प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ८/१ pp. १६-१९
  • के तपाईं ‘आत्माको भरमा हिंड्‌नुहुन्छ’?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं ‘आत्माको भरमा हिंड्‌नुहुन्छ’?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर र ख्रीष्टको नजिक रहिरहनुहोस्‌
  • ‘एउटाले अर्कोलाई प्रेम गर’
  • ‘यहोवाको आनन्द नै तिमीहरूको बल हो’
  • शान्तिमय र धीरजी हुनुहोस्‌
  • दया र भलाइ देखाउनुहोस्‌
  • “निष्कपट विश्‍वास”
  • नम्रता र संयम देखाउनुहोस्‌
  • पवित्र आत्माको भरमा हिंडिरहनुहोस्‌
  • के तपाईंले आफूलाई परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार चल्न दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्‍याउँदछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ८/१ pp. १६-१९

के तपाईं ‘आत्माको भरमा हिंड्‌नुहुन्छ’?

“आत्माको भरमा हिंड र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन।”—गलाती ५:१६.

१. पवित्र आत्मा विरुद्ध पाप गरें कि भन्‍ने चिन्तालाई कसरी हटाउन सकिन्छ?

यहोवाको पवित्र आत्मा विरुद्ध पाप गरें कि भन्‍ने चिन्ता हटाउने एउटा तरिका, प्रेरित पावलले भनेझैं गर्नु हो। तिनले यसो भने: “आत्माको भरमा हिंड र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन।” (गलाती ५:१६) यदि परमेश्‍वरको आत्माको डोऱ्‍याइमा हिंड्यौं भने हामीलाई अनुचित शारीरिक लालसाले छोप्ने छैन।—रोमी ८:२-१०.

२, ३. पवित्र आत्माको भरमा हिंड्यौं भने हामी कसरी प्रभावित हुन्छौं?

२ यहोवाको सक्रिय शक्‍ति अर्थात्‌ पवित्र ‘आत्माको भरमा हिंड्‌दा’ हामी उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुन्छौं। सेवकाईमा, मण्डलीमा, घरमा र अरू जुनसुकै ठाउँमा पनि ईश्‍वरीय गुणहरू झल्काउने छौं। हामी पवित्र आत्माको डोऱ्‍याइमा हिंडेका छौं भन्‍ने कुरा पति वा पत्नी, छोराछोरी, सँगी विश्‍वासी र अरू व्यक्‍तिसितको हाम्रो व्यवहारमा देखिनेछ।

३ “आत्मामा परमेश्‍वरअनुसार” जीवन बिताउँदा हामी पाप गर्नदेखि जोगिन सक्छौं। (१ पत्रुस ४:१-६) यदि पवित्र आत्माको डोऱ्‍याइमा हिंड्यौं भने अक्षम्य पाप अवश्‍यै गर्ने छैनौं। पवित्र आत्माको भरमा हिंड्‌दा अन्य कस्ता लाभदायी तरिकामा हामी प्रभावित हुनेछौं?

परमेश्‍वर र ख्रीष्टको नजिक रहिरहनुहोस्‌

४, ५. पवित्र आत्माको भरमा हिंड्‌दा येशूबारेको हाम्रो दृष्टिकोणमा कस्तो असर पर्छ?

४ हामी पवित्र आत्माको भरमा हिंड्‌ने भएकोले परमेश्‍वर र उहाँका पुत्रसित घनिष्ठ सम्बन्ध कायम राख्न सक्षम भएका छौं। आध्यात्मिक वरदानबारे लेख्दै पावलले कोरिन्थका सँगी विश्‍वासीहरूलाई यसो भने: “म तिमीहरूलाई [पहिलाका मूर्तिपूजकहरूलाई] थाह दिन्छु, परमेश्‍वरका आत्मामा भएर बोल्ने कसैले येशू श्रापित होस्‌ भन्दैन र पवित्र आत्मामा बाहेक कसैले येशूलाई प्रभु हो भन्‍न सक्‍तैन।” (१ कोरिन्थी १२:१-३) येशू श्रापित होस्‌ भनेर मानिसहरूलाई भन्‍न उक्साउने कुनै पनि शक्‍ति शैतानबाटकै हुनुपर्छ। तर हामी मसीहीहरू पवित्र आत्माको भरमा हिंड्‌छौं। त्यसैले, येशूलाई यहोवाले नै मृत्युबाट ब्यूँताउनुभयो र अरू सृष्टिभन्दा उच्च पार्नुभयो भन्‍ने कुरामा विश्‍वस्त छौं। (फिलिप्पी २:५-११) हामी ख्रीष्टको छुटकाराको बलिदानमा विश्‍वास गर्छौं र येशूलाई परमेश्‍वरले हामीमाथि नियुक्‍त गर्नुभएको प्रभु मान्छौं।

५ ईस्वी संवत्‌ प्रथम शताब्दीका मसीही भनौंदा केही व्यक्‍तिले येशू शरीरमा आउनुभएको हो भनी मान्‍न इन्कार गरे। (२ यूहन्‍ना ७-११) त्यस्तो गलत दृष्टिकोण स्वीकारेको कारण केही व्यक्‍तिले मसीह अर्थात्‌ येशूबारेको साँचो शिक्षालाई तिरस्कार गरे। (मर्कूस १:९-११; यूहन्‍ना १:१, १४) पवित्र आत्माको भरमा हिंड्‌दा यस्ता धर्मत्यागको फन्दामा पर्नदेखि हामी बच्छौं। तर आध्यात्मिक तवरमा सजग रहँदा मात्र यहोवाको अनुग्रह पाइरहन र ‘सत्यमा चलिरहन’ सक्छौं। (३ यूहन्‍ना ३, ४) तसर्थ, सबै प्रकारको धर्मत्यागलाई नकार्ने अठोट गरौं जसले गर्दा हामी स्वर्गमा हुनुहुने पितासित बलियो सम्बन्ध कायम राख्न सक्छौं।

६. पवित्र आत्माको भरमा हिंड्‌नेहरूको जीवनमा परमेश्‍वरको पवित्र आत्माले कस्ता फल फलाउँछ?

६ पावलले ‘शरीरका कामको’ सूचीमा मूर्तिपूजा र गुटबन्दीलाई व्यभिचार र घोर छाडापन सँगसँगै राखे। तर उनले यसो पनि भने: “ख्रीष्ट येशूका जतिले त शरीरलाई माया र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्‌। हामी आत्माले जिउँछौं भने आत्माकै अनुसार हिंडौं।” (गलाती ५:१९-२१, २४, २५) पवित्र आत्माको भरमा जिउने र हिंड्‌नेहरूको जीवनमा परमेश्‍वरको सक्रिय शक्‍तिले कस्ता फल फलाउँछ? आत्माको फल फलाउँछ। पावलले लेखे: “आत्माको फल चाहिं—प्रेम, आनन्द, शान्ति, धीरज, दयाa, भलाइ, विश्‍वस्तता, नम्रता, संयम हुन्‌।” (गलाती ५:२२, २३) आउनुहोस्‌, आत्माका यी फलहरूलाई विचार गरौं।

‘एउटाले अर्कोलाई प्रेम गर’

७. प्रेम के हो र यसका केही विशेषता के-के हुन्‌?

७ प्रेम आत्माको एउटा फल हो। यसमा, अक्सर अरूप्रति गहिरो स्नेह र निःस्वार्थ चासो राख्नुका साथै तिनीहरूसँग घनिष्ठ सम्बन्ध राख्नु समावेश हुन्छ। परमेश्‍वर प्रेमको मूर्त रूप हुनुभएकोले “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी बाइबल भन्छ। मानिसजातिप्रति परमेश्‍वर र उहाँका पुत्रले देखाउनुभएको महान्‌ प्रेमको एउटा उदाहरण येशू ख्रीष्टले दिएको छुटकाराको बलिदान हो। (१ यूहन्‍ना ४:८; यूहन्‍ना ३:१६; १५:१३; रोमी ५:८) हामी येशूका अनुयायीहरूको चिनारी भन्‍नु नै एउटाले अर्कोलाई प्रेम गर्नु हो। (यूहन्‍ना १३:३४, ३५) वास्तवमा, ‘एउटाले अर्कोलाई प्रेम गर्न’ हामीलाई आज्ञा दिइएको छ। (१ यूहन्‍ना ३:२३) अनि पावल भन्छन्‌, प्रेम धीरजी र दयालु हुन्छ। यसले डाह गर्दैन, सेखी गर्दैन, बेकायदासाथ चल्दैन र आफ्नै भलाइ खोज्दैन। रीस गर्दैन र खराबीको वास्ता गर्दैन। यो अधर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराका आशा गर्छ र सबै कुरामा स्थिर रहन्छ। त्यसबाहेक, यो कहिल्यै टल्दैन।—१ कोरिन्थी १३:४-८.

८. हामीले सँगी उपासकहरूप्रति किन प्रेम देखाउनुपर्छ?

८ परमेश्‍वरको पवित्र आत्माको मदतले आफ्नो मनमा प्रेम उमाऱ्‍यौं भने यो गुण परमेश्‍वर र छिमेकीसितको हाम्रो सम्बन्धमा पनि देखिनेछ। (मत्ती २२:३७-३९) प्रेरित यूहन्‍नाले यस्तो लेखे, “जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।” (१ यूहन्‍ना ३:१४, १५) प्राचीन इस्राएलमा, कुनै व्यक्‍तिले कसैलाई अन्जानमै मारेको हो भने मात्र उक्‍त हत्याराले शरणस्थानमा सुरक्षा पाउँथ्यो। (व्यवस्था १९:४, ११-१३) यदि हामी पवित्र आत्माको डोऱ्‍याइमा चल्छौं भने परमेश्‍वर, सँगी उपासक र अरूप्रति प्रेम देखाउनेछौं।

‘यहोवाको आनन्द नै तिमीहरूको बल हो’

९, १०. आनन्द के हो र आनन्दित हुन सकिने केही कारण के-के हुन्‌?

९ चरम खुसीको अवस्थालाई आनन्द भनिन्छ। यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (१ तिमोथी १:११, NW; भजन १०४:३१) उहाँका पुत्र पिताको इच्छाबमोजिम गर्न प्रसन्‍न हुनुहुन्छ। (भजन ४०:८; हिब्रू १०:७-९) साथै, ‘यहोवाको आनन्द नै हाम्रो बल हो।’—नहेम्याह ८:१०.

१० कठिनाइ, दुःख र सतावटको बावजूद पनि परमेश्‍वरको इच्छाबमोजिम गर्दा परमेश्‍वरबाट पाएको आनन्दले हामीलाई चरम सन्तुष्टि दिन्छ। ‘परमेश्‍वरको ज्ञानले’ हामीलाई बयानै गर्न नसकिने आनन्द दिन्छ। (हितोपदेश २:१-५) परमेश्‍वरसितको आनन्दमय सम्बन्ध—सही ज्ञान, उहाँप्रतिको विश्‍वास र येशूले दिनुभएको छुटकाराको बलिदानमा आधारित छ। (१ यूहन्‍ना २:१, २) एक मात्र अन्तरराष्ट्रिय भाइचाराको भाग हुनु पनि आनन्दको अर्को स्रोत हो। (सपन्याह ३:९; हाग्गै २:७) परमेश्‍वरको राज्यको आशा र सुसमाचार सुनाउन हामीले पाएको ठूलो सुअवसरले हामीलाई आनन्द दिन्छ। (मत्ती ६:९, १०; २४:१४) अनन्त जीवनको आशाको कारण पनि हामी आनन्दित हुन्छौं। (यूहन्‍ना १७:३) हामीसित यस्तो अद्‌भुत आशा भएकोले हामी ‘आनन्दित’ हुन्छौं।—व्यवस्था १६:१५, NRV.

शान्तिमय र धीरजी हुनुहोस्‌

११, १२. (क) शान्तिको परिभाषा कसरी दिनुहुन्छ? (ख) परमेश्‍वरको शान्तिले हामीमा कस्तो प्रभाव पार्छ?

११ आत्माको अर्को एउटा फल शान्ति हो। यो, शान्तिमय र चिन्तामुक्‍त अवस्था हो। स्वर्गमा बस्नुहुने हाम्रा पिता शान्तिको परमेश्‍वर हुनुहुन्छ र हामीलाई यस्तो आश्‍वासन दिइएको छ: “परमप्रभुले आफ्ना मानिसलाई शान्तिको आशिष्‌ दिनुहुनेछ।” (भजन २९:११; १ कोरिन्थी १४:३३) येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “शान्ति म तिमीहरूका निम्ति छोड्‌दछु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु।” (यूहन्‍ना १४:२७) त्यस शान्तिले उहाँका अनुयायीहरूलाई कसरी मदत गर्ने थियो?

१२ येशूले दिनुभएको शान्तिले उहाँका चेलाहरूको मन शान्त पाऱ्‍यो र तिनीहरूको डर कम गऱ्‍यो। विशेष गरी प्रतिज्ञा गरिएको पवित्र आत्मा पाउँदा तिनीहरूले शान्ति पाए। (यूहन्‍ना १४:२६) आज, पवित्र आत्माको डोऱ्‍याइमा हिंड्‌दा र प्रार्थनाको जवाफ पाउँदा हामी परमेश्‍वरको अतुलनीय “शान्ति” पाउँछौं जसले हाम्रो मनलाई शान्त पार्छ। (फिलिप्पी ४:६, ७) त्यसबाहेक, यहोवाको पवित्र आत्माले हामीलाई सँगी विश्‍वासी र अरूसित शान्ति र मेलमिलापमा बस्न सघाउ पुऱ्‍याउँछ।—रोमी १२:१८; १ थिस्सलोनिकी ५:१३.

१३, १४. धीरज के हो र हामीले किन धीरज देखाउनुपर्छ?

१३ धीरज शान्तिमय हुनुसित सम्बन्धित छ। किनभने धीरजी हुनु भनेको कसैले रीस उठाउँदा वा गल्ती गर्दा परिस्थिति सुध्रिन्छ भनी आशा गर्दै सहनशीलता देखाउनु हो। परमेश्‍वर धीरजी हुनुहुन्छ। (रोमी ९:२२-२४) येशूले पनि यो गुण देखाउनुहुन्छ। यसबाट हामी लाभ उठाउन सक्छौं किनभने पावलले यस्तो लेखे: “यसैकारणले अनन्त जीवनको निम्ति उहाँमाथि पछि विश्‍वास गर्नेहरूलाई एउटा नमूना हुनालाई म मुख्य भएँ तापनि येशू ख्रीष्टले मलाई जम्मै धैर्य देखाउनाको निम्ति मैले दया पाएँ।”—१ तिमोथी १:१६.

१४ अरूले विचार नपुऱ्‍याइ वा कठोरसाथ केही कुरा भन्दा वा गर्दा धीरजले हामीलाई सहन मदत दिन्छ। पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “सबैसँग सहनशीलता [“धीरज,” NW] देखाओ।” (१ थिस्सलोनिकी ५:१४) हामी सबै असिद्ध छौं र गल्ती गर्छौं। त्यसैले, मानिसहरूसित व्यवहार गर्दा हामीले गल्ती गरेमा उनीहरू हामीप्रति धीरजी होऊन्‌ भन्‍ने चाहना अवश्‍यै राख्छौं। त्यसैकारण ‘आनन्दसित धीरजी’ हुन प्रयास गरौं।—कलस्सी १:९-१२.

दया र भलाइ देखाउनुहोस्‌

१५. दयाको परिभाषा र उदाहरण दिनुहोस्‌।

१५ आफ्नो बोली र कार्य दुवैमा मित्रैलो र मदतकारी भएर अरूप्रति चासो देखाउँदा दया प्रदर्शित हुन्छ। यहोवा र उहाँका पुत्र, दुवै दयालु हुनुहुन्छ। (रोमी २:४; २ कोरिन्थी १०:१) त्यसकारण, परमेश्‍वर र ख्रीष्टका सेवकहरूले दया देखाउनु आवश्‍यक छ। (मीका ६:८; कलस्सी ३:१२) परमेश्‍वरसित सम्बन्धै नराख्ने कतिपय मानिसले समेत “औधी दया” देखाएका छन्‌। (प्रेरित २७:३; २८:२) तसर्थ, हामीले पनि अवश्‍यै दया देखाउन सक्छौं।

१६. दया देखाउन हामीलाई उत्प्रेरित गर्नुपर्ने केही परिस्थिति के-के हुन्‌?

१६ कसैको चित्त दुख्ने बोली वा स्वार्थी कामले गर्दा हामीलाई रीस उठ्‌नु स्वाभाविकै हो। तर त्यतिबेला समेत दया देखाउन सक्छौं। पावलले यसो भने: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌। शैतानलाई मौका नदेओ। . . . जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफिसी ४:२६, २७, ३२) विशेष गरी परीक्षामा परेकाहरूप्रति दया देखाउनु एकदमै उचित हो। तर कसैले ‘भलाइ, धार्मिकता र सत्यताको’ मार्ग छोड्‌न लागेको स्पष्ट हुँदाहुँदै पनि उक्‍त व्यक्‍तिको चित्त दुख्ने हो कि भनेर मसीही प्राचीनले धर्मशास्त्रीय सल्लाह दिएनन्‌ भने उनले दया देखाइरहेका हुँदैनन्‌।—एफिसी ५:९.

१७, १८. भलाइको परिभाषा के हो र यस गुणले हाम्रो जीवनमा कस्तो भूमिका खेल्नुपर्छ?

१७ भलाइ भनेको सद्‌गुणी, नैतिकवान्‌ वा असल हुनु हो। परमेश्‍वर जस्तो भला अरू कोही छैन। (भजन २५:८; जकरिया ९:१७) येशू सद्‌गुणी हुनुका साथै नैतिकवान्‌ हुनुहुन्छ। तैपनि एक पटक येशूलाई “उत्तम गुरु” अर्थात्‌ भला गुरु भनी सम्बोधन गरिंदा उहाँले त्यो शब्दलाई उपाधिको रूपमा लिनुभएन। (मर्कूस १०:१७, १८) किन? किनभने परमेश्‍वर जस्तो भला अरू कोही छैन भनेर येशूलाई थाह थियो।

१८ जन्मजात पापले हामीलाई भलाइ गर्नमा बाधा पुऱ्‍याउँछ। (रोमी ५:१२) तैपनि, भलाइ गर्न सिकाउनुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गऱ्‍यौं भने भलाइ देखाउन सक्छौं। पावलले रोमका सँगी विश्‍वासीहरूलाई यसो भने: “ए भाइ हो, म आफै पनि तिमीहरूका विषयमा विश्‍वाससित जान्दछु, कि तिमीहरू आफै, सबै किसिमका सारा ज्ञानले भरिएर भलाइले पूर्ण . . . छौ।” (रोमी १५:१४) मसीही निरीक्षकहरू “भलाइको प्रेमी” हुनु नितान्त आवश्‍यक छ। (तीतस १:७, ८) यदि परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइमा हिंड्यौं भने आफ्नो भलाइको लागि चिनिनेछौं र हामीले गरेको भलाइको निम्ति यहोवाले हामीलाई सम्झनुहुनेछ।—नहेम्याह ५:१९; १३:३१.

“निष्कपट विश्‍वास”

१९. हिब्रू ११:१ अनुसार विश्‍वासको परिभाषा दिनुहोस्‌।

१९ विश्‍वास पनि आत्माको एउटा फल हो। विश्‍वास “आशा राखेका कुराको निश्‍चयता र नदेखेका कुराको प्रमाण हो।” (हिब्रू ११:१) हामीसित विश्‍वास छ भने, यहोवाले प्रतिज्ञा गर्नुभएका सबै कुरा पूरा हुन्छ भनेर निश्‍चित हुन्छौं। मतलब, नदेखेका कुराहरूको प्रमाण यत्ति बलियो हुन्छ कि त्यसप्रतिको विश्‍वासले गर्दा ती नदेखेका कुराहरू पनि देखेझैं हुन्छ। उदाहरणका लागि, सृष्टिका कुराहरूले सृष्टिकर्ताको प्रमाण दिन्छ। यदि पवित्र आत्माको भरमा हिंड्यौं भने त्यस्तो प्रकारको विश्‍वास देखाउन सक्नेछौं।

२०. “हामीलाई सजिलैसित अल्मल्याउने पाप” के हो अनि यसबाट र शरीरका कामबाट हामी कसरी जोगिन सक्छौं?

२० विश्‍वासको कमी भनेको “हामीलाई सजिलैसित अल्मल्याउने पाप” हो। (हिब्रू १२:१) शरीरका काम, भौतिकवाद र हाम्रो विश्‍वासलाई धरमराइदिने झूटो शिक्षादेखि जोगिन परमेश्‍वरको पवित्र आत्मामा भरोसा राख्नु खाँचो छ। (कलस्सी २:८; १ तिमोथी ६:९, १०; २ तिमोथी ४:३-५) परमेश्‍वरको पवित्र आत्माले वर्तमान समयका सेवकहरूको मनमा ठीक त्यस्तै विश्‍वास पैदा गरिदिन्छ जस्तो प्रथम शताब्दीअघिका साक्षी र बाइबल विवरणमा उल्लिखित अरू मानिसहरूमा पैदा गरिदिएको थियो। (हिब्रू ११:२-४०) अनि हाम्रो ‘निष्कपट विश्‍वासले’ अरूको विश्‍वास बलियो बनाउन सक्छ।—१ तिमोथी १:५; हिब्रू १३:७.

नम्रता र संयम देखाउनुहोस्‌

२१, २२. नम्रता भनेको के हो र यसलाई हामी कसरी देखाउन सक्छौं?

२१ नम्र भनेको स्वभाव र व्यवहारमा शिष्ट हुनु हो। परमेश्‍वरको व्यक्‍तित्वमा देखिने एउटा गुण नम्रता हो। हामीलाई यो कुरा थाह छ किनभने नम्र येशूले यहोवाका व्यक्‍तित्व हुबहू झल्काउनुभयो। (मत्ती ११:२८-३०; यूहन्‍ना १:१८; ५:१९) त्यसो भए हामी परमेश्‍वरका सेवकहरूले चाहिं के गर्नुपर्छ?

२२ हामी मसीहीहरूले “सबै मानिसलाई नम्र चाल” देखाउनुपर्छ। (तीतस ३:२) हामी सेवकाईमा नम्रता देखाउँछौं। आध्यात्मिक तवरमा योग्य प्राचीनहरूले गल्ती गर्ने कुनै सँगी मसीहीलाई सुधार गर्दा “नम्रताको आत्माले” सुधार गर भनी सल्लाह दिइएको छ। (गलाती ६:१) “विनय र नम्रता” देखाएर हामी सबैले मसीही एकता र शान्तिमा योगदान पुऱ्‍याउन सक्छौं। (एफिसी ४:१-३) यदि पवित्र आत्माको भरमा हिंडिरह्‍यौं र संयम देखाइरह्‍यौं भने नम्रता देखाउन सक्छौं।

२३, २४. संयम के हो र यसले हामीलाई कसरी मदत दिन्छ?

२३ संयमले हामीलाई आफ्नो सोचाइ, बोली र कामकुरो वशमा राख्न सक्षम बनाउँछ। यरूशलेमको विनाश गर्ने बेबिलोनीहरूसित व्यवहार गर्नुहुँदा यहोवाले ‘आत्मसंयम देखाइरहनुभयो।’ (यशैया ४२:१४, NW) उहाँका पुत्र येशूले सतावट आइपर्दा संयम देखाउनुभएर ‘हाम्रो निम्ति एक उदाहरण’ छोडी राख्नुभयो। अनि प्रेरित पत्रुसले सँगी मसीहीहरूलाई “ज्ञानमा आत्मसंयम” थप्न सुझाव दिए।—१ पत्रुस २:२१-२३; २ पत्रुस १:५-८, NRV.

२४ मसीही प्राचीनहरू संयमी हुनुपर्छ। (तीतस १:७, ८, NRV) वास्तवमा जो पवित्र आत्माको डोऱ्‍याइमा हिंड्‌छन्‌ उनले संयम देखाउन सक्छन्‌ र उनी अनैतिकता, फोहोर बोली वा यहोवाको अनुमोदन गुमाउने हदसम्म पुऱ्‍याउने कुनै पनि कुरा गर्नदेखि अलग रहन सक्छन्‌। पवित्र आत्मालाई हामीमा संयम पैदा गर्न दियौं भने यो हाम्रो बोली र आचरणमा झल्किनेछ र मानिसहरूले यसलाई स्पष्टै देख्न सक्ने छन्‌।

पवित्र आत्माको भरमा हिंडिरहनुहोस्‌

२५, २६. पवित्र आत्माको भरमा हिंड्‌दा सँगी मसीहीहरूसितको अहिलेको हाम्रो सम्बन्धमा र भावी आशामा कस्तो असर पर्नेछ?

२५ यदि पवित्र आत्माको भरमा हिंड्यौं भने हामी राज्यको जोसिला उद्‌घोषक हुनेछौं। (प्रेरित १८:२४-२६) अरूलाई हामीसित संगत गर्न मन लाग्नेछ, विशेषगरि परमेश्‍वरको भक्‍तिमा लागेकाहरूले हामीसित संगत गरेर आनन्द उठाउनेछन्‌। पवित्र आत्माको डोऱ्‍याइ पाएकाहरू जस्तै हामी पनि सँगी उपासकहरूका लागि आध्यात्मिक प्रोत्साहनको स्रोत हुनेछौं। (फिलिप्पी २:१-४) सबै मसीहीको चाहना पनि के यही होइन र?

२६ शैतानको अधीनमा परेको यस संसारमा पवित्र आत्माको भरमा हिंड्‌नु गाह्रो छ। (१ यूहन्‍ना ५:१९) तैपनि, लाखौं मानिसहरू पवित्र आत्माको भरमा हिंडिरहेका छन्‌। यदि सारा हृदयले यहोवामा भर पऱ्‍यौं भने अहिले नै जीवनको आनन्द उठाउनेछौं र पवित्र आत्मा दिनुहुने मायालु परमेश्‍वरको धार्मिक मार्गमा सधैंभरि हिंडिरहन सक्नेछौं।—भजन १२८:१; हितोपदेश ३:५, ६. (w 07 7/15)

[फुटनोट]

a मूल भाषाबाट दया भनेर अनुवाद गरिएको शब्दलाई नेपाली बाइबलमा कोमलता, भद्र, कृपा र खुसी भनेर पनि अनुवाद गरिएको छ।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• ‘आत्माको भरमा हिंड्‌दा’ परमेश्‍वर र उहाँका पुत्रसितको हाम्रो सम्बन्धमा कसरी असर पर्छ?

• पवित्र आत्माका फल के-के हुन्‌?

• परमेश्‍वरको पवित्र आत्माको फल देखाउने केही तरिका के-के हुन्‌?

• पवित्र आत्माको भरमा हिंड्‌दा हाम्रो अहिलेको जीवन र भावी आशामा कस्तो असर पर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने