भएका स-साना कोठाहरू हुन्थे। तर भित्री झ्यालखानमा भने त्यस्तो प्रकाश छिर्ने र हावा राम्ररी खेल्ने झ्यालहरूको प्रबन्ध हुँदैनथ्यो। पावल अनि सिलासले त्यस्तो अन्धकार, गर्मी अनि दुर्गन्धले भरिएको ठाउँमा सास्ति भोग्नुपऱ्यो। ढाडमा कोर्रा खाएर रक्ताम्य भएको शरीर अनि त्यसमाथि पनि घण्टौंसम्म ठिंगुरोमा बस्नुपर्दा तिनीहरूले कस्तो पीडा भोगे होला के, तपाईं कल्पना गर्नसक्नुहुन्छ?
१४ ती परिक्षाहरूका बावजूद पावल र सिलास विश्वासी भइरहे। तिनीहरूले हृदयदेखि निश्चितता प्रकट गरे। त्यसले तिनीहरूलाई परिक्षाको बावजूद यहोवाको सेवा गर्ने बल प्रदान गऱ्यो। तिनीहरू कतिसम्म निश्चित भएका थिए भन्नेकुरा १६ अध्यायको पद २५ ले स्पष्ट पार्दछ। त्यहाँ, पावल र सिलास “प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए” भनेर बताइएको छ। भित्री झ्यालखानमै भए तापनि परमेश्वरको अनुग्रह आफूसित छ भनेर तिनीहरू यत्ति निश्चित थिए कि अरू कैदीहरूले समेत सुन्ने गरी तिनीहरूले ठूलठूलो स्वरमा भजन गाए! विश्वासका परिक्षाहरूको सामना गर्नुपर्दा हामीले पनि आज त्यस्तै निश्चितता प्रकट गर्नुपर्छ।
१५ दियाबलले हामीमाथि ल्याउनसक्ने परिक्षाहरू थुप्रै छन्। कसै कसैलाई परिवारबाट सतावट आउनसक्छ। अरू थुप्रैले कानूनी चुनौतीहरूको सामना गर्छन्। धर्मत्यागीहरूको विरोध पनि आइपर्नसक्छ। त्यस्तै आर्थिक कठिनाइ तथा जीविका धान्ने चिन्ता पनि छ। युवा युवतीले स्कूलमा साथीभाइको दबाउ सामना गर्छन्। हामी कसरी यी परिक्षाहरूको सफलतापूर्वक सामना गर्नसक्छौं? आफ्नो दृढ निश्चितता प्रकट गर्न के आवश्यक छ?
१६ सर्वप्रथम, हामीले यहोवासित घनिष्ठ व्यक्तिगत सम्बन्ध कायम गर्नु आवश्यक छ। भित्री झ्यालखानमा हुँदा पावल र सिलासले आफूले भोग्नुपरेको अवस्थाको गुनासो गर्दै समय बिताएनन् वा नत आफैलाई धिक्कारे। तिनीहरूले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्दै भजन गाएर उहाँको प्रशंसा गर्न थाले। किन? किनभने स्वर्गमा हुनुहुने पितासित तिनीहरूको घनिष्ठ व्यक्तिगत सम्बन्ध थियो। आफूले धार्मिकताको लागि सासना भोगिरहेको हो र मुक्ति यहोवाबाट मात्र सम्भव छ भन्ने कुरा तिनीहरूले बुझेका थिए।—भज. ३:८.
१७ आज हामीले परिक्षा सामना गर्नुपर्दा यहोवामा आशा राख्नुपर्छ। हामी मसीहीहरूलाई प्रेरित पावलले ‘अन्तरबिन्तीमा हाम्रा माग परमेश्वरमा जाहेर गर्न प्रोत्साहन दिए। त्यसो गरेमा सारा समझलाई माथ गर्ने परमेश्वरको शान्तिले हाम्रो हृदय र विचारलाई रक्षा गर्नेछ।’ (फिलि. ४:६, ७) हामी परिक्षामा पर्दा यहोवाले एक्लै छाड्नुहुन्न भन्ने थाह पाउनु एकदम सान्त्वनादायी कुरा हो! (यशै. ४१:१०) हामीले उहाँलाई हृदयदेखि निश्चित भई सेवा गरुञ्जेल उहाँ हामीसँग रहनुहुनेछ।—भज. ४६:७.
१८ हामी निश्चित छौं भनेर प्रकट गर्ने अर्को महत्त्वपूर्ण तरिका यहोवाको सेवामा व्यस्त रहनु हो। (१ कोरि. १५:५८) पावल र सिलास सुसमाचार प्रचार गर्न व्यस्त रहेकै कारण झ्यालखानमा थुनिनु पऱ्यो। के परिक्षाका कारण तिनीहरूले प्रचार गर्न छाडे? अहँ, छाडेनन्। बरु, झ्यालखानमा रहँदा समेत तिनीहरूले प्रचार गरे र त्यहाँबाट छुटेपछि थिस्सलोनिकीको यात्रा गरेर यहूदीहरूको सभाघरहरूमा गएर “धर्मशास्त्रबाट बहस गर्दैरहे।” (प्रेरि. १७:१-३) हामीलाई यहोवाको पत्यार लाग्छ र उहाँमाथि विश्वास छ साथै हामीसित सच्चाइ छ भनेर निश्चित छौं भने “हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्नसक्ने” कुनै कुरो छैन।—रोमी ८:३५-३९.
१९ निश्चित हुने सन्दर्भमा आधुनिक उदाहरण: हाम्रा दिनमा पनि पावल र सिलासले जस्तै निश्चितता प्रकट गर्ने थुप्रै उल्लेखनीय उदाहरणहरू छन्। अस्वीचको यातना शिविरबाट बचेर निस्केकी एक जना बहिनीले त्यहाँ भएका भाइबहिनीहरूले देखाएको दृढ विश्वास र निश्चितताबारे बताइन्। तिनी भन्छिन्: “एक पल्ट केरकार गरिरहेको बेला एक जना अफिसर मुठ्ठी कस्दै मेरो नजिक आएर कराए, ‘तिमीहरूलाई के गरौं हँ? गिरफ्तार गऱ्यो, तिमीहरूलाई वास्ता छैन? झ्यालखानमा हाल्यो, अलिकति पनि चिन्ता छैन? यातना शिविरमा पठायो, त्यसको पनि चिन्ता छैन। अनि मृत्युदण्डको सजाय सुनाउँदा, केही पनि भएको छैन जस्तो गरी ठिंग उभेर बस्छौ। लौ भन, के गरौं तिमीहरूलाई?’” हाम्रा भाइहरूले त्यस्तो कठिन परिस्थितिमा देखाएको विश्वासले हाम्रो विश्वास पनि बलियो बनाउन कत्ति प्रोत्साहनजनक छ! तिनीहरूले निरन्तर यहोवामा भरोसा गरेर हर किसिमका कठिनाइ सहे।
२० जातीय भेदभावको सामना गर्नुपरेका हाम्रा भाइहरूले हालैका वर्षहरूमा प्रकट गरेका दृढ निश्चितता पनि हामी पक्कै भुल्नसक्दैनौं। आफू खतरनाक अवस्थामा छु भन्ने थाह हुँदाहुँदै पनि जिम्मेवार भाइहरू आफ्ना भाइबहिनीले आध्यात्मिक भोजन पाइरहेका छन् कि छैनन् भनी चिन्तित थिए। सबैजना ‘तिनीहरू विरूद्ध बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ’ भनेर पूरा निश्चित भई विश्वासी भई नै रहे।—यशै. ५४:१७.
२१ हाम्रा थुप्रै भाइबहिनी अविश्वासी पति वा पत्नीसित रहे तापनि विश्वासमा बलियो अनि स्थिर भइरहेका छन्। ग्वाडेलुपका एक जना भाइले विश्वासमा नभएकी पत्नीबाट विरोधको सामना गर्नुपऱ्यो। त्यस भाइलाई निरुत्साहित पार्न र मसीही सभाहरूमा भेला हुन नदिन तिनी खाना नपकाउने, लुगा नधोइदिने, आइरन नगर्ने अनि उद्रेका लुगाहरू नसिलाइदिने गर्थिन्। कहिलेकाहिं त निकै दिनसम्म ठुस्स ठुस्किएर नबोली बस्थिन्। तर यहोवाको सेवामा हार्दिक निश्चितता प्रकट गर्दै उहाँसित मदतको लागि प्रार्थना गरेपछि यस भाइले त्यसको सामना गर्नसके। कति समयसम्म? झन्डै २० वर्षसम्म। त्यसपछि मात्र तिनकी पत्नीको हृदय बिस्तारै परिवर्तन हुनथाल्यो। अन्ततः, तिनी साँच्चै आनन्दित भए किनभने तिनकी पत्नीले पनि परमेश्वरको राज्यको आशालाई स्वीकारिन्।
२२ अन्तमा, स्कूल जाने भाइबहिनीको पूरा निश्चिततालाई पनि हामीले बिर्सनु हुँदैन। तिनीहरू दिनहुँ साथीभाइको दबाउ अनि चुनौती सामना गर्छन्। स्कूलमा सामना गर्नुपर्ने दबाउबारे बताउँदै एक साक्षी किशोरीले यसो भनिन्: “स्कूलमा छँदा अलिकति भएपनि मनपरी गर्नैपर्छ भनेर सबैले प्रोत्साहन दिइरहेका हुन्छन्। मनपरी गरेको देख्यो भने मात्र साथीहरूले आदर गर्छन्।” हाम्रा युवाहरूले साह्रै दबाउ सामना गर्छन्! त्यस्ता प्रलोभनहरूको सामना गर्न तिनीहरूले मन अनि हृदयमा अठोट गरेको हुनैपर्छ।
२३ हाम्रा थुप्रै युवायुवतीले परिक्षाका बावजूद आफ्नो निष्ठालाई भंग हुन दिएका छैनन्। यसको उदाहरणस्वरूप फ्रान्समा बस्ने एक जवान बहिनीलाई लिनसक्छौं। एक दिन दिउँसो खाजा खाइसकेपछि केही केटाहरूले तिनलाई जबरजस्ती चुम्बन गराउने प्रयास गरे। तर तिनले प्रार्थना गरेर दृढ भई त्यसको विरोध गरिन्। फलतः ती केटाहरूले तिनलाई एक्लै छाडेर गए। पछि, तिनीहरूमध्ये एक जना केटा आएर तिनको साहसको निकै प्रशंसा गरे। तिनले त्यस केटोलाई राज्यबारे राम्रो साक्षी दिन सकिन् र यहोवाले उच्च स्तरहरू कायम गर्नुभएको छ र त्यसको पालना गर्नेहरूले आशिष् पाउनेछन् भनेर पनि बताइन्। तिनी स्कूलमा हुँदा आफ्नो विश्वासबारे पूरै कक्षालाई पनि बताइन्।
२४ यहोवाले आफ्नो इच्छाबारे पूरा निश्चितताका साथ बोल्न छान्नुभएका व्यक्तिहरूमध्ये हामी पनि हुनपाउनु साह्रै आनन्दमय कुरा हो! (कल. ४:१२) त्यसबाहेक, हामीले सिंहजस्तो शत्रु शैतान अर्थात् दियाबलले आक्रमण गर्दा आफ्नो वफादारी प्रकट गर्ने राम्रो सुअवसर पाएका छौं। (१ पत्रु. ५:८, ९) यहोवाले आफ्नो राज्यको सन्देश प्रचार गर्ने अनि सुन्नेहरू दुवैका लागि मुक्तिको व्यवस्था गर्नुभएको छ भन्ने कुरा पनि कहिल्यै नबिर्सौं। हामीले गर्ने निर्णय साथै हाम्रो जीवनशैलीले राज्यलाई प्रथम स्थान दिएको प्रमाणित गरोस्। आउनुहोस्, हामी पनि पूरा निश्चित भई सुसमाचार प्रचार गरिरहौं!