प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ २/८ pp. १९-२१
  • आमाबाबु मेरो विवाहमा सहमत हुनुभएन भने के गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाबाबु मेरो विवाहमा सहमत हुनुभएन भने के गर्ने?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कति वर्षसम्मलाई कलिलो उमेर मान्‍ने?
  • जब धार्मिक भिन्‍नता चिन्ताको विषय हुन्छ
  • जातीय वा सांस्कृतिक भिन्‍नता नि?
  • आमाबाबुले विरोध गर्नुको कारण अव्यवहारिक देखिंदा
  • मिलाप खोज्ने
  • पति वा पत्नी रोज्नका लागि ईश्‍वरीय मार्ग निर्देशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • जीवनसाथी कसरी रोज्ने
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ २/८ pp. १९-२१

युवा जनहरू सोध्छन्‌ . . .

आमाबाबु मेरो विवाहमा सहमत हुनुभएन भने के गर्ने?

लाकिशा र तिनका प्रेमी विवाह गर्ने विचार गरिरहेका छन्‌ तर आमालाई चित्त बुझेको छैन। लाकिशा भन्छिन्‌, “म यो वर्ष १९ वर्ष पुग्नेछु तर आमा भन्‍नुहुन्छ, २१ वर्षपुगेपछि मात्र विवाह गर।”

तपाईं विवाह गर्ने योजना बनाउँदै हुनुहुन्छ भने आमाबाबु पनि खुसी होउन्‌ भन्‍ने इच्छा गर्नु स्वाभाविकै हो। आफूले रोजेको जीवनसाथी आमाबाबुलाई चित्त नबुझ्दा तपाईं विचलित हुनुहोला। यस्तो अवस्थामा के गर्ने? तिनीहरूको वास्तै नगरी सरासर बिहे गर्ने?a

तपाईं बालिग हुनुहुन्छ र आमाबाबुको अनुमतिबिना कानुनन्‌ विवाह गर्न सक्नुहुन्छ भने यो समस्या उठ्‌नसक्छ। तर बाइबलले आमाबाबुप्रति आदर तथा सम्मान देखाउन उमेरको सीमा तोकेको छैन। (हितोपदेश १:८) तपाईंले उहाँहरूका भावनाहरूको पर्वाह गर्नुभएन भने उहाँहरूसितको सम्बन्धमा चिरस्थायी क्षति पुग्नसक्छ। यसबाहेक, तपाईंको विवाहमा आमाबाबु सहमत नहुनुमा ठोस कारण पनि हुनसक्छ।

कति वर्षसम्मलाई कलिलो उमेर मान्‍ने?

उदाहरणका लागि, के तपाईंका आमाबाबुले अहिले विवाह गर्ने उमेर भएको छैन भनिरहनुभएको छ? भनौं भने, बाइबलले विवाह गर्ने उमेर यति नै हुनुपर्छ भनेर तोकेको छैन। तर एउटा सुझाउ चाहिं अवश्‍य दिन्छ। त्यो हो, जवानीको “बैंस” अर्थात्‌ यौन इच्छाहरू चरमसीमामा पुग्ने यौवन नाघिसकेको हुनुपर्छ। (१ कोरिन्थी ७:३६) किन? किनभने त्यस्ता युवाहरूले वैवाहिक जीवनको लागि अत्यावश्‍यक भावनात्मक परिपक्वता, आत्मसंयम र आध्यात्मिक गुनहरू भर्खरै मात्र विकास गर्न थालेका हुन्छन्‌।—तुलना गर्नुहोस्‌ १ कोरिन्थी १३:११; गलाती ५:२२, २३.

बीस वर्षीय डेलले विवाह गर्ने निर्णय गर्दा आमाबाबुले आपत्ति जनाएकोमा उनी निराश भए। उनी भन्छन्‌, “उहाँहरूले भन्‍नुभयो, म बच्चै छु र अनुभवी भइसकेको छैन। मलाई त हामी तयार भएजस्तो लाग्यो र विवाह गरेपछि कतिपय कुराहरू सिक्नसक्छौं भन्ठान्थें। तर म कतै भावनामा मात्र बहकिएको हो कि भनेर आमाबाबुलाई पीर पर्थ्यो। उहाँहरूले मलाई थुप्रै प्रश्‍नहरू सोध्नुभयो: के तिमी दिनदिनै गर्नुपर्ने निर्णय गर्न, पैसाको चाँजोपाँजो मिलाउन, परिवारको भौतिक, भावनात्मक तथा आध्यात्मिक प्रबन्ध गर्न सक्षम छौ? के तिमी बुबा बन्‍न तयार छौ? के तिमीले कुराकानी गर्न साँच्चै सिकेका छौ? जीवनसाथीको खाँचोलाई के साँच्चै बुझेका छौ? अर्को वयस्कको हेरचाह गर्न थाल्नुअघि आफैलाई राम्ररी चिन्‍नुपर्छ भन्‍ने उहाँहरूको सोचाइ थियो।

“हामी पर्खन चाहँदैनथ्यौं तैपनि हामी दुवैलाई परिपक्व हुने मौका दिन विवाहलाई स्थगित गऱ्‍यौं। पछि, हामीले विवाह गर्दा हाम्रो विवाहको जग बलियो हुनुका साथै एकअर्काको राम्रो सहयोगी हुनसक्यौं।”

जब धार्मिक भिन्‍नता चिन्ताको विषय हुन्छ

आफ्नो जस्तो धार्मिक विश्‍वास नभएका मानिससँग माया बसेकोले टेरीले लुकीछिपी उसित घनिष्ठता बढाइन्‌। विवाह गर्ने कुरा बताएपछि आमाले विरोध जनाएकोमा टेरी विचलित भइन्‌। टेरीले यस्तो बिलौना गरिन्‌, “आमाले मप्रति यस्तो भावना राख्नुभएको म चाहन्‍नँ। म र मेरी आमाबीचको सम्बन्ध पनि बिगार्न चाहन्‍नँ।”

तर वास्तवमा कसले सम्बन्ध बिगार्न खोजिरहेको थियो? के टेरीकी आमा छुच्ची वा अव्यवहारिक भएकी हुन्‌? होइन, तिनकी आमाले त मसीहीहरूले “प्रभुमा मात्र” विवाह गर्नू भन्‍ने बाइबलको सल्लाह पालन गरिरहेकी थिइन्‌। (१ कोरिन्थी ७:३९) भनौं भने, बाइबलले यस्तो आज्ञा दिन्छ: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।” (२ कोरिन्थी ६:१४, १५) किन?

एउटा कारण हो, सुखी तथा सफल वैवाहिक जीवनको महत्त्वपूर्ण तत्त्व धार्मिक समानता हो। विशेषज्ञहरूको भनाइअनुसार अन्तरविश्‍वास विवाहमा आइपर्ने तनाउ तथा कचमचले प्रायः पारपाचुके हुन्छ। अझ महत्त्वपूर्ण कारण हो, आफ्नो धार्मिक विश्‍वास सम्झौता गर्नुपर्ने वा चटक्कै त्याग्नुपर्ने दबाबको सम्भावना। भिन्‍नै विश्‍वास भएको पति वा पत्नीले तपाईंको उपासनामा हस्तक्षेप नगरे तापनि उनीसित आफ्ना गहन विश्‍वासका कुराहरू बाँड्‌न नसक्दा नमीठो त लाग्छ नै। के तपाईंलाई यस्तो स्थिति आनन्दित विवाहको सूत्रजस्तो लाग्छ?

यसकारण, टेरीले एउटा अत्यन्तै कठिन निर्णय गर्नुपऱ्‍यो। टेरीले भनिन्‌, “म यहोवालाई प्रेम गर्छु तर आफ्नो प्रेमी पनि गुमाउन चाहँदिनँ।” तर कुरा स्पष्ट छ, तपाईं चिची पनि पापा पनि पाउन सक्नुहुन्‍न। परमेश्‍वरका स्तरहरू सम्झौता गरेपछि पनि उहाँको अनुग्रह तथा आशिष्‌ पाइरहन सक्नुहुन्‍न।

तर सायद कुनै सँगी मसीहीसितको विवाहप्रति पनि तपाईंको आमाबाबु सहमत हुनुहुन्‍न। के एउटै विश्‍वास भएको व्यक्‍तिसित पनि असमान हलोमा जोतिने सम्भावना हुन्छ र? त्यस व्यक्‍तिको आध्यात्मिक लक्ष्यहरू बेग्लै छन्‌ र परमेश्‍वरप्रतिको निष्ठा तपाईंको जस्तो छैन भने हुनसक्छ। कुरा त्यसो हो र त्यस व्यक्‍तिले मण्डलीका भाइहरूबाट “असल नाउँ” कमाएको छैन भने तपाईंका आमाबाबु यस्तो विवाहप्रति चिन्तित हुनु जायज होला।—प्रेरित १६:२.

जातीय वा सांस्कृतिक भिन्‍नता नि?

लीनका आमाबाबुले असहमति जनाउनुको अर्कै कारण थियो: उनी बेग्लै जातिको पुरुषसित विवाह गर्न चाहन्थिन्‌। बाइबलले यस सन्दर्भमा के भन्छ? “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न” र “उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” भनी बाइबलले बताउँछ। (प्रेरित १०:३४, ३५; १७:२६) मानिसहरू सबैको सुरुआत एउटै हो र परमेश्‍वरको नजरमा समान छन्‌।

सबै विवाहित दम्पतीहरूले “शरीरमा कष्ट” भोग्ने भए तापनि अन्तरजातीय विवाह गरेका दम्पतीहरूले थप चुनौतीहरू सामना गर्नु पर्नसक्छ। (१ कोरिन्थी ७:२८) किन? किनभने घृणाले भरिएको आजको संसारमा धेरै मानिसहरूले अर्को जातिप्रति परमेश्‍वरको जस्तो दृष्टिकोण राख्दैनन्‌। केही पश्‍चिमी मुलुकहरूमा अन्तरजातीय विवाह निकै प्रचलित भइरहेको भए तापनि अझै कतिपय यस्ता इलाकाहरू छन्‌ जहाँ त्यस्ता दम्पतीहरू कटु पूर्वाग्रहको शिकार हुन्छन्‌। अतः त्यस्तो दबाब खप्न तपाईं तयार हुनुभएको छैन भनेर आमाबाबुले असहमति जनाएका हुनसक्छन्‌।

लीन भन्छिन्‌, “यस्तो परिस्थिति हाम्रो लागि अत्यन्तै चुनौतीपूर्ण हुनसक्छ भन्‍ने मेरो आमाबाबुको सोचाइ थियो।” बुद्धिमानी भई लीनले तिनीहरूका भावनाहरूको कदर गरिन्‌ र विवाह गर्न हतार गरिनन्‌। लीन परिपक्व हुँदै गएपछि र उनले मन पराएको व्यक्‍तिलाई राम्ररी चिनिसकेपछि तिनी यस्तो विवाहसँगसँगै आइपर्ने चुनौतीहरू सामना गर्न सक्नेछिन्‌ भनी आमाबाबु ढुक्क भए। लीन भन्छिन्‌: “उहाँहरूलाई हामी साँच्चै आनन्दित हुनसक्छौं जस्तो लागेपछि उहाँहरू पनि खुसी हुनुभयो।”

तर कहिलेकाहीं समस्या जातिको होइन संस्कृतिको हुन्छ। तपाईंको भन्दा एकदमै भिन्‍न जीवनशैली, इच्छाआकांक्षा, भोजन, संगीत तथा मनोरञ्जनको रूचि भएको व्यक्‍तिसित जीवन बिताउँदा पछि गएर असाध्यै गाह्रो होला भनेर तपाईंको आमाबाबु चिन्तित होलान्‌। तर कुरा जेसुकै होस्‌, बेग्लै जाति वा संस्कृतिको व्यक्‍तिसित विवाह गर्दा ठूलठूला समस्याहरू आउनसक्छन्‌। के तपाईं त्यस्ता समस्याहरू सामना गर्न तयार हुनुहुन्छ?

आमाबाबुले विरोध गर्नुको कारण अव्यवहारिक देखिंदा

तर तपाईंका आमाबाबु असाध्यै अव्यवहारिक भएर विरोध गरिरहनुभएको जस्तो लागेमा नि? फेथ नाउँकी युवती आफ्नी आमाबारे यसो भन्छिन्‌: “आमाले धेरैचोटि पारपाचुके गरिसक्नुभयो। उहाँ भन्‍नुहुन्छ, कामकुरा बिग्रिसकेपछि मात्र कुनै व्यक्‍तिलाई राम्ररी चिन्‍न सकिन्छ। विवाह गरेर म सुखी हुन सक्दिनँ भनेर आमा विश्‍वस्त हुनुहुन्छ।” कहिलेकाहीं यस्तो पनि हुन्छ, आफ्नो विवाह असफल भएका आमाबाबुले आफ्नो छोरा या छोरीको विवाहप्रति सकारात्मक दृष्टिकोण राख्न सक्दैनन्‌। कहिलेकाहीं आमाबाबुले आफ्नो छोरा वा छोरीको विवाहप्रति असहमति जनाउनुमा अमनासिब कारणहरू हुन्छन्‌। जस्तै, छोरा वा छोरीको जीवनलाई पूर्णतया आफ्नै नियन्त्रणमा राख्ने इच्छा।

आमाबाबु तपाईंको कुरै सुन्‍न चाहनुहुन्‍न भने के गर्ने? तपाईं यहोवाका साक्षी हुनुहुन्छ भने पारिवारिक समस्याहरू सुल्झाउन मण्डलीका प्राचीनहरूको सहयोग लिन सक्नुहुन्छ। तिनीहरूले कसैको पक्ष नलिई शान्त, फलदायी ढंगमा छलफल गरेर परिवारका सदस्यहरूलाई मदत गर्नसक्छन्‌।—याकूब ३:१८.

मिलाप खोज्ने

निस्सन्देह, तपाईंको विवाहप्रति आपत्ति जनाउनुमा अन्य कारणहरू पनि हुनसक्छन्‌। जस्तै, आर्थिक अवस्था वा विवाह गर्न लागेको व्यक्‍तिको व्यक्‍तित्त्व इत्यादि। यदि तपाईंले विवाह गर्न लाग्नुभएको व्यक्‍तिले मसीही हुनुअघि छाडा जीवन बिताएको थियो भने तपाईंको स्वास्थ्यबारे आमाबाबु चिन्तित हुनसक्छन्‌ किनभने आजकाल एड्‌स तथा अन्य यौनजन्य रोगहरू छ्यासछ्यासती छ।b

तपाईं आफ्ना आमाबाबुको घरमा बसुञ्जेल उहाँहरूको अख्तियारको अधीनमा बस्नै पर्छ। (कलस्सी ३:२०) तर तपाईं अलग्गै बस्नुहुन्छ र आफै निर्णयहरू गर्नसक्ने उमेरको भइसक्नुभयो भने पनि आमाबाबुले व्यक्‍त गरेका चिन्ताहरूलाई बेवास्ता गरी नहाल्नुहोस्‌। सुन्‍नुहोस्‌। (हितोपदेश २३:२२) विवाह गरेपछि आइपर्ने सम्भाव्य परिणामहरू राम्ररी केलाउनुहोस्‌।—लूका १४:२८ तुलना गर्नुहोस्‌।

यी सबै कुरा विचार गर्नुभएपछि तपाईंले विवाह गर्ने नै निर्णय गर्नुहोला। त्यस्तो निर्णयको लागि स्वतः तपाईंले नै पूर्ण जिम्मेवारी बहन गर्नुपर्नेछ। (गलाती ६:५) तपाईंले आमाबाबुको दृष्टिकोण बुझ्ने हर प्रयास गर्नुभएको छ भने अलि आनाकानी गर्दै भए पनि उहाँहरू तपाईंको निर्णयलाई समर्थन गर्न बाध्य हुनेछन्‌। तर उहाँहरूले विरोध गर्न छोड्‌नुभएन भने उहाँहरूप्रति वैरभाव राख्ने वा रिसाउने नगर्नुहोस्‌। नबिर्सनुहोस्‌: आमाबाबुले तपाईंलाई माया गर्नुहुन्छ र तपाईंको भविष्य सुखमय होस्‌ भन्‍ने चाहनुहुन्छ। उहाँहरूसित मिलेर बस्ने प्रयास गर्नुहोस्‌। तपाईंले आफ्नो वैवाहिक जीवनलाई सफल बनाउँदै लैजानुहुँदा उहाँहरूको दृष्टिकोणमा सायद परिवर्तन आउनसक्छ।

अर्कोतर्फ, तपाईंले आमाबाबुको हर कुरालाई राम्ररी विचार गर्नुभयो अनि आफू र आफूले विवाह गर्न मरिमेटेको व्यक्‍तिलाई केलाउनुभएपछि वास्तवमा आमाबाबुकै कुरा पो ठीक रहेछ भन्‍ने निष्कर्षमा पुग्दा तीन छक नपर्नुहोस्‌।

[फुटनोटहरू]

a यो लेखको जानकारी आफै जीवनसाथी छान्‍ने चलन भएको मुलुकका युवाहरूलाई ध्यानमा राख्दै तयार पारिएको हो।

b ब्यूँझनुहोस्‌! (अंग्रेजी) मार्च २२, १९९४ को अंकमा “एड्‌स लागेकाहरूलाई मदत गर्ने” लेख हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको चित्र]

आमाबाबुलाई तपाईंको विवाह गर्ने उमेर भएको छैन जस्तो लाग्ला

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने