प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 जुलाई pp. ३०-३१
  • के येसुले साँच्चै मेरो लागि आफ्नो ज्यान दिनुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के येसुले साँच्चै मेरो लागि आफ्नो ज्यान दिनुभयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूले चढाएको बलिदानप्रति येसुको दृष्टिकोण
  • पावललाई केले मदत गऱ्‍यो?
  • परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ
  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • ईश्‍वर तपाईंलाई सान्त्वना दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 जुलाई pp. ३०-३१
दुई जना भाइ टाटुहरू खोपेको अनि हात र गलामा सिक्री लगाएको मानिसलाई बाइबल अध्ययन गराइरहेका छन्‌

के येसुले साँच्चै मेरो लागि आफ्नो ज्यान दिनुभयो?

बाइबल “हाम्रो जस्तै भावना भएका मानिस”-हरूको मनै छुने अभिव्यक्‍तिहरूले भरिएको छ। (याकु. ५:१७) जस्तै, पावलले इमानदार हुँदै रोमी ७:२१-२४ मा भनेको यो कुराबाट हामी तिनको भावना राम्ररी बुझ्न सक्छौँ: “जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ। . . . हाय, म कस्तो लाचार मानिस!” हामी पनि आफ्नो त्रुटिपूर्ण अवस्थाविरुद्ध लड्‌नुपर्दा पावलले इमानदार भई बताएको यो कुराबाट सान्त्वना पाउँछौँ।

पावलले आफ्ना अरू भावनाहरू पनि व्यक्‍त गरेका छन्‌। जस्तै, गलाती २:२० मा तिनले यसो भने: “[येसुले] मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।” यो कुरामा पावल शतप्रतिशत पक्का थिए। के हामी पनि तिनले जस्तै महसुस गर्छौँ? सधैँ त गर्दैनौँ होला।

विगतमा गरेका पापहरूले गर्दा हामीलाई आफू कुनै मोलको छैनँ जस्तो लाग्न सक्छ। त्यसैले यहोवाको प्रेम र उहाँको क्षमा स्विकार्न अनि फिरौतीको बलिदानलाई यहोवाले हामी प्रत्येकलाई दिनुभएको उपहारको रूपमा हेर्न गाह्रो हुन सक्छ। के येसु हामीले फिरौतीको बलिदानलाई त्यस्तै उपहारको रूपमा हेरेको चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई त्यसो गर्न केले मदत गर्छ? आउनुहोस्‌, यी दुई प्रश्‍नबारे छलफल गरौँ।

आफूले चढाएको बलिदानप्रति येसुको दृष्टिकोण

हामीले फिरौतीको बलिदानलाई व्यक्‍तिगत उपहारको रूपमा हेरेको येसु चाहनुहुन्छ। हामी किन यसो भन्‍न सक्छौँ? लुका २३:३९-४३ को विवरण कल्पना गर्नुहोस्‌। येसुको छेवैमा अर्को मानिसलाई पनि यातनाको खम्बामा झुन्ड्याइएको छ। विगतमा आफूले गल्ती गरेको कुरा तिनी स्विकार्छन्‌। तिनले गरेको अपराध पक्कै पनि चानचुने थिएन किनकि यस्तो किसिमको क्रूर सजाय ठूलै अपराध गरेको व्यक्‍तिलाई मात्र दिइन्थ्यो। आफ्नो अपराधको लागि असाध्यै दुःखी हुँदै तिनी येसुलाई यसरी बिन्ती गर्छन्‌: “तपाईँ राजा बन्‍नुभएपछि मलाई सम्झनुहोस्‌।”

येसुलाई दुई जना अपराधीहरूको बीचमा यातनाको खम्बामा झुन्ड्याइन्छ

येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो? त्यस अपराधीतिर हेर्न येसुले सकिनसकी आफ्नो शिर ठाडो पार्नुभएको कल्पना गर्नुहोस्‌! असाध्यै पीडा भए तापनि येसु न्यानो मुस्कान दिँदै तिनलाई यसरी ढाडस दिनुहुन्छ: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।” येसुले तिनलाई “मानिसको छोरा . . . धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो” भन्‍ने कुरा सम्झाउन मात्र पनि सक्नुहुन्थ्यो। (मत्ति २०:२८) तर येसुले दयालुपूर्वक आफ्नो बलिदान प्रत्येक व्यक्‍तिको लागि हो भनेर जोड दिनुभएको के तपाईँले याद गर्नुभयो? उहाँले मित्रैलो भावसहित “तिमी” र “म”-जस्ता व्यक्‍तिवाचक सर्वनाम चलाउनुभयो। उहाँले त्यस मानिसलाई नै सम्बोधन गर्दै “तिमी मसित प्रमोदवनमा हुनेछौ” भन्‍नुभयो।

हो, आफूले चढाउने बलिदानलाई तिनले व्यक्‍तिगत उपहारको रूपमा हेरेको येसु चाहनुहुन्थ्यो। परमेश्‍वरको सेवा गर्ने मौकासमेत नपाएको अपराधीलाई त येसुले यो उपहार दिनुभयो भने बप्तिस्मा गरेर परमेश्‍वरको सेवा गरिरहेको ख्रिष्टियनलाई झनै दिन चाहनुहुन्‍न होला र? त्यसोभए विगतमा जति नै पाप गरेको भए तापनि ख्रिष्टको बलिदानबाट हामी प्रत्येकले लाभ उठाउन सक्छौँ भनेर मानिलिन हामीलाई केले मदत गर्छ?

पावललाई केले मदत गऱ्‍यो?

पावलले येसुबाट प्रचार गर्ने जिम्मेवारी पाएका थिए। त्यसैले येसुले आफ्नो लागि ज्यान दिनुभएको हो भन्‍ने कुरा तिनले राम्ररी बुझ्न सके। हामी किन यसो भन्‍न सक्छौँ? तिनले यसो भने: “मलाई शक्‍ति दिनुहुने हाम्रा प्रभु, ख्रिष्ट येसुप्रति म आभारी छु किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्‍वासयोग्य ठान्‍नुभयो। हुनत पहिले म परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ तैपनि ममाथि कृपा देखाइयो।” (१ तिमो. १:१२-१४) आफूले पाएको जिम्मेवारीलाई विचार गर्दा पावल येसुको कृपा र माया पाएको कुरामा अनि उहाँ तिनलाई भरोसा गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सके। येसुले हामी प्रत्येकलाई पनि प्रचार गर्ने जिम्मेवारी सुम्पनुभएको छ। (मत्ति २८:१९, २०) के हामी पनि पावलले जस्तै महसुस गर्दैनौँ र?

बहिष्कार भएको झन्डै ३४ वर्षपछि हालै यहोवाकहाँ फर्केका अल्बर्ट भन्छन्‌: “आफ्ना पापहरू म कहिल्यै बिर्सन सक्दिनँ। तर जब म सेवाको काममा व्यस्त हुन्छु, तब येसुले मलाई पनि प्रेषित पावललाई जस्तै ठूलो जिम्मेवारी सुम्पनुभएको छ भन्‍ने महसुस गर्छु। यसले मलाई हौसला दिन्छ अनि आफूप्रति, आफ्नो जीवनप्रति र आफ्नो भविष्यप्रति सकारात्मक दृष्टिकोण राख्न मदत गर्छ।”—भज. ५१:३.

दुई जना भाइ टाटुहरू खोपेको अनि हात र गलामा सिक्री लगाएको मानिसलाई बाइबल अध्ययन गराइरहेका छन्‌

सबै किसिमका मानिसहरूलाई बाइबल अध्ययन गराउँदा येसु उनीहरूलाई कृपा र माया देखाउनुहुन्छ भन्‍ने कुरामा ढुक्क बनाउनुहोस्‌

यहोवालाई चिन्‍नुअघि अपराध र हिंसात्मक गतिविधिमा संलग्न भएका एलन यसो भन्छन्‌: “मैले अरूलाई कत्ति दुःख दिएँ भनेर म अहिले पनि सम्झने गर्छु। कहिलेकाहीँ त साह्रै निरुत्साहित हुन्छु। तर यहोवाले मजस्तो पापीलाई पनि सुसमाचार बाँड्‌ने मौका दिनुभएकोमा म उहाँलाई धन्यवाद दिन्छु। मानिसहरूले सुसमाचार स्विकार्दा यहोवा कत्ति भलो र मायालु हुनुहुन्छ भन्‍ने कुरा सम्झन्छु। मैले जस्तै नराम्रा कामहरू गरेकाहरूलाई मदत दिन यहोवाले मलाई चलाउँदै हुनुहुन्छ जस्तो लाग्छ।”

सेवाको काममा भाग लिँदा हामी प्रत्येकले आफ्नो बल राम्रो कुरामा लगाइरहेका हुन्छौँ र हाम्रो सोचाइ पनि सकारात्मक हुन्छ। यस कामले हामीलाई येसुको कृपा र माया पाएको कुरामा अनि उहाँ हामीलाई भरोसा गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क बनाउँछ।

परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ

सैतानको यो दुष्ट संसार नाश नभएसम्म हाम्रो हृदयले हामीलाई विगतका गल्तीहरूको लागि दोषी ठहराइरहन सक्छ। त्यस्तो भावनाविरुद्ध हामी कसरी लड्‌न सक्छौँ?

जीन नाम गरेकी बहिनीलाई किशोरी छँदा दोहोरो जीवन बिताएकोमा अझै पनि दोषी भावनाले सताइरहन्छ। उनी भन्छिन्‌: “‘परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ’ भन्‍ने कुरा मलाई असाध्यै मन पर्छ।” (१ युह. ३:१९, २०) यहोवा र येसु हाम्रो त्रुटिपूर्ण अवस्था राम्ररी बुझ्नुहुन्छ भन्‍ने कुरामा मनन गर्दा हामी पनि यी बहिनीले जस्तै सान्त्वना पाउन सक्छौँ। यो कुरा पनि नबिर्सनुहोस्‌, यहोवा र येसुले फिरौतीको बलिदानको प्रबन्ध त्रुटिरहित मानिसहरूको लागि नभई त्रुटिपूर्ण र आफ्ना पापहरूको लागि पश्‍चात्ताप गर्ने मानिसहरूको लागि मिलाउनुभएको हो।—१ तिमो. १:१५.

येसुले त्रुटिपूर्ण मानिसहरूसित गर्नुभएको व्यवहारबारे गहिरिएर मनन गऱ्‍यौँ र आफूले पाएको काम तनमनले पूरा गऱ्‍यौँ भने फिरौतीको बलिदान हामी प्रत्येकलाई दिइएको उपहार हो भनेर पक्का हुन सक्नेछौँ। तब पावलजस्तै तपाईँ पनि यसो भन्‍न सक्नुहुनेछ: येसुले “मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने