के विवाह नै आनन्दको एक मात्र कुञ्जी हो?
“त्यसले जसलाई इच्छा गर्छ त्यससित विवाह गर्न स्वतन्त्र हुन्छ, तर प्रभुमा मात्र। त्यो त्यसै बस्छे भने झन् सुखी हुन्छ।”—१ कोरिन्थी ७:३९, ४०.
१. शास्त्रले यहोवाको वर्णन कसरी गरेको छ र आफूले सृजनु भएका जीवहरूका निम्ति उहाँले के गर्नु भएको छ?
यहोवा “आनन्दित परमेश्वर” हुनुहुन्छ। (१ तिमोथी १:११) “हरेक असल दान र हरेक उत्तम वरदान” प्रशस्तसँग दिनुहुने दाता पनि उहाँ नै हुनुहुन्छ। यसकारण, उहाँले आफ्ना सबै बुद्धिमान सृष्टि, मानिस र स्वर्गदूतहरू, दुवैलाई उहाँको सेवा गर्दा आनन्दित हुनका निम्ति आवश्यक कुराहरू उपलव्ध गराउनुहुन्छ। (याकूब १:१७) यस बाहेक, सुरिलो स्वरमा गाउने चरी, जता-ततै दौडी रहने कुकुरको बच्चो अथवा खेल-खेलाँची गर्ने डल्फीन जस्ता सबै जीवहरूद्वारा प्रमाणित हुन्छ कि जनावरहरूले पनि आ-आफ्ना ठाउँमा बसेर जीवनबाट आनन्द उठाऊन् भनेर नै यहोवाले तिनीहरूलाई बनाउनु भएको थियो। भजनसंग्रहका लेखकले त कविता रूपी भाषामा अझ यसो पनि भन्छन्: “यहोवाका वृक्षहरू” अथवा “उहाँले लगाउनु भएका देवदारू . . . तृप्त छन्।”—भजनसंग्रह १०४:१६.
२. (क) आफ्नो पिताको काम गर्नमा येशू आनन्दित हुनुहुन्छ भन्ने कुरा के ले देखाउँछ? (ख) येशूका चेलाहरूसित आनन्दित हुने के कारणहरू थिए?
२ येशू ख्रीष्ट ‘परमेश्वरकै तत्त्वको प्रतिबिम्ब’ हुनुहुन्छ। (हिब्रू १:३) यसैले, येशू पनि, “परमधन्य [आनन्दित न्यु०व०] र अद्वितीय अधिराज” कहलिनु भएकोमा कुनै आश्चर्य छैन। (१ तिमोथी ६:१५) यहोवाको इच्छा गर्नु कसरी भोजनभन्दा सन्तोषजनक र आनन्दायी हुनसक्छ भन्ने कुराको उहाँ एउटा अति उत्तम उदाहरण हुनुहुन्छ। परमेश्वरको भय राखेर हिडँदा, अर्थात् प्रगाढ श्रद्धा र उहाँलाई दुःखी पार्न न चाहने हितकर भयका साथ काम-कारबाई गर्दा, साँचो सुख अनुभव गर्न सकिन्छ भन्ने कुरा पनि येशू दर्साउनु हुन्छ। (भजनसंग्रह ४०:८; यशैया ११:३; यूहन्ना ४:३४) ७० जना चेलाहरू राज्यको प्रचार अभियान पश्चात् “आनन्दसाथ” उहाँकहाँ फर्केर आउँदा, येशू स्वयं पनि “पवित्र आत्मामा रमाउनु” भयो। आफ्नो यो आनन्द प्रार्थनाद्वारा पितासँग व्यक्त गरी सक्नु भएपछि, उहाँ आफ्ना चेलाहरू तर्फ फर्कनु भयो र यसो भन्नुभयो: “तिमीहरूले देखेका यी कुराहरू देख्ने आँखा धन्य हुन्। किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले देखेका यी कुराहरू हेर्ने इच्छा गरेका थिए, तर देखेनन्, औ तिमीहरूले सुनेका कुराहरू सुन्नलाई, तर सुनेनन्।”—लूका १०:१७-२४.
आनन्दित हुने कारणहरू
३. आनन्द मनाउने केही कारणहरू के हुन्?
३ यो अन्तको समयमा यहोवाको वचन र उहाँको उद्देश्यको पूर्तिमा भइरहेका कुराहरू देख्न पाएकोमा, के हाम्रा आँखाहरू आनन्दित हुनु पर्ने होइन र? यशैया, दानियल र दाऊद जस्ता विश्वासी अगमवक्ताहरू र राजाहरूले बुझ्न नसकेका अगमवाणीहरू हामीले बुझ्न पाएकोमा के हामी अति हर्षित हुनु पर्दैन र? हाम्रा आनन्दित अधिराज, राजा येशू ख्रीष्टको सक्रिय नेतृत्वमा आनन्दित परमेश्वर यहोवाको सेवा गर्न पाएकोमा के हामी खुसी छैनौं र?
४, ५. (क) यहोवाको सेवामा आनन्दित रहनका निम्ति हामीले के गर्नु हुँदैन? (ख) आनन्दित हुनमा योगदान पुर्याउने केही कुराहरू के हुन्, र यसबाट के प्रश्न खडा हुन्छ?
४ तथापि, हामी यहोवाको सेवामा सधैं आनन्दित भएर बस्न चाहन्छौं भने आफ्नो आनन्दका पूर्वावश्यकताहरूलाई सांसारिक विचारधाराहरूमाथि आधारित हुनदिनु भएन। ती सांसारिक विचारधाराहरूले हाम्रा सोचाइलाई धमिलो पारिदिन सक्तछन् किनभने तिनीहरूमा भौतिक धन, चमकदमकपूर्ण जीवन-शैली इत्यादि सम्मिलित हुन्छन्। यस प्रकारका कुनै पनि वस्तुहरूमा आधारित “आनन्द” क्षणिक हुनेछ, किनकि यो संसार नै बितेर जाँदैछ।—१ यूहन्ना २:१५-१७.
५ सांसारिक लक्ष्यहरू प्राप्त गर्दैमा साँचो आनन्द प्राप्त गर्न सकिंदैन भन्ने कुरा यहोवाका धेरैजसा समर्पित सेवकहरूले बुझ्दछन्। स्वर्गमाहुनुहुने हाम्रा पिताले दिनु हुने आत्मिक र भौतिक पदार्थहरू द्वारा मात्र उहाँका सेवकहरूले सही आनन्द पाउँछन्। “विश्वासी र बुद्धिमान दासद्वारा” उहाँले दिनुहुने आत्मिक भोजनका निम्ति हामी कति कृतज्ञ छौं! (मत्ती २४:४५-४७) परमेश्वरको मायालु हातबाट पाएका भौतिक भोजन र अन्य भौतिक कुराहरूका लागि पनि हामी कृतज्ञ छौं। अनि साथै, विवाहको अद्भुत वरदान र त्यो सित सम्बन्धित पारिवारिक जीवनका आनन्दहरू पनि छन्। यसैकारण त, आफ्नी विधवी बुहारीहरूका लागि नाओमीको हार्दिक कामना यी शब्हरूमा प्रकट गरियो: “यहोवाले तिमीलाई एउटा वरदान दिऊन्, [न्यु०व०] र तिमीहरू दुवैलाई तिमीहरूका आफ्ना आफ्ना पतिका घरमा सुरक्षित राखून्।” (रूथ १:९) हो, ठूलो आनन्दको ढोका खोलिदिन सक्ने एउटा कुञ्जी विवाह रहेछ। तर आनन्दित जीवनतर्फ लैजाने ढोकाको कुञ्जी के विवाह मात्र हो र? यो कुरा सही हो कि होइन भनी, खासगरी जवान मानिसहरूले गम्भीरतापूर्वक जाँच गर्न जरुरी छ।
६. उत्पत्तिअनुसार, विवाहको प्रबन्धको प्रथम उद्देश्य के थियो?
६ विवाहको उत्पत्तिको वर्णन गर्दै बाइबल भन्दछ: “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। औ परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो, र तिनीहरूलाई भन्नुभयो: ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।’” (उत्पत्ति १:२७, २८) यहोवाले विवाहको प्रबन्ध गर्नु भएर, अझ अरू मानव जीवहरूलाई अस्तित्वमा ल्याएर मानवजातिलाई वृद्धि गराउने काममा आदमलाई प्रयोग गर्नुभयो। तर विवाहमा योभन्दा अझ धेरै कुराहरू सम्मिलित छन्।
“प्रभुमा मात्र”
७. विवाहको आवश्यकता पूरा गर्नका निम्ति एक जना कुलपिता कुन हदसम्मै गए?
७ विवाहका सृष्टिकर्त्ता यहोवा हुनु भएको हुनाले, आफ्ना सेवकहरूको आनन्दका निम्ति उहाँले विवाहका लागि अवश्य पनि नियमहरू तोक्नु हुनेछ भनी हामी आशा गर्न सक्तछौं। कुलपिताहरूको पालोमा यहोवाका उपासना नगर्नेहरूसँग विवाहबारी गर्न पटक्कै प्रोत्साहन दिंइदैन थियो। अब्राहामका पुत्र इसहाकका लागि कनानीहरूमध्येबाट पत्नी नलिनु भनी कुलपिताले आफ्ना सेवक एलियाजरलाई शपथ खान लगाए। ‘आफ्ना मालिकका छोराका लागि यहोवाले ठहराउनुभएको स्त्री’ खोज्न एलियाजरले अब्राहामको आदेशलाई अक्षरशः पालन गर्दै टाढाको यात्रा गरे। (उत्पत्ति २४:३, ४४) अतः इसहाकले रिबेकासित विवाह गरे। उनीहरूका छोरा एसावले विधर्मी हित्तीहरूमध्येबाट स्वास्नीहरू ल्याएपछि, “ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुनगयो।”—उत्पत्ति २६:३४, ३५; २७:४६; २८:१, ८.
८. व्यवस्थाको वाचाले विवाह सम्बन्धी के प्रतिबन्ध लगाएको थियो, र किन?
८ व्यवस्थाको वाचा अन्तर्गत, विशेष गरी कनानी जातिहरूका आइमाईहरूलाई विवाह गर्न मनाही थियो। यहोवाले आफ्ना जनहरूलाई निर्देश दिनु भयो: “तिनीहरूसँग बिहेबारी नगर्नू। तिमीहरूका छोरा-छोरीहरूले तिनीहरूका छोरा-छोरीहरूका बीच बिहेबारीको सम्बन्धै नराखून्। किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताका पूजा गर्न लाउनेछन्। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नाश पार्नुहुनेछ।”—व्यवस्था ७:३, ४.
९. विवाहको सम्बन्धमा मसीहीहरूलाई बाइबलले के सल्लाह दिन्छ?
९ यहोवालाई उपासना नगर्नेहरूसँग विवाह नगर्ने त्यसै प्रकारको प्रतिबन्ध मसीही मण्डलीमा पनि प्रयोग भएमा कुनै आश्चर्यको कुरा होइन। प्रेरित पावलले आफ्ना सङ्गी विश्वासीहरूलाई नसीहत दिए: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्गति? औ ख्रीष्टको शैतानसित के सहमत? कि विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा?” (२ कोरिन्थी ६:१४, १५) यो सल्लाह विभिन्न तरिकाहरूमा प्रयोग गर्न सकिन्छ र विवाहको सम्बन्धमा त यो झन लागूहुन्छ। कुनै व्यक्ति “प्रभुमा [छ भने] मात्र” ऊ सित विवाह गर्ने विचार गर्नु भनेर पावलले यहोवाका सबै नै समर्पित सेवकहरूलाई स्पष्ट निर्देश दिएका छन्।—१ कोरिन्थी ७:३९, पाद टिपण्णी.
“प्रभुमा विवाह गर्न” नसकेमा
१०. धेरै अविवाहित मसीहीहरूले के गरिरहेका छन्, र के प्रश्न उठ्दछ?
१० येशूको उदाहरण अनुसरण गर्दै धेरै मसीहीहरूले अविवाहित अवस्थामै रहन सक्ने वरदानलाई विकशित गर्न रोजेका छन्। साथै, हाल कुनै धर्म-भीरु जीवन-साथी फेला पारेर “प्रभुमा विवाह” गर्न नपाएका हुनाकारण, विश्वास नगर्ने व्यक्तिसित विवाह गर्नुको सट्टा धेरै मसीहीहरूले यहोवामाथि आफ्नो भरोसा राख्तै विवाह नगरीकनै बसेका छन्। परमेश्वरको आत्माले तिनीहरूमा आनन्द, शान्ति, विश्वस्तता, र संयमजस्ता फलहरू उत्पन्न गराउँदछ र यसले तिनीहरूलाई आफ्नो शुद्ध अविवाहित अवस्था कायम राख्ने मदत दिन्छ। (गलाती ५:२२, २३) ईश्वर-भक्तिको यो जाँचमा सफल हुनेहरूमध्ये हाम्रा धेरै नै मसीही बहिनीहरू छन्, जसका लागि हाम्रो मनमा गहिरो आदर छ। विभिन्न देशहरूमा तिनीहरूको सङ्ख्या भाइहरूको भन्दा धेरै नै बढी छ र यसकारण प्रचार कार्यमा तिनीहरूले ठूलो भाग लिन्छन्। साँच्चै नै, “परमेश्वरले वचन दिनुहुन्छ, शुभ समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ।” (भजनसंग्रह ६८:११) यथार्थमा, परमेश्वरका अविवाहित सेवकहरू, पुरुष र महिला दुवैले सम्पूर्ण निष्ठा कायम राखेका छन् किनभने तिनीहरू ‘आफ्नो सारा हृदयले यहोवामा भरोसा राख्तछन् र उहाँले तिनीहरूका बाटोहरू सुगम तुल्याइ दिनुहुन्छ।’ (हितोपदेश ३:५, ६) तर हाल “प्रभुमा विवाह” गर्न नपाउनेहरू के निश्चय नै दुःखी हुनेछन्?
११. बाइबलका सिद्धान्तहरूको आदर गर्नाले अविवाहित रहने मसीहीहरू कुन कुराबारे आश्वस्त हुन सक्छन्?
११ आनन्दित परमेश्वर, यहोवाका हामी साक्षीहरू हौं र आनन्दित अधिराज, येशू ख्रीष्टको अधीनमा हामी काम गरिरहेका छौं भन्ने कुरा सधैं सम्झी राखौं। अतः “प्रभुमा” विवाह गर्नका निम्ति एक जना साथी फेला पार्न नसकिएको हुनाले बाइबलमा स्पष्टगरी दिइएको प्रतिबंधलाई आदर गर्दै अहिले अविवाहित नै बस्ने हामीले निर्णय गऱ्यौं भने, के परमेश्वर र ख्रीष्टले हामीलाई दुःखी अवस्थामा नै छाडिदिनु हुनेछ भनी सोच्नु तर्कसङ्गत होला र? कदापि हुनेछैन। यसकारण, अविवाहित अवस्थामै रहँदा पनि मसीहीहरूको हैसियतमा आनन्दित हुन सम्भव छ भन्ने निष्कर्षमा हामी पुग्नु पर्दछ। हामी विवाहित अथवा अविवाहित, जे भएता पनि यहोवाले हामीलाई साँच्चै नै खुसी तुल्याउन सक्नुहुन्छ।
साँचो आनन्दको कुञ्जी
१२. अनाज्ञाकारी स्वर्गदूतहरूको घटनाले विवाहबारे के सङ्केत गर्दछ?
१२ परमेश्वरका सबै नै सेवकहरूका निम्ति आनन्दको एक मात्र कुञ्जी विवाह होइन। उदाहरणका लागि, स्वर्गदूतहरूलाई विचार गर्नुहोस्। जलप्रलय हुनुभन्दा पहिले, केही स्वर्गदूतहरूले आत्मिक जीवहरूलाई नसुहाउने किसिमका इच्छाहरू आफ्नो मनमा विकाश गरे, तिनीहरू विवाह गर्न नपाएकोमा असंतुष्ट भए, र आइमाईहरूलाई आफ्नी पत्नी बनाउनका निम्ति आफूलाई भौतिक शरीरमा परिणत गरे। यी स्वर्गदूतहरूले यस प्रकार “आफ्ना घर-बार छोडेका हुनाले,” परमेश्वरले “तिनीहरूलाई आखिरी दिनको इन्साफको लागि अन्धकारमनि अनन्त बन्धनमा राख्नुभएको छ।” (यहूदा ६; उत्पत्ति ६:१, २) जरुर पनि स्वर्गदूतहरूका निम्ति विवाहको प्रबन्ध परमेश्वरले कहिले मिलाउनु भएको थिएन। अतः तिनीहरूको आनन्दको कुञ्जी विवाह हुन सक्तैन थियो।
१३. पवित्र स्वर्गदूतहरू किन खुशी छन्, र परमेश्वरका सबै सेवकहरूका लागि यसबाट के सङ्केत हुँदछ?
१३ तापनि, विश्वासी स्वर्गदूतहरू आनन्दित छन्। ‘विहानका ताराहरू आनन्दका गीत गाउँदा र ती [स्वर्गदूतीय] पुत्रहरू स्वरमा स्वर मिलाएर जयजयकार गरिरहेको बेलामा’ यहोवाले पृथ्वीको जग बसाल्नु भएको थियो। (अय्यूब ३८:७, द न्यु येरूशलेम बाइबल) पवित्र स्वर्गदूतहरू किन आनन्दित छन्? किनभने यहोवा परमेश्वरको “वचनको शब्द सुन्दै” त्यसलाई कार्यान्वित गर्न तिनीहरू निरन्तर उहाँका सामु उपस्थित छन्। “उहाँको इच्छा बमोजिम” गर्नमा तिनीहरू आनन्द मान्दछन्। (भजनसंग्रह १०३:२०, २१, पाद-टिप्पणी) हो, विश्वासिलो भएर यहोवाको सेवा गरेर नै ती स्वर्गदूतहरूले आनन्द प्राप्त गर्छन्। मानिसहरूका निम्ति पनि आनन्दको कुञ्जी त्यही नै हो। भनौ भने, परमेश्वरलाई अहिले सेवा गरिरहेका विवाहित अभिषिक्त मसीहीहरूले स्वर्गीय जीवनमा पुनरुत्थान पाए पछि तिनीहरूले विवाह गर्ने छैनन्, तर आत्मिक जीवहरूका हैसियतमा दैवी इच्छा पूरा गर्नमा तिनीहरू आनन्दित हुनेछन्। त्यसैले, विवाहित वा अविवाहित, यहोवाका सबै नै वफादार सेवकहरू आनन्दित हुन सक्तछन् किनभने आनन्दको साँचो आधार, विश्वासिलो भएर सृष्टिकर्त्ताको सेवा गर्नु हो।
“छोरा-छोरीहरू भन्दा अझ असल कुरा”
१४. पुरातन इस्राएलका नपुंसकहरूलाई के भविष्यसूचक प्रतिज्ञा गरिएको थियो, र यो किन अचम्मलाग्दो हुन सक्छ?
१४ एउटा वफादार मसीहीले कहिले पनि विवाह नगरे तापनि, परमेश्वरले तिनलाई निश्चय नै आनन्दित राख्न सक्नुहुन्छ। पुरातन इस्राएलका नुपुंसकहरूलाई सम्बोधन गर्ने यी भविष्यसूचक शब्दहरूबाट प्रोत्साहन लिन सकिन्छ: “परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरो विश्रामवार पालन गर्ने, मलाई इच्छा लागेको काम गर्ने, र मेरो करार स्थिर राख्ने नपुंसकहरूलाई म मेरो भवनमा र मेरो भित्ताभित्र छोरा-छोरीहरूभन्दा पनि अझ असल स्मारक तुल्याउनेछु, र तिनीहरूलाई नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने सदाको नाउँ दिनेछु।’” (यशैया ५६:४, ५) यी व्यक्तिहरूको नाउँ कायम राख्नका निम्ति तिनीहरूलाई पत्नी र छोरा-छोरीहरू दिइने प्रतिज्ञा पो गरिएला कि भनी कसैले आशा गरेको हुन सक्तछ। तर तिनीहरूलाई—छोरा-छोरीहरू भन्दा अझ असल कुरा—अर्थात् यहोवाको भवनमा कहिले नमेटिने एउटा नाउँ दिइने प्रतिज्ञा गरियो।
१५. यशैया ५६:४, ५ को पूर्तिबारे के भन्न सकिन्छ?
१५ यी नपुंसकहरू “परमेश्वरका इस्राएलका” एउटा भविष्यसूचक चित्र हुन् भने, तिनीहरूले यहोवाको आत्मिक भवन वा मन्दिरमा कहिल्यै नमेटिने ठाउँ पाउने अभिषिक्त जनहरूलाई प्रतिनिधित्व गर्दछन्। (गलाती ६:१६) निस्सन्देह, पुनरुत्थान भएर आएका पुरातन इस्राएलका ईश्वरीय नपुंसकहरूमा यो भविष्यवाणी अक्षरशः पूरा हुनेछ। ख्रीष्टले हाम्रा छुटकाराका लागि दिनु भएको बलिदान स्वीकार गर्दै यहोवा प्रसन्न हुनु हुने कुराहरू तिनीहरूले रोजे भने, परमेश्वरको नयाँ संसारमा तिनीहरूले “कहिल्यै नमेटिने सदाको नाउँ” पाउनेछन्। यो प्रतिज्ञा, यस अन्तको समयमा यहोवाको सेवा अझ पूर्ण रूपले गर्नका लागि विहेबारी र बाल-बच्चा पाउनेजस्ता काम छोडने “अरू भेडा” मध्येका व्यक्तिहरूमा पनि प्रयोग गर्न सकिन्छ। (यूहन्ना १०:१६) ती मध्ये केही अविवाहित र निःसन्तान भएर नै मर्न सक्तछन्। तर यदि तिनीहरू विश्वासी छन् भने, पुनरुत्थानमा तिनीहरूले “छोरा-छोरीहरूभन्दा अझ असल”—एउटा नाउँ पाउनेछन् जो नयाँ रीतिरिवाजमा “कहिल्यै मेटिने छैन।”
आनन्दको एक मात्र कुञ्जी विवाह होइन
१६. विवाहबाट सँधै नै आनन्द पाउन सकिन्दैन भनेर किन भन्नसकिन्छ?
१६ आनन्द र विवाह बीच एउटा अटुट सम्बन्ध छ भनी केही मानिसहरू ठान्दछन्। तथापि, यो मान्नै पर्दछ कि यहोवाका सेवकहरूको माझमा पनि विवाहद्वारा सधैं नै आनन्द प्राप्त गर्न सकिएको छैन। विवाह गर्नाले केही समस्याहरूको समाधान होला तर अक्सर त्यसका ठाउँमा अरू नै समस्याहरू उत्पन्न हुन्छन् जो अविवाहित व्यक्तिहरूले अनुभव गर्नु परेका समस्याहरू भन्दा पनि कठिन हुन्छन्। पावलले भने कि विवाहले ‘शरीरमा कष्ट’ ल्याउँछ। (१ कोरिन्थी ७:२८) कुनै कुनै बेला एक जना विवाहित व्यक्ति “चिन्तित” हुन्छन् र तिनको ध्यान “विभाजित” हुनु सक्छ। पुरुष होस् वा स्त्री, ‘बाधा बिना प्रभुको भक्ति गर्न” तिनलाई अक्सर अप्ठ्यारो हुन सक्तछ।—१ कोरिन्थी ७:३३-३५.
१७, १८. (क) केही परिभ्रमण अध्यक्षहरूले के रिपोर्ट गरेका छन्? (ख) पावलले के सल्लाह दिए र त्यसलाई प्रयोगमा ल्याउन किन लाभदायक हो?
१७ विवाहित र अविवाहित दुवै अवस्थाहरू परमेश्वर कै वरदान हुन्। (रूथ १:९; मत्ती १९:१०-१२) तथापि, दुवै अवस्थामा सफलता प्राप्त गर्नका लागि, प्रार्थनापूर्वक ध्यान गर्नु अत्यावश्यक छ। परिभ्रमण अध्यक्षहरूको रिपोर्टअनुसार धेरै साक्षीहरूले कलिलै उमेरमा विहे गरिरहेका छन् र अक्सर आफूले जिम्मावारी उठाउन सक्ने अवस्थामा पुग्नअघि नै आमा-बाबु भइसक्तछन्। यस्ता केही विवाहहरू टुटेर जान्छन्। अरू केही दम्पतीहरू चाहिं जसो तसो यी समस्याहरूको सामना गर्दै बस्छन्, तर विवाहद्वारा तिनीहरूले आनन्द चाँहि प्राप्त गर्न सकेका हुँदैनन्। अंग्रेजी नाटककार विलियम कोंग्रेभले लेखे कि, हतार हतार विहे गर्नेहरूले “बिस्तारै [धेरै समयसम्म] पछताउनु” पर्न सक्छ।
१८ परिभ्रमण अध्यक्षहरूको रिपोर्टअनुसार, केही समयका लागि अविवाहित अवस्थामा बस्नु पर्छ भनेर कुनै कुनै युवा भाइहरू बेथेल सेवा वा मिनिस्टीरियल ट्रेनिङ्ग स्कूलका निम्ति दरखास्त दिन हिचकिचाउँछन्। तर “बैंस पुगिसके पछि” अथवा सुरुको मैथुनिक भावावेश अलिक कम भएपछि मात्र विहे गर्नु भनी पावलले सल्लाह दिन्छन्। (१ कोरिन्थी ७:३६-३८) अविवाहित एकलो व्यक्तिको हैसियतमा बिताएका वर्षहरूबाट अनमोल अनुभव र परिज्ञान प्राप्त गर्न सकिन्छ जसले गर्दा विवाह गर्ने व्यक्ति छान्ने वा गौरसित विचार गरेपछि अविवाहितै बस्ने निर्णय लिने योग्यता आफूमा हुनेछ।
१९. विवाह गर्ने कुनै खाँचो हामी वास्तवमा महसुस गर्दैनौं भने, हामीले कस्तो दृष्टिकोण अपनाउन सक्तछौं?
१९ हामीमध्ये कसै कसैको बैंस साथसाथै मैथुनिक सहवासको निम्ति हुने त्यो जोडतोडको इच्छा ढली सकेको छ। विवाहित जीवनका आशिषहरूबारे हामी कहिलेकाहिं सोच्दछौं होला तर वास्तवमा हामीले अविवाहित रहने वरदान पाएका छौं। अविवाहित रहेर हामीले यहोवाको सेवा प्रभावकारी ढङ्गबाट गरी रहेको र विवाह गर्नु पर्ने कुनै त्यस्तो आवश्यकता नपरेको यहोवाले देख्नुहुन्छ होला। साथै विवाह गर्यौं भने उहाँको सेवामा पाइरहेका केही विशेषाधिकारहरू हामीले छाडनु पर्ने हुनसक्तछ। विवाह गर्न कुनै व्यक्तिगत खाँचो परेको छैन र विवाह गर्नका लागि कुनै साथी पनि हामीलाई फेला परेको छैन भने, यहोवाले हाम्रो निम्ति अरू नै वरदान साँचेर राख्नु भएको हुन सक्तछ। त्यसकारण उहाँले हामीलाई चाहिएको कुरा पुऱ्याइदिनु हुनेछ भन्ने विश्वास राखौं। जुन कुरा हाम्रालागि परमेश्वरको इच्छा हो जस्तो देखिन्छ, त्यसैलाई नम्रतापूर्वक स्वीकार गर्दा नै सबैभन्दा ठूलो आनन्द अनुभव गर्न सक्तछौं जस्तोकि गैर यहूदी जातिका मानिसहरूलाई पनि पश्चाताप गरेर जीवन पाउने मौका परमेश्वरले दिनु भएको कुरा थाह लागेपछि, यहूदी भाइहरू “चूपचाप भए [ढिपी गर्न छाडे] र परमेश्वरको महिमा गरे।”—प्रेरित ११:१-१८.
२०. (क) युवा मसीहीहरूलाई अविवाहित रहनेबारे यहाँ के सल्लाह दिइएको छ? (ख) आनन्दित हुने सम्बन्धमा कुन मौलिक बुंदा सत्य ठहर्छ?
२० त्यसैकारण, विवाह आनन्दको एउटा कुञ्जी हुन सक्तछ, हालाँकि त्यसले समस्याहरूको ढोका पनि खोलिदिन सक्तछ। एउटा कुरा चाहिं पक्का छ: आनन्द पाउने एक मात्र बाटो विवाह होइन। सबै कुराहरूलाई ध्यानमा राख्दा, खासगरी युवा मसीहीहरू केही वर्षका लागि अविवाहित रहनु नै बेस हुनेछ। यी वर्षहरूलाई यहोवाको सेवा राम्ररी गर्न र आध्यात्मिकताको विकाश गर्न प्रयोग गर्न सकिन्छ। हाम्रो उमेर वा हामीले गरेको आध्यात्मिक प्रगति जति नै भए तापनि परमेश्वरमा सम्पूर्णतया समर्पित सबैका लागि यो मौलिक बुंदा सधैं सत्य ठहर्छ: विश्वासिलो भएर यहोवाको सेवा गर्नुमा नै साँचो आनन्द पाइन्छ। (w 5/15/92)
तपाईं कसरी प्रत्युत्तर दिनुहुन्छ?
◻ यहोवाका सेवकहरू किन आनन्दित छन्?
◻ सबैभन्दा ठूलो आनन्द प्राप्तिको कुञ्जी विवाह किन होइन?
◻ विवाह गर्ने साथी रोज्दा यहोवाका जनहरूबाट के आशा गरिन्छ?
◻ अविवाहित रहने मसीहीहरू आनन्दित हुन सक्तछन् भनी विश्वास गर्नु एउटा तर्कसङ्गत कुरा किन हो?
◻ विवाह र आनन्दबारे कुन कुरा स्वीकार गर्नै पर्दछ?