“यस संसारको रूप परिवर्तन हुँदैछ”
“ए भाइ हो, म यो भन्दछु, कि समय अल्प भएको छ।”—१ कोरिन्थी ७:२९.
१, २. तपाईंले आफ्नो जीवनमा कस्ता परिवर्तनहरू देख्नुभएको छ?
तपाईंले आफ्नो जीवनकालमा कस्ता परिवर्तनहरू देख्नुभएको छ? के तपाईं कुनै-कुनै सम्झन सक्नुहुन्छ? उदाहरणका लागि, चिकित्सा विज्ञानमा भएका प्रगतिहरू। त्यस क्षेत्रमा भएका अनुसन्धानले गर्दा कुनै-कुनै मुलुकको औसत आयु २० औं शताब्दीको सुरुतिर ५० वर्षभन्दा कमबाट बढेर अहिले ७० वर्षभन्दा बढी पुगेको छ! रेडियो, टेलिभिजन, सेल फोन र फ्याक्स मेसिनको सदुपयोग गरेर हामीले कत्तिको लाभ उठाएका छौं भनेर पनि सोच्नुहोस्। शिक्षा, यातायात र मानव अधिकारको क्षेत्रमा चालिएका कदमहरू पनि उल्लेखनीय छन् र यी सबैले लाखौंको जीवन उकासेको छ।
२ निस्सन्देह, सबै परिवर्तनहरूबाट राम्रा कुराहरू मात्रै भएका छैनन्। हत्याको बढ्दो दर, खस्कँदो नैतिक मूल्य-मान्यता, लागू पदार्थको बढ्दो दुर्व्यसन, सम्बन्ध-विच्छेदको चुलिंदो दर, अकासिंदो मुद्रा-स्फीति अनि द्रुत गतिमा बढिरहेको आतङ्कवादको खतराका विनाशकारी असरहरूप्रति आँखा चिम्लन सकिंदैन। जस्तोसुकै अवस्था होस्, प्रेरित पावलले धेरै अघि लेखेका यो कुरासित तपाईं सहमत हुनुहुन्छ होला: “यस संसारको रूप परिवर्तन हुँदैछ।”—१ कोरिन्थी ७:३१, NW
३. “यस संसारको रूप बितेर जाँदैछ” भनेर पावलले के भन्न खोजिरहेका थिए?
३ पावलले उक्त कुरा व्यक्त गर्दा तिनले संसारलाई एउटा रङ्गमञ्चसित तुलना गरिरहेका थिए। त्यस रङ्गमञ्चका कलाकारहरू—राजनैतिक, धार्मिक तथा सांस्कृतिक हस्तीहरू—देखापर्छन्, आ-आफ्नो भूमिका खेल्छन्; त्यसपछि रङ्गमञ्च अरूको लागि छोडिदिन्छन्। यसरी चलिरहेको शताब्दीयौं भइसक्यो। विगतमा एउटा राजकुलले दशकौं र शताब्दीयौंसम्म शासन गर्न सक्थ्यो अनि सितिमिति परिवर्तन हुँदैनथ्यो। आज भने त्यस्तो हुँदैन किनभने हत्याराले प्रहार गरेको एउटा गोलीबाट इतिहासले अर्कै मोड लिन सक्छ! हो, यी सङ्कटमय समयमा भोलि के हुनेछ, हामीलाई थाह छैन।
४. (क) विश्वका घटनाहरूबारे मसीहीहरूले कस्तो सन्तुलित दृष्टिकोण राख्नुपर्छ? (ख) अब हामी कुन दुइटा पत्यारिला प्रमाणको आधार केलाउनेछौं?
४ संसार एउटा रङ्गमञ्च हो र यसका नेताहरू अभिनेताहरू हुन् भने मसीहीहरू दर्शक।a तथापि, तिनीहरू ‘संसारका नभएको’ हुँदा अभिनेताहरूको अभिनय वा उनीहरूको चिनारीबारे समेत औधी चासो राख्दैनन्। (यूहन्ना १७:१६) बरु, तिनीहरू नाटकको चरमोत्कर्ष अर्थात् विपत्तिजनक अन्त पुग्ने संकेतलाई उत्सुकतापूर्वक पर्खिरहेका छन् किनभने यहोवाले चिर प्रतिक्षित धार्मिक नयाँ संसार ल्याउनुअघि यो रीतिरिवाजको अन्त हुनै पर्छ भनेर तिनीहरूलाई थाह छ।b हामी अन्तको समयमा बाँचिरहेका छौं र नयाँ संसार नजिकै छ भनी देखाउने दुइटा प्रमाणको आधारलाई केलाऔं। ती हुन् (१) बाइबलका घटनाहरूको कालक्रम र (२) विश्वको खस्कँदो परिस्थिति।—मत्ती २४:२१; २ पत्रुस ३:१३.
बल्ल खुल्यो रहस्य!
५. “अन्यजातिहरूको समय” भनेको के हो र यो हाम्रो लागि किन चासोको विषय हो?
५ कालक्रम भनेको समय र घटनाबीचको सम्बन्धको अध्ययन हो। परमेश्वरको राज्यको कुनै हस्तक्षेपविना यस संसारका नेताहरूले रङ्गमञ्चको मुख्य भूमिका ओगट्ने समयबारे येशूले बताउनुभयो। येशूले त्यो समयावधिलाई “अन्यजातिहरूको समय” भन्नुभयो। (लूका २१:२४, नयाँ संशोधित संस्करण) त्यो “अन्यजातिहरूको समय[को]” अन्तमा परमेश्वरको स्वर्गीय राज्यले शक्ति लिनेछ र यसको वैध शासक येशू हुनुहुनेछ। सर्वप्रथम, येशूले “[उहाँका] शत्रुहरूका बीचमा” शासन गर्नुहुनेछ। (भजन ११०:२) त्यसपछि दानियल २:४४ अनुसार यो राज्यले सबै मानव सरकारहरूलाई “चक्नाचूर पार्नेछ” र यो भने सदा सर्वदै रहिरहनेछ।
६. “अन्यजातिहरूको समय” कहिले सुरु भयो, कतिन्जेल चल्यो अनि कहिले अन्त भयो?
६ “अन्यजातिहरूको समय” कहिले अन्त भएर परमेश्वरको राज्यले शासन गर्न थाल्ने थियो? यसको जवाफ, जुन “अन्तको समयसम्मलाई बन्द गरिएका” थियो, त्यसमा बाइबलका घटनाहरूको कालक्रम समावेश छ। (दानियल १२:९) त्यो “समय” नजिकिंदै जाँदा यहोवाले नम्र बाइबल विद्यार्थीहरूको समूहलाई जवाफ प्रकट गर्न कदम चाल्नुभयो। परमेश्वरको पवित्र आत्माको मदत पाएर तिनीहरूले “अन्यजातिहरूको समय” सा.यु.पू. ६०७ मा यरूशलेमको विनाशबाट सुरु भयो अनि त्यो “समय” जम्मा २,५२० वर्ष लामो थियो भनेर बुझे। यसबाट तिनीहरूले “अन्यजातिहरूको समय[को]” अन्त १९१४ मा भयो भनी हिसाब गरे। तिनीहरूले १९१४ यस रीतिरिवाजको अन्तको सुरुवात हो भनेर पनि बुझे। बाइबल विद्यार्थीको हैसियतमा के तपाईं १९१४ को हिसाब कसरी निकालियो भनेर धर्मशास्त्रबाट बुझाउन सक्नुहुन्छ?c
७. दानियलको पुस्तकमा उल्लिखित सात कालको सुरुवात, समयावधि र अन्त पत्ता लगाउन कुन-कुन शास्त्रपदहरूले मदत गर्छन्?
७ एउटा संकेत दानियलको पुस्तकमा गोप्य राखिएको छ। यहोवाले सा.यु.पू. ६०७ मा “अन्यजातिहरूको समय” सुरु हुँदा यरूशलेमको विनाश गर्न बेबिलोनका राजा नबूकदनेसरलाई चलाउनुभएको हुँदा कुनै ईश्वरीय हस्तक्षेपविना सात लाक्षणिक कालसम्म राष्ट्रहरूले शासन गरिरहनेछन् भनेर उहाँले त्यो शासक मार्फत प्रकट गर्नुभयो। (इजकिएल २१:२६, २७; दानियल ४:१६, २३-२५) यी सात काल कति लामा छन्? प्रकाश ११:२, ३ र १२:६, १४ अनुसार साढे तीन काल १,२६० दिन लामा छन्। तसर्थ, सात काल भनेको त्यसको दुइ गुणा अथवा २,५२० दिन हुनुपर्छ। के कुरा त्यति मात्रै हो? होइन किनभने यहोवाले दानियलका समकालीन अगमवक्ता इजकिएललाई लाक्षणिक कुराको अर्थ खुलाउने नियम बताउनुभयो: “तेरो निम्ति तोकेको छु, प्रत्येक वर्षको लागि एक दिन।” (इजकिएल ४:६) तसर्थ, सात काल भनेको वास्तवमा २,५२० वर्ष लामो हुने थियो। सा.यु.पू. ६०७ लाई सुरुको बिन्दु मानेर त्यसबाट २,५२० वर्ष हिसाब गर्दा अन्यजातिको समय १९१४ मा अन्त भयो भन्ने निष्कर्षमा हामी पुग्न सक्छौं।
“अन्तको समय” पुष्टि गरियो
८. सन् १९१४ देखि विश्व परिस्थितिहरू खस्कँदै गएका छन् भनेर तपाईंले कस्तो प्रमाण दिन सक्नुहुन्छ?
८ सन् १९१४ पछिका विश्वघटनाहरूले बाइबलका घटनाहरूको कालक्रमको आधारमा माथि उल्लिखित बुझाइ सही छ भनेर पुष्टि गर्छन्। युद्ध, अनिकाल र रोगबिमार “जगत्को अन्तको” चिह्न हुनेछ भनेर येशू स्वयम्ले भन्नुभयो। (मत्ती २४:३-८; प्रकाश ६:२-८) सन् १९१४ देखि साँच्चै त्यस्तो भएको छ। प्रेरित पावलले त्यस विवरणमा अझ थप्दै भने, एक अर्काप्रति मानिसहरूको मनोवृत्तिमा उल्लेखनीय परिवर्तन आउनेछ। हामी सबैले देखिरहेको त्यस्ता परिवर्तनहरूबारे तिनको विवरण एकदमै सही थियो।—२ तिमोथी ३:१-५.
९. सन् १९१४ पछिको विश्वपरिस्थितिबारे अवलोकनकर्ताहरू के भन्छन्?
९ के १९१४ देखि “यस संसारको रूप” साँच्चै त्यति धेरै बदलिएको छ? जेनरेशन अफ नाइन्टिन फोर्टिन (अंग्रेजी) भन्ने पुस्तकमा प्राध्यापक रबर्ट भोल यस्तो टिप्पणी गर्छन्: “युद्धको दौडान बाँचेकाहरूले अगस्त १९१४ मा एउटा संसारको अन्त भएर अर्को संसार सुरु भयो भन्ने कुरालाई आफ्नो मनबाट हटाउनै सकेनन्।” यसलाई पुष्टि गर्दै विश्व स्वास्थ्यसंघका मानसिक-स्वास्थ्य निर्देशक, डा. जोर्ज ए. कोस्टा इ सिल्भाले यस्तो लेखे: “हामी एकदमै द्रुत गतिमा परिवर्तन भइरहेको समयमा बाँचिरहेका छौं जसले गर्दा मानव इतिहासमा पहिला कहिल्यै नभोगेको चिन्ता र तनाव देखापरिरहेको छ।” के तपाईंले पनि व्यक्तिगत तवरमा यस्तो अनुभव गर्नुभएको छ?
१०. सन् १९१४ देखि खस्कँदो विश्वपरिस्थितिको कारणबारे बाइबलले हामीलाई कसरी प्रकाश पार्छ?
१० खस्कँदो विश्वपरिस्थितिको लागि दोषी खलनायक को हो? प्रकाश १२:७-९ ले त्यो खलनायक को हो भनेर चिनाउँछ: “स्वर्गमा लड़ाइँ भयो। माइकल [येशू ख्रीष्ट] र तिनका दूतहरू त्यस अजीङ्गरजस्तै [शैतान अर्थात् दियाबल] पशुसँग लड़ाइँ गर्न गए, र अजीङ्गरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्यो। अनि त्यो अजीङ्गरजस्तै पशु तल फ्याँकियो त्यो . . . सारा संसारलाई ठग्ने।” अतः शैतान अर्थात् दियाबल सबै समस्याको मूल जड हो र त्यो १९१४ मा स्वर्गबाट फ्याँकिएदेखि “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”—प्रकाश १२:१०, १२,
अन्तिम दृश्यमा के हुनेछ?
११. (क) शैतानले “सारा पृथ्वीलाई ठग्न” कस्ता तरिकाहरू अपनाउँछ? (ख) पावलले शैतानको कुन विशेष प्रयासप्रति ध्यानाकर्षण गरे?
११ शैतानलाई आफ्नो अन्त नजिकै छ भनी थाह भएको हुँदा त्यसले “सारा संसारलाई ठग्न” १९१४ देखि तीव्र प्रयास गरिरहेको छ। अरूलाई ठग्न खप्पिस शैतानले संसारका नेता तथा प्रवर्तकहरूलाई सधैं रङ्गमञ्चमा आदर्श अभिनेताहरूको रूपमा उभ्याएर आफूले नेपथ्यबाट नियन्त्रण गरिरहेको हुन्छ। (२ तिमोथी ३:१३; १ यूहन्ना ५:१९) त्यसको एउटा लक्ष्य मानिसजातिलाई त्यसको शासन गर्ने तरिकाले साँचो शान्ति ल्याउनेछ भन्ने भान पार्नु हो। साधारणतया, त्यसको अफवाह सफल भएको छ किनभने परिस्थिति खस्कँदै गएको तीन थुप्रो प्रमाण भए तापनि मानिसहरू आशावादी छन्। यस रीतिरिवाजको विनाश हुनुभन्दा ठीक अघि शैतानी अफवाहको एउटा उल्लेखनीय प्रचारप्रसार हुनेछ भनेर प्रेरित पावलले भविष्यवाणी गरे। तिनले यस्तो लेखे: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।”—१ थिस्सलोनिकी ५:३; प्रकाश १६:१३.
१२. हाम्रो समयमा शान्ति ल्याउन कस्ता अनवरत प्रयासहरू भइरहेका छन्?
१२ हालैका वर्षहरूमा राजनीतिज्ञहरूले विभिन्न मानव योजनाहरू वर्णन गर्न अक्सर “शान्ति र सुरक्षा” भन्ने वाक्यांश प्रयोग गरेका छन्। तिनीहरूले १९८६ लाई अन्तरराष्ट्रिय शान्ति वर्षसमेत घोषणा गरे तर त्यो वर्ष त्यसको नाउँ अनुसारको हुन सकेन। के विश्वका नेताहरूको त्यस्ता प्रयासले १ थिस्सलोनिकी ५:३ को पूर्ण पूर्ति गर्छ वा पावलले विश्वको ध्यान खिच्ने अत्यन्तै नाटकीय विशेष घटनालाई संकेत गरिरहेका थिए?
१३. “शान्ति र सुरक्षा!” भनेर कराउनेछन् भनी पावलले भविष्यवाणी गर्दा तिनले त्यसपछि आउने विनाशलाई केसित तुलना गरे अनि हामी यसबाट के सिक्न सक्छौं?
१३ बाइबलका भविष्यवाणीहरू अक्सर पूरा भएपछि वा पूरा हुँदै गर्दा मात्र पूर्णतया बुझ्न सकिने हुँदा हामीले पर्खेर हेर्नुपर्नेछ। तर चाखलाग्दो कुरा के छ भने, “शान्ति र सुरक्षा!” भनी कराएपछि हुने अकस्मात् विनाशलाई पावलले गर्भवती महिलाको सुत्केरी व्यथासित तुलना गरे। गर्भवती महिलाले लगभग नौ महिनाको दौडान समय बित्दै गएपछि गर्भमा बच्चा हुर्किरहेको झन्-झन् महसुस गर्न थाल्छिन्। तिनले बच्चाको मुटुको धड्कन सुन्लिन् वा गर्भमा चलहल गरेको महसुस गर्लिन्। बच्चाले लात्ती हान्नसमेत थाल्छ होला। यी लक्षणहरू झन्-झनै स्पष्ट हुँदै जान्छन् अनि एक दिन अकस्मात् व्यथा लागेपछि असह्य पीडाले प्रतीक्षित घडीको संकेत दिन्छ अर्थात् बच्चाको जन्म हुन्छ। तथापि, शान्ति र सुरक्षा भनी कराउनेछन् भन्ने भविष्यवाणी जसरी पूरा भए तापनि अकस्मात् अनि पीडादायी घटना हुनेछ तर त्यसले अन्ततः आशिष् ल्याउनेछ अर्थात् दुष्टताको विनाश भएर नयाँ विश्व रीतिरिवाजको सुरुवात हुनेछ।
१४. भावी घटनाहरू सामान्यतया कुन क्रमअनुसार हुँदै जानेछन् अनि परिणाम कस्तो हुनेछ?
१४ छेउबाट दर्शकको रूपमा हेरिरहेका सबै विश्वासी मसीहीहरूका लागि आउँदै गरेको विनाश भयावह हुनेछ। सर्वप्रथम, पृथ्वीका राजाहरूले (शैतानको संगठनको राजनैतिक भाग) महान् बेबिलोनका समर्थकहरूमाथि (धार्मिक भाग) जाइलाग्नेछन् र तिनीहरूको विनाश गर्नेछन्। (प्रकाश १७:१, १५-१८) तसर्थ, शैतानको संसारको एउटा भागले अर्को भागमाथि आक्रमण गर्दा रङ्गमञ्चको दृश्यले नयाँ मोड लिनेछ अनि त्यसलाई रोक्न शैतान शक्तिहीन हुँदा शैतानको राज्य विभाजित हुनेछ। (मत्ती १२:२५, २६) यहोवाले पृथ्वीका राजाहरूको हृदयमा “[ उहाँको] विचार” हालिदिनुहुनेछ र त्यो मुख्यतया उहाँका धार्मिक विरोधीहरूलाई पृथ्वीबाट नामेट पार्ने विचार हो। झूटो धर्मको विनाश भएपछि येशू ख्रीष्टले आफ्नो स्वर्गीय सेनाको नेतृत्व गर्दै शैतानको संगठनको बाँकी रहेको भाग अर्थात् आर्थिक तथा राजनैतिक तत्त्वहरूलाई पूरै परास्त गर्नुहुनेछ। अन्ततः शैतानलाई निष्क्रिय बनाइनेछ। तब पर्दा खस्नेछ अनि लामो समयसम्म चलेको नाटक समाप्त हुनेछ।—प्रकाश १६:१४-१६; १९:११-२१; २०:१-३.
१५, १६. “समय अल्प” छ भन्ने सम्झौटोले हाम्रो जीवनमा कस्तो असर पार्नुपर्छ?
१५ यी सबै कुराहरू कहिले हुनेछन्? हामीलाई त्यो दिन वा घडी थाह छैन। (मत्ती २४:३६) तथापि, हामीलाई यो कुरा थाह छ कि “समय अल्प भएको छ।” (१ कोरिन्थी ७:२९) त्यसकारण हामीले बाँकी रहेको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नु अत्यावश्यक छ। कसरी? प्रेरित पावलले वर्णन गरेझैं हामीले “समयको अवसर विचार गरेर” अनावश्यक कुराहरू त्यागेर बढी महत्त्वपूर्ण कुराहरू गर्न समय किन्नुपर्छ अनि हरेक दिनलाई अर्थपूर्ण बनाउनुपर्छ। कारण? “किनभने समय खराब छ।” अनि हाम्रो लागि यहोवाको अर्थात् ‘प्रभुको इच्छा के रहेछ, सो बुझ्यौं’ भने बाँकी रहेको अमूल्य समयलाई हामी खेर फाल्नेछैनौं।—एफिसी ५:१५-१७; १ पत्रुस ४:१-४.
१६ सम्पूर्ण सांसारिक रीतिरिवाजको अन्त आउँदैछ भनी थाह भएको हुँदा यसले व्यक्तिगत तवरमा हामीलाई कस्तो असर पार्नुपर्छ? हाम्रो लाभको लागि प्रेरित पत्रुसले लेखे: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ।” (२ पत्रुस ३:११) हामी साँच्चै यस्तै प्रकारका मानिसहरू हुनुपर्छ! पत्रुसको बुद्धिमान सल्लाह अनुरूप हामी (१) हाम्रो आचरण पवित्र छ कि छैन भनी पक्का गर्न सचेत हुनुपर्छ र (२) यहोवाको सेवामा हाम्रो जोसिलो कार्यले सधैं उहाँप्रतिको गहिरो प्रेम झल्काएको छ कि छैन भनी पक्का गर्नुपर्छ।
१७. शैतानका कस्ता पासोहरू विरुद्ध विश्वासी मसीहीहरू सतर्क हुनै पर्छ?
१७ परमेश्वरप्रतिको प्रेमले हामीलाई संसारका आकर्षणहरूको कारण संसारप्रति प्रलोभित हुनदेखि रोक्नेछ। वर्तमान रीतिरिवाजको भविष्य कस्तो हुनेछ भनी थाह भएको हुँदा सुखविलासलाई सर्वमहत्त्वपूर्ण ठान्ने सांसारिक जीवन शैलीको तडकभडक अनि आडम्बरबाट मोहित हुनु खतरनाक हुन्छ। हामी यही संसारमा बाँचेर काम गरिरहेको भए तापनि यस संसारमा चुर्लुम्मै नडुब्नु भन्ने बुद्धिमान सल्लाह पालन गर्नुपर्छ। (१ कोरिन्थी ७:३१) वास्तवमा, संसारको अफवाहबाट नबहकिन यथाशक्य प्रयास गर्नुपर्छ। यो संसारले यसका समस्याहरू समाधान गर्न सक्नेछैन। यसले अनन्तकालसम्म आफूलाई धानिरहन सक्नेछैन। हामी किन यत्तिको पक्का हुन सक्छौं? किनभने परमेश्वरको प्रेरित वचनले यसो भन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
सर्वोत्तम कुरा आउन बाँकी नै छ!
१८, १९. तपाईं नयाँ संसारमा कस्ता परिवर्तनहरू हेर्ने प्रतीक्षा गर्दै हुनुहुन्छ अनि यो पर्खाइ किन बेकार जानेछैन?
१८ यहोवाले शैतान र त्यसका समर्थकहरूको दृश्यमा चाँडै पर्दा खसाल्नुहुनेछ। त्यसपछि यस रीतिरिवाजमा बच्ने विश्वासी जनहरूले परमेश्वरको आशिष् पाएर सदासर्वदै रहिरहने “दृश्य” परिवर्तनको लागि कामकुरा गर्नेछन्। युद्धले दृश्यलाई बिगार्नेछैन; परमेश्वरले “पृथ्वीको अन्तसम्मै . . . युद्धहरू” रोक्नुहुनेछ। (भजन ४६:९) अनिकालको सट्टा “पृथ्वीमा . . . प्रशस्तगरी अन्न हुनेछ।” (भजन ७२:१६) झ्यालखाना, पुलिस स्टेसन, यौनजन्य रोगहरू, लागू औषधीका ठूल्ठूला व्यापारीहरू, सम्बन्ध विच्छेदका अदालतहरू, टाट पल्टिंदा हुने कारोबार अनि आतङ्कवाद केही पनि हुनेछैन।—भजन ३७:२९; यशैया ३३:२४; प्रकाश २१:३-५.
१९ सम्झनाका चिहानहरू उघारिनेछन् अनि पुनरुत्थान भएका करोडौं अर्थात् अझ बढी अभिनेताहरू देखापर्नेछन्। एउटा पुस्ताको मिलन अर्को पुस्तासित अनि लामो समयसम्म बिछोड भएका प्रियजनहरूलाई न्यानो, हृदयस्पर्शी आलिङ्गन गर्न पाउँदा कस्तो आनन्द हुनेछ! अन्ततः जीवित सबैले यहोवाको उपासना गर्नेछन्। (प्रकाश ५:१३) यी परिवर्तनहरू सबै भइसकेपछि पृथ्वीभरि फैलिएको प्रमोदवनमा पर्दा उघ्रिनेछ। यो दृश्य हेर्नुहुँदा तपाईंलाई कस्तो लाग्नेछ? निस्सन्देह तपाईं यस्तो उद्गार व्यक्त गर्न प्रेरित हुनुहुनेछ, ‘यो हेर्न मैले लामो समय पर्खिसकें तर त्यो पर्खाइ बेकार गएन!’
[फुटनोटहरू]
a एउटा बेग्लै सन्दर्भमा पावलले अभिषिक्त मसीहीहरू “संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति तमाशा भएका” छन् भनी लेखे।—१ कोरिन्थी ४:९.
b उदाहरणका लागि, दानियल ११:४०, ४४, ४५ मा उल्लिखित “उत्तरका राजा[को]” चिनारीबारे दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्, भन्ने पुस्तकको पृष्ठ २८०-१ हेर्नुहोस्।
c निर्वासित यहूदीहरू सा.यु.पू. ५३७ मा फर्कनुभन्दा ७० वर्षअघि यरूशलेमको विनाश भयो भनी बाइबल स्वयम्ले देखाउँछ। (यर्मिया २५:११, १२; दानियल ९:१-३) “अन्यजातिहरूको समय[बारे]” विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित रीजनिङ फ्रम द स्क्रिप्चर्स, (अंग्रेजी) पृष्ठ ९५-७ हेर्नुहोस्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
• “यस संसारको रूप बितेर जाँदैछ” भन्ने प्रेरित पावलका शब्दहरू कसरी हाम्रो समयमा सत्य साबित भएका छन्?
• बाइबलका घटनाहरूको कालक्रमले कसरी “अन्यजातिहरूको समय[को]” अन्त औंल्याउँछ?
• बदलँदो विश्वपरिस्थितिले १९१४ मा “अन्तको समय” सुरु भयो भनेर कसरी पुष्टि गर्छ?
• “समय अल्प भएको छ” भन्ने तथ्यले हामीलाई कस्तो असर पार्नुपर्छ?
[पृष्ठ २०-मा भएको चित्र]
बल्ल—खुल्यो रहस्य!