प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १/८ pp. २५-२७
  • म कसरी साथीहरूको दबाबको सामना गर्न सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसरी साथीहरूको दबाबको सामना गर्न सक्छु?
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आत्मविश्‍वासको कमी—एउटा खतरा
  • यहोवालाई आफ्नो भरोसा बनाउनुहोस्‌
  • असल सल्लाहकारहरू छान्‍नुहोस्‌
  • साथीहरूको दबाब—के यो साँच्चै शक्‍तिशाली हुन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
  • युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साथीहरूको दबाब—के यसले तपाईंलाई फाइदा पुऱ्‍याउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • साथीहरूको दबाउ र प्रचार गर्ने सुअवसर
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १/८ pp. २५-२७

युवा जनहरू सोध्छन्‌ . . .

म कसरी साथीहरूको दबाबको सामना गर्न सक्छु?

“साथीहरूको दबाब जताततै व्याप्त छ।”—जेसि, १६ वर्षीय।

“हुर्कंदै जाँदा मैले भोग्नुपरेका सबैभन्दा गाह्रो समस्याहरूमध्ये एउटा मेरो स्कूलका साथीहरूको दबाब थियो।”—जोनाथन, २१ वर्षीय।

साथीहरूको दबाब पक्कै पनि बेवास्ता गर्न नसकिने शक्‍ति हो। तथापि, तपाईं यसको प्रतिरोध गर्न सक्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। अझ भनौं भने, तपाईं यसको सामना गर्ने मात्र होइन तर यसलाई आफ्नो हितको लागि पनि चलाउन सक्नुहुन्छ। तर कसरी?

यस श्रृंखलाको अघिल्लो लेखमा हामीले पहिलो अत्यावश्‍यक कदमबारे छलफल गऱ्‍यौं: साथीहरूको दबाबको शक्‍ति र यसले आफूलाई सजिलै प्रभाव पार्न सक्ने कुरा स्वीकार्नु।a तपाईं कस्ता थप सकारात्मक कदमहरू चाल्न सक्नुहुन्छ? तपाईंलाई चाहिने मदतकारी निर्देशन परमेश्‍वरको वचनमा पाइन्छ। हितोपदेश २४:५ यसो भन्छ: “शक्‍ति भन्दा ज्ञान झन्‌ मुख्य हो।” साथीहरूबाट दबाब आउँदा तपाईंलाई कस्तो ज्ञानले बल दिन सक्छ? यस प्रश्‍नको जवाफ पाउनुभन्दा अघि आउनुहोस्‌, हामी साथीहरूको दबाबले तपाईंमाथि प्रभाव जमाउन सक्ने एउटा समस्याबारे छलफल गरौं।

आत्मविश्‍वासको कमी—एउटा खतरा

जवान यहोवाका साक्षीहरूलाई कहिलेकाहीं साथीहरूको दबाब ठूलै समस्याजस्तो लाग्छ किनभने तिनीहरूको जीवन शैलीमा अरूलाई आफ्नो विश्‍वासबारे बताउनु पनि समावेश छ। (मत्ती २८:१९, २०) के तपाईंलाई कहिलेकाहीं तपाईंले भेट्‌नुहुने अरू जवानहरूलाई आफ्नो विश्‍वासबारे बताउन अप्ठ्यारो लाग्छ? तपाईंलाई मात्र यस्तो लागेको होइन। मेलानी नाउँ गरेकी १८ वर्षीया किशोरी यसो भन्छिन्‌: “जवान व्यक्‍तिहरूसामु आफूलाई साक्षीको रूपमा चिनाउनु मैले सोचेजति सजिलो थिएन।” तिनी अझै यसो भन्छिन्‌: “म भएभरको साहस बटुलेर आफू साक्षी हो भन्‍ने कुरा बताउन खोज्थें तर मलाई फेरि डर लाग्थ्यो।” साथीहरूको नकारात्मक दबाबले तिनलाई आफ्नो विश्‍वासबारे बताउनदेखि रोकिरहेको थियो।

उल्लेखनीय विश्‍वास भएका पुरुष तथा स्त्रीहरूसमेत मानिसहरूसित परमेश्‍वरबारे कुरा गर्न हिचकिचाएका थिए भनी बाइबलले हामीलाई आश्‍वासन दिन्छ। उदाहरणका लागि, साहसी भई बोल्नू भन्‍ने परमेश्‍वरको आज्ञा पालन गरेको खण्डमा आफूले खिसी र सतावट सहनुपर्नेछ भन्‍ने कुरा जवान यर्मियालाई थाह थियो। साथै, यर्मियामा आत्मविश्‍वासको कमी थियो। किन? तिनले परमेश्‍वरलाई यसो भने: “मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।” यर्मिया कलिलै भएको कारण तिनी बोल्न अयोग्य छन्‌ भन्‍ने कुरामा के परमेश्‍वर सहमत हुनुभयो? अहँ, हुनु भएन। यहोवाले यी अगमवक्‍तालाई यस्तो आश्‍वासन दिनुभयो: “ ‘मता बच्चै छु,’ भनी नभन्‌।” यहोवा आफ्नो उद्देश्‍यमा अडिग रहनुभयो र हिचकिचाइरहेका यी युवकलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभयो।—यर्मिया १:६, ७.

हामीमा आत्मविश्‍वासको कमी छ, आफै पक्का छैनौं भने, साथीहरूको दबाबको प्रतिरोध गर्न असाध्यै गाह्रो हुन सक्छ। अनुसन्धानहरूबाट समेत यो कुरा प्रमाणित भएको छ। उदाहरणका लागि, सन्‌ १९३७ मा मुजाफिर शरिफ नाउँका एक जना वैज्ञानिकले एउटा प्रख्यात परीक्षण गरे। तिनले मानिसहरूलाई एउटा अँध्यारो कोठामा राखेर प्रकाशको बिन्दु देखाए अनि तिनीहरूलाई त्यस प्रकाशको बिन्दु कति टाढा सर्दैछ भनी सोधे।

वास्तवमा, त्यस प्रकाशको बिन्दु सरेकै थिएन; यो त दृष्टिभ्रम मात्र थियो। सबै जनालाई छुट्टाछुट्टै राखेर प्रश्‍न सोध्दा, त्यो कति पछाडि सऱ्‍यो भन्‍ने सन्दर्भमा सबैले आ-आफ्नै अनुमान लगाए। तथापि, तिनीहरूलाई फेरि समूहमा राखेर आ-आफ्नो अनुमान सबैले सुन्‍ने गरी बताउन लगाइयो। नतिजा के भयो? आफ्नो अनुमानबारे पक्का नभएको कारण तिनीहरूले एकअर्कालाई असर पारे। जति पटक परीक्षण गऱ्‍यो तिनीहरूको जवाफ पनि एकअर्कासँग त्यति नै मिल्दोजुल्दो हुँदै आउँथ्यो र अन्ततः एउटा “साझा समूह” कायम भयो। पछि हरेकलाई छुट्टाछुट्टै राखेर परीक्षण गर्दासमेत तिनीहरूलाई अझै समूहको समूहगत विचारधाराले असर गरिरहेको थियो।

यस परीक्षणले एउटा महत्त्वपूर्ण बुँदा प्रकाश पार्छ। आफू पक्का छैन वा आत्मविश्‍वासको कमी छ भने, साथीहरूको दबाबले मानिसहरूलाई सजिलै असर गर्छ। कस्तो विचारणीय कुरा, होइन र? वास्तवमा भन्‍ने हो भने, साथीहरूको दबाबले विवाहपूर्वको यौन सम्बन्ध, लागू पदार्थको दुर्व्यसन र आफ्नो जीवनको लक्ष्यजस्ता महत्त्वपूर्ण विषयहरूमा समेत असर गर्न सक्छ। यस्ता विषयहरूमा हामीले “साझा समूह”-को भनाइ स्वीकाऱ्‍यौं भने यसले हाम्रो भविष्यमा ठूलो असर पार्न सक्छ। (प्रस्थान २३:२) त्यसोभए, के गर्न सकिन्छ त?

तपाईंले त्यस परीक्षणमा भाग लिनुभएको भए र तपाईंलाई त्यस प्रकाशको बिन्दु स्थिर छ भन्‍ने थाह भएको भए तपाईंले कस्तो जवाफ दिनुहुने थियो? सायद तपाईं समूहका अरूबाट प्रभावित हुनुहुन्‍नथ्यो होला। हो, हामीमा आत्मविश्‍वास हुनुपर्छ। तर यसमा कस्तो खालको आत्मविश्‍वास समावेश छ अनि हामी यो कसरी हासिल गर्न सक्छौं?

यहोवालाई आफ्नो भरोसा बनाउनुहोस्‌

तपाईंले आत्मविश्‍वास बढाउने विषयमा थुप्रै कुराहरू सुन्‍नुभएको होला। तर यो कसरी बढाउने र कुन हदसम्म हामीलाई यो चाहिन्छ भन्‍ने विषयमा भने बेग्लाबेग्लै धारणाहरू छन्‌। बाइबलमा यस्तो सन्तुलित सल्लाह दिइएको छ: “तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ, तर . . . सुबुद्धिले सम्झ।” (रोमी १२:३) यस पदको अर्को अनुवादले यसो भन्छ: “म सबैलाई भन्दछु, आफ्नो वास्तविक मोलभन्दा बढी नसम्झ र आफ्नो बढाइचढाइ नगर।”—चार्ल्स बि. विलियम्स्‌।

“आफ्नो वास्तविक मोलभन्दा बढी” नसम्झँदा यसले हामीलाई धाक लगाउन, फूर्ति देखाउन वा अहंकारी हुनदेखि जोगाउँछ। अर्कोतर्फ, यस्तो सन्तुलित दृष्टिकोण राख्दा तपाईं सोच्ने, तर्क गर्ने र समझदार निर्णय गर्ने आफ्नो वास्तविक क्षमताप्रति केही हदसम्म निर्धक्क हुनुहुन्छ। तपाईंको सृष्टिकर्ताले तपाईंलाई “तर्कशक्‍ति” दिनुभएको छ र यो कुनै चानचुने वरदान होइन। (रोमी १२:१) यस कुरालाई मनमा राख्दा यसले तपाईंलाई आफू वरपरका व्यक्‍तिहरूको निर्णयअनुसार नचल्न मदत गर्न सक्छ। तथापि, तपाईंलाई सुरक्षा दिने योभन्दा प्रभावकारी अर्को किसिमको भरोसा पनि छ।

राजा दाऊद यस्तो लेख्न प्रेरित भए: “हे परमप्रभु, तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा हुनुहुन्छ।” (भजन ७१:५) हो, दाऊदले आफू युवावस्थामा छँदादेखि नै आफ्नो सम्पूर्ण भरोसा स्वर्गमा बस्नुहुने आफ्नो पितामाथि राखे। पलिश्‍ती दैत्य गोल्यतले इस्राएलको कुनै पनि एक जना सिपाहीलाई आफूसँग लड्‌न आउने चुनौती दिंदा तिनी “सानै ठिटा मात्र” अर्थात्‌ सम्भवतः किशोरावस्थाका थिए। सिपाहीहरू डराए। (१ शमूएल १७:११, ३३) तिनीहरूमाझ साथीहरूको निरुत्साहित पार्ने दबाब आएको हुनुपर्छ। निस्सन्देह, तिनीहरूले गोल्यतको शारीरिक बनोट र साहसबारे निरुत्साहजनक कुरा गरे र यो चुनौती स्वीकार्नु पागलपनाबाहेक अरू केही हुनेछैन भन्‍ने किटान गरे। दाऊदलाई यस्तो प्रकारको दबाबले कुनै फरक पारेन। किन?

दाऊदले गोल्यतलाई के भन्छन्‌ ध्यान दिनुहोस्‌: “तँ ता मसँग लड़न तरवार, भाला र बर्छा लिएर आएको छस्‌, तर म तँसँग लड़न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्‍वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु।” (१ शमूएल १७:४५) दाऊद गोल्यतको शारीरिक बनोट, शक्‍ति र हातहतियारबारे अनभिज्ञ थिएनन्‌। तर तिनको लागि अर्को एउटा कुरा घामजस्तै छर्लंग थियो। यहोवाको तुलनामा गोल्यत केही पनि होइन भनेर तिनलाई थाह थियो। यहोवा दाऊदको पक्षमा हुनुहुन्थ्यो भने, तिनी किन गोल्यतसँग डराउनुपर्थ्यो र? परमेश्‍वरमाथिको यस्तो भरोसाले दाऊदलाई सुरक्षित बनायो। साथीहरूबाट जतिसुकै दबाब आए तापनि यसले तिनलाई डेग चलाउन सकेन।

के तपाईंको पनि यहोवामाथि यस्तै भरोसा छ? उहाँ दाऊदको समयदेखि अहिलेसम्म परिवर्तन हुनुभएको छैन। (मलाकी ३:६; याकूब १:१७) उहाँबारे तपाईं जति धेरै कुरा सिक्नुहुन्छ, उहाँले आफ्नो वचनमार्फत तपाईंलाई भन्‍ने कुराहरूमा तपाईं त्यति नै विश्‍वस्त हुनुहुनेछ। (यूहन्‍ना १७:१७) त्यसमा तपाईंले आफ्नो जीवनलाई डोऱ्‍याउन तथा साथीहरूको दबाबको सामना गर्न मदत दिने अपरिवर्तनीय तथा भरपर्दा स्तरहरू पाउनुहुनेछ। यहोवालाई आफ्नो भरोसा बनाउनुको अलावा तपाईंले गर्न सक्नुहुने अर्को कुरा पनि छ।

असल सल्लाहकारहरू छान्‍नुहोस्‌

परमेश्‍वरको वचनले असल डोऱ्‍याइ छान्‍नुको आवश्‍यकताबारे जोड दिन्छ। “विवेकशील व्यक्‍तिलाई अगुवाइ मिलोस्‌” भनी हितोपदेश १:५ ले (नयाँ संशोधित संस्करण) बताउँछ। तपाईंको सर्वोत्तम भलाइबारे गहिरो चासो लिने तपाईंका आमाबाबु डोऱ्‍याइको स्रोत हुन सक्नुहुन्छ। यो कुरा इन्दिरालाई राम्ररी थाह छ। तिनी यसो भन्छिन्‌: “मेरा आमाबाबुले मसँग कुराकानी गर्दा सधैं नै धर्मशास्त्र चलाउनुभएकोले र मेरो जीवनमा यहोवालाई एक जना वास्तविक व्यक्‍ति बनाइदिनुभएकोले म अहिलेसम्म सच्चाइको मार्गमा हिंडिरहेकी छु।” थुप्रै युवाहरू यस्तै महसुस गर्छन्‌।

तपाईं मसीही मण्डलीको सदस्य हुनुहुन्छ भने, तपाईंको लागि त्यहाँ सहायताका अद्‌भुत स्रोतहरू छन्‌। ती हुन्‌, नियुक्‍त निरीक्षकहरू वा प्राचीनहरूका साथै अन्य परिपक्व मसीहीहरू। नाडिया नाउँ गरेकी किशोरी यसो भन्छिन्‌: “म साँच्चै मेरो मण्डलीका प्राचीनहरूमाथि भरोसा गर्थें। हाम्रो मण्डलीका अध्यक्षले विशेष गरी युवाहरूलाई केन्द्रित गर्दै दिनुभएको भाषण मैले अहिलेसम्म बिर्सेकी छैन। सभापछि म र मेरी साथी अत्यन्तै उत्साहित भयौं किनभने हामीले पनि उहाँले आफ्नो भाषणमा बताउनुभए जस्तै महसुस गरिरहेका थियौं।”

साथीहरूको नकारात्मक दबाब विरुद्धको अर्को शक्‍तिशाली हतियार साथीहरूको सकारात्मक दबाब हो। तपाईंले बुद्धिमानीसाथ साथीहरू छान्‍नुभयो भने, तिनीहरूले तपाईंलाई राम्रा लक्ष्य तथा उचित स्तरहरू पछ्याइरहन मदत गर्नेछन्‌। त्यसो हो भने, हामी कसरी राम्रो छनौट गर्न सक्छौं त? यस सल्लाहलाई मनमा राख्नुहोस्‌: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) नाडिया स्कूलमा बुद्धिमान्‌ साथीहरू छान्‍न सजग थिइन्‌। तिनले आफ्नोजस्तै नैतिक स्तर भएका सँगी विश्‍वासीहरू छानिन्‌। तिनी यसो भन्छिन्‌: “स्कूलका अरू केटाहरू हामीसँग ‘गफ मार्न’ हाम्रो वरिपरि झुम्मिंदा हामी सहाराको लागि एकअर्कामा भर पर्थ्यौं।” असल साथीहरूले हामीलाई आफूभित्र भएका असल गुणहरू प्रकट गर्न मदत दिन सक्छन्‌। यस्ता साथीहरू भेट्टाउनको लागि गरिएको परिश्रम व्यर्थ जाँदैन।

यहोवामा आफ्नो भरोसा बढाउनुभयो, परिपक्व मसीहीहरूबाट डोऱ्‍याइ खोज्नुभयो र बुद्धिमानीसाथ साथीहरू छान्‍नुभयो भने, तपाईंले साथीहरूको दबाबको कारण आउने चुनौतीहरू सामना गर्न सक्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। अझै भन्‍ने हो भने, तपाईंले आफ्ना साथीहरूलाई सकारात्मक दबाब दिनुका साथै तिनीहरूलाई तपाईंसँगै जीवनको मार्गमा हिंडिरहन मदत दिन सक्नुहुनेछ। (g02 12/22)

[फुटनोट]

a डिसेम्बर ८, २००२ अंकको ब्यूँझनुहोस्‌!-को “साथीहरूको दबाब—के यो साँच्चै शक्‍तिशाली हुन्छ र?” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वर र उहाँका स्तरहरूलाई तपाईंले जस्तै प्रेम गर्ने असल साथीहरू खोज्नुहोस्‌

[पृष्ठ २६-मा भएको चित्र]

“खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।”—१ कोरिन्थी १५:३३

“बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ।”—हितोपदेश १३:२०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने