प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१५ pp. २७-२९
  • टाशेन—मसीही समर्थक वा धर्मविरोधी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • टाशेन—मसीही समर्थक वा धर्मविरोधी?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “केही खास बिराना लेखोटहरूसित” सम्पर्क
  • तिनका लेखोटहरूले के प्रकट गर्छ?
  • मसीही वा धर्मविरोधी?
  • सिक्नुपर्ने पाठ
  • बाइबलका सुसमाचारका पुस्तकहरूमा तपाईंले भरोसा गर्न सक्ने कारण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको वचन—त्यसको सत्यताको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • चेस्टर बेट्टीको खजानामा एक नजर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • सिरियाक पेशिट्टा—बाइबल अनुवादको इतिहासबारे थाह पाउने एउटा माध्यम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१५ pp. २७-२९

टाशेन—मसीही समर्थक वा धर्मविरोधी?

आफ्नो तेस्रो मिसनरी यात्राको अन्ततिर प्रेरित पावलले एफिससको मण्डलीका बूढाप्रधानहरूको सभा बोलाए। उनले तिनीहरूलाई यसो भने: “मलाई थाह छ, कि म गएपछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्‌। औ तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खडा हुनुहुनेछन्‌।”—प्रेरित २०:२८-३०.

पावलले भनेझैं सा.यु. दोस्रो शताब्दी, परिवर्तन र भविष्यवाणी गरिएको धर्मत्यागको युग साबित भयो। केही विश्‍वासीहरूको विश्‍वासलाई प्रदूषित गरिरहेको नोस्टिकवाद लोकप्रिय भइरहेको थियो। यो व्यापक तवरमा फैलिरहेको धार्मिक साथै दर्शनसम्बन्धी अभियान थियो। नोस्टिकवादीहरूले आध्यात्मिक कुराहरू मात्र असल हुन्‌ र अरू सबै कुरा खराब हुन्‌ भन्‍ने विश्‍वास राख्थे। सबै शारीरिक कुराहरू खराब हुन्‌ भन्‍ने तर्क गर्दै तिनीहरूले विवाह र सन्तान जन्माउने जस्ता कुराहरू इन्कार गर्नुका साथै यी सबै शैतानतर्फका हुन्‌ भन्‍ने गर्थे। तिनीहरूमध्ये कतिपयको विश्‍वासअनुसार मानिसको आत्मिक पक्ष मात्र असल हुने हुँदा आफ्नो भौतिक शरीरलाई जस्तोसुकै तरिकामा प्रयोग गरे तापनि महत्त्वपूर्ण थिएन। त्यस्ता विचारधाराको कारण तिनीहरूले सन्यासी वा शारीरिक इच्छाहरूमा चुर्लुम्मै डुबेर जीवन बिताउन थाले। नोस्टिकवादहरूले रहस्यमयी नोस्टिकवाद वा आत्म-ज्ञानबाट मात्र उद्धार पाउन सकिन्छ र परमेश्‍वरको वचनमा पाइने सत्यको लागि कुनै स्थान छैन भन्‍ने दाबी गर्थे।

मसीही भनौदाहरूले नोस्टिकवादको खतरा कसरी सामना गरे? केही ज्ञानी मानिसहरूले यसका झूटा सिद्धान्तको विरुद्ध बोले भने कोही-कोही चाहिं यसबाट प्रभावित भए। उदाहरणका लागि, इरेनियसले धर्मविरोधी शिक्षाहरू विरुद्ध जिन्दगीभर संघर्ष गरे। तिनले प्रेरितहरूका समकालीन, पोलिकार्पबाट शिक्षा पाएका थिए। पोलिकार्पले येशू ख्रीष्ट र उहाँका प्रेरितहरूको शिक्षा पछ्याउन जोडदार सुझाव दिए। तथापि, इरेनियसको मित्र फ्लोरिनसको पनि शिक्षक एउटै भए तापनि तिनी अन्ततः भ्यालिनटिनसको शिक्षाको प्रभावमा परे जो नोस्टिकवाद अभियानका प्रमुख थिए। त्यो साँच्चै कष्टप्रद समय थियो।

त्यस समयमा छाएको वातावरणबारे टाशेनका लेखोटहरूले प्रकाश पार्छ। तिनी दोस्रो शताब्दीका प्रख्यात लेखक थिए। टाशेन कस्ता व्यक्‍ति थिए? तिनी कसरी आफूलाई मसीही हुँ भनी दाबी गर्न पुगे? टाशेनले नोस्टिकवादको धर्मविरोधी प्रभाव विरुद्ध के गरे? तिनका चाखलाग्दा उत्तरहरू तथा तिनको आफ्नै उदाहरणले आज सच्चाइ खोज्नेहरूको लागि महत्त्वपूर्ण पाठ सिकाउँछ।

“केही खास बिराना लेखोटहरूसित” सम्पर्क

टाशेन, अरामी मूलका थिए। विस्तृत यात्राका साथै पढाइमा लगनशील भएकोले तिनलाई तात्कालीन युनानी-रोमी संस्कृतिबारे राम्ररी थाह थियो। टाशेन रोममा अतिथि वक्‍ताको रूपमा आए। तथापि रोममा छँदा मसीहीधर्मतर्फ तिनको ध्यान खिचियो। तिनले जस्टिन मार्टियरसँग संगत गर्न थाले र हुनसक्छ, तिनकै शिष्य बने।

आफ्नो समयको मसीहीधर्म अँगालेको विवरणलाई प्रकाश पार्दै टाशेन यस्तो दाबी गर्छन्‌: “सत्य कसरी भेट्‌टाउने भनेर म खोज्दै हिंडेको थिएँ।” धर्मशास्त्र पढ्‌ने अवसर पाउँदाको व्यक्‍तिगत अनुभवबारे टिप्पणी गर्दै तिनी यसो भन्छन्‌: “मैले कुनै-कुनै अनौठा लेखोटहरू भेट्टाएँ, ती अत्यन्तै पुराना भएको हुँदा युनानी धारणाहरूसित तुलना गर्न मिल्दैनथ्यो र यो अत्यन्तै उत्कृष्ट भएको हुँदा त्रुटिपूर्ण युनानी लेखोटसित पनि तुलना गर्न मिल्दैनथ्यो। यसको सरल भाषा, निष्कपट लेखकहरू, भविष्यमा हुने घटनाहरूबारे पूर्वज्ञान, असाध्यै गुणस्तरीय व्यवस्था र ब्रह्‍माण्डको सरकार एउटै व्यक्‍तिमा निहित हुने घोषणाले म विश्‍वास गर्न राजी भएँ।”

टाशेनले आफ्ना समकालीनहरूलाई तिनको समयको मसीहीधर्म जाँच गर्ने र गैरमसीहीधर्मको जटिलताको विपरीत यसको सरलता र स्पष्टता बुझ्ने आग्रह गर्न हिच्किचाएनन्‌। तिनका लेखोटहरूबाट हामी के सिक्न सक्छौं?

तिनका लेखोटहरूले के प्रकट गर्छ?

टाशेनका लेखोटहरूले तिनी मसीहीधर्म समर्थक अर्थात्‌ आफ्नो धार्मिक विश्‍वासको पक्षमा बोल्ने लेखकको रूपमा चित्रण गर्छ। गैरमसीही प्रचलनहरूप्रति तिनको कठोर व्यवहार र तर्कवितर्क गर्ने मनोवृत्ति थियो। अड्रेस टु द ग्रीक्स भन्‍ने आफ्नो पुस्तकमा टाशेनले गैरमसीहीधर्मको बेकारीपन र नाउँ मात्रको मसीहीधर्मको व्यावहारिकतामाथि जोड दिएका छन्‌। तिनले युनानी तौरतरिकाको आलोचना गर्दै कठोर शैलीमा लेखेका छन्‌। उदाहरणका लागि, दार्शनिक हेराक्लिटसलाई संकेत गर्दै तिनी यस्तो उल्लेख गर्छन्‌: “यस मानिसको मृत्युबाट तिनको मूर्खता झल्कन्छ। किनभने चिकित्सा तथा दर्शनशास्त्रमा ज्ञानी तिनलाई जलग्रह भएपछि तिनले शरीरमा गोबरको लेप लगाए र यो सुक्दै जाँदा तिनको पूरा शरीर खुम्चिएर टुक्रा-टुक्रा हुन थाल्यो र अन्ततः मृत्यु भयो।”

टाशेनले परमेश्‍वर एउटै हुनुहुन्छ र उहाँ नै सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने बलियो विश्‍वास राख्थे। (हिब्रू ३:४) अड्रेस टु द ग्रीक्स-मा तिनले परमेश्‍वरलाई “आत्मा” भनी संकेत गर्दै यसो भन्छन्‌: “उहाँको मात्र सुरुआत छैन र उहाँ नै सबै थोकको सुरुआत हुनुहुन्छ।” (यूहन्‍ना ४:२४; १ तिमोथी १:१७) उपासनामा मूर्तिहरूको प्रयोग गर्न इन्कार गर्दै टाशेन यस्तो लेख्छन्‌: “म कसरी काठका टुक्रा र ढुंगाहरूलाई परमेश्‍वरको रूपमा लिन सक्छु?” (१ कोरिन्थी १०:१४) वचन वा लोगोस स्वर्गमा हुनुहुने पिताको ज्येष्ठ पुत्रको रूपमा अस्तित्वमा आउनुभयो र त्यसपछि भौतिक ब्रह्‍माण्डको सृष्टि गर्न चलाइनुभयो भनी तिनी विश्‍वास गर्थे। (यूहन्‍ना १:१-३; कलस्सी १:१३-१७) तोकिएको समयमा पुनरुत्थानको सन्दर्भमा टाशेन यस्तो उल्लेख गर्छन्‌: “सबै कुराको अन्तपछि शरीरको पुनरुत्थान हुन्छ भनी हामी विश्‍वास गर्छौं।” हामी मर्नुको कारणबारे टाशेन यस्तो लेख्छन्‌: “हामी मर्नको लागि सृष्टि गरिएका होइनौं तर हामी आफ्नै गल्तीले गर्दा मर्छौं। हाम्रो स्वेच्छाकै कारण विनाश भोग्नुपऱ्‍यो; हामी स्वतन्त्र मानिसहरू दास भएका छौं र पापमा बेचिएका छौं।”

प्राणसम्बन्धी टाशेनको विवरणचाहिं गोलमाल छ। तिनी भन्छन्‌: “ए युनानीहरू हो, प्राण आफै अमर छैन, यो मर्छ। तर प्राण अमर राख्न पनि सम्भव छ। प्राणलाई सच्चाइ थाह भएन भने मर्छ र शरीरसँगसँगै नाश हुन्छ तर संसारको अन्तमा शरीरसँगै पुनरुत्थान हुन्छ र सधैंको लागि विनाश भोग्नेछ।” यसबाट टाशेनले वास्तवमा के भन्‍न खोज्दै थिए स्पष्ट छैन। के तिनले एकातिर केही बाइबल शिक्षाहरू पछ्याउँदै, अर्कोतिर आफ्ना समकालीनहरूलाई खुसी पार्ने प्रयासमा धर्मशास्त्रीय सच्चाइलाई गैरमसीही दर्शनहरूसित छ्यासमिस पार्न पो खोजिरहेका थिए कि?

टाशेनको अर्को उल्लेखनीय पुस्तक डायाटेसारोन वा चार सुसमाचारको पुस्तकमा सामञ्जस्यता हो। सिरियाका मण्डलीहरूलाई तिनीहरूकै भाषामा सुसमाचारको पुस्तक उपलब्ध गराउने प्रथम व्यक्‍ति टाशेन थिए। यो पुस्तक उत्कृष्ट थियो, यसमा चारवटै सुसमाचारको पुस्तक एउटै वृत्तान्तमा गाभिएको थियो। यो सिरियाको चर्चले चलाउँथ्यो।

मसीही वा धर्मविरोधी?

टाशेनका लेखोटहरूलाई नियालेर हेर्दा तिनलाई धर्मशास्त्रबारे राम्रो ज्ञान थियो र यसको गहिरो आदर गर्थे भनी स्पष्ट हुन्छ। धर्मशास्त्रले आफूलाई पारेको प्रभावबारे टाशेन यस्तो लेख्छन्‌: “म धनी हुन व्याकुल छैन; म सैन्य सेवा इन्कार गर्छु; म व्यभिचारलाई घृणा गर्छु; नाविक हुने मोह पनि ममा छैन; . . . मसित नाउँ कमाउने कुनै तृष्णा छैन; . . . त्यही एउटा सूर्य सबैको लागि हो र मृत्यु पनि सबैले भोग्नेछ चाहे तिनीहरू सुखविलासमा बसून्‌ वा गरिबीमा।” टाशेन यस्तो सल्लाह दिन्छन्‌: “संसारको कुराहरूप्रति कुनै मोह नराख्नुहोस्‌ र यसको निर्बुद्धिलाई त्याग्नुहोस्‌। परमेश्‍वरको लागि जिउनुहोस्‌ र उहाँलाई चिनेर आफ्नो पुरानो व्यक्‍तित्व त्याग्नुहोस्‌।”—मत्ती ५:४५; १ कोरिन्थी ६:१८; १ तिमोथी ६:१०.

तथापि, अन पर्फेक्सन अकर्डिङ टु द डक्ट्रिन अफ द सेभियर शीर्षक भएको लेखोटलाई विचार गर्नुहोस्‌। तिनी आफ्नो लेखमा वैवाहिक सम्बन्धको लागि दियाबललाई जिम्मेवार ठहऱ्‍याउँछन्‌। मानिसहरूले वैवाहिक सम्बन्धद्वारा आफ्नो शरीरलाई संसारका विनाशी कुराहरूसँग घनिष्ठ भइरहेका हुन्छन्‌ भन्‍ने दाबी गर्दै टाशेन यसको कडा विरोध गर्छन्‌।

जस्टिन मार्टियरको मृत्युपछि सा.यु. १६६ तिर टाशेनले एनक्राटाइट्‌स नाउँ गरेको सन्यासी गुट स्थापना गरेको वा त्यससँग संगत गर्न थालेको देखिन्छ। यसका अनुयायीहरूले कडा आत्म-संयम राख्नुका साथै आफ्नो शरीरलाई नियन्त्रणमा राख्थे। रक्सी, विवाह र धनसम्पत्तिबाट तिनीहरू अलग्गै रहनुपर्थ्यो।

सिक्नुपर्ने पाठ

टाशेन धर्मशास्त्रबाट किन यत्तिको तर्किए? के तिनी ‘सुनेर बिर्सने’ मानिस भएका थिए? (याकूब १:२३-२५) के टाशेन झूटा कथाहरू तिरस्कार गरेर मानव दर्शनहरूको वशमा नपर्न असफल भए? (कलस्सी २:८; १ तिमोथी ४:७) तिनले कुनै-कुनै ठूला गल्तीहरू गरेको हुँदा के तिनको मानसिक अवस्था नै ठेगानमा थिएन कि?

कुरा जस्तोसुकै भए तापनि टाशेनका लेखोट र उदाहरणले तिनको समयको धार्मिक वातावरणलाई प्रस्ट पार्छ। संसारको दर्शन कत्तिको विनाशकारी हुन सक्छ भनी देखाउँछ। प्रेरित पावलको चेतावनीलाई मनमा राख्दै हामी पनि “अशुद्ध वकवादबाट र ज्ञान कहलिएको झूटा विरोधबाट” अलग रहौं।—१ तिमोथी ६:२०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने