यहोवाको सेवामा सक्दो गर्न हामी खुसी छौं!
१ प्रचारकार्य पूरा गर्न आफूलाई पूरै “खर्च” गरेकोमा प्रेरित पावल खुसी थिए। (२ कोरि. १२:१५) त्यसरी नै आज थुप्रै मसीहीहरू लगनशील भई अग्रगामी सेवा गरिरहेका छन्। गहन पारिवारिक जिम्मेवारी वहन गरिरहेका कतिपयले भने हरेक हप्ता प्रचारकार्यमा भाग लिन आफ्नो व्यस्त तालिकामा छाँटकाँट गर्छन्। गम्भीर स्वास्थ्य समस्या भएका कोही-कोहीले राज्यसम्बन्धी गतिविधिलाई विस्तार गर्न आफ्नो थोरै बल पनि प्रयोग गर्छन्। फरक-फरक उमेर वा परिस्थितिको बावजुद यहोवाका जनहरूले उहाँको सेवामा सक्दो प्रयास गरेको देख्दा हामी कत्ति प्रोत्साहित हुन्छौं!
२ छिमेकीप्रतिको प्रेम: परमेश्वर र छिमेकीप्रति प्रेम देखाउँदै यहोवाको सेवामा सक्दो गऱ्यौं भने हाम्रो अन्तस्करण सफा हुन्छ। सुसमाचार प्रचार गर्न पावलले आफ्नो जीउज्यान सुम्पेको हुँदा खुसीसाथ यसो भन्न सके: “आजको दिन म तपाईंहरूलाई साक्षी दिन चाहन्छु, कि म सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु।” (प्रेरि. २०:२४, २६; १ थिस्स. २:८) आफ्नो परिस्थितिले दिउन्जेल प्रचारकार्यमा भाग लिंदा हामी रक्तदोषी हुँदैनौं।—इज. ३:१८-२१.
३ अरूलाई मदत गर्न सक्दो प्रयास गर्दा हामी खुसी हुन्छौं। (प्रेरि. २०:३५) एक जना भाइले यसो भने: “हुन त हो, दिनभरि यहोवाको सेवामा लागेर साँझ घर फर्कंदा मलाई थकाइ लाग्छ। तर मलाई खुसी लाग्छ अनि कसैले खोस्न नसक्ने आनन्द दिएकोमा यहोवालाई धन्यवाद दिन्छु।”
४ परमेश्वरप्रतिको प्रेम: यहोवाको सेवामा सक्दो प्रयास गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो, यसो गर्दा स्वर्गमा हुनुहुने हाम्रो पिता खुसी हुनुहुन्छ। परमेश्वरप्रतिको प्रेमले हामीलाई उहाँको आज्ञा पालन गर्न उत्प्रेरित गर्छ। उहाँको आज्ञा पालन गर्नु भनेको प्रचार गर्नु अनि चेला बनाउनु पनि हो। (१ यूह. ५:३) मानिसहरू भावशून्य भए वा उनीहरूले हाम्रो विरोध गरे भने पनि खुसीसाथ यहोवाको सेवामा कडा मेहनत गरिरहन्छौं।
५ अहिले सुस्त हुने समय होइन। हामी कटनीको समयमा बाँचिरहेका छौं। (मत्ती ९:३७) कटनीको बेला किसानले सदाभन्दा लामो समयसम्म काम गर्छ किनभने अन्न कुहिनअघि नै कटनी सिध्याउन धेरै समय हुँदैन। आध्यात्मिक अर्थमा कटनी कार्यको लागि थोरै समय मात्र छ। अहिले बाँचिरहेको समयलाई विचार गर्दै प्रचारकार्यमा हामी सबै जोडतोडका साथ परिश्रम गरिरहौं।—लूका १३:२४; १ कोरि. ७:२९-३१.