यहोवा पूरा मनतनको सेवाको कदर गर्नुहुन्छ
“जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर।”—कलस्सी ३:२३.
१, २. (क) हामीले पाउनसक्ने सबैभन्दा महान् सुअवसर के हो? (ख) हामी कहिलेकाहीं किन परमेश्वरको सेवामा आफूले चाहेजति गर्न सक्दैनौं?
हामी मानिसजातिको सबैभन्दा ठूलो सुअवसर नै यहोवाको सेवा गर्न पाउनु होला। यस पत्रिकाले धेरैअघिदेखि मसीहीहरूलाई सेवकाईमा भाग लिन र सम्भव भएमा ‘झन् बढी’ सेवा गर्न प्रोत्साहन दिनुका ठोस कारण छ। (१ थिस्सलोनिकी ४:१) तथापि, हामी सधैं आफूले चाहेजति परमेश्वरको सेवा गर्न सक्दैनौं। झन्डै ४० वर्षअघि बप्तिस्मा लिएकी एउटी बहिनीले यसो भनिन्, “मेरो अवस्था नै यस्तो छ, पूर्ण-समय जागिर नखाई खर्च टर्दैन। महँगो तथा फेसनदार लुगाहरू किन्न वा लामो यात्राहरू गरेर खर्चिलो बिदा मनाउन होइन तर स्वास्थ्य तथा दन्त सेवाको लागि खर्च जुटाउन जागिर खानु परिरहेको छ। त्यसकारण, बाँकी रहेको कमसल कुरा मात्र यहोवालाई चढाइरहेकी छु जस्तो मलाई लाग्छ।”
२ परमेश्वरप्रतिको प्रेमले हामीलाई प्रचारकार्यमा जति गर्नसक्छौं, सो गर्न उत्प्रेरित गर्छ। तर परिस्थितिले गर्दा हामी सधैं त्यसो गर्न सक्दैनौं। पारिवारिक दायित्वजस्ता धर्मशास्त्रीय जिम्मेवारीहरू पूरा गर्न निकै समय र शक्ति खर्च गर्नुपर्ने हुनसक्छ। (१ तिमोथी ५:४, ८) यस ‘आखिरी दिनको डरलाग्दो समयमा’ जीवन बिताउन झन् झनै चुनौतीपूर्ण हुँदै गइरहेको छ। (२ तिमोथी ३:१) सेवकाईमा आफूले चाहेजति गर्न नसक्दा हाम्रो हृदय विचलित हुनसक्छ। कहिलेकाहीं त यस्तो पनि लाग्नसक्छ, के परमेश्वर मेरो उपासनादेखि प्रसन्न हुनुहोला र?
पूरा मनतनले चढाएको सेवाको लाभ
३. यहोवा हामी प्रत्येकबाट के चाहनुहुन्छ?
३ भजन १०३:१४ मा बाइबलले हामीलाई यस्तो न्यानो आश्वासन दिन्छ, यहोवाले “हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” हाम्रा सीमाहरू उहाँले जत्तिको अरू कसैले बुझेको छैन। हामीले दिनसक्ने भन्दा बढी कुरा उहाँ माग्नुहुन्न। उहाँ हामीबाट के चाहनुहुन्छ? जस्तोसुकै परिस्थिति भोगिरहेको व्यक्तिले पनि दिनसक्ने कुरा। त्यो हो: “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर।” (कलस्सी ३:२३) हो, हामी सबैले पूरा मनतनले सेवा गरेको यहोवा चाहनुहुन्छ।
४. पूरा मनतनले यहोवाको सेवा गर्नुको अर्थ के हो?
४ पूरा मनतनले यहोवाको सेवा गर्नु भनेको के हो? “मनतन” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ, “प्राणदेखि” हो। “प्राण” भनेको व्यक्ति स्वयं हो र यसमा भौतिक तथा मानसिक क्षमताहरू समावेश छन्। त्यसकारण, पूरा मनतनले सेवा गर्नुको अर्थ, आफ्नो भएभरको क्षमता तथा बल लगाएर परमेश्वरको सेवा गर्नु हो। सरल भाषामा भन्ने हो भने, हाम्रो प्राणले गर्नसके जति गर्नु हो।—मर्कूस १२:२९, ३०.
५. सबैले सेवकाईमा उत्तिनै गर्नुपर्छ भन्ने छैन भनेर प्रेरितहरूको उदाहरणले कसरी देखाउँछ?
५ के पूरा मनतनले गर्नुको अर्थ, हामी सबैले सेवकाईमा बराबरी गर्नुपर्छ भनेको हो? त्यसो गर्नु त पटक्कै सम्भव हुँदैन किनभने व्यक्ति व्यक्ति अनुसार परिस्थिति र योग्यता फरक फरक हुन्छ। येशूका विश्वासिला प्रेरितहरूलाई विचार गर्नुहोस्। तिनीहरू सबैले बराबरीको सेवा चढाउन सक्दैनथे। उदाहरणका लागि, अरामी शिमोन र अल्फयसको छोरो याकूबजस्ता प्रेरितहरूबारे हामीलाई त्यति धेरै कुराहरू थाह छैन। शायद, प्रेरितहरूको हैसियतमा तिनीहरू अरू जत्तिको सक्रिय थिएनन्। (मत्ती १०:२-४) तिनीहरूको दाँजोमा पत्रुसले गहन जिम्मेवारीहरू बहन गर्नसके। हुन पनि, येशूले तिनलाई “स्वर्गको राज्यका साँचाहरू[समेत]” दिनुभयो! (मत्ती १६:१९) यद्यपि, पत्रुसलाई अरूभन्दा उच्च पारिएको थिएन। प्रकाशको पुस्तकमा (लगभग सा.यु. ९६ तिर) उल्लेख गरिएअनुसार यूहन्नाले नयाँ यरूशलेमको दर्शन पाउँदा तिनले “बाह्रवटा जगहरू” देखे र “तीमाथि थुमाका बाह्र प्रेरितहरूका बाह्रै नाउँ लेखिएका थिए।”a (प्रकाश २१:१४) प्रेरितहरूमध्ये कसैले बढी, कसैले कम सेवा चढाए तापनि यहोवाले सबै प्रेरितहरूको सेवालाई मूल्यवान् ठान्नुभयो।
६. येशूले बताउनुभएको बीउ छर्नेको उखानमा “असल जमिनमा” छरिएको बीउले कस्तो फल फलाउँछ र कस्ता प्रश्नहरू खडा हुन्छन्?
६ त्यस्तैगरि, हामी सबैले बराबर प्रचार गर्नुपर्छ भनी यहोवा माग गर्नुहुन्न। येशूले बीउ छर्नेको उखानमा यो प्रस्ट पार्नुभयो। त्यो उखानमा बीउ छर्ने कार्यलाई प्रचारकार्यसित तुलना गरिएको छ। बीउ बेग्लाबेग्लै प्रकारको माटोमा पऱ्यो र हृदयको अवस्था फरक फरक हुन्छ भनेर मानिसहरूको बेग्लाबेग्लै प्रतिक्रियाबाट देखिन्छ। येशूले यसो भन्नुभयो, “असल जमीनमा छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ र बुझ्दछ, र साँच्चै फल फलाउँछ, र कुनैले सय, कुनैले साठी र कुनैले तीस गुणा फलाउँछ।” (मत्ती १३:३-८, १८-२३) यो फल के हो र किन सबैले एकैनासे फल फलाएनन्?
७. बीउ छरेपछि त्यसले फलाउने फल के हो र किन बेग्लाबेग्लै मात्रामा फल फल्छ?
७ बीउ “राज्यको वचन” हो। त्यसकारण, फल फलाउनु भनेको त्यो वचन फैलाउनु, त्यसबारे अरूलाई बताउनु हो। (मत्ती १३:१९) सबैले एकैनासे फल फलाउन सक्दैनन्। कसैले साठी गुणा त कसैले सय गुणा फलाउँछ किनभने हरेकको योग्यता तथा परिस्थिति बेग्लाबेग्लै हुन्छ। सुस्वास्थ्य र बल भएको व्यक्तिले गम्भीर स्वास्थ्य समस्या वा उमेर ढल्कँदै गएको व्यक्तिको तुलनामा प्रचारकार्यमा बढी समय बिताउलान्। पारिवारिक जिम्मेवारीहरू नभएको अविवाहित व्यक्तिले परिवारको पालनपोषण गर्न पूर्ण-समय जागिर खानुपर्ने व्यक्तिको दाँजोमा बढी गर्नसक्लान्।—हितोपदेश २०:२९ तुलना गर्नुहोस्।
८. यथाशक्य सेवा चढाउने व्यक्तिहरूलाई यहोवा कुन दृष्टिले हेर्नुहुन्छ?
८ के परमेश्वरको दृष्टिकोणमा पूरा मनतनले सेवा गरेर तीस गुणा फल फलाउने व्यक्ति, सय गुणा फल फलाउने व्यक्तिको दाँजोमा कम विश्वासिलो हुन्छ? पटक्कै हुँदैन! हामीले फलाएको फलको मात्रा बेग्लाबेग्लै होला तर यथाशक्य सर्वोत्तम सेवा चढाएका छौं भने परिमाण जतिसुकै किन नहोस्, यहोवा खुशी हुनुहुन्छ। नबिर्सनुहोस्, “असल जमिन” हुने हृदयबाट नै ती बेग्लाबेग्लै परिमाणमा फल फल्छ। “असल” भनी अनुवाद गरिएको युनानी शब्दले (कालोस्) “सुन्दर” र “हृदयलाई आनन्दित तुल्याउने, मनमोहक” कुरा बुझाउँछ। हामीले यथाशक्य सेवा चढाउँदा यहोवाको नजरमा हाम्रो हृदय सुन्दर हुन्छ भनी थाह पाउनु साँच्चै सान्त्वनादायी कुरा हो!
एकअर्कासितको तुलनामा होइन
९, १०. (क) कहिलेकाहीं हाम्रो हृदयले कस्तो नकारात्मक तर्क गर्नसक्छ? (ख) पहिलो कोरिन्थी १२:१४-२६ को उदाहरणअनुसार यहोवाले हामीलाई एकअर्कासित दाँज्नुहुन्न भनेर कसरी प्रस्ट हुन्छ?
९ तथापि, हाम्रो असिद्ध हृदयको अड्कल ठीक नहुन पनि सक्छ। हाम्रो हृदयले आफ्नो सेवालाई अरूसित दाँज्नसक्छ। त्यसले यस्तो तर्क गर्नसक्छ, ‘अरूले सेवकाईमा मैले भन्दा कत्ति धेरै गरिरहेका छन्। यहोवा मैले चढाएको सेवाबाट कहाँ खुशी हुनुहोला र?’—१ यूहन्ना ३:१९, २० तुलना गर्नुहोस्।
१० यहोवाको सोचाइ तथा मार्गहरू हाम्रोभन्दा अति उच्च छन्। (यशैया ५५:९) हाम्रो व्यक्तिगत प्रयासलाई यहोवाले कस्तो दृष्टिकोणले हेर्नुहुन्छ भन्ने सन्दर्भमा १ कोरिन्थी १२:१४-२६ बाट केही सिक्नसक्छौं। त्यहाँ मण्डलीलाई आँखा, हात, खुट्टा, कान इत्यादि थुप्रै अंगहरू भएको शरीरसित तुलना गरिएको छ। एकछिन हाम्रो शरीरलाई नै लेऔं। तपाईंको आँखा हातसित वा तपाईंको खुट्टा कानसित तुलना गर्नु कस्तो हाँस्यास्पद हुनेछ! हरेक सदस्यको आ-आफ्नै काम छ तैपनि सबै उत्तिकै उपयोगी तथा मूल्यवान् छन्। त्यस्तैगरि, अरूले चाहे बढी या कम गरोस्, तपाईंले पूरा मनतनले सेवा गरिरहनुभएको छ भने यहोवाले त्यसको कदर गर्नुहुन्छ।—गलाती ६:४.
११, १२. (क) कसै कसैलाई किन आफू “बढ़ता कमजोर” वा ‘आदर पाउन कम योग्य’ जस्तो लाग्नसक्छ? (ख) यहोवाले हाम्रो सेवालाई कुन दृष्टिले हेर्नुहुन्छ?
११ अस्वस्थता, ढल्कँदो उमेर वा अन्य परिस्थितिहरूले गर्दा हामी कतिपय कुराहरू गर्न असक्षम हुनसक्छौं। त्यस्तो समयमा हामीमध्ये कसै कसैलाई आफू “बढता कमजोर” वा ‘आदर पाउन कम योग्य’ जस्तो लाग्नसक्छ। तर यहोवाले त्यस्तो दृष्टिकोण राख्नुहुन्न। बाइबल हामीलाई यसो भन्छ: “शरीरका बढ़ता कमजोरी अंगहरूनै बरू ज्यादा आवश्यकीय छन्। औ शरीरका बढ़ता अनादर सम्झेका अंगहरूलाई हामीले बढ़ता आदर दिन्छौं, . . . परमेश्वरले घटी भएको अंगलाई ज्यादै आदर दिएर शरीरलाई ठाक-ठुक्क मिलाइदिनुभएको छ।” (१ कोरिन्थी १२:२२-२४) अतः, यहोवाको नजरमा प्रत्येक व्यक्ति प्रिय हुनसक्छ। हामी आफूले सकेसम्म जे जति गर्छौं, त्यसको उहाँ मूल्यांकन गर्नुहुन्छ। त्यस्तो बुझकी र मायालु परमेश्वरको यथाशक्य सेवा गर्न के तपाईंको हृदय उत्प्रेरित हुँदैन र?
१२ त्यसकारण, तपाईंले अरूले जत्तिको गरिरहनुभएको छ कि छैन, त्यो यहोवाले चासो राख्नुहुने विषय होइन। तर तपाईंले अर्थात् तपाईंको प्राणले के कति गर्नसक्छ, त्यो पो चासोको विषय हो। यहोवाले हाम्रा व्यक्तिगत प्रयासहरूको मोल गर्नुहुन्छ भन्ने कुरा येशूले आफ्नो पार्थिव जीवनको अन्तिम घडीमा दुइटी स्त्रीसित गर्नुभएको हृदयस्पर्शी व्यवहारबाट प्रकट हुन्छ।
मूल्यांकनले ओतप्रोत भएकी स्त्रीको “किमती” उपहार
१३. (क) मरियमले येशूको शिर र पाउमा सुगन्धित तेल खन्याउँदा परिस्थिति कस्तो थियो? (ख) मरियमको तेल कति पैसा पर्थ्यो?
१३ नीसान ८ शुक्रबारको कुरा हो। येशू जैतून डाँडाको पूर्वी पहाडमा अवस्थित सानो गाउँ, बेथानी आइपुग्नुभयो। यो यरूशलेमबाट लगभग तीन किलोमिटर जति टाढा छ। त्यहाँ येशूका असाध्यै प्रिय मित्रहरू, मरियम, मार्था र तिनीहरूका भाइ लाजरस थिए। शायद येशू बेलाबेलामा तिनीहरूको घरमा जाने गर्नुहुन्थ्यो। तर शनिबारको साँझ येशू र उहाँका साथीहरू सिमोनको घरमा भोजन गर्न जानुभयो। यो व्यक्ति येशूले निको पार्नुभएको कोरी हुनुपर्छ। येशू टेबलमा अडेस लाएर बसिरहनुभएको बेला मरियमले उदारताको एउटा नमुना देखाइन्। तिनी आफ्नो भाइको पुनरुत्थान गर्ने व्यक्तिप्रति गहिरो प्रेम देखाउन चाहन्थिन्। तिनले “किमती” सुगन्धित तेलको भाँडो खोलिन्। हो, तेल असाध्यै महँगो थियो! त्यसको मूल्य ३०० दिनार अर्थात् वर्षभरिको ज्याला बराबर थियो। त्यो सुगन्धित तेल येशूको शिर र पाउमा खन्याइन्। त्यसपछि आफ्नो कपालले येशूको पाउ पुछिन्।—मर्कूस १४:३; लूका १०:३८-४२; यूहन्ना ११:३८-४४; १२:१-३.
१४. (क) मरियमको कार्यप्रति चेलाहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) येशू मरियमको पक्षमा कसरी बोल्नुभयो?
१४ यो देखेर चेलाहरू रीसाए! तिनीहरूले भन्न थाले, ‘किन यत्रो नोक्सान?’ यहूदाले आफ्नो चोरी दाउलाई गरिबगुरुवाको उदार गर्ने निहुँमा ढाकछोप गर्दै यसो भने: “यो मलहम तीन सय दिनारमा बेचिएर किन गरीबहरूलाई दिइएन?” मरियम चूपो लागेर बसिन्। तथापि, येशूले चेलाहरूलाई भन्नुभयो, “भइगयो नि, त्यसलाई किन दुःख दिइरहेछौ? त्यसले ममाथि असलै [ कालोस्-को एउटा रूप] गरेकी छ। . . . त्यसले जे गर्न सक्थी त्यही गरेकी छ, त्यसले मेरो शरीरलाई गाड़नाको निम्ति अघिबाटै सुगन्धित मलहम घसिदिएकी छ। म तिमीहरूलाई साँच्चै भन्दछु, सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिएला, त्यसले जे गरेकी छ, त्यहाँ त्यहाँ त्यसको सम्झनाको लागि त्यो भनिनेछ।” येशूको यो न्यानो वचनले मरियमको हृदयलाई कस्तो ढुक्क बनायो होला!—मर्कूस १४:४-९; यूहन्ना १२:४-८.
१५. मरियमको कार्यले किन येशूको हृदय असाध्यै छोयो र पूरा मनतनको सेवाबारे के सिक्छौं?
१५ मरियमले गरेको कामले येशूको हृदय छोयो। उहाँको दृष्टिकोणमा तिनले असाध्यै प्रशंसनीय कार्य गरेकी थिइन्। येशूले त्यस उपहारको भौतिक मूल्यलाई होइन तर “जे गर्न सक्थी त्यही गरेकी” हुनाले तिनको यस कार्यलाई महत्त्वपूर्ण ठान्नुभयो। तिनले मौकाको सदुपयोग गरेर आफूले जे गर्न सक्थिन्, त्यही गरिन्। अन्य अनुवादहरूले ती शब्दहरूलाई “तिनले गर्नसके जति गरिन्,” वा “आफ्नो औकातमा भएको कुरा गरिन्” भनी अनुवाद गरेका छन्। (एन अमेरिकन ट्रान्सलेशन; द जेरूसलेम बाइबल) मरियमले तनमनले दिइन् किनभने तिनले सर्वोत्तम कुरा दिएकी थिइन्। पूरा मनतनले सेवा चढाउनु भनेको त्यही हो।
विधवाको “दुइ माइट”
१६. (क) गरिब विधवाको चन्दातिर येशूको कसरी ध्यान गयो? (ख) विधवाको पैसाको मोल कति थियो?
१६ केही दिनपछिको कुरा हो, नीसान ११ तारिखका दिन येशूले दिनभरिजसो मन्दिरमा बिताउनुभयो। यसै बेला उहाँको अख्तियारमाथि प्रश्न उठाइएको थियो र उहाँले कर, पुनरुत्थान तथा अन्य विषयहरूसम्बन्धी जटिल प्रश्नहरू सोध्नुभयो। उहाँले थुप्रै कुराहरूका लागि फरिसीहरूको भर्त्सना गर्नुभयो। त्यसमध्ये एक, तिनीहरूले ‘विधवाहरूका घर लुटेका’ थिए। (मर्कूस १२:४०) त्यसपछि, येशू स्त्रीहरूको चोकमा बस्नुभयो र यहूदी चलनअनुसार त्यहाँ १३ वटा ढुकुटी राखिएको थियो। उहाँ त्यहाँ एकछिन बस्नुभयो र मानिसहरूले चन्दा खसालेको हेरिरहनुभयो। त्यहाँ थुप्रै धनीमानीहरू आए। कतिपय आत्मधर्मी देखिन चाहन्थे भने, कतिपय चाहिं अचाक्ली आडम्बरी पनि थिए। (मत्ती ६:२ तुलना गर्नुहोस्।) येशूले एउटी स्त्रीलाई विशेष चासोका साथ एक टक लाएर हेर्नुभयो। साधारणतया, मानिसहरूलाई यस स्त्री वा तिनको उपहार खास महत्त्वपूर्ण लाग्ने थिएन होला। तर येशूले अरूको हृदयको कुरा बुझ्न सक्नुहुन्थ्यो। त्यसकारण, उहाँलाई तिनी “गरिब विधवा” हुन् भनेर थाह थियो। तिनले ढुकुटीमा कति खसालिन्, त्यो पनि उहाँलाई थाह थियो। तिनले “दुइ माइट, अर्थात् आधा पैसा जति चढ़ाई।”b—मर्कूस १२:४१, ४२.
१७. येशूले विधवाको चन्दा कत्तिको बहुमूल्य ठान्नुभयो र यसबाट परमेश्वरलाई दिने सन्दर्भमा हामी के सिक्छौं?
१७ येशूले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो किनभने उहाँले सिकाउनै लाग्नुभएको पाठ तिनीहरूकै आँखाले देखून् भन्ने चाहनुहुन्थ्यो। येशूले भन्नुभयो “ढुकुटीमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ता चढ़ाई।” उहाँको हिसाबमा अरूले खसालेको जम्माजम्मी रकमभन्दा तिनले बढी चढाइन्। तिनले “जो जत्ति थियो” अर्थात् आफ्नो सारा जीविका नै अर्पण गरिन्। त्यसो गरेर तिनले आफूलाई यहोवाको मायालु हेरचाहमा सुम्पिन्। परमेश्वरलाई दिने सन्दर्भमा उदाहरणीय गनिएको व्यक्तिको उपहार भौतिक मोलमा तौलने हो भने, नगण्य थियो। तथापि, परमेश्वरको नजरमा अनमोल थियो!—मर्कूस १२:४३, ४४; याकूब १:२७.
पूरा मनतनको सेवाबारे यहोवाको दृष्टिकोणबाट सिक्ने
१८. दुइ स्त्रीहरूसित येशूले गर्नुभएको व्यवहारबाट हामी के सिक्छौं?
१८ येशूले यी दुइटी स्त्रीहरूसित गर्नुभएको व्यवहारबाट यहोवाले पूरा मनतनको सेवालाई कस्तो दृष्टिकोणले हेर्नुहुन्छ भन्ने हृदयस्पर्शी पाठ सिक्छौं। (यूहन्ना ५:१९) येशूले विधवालाई मरियमसित तुलना गर्नुभएन। उहाँले विधवाको आधा पैसालाई मरियमको “किमती” तेल जत्तिकै अनमोल ठान्नुभयो। यी दुवै स्त्रीहरूले आफ्नो सर्वोत्तम कुरा चढाएकाले परमेश्वरको नजरमा ती दुवैको उपहार बहुमूल्य थियो। त्यसैकारण, परमेश्वरको सेवामा आफूले चाहेजति गर्न नसक्दा तपाईंको हृदयमा आफू बेकामको छु जस्तो लाग्न थाल्यो भने, हरेश नखानुहोस्। तपाईंले चढाउनुहुने सर्वोत्तम सेवामा उहाँ प्रसन्न हुनुहुन्छ। नबिर्सनुहोस्, यहोवाले “हृदय हेरीकन विचार” गर्नुहुन्छ। अतः, तपाईंको हृदयले के चाहन्छ, त्यो उहाँलाई राम्ररी थाह छ।—१ शमूएल १६:७.
१९. अरूले परमेश्वरको सेवामा के कति गर्छन्, त्यसको हामीले टिकाटिप्पणी गर्नु किन उचित होइन?
१९ पूरा मनतनको सेवालाई यहोवाले जुन दृष्टिकोणले हेर्नुहुन्छ, त्यसले हाम्रो एकअर्काप्रतिको दृष्टिकोण तथा व्यवहारलाई असर गर्नुपर्ने हो। अरूका प्रयासहरूको आलोचना गर्नु वा एकअर्काको सेवा दाँज्नु असाध्यै कठोर व्यवहार हुनेछ! तर दुःखको कुरा, कहिलेकाहीं त्यस्ता अप्रिय घटनाहरू हुन्छन्। एउटी मसीही बहिनीले यसो भनिन्: “कहिलेकाहीं कसै कसैले यस्तो महसुस गराउँछन्, अग्रगामी नगर्ने हो भने परमेश्वरलाई चढाएको सेवाको कुनै महत्त्व हुँदैन। ‘केवल’ राज्य प्रकाशकको हैसियतमा सेवा चढाउन संघर्ष गर्ने हामीहरूको पनि मोल गरिनुपर्छ।” हामी यो नबिर्सौं, सँगी मसीहीले गर्नसक्ने पूरा मनतनको सेवा के हो भनेर निर्णय गर्ने अख्तियार हामीले पाएका छैनौं। (रोमी १४:१०-१२) यहोवाले ती लाखौं विश्वासी राज्य प्रकाशकहरूको सेवालाई कदर गर्नुहुन्छ। त्यसकारण, हामीले पनि तिनीहरूको कदर गर्नुपर्छ।
२०. साधारणतया, हामीले आफ्ना सँगी उपासकहरूबारे कस्तो अनुमान लाउनु बेस हो?
२० तर, कसै कसैले आफूले सक्नेभन्दा कम मात्र गरिरहेको जस्तो देखिन्छ भने नि? सँगी विश्वासीले सेवकाईमा कम समय मात्र बिताउन थालेको देखियो भने, बगालको हेरचाहप्रति चासो राख्ने प्राचीनहरूले केही मदत वा प्रोत्साहन दिनुपरिरहेको हुनसक्छ। तर त्यसको साथसाथै हामीले बिर्सन नहुने अर्को कुरा पनि छ। त्यो हो, सेवकाईमा पूरा मनतनले गर्नु भनेको कसै कसैको लागि विधवाको आधा पैसाजस्तो वा अरू कतिपयको लागि मरियमको किमती तेलजस्तो हुनसक्छ। सामान्यतया, हाम्रा भाइबहिनीहरू यहोवालाई प्रेम गर्छन् र त्यस्तो प्रेमले तिनीहरूलाई सकेसम्म कम होइन तर बढी गर्न उत्प्रेरित गर्नेछ भनेर अनुमान लाउनु बेस हो। निस्सन्देह, यहोवाको कुनै पनि कर्तव्यनिष्ठ सेवकले आफूले सक्नेभन्दा कम मात्र सेवा चढाउन खोज्नेछैन।—१ कोरिन्थी १३:४, ७.
२१. थुप्रै मसीहीहरू कुन इनामदायी पेशामा लागिरहेका छन् र कस्ता प्रश्नहरू खडा हुन्छन्?
२१ तथापि, परमेश्वरका थुप्रै सेवकहरूले पूरा मनतनको सेवा चढाउने हेतुले असाध्यै इनामदायी पेशा रोजेका छन्। त्यो हो, अग्रगामी सेवकाई। तिनीहरूले के कस्ता आशिष्हरू पाउँछन्? अनि अहिलेसम्म अग्रगामी गर्न नसकेका हामीहरूले कसरी अग्रगामीको जस्तो मनोभाव देखाउनसक्छौं? यसपछिको लेखमा यी प्रश्नहरू छलफल गरिनेछन्।
[फुटनोटहरू]
a यहूदाको बदलामा मतियास नियुक्त भएको हुँदा ती १२ जगहरूमा पावलको नाउँ नभई तिनकै नाउँ थियो होला। पावल, प्रेरित त थिए तर १२ चेलामध्येका थिएनन्।
b यो त्यतिबेला यहूदीहरूले चलाउने सबैभन्दा सानो परिमाणको खुद्रा पैसा अर्थात् लेप्टन थियो। दुई लेप्टा बराबर दिनभरिको ज्यालाको १/६४ हुन्थ्यो। मत्ती १०:२९ अनुसार एउटा असारियन सिक्काले (आठ लेप्टा बराबर) दुइटा भंगेरा किन्न सकिन्थ्यो। भंगेरा भनेको गरिबहरूले किन्नसक्ने सबैभन्दा सस्तो भोजन थियो। अतः, यस विधवा साँच्चै गरिब थिइन् किनभने तिनीसित एउटा भंगेरा किन्न पुग्ने पैसासमेत थिएन। भनौं भने, एकछाक भोजनलाई पनि नपुग्ने।
तपाईं के जवाफ दिनुहुन्छ?
◻ पूरा मनतनले यहोवाको सेवा गर्नुको अर्थ के हो?
◻ यहोवाले हामीलाई एकअर्कासित तुलना गर्नुहुँदैन भनेर १ कोरिन्थी १२:१४-२६ को उदाहरणले कसरी देखाउँछ?
◻ मरियमको किमती तेल र विधवाको आधा पैसासम्बन्धी येशूको टिप्पणीबाट पूरा मनतनको सेवाबारे हामी के सिक्छौं?
◻ यहोवाले पूरा मनतनको सेवाप्रति जुन दृष्टिकोण राख्नुहुन्छ, त्यसले अरूप्रति हाम्रो दृष्टिकोणलाई कसरी असर गर्नुपर्ने हो?
[पृष्ठ १५-मा भएको चित्र]
मरियमले येशूको शरीरमा “किमती” तेल खन्याएर आफ्नो सर्वोत्तम कुरा चढाइन्
[पृष्ठ १६-मा भएको चित्र]
भौतिक मोलको हिसाबमा नगण्य ठानिने विधवाको पैसा पनि यहोवाको नजरमा अनमोल थियो