प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 २/१५ pp. ४-७
  • के धर्म मानव समस्याहरूको जड हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के धर्म मानव समस्याहरूको जड हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बहकाउने “ज्योतिर्मय स्वर्गदूत”
  • येशूको शिक्षा परमेश्‍वरबाट आएको थियो
  • साँचो धर्म केही समयको लागि ओझेलमा पर्छ
  • “क्रोध र घृणाको धर्मसिद्धान्त”
  • सबै नै ठगिएका छैनन्‌
  • समस्याको जड
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के तपाईंले सही धर्म भेट्टाउनु भएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • धर्म असल वा खराब प्रभाव?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
    धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 २/१५ pp. ४-७

के धर्म मानव समस्याहरूको जड हो?

“धर्मले झै-झगडालाई प्रोत्साहित नगरेको बेला यसले नशालु औषधीको रूपमा काम गरिरहेको हुन्छ, जसले मानव अन्तस्करणलाई चेतनाहीन बनाउनुका साथै मानव मगजलाई अप्रिय कुराहरूदेखि टाढा कुनै सुखद अवस्थाको कल्पनाले भरिदिन्छ . . . [यसले] मानिसजातिलाई सङ्‌कुचित, अन्धविश्‍वासी बनाउनुका साथै मनमा घृणा र त्रासका भावनाहरू उत्पन्‍न गरिदिन्छ।” यस प्रकार टिप्पणी गर्ने भूतपूर्व मेथोडिस्ट मिसनरीले अझ यस्तो लेखे: “यी अभियोगहरू सत्य हुन्‌। खराब र असल दुवै धर्म छन्‌।”— स्टार्ट योर ओन रिलिजन (अंग्रेजी)।

‘यो त सरासर अन्यायपूर्ण आलोचना हो’ भनेर कसै-कसैले भन्लान्‌। यद्यपि, इतिहासका तथ्यहरूलाई कसले पो नकार्न सक्छ र? धेरै हदसम्म, “परमेश्‍वर वा अलौकिक शक्‍तिको सेवा र उपासना” भनेर परिभाषित गरिएको धर्मको ज्यादै नराम्रो रेकर्ड छ। यसले हामीलाई ज्योति र प्रेरणा दिनुपर्छ। तथापि, यसले अक्सर झगडा, असहिष्णुता र घृणा मात्र उत्पन्‍न गर्नेगर्छ। धर्मले किन यस किसिमका समस्याहरू उत्पन्‍न गरेको होला?

बहकाउने “ज्योतिर्मय स्वर्गदूत”

बाइबलअनुसार यस प्रश्‍नको एकदमै सरल जवाफ छ। “जोतिर्मय स्वर्गदूत[को]” भेषमा आफूलाई प्रस्तुत गरेर शैतान अर्थात्‌ दियाबलले परमेश्‍वरको नभई त्यसको आफ्ना शिक्षाहरू पछ्याउन लाखौं मानिसहरूलाई बहकाएको छ। (२ कोरिन्थी ११:१४) शैतानको प्रभाव यत्ति व्यापक छ कि “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर प्रेरित यूहन्‍नाले देखाए। (छड्‌के अक्षर हाम्रो, १ यूहन्‍ना ५:१९) शैतानले ‘सारा संसारलाई ठगिरहेको छ’ भन्‍ने कुरा यूहन्‍नालाई थाह थियो।—प्रकाश १२:९.

यसको कस्ता नतिजाहरू भएका छन्‌? शैतानले बाहिरबाट हेर्दा पवित्र देखिने धार्मिक प्रणालीहरूको प्रवर्धन गरेको छ। ती प्रणालीहरूमा “ ‘धर्मको’ देखावटी रूप त छ” तर तिनीहरूले फलाउने दुष्ट फलबाट तिनीहरूको वास्तविक अवस्था प्रस्ट भएको छ। (२ तिमोथी ३:५, जे. बी. फिलिप्स्‌; मत्ती ७:१५-२०) मानव समस्याहरूको समाधान गर्न मदत गर्नुको सट्टा धर्म नै समस्याको एउटा भाग बन्‍न पुग्छ।

यस्तो विचार त अस्वाभाविक वा अव्यावहारिक छ भन्‍ने निष्कर्षमा तुरुन्तै नपुगिहाल्नुहोस्‌। नबिर्सनुहोस्‌, छलछामको प्रकृति नै यस्तो हुन्छ कि ठगिने व्यक्‍ति यस विषयमा अनभिज्ञ हुन्छ। यस सन्दर्भमा प्रेरित पावलले एउटा उदाहरण दिंदै यस्तो लेखे: “अन्यजातिहरू जो बलि चढ़ाउँछन्‌ परमेश्‍वरलाई होइन, तर भूत-प्रेतहरूलाई चढ़ाउँछन्‌।” (१ कोरिन्थी १०:२०) आफूहरूले भूत-प्रेतको उपासना गरिरहेको कुरा चाल पाउँदा ती मानिसहरू स्तब्ध भएको हुनुपर्छ। तिनीहरूले असल देवीदेवताको उपासना गरिरहेका छौं भन्ठानेका थिए। यद्यपि, वास्तवमा तिनीहरू “स्वर्गीय स्थानहरूमा दुष्ट्‌याइँका आत्मिक सेनाहरू[द्वारा]” ठगिएका थिए, जसले मानिसजातिलाई ठग्न शैतानले गर्ने प्रयासहरूको समर्थन गर्छन्‌।—एफिसी ६:१२.

उदाहरणका लागि आउनुहोस्‌, छलछाम गर्न र दुष्ट प्रभावबारे प्रेरित यूहन्‍नाले दिएको चेतावनीलाई जानाजानी बेवास्ता गर्ने थुप्रै मसीही भनौंदाहरूलाई ठग्न शैतान कसरी सफल भयो, विचार गरौं।—१ कोरिन्थी १०:१२.

येशूको शिक्षा परमेश्‍वरबाट आएको थियो

येशू ख्रीष्टले यसो भन्‍नुभयो, “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।” (यूहन्‍ना ७:१६) हो, उहाँले जे सिकाउनुभयो त्यो सर्वशक्‍तिमान्‌ परमेश्‍वरबाटको शिक्षा थियो। त्यसैकारण येशूका शिक्षाहरूले उहाँको कुरा सुन्‍ने जतिलाई शक्‍तिशाली प्रभाव पार्नुका साथै उत्साहित गऱ्‍यो। ती शिक्षाहरूले ‘मानव अन्तस्करणलाई चेतनाहीन बनाएन वा मानव मगजलाई अप्रिय कुराहरूदेखि टाढा कुनै सुखद अवस्थाको कल्पनाले भरेन।’ त्यसको ठीक विपरीत, येशूका शिक्षाहरूले दियाबलको छलछामको कारण “अज्ञानताको समझ अँध्यारो[मा]” परेको संसारमा व्याप्त धार्मिक त्रुटि तथा मानव दर्शनहरूबाट मानिसहरूलाई स्वतन्त्र तुल्यायो।—एफिसी ४:१८; मत्ती १५:१४; यूहन्‍ना ८:३१, ३२.

साँचो मसीहीहरू धर्मी भइटोपलेर होइन तर परमेश्‍वरको पवित्र आत्माले फलाउने आकर्षक गुणहरू झल्काउने विश्‍वासको कारण चिनिए। (गलाती ५:२२, २३; याकूब १:२२; २:२६) यी गुणहरूमध्ये सबैभन्दा उल्लेखनीय र साँचो मसीही धर्मको चिनारी, विशिष्ट गुण प्रेम हो।—यूहन्‍ना १३:३४, ३५.

तथापि, यस महत्त्वपूर्ण बुँदालाई याद गर्नुहोस्‌: सुरुमा मसीही मण्डली जुन अवस्थामा स्थापना गरिएको थियो, त्यही अवस्थामा यो रहिरहनेछ भनेर न येशूले न त उहाँका प्रेरितहरूले नै आशा गरे। धर्मत्याग देखापर्नेछ र केही समयको लागि साँचो धर्म ओझेलमा पर्नेछ भन्‍ने कुरा तिनीहरूलाई थाह थियो।

साँचो धर्म केही समयको लागि ओझेलमा पर्छ

गहुँ र सामाको दृष्टान्तमा, साँचो धर्म केही समयको लागि लगभग पूरै ओझेलमा पर्नेछ भनेर येशूले अग्रिमवाणी गर्नुभयो। मत्ती १३:२४-३०, ३६-४३ मा दिइएको विवरण तपाईं आफै पढेर हेर्नुहोस्‌। येशूले खेतमा गहुँ अर्थात्‌ “असल बिउ” छर्नुभयो, जसले उहाँका विश्‍वासी चेलाहरूलाई चित्रण गर्थ्यो र ती चेलाहरू मिलेर नै प्रारम्भिक मसीही मण्डली बनिएको थियो। “शत्रु”, शैतान अर्थात्‌ दियाबलले समयको दौडान गहुँबारीमा येशू ख्रीष्टका चेलाहरू हौं भनी दाबी गर्ने तर वास्तवमा उहाँका शिक्षाहरूलाई तिरस्कार गर्ने मानिसहरूलाई संकेत गर्ने “सामा” छर्नेछ भनेर उहाँले चेतावनी दिनुभयो।

येशू ख्रीष्टका प्रेरितहरूको मृत्यु भएको धेरै समय नबित्दै, “परमप्रभुको वचन[को]” सट्टा बराल्ने किसिमका मानव शिक्षाहरू मन पराउने, “सामा[लाई]” संकेत गर्ने व्यक्‍तिविशेषहरू देखापरे। (यर्मिया ८:८, ९; प्रेरित २०:२९, ३०) त्यसको परिणामस्वरूप, संसारमा भ्रष्ट, नक्कली मसीहीधर्मको सुरुवात भयो। यो धर्म, बाइबलमा वर्णन गरिएको “अधर्म” अर्थात्‌ “सबै अधर्मको धोकाबाजी[मा]” मुछिएको भ्रष्ट पादरीवर्गको वशमा थियो। (२ थिस्सलोनिकी २:६-१०) यो अवस्था “जगत्‌को अन्तमा” परिवर्तन हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। गहुँजस्ता मसीहीहरूलाई एकसाथ बटुलिनेछ र “सामा[लाई]” चाहिं अन्ततः नष्ट गरिनेछ।

“शताब्दीयौंसम्म चलेको अक्षम्य बर्बरता” र त्यसपछिका शताब्दीहरूमा मसीहीजगत्‌लाई आध्यात्मिक अन्धकारले ढाक्नुको मुख्य दोषी यही नकली मसीहीधर्म हो। त्यस्तै हुनेछ भन्‍ने कुरालगायत त्यतिबेलादेखि धर्मको नाममा भएका अन्य सम्पूर्ण भ्रष्ट र हिंसात्मक कार्यहरूको विषयमा पूर्वज्ञान भएको कारण प्रेरित पत्रुसले “[मसीही भनौंदाहरूको] कारणले सत्यको मार्गको बदनाम हुनेछ” भनेर ठीकै भविष्यवाणी गरे।—२ पत्रुस २:१, २.

“क्रोध र घृणाको धर्मसिद्धान्त”

धर्मले राम्रो नाउँ कमाउन नसक्नुको पछाडि निश्‍चय मसीहीजगत्‌ मात्र दोषी छैन। उदाहरणका लागि, “धार्मिक लडाकूहरूको” कट्टरपन्थी रूपहरूलाई विचार गर्नुहोस्‌, जुन भूतपूर्व भिक्षुणी करेन आम्सट्रङका अनुसार “हरेक प्रमुख धार्मिक परम्पराको” कारण उत्पन्‍न भएका हुन्‌। आम्सट्रङका अनुसार, धर्मले “व्यावहारिक करुणा” देखाउनतर्फ डोऱ्‍याउँछ कि डोऱ्‍याउँदैन भन्‍ने विषयमा धर्मको निर्णायक जाँच हुन्छ। यस सन्दर्भमा कट्टरपन्थी धर्महरूको रेकर्ड कस्तो छ? तिनी यस्तो लेख्छिन्‌, “कट्टरपन्थी विश्‍वास, चाहे यहूदी, इसाई वा मुसलमान नै किन नहोस्‌, यदि यो क्रोध र घृणाको धर्मसिद्धान्त भएको खण्डमा यसले निर्णायक जाँच पार गर्न सक्दैन।” (द ब्याटल फर गड—फन्डामेन्टालिजम्‌ इन जुडिजम्‌, क्रिश्‍चियानिटी एण्ड इस्लाम [अंग्रेजी]) तर के यही “कट्‌टरपन्थी” धर्महरू मात्र यो जाँच पार गर्न असफल हुनुका साथै “क्रोध र घृणाको धर्मसिद्धान्त” भएका हुन्‌? इतिहासले अर्कै कुरा देखाउँछ।

निस्सन्देह, शैतानले झूटो धर्मको विश्‍व साम्रज्य नै खडा गरेको छ अनि यो धर्म क्रोध, घृणा र कैयौं रक्‍तपातले चिनिन्छ। बाइबलमा यस साम्रज्यलाई “पृथ्वीका . . . र घृणित कुराहरूकी आमा, महान्‌ बेबिलोन” भनिएको छ र यसलाई पशुरूपी राजनैतिक प्रणालीमाथि बसिरहेकी वेश्‍याको रूपमा चित्रण गरिएको छ। “पृथ्वीमा मारिएका सबैका रगत[को]” लागि त्यसलाई दोषी ठहऱ्‍याइएको कुरा उल्लेखनीय छ।—प्रकाश १७:४-६; १८:२४.

सबै नै ठगिएका छैनन्‌

तथापि, सबै नै ठगिएका छैनन्‌ भन्‍ने कुरा इतिहासले पुष्टि गर्छ। म्यालभिन ब्रागको भनाइअनुसार मानव इतिहासको एकदमै अन्धकारमय समयमा पनि “आफू वरपरका अधिकांश व्यक्‍तिहरू दुष्ट हुँदासमेत थुप्रै असल व्यक्‍तिहरूले भलाइको काम गरेका छन्‌।” साँचो मसीहीहरूले “आत्मा र सत्यतामा [परमेश्‍वरलाई] पुज्न” छाडेनन्‌। (यूहन्‍ना ४:२१-२४) “सैन्य शक्‍तिका समर्थकहरूको” रूपमा आफैलाई वेश्‍या बनाउने विश्‍वव्यापी धार्मिक प्रणालीबाट तिनीहरूले आफूलाई टाढा राखे। तिनीहरूले चर्च र सरकारसित सँगै मिलेर काम गर्न अस्वीकार गरे, जुन कामलाई इतिहासले “नासरीको येशूले नभई शैतानले गरेको एउटा सम्झौता थियो” भनी पुष्टि गर्छ।— टु थाउजेन यर्स—द सेकेन्ड मिलेनियम: फ्रम मेडिभल क्रिश्‍चियनडम टु ग्लोबल क्रिश्‍चियानिटी (अंग्रेजी)।

हालैका वर्षहरूमा, यहोवाका साक्षीहरू असल गर्न प्रभाव पार्ने मानिसहरूको रूपमा चिनिएका छन्‌। झूटो धर्मको कलंकबाट अलग रहनको लागि तिनीहरूले आफ्नो विश्‍वास तथा कार्यहरूको मुख्य आधार परमेश्‍वरको प्रेरित वचन, बाइबललाई बनाएका छन्‌। (२ तिमोथी ३:१६, १७) अनि प्रथम शताब्दीका मसीहीहरूले जस्तै तिनीहरूले ‘संसारको भाग नहुने’ येशूको आज्ञा पालन गरेका छन्‌। (यूहन्‍ना १५:१७-१९; १७:१४-१६) उदाहरणका लागि, नाजी जर्मनीमा तिनीहरूले मसीही सिद्धान्तहरूमा सम्झौता गर्न अस्वीकार गरे र फलतः तिनीहरू नाजी विचारधारा अनुसार स्वीकार्य भएनन्‌। यसैकारण हिटलरले तिनीहरूलाई घृणा गऱ्‍यो। स्कूलको एउटा पाठ्यपुस्तक यसो भन्छ: “यहोवाका साक्षीहरूले . . . कुनै पनि हालतमा हतियार नउठाउनू भन्‍ने बाइबलको शिक्षा पालन गरे। त्यसैकारण तिनीहरूले सैन्य सेवा गर्न वा नाजीहरूसित सम्बन्धित कुनै पनि क्रियाकलापमा भाग लिन मानेनन्‌। त्यसको बदलामा एस एस सेनाले यहोवाका साक्षीहरूको सम्पूर्ण परिवारलाई झ्यालखानामा हाल्यो। [जर्मनीमा भएका] सम्पूर्ण यहोवाका साक्षीहरूमध्ये एक तिहाइको त यातना शिविरमा हत्या गरियो।”— जर्मनी—१९१८-४५.

हुन त हो, विभिन्‍न धर्मका अन्य साहसी मानिसहरूले पनि आफ्नो विश्‍वासको खातिर दुःख भोगे। तर यहोवाका साक्षीहरूले भने एकताबद्ध धार्मिक समुदायको रूपमा यस्तो दुःख भोगेका थिए। अधिकांश यहोवाका साक्षीहरूले यस आधारभूत धर्मशास्त्रीय सिद्धान्तप्रति दृढ अडान लिए: “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९; मर्कूस १२:१७.

समस्याको जड

त्यसकारण सम्पूर्ण मानव समस्याहरूको जड धर्म हो भन्‍नु केही हदसम्म मात्र साँचो हो। यसको जड त झूटो धर्म हो। यद्यपि, परमेश्‍वरले अब चाँडै झूटो धर्म हटाउने उद्देश्‍य राख्नुभएको छ। (प्रकाश १७:१६, १७; १८:२१) न्याय र धार्मिकतालाई प्रेम गर्नेहरू सबैलाई उहाँको यस्तो आज्ञा छ: “हे मेरा मानिस हो, त्यसबाट [अर्थात्‌ झूटो धर्मको विश्‍व साम्रज्य महान्‌ बेबिलोन] निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌, किनभने त्यसका पाप स्वर्गसम्मै चुल्लिएका छन्‌, र परमेश्‍वरले त्यसका अधर्म सम्झनुभएको छ।” (प्रकाश १८:४, ५) हो, ‘झै-झगडालाई प्रोत्साहित गर्ने, मानव अन्तस्करणलाई चेतनाहीन बनाउने, मानव मगजलाई अप्रिय कुराहरूदेखि टाढा कुनै सुखद अवस्थाको कल्पनाले भरिदिने र मानिसजातिलाई सङ्‌कुचित, अन्धविश्‍वासी बनाउनुका साथै मनमा घृणा र त्रासका भावनाहरू उत्पन्‍न गरिदिने’ धर्मले गर्दा स्वयम्‌ परमेश्‍वरको घोर अपमान भएको छ!

तर त्यतिन्जेल, सत्यलाई प्रेम गर्नेहरूलाई परमेश्‍वरले शुद्ध धर्ममा जम्मा गर्दै हुनुहुन्छ। यो यस्तो धर्म हो जसले मायालु, न्यायी र अनुकम्पापूर्ण सृष्टिकर्ताका सिद्धान्त तथा शिक्षाहरू पालन गर्छ। (मीका ४:१, २; सपन्याह ३:८, ९; मत्ती १३:३०) तपाईं पनि यस धर्मको भाग हुन सक्नुहुन्छ। शुद्ध साँचो धर्म चिन्‍ने सन्दर्भमा थप जानकारी चाहनुहुन्छ भने, यस पत्रिकाका प्रकाशकहरूलाई पत्राचार गर्न वा सहयोगको लागि कुनै पनि यहोवाका साक्षीहरूसित कुरा गर्न नहिचकिचाउनुहोस्‌।

[पृष्ठ ७-मा भएको चित्र]

सबै पृष्ठभूमिका मानिसहरूले शुद्ध धर्ममा आनन्द प्राप्त गरेका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने