प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 अप्रिल pp. ८-१२
  • स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले दिनुभएको स्वतन्त्रताको कदर गर्ने
  • परमेश्‍वरको सेवा गर्न बुद्धिमानीपूर्वक आफ्नो स्वतन्त्रता प्रयोग गर्ने
  • स्वतन्त्र तर उत्तरदायी मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “स्वतन्त्रताका प्रेमीहरूका” जिल्ला सम्मेलनमा तपाईंको स्वागत छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • साँचो स्वतन्त्रता के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवाका उपासकहरूले उपभोग गर्ने स्वतन्त्रता
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 अप्रिल pp. ८-१२
एउटी जवान बहिनी नियमित अग्रगामी सेवाको आवेदन बुझाउँछिन्‌, अग्रगामी सेवा स्कुलमा भाग लिन्छिन्‌, विदेशी भाषा सिक्छिन्‌ अनि पछि विदेशी भूमिमा सेवा गर्छिन्‌

स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌

“जहाँ यहोवाको पवित्र शक्‍ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।”—२ कोरि. ३:१७.

गीत: ४९, ७३

हामीले के सिक्यौं?

  • यहोवाको पवित्र शक्‍तिले हामीलाई कस्ता कुराहरूबाट स्वतन्त्रता दिएको छ?

  • परमेश्‍वरले दिनुभएको स्वतन्त्रताको दुरुपयोग नगर्न हामी कसरी सचेत हुन सक्छौँ?

  • हामी आफ्नो स्वतन्त्रता कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्छौँ?

१, २. (क) प्रेषित पावलको समयका मानिसहरू दासत्व र स्वतन्त्रताको विषयमा किन चासो राख्थे? (ख) साँचो स्वतन्त्रता पाउन पावलले कुन स्रोततर्फ मानिसहरूको ध्यान खिचे?

रोमीहरू आफूलाई नियम-कानुन, न्याय-व्यवस्था र स्वतन्त्रताको सारथी ठान्थे। तर रोमी स्राम्राज्यले त्यस्तो शक्‍ति र महिमा दासदासीहरूलाई थिचोमिचो गरेर हासिल गरेको थियो। कुनै एउटा समयमा रोमको कुल जनसङ्‌ख्याको ३० प्रतिशत मानिसहरू दास थिए। त्यसैले रोमी साम्राज्यको विभिन्‍न ठाउँमा बस्ने सुरु-सुरुका ख्रीष्टियनहरूलगायत आम मानिसहरूले दासत्व र स्वतन्त्रताको विषयमा चासो राख्नु स्वाभाविकै थियो।

२ प्रेषित पावलले लेखेका पत्रहरूमा स्वतन्त्रताबारे थुप्रै कुरा बताइएको छ। तर तिनको सेवाको उद्देश्‍य मानिसहरूले खोजिरहेको सामाजिक वा राजनैतिक सुधारचाहिँ थिएन। पावल र सङ्‌गी ख्रीष्टियनहरूले स्वतन्त्रताको लागि मानव शासक वा सरकारको मुख ताकेनन्‌। बरु तिनीहरूले अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन र ख्रीष्ट येशूले चढाउनुभएको फिरौतीको बलिदानले गर्दा हुने अतुलनीय फाइदाबारे बताउन कडा मेहनत गरिरहेका थिए। पावलले साँचो स्वतन्त्रताको स्रोततर्फ आफ्ना सङ्‌गी ख्रीष्टियनहरूको ध्यान खिचे। उदाहरणको लागि, तिनले कोरिन्थका ख्रीष्टियनहरूलाई लेखेको दोस्रो पत्रमा यसो भने: “यहोवा अदृश्‍य व्यक्‍ति हुनुहुन्छ; अनि जहाँ यहोवाको पवित्र शक्‍ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।”—२ कोरि. ३:१७.

३, ४. (क) पावलले २ कोरिन्थी ३:१७ का शब्दहरू लेख्नुको कारण के थियो? (ख) यहोवाले दिनुहुने स्वतन्त्रता पाउन हामीले के गर्नुपर्छ?

३ पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई लेखेको दोस्रो पत्रमा मोशा सीनै पर्वतमा यहोवाको स्वर्गदूतसामु उपस्थित भएर तल ओर्लिँदाको घटना उल्लेख गरे। त्यतिबेला मोशाको मुहार चम्किएको थियो। त्यसैले मानिसहरू तिनीसित डराए अनि तिनले आफ्नो मुहारमा घुम्टो लगाए। (प्रस्थ. ३४:२९, ३०, ३३; २ कोरि. ३:७, १३) पावलले यसो भने: “तर जब कोही यहोवातिर फर्किन्छ, तब त्यो घुम्टो हटाइन्छ।” (२ कोरि. ३:१६) यसको अर्थ के हो?

४ सबै थोकको सृष्टिकर्ता यहोवा हुनुहुन्छ अनि उहाँसित मात्र पूर्ण र असीमित स्वतन्त्रता छ भनेर हामीले अघिल्लो लेखमा सिक्यौँ। त्यसैले जहाँ यहोवा उपस्थित हुनुहुन्छ र “जहाँ यहोवाको पवित्र शक्‍ति हुन्छ,” त्यहाँ स्वतन्त्रता हुन्छ भन्‍नु तर्कपूर्ण छ। तर त्यो स्वतन्त्रताको सदुपयोग गर्न र त्यसबाट लाभ उठाउन हामी ‘यहोवातिर फर्किनुपर्छ।’ त्यसको मतलब, उहाँसित व्यक्‍तिगत सम्बन्ध गाँस्नुपर्छ। उजाडस्थानमा छँदा यहोवाले गर्नुभएको व्यवहारलाई इस्राएलीहरूले आध्यात्मिक दृष्टिकोणबाट हेरेनन्‌। तिनीहरूको मन र दिमाग कठोर भएको अनि घुम्टो लगाइएको जस्तै अवस्थामा थियो; मिश्रको दासत्वबाट पाएको छुटकारालाई तिनीहरूले केवल शारीरिक दृष्टिकोणबाट हेरे।—हिब्रू ३:८-१०.

५. (क) यहोवाको पवित्र शक्‍तिले कस्तो स्वतन्त्रता दिन्छ? (ख) जेलमा वा दासत्वमा परे पनि यहोवाले दिनुहुने स्वतन्त्रताबाट वञ्चित हुनु पर्दैन भनेर हामी किन भन्‍न सक्छौँ? (ग) हामीले कस्ता प्रश्‍नहरू विचार गर्नुपर्छ?

५ तर यहोवाको पवित्र शक्‍तिले दिने स्वतन्त्रताको अर्थ शारीरिक दासत्वबाट छुटकारा मात्र होइन। मानव प्रयासले कुनै हालतमा हासिल गर्न नसक्ने स्वतन्त्रता यहोवाको पवित्र शक्‍तिबाट सम्भव हुन्छ। त्यो हो, पाप र मृत्युको दासत्वबाट छुटकाराका साथै झूटो धर्म र त्यसका रीतिथितिहरूको दासत्वबाट छुटकारा। (रोमी ६:२३; ८:२) कस्तो गौरवशाली स्वतन्त्रता! झ्यालखानामा पर्दा वा साँच्चै दास बनाइँदा पनि यहोवाले दिनुहुने स्वतन्त्रताबाट कोही पनि वञ्चित हुनु पर्दैन। (उत्प. ३९:२०-२३) भाइ ह्‍यारोल्ड किङले यस्तै अनुभव गर्नुभएको थियो। उहाँ आफ्नो विश्‍वासको खातिर धेरै वर्षसम्म जेलमा पर्नुभएको थियो। तपाईँ JW ब्रोडकास्टिङ-मा उहाँले आफ्नो अनुभव बताएको हेर्न सक्नुहुन्छ। (अन्तरवार्ता तथा अनुभव > संकट अनि विरोधको सामना गर्ने हेर्नुहोस्‌) आउनुहोस्‌, यी प्रश्‍नहरू विचार गरौँ: आफूले पाएको स्वतन्त्रताको कदर गरेको कसरी देखाउन सक्छौँ? यो स्वतन्त्रता हामी कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्छौँ?

परमेश्‍वरले दिनुभएको स्वतन्त्रताको कदर गर्ने

६. यहोवाले दिनुभएको स्वतन्त्रताप्रति कृतज्ञ नभएको इस्राएलीहरूले कसरी देखाए?

६ आफूले पाएको अमूल्य उपहारको महत्त्व बुझ्यौँ भने हामी त्यो उपहार दिने व्यक्‍तिप्रति कृतज्ञता देखाउन अग्रसर हुन्छौँ। यहोवाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट दिनुभएको स्वतन्त्रताको तिनीहरूले कदर गरेनन्‌। मिश्रबाट छुटकारा पाएको केही महिना बित्न नपाउँदै तिनीहरूले मिश्रमा खाएका खानेकुराको लालसा गर्न थाले र यहोवाले दिनुभएका कुराहरूबारे गनगन गर्न थाले। यहाँसम्म कि तिनीहरू मिश्र नै फर्कन चाहे। सोच्नुहोस्‌ त, साँचो परमेश्‍वर यहोवाले दिनुभएको स्वतन्त्रताभन्दा तिनीहरूले ‘माछा, काँक्रा, खरबुजा, कन्दहरू, प्याज, लसुनलाई’ प्यारो ठाने। यस्तो व्यवहार गर्ने आफ्ना जनहरूसित यहोवा असाध्यै रिसाउनुको कारण हामी बुझ्न सक्छौँ नि, होइन र? (गन्ती ११:५, ६, १०; १४:३, ४) हाम्रो लागि कत्ति ठूलो पाठ!

७. पावलले २ कोरिन्थी ६:१ मा दिएको सल्लाहलाई आफ्नो जीवनमा कसरी लागू गरे? हामी पनि कसरी त्यसो गर्न सक्छौँ?

७ यहोवाले आफ्नो छोरा येशू ख्रीष्टमार्फत दिनुभएको स्वतन्त्रतालाई हल्कासित नलिन प्रेषित पावलले सबै ख्रीष्टियनलाई आग्रह गरे। (२ कोरिन्थी ६:१ पढ्‌नुहोस्‌) आफू पाप र मृत्युको दासत्वमा परेको कुरा विचार गर्दा पावलले कत्ति पीडा महसुस गरेका थिए अनि तिनको अन्तस्करण कत्ति घोचेको थियो, सम्झनुहोस्‌ त। तर आफ्नो कृतज्ञता व्यक्‍त गर्दै तिनले भने: “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌!” तिनले किन त्यसो भने? त्यसको कारणबारे तिनले सङ्‌गी ख्रीष्टियनहरूलाई यसरी बताए: “किनकि ख्रीष्ट येशूको चेला भएको नाताले तिमीहरूलाई जीवन दिने परमेश्‍वरको पवित्र शक्‍तिको व्यवस्थाले तिमीहरूलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ।” (रोमी ७:२४, २५; ८:२) यस सन्दर्भमा हामीले पनि पावलको जस्तै दृष्टिकोण राख्नुपर्छ। यहोवाले हामीलाई पाप र मृत्युको दासत्वबाट मुक्‍त गर्नुभएको कुरालाई हामीले कहिल्यै हल्कासित लिनु हुँदैन। फिरौतीको बलिदानले गर्दा नै हामीले सफा अन्तस्करण राखेर परमेश्‍वरको सेवा गर्न सकेका छौँ। अनि त्यसरी सेवा गर्दा हामी आनन्दित हुन सकेका छौँ।—भज. ४०:८.

एक जना जवान मानिस मेहनत गरेर पढ्‌छन्‌, उच्च शिक्षा लिन्छन्‌, जागिर खान्छन्‌, जागिर गुमाउँछन्‌ अनि असाध्यै रक्सी पिउँछन्‌

छनौट गर्ने स्वतन्त्रतालाई तपाईँ कसरी प्रयोग गर्दै हुनुहुन्छ—परमेश्‍वरको राज्यसम्बन्धी कामलाई अघि बढाउन कि आफ्नै इच्छा पूरा गर्न? (अनुच्छेद ८-१० हेर्नुहोस्‌)

८, ९. (क) आफ्नो स्वतन्त्रता प्रयोग गर्नेबारे प्रेषित पत्रुसले कस्तो चेतावनी दिए? (ख) कस्ता अवस्थाहरूमा हाम्रो स्वतन्त्रताको दुरुपयोग हुन सक्छ?

८ आफूले पाएको अनमोल स्वतन्त्रताको कदर गर्नुका साथै त्यसको दुरुपयोग नगर्न पनि हामी सचेत हुनुपर्छ। आफ्नो स्वतन्त्रतालाई शारीरिक कुइच्छाहरू पूरा गर्ने आड नबनाउन प्रेषित पत्रुसले चेतावनी दिए। (१ पत्रुस २:१६ पढ्‌नुहोस्‌) के यो चेतावनी पढ्‌दा तपाईँ उजाडस्थानमा इस्राएलीहरूले भोग्नुपरेको सजाय सम्झनुहुन्‍न र? यो चेतावनी आज हामीलाई पनि लागू हुन्छ। भनौँ भने, हामी झन्‌ धेरै होसियार हुनुपर्छ। सैतान र त्यसको संसारले पहिरन र कोरीबाटी, खानपिन, मनोरञ्जन जस्ता कुराहरूलाई एकदमै आकर्षक तरिकाले प्रस्तुत गर्छ। छट्टू विज्ञापकहरूले वास्तवमा हामीलाई नचाहिने कुराहरू पनि नभई नहुने कुराजस्तो गरी देखाउन विज्ञापनहरूमा सुन्दर मोडलहरू राख्ने गर्छन्‌। यस्ता कुराहरूले बहकिएर आफ्नो स्वतन्त्रताको दुरुपयोग गर्न कत्ति बेर पनि लाग्दैन!

९ पत्रुसले दिएको सल्लाह अरू ठूलठूला निर्णयहरू गर्नुपर्दा पनि लागू हुन्छ। जस्तै: शिक्षा, जागिर वा पेसा छनौट गर्ने। उदाहरणको लागि, स्कुलमा पढ्‌ने केटाकेटीलाई पढाइमा अब्बल हुन अनि नाम चलेका प्रतिष्ठित विश्‍वविद्यालयहरूमा भर्ना हुन निकै दबाब दिइन्छ। उच्च शिक्षा लिएको खण्डमा मात्र राम्रो पैसा र मान-सम्मान कमाउने जागिर पाइन्छ भनेर सोच्न लगाइन्छ। स्कुलको पढाइ मात्र पूरा गरेकाहरूको तुलनामा प्रतिष्ठित विश्‍वविद्यालयमा स्नातक गरेकाहरूको कमाइ कता हो कता धेरै हुन्छ भन्‍ने तथ्याङ्‌क अक्सर देखाइन्छ। आफ्नो पूरै जीवनलाई असर गर्ने छनौटहरू गर्नुपर्दा युवाहरूलाई उच्च शिक्षा हासिल गर्ने प्रलोभन निकै आकर्षक लाग्न सक्छ। यस्तो अवस्थामा तिनीहरू र तिनीहरूका आमाबुबाले कुन कुरा बिर्सनु हुँदैन?

१०. व्यक्‍तिगत छनौट गर्न आफ्नो स्वतन्त्रता प्रयोग गर्दा हामीले कुन कुरा बिर्सनु हुँदैन?

१० कसै-कसैलाई यी विषयहरूमा गर्ने छनौट भनेको नितान्त व्यक्‍तिगत कुरा हो जस्तो लाग्ला। त्यसैले तिनीहरू अन्तस्करणले दिउन्जेल आफूले जे चाह्‍यो, त्यो छनौट गर्न पाउनुपर्छ भन्ठान्छन्‌। सायद तिनीहरू पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई खानेकुराको विषयमा लेखेको यो कुरा सम्झन्छन्‌: “मेरो स्वतन्त्रताको न्याय अर्को मानिसको अन्तस्करणले किन गर्ने?” (१ कोरि. १०:२९) हुनत हामी शिक्षा र पेसाको विषयमा आफूले चाहेअनुसार छनौट गर्न स्वतन्त्र छौँ। तर हाम्रो स्वतन्त्रताको सीमा छ अनि आफूले गर्ने प्रत्येक निर्णयको नतिजा भोग्नुपर्छ भनेर हामीले बिर्सनु हुँदैन। यसैकारण पावलले पद २९ को कुरा भन्‍नुअघि यसो भने: “सबै कुरा न्यायसङ्‌गत छन्‌ तर सबै कुरा फाइदाजनक छैनन्‌। सबै कुरा न्यायसङ्‌गत छन्‌ तर सबै कुरा उत्थानदायी हुँदैनन्‌।” (१ कोरि. १०:२३) त्यसैले जीवनका सबै पक्षमा आफ्नो स्वतन्त्रता प्रयोग गर्दा आफ्नो रुचि मात्र होइन, त्योभन्दा महत्त्वपूर्ण कुराहरूलाई पनि विचार गर्नुपर्छ भनेर बुझ्न सक्छौँ।

परमेश्‍वरको सेवा गर्न बुद्धिमानीपूर्वक आफ्नो स्वतन्त्रता प्रयोग गर्ने

११. हामीलाई किन पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्रता दिइयो?

११ आफ्नो स्वतन्त्रताको दुरुपयोग नगर्न चेतावनी दिँदा पत्रुसले स्वतन्त्रताको सही प्रयोगबारे पनि बताए। तिनले हामीलाई “परमेश्‍वरका दासहरूझैं” आफ्नो स्वतन्त्रता प्रयोग गर्न सल्लाह दिए। त्यसैले यहोवाले येशूद्वारा हामीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्रता दिनुको मुख्य उद्देश्‍य हामीले “परमेश्‍वरका दासहरूझैं” उहाँप्रति समर्पित जीवन बिताउन सकौँ भनेर हो।

१२. नूह र तिनको परिवारले हाम्रो लागि कस्तो उदाहरण बसाले?

१२ आफ्नो स्वतन्त्रताको दुरुपयोग गर्नदेखि जोगिने र फेरि सांसारिक इच्छा अनि महत्त्वाकाङ्‌क्षाको दास नबन्‍ने सबैभन्दा राम्रो तरिका आध्यात्मिक गतिविधिहरूमा व्यस्त रहनु हो। (गला. ५:१६) उदाहरणको लागि, कुलपिता नूह र तिनको परिवारलाई विचार गर्नुहोस्‌। तिनीहरू बाँचेको संसार हिंसा र अनैतिकताले भरिएको थियो। तैपनि वरपरका मानिसहरूजस्तै तिनीहरू आफ्नो इच्छा र लक्ष्य पूरा गर्ने कुरामा अल्झिएनन्‌। तिनीहरूले कसरी त्यसो गर्न सके? तिनीहरूले यहोवाले अह्राउनुभएको काममा व्यस्त रहने छनौट गरे। तिनीहरू जहाज बनाउने, आफू र जनावरहरूको लागि खानेकुरा सञ्चय गर्ने अनि अरूलाई चेतावनी सुनाउने काममा लागिरहे। “नूहले त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” (उत्प. ६:२२) परिणाम के भयो? त्यतिबेलाको संसार विनाश हुँदा नूह र तिनको परिवार बचे।—हिब्रू ११:७.

१३. येशूलाई कस्तो आज्ञा दिइयो? अनि उहाँले आफ्ना चेलाहरूलाई पनि कस्तो आज्ञा दिनुभयो?

१३ यहोवाले अहिले हामीलाई कस्तो आज्ञा दिनुभएको छ? परमेश्‍वरले येशूलाई प्रचार गर्ने जिम्मेवारी दिनुभयो र येशूले त्यो जिम्मेवारी आफ्ना चेलाहरूलाई पनि दिनुभयो भनेर हामीलाई थाह छ। (लूका ४:१८, १९ पढ्‌नुहोस्‌) हाम्रो समयका अधिकांश मानिसहरूलाई अझै पनि यस युगको ईश्‍वरले अन्धो बनाएको छ। तिनीहरू धार्मिक, आर्थिक र सामाजिक बन्धनमा छन्‌। (२ कोरि. ४:४) येशूको उदाहरण अनुकरण गर्दै हामीले पनि त्यस्ता मानिसहरूलाई स्वतन्त्रताका परमेश्‍वर यहोवालाई चिन्‍न र उहाँको उपासना गर्न मदत दिने सुअवसर पाएका छौँ। (मत्ती २८:१९, २०) यो सजिलो काम होइन र थुप्रै बाधाअडचन आइपर्छन्‌। अहिले कुनै-कुनै मुलुकका मानिसहरूलाई हाम्रो सन्देशको कुनै वास्ता छैन, कतिपयले त हामीप्रति वैरभावसमेत राख्छन्‌। त्यसैले हामी प्रत्येकले यो प्रश्‍न विचार गर्नुपर्छ: ‘के म आफ्नो स्वतन्त्रता परमेश्‍वरको राज्यसम्बन्धी काममा अझ बढी भाग लिन प्रयोग गर्न सक्छु?’

एउटी जवान बहिनी नियमित अग्रगामी सेवाको आवेदन बुझाउँछिन्‌, अग्रगामी सेवा स्कुलमा भाग लिन्छिन्‌, विदेशी भाषा सिक्छिन्‌ अनि पछि विदेशी भूमिमा सेवा गर्छिन्‌

१४, १५. थुप्रै यहोवाका साक्षीले कस्तो कदम चालेका छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१४ अहिले अनावश्‍यक कुराहरूमा अलमलिने समय होइन भनेर थुप्रैले बुझेका छन्‌। त्यसैले पूर्ण-समय प्रचारकार्यमा भाग लिन तिनीहरूले सरल जीवन बिताइरहेका छन्‌। यस्ता भाइबहिनीहरू देख्दा हामीलाई गर्व लाग्छ। (१ कोरि. ९:१९, २३) तिनीहरूमध्ये कोही-कोही आफू बसोबास गर्ने इलाकामै सेवा गर्छन्‌। अरू कतिपय भने आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्छन्‌। गत पाँच वर्षको रेकर्ड हेर्दा संसारभरि साढे दुई लाखभन्दा धेरैले अग्रगामी सेवा सुरु गरे। अहिले नियमित अग्रगामीहरूको औसत सङ्‌ख्या ११ लाखभन्दा धेरै भएको छ। यहोवाको सेवा गर्न बुद्धिमानीपूर्वक आफ्नो स्वतन्त्रता प्रयोग गर्दा नतिजा राम्रो भएको छ!—भज. ११०:३.

१५ आफ्नो स्वतन्त्रता बुद्धिमानीपूर्वक प्रयोग गर्न यी भाइबहिनीलाई केले मदत गऱ्‍यो? जोन र जुडिथको अनुभव विचार गर्नुहोस्‌। तिनीहरू पूर्ण-समय सेवामा लागेको ३० वर्ष भइसक्यो र यस दौडान तिनीहरूले विभिन्‍न देशमा सेवा गरेका छन्‌। सन्‌ १९७७ मा अग्रगामी सेवा स्कुल सुरु हुँदा आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्न र त्यहाँ सेवा गर्न प्रोत्साहन दिइएको थियो। यो कुरा तिनीहरूलाई अझै याद छ। तिनीहरूले त्यही लक्ष्यमा आफ्नो ध्यान केन्द्रित गरे। त्यसकारण सरल जीवन बिताउन आफूले थुप्रै पटक नयाँ जागिर खोज्नुपरेको जोन बताउँछन्‌। पछि तिनीहरू विदेशमा पनि सेवा गर्न गए। त्यतिबेला तिनीहरूले नयाँ भाषा सिक्ने, नयाँ रहनसहनमा घुलमिल हुने अनि प्रतिकूल मौसम सहनेजस्ता कठिनाइहरूको सामना गर्नुपऱ्‍यो। तर ती पार गर्न यहोवालाई प्रार्थना गर्नु र उहाँमा भरोसा राख्नु कत्ति महत्त्वपूर्ण छ भनेर तिनीहरूले बुझे। यहोवाको सेवामा बिताएको त्यति लामो समयले तिनीहरूमा कस्तो प्रभाव पाऱ्‍यो? जोन भन्छन्‌, “मलाई थाह भएको वा मैले गरेकोमध्ये सबैभन्दा राम्रो काममा मैले आफ्नो जीवन बिताएँ जस्तो लाग्छ। यहोवा मलाई अझ वास्तविक लाग्यो, उहाँ साँच्चै मायालु बुबा हुनुहुन्छ भन्‍ने महसुस गरेँ। मैले याकूब ४:८ मा लेखिएका यी शब्दहरूको अर्थ अझ राम्ररी बुझेँ: ‘परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।’ मैले जे खोजिरहेको थिएँ, त्यही पाएँ भन्‍ने कुरामा ढुक्क छु। त्यो हो, जीवनको साँचो उद्देश्‍य।”

१६. हजारौँले आफ्नो स्वतन्त्रता कसरी बुद्धिमानीपूर्वक प्रयोग गरेका छन्‌?

१६ सबैको परिस्थिति जोन र जुडिथको जस्तो हुँदैन। कोही-कोही छोटो समयको लागि मात्र पूर्ण-समय सेवा गर्न सक्छन्‌। जे होस्‌, थुप्रैले संसारभरि भइरहेका ईश्‍वरतान्त्रिक निर्माण परियोजनाहरूमा स्वयम्‌सेवकको रूपमा काम गर्ने मौकाको सदुपयोग गर्छन्‌। उदाहरणको लागि, न्यु योर्कको वारविकमा मुख्यालय निर्माण गरिँदा २७,००० जति भाइबहिनी त्यहाँ काम गर्न आए। तिनीहरूमध्ये कोही-कोही दुई हप्ताको लागि आए त कति एक वर्ष वा त्यो भन्दा लामो समयको लागि आए। त्यहाँ सेवा गर्न थुप्रैले आफ्नो जीवनका अन्य योजनाहरू थाती राखे। यहोवाले दिनुभएको स्वतन्त्रता उहाँको प्रशंसा र आदर गर्न प्रयोग गरेको कत्ति राम्रो उदाहरण!

१७. परमेश्‍वरले दिनुभएको स्वतन्त्रतालाई बुद्धिमानीपूर्वक प्रयोग गर्नेहरूले भविष्यमा के आशा गर्न सक्छ्‌न्‌?

१७ यहोवालाई चिन्‍न सकेकोमा अनि साँचो उपासनाले दिने स्वतन्त्रता पाएकोमा हामी कृतज्ञ छौँ। त्यसैले छनौटहरू गर्दा आफ्नो स्वतन्त्रताको कदर गरेको देखाऔँ। आफ्नो स्वतन्त्रता खेर फाल्नु वा दुरुपयोग गर्नुको साटो हामीले पाएको स्वतन्त्रता र मौकाहरू यथासम्भव यहोवाको सेवा गर्न प्रयोग गरौँ। त्यसो गऱ्‍यौँ भने यहोवाले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू पाउने आशा गर्न सक्छौँ, जब यो भविष्यवाणी पूरा हुनेछ: “भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।”—रोमी ८:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने