प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १२/१५ pp. १५-२०
  • उद्धारको दिन अहिले छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उद्धारको दिन अहिले छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “हामी मानिसहरूलाई मनाउछौं”
  • के ख्रीष्टको प्रेमले तपाईंलाई करमा पार्दछ?
  • “परमेश्‍वरसँग मिलाप राख”
  • “ग्रहणयोग्य समय अहिले छ”
  • “हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं”
  • यहोवाद्वारा पाइने उद्धारमा विश्‍वास गर्नुहोस्‌
  • “ग्रहणयोग्य समय अहिले छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • तपाईंको “मुक्‍तिको आशा” उज्ज्वल राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • असीम अनुग्रहको सुसमाचारबारे साक्षी दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “तिमीहरू विश्‍वासमा छौ कि छैनौं भनी आफैले आफैलाई जाँच”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १२/१५ pp. १५-२०

उद्धारको दिन अहिले छ!

“हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ।”—२ कोरिन्थी ६:२.

१. परमेश्‍वर र ख्रीष्टसित अनुमोदन प्राप्त सम्बन्ध कायम गर्न के आवश्‍यक छ?

यहोवाले मानिसजातिको इन्साफको निम्ति दिन तोक्नुभएको छ। (प्रेरित १७:३१) त्यस दिन हामीले पनि उद्धार पाउने हो भने उहाँ र उहाँको नियुक्‍त न्यायकर्ता येशू ख्रीष्टसित अनुमोदन प्राप्त सम्बन्ध कायम गर्नुपर्छ। (यूहन्‍ना ५:२२) त्यस्तो सम्बन्धको निम्ति परमेश्‍वरको वचनअनुरूपको आचरण हुनुका साथै येशूको साँचो चेला हुन अरूलाई मदत गर्न हामीलाई उत्प्रेरित गर्ने विश्‍वास हुनु आवश्‍यक छ।

२. मानिसजातिको संसार किन परमेश्‍वरसित अलग्गिएको छ?

२ वंशानुगत पापको कारण मानिसजातिको संसार परमेश्‍वरबाट अलग्गिएको छ। (रोमी ५:१२; एफिसी ४:१७, १८) अतः हामीले प्रचार गर्ने व्यक्‍तिहरूले परमेश्‍वरसित सम्बन्ध कायम गरेको खण्डमा मात्र उद्धार पाउनसक्छन्‌। प्रेरित पावलले कोरिन्थका मसीहीहरूलाई पत्र लेख्दा यो कुरा स्पष्ट पारे। आउनुहोस्‌, पावलले इन्साफ, मिलाप र उद्धारबारे के भने हेर्न हामी २ कोरिन्थी ५:१०–६:१० केलाऔं।

“हामी मानिसहरूलाई मनाउछौं”

३. पावलले कसरी ‘मानिसहरूलाई मनाइरहे’ र किन हामीले पनि आज त्यस्तै गर्नुपर्छ?

३ पावलले प्रचारकार्यको सम्बन्ध इन्साफसित गाँस्दै यसो भने: “हरेकले, चाहे असल चाहे खराब, जे जस्तो शरीरमा गरेको छ, त्यसअनुसारको फल पाउनालाई हामी सबै जना ख्रीष्टको न्याय-आसनको सामन्‍ने प्रत्यक्षगरी प्रकट हुनुपर्नेछ। यसकारण यो जानेर प्रभुको भय मान्दै हामी मानिसहरूलाई मनाउछौं।” (२ कोरिन्थी ५:१०, ११) सुसमाचार प्रचार गर्दै प्रेरित पावलले ‘मानिसहरूलाई मनाइरहे।’ हामी नि? यस दुष्ट रीतिरिवाजको अन्तमा हामी बाँचिरहेकोले इन्साफको समयमा येशूको निगाह तथा उद्धारका स्रोत यहोवा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न आवश्‍यक कदम चाल्नको निम्ति अरूलाई मनाउन हामीले यथासक्दो गर्नुपर्छ।

४, ५. (क) यहोवाको सेवामा आफ्ना उपलब्धिहरूबारे हामीले किन घमण्ड गर्नु हुँदैन? (ख) पावलले कसरी “परमेश्‍वरका निम्ति” घमण्ड गरे?

४ तथापि, परमेश्‍वरले हाम्रो सेवकाईमा आशिष्‌ दिनुभएको छ भने घमण्ड गर्नु हुँदैन। कोरिन्थमा कोही कोही आफू वा अरू मानिसमा घमण्डले फुलेका थिए जसको कारण मण्डलीमै फूट भइरहेको थियो। (१ कोरिन्थी १:१०-१३; ३:३, ४) यस परिस्थितिलाई संकेत गर्दै पावलले लेखे: “हामी फेरि आफैलाई तिमीहरूका सामु सह्रनी गर्दैनौं, तर तिमीहरूले पनि, मनले होइन, तर मुखले मात्र घमण्ड गर्नेहरूलाई जवाफ दिनालाई हाम्रो पक्षमा भएर घमण्ड गर्नालाई तिमीहरूलाई मौका दिन्छौं। किनकि यदि हाम्रो चित्त ठेगानमा नभएता परमेश्‍वरका निम्ति हो, औ यदि हामी सचेत छौं भने यो तिमीहरूका निम्ति हो।” (२ कोरिन्थी ५:१२, १३) अहंकारीहरूलाई मण्डलीको एकता र आध्यात्मिक हितमा चासो थिएन। परमेश्‍वरसामु असल हृदय विकास गर्न सँगी विश्‍वासीहरूलाई मदत गर्नुको साटो तिनीहरू मुखले मात्र घमण्ड गर्न रुचाउँथे। तसर्थ, पावलले मण्डलीलाई हप्काए र पछि यसो भने: “घमण्ड गर्नेले प्रभुमा घमण्ड गरोस्‌।”—२ कोरिन्थी १०:१७.

५ तर के पावल आफैले घमण्ड गरेनन्‌ र? पावलले आफू प्रेरित हुँ भनी अरूलाई बताएकोले तिनले घमण्ड गरे भन्ठालान्‌। तर तिनले “परमेश्‍वरका निम्ति” घमण्ड गर्नुपरेको थियो। कोरिन्थीहरूले यहोवालाई नत्यागोस्‌ भनेर तिनले प्रेरितको हैसियतमा आफ्ना योग्यताहरूबारे घमण्ड गरे। पावलले तिनीहरूलाई परमेश्‍वरकहाँ फर्काएर ल्याउन यसो गरे किनभने झूटा अगमवक्‍ताहरूले तिनीहरूलाई गलत दिशामा मोडिरहेका थिए। (२ कोरिन्थी ११:१६-२१; १२:११, १२, १९-२१; १३:१०) यद्यपि, पावलले जत्तिखेर पनि आफ्ना योग्यताहरूबारे घमण्ड गरेर अरूलाई प्रभावित गर्न खोजिरहेका थिएनन्‌।—हितोपदेश २१:४.

के ख्रीष्टको प्रेमले तपाईंलाई करमा पार्दछ?

६. ख्रीष्टको प्रेमले हामीमा कस्तो प्रभाव पार्नुपर्छ?

६ साँचो प्रेरितको हैसियतमा पावलले अरूलाई येशूको छुडौतीको बलिदानबारे सिकाए। यसले पावलको जीवनमा प्रभाव पाऱ्‍यो किनभने तिनले यसो लेखे: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, किनभने हामी यसरी विचार गर्छौं, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे, औ उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।” (२ कोरिन्थी ५:१४, १५) येशूले आफ्नो जीवन हाम्रो निम्ति दिनुभएर ठूलो प्रेम देखाउनुभयो! पक्कै पनि यो नै हामीलाई करमा पार्ने शक्‍ति हुनुपर्छ। येशूले हाम्रो खातिर जीवन सुम्पनुभएको कारण कृतज्ञ हुँदै यहोवाले आफ्नो प्रिय पुत्र मार्फत प्रबन्ध गर्नुभएको उद्धारको सुसमाचार उद्‌घोषणा गर्ने कार्यमा जोसिलो हुन हामीलाई प्रेरित गर्नुपर्छ। (यूहन्‍ना ३:१६; तुलना गर्नुहोस्‌ भजन ९६:२) “ख्रीष्टको प्रेमले” के तपाईंलाई राज्य प्रचारकार्य र चेला बनाउने कार्यमा जोसिलो हुन करमा पारिरहेको छ?—मत्ती २८:१९, २०.

७. “कुनै मानिसलाई शरीरअनुसार चिन्दैनौं” भन्‍नुको अर्थ के हो?

७ ख्रीष्टले तिनीहरूको खातिर गर्नुभएको कुराको लागि कृतज्ञता जाहेर गर्न अभिषिक्‍त जनहरू ‘आफ्नो निम्ति बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्छन्‌।’ पावलले यसो भने: “अब उप्रान्त हामी कुनै मानिसलाई शरीरअनुसार चिन्दैनौं, औ हामीले ख्रीष्टलाई शरीरअनुसार चिनेको भए तापनि अब उहाँलाई त्यसरी चिन्दैनौं।” (२ कोरिन्थी ५:१६) मसीहीहरूले मानिसहरूलाई शरीरअनुसार हेर्नु हुँदैन जस्तै, अन्यजातिहरूभन्दा यहूदीहरू रुचाउने वा गरिबहरूभन्दा धनीहरू रुचाउने। अभिषिक्‍त जनहरूले “कुनै मानिसलाई शरीरअनुसार चिन्दैन[न्‌]” किनभने आफ्ना सँगी विश्‍वासीहरूसितको आध्यात्मिक सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण कुरा हो। ‘ख्रीष्टलाई शरीरअनुसार चिनेकाहरू’ येशूलाई पृथ्वीमा साँच्चै देखेका मानवहरू मात्र थिएनन्‌। मसीहमा आशा गर्ने कसै कसैले एक समय ख्रीष्टलाई शरीरअनुसार हेरे तापनि अब उहाँलाई मानवको रूपमा मात्र हेर्न सक्दैन थिए। उहाँले आफ्नो शरीर छुडौतीको बलिदानको रूपमा दिनुभयो र जीवन दिने आत्माको रूपमा पुनरुत्थान हुनुभयो। स्वर्गीय जीवनमा पुनरुत्थान हुने कतिपयले येशू ख्रीष्टलाई शारीरिक तवरमा नदेखिकनै आफ्नो भौतिक शरीर त्याग्ने छन्‌।—१ कोरिन्थी १५:४५, ५०; २ कोरिन्थी ५:१-५.

८. व्यक्‍तिविशेषहरू कसरी “ख्रीष्टमा” एक भएका छन्‌?

८ अझै अभिषिक्‍त जनहरूलाई सम्बोधन गर्दै पावल यसो भन्छन्‌: “कोही ख्रीष्टमा छ भने, त्यो नयाँ सृष्टि हुन्छ। पूराना कुराहरू बितिसके, हेर, ती नयाँ भइसकेका छन्‌।” (२ कोरिन्थी ५:१७) “ख्रीष्टमा” हुनुको अर्थ उहाँसित एक हुनु हो। (यूहन्‍ना १७:२१) यहोवाले तिनलाई आफ्नो पुत्रतिर खिच्नु भएर पवित्र आत्माद्वारा अभिषिक्‍त गर्नु भएपछि मात्र यो सम्बन्ध सम्भव भयो। तिनी परमेश्‍वरको आत्मा अभिषिक्‍त पुत्रको रूपमा ख्रीष्टसँगै स्वर्गीय राज्यमा सहभागी हुने प्रत्याशा भएका “नयाँ सृष्टि” थिए। (यूहन्‍ना ३:३-८; ६:४४; गलाती ४:६, ७) त्यस्ता अभिषिक्‍त जनहरूलाई सेवाको महान्‌ सुअवसरहरू दिइएको छ।

“परमेश्‍वरसँग मिलाप राख”

९. परमेश्‍वरसित मिलाप सम्भव गर्नको निम्ति उहाँले के गर्नुभएको छ?

९ “नयाँ सृष्टि[लाई]” यहोवाले कस्तो अनुग्रह देखाउनुभएको! पावल भन्छन्‌: “सबै कुरा परमेश्‍वर[बाट] हुन्‌, जसले हामीलाई ख्रीष्टद्वारा आफसित मिलाप गराउनुभयो, औ हामीलाई मिलापको सेवा दिनुभएको छ, अर्थात्‌ परमेश्‍वर ख्रीष्टमा हुनुभयो, र संसारलाई आफूसित मिलापमा ल्याउनुभयो, औ तिनीहरूका अपराधको हिसाब नलिएर मिलाप गराउने कामको वचन उहाँले हामीमा जिम्मा लगाइदिनुभयो।” (२ कोरिन्थी ५:१८, १९) आदमले पाप गरेदेखि मानिसजाति परमेश्‍वरबाट अलग्गिएको छ। तर येशूको छुडौतीको बलिदान मार्फत मिलापको बाटो खोल्न दयापूर्वक यहोवा स्वयं अग्रसर हुनुभयो।—रोमी ५:६-१२.

१०. मिलापको जिम्मेवारी परमेश्‍वरले कसलाई सुम्पनुभयो र यो पूरा गर्न तिनीहरूले के गरेका छन्‌?

१० यहोवाले मिलापको जिम्मेवारी अभिषिक्‍त जनहरूलाई सुम्पनु भएकोले पावलले यसो भन्‍न सके: “परमेश्‍वरले हामीद्वारा आग्रह गर्नुभएझैं ख्रीष्टको पक्षमा हामी राजदूत हौं। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौं, कि तिमीहरू परमेश्‍वरसँग मिलाप राख।” (२ कोरिन्थी ५:२०) पहिले पहिले युद्ध हुनदेखि रोक्न सकिन्छ कि भनी तनाउग्रस्त समयमा राजदूतहरू पठाइन्थ्यो। (लूका १४:३१, ३२) मानिसजातिको पापी संसार परमेश्‍वरबाट अलग्गिएको कारण मिलाप कसरी गर्न सकिन्छ भनी मानिसहरूलाई जानकारी दिन उहाँले अभिषिक्‍त राजदूतहरूलाई पठाउनुभएको छ। ख्रीष्टकै पक्षमा अभिषिक्‍तहरूले यस्तो बिन्ती गर्छन्‌: “तिमीहरू परमेश्‍वरसँग मिलाप राख।” यो मानिसहरूलाई परमेश्‍वरसित शान्ति कायम राख्ने र ख्रीष्ट मार्फत सम्भव भएको उद्धार स्वीकार्ने कृपालु आग्रह हो।

११. छुडौतीको बलिदानमाथि विश्‍वासद्वारा आखिरमा को परमेश्‍वरसामु धार्मिक ठहर्नेछ?

११ छुडौतीमा विश्‍वास गर्ने सबै मानिसहरू परमेश्‍वरसित मिलापमा हुनसक्छन्‌। (यूहन्‍ना ३:३६) पावल भन्छन्‌: “हामी उहाँमा परमेश्‍वरको धार्मिकता हुन पाऔं भनेर पापै थाह नपाउनु हुनेलाई [येशू] पनि उहाँले [यहोवा] हाम्रा निम्ति पाप तुल्याउनुभयो।” (२ कोरिन्थी ५:२१) वंशानुगत पापबाट उद्धार गरिएका आदमका सबै सन्तानहरूको निम्ति सिद्ध पुरुष येशू पापको बलि हुनुहुन्थ्यो। तिनीहरू येशू मार्फत “परमेश्‍वरको धार्मिकता” भए। यो धार्मिकता वा परमेश्‍वरसमक्ष धर्मी ठहर्ने अवसर सर्वप्रथम ख्रीष्टका १,४४,००० सह उत्तराधिकारीहरूले पाउनेछन्‌। उहाँको हजार वर्षीय राज्यको दौडान सनातनका पिता येशू ख्रीष्टको पार्थिव छोराछोरीले सिद्ध मानवको रूपमा धार्मिक सम्बन्ध पाउनेछन्‌। उहाँले तिनीहरूलाई सिद्धतामा धार्मिक ठहऱ्‍याउनुहुनेछ ताकि तिनीहरू परमेश्‍वरप्रति विश्‍वासी साबित हुनसक्नेछन्‌ र अनन्त जीवनको वरदान पाउनेछन्‌।—यशैया ९:६; प्रकाश १४:१; २०:४-६, ११-१५.

“ग्रहणयोग्य समय अहिले छ”

१२. यहोवाका राजदूत तथा प्रतिनिधिहरूले कस्तो महत्त्वपूर्ण सेवकाई गरिरहेका छन्‌?

१२ उद्धारको निम्ति हामी पावलका शब्दहरूअनुरूप चल्नुपर्छ: “उहाँसँगै [यहोवा] काम गर्दै हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौं, कि परमेश्‍वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर। (किनभने उहाँ भन्‍नुहुन्छ, ‘खुशी भएको समयमा मैले तिम्रो कुरा सुनें, औ उद्धारको दिन मैले तिमीलाई सहायता दिएँ,’ हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ)।” (२ कोरिन्थी ६:१, २) यहोवाका अभिषिक्‍त राजदूत तथा तिनीहरूको प्रतिनिधि अर्थात्‌ “अरू भेड़ा[ले]” तिनीहरूको स्वर्गमा हुनुहुने पिताको अनुग्रहलाई स्वीकार्ने र त्यसको उद्देश्‍य चाहिं भुल्ने गर्दैनन्‌। (यूहन्‍ना १०:१६) यस “ग्रहणयोग्य समयमा” धर्मी आचरण र जोसिलो सेवकाईद्वारा तिनीहरू ईश्‍वरीय अनुमोदन खोज्छन्‌ र पृथ्वीका वासीहरूलाई “उद्धारको दिन” अहिले हो भनी खबर गरिरहेका छन्‌।

१३. यशैया ४९:८ को सार के हो र यो पहिलो पल्ट कसरी पूरा भयो?

१३ पावल यशैया ४९:८ उद्धृत गर्छन्‌ जहाँ यसो भनिएको छ: “परमप्रभु भन्‍नुहुन्छ, निगाहको समयमा मैले तँलाई जवाफ दिएको छु, र उद्धारको दिनमा मैले तँलाई सहायता दिएँ। देश स्थापित गर्न, र उजाड़ ठाउँहरू अधिकारको निम्ति बाँड़िदिन मैले तँलाई जोगाइराखेर करारको रूपमा मानिसहरूलाई दिएको छु।” इस्राएलीहरू बेबिलोनको कैदबाट मुक्‍त भएर आफ्नो उजाड जन्मभूमिमा फर्कंदा यस भविष्यवाणीको पहिलो पूर्ति भयो।—यशैया ४९:३, ९.

१४. येशूको सन्दर्भमा यशैया ४९:८ कसरी पूरा भयो?

१४ यशैयाको भविष्यवाणीको थप पूर्तिमा यहोवाले “पृथ्वीको पल्लो छेउसम्म मेरो उद्धार पुगोस्‌ भनी” आफ्नो “दास” येशू दिनुभयो। (यशैया ४९:६, ८; तुलना गर्नुहोस्‌ यशैया ४२:१-४, ६, ७; मत्ती १२:१८-२१) “निगाहको समय” वा “ग्रहणयोग्य समय” स्पष्टतः येशू पृथ्वीमा हुँदा पनि भयो। उहाँले प्रार्थना गर्नुभयो र परमेश्‍वरले “जवाफ” दिनुभयो। त्यो येशूको निम्ति “उद्धारको दिन” साबित भयो किनभने उहाँले पूर्णतया निष्ठा कायम गर्नुभयो। अतः “उहाँको आज्ञा मान्‍नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्‍तिको कर्त्ता हुनुभयो।”—हिब्रू ५:७, ९; यूहन्‍ना १२:२७, २८.

१५. कहिलेदेखि आध्यात्मिक इस्राएलीहरूले परमेश्‍वरको अनुग्रहको निम्ति योग्य ठहरिन प्रयास गर्नुपऱ्‍यो र कुन उद्देश्‍यका लागि?

१५ पावलले यशैया ४९:८ अभिषिक्‍त मसीहीहरूमा लागू गर्छन्‌ र उहाँले प्रबन्ध गर्नुभएको “ग्रहणयोग्य समय” र “उद्धारको दिन[मा]” उहाँको निगाह प्राप्त गर्न असफल भएर ‘परमेश्‍वरको अनुग्रहलाई व्यर्थमा नफाल्न’ बिन्ती गर्छन्‌। पावल अझ भन्छन्‌: “हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ।” (२ कोरिन्थी ६:२) सा.यु. ३३ पेन्तिकोसदेखि आध्यात्मिक इस्राएलीहरूले परमेश्‍वरको अनुग्रहको निम्ति आफूलाई योग्य ठहराउने प्रयास गरेका छन्‌ ताकि “ग्रहणयोग्य समय” तिनीहरूको निम्ति “उद्धारको दिन” हुनेछ।

“हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं”

१६. कस्तो कठिन परिस्थितिमा पनि पावलले आफूलाई परमेश्‍वरको सेवकको रूपमा सिफारिस गरे?

१६ कोरिन्थ मण्डलीसित संगति गरिरहेका कसै कसैले आफूलाई परमेश्‍वरको अनुग्रह प्राप्त गर्न योग्य साबित गर्न सकेनन्‌। “सेवामा कलङ्‌क” लाग्ने कुनै कार्य नगरे तापनि तिनीहरूले पावल प्रेरित हुनाको अधिकार नाश गर्ने प्रयासमा तिनको निन्दा गरे। “ज्यादै धीरजमा, सङ्‌कटमा, दरिद्रतामा, दुःखमा, कोर्राबाजीमा, कैदमा, हुल-दङ्‌गामा, परिश्रममा, जाग्राममा, उपवासमा” निस्सन्देह तिनले आफूलाई परमेश्‍वरको सेवकजस्तो देखाए। (२ कोरिन्थी ६:३-५) तिनका शत्रुहरू सेवकहरू हुन्‌ भने आफू “झन्‌ बढ्‌ता गरी हुँ” भनी पावलले पछि तर्क गरे किनभने तिनले प्रशस्तगरी कैद, कोर्राबाजी, सास्ती तथा कठिनाइ भोगे।—२ कोरिन्थी ११:२३-२७.

१७. (क) कस्ता गुनहरू प्रदर्शन गरेर हामी आफूलाई परमेश्‍वरको सेवकको रूपमा सिफारिस गर्नसक्छौं? (ख) “धार्मिकताका हतियारहरू” के हुन्‌?

१७ पावल र तिनका सँगीहरूले जस्तै हामीले आफूलाई परमेश्‍वरको सेवकजस्तो देखाउनसक्छौं। कसरी? “शुद्धतामा” र बाइबलको सही ज्ञानअनुरूप चलेर। “धैर्यमा” गलत वा रीसलाई सहेर र “दयामा” अरूलाई मदतकारी कुराहरू गरेर हामीले आफ्नो सिफारिस गर्नसक्छौं। यसबाहेक, उहाँको आत्माको निर्देशन स्वीकारेर, “सकली प्रेम” प्रदर्शन गरेर, सत्य बोलेर र सेवकाईमा लाग्न शक्‍तिको निम्ति उहाँमा भर परेर हामीले आफूलाई परमेश्‍वरको सेवकको रूपमा सिफारिस गर्नसक्छौं। चाखलाग्दो कुरा के छ भने, पावलले “दाहिने र देब्रे दुवैपट्टि धार्मिकताको कवचले” सेवकाईमा आफ्नो स्थान प्रमाणित गरे। पुरातन समयमा लडाइँहरूमा साधारणतया दायाँ हातले तरबार समातिन्थ्यो भने बायाँ हातमा ढाल समात्ने गरिन्थ्यो। झूटा शिक्षकहरूसित आध्यात्मिक युद्ध लड्‌दा पावलले धूर्तता, कपट र छलजस्ता पापी शरीरको हतियार चलाएनन्‌। (२ कोरिन्थी ६:६, ७; ११:१२-१४; हितोपदेश ३:३२) साँचो उपासना बढाउन तिनले धार्मिक “हतियार” वा साधन चलाए। हामीले पनि त्यस्तै गर्नुपर्छ।

१८. हामी परमेश्‍वरका सेवकहरू हौं भने हामीले कसरी असल आचरण कायम गर्नेछौं?

१८ हामी परमेश्‍वरका सेवकहरू हौं भने हामीले पनि पावल तथा तिनका सहकर्मीहरूले जस्तै असल चालचलन कायम राख्नेछौं। आदर वा अनादर जे गरे पनि हामीले मसीहीहरूजस्तै व्यवहार गर्नेछौं। हामीबारे आएको खराब रिपोर्टले हामीलाई प्रचारकार्य गर्नदेखि रोक्नेछैन नता हाम्रो सकारात्मक रिपोर्टले गर्दा घमण्डले फुल्ने नै छौं। हामी सत्य बोल्नेछौं र ईश्‍वरीय कार्यको निम्ति मान्यता पाउनेछौं। शत्रुहरूको आक्रमणको कारण खतरनाक परिस्थितिमा पर्दा पनि हामीले यहोवामाथि विश्‍वास गर्नेछौं। अनि हामीले कृतज्ञता साथ अनुशासन स्वीकार्नेछौं।—२ कोरिन्थी ६:८, ९.

१९. आध्यात्मिक तवरमा ‘धेरै धन’ बनाउन कसरी सम्भव छ?

१९ मिलापको कार्यबारे छलफल गर्न सिद्धिएपछि पावलले आफू र आफ्ना सँगीहरू “अफसोसीझैं, तापनि सधैं आनन्दित, गरीबझैं, तैपनि धैरैलाई धनी तुल्याउने, केही नहुनेझैं, तैपनि यावत्‌ थोक भएका” भने। (२ कोरिन्थी ६:१०) ती सेवकहरूसित आफ्नो दुःखकष्टमाथि दुःख गर्ने कारण भए तापनि तिनीहरूले भित्री आनन्द महसुस गरे। तिनीहरू भौतिक तवरमा गरिब थिए तर तिनीहरूले आध्यात्मिक तवरमा ‘धेरैलाई धनी तुल्याए।’ वास्तवमा विश्‍वासको कारण आध्यात्मिक धन पाउनुका साथै परमेश्‍वरको आध्यात्मिक पुत्रहरू हुने प्रत्याशा समेत पाएको हुनाले तिनीहरूसित ‘यावत्‌ थोक’ थियो। अनि मसीही सेवकहरूको हैसियतमा तिनीहरूले धनी र आनन्दित जीवन बिताए। (प्रेरित २०:३५) उद्धारको यस समयमा अर्थात्‌ मिलापको सेवकाईमा भाग लिएर हामीले तिनीहरूले जस्तै ‘धेरै धन’ कमाउनसक्छौं!

यहोवाद्वारा पाइने उद्धारमा विश्‍वास गर्नुहोस्‌

२०. (क) पावलको साँचो इच्छा के थियो र किन ढिलासुस्ती गर्ने समय थिएन? (ख) हामी बाँचिरहेको समयमा उद्धारको दिनलाई केले चिनाउँछ?

२० पावलले सा.यु. ५५ तिर कोरिन्थहरूलाई दोस्रो पत्र लेख्दा यहूदी रीतिरिवाजको अन्त हुन लगभग १५ वर्ष मात्र बाँकी थियो। यहूदी तथा अन्यजातिहरू ख्रीष्ट मार्फत परमेश्‍वरसित मिलाप होस्‌ भन्‍ने पावलको उत्कट चाहना थियो। त्यो उद्धारको समय थियो र ढिलासुस्ती गर्ने समय थिएन। हामी पनि १९१४ देखि त्यस्तै आखिरी समयमा छौं। विश्‍वभरि भइरहेको परमेश्‍वरको राज्यको प्रचारकार्यले उद्धारको समय अहिले हो भनी चिनाउँछ।

२१. (क) सन्‌ १९९९ को निम्ति कुन वार्षिक पद छानिएको छ? (ख) यस उद्धारको समयमा हामीले के गरिरहेको हुनुपर्छ?

२१ येशू मार्फत पाइने परमेश्‍वरको उद्धारको प्रबन्धबारे सबै राष्ट्रका मानिसहरूले सुन्‍नु आवश्‍यक थियो। ढिलासुस्ती गर्ने समय छैन। पावलले लेखे: “हेर, उद्धारको दिन अहिले छ।” दोस्रो कोरिन्थी ६:२ का यी शब्दहरू यहोवाका साक्षीहरूको १९९९ सालको वार्षिकपद हुनेछ। यो कत्ति उपयुक्‍त छ किनभने हामीले यरूशलेम तथा यसको मन्दिरको विनाशभन्दा अझ नराम्रो अवस्था भोग्नेछौं! यस सम्पूर्ण रीतिरिवाजको अन्त निकट छ। कदम चाल्ने समय भोलि होइन अहिल्यै हो। यहोवामा उद्धार छ भनी विश्‍वास गर्छौं, उहाँलाई प्रेम गर्छौं र अनन्त जीवनको मोल गर्छौं भने हामीले परमेश्‍वरको अनुग्रहको उद्देश्‍य भुल्ने छैनौं। परमेश्‍वरलाई आदर गर्ने हार्दिक इच्छा हामीले आफ्नो कार्य तथा वचनद्वारा देखायौं भने यो उद्‌गारलाई हामी प्रमाणित गर्नेछौं: “हेर, उद्धारको दिन अहिले छ।”

तपाईं कसरी जवाफ दिनुहुन्छ?

◻ परमेश्‍वरसित मिलाप गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ?

◻ मिलापको सेवकाईमा सम्मिलित राजदूत तथा प्रतिनिधिहरू को हुन्‌?

◻ परमेश्‍वरका सेवकहरूको रूपमा हामीले कसरी आफूलाई सिफारिस गर्नसक्छौं?

◻ यहोवाका साक्षीहरूको १९९९ को वार्षिक पदले तपाईंलाई के अर्थ राख्छ?

[पृष्ठ १७-मा भएको चित्र]

पावलजस्तै के तपाईं पनि परमेश्‍वरसित मिलापमा रहन जोसिलो भई प्रचार गरेर अरूलाई मदत गरिरहनुभएको छ?

संयुक्‍त राज्य

फ्रान्स

कोट डेभ्वा

[पृष्ठ १८-मा भएको चित्र]

यस उद्धारको समयमा यहोवा परमेश्‍वरसित मिलापमा हुनेहरूमध्ये के तपाईं पनि हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने