प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ९/१५ pp. ३-६
  • बाइबलमा ‘तुलनाको’ प्रयोग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलमा ‘तुलनाको’ प्रयोग
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा प्रयोग गरिएका तुलनाबाट लाभ उठाउनुहोस्‌
  • सिकाउने क्षमता विकास गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • “ज्योतिको सन्तानझैं हिंडडुल गर”
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “तिम्रो सेवाको काम पूरा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ९/१५ pp. ३-६

बाइबलमा ‘तुलनाको’ प्रयोग

येशू सबैभन्दा महान्‌ शिक्षक हुनुहुन्थ्यो भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? सायद तपाईंले पनि प्रश्‍न सोधेर र दृष्टान्त प्रयोग गरेर उहाँको शिक्षणकला अनुकरण गर्ने प्रयास गर्नुभएको होला। शिक्षा दिंदा उहाँ अक्सर तुलनाको प्रयोग गर्नुहुन्थ्यो। के तपाईंले त्यो याद गर्नुभएको थियो?

कुराकानी गर्दा मानिसहरू तुलना गर्छन्‌ र तपाईंले पनि स्वतः त्यसरी नै कुराकानी गर्नुभएको होला। तपाईंले यसो भन्‍नुभएको होला: “उनीहरूले जम्मै केरा पाकेको छ भनेका थिए, तर काँचै रहेछ।” अथवा, “सानोमा उनी साह्रै लजालु थिइन्‌, तर अहिले त निकै फरासिली भइछिन्‌।”

माथि दिइएको उदाहरणमा जस्तै पहिला तपाईं कुनै तथ्य वा विचार बताउनुहुन्छ। त्यसपछि तर, तैपनि, बरु, तथापि जस्ता शब्द प्रयोग गरेर अघिल्लो वाक्यको भन्दा भिन्‍नै कुरा बताउनुहुन्छ। अथवा कुनै बुँदालाई जोड दिंदा वा थप जानकारी दिंदा पनि तपाईं त्यस्ता शब्द प्रयोग गर्नुहुन्छ। यसो गर्दा कुराकानी स्वाभाविक सुनिन्छ अनि अरूले पनि तपाईंले भन्‍न खोजेको कुरा बुझ्छन्‌।

केही भाषा वा संस्कृतिमा तुलनाको प्रयोग गरेर कुराकानी गर्ने चलन छैन। तैपनि त्यसरी कुराकानी गर्नुको महत्त्व बुझ्नु बेस हुन्छ। किन? किनकि परमेश्‍वरको वचन बाइबलमा थुप्रै पटक तुलनाको प्रयोग गरिएको छ। शिक्षा दिंदा येशूले पनि बारम्बार तुलनाको प्रयोग गर्नुभयो। यी उदाहरणहरू विचार गर्नुहोस्‌: “मानिसहरूले दियो बालेर पाथीले छोप्दैनन्‌ तर पानसमाथि राख्छन्‌।” “[व्यवस्था] रद्द गर्न होइन तर पूरा गर्न म आएँ।” “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्नू।’ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ . . . ।” “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेऊ।”—मत्ती ५:१५, १७, २७, २८, ३८, ३९.

बाइबलमा मत्तीको पुस्तकबाहेक अन्य पुस्तकमा पनि तुलनाको प्रयोग गरिएको छ। यी तुलनाले तपाईंलाई मुख्य कुरा बुझ्न र पहिलो वाक्यको तुलनामा पछिल्लो वाक्य अझै महत्त्वपूर्ण छ भनेर थाह पाउन मदत गर्छ। तपाईंका छोराछोरी छन्‌ भने यो तुलना विचार गर्नुहोस्‌: “हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, बरु यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।” (एफि. ६:४) प्रेषित पावलले आफ्नो पत्रमा बुबाले (वा आमाले) छोराछोरीलाई यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन दिएर हुर्काउनुपर्छ भनेर मात्र लेखेको भए पनि त्यो गलत हुनेथिएन। तर ‘छोराछोरीहरूलाई नचिढ्याओ, बरु यहोवाको डोऱ्‍याइबमोजिम हुर्काओ’ भनी तुलना गर्दा तिनले भन्‍न खोजेको कुरा अझै स्पष्ट भयो।

त्यही अध्यायमा पावलले पछि यसो भने: “हाम्रो यो लडन्त मानिसहरूसित होइन तर . . . स्वर्गका दुष्ट दूतहरूका दलसित हो।” (एफि. ६:१२) यस तुलनाले तपाईं भयानक युद्ध लड्‌दै हुनुहुन्छ भनेर बुझ्न मदत गर्छ। हो, तपाईं मानिसहरूसित होइन, दुष्ट दूतहरूका दलसित यो युद्ध लड्‌दै हुनुहुन्छ।

बाइबलमा प्रयोग गरिएका तुलनाबाट लाभ उठाउनुहोस्‌

एफिसीकै किताबका अरू थुप्रै पदमा पनि पावलले तुलनाको प्रयोग गरेका छन्‌। ती तुलनाबारे विचार गर्दा पावलले भन्‍न खोजेको कुरा बुझ्ने अनि गर्नुपर्ने कुरा अझ राम्ररी ठम्याउने मदत पाउँछौं।

पृष्ठ ४-५ को चार्टमा एफिसी अध्याय ४ र ५ मा पाइने केही तुलना दिइएका छन्‌। यो चार्ट तपाईंलाई अर्थपूर्ण अनि रमाइलो लाग्नेछ। चार्टमा दिइएका प्रत्येक तुलना पढ्‌दा आफैलाई केलाउनुहोस्‌। आफैलाई यस्ता प्रश्‍न सोध्नुहोस्‌: ‘नढाँटी भन्‍ने हो भने मेरो मनोवृत्ति कस्तो छ? यस्तै परिस्थितिमा पर्दा म के गर्छु? अरूले मलाई चार्टको कुनचाहिं लहरमा राख्छन्‌?’ चार्टमा दिइएको कुनै तुलना पढ्‌दा सुधार गर्नुपर्ने क्षेत्र याद गर्नुभयो भने कदम चालिहाल्नुहोस्‌।

तपाईं पारिवारिक उपासनामा पनि यो चार्ट प्रयोग गर्न सक्नुहुन्छ। सबैभन्दा पहिले, परिवारै मिलेर तुलना पढ्‌न सक्नुहुन्छ। त्यसपछि एक जनाले तुलनाको पहिलो वाक्य बताउन सक्नुहुन्छ र परिवारका बाँकी सदस्यले तुलनाको दोस्रो वाक्यमा जोड दिइएको बुँदा सम्झेर त्यो बताउन सक्छन्‌। यसो गर्दा तुलनाको दोस्रो वाक्य कसरी लागू गर्ने, रमाइलो तरिकामा छलफल गर्न सकिन्छ। हो, यसरी बाइबलमा दिइएको तुलनाको जाँच गर्दा बालकदेखि वृद्ध सबैले परिवारमा वा अन्य ठाउँमा ख्रीष्टियन आचरणअनुसार चल्न मदत पाउनेछन्‌।

के तपाईं तुलनाको दोस्रो लहरमा दिइएको वाक्य सम्झन सक्नुहुन्छ?

तुलनाको महत्त्व जत्ति राम्ररी बुझ्नुहुन्छ, बाइबलमा प्रयोग गरिएका तुलनाहरू त्यति नै राम्ररी ठम्याउन सक्नुहुनेछ र प्रचारमा यस्ता तुलना प्रयोग गर्नु लाभदायी हुनेछ। जस्तै, तपाईं घरधनीलाई यसो भन्‍न सक्नुहुन्छ: “थुप्रैले आत्मा अमर हुन्छ भन्छन्‌, तर त्यसबारे बाइबलले के भन्छ, विचार गर्नुहोस्‌।” अथवा बाइबल अध्ययनमा तपाईं यसो भन्‍न सक्नुहुन्छ: “थुप्रैले परमेश्‍वर र येशू एउटै हो भनी विश्‍वास गर्छन्‌, तर बाइबलमा के लेखिएको पाउनुभयो? तपाईं कुन कुरामा विश्‍वास गर्नुहुन्छ?”

हो, हामीलाई परमेश्‍वरको मार्गमा हिंडिरहन मदत गर्ने शिक्षामूलक तुलना बाइबलमा थुप्रै छन्‌। अरूलाई बाइबल सत्य सिकाउन हामी ती तुलना प्रयोग गर्न सक्छौं।

एफिसी अध्याय ४ र ५ मा प्रयोग गरिएका केही तुलना

पारिवारिक उपासनामा यो चार्ट प्रयोग गर्नुहोस्‌

“हामी यस्ता . . . नभइरहौं, जसलाई . . . मानिसहरूको छल र धूर्ततापूर्वक रचिएका झूटहरूको छालले उछालपछार गरेर यताउता हुर्ऱ्याउँछ।”—४:१४.

“तर सत्य बोल्दै शिर अर्थात्‌ ख्रीष्टको अधीनमा बसेर हामी प्रेमद्वारा सबै कुरामा बढ्‌दै जाऔं।”—४:१५.

“तिनीहरूको मनको बोधोपनले गर्दा तिनीहरूको दिमाग अन्धकारमा छ।”—४:१८, १९.

“तर तिमीहरूले ख्रीष्टबारे यस्तो कुरा त सिकेका थिएनौ। हो, यदि येशूले . . . सिकाउनुभएको कुरा तिमीहरूले सुनेका थियौ भने।”—४:२०, २१.

“चोर्नेले फेरि नचोरोस्‌।”—४:२८.

“बरु उसले कडा परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌।”—४:२८.

“तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌।”—४:२९.

“बरु . . . अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌।”—४:२९.

“हरकिसिमको कटुता, रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने बानीका साथै सबै किसिमका खराबी त्याग।”—४:३१.

“बरु एक-अर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। . . . एक-अर्कालाई खुला मनले क्षमा गर।”—४:३२.

“तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्‌।”—५:३.

“बरु तिमीहरू धन्यवाद दिने गर।”—५:४.

“कुनै बेला तिमीहरू अन्धकारमा थियौ।”—५:८.

“तर ख्रीष्टसित एकतामा भएकोले तिमीहरू अहिले ज्योतिमा छौ।”—५:८.

“तिनीहरूले गर्ने अन्धकारका निष्फल कामहरूमा भाग लिन छोड।”—५:११.

“बरु तिनीहरूलाई हप्काओ।”—५:११.

“कसरी हिंडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जसरी होइन।”—५:१५.

“तर बुद्धिमान्‌ मानिस जसरी हिंड, समयको पूर्ण सदुपयोग गर।”—५:१५, १६.

“यसकारण अव्यावहारिक हुन छोड।”—५:१७.

“बरु यहोवाको इच्छा के हो, सो बुझ।”—५:१७.

“मद्य पिएर नमात्तिओ, किनकि त्यसले दुराचारी बनाउँछ।”—५:१८.

“बरु तिमीहरू पवित्र शक्‍तिले भरिओ।”—५:१८.

‘ख्रीष्टले मण्डलीलाई त्यसको वैभवसहित आफूसामु यस्तो रूपमा प्रस्तुत गर्न सकून्‌, जसमा कुनै दाग लागेको वा चाउरी परेको वा कुनै किसिमको खोट लागेको नहोस्‌।’—५:२७.

“बरु पवित्र अनि निष्खोट होस्‌।”—५:२७.

“कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन।”—५:२९.

“बरु त्यसलाई त्यसरी नै खुवाउँछ अनि स्याहार्छ, जसरी ख्रीष्टले पनि मण्डलीलाई गर्नुहुन्छ।”—५:२९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने