अध्याय ६
स्वस्थकर मनोरञ्जन कसरी छान्ने?
“सबै थोक परमेश्वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.
१, २. मनोरञ्जनको सन्दर्भमा हामीले कस्तो छनौट गर्नै पर्छ?
तपाईंले स्वादिलो फल खानै लाग्नुभएको छ। तर त्यतिबेला त्यो फलको एक भाग सडेको देख्नुभयो। अब तपाईं के गर्नुहुन्छ? सडेको भागसहित सिङ्गै फल खान पनि सक्नुहुन्छ; सडेको भाग सहित सिङ्गै फल फाल्न पनि सक्नुहुन्छ; अथवा सडेको भाग मात्र काटेर नसडेको भाग जति खान पनि सक्नुहुन्छ। साँच्चै तपाईं के गर्नुहुन्छ?
२ एक अर्थमा मनोरञ्जन पनि त्यो फलजस्तै हो। कहिलेकाहीं तपाईंलाई रमाइलो गर्न मन लाग्छ। तर आजकालको प्रायजसो मनोरञ्जन नैतिक रूपमा खतम छ, सडेको फल जस्तै छ भनेर तपाईंलाई थाह छ। त्यसो भए तपाईं के गर्नुहुन्छ? कोही-कोहीले खराब कुरालाई पनि स्वीकार्छन् र यो संसारमा भएको जस्तोसुकै मनोरञ्जन पनि लिने गर्छन्। अरू कतिपय भने कुनै किसिमको खराब असर नपरोस् भनेर सबै मनोरञ्जनदेखि दस कोश पर बस्छन्। तर कोही-कोही भने होसियार भएर हानिकारक मनोरञ्जनबाट टाढा बस्छन् र बेला-बेलामा स्वस्थकर देखिने मनोरञ्जनबाट आनन्द उठाउँछन्। परमेश्वरको प्रेम पाउन आफूलाई लायक बनाइराख्न तपाईंले कस्तो छनौट गर्नुपर्छ?
३. हामी कुन कुरा विचार गर्नेछौं?
३ हामीमध्ये धेरैले तेस्रो तरिका छान्छौं। मनोरञ्जन चाहिन्छ भनेर हामीले बुझेका छौं तर जुन मनोरञ्जन नैतिक तवरमा स्वस्थकर छ त्यसबाट मात्र हामी मनोरञ्जन लिन चाहन्छौं। त्यसकारण कुनै मनोरञ्जन स्वस्थकर छ या छैन भनेर कसरी पक्का गर्ने भन्ने विषयमा विचार गर्नै पर्छ। तर यहोवालाई चढाउने उपासनालाई हामीले छान्ने मनोरञ्जनले कसरी असर गर्न सक्छ, त्यस विषयमा पहिला छलफल गरौं।
“सबै थोक परमेश्वरकै महिमाको निम्ति गर”
४. हाम्रो समर्पणले मनोरञ्जनसम्बन्धी हाम्रो छनौटलाई कसरी असर गर्नुपर्छ?
४ सन् १९४६ मा बप्तिस्मा गरेका एक वृद्ध साक्षीले केही समयअघि यस्तो टिप्पणी गरे: “हरेक बप्तिस्मा भाषणमा उपस्थित भएर मेरो आफ्नै बप्तिस्मा हुन लागेजस्तो गरी ध्यान दिएर सुन्ने मैले निर्णय गरेको छु।” किन? तिनले भने: “मेरो आफ्नो समर्पणलाई मनमा ताजा बनाइराख्नु विश्वासी रहनको लागि एउटा महत्त्वपूर्ण कदम साबित भएको छ।” यो कुरासित तपाईं पक्कै पनि सहमत हुनुहुनेछ। यहोवाको सेवामा आफ्नो पूरै जीवन बिताउनेछु भनेर जुन प्रतिज्ञा तपाईंले गर्नुभएको थियो त्यो सम्झँदा धैर्य धारण गर्न तपाईं उत्प्रेरित हुनुहुनेछ। (उपदेशक ५:४; हिब्रू १०:७) वास्तवमा आफूले गरेको समर्पणबारे मनन गर्दा ख्रीष्टियन सेवाप्रतिको तपाईंको दृष्टिकोणमा मात्र होइन, जीवनको अरू विभिन्न गतिविधिमा पनि असर पुग्छ, जसमा मनोरञ्जन पनि समावेश छ। यस सत्यलाई प्रेषित पावलले जोड दिंदै आफ्ना समयका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.
५. रोमी १२:१ मा भएको चेतावनीलाई बुझ्न लेवी २२:१८-२० ले कसरी मदत गर्छ?
५ जीवनमा तपाईं जे-जति गर्नुहुन्छ ती सबै यहोवालाई चढाउने उपासनासित सम्बन्धित छन्। सँगी विश्वासीहरूमा यस सत्यबारे छाप पार्न पावलले रोमीहरूलाई लेखेको पत्रमा सशक्त अभिव्यक्ति चलाए। तिनले उनीहरूलाई यस्तो आग्रह गरे: “तिमीहरूले आफ्नो शरीरलाई जीवित, पवित्र र ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाएका हुनेछौ।” (रोमी १२:१) तपाईंको शरीरअन्तर्गत तपाईंको दिमाग, हृदय र बल पर्छ। यी सबै कुरा परमेश्वरको सेवा गर्न तपाईं चलाउनुहुन्छ। (मर्कूस १२:३०) यसरी पूरै प्राणले सेवा गर्नुलाई पावलले बलिदान चढाउनु जस्तै हो भने। यस अभिव्यक्तिमा एउटा चेतावनी लुकेको छ। मोशाको व्यवस्थाअनुसार खोट भएको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुहुन्न थियो। (लेवी २२:१८-२०) त्यसैगरि ख्रीष्टियनहरूले चढाउने आध्यात्मिक बलिदान पनि यदि केही गरी खोट लागेको छ भने परमेश्वर त्यसलाई ग्रहण गर्नुहुन्न। त्यसो भए हामीले चढाउने बलिदानमा कसरी खोट लाग्छ त?
६, ७. कुनै ख्रीष्टियनले आफ्नो शरीरमा कसरी खोट लगाउन सक्छ? यसको परिणाम कस्तो हुन सक्छ?
६ रोममा भएका ख्रीष्टियनहरूलाई पावलले यस्तो सल्लाह दिए: ‘तिमीहरू आफ्ना अङ्गहरू पापलाई नसुम्प।’ पावलले यसो पनि भने: ‘पापी शरीरका कामहरूलाई मार।’ (रोमी ६:१२-१४; ८:१३) “शरीरका कामहरू”-मा के-के पर्छन्, यसै पत्रमा पहिला त्यसका केही उदाहरण पावलले दिएका थिए। पापी मानिसजातिबारे हामी यस्तो लेखिएको पाउँछौं: ‘तिनीहरूको मुख सरापले भरिएको छ।’ “तिनीहरूका खुट्टाहरू रगत बगाउन आतुर छन्।” “तिनीहरूको आँखामा परमेश्वरको डर छैन।” (रोमी ३:१३-१८) कुनै ख्रीष्टियनले आफ्ना “अङ्गहरूलाई” यस्ता पापपूर्ण काम गर्न चलाउँछन् भने तिनको शरीर खोट लागेजस्तै हुन्छ। उदाहरणको लागि यदि कुनै ख्रीष्टियनले जानाजानी अश्लील कुराले भरिभराउ भ्रष्ट सामग्रीहरू हेर्छन् वा निर्दयसाथ गरिएको हिंसात्मक कुरा हेर्छन् भने तिनले आफ्ना आँखा ‘पापलाई सुम्पेका’ हुन्छन्। यसरी तिनले आफ्नो पूरै शरीरमा खोट लगाइरहेका हुन्छन्। तिनले चढाएको कुनै पनि उपासना अपवित्र र परमेश्वरलाई ग्रहण नहुने बलिदान हुन पुग्छ। (व्यवस्था १५:२१; १ पत्रुस १:१४-१६; २ पत्रुस ३:११) अस्वस्थकर मनोरञ्जन छान्दा कत्ति ठूलो मोल चुकाउनुपर्ने रहेछ!
७ स्पष्ट छ, ख्रीष्टियनहरूले गलत मनोरञ्जन छान्दा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ। त्यसो भए पक्कै पनि हामी त्यस्तो मनोरञ्जन छान्न चाहन्छौं जसले परमेश्वरलाई चढाउने हाम्रो बलिदान गुणस्तरीय बनाउँछ, खोट लागेको होइन। आउनुहोस्, अब हामी कुन मनोरञ्जन स्वस्थकर छ वा कुन मनोरञ्जन स्वस्थकर छैन, कसरी पक्का गर्ने भन्ने विषयमा छलफल गरौं।
“जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर”
८, ९ (क) मनोरञ्जनलाई साधारणतया कुन दुई भागमा विभाजन गर्न सकिन्छ? (ख) हामीले कस्तो मनोरञ्जन तिरस्कार गर्नुपर्छ र किन?
८ मनोरञ्जनलाई साधारणतया दुई भागमा विभाजन गर्न सकिन्छ। ख्रीष्टियनहरूले फिटिक्कै गर्न नहुने एक किसिमको मनोरञ्जन; अर्कोचाहिं ख्रीष्टियनहरूले स्वीकार्य छ कि छैन भनेर निर्णय गर्नुपर्ने मनोरञ्जन। आउनुहोस् हामी पहिलो खाले मनोरञ्जन अर्थात् ख्रीष्टियनहरूले फिटिकै गर्न नहुने मनोरञ्जनबारे विचार गरौं।
९ पहिलो अध्यायमा बताइएअनुसार कुनै-कुनै मनोरञ्जनले बाइबलले स्पष्ट रूपमा निन्दा गरेका गतिविधिहरू देखाउँछ। उदाहरणको लागि निर्दयी अथवा सैतानको मनोभाव झल्काउने विषय भएको, अश्लील, दुष्ट र अनैतिक कुरालाई फैलाउने वेभ साइट, फिल्म, टिभी कार्यक्रम र सङ्गीतबारे विचार गर्नुहोस्। यस किसिमका खस्केका मनोरञ्जनहरूमा बाइबलका सिद्धान्त वा नियम विपरीतका गतिविधिलाई पनि राम्रो कुराको रूपमा देखाइन्छ। त्यसैले साँचो ख्रीष्टियनहरू यसबाट टाढै बस्नुपर्छ। (प्रेषित १५:२८, २९; १ कोरिन्थी ६:९, १०; प्रकाश २१:८) यस्ता अस्वस्थकर मनोरञ्जनहरूलाई तिरस्कार गर्नुभयो भने तपाईंले आफूलाई यहोवासामु ‘जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर्ने’ र निरन्तर ‘खराबीबाट हट्ने’ व्यक्तिको रूपमा साबित गर्नुहुनेछ। यसरी तपाईंको ‘विश्वास निष्कपट’ हुन्छ।—रोमी १२:९; भजन ३४:१४; १ तिमोथी १:५.
१०. मनोरञ्जनबारे कस्तो तर्क गर्नु खतरनाक हुन्छ र किन?
१० तर कसै-कसैलाई स्पष्ट रूपमा अनैतिक आनीबानी देखाइने मनोरञ्जन हेर्दा हानि हुँदैन भन्ने लाग्न सक्छ। तिनीहरू यस्तो तर्क गर्लान्, ‘मैले फिल्ममा वा टिभीमा हेरेको त हो नि! म आफै त कहाँ त्यस्तो गर्छु र!’ यस्तो तर्क छली र खतरनाक हो। (यर्मिया १७:९) परमेश्वरले निन्दा गर्ने कुरा हेरेर आनन्द उठाउँछौं भने के हामीले साँच्चै नै ‘जे कुरा दुष्ट छ, त्यसलाई घृणा गरिरहेका’ हुन्छौं र? खराब आचरणसम्बन्धी कुनै कुरा बारम्बार हेर्दा, पढ्दा वा सुन्दा त्यसले हाम्रो चेतनालाई लाटो बनाइदिन्छ। (भजन ११९:७०; १ तिमोथी ४:१, २) यस्तो बानीले हाम्रो कामलाई र अरूको पापपूर्ण आचरणप्रति हामीले राख्ने दृष्टिकोणलाई असर गर्न सक्छ।
११. मनोरञ्जनको सन्दर्भमा गलाती ६:७ कसरी सही साबित भएको छ?
११ यस्तो भएको पनि छ। आफूले हेर्ने गरेको मनोरञ्जनबाट प्रभावित भएर कुनै-कुनै ख्रीष्टियन अनैतिक काम गर्न पुगेका छन्। “मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ” भन्ने कुरालाई तिनीहरूले आफ्नो तीतो अनुभवद्वारा सिकेका छन्। (गलाती ६:७) तर यस्तो दुःखद परिणामलाई रोक्न सकिन्छ। यदि तपाईंले होसियारीसाथ आफ्नो दिमागमा नैतिक रूपमा शुद्ध कुराहरू छर्नुभयो भने आनन्दसाथ असल नतिजाको कटनी गर्नुहुनेछ।—पृष्ठ ७७ मा भएको “मैले कस्तो मनोरञ्जन छान्नुपर्छ?” शीर्षकको पेटी हेर्नुहोस्।
बाइबल सिद्धान्तमा आधारित व्यक्तिगत निर्णय
१२. गलाती ६:५ मनोरञ्जनसित कसरी सम्बन्धित छ? मनोरञ्जन छान्दा आफैले निर्णय गर्न हाम्रो लागि कस्तो डोऱ्याइ उपलब्ध छ?
१२ आउनुहोस् अब हामी दोस्रो खालको मनोरञ्जनबारे छलफल गरौं—यस्तो किसिमको मनोरञ्जनमा देखाइने क्रियाकलापलाई न त परमेश्वरको वचनले सीधै निन्दा गरेको छ, न त समर्थन नै गरेको छ। यस्तो किसिमको मनोरञ्जन छान्दा स्वस्थकर छ कि छैन भनेर प्रत्येक ख्रीष्टियन आफैले निर्णय गर्नै पर्छ। (गलाती ६:५) यस्तो छनौट गर्नुपर्दा हाम्रो लागि डोऱ्याइ उपलब्ध छ। बाइबलमा त्यस्ता सिद्धान्त वा आधारभूत सत्य छन् जसले हामीलाई यहोवाको सोच्ने तरिका बुझ्न मदत गर्छ। यस्ता सिद्धान्तलाई ध्यान दियौं भने हामीले मनोरञ्जन लगायतका सम्पूर्ण कुरामा “यहोवाको इच्छा के हो” त्यो बुझ्न सक्नेछौं।—एफिसी ५:१७.
१३. यहोवालाई मन नपर्ने खालका मनोरञ्जनबाट टाढा रहन हामीलाई कुन कुराले उत्प्रेरित गर्नेछ?
१३ सबै ख्रीष्टियनहरूको नैतिक ज्ञान वा समझशक्ति उत्तिकै हुन्छ भन्ने छैन। (फिलिप्पी १:९) साथै मनोरञ्जनसम्बन्धी सबैको रुचि एउटै हुँदैन भनेर पनि ख्रीष्टियनहरूले बुझेका छन्। त्यसकारण सबै ख्रीष्टियनले एकै किसिमको निर्णय गरून् भन्ने आशा गर्नु उचित होइन। तैपनि ईश्वरीय सिद्धान्तले हामी जति धेरै आफ्नो मन-मस्तिष्कमा प्रभाव पार्छौं त्यति नै धेरै यहोवालाई मन नपर्ने खालका मनोरञ्जनबाट टाढा रहन हामी उत्सुक हुनेछौं।—भजन ११९:११, १२९; १ पत्रुस २:१६.
१४. (क) मनोरञ्जन छान्दा हामीले कुन पक्षलाई ध्यान दिनुपर्छ? (ख) हामी आफ्नो जीवनमा राज्य गतिविधिलाई कसरी प्राथमिकता दिन सक्छौं?
१४ मनोरञ्जन छान्दा ध्यान दिनुपर्ने अर्को पक्ष समय हो। तपाईंले जुन मनोरञ्जन गरिरहनुभएको छ त्यो तपाईंलाई ठिकै लाग्ला। तैपनि त्यसमा तपाईंले कति समय खर्चिरहनुभएको छ त्यसले तपाईंले कुन कुरालाई प्राथमिकता दिइरहनुभएको छ भनेर देखाउँछ। ख्रीष्टियनहरूका लागि सबैभन्दा महत्त्वपूर्ण विषय परमेश्वरको उपासनासम्बन्धी कुराहरू हुन्। (मत्ती ६:३३) त्यसो भए तपाईंको जीवनमा राज्य गतिविधिले प्राथमिकता पाइरहेको छ भनेर तपाईं कसरी पक्का गर्न सक्नुहुन्छ? प्रेषित पावलले भने: “कसरी हिंडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जसरी होइन तर बुद्धिमान् मानिस जसरी हिंड, समयको पूर्ण सदुपयोग गर, किनभने हामी खराब समयमा बाँचिरहेका छौं।” (एफिसी ५:१५, १६) हो, मनोरञ्जनको लागि यति समय खर्च गर्ने भनेर तपाईंले प्रस्टै तोक्नुभयो भने त्यसले तपाईंलाई “अझ महत्त्वपूर्ण कुराहरू” अर्थात् तपाईंको आध्यात्मिक हित गर्ने गतिविधिहरूका लागि आवश्यक समय निकाल्न मदत दिनेछ।—फिलिप्पी १:१०.
१५. मनोरञ्जन छान्दा एउटा सुरक्षित सीमा तोक्नु किन बुद्धिमानी हुन्छ?
१५ मनोरञ्जन छान्दा एउटा सुरक्षित सीमा तोक्नु पनि बुद्धिमानी हुन्छ। यसको मतलब के हो? फेरि एक पटक माथि उल्लिखित फलको उदाहरण विचार गर्नुहोस्। सडेको भाग खान नपरोस् भनेर तपाईं त्यो सडेको भाग मात्र होइन तर सडेको भाग वरपरको भागलाई पनि काटेर फाल्नुहुन्छ नि होइन र? त्यसैगरि मनोरञ्जन छान्दा पनि सुरक्षित सीमा तोक्नु बुद्धिमानी हुन्छ। बुद्धिमान् ख्रीष्टियन बाइबलका सिद्धान्तहरू सोझै उल्लङ्घन हुने मनोरञ्जनबाट त पक्कै पनि अलग बस्छन्। तर शङ्कालाग्दो वा आध्यात्मिक स्वास्थ्यमा हानि पुऱ्याउने केही कुरा छ भन्ने लाग्यो भने पनि तिनी त्यस्तो मनोरञ्जनबाट टाढा बस्छन्। (हितोपदेश ४:२५-२७) परमेश्वरको वचनमा दिइएका सल्लाह राम्ररी पालन गऱ्यौं भने अस्वस्थकर कुराहरू भएको मनोरञ्जनबाट अलग रहन मदत मिल्नेछ।
“जुन कुराहरू चोखा छन्”
मनोरञ्जन छान्दा ईश्वरीय सिद्धान्तहरू लागू गऱ्यौं भने हामी आध्यात्मिक हानिबाट जोगिन्छौं
१६. (क) नैतिक मामिलामा यहोवाको दृष्टिकोण पछ्याएका छौं भनेर हामी कसरी देखाउन सक्छौं? (ख) बाइबलका सिद्धान्तहरू लागू गर्नु नै तपाईंको जिउने तरिका हुन सक्छ, कसरी?
१६ मनोरञ्जन छान्दा साँचो ख्रीष्टियनहरू परमेश्वरलाई कस्तो लाग्छ पहिला त्यसबारे सोच्छन्। यहोवाको भावना र स्तरबारे बाइबलमा बताइएको छ। उदाहरणको लागि राजा सुलेमानले यहोवाले घृणा गर्ने कुराहरूको केही सूची दिए। जस्तै: “झूट बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन, र दुष्ट काम गर्न अग्रसर हुने खुट्टा।” (हितोपदेश ६:१६-१९) यहोवाको दृष्टिकोणले तपाईंको दृष्टिकोणलाई कसरी असर गर्नुपर्छ? भजनहार यस्तो आग्रह गर्छन्: “हे परमप्रभुले प्रेम गर्ने हो, खराबीलाई घृणा गर।” (भजन ९७:१०) यहोवा जुन कुरा घृणा गर्नुहुन्छ तपाईं पनि त्यस कुरालाई साँच्चै नै घृणा गर्नुहुन्छ भनेर मनोरञ्जन छान्दा देखिनै पर्छ। (गलाती ५:१९-२१) याद गर्नुहोस्, अरूको अगाडि तपाईं जे गर्नुहुन्छ त्यसले भन्दा पनि गोप्य रूपमा तपाईं के गर्नुहुन्छ त्यसले तपाईंको वास्तविक चिनारी दिन्छ। (भजन ११:४; १६:८) त्यसैले नैतिक मामिलासम्बन्धी जीवनका हर पक्षमा यहोवाको जस्तै भावना झल्काउने भित्री चाहना छ भने तपाईंले सधैं बाइबल सिद्धान्तहरूसँग मेल खाने छनौट गर्नुहुनेछ। यसो गर्नु नै तपाईंको जिउने तरिका हुनेछ।—२ कोरिन्थी ३:१८.
१७. मनोरञ्जन छान्नुअघि हामीले कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१७ मनोरञ्जन छान्दा यहोवाको सोचाइअनुसार छनौट गरिएको छ कि छैन भनेर तपाईं कसरी अझ पक्का हुन सक्नुहुन्छ? यो प्रश्न विचार गर्नुहोस्: ‘यसले मलाई अनि परमेश्वरसितको मेरो सम्बन्धलाई कस्तो असर गर्नेछ?’ उदाहरणको लागि कुनै फिल्म हेर्ने या नहेर्ने भन्ने निर्णय गर्नुअघि आफैलाई यो प्रश्न सोध्नुहोस्: ‘यस फिल्ममा भएका कुराले मेरो अन्तस्करणलाई कस्तो असर गर्नेछ?’ यस विषयमा कस्ता सिद्धान्तहरू लागू गर्न सकिन्छ, आउनुहोस् विचार गरौं।
१८, १९. (क) फिलिप्पी ४:८ मा पाइने सिद्धान्तले हामीले छानेको मनोरञ्जन स्वस्थकर छ कि छैन भनेर पक्का गर्न कसरी मदत गर्न सक्छ? (ख) अरू कुन-कुन सिद्धान्तले तपाईंलाई असल मनोरञ्जन छान्न मदत गर्न सक्छ? (पादटिप्पणी हेर्नुहोस्।)
१८ फिलिप्पी ४:८ मा हामी एउटा महत्त्वपूर्ण सिद्धान्त पाउँछौं। त्यसमा यस्तो लेखिएको छ: “जुन कुराहरू सत्य छन्, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्, जुन कुराहरू परमेश्वरको स्तरबमोजिम असल छन्, जुन कुराहरू चोखा छन्, जुन कुराहरू प्रेम गर्न योग्य छन्, जुन कुराहरूले राम्रो नाम कमाएका छन्, जुन कुराहरूमा सद्गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्, तिनै कुराहरूको विचार गरिरहो।” हो, पावलले यहाँ मनोरञ्जनको कुरा गरिरहेका थिएनन्। बरु हामीले मनमा कस्ता कुराहरू सोच्नुपर्छ त्यो बताइरहेका थिए—यस्ता कुराहरू परमेश्वरलाई खुसी पार्न केन्द्रित हुनुपर्छ। (भजन १९:१४) तर पावलका यी शब्दहरू मनोरञ्जन छान्दा पनि सिद्धान्तको रूपमा लागू गर्न सकिन्छ। कसरी?
१९ आफैलाई सोध्नुहोस्: ‘म जुन-जुन फिल्म, भिडियो गेम, सङ्गीत वा अन्य प्रकारको मनोरञ्जन छनौट गर्छु, के त्यसले मेरो दिमागमा “जे कुराहरू चोखा छन्” त्यो भरिरहेको हुन्छ?’ जस्तै: तपाईंले कुनै फिल्म हेरिसकेपछि त्यो फिल्मले तपाईंको दिमागमा कस्तो छाप छोड्छ? यदि त्यो फिल्म रमाइलो, शुद्ध अनि स्फूर्ती दिने खालको छ भने तपाईंको मनोरञ्जन स्वस्थकर छ भनेर बुझ्नुहुन्छ। तर यदि त्यो फिल्म हेरिसकेपछि तपाईंको मनमा चोखो कुरा खेल्नुको साटो नराम्रो कुरा खेल्छ भने तपाईंको मनोरञ्जन अशुद्ध अनि हानिकारक छ। (मत्ती १२:३३; मर्कूस ७:२०-२३) किन? किनभने नैतिक तवरमा अशुद्ध कुराहरू मनमा खेल्दा तपाईंको भित्री शान्ति खलबलिन्छ, बाइबल प्रशिक्षित तपाईंको अन्तस्करणमा खत बस्छ र परमेश्वरसितको सम्बन्ध बिग्रन सक्छ। (एफिसी ५:५; १ तिमोथी १:५, १९) यस्ता मनोरञ्जनले तपाईंलाई व्यक्तिगत रूपमा हानि पुऱ्याउन सक्ने भएकोले त्यसबाट टाढै रहने सङ्कल्प गर्नुहोस्।a (रोमी १२:२) भजनहारजस्तै हुनुहोस् जसले यहोवालाई यस्तो बिन्ती चढाए: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्।”—भजन ११९:३७.
अरूको फाइदा खोज्नुहोस्
२०, २१. स्वस्थकर मनोरञ्जन छान्ने कुरामा १ कोरिन्थी १०:२३, २४ कसरी लागू हुन्छ?
२० व्यक्तिगत मामिलामा निर्णय गर्दा ध्यान दिनुपर्ने एउटा महत्त्वपूर्ण बाइबल सिद्धान्त पावलले उल्लेख गरे। तिनले भने: “सबै कुरा न्यायसङ्गत छन् तर सबै कुरा फाइदाजनक छैनन्। सबै कुरा न्यायसङ्गत छन् तर सबै कुरा उत्थानदायी हुँदैनन्। हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्।” (१ कोरिन्थी १०:२३, २४) यो सिद्धान्त स्वस्थकर मनोरञ्जन छान्ने कुरामा कसरी लागू हुन्छ? तपाईंले आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ: ‘मैले छान्ने मनोरञ्जनले अरूलाई कस्तो असर गर्छ?’
२१ आफूलाई “न्यायसङ्गत” अर्थात् स्वीकार्य लाग्ने कुनै मनोरञ्जन गर्दा तपाईंको अन्तस्करणलाई केही फरक पर्दैन होला। तर यदि त्यस्तो किसिमको मनोरञ्जन गर्न कुनै सँगी विश्वासीलाई तिनको अन्तस्करणले नदिएको कुरा तपाईंले याद गर्नुभयो भने तपाईं त्यसलाई त्याग्ने निर्णय गर्नुहुन्छ होला। किन? किनभने तपाईं आफ्ना सँगी विश्वासीहरूलाई परमेश्वरप्रति विश्वासी रहन झन् गाह्रो बनाएर “आफ्ना भाइहरूको विरुद्धमा पाप” गर्न चाहनुहुन्न जुन “ख्रीष्टको विरुद्धमा पाप” गर्नुसरह नै हो भनी पावलले बताए। यस सल्लाहलाई मनमा लिनुहोस्: “ठक्करको कारण नबन।” (१ कोरिन्थी ८:१२; १०:३२) यदि कुनै मनोरञ्जन “न्यायसङ्गत” देखिए तापनि “उत्थानदायी” छैन भने हामी त्यसबाट टाढै रहन्छौं। यसरी पावलले अरूको ध्यान राख्दै र पछि हुन सक्ने कुरालाई विचार गर्दै दिएको सल्लाह आज साँचो ख्रीष्टियनहरू पालन गर्छन्।—रोमी १४:१; १५:१.
२२. व्यक्तिगत मामिलामा भिन्न दृष्टिकोणहरू हुन्छन् भनेर ख्रीष्टियनहरूले किन बुझ्नुपर्छ?
२२ तर अरूको फाइदा खोज्ने सन्दर्भमा अर्को पक्ष पनि छ। कसैको अन्तस्करणले कुनै कुरा गर्न रोक्छ भने त्यस्तो अन्तस्करण भएका भाइ वा बहिनीले आफूलाई उचित लाग्ने मनोरञ्जन छान्न ख्रीष्टियन मण्डलीका अरू सदस्यहरूलाई कर गर्नुहुँदैन। यदि तिनले त्यसो गर्छन् भने त राजमार्गमा गाडी चलाउने कुनै चालकले अरू सबै चालकलाई तिनकै गतिमा गाडी चलाउन कर गरेजस्तो हुन्छ। यस्तो माग व्यावहारिक होइन। यस्तो अन्तस्करण हुने भाइ वा बहिनी-ले ख्रीष्टियन प्रेमको कारण मनोरञ्जनको सन्दर्भमा आफ्नोभन्दा केही फरक दृष्टिकोण राख्ने सँगी विश्वासीको आदर गर्नुपर्छ तर ख्रीष्टियन सिद्धान्तको परिधिमा रहेर। यसरी तिनले आफ्नो “व्यावहारिकता सबै मानिसहरूलाई थाह” दिइरहेका हुन्छन्।—फिलिप्पी ४:५; उपदेशक ७:१६.
२३. स्वस्थकर मनोरञ्जन हो कि होइन भनेर तपाईं कसरी पक्का गर्न सक्नुहुन्छ?
२३ निचोडमा भन्नुपर्दा स्वस्थकर मनोरञ्जन हो कि होइन भनेर तपाईं कसरी पक्का गर्न सक्नुहुन्छ? परमेश्वरको वचनले स्पष्टरूपमा निन्दा गरेको भ्रष्ट, अनैतिक गतिविधिलाई प्रस्टसित देखाउने मनोरञ्जनहरूलाई तिरस्कार गर्नुहोस्। बाइबलमा स्पष्ट रूपमा उल्लेख नगरिएको मनोरञ्जनको सन्दर्भमा लागू गर्न सकिने बाइबल सिद्धान्तहरू पालन गर्नुहोस्। तपाईंको अन्तस्करणलाई हानि पुऱ्याउने मनोरञ्जनबाट टाढै बस्नुहोस्। अरूलाई र विशेषगरि सँगी विश्वासीहरूलाई ठेस पुऱ्याउने मनोरञ्जन त्याग्न इच्छुक हुनुहोस्। यसो गर्ने तपाईंको दृढ सङ्कल्पले परमेश्वरको महिमा गरोस्। तपाईं र तपाईंको परिवारलाई उहाँको प्रेम पाउन लायक बनाइरहोस्।
a मनोरञ्जनको सम्बन्धमा लागू हुने अरू केही सिद्धान्तहरू हितोपदेश ३:३१; १३:२०; एफिसी ५:३, ४; र कलस्सी ३:५, ८, २० मा पाइन्छ।