प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be p. ६६-p. ७० par. ३
  • कसरी जवाफ दिनुपर्छ, सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसरी जवाफ दिनुपर्छ, सिक्नुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न सोधिनुको कारण विचार गर्नुहोस्‌
  • बाइबलबारे प्रश्‍न सोध्नेको दृष्टिकोण
  • जवाफ दिंदा “दयालु” हुनुहोस्‌
  • व्यक्‍तिगत निर्णय र विवेक
  • सभामा टिप्पणी दिंदा
  • राम्रो टिप्पणी कसरी दिने?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • तपाईं कसरी जवाफ दिनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • सभामा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be p. ६६-p. ७० par. ३

कसरी जवाफ दिनुपर्छ, सिक्नुहोस्‌

केही प्रश्‍न समुद्रमा तैरिने हिमशिलाजस्तै हुन्छन्‌। पानीमाथि हिमशिलाको सानो टुप्पो मात्र देखिन्छ तर बाँकी ठूलो भाग भने पानीमुनि भएकोले देखिंदैन। त्यसैगरि प्रश्‍नभन्दा पनि वास्तवमा प्रश्‍न सोध्नुको कारण अक्सर गहिरो हुन्छ।

प्रश्‍न सोध्ने व्यक्‍ति जवाफ पाउन उत्सुक छन्‌ भने पनि तपाईंले कति भन्‍ने र कसरी जवाफ दिने भनेर सुझबुझ चलाउनुपर्छ। (यूह. १६:१२) येशूले प्रेषितहरूलाई भनेझैं कुनै-कुनै अवस्थामा प्रश्‍न सोध्ने व्यक्‍तिको जानकारी पाउने अधिकार हुँदैन अथवा जानकारी दिंदैमा तिनलाई केही फाइदा हुँदैन।—प्रेषि. १:६, ७.

बाइबलमा यस्तो सल्लाह दिइएको छ: “तिमीहरूको बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌। यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।” (कल. ४:६) त्यसकारण के भन्दैछौं त्यसमा मात्र होइन तर कसरी भन्दैछौं त्यसबारे जवाफ दिनुअघि विचार पुऱ्‍याउनुपर्छ।

प्रश्‍न सोधिनुको कारण विचार गर्नुहोस्‌

निकै पटक विवाह गरेकी स्त्री पुनर्जीवित हुनेबारे प्रश्‍न गरेर सदुकीहरूले येशूलाई फन्दामा पार्न खोजे। तर तिनीहरू वास्तवमा पुनर्जीवित हुने कुरामा विश्‍वास गर्दैनथे भनेर येशूलाई थाह थियो। त्यसकारण सदुकीहरूले प्रश्‍न सोध्नुको कारण अर्थात्‌ तिनीहरूको गलत विचारधारालाई सच्याउने तरिकामा येशूले जवाफ दिनुभयो। येशूले सटीक तर्क अनि चिरपरिचित बाइबल विवरण प्रयोग गर्दै परमेश्‍वरले मरेकाहरूलाई पुनर्जीवित पार्नुहुनेछ भन्‍ने स्पष्ट प्रमाण दिनुभयो। यसबारे ती सदुकीहरूले कहिल्यै सोचेका थिएनन्‌। उहाँको जवाफले गर्दा विरोधीहरू यति छक्क परे, तिनीहरूले त्यसपछि उहाँलाई प्रश्‍न सोध्ने आँटै गरेनन्‌।—लूका २०:२७-४०.

कसरी जवाफ दिनुपर्छ भनेर जान्‍न तपाईंले पनि प्रश्‍न सोध्नेहरूको विचार र तिनीहरूलाई पिरोलिरहेको विषय थाह पाउनुपर्छ। उदाहरणका लागि सहपाठी वा सहकर्मीले तपाईंलाई ‘क्रिसमस अथवा अन्य चाडपर्व किन मनाउँदैनौ’ भनी सोध्न सक्छन्‌। तिनले किन त्यो प्रश्‍न गरे? तिनलाई त्यसको जवाफसित खासै मतलब छ कि छैन? अथवा तिनले तपाईंलाई तपाईंको धर्मले रमाइलो गर्न दिन्छ कि दिंदैन भनेर जान्‍न पो चाहेका हुन्‌ कि? यी सबै थाह पाउन प्रश्‍न सोध्नेलाई प्रश्‍न गर्नुको कारण सोध्नुहोस्‌ र त्यसैअनुसार जवाफ दिनुहोस्‌। मौकाको सदुपयोग गर्दै बाइबलले दिने निर्देशन पालन गरेकोले चाडपर्व मनाउँदा हुने दिक्दारी र बोझबाट कसरी जोगिन सक्छौं, त्यो बताउन सक्छौं।

मानिलिनुहोस्‌, तपाईं पढ्‌ने स्कूलमा यहोवाका साक्षीहरूबारे तपाईंलाई केही बोल्न लगाइयो। तपाईंको प्रस्तुतिपछि सहपाठीले प्रश्‍न सोध्लान्‌। प्रश्‍न निष्कपट र सीधा छ भने सरल र सीधै जवाफ दिनु बेस हुन्छ। तर आम मानिसले राख्ने पूर्वाग्रहले प्रभावित भएर प्रश्‍न सोधिएको जस्तै छ भने जवाफ दिनुअघि के गर्नु बेस हुन्छ? मानिसहरूले त्यस्तो विचारधारा राख्नुको कारण र यहोवाका साक्षीहरू बाइबलको स्तरअनुसार चल्नुको कारण छोटकरीमा बताउनु राम्रो हुन्छ। निहुँ खोज्न सोधिएको जस्तो देखिए तापनि अक्सर यस्ता प्रश्‍न निहुँ खोज्न होइन, चिन्ता लागेर नै सोधिएका हुन्‌ भनेर सम्झनु राम्रो हो। तपाईंको जवाफले गर्दा श्रोताले आफ्नो दृष्टिकोण फराकिलो बनाउन सक्छन्‌ र तिनीहरूले सही जानकारी पाउँछन्‌। यसबाहेक हाम्रो विश्‍वासको धर्मशास्त्रीय आधार पनि तिनीहरूलाई व्याख्या गर्न सक्नुहुन्छ।

अधिवेशनमा जान छुट्टी दिन नचाहने हाकिमसित तपाईं कसरी कुरा गर्नुहुन्छ? सर्वप्रथम तिनको ठाउँमा बसेर परिस्थितिलाई बुझ्ने कोसिस गर्नुहोस्‌। अरू कुनै दिन थप समय काम गर्ने प्रस्ताव राख्दा तिनले मान्लान्‌ कि? अधिवेशनमा दिइने निर्देशनले तपाईंलाई इमानदार र भरपर्दो कामदार बन्‍न मदत गर्छ भन्‍ने बताएर केही मदत मिल्छ कि? तिनको कुरामा चासो लिनुहुन्छ भन्‍ने देखाउनुभयो भने सायद तिनले तपाईंको जीवनमा कुन कुरा महत्त्वपूर्ण छ, त्यसको कदर गर्न सक्छन्‌। तर तिनले तपाईंलाई कुनै बेइमानी काम गर्न लगाउँछन्‌ भने नि? तपाईंले सोझै इन्कार गर्नुभयो र बाइबलबाट त्यसको कारण बताउनुभयो भने तपाईंको अडान स्पष्ट हुन्छ। तपाईं यसरी तर्क गर्न सक्नुहुन्छ: ‘आफ्नो मालिकको लागि झूटो बोल्न वा चोर्न तयार हुने व्यक्‍तिले आफ्नो मालिकलाई ढाँट्‌न र मालिकको सामान चोर्न सक्छ।’

तपाईं आफ्नो स्कूलमा बाइबल विपरीत गतिविधिमा भाग नलिने विद्यार्थी हो भने नि? याद गर्नुहोस्‌, तपाईंको विचारसित शिक्षक सहमत नहोलान्‌ तर कक्षामा अनुशासन राख्नु तिनको जिम्मेवारी हो। तपाईंलाई यस्ता चुनौती आउन सक्छन्‌: (१) शिक्षकलाई लागेको चिन्ता मानिलिन, (२) आफ्नो अडान आदरपूर्वक बताउन र (३) यहोवालाई खुसी पार्ने कुराको लागि दृढ अडान लिन। राम्रो नतिजा प्राप्त गर्न तपाईंले विश्‍वास गरेको कुरा सरसरती बताएर मात्र पुग्दैन। (हितो. १५:२८) तपाईं कलिलै हुनुहुन्छ भने शिक्षकलाई के भन्‍ने त्यसबारे तयारी गर्न आमाबाबुले मदत गर्नेछन्‌।

अख्तियारमा भएको व्यक्‍तिले तपाईंविरुद्ध लगाएको अभियोगको तपाईंले बेलाबेलामा खण्डन गर्नुपर्ने हुन्छ। प्रहरीले, सरकारी कर्मचारीले अथवा न्यायाधीशले कुनै खास कानुन पालन गर्नेबारे, ख्रीष्टियन तटस्थताबारे अथवा देशभक्‍ति देखाउने गतिविधिप्रति तपाईंको दृष्टिकोणबारे सोध्लान्‌। त्यतिखेर तपाईं कसरी जवाफ दिनुहुन्छ? “कोमल भाव र गहिरो आदर” देखाउँदै जवाफ दिनुपर्छ भनी बाइबलले सल्लाह दिएको छ। (१ पत्रु. ३:१५) यी विषय किन चासो दिनुपर्ने विषय हुन्‌, आफैलाई सोध्नुहोस्‌ र तिनीहरूलाई त्यसरी चासो लाग्नु जायज हो भनी आदरपूर्वक स्वीकार्नुहोस्‌। त्यसपछि के गर्नुपर्छ? प्रेषित पावलले रोमी कानुनले दिएको अधिकारबारे बताएझैं तपाईं पनि आफूले पाएको कानुनी अधिकारबारे उल्लेख गर्न सक्नुहुन्छ। (प्रेषि. २२:२५-२९) प्रथम शताब्दीका ख्रीष्टियन र संसारभर यहोवाका साक्षीहरूले लिएको अडानबारे बताउँदा सायद तिनको दृष्टिकोण फराकिलो हुन सक्छ। अथवा परमेश्‍वरको अख्तियार स्वीकारेकोले नै वास्तवमा मानिसका जायज नियम पालन गर्न उत्प्रेरित भएका हौं भनेर पनि बताउन सक्नुहुन्छ। (रोमी १३:१-१४) त्यस्तो अवस्थामा तपाईंले लिएको अडानबारे बाइबलबाट कारणहरू बताउँदा सायद तिनले राम्ररी सुन्लान्‌।

बाइबलबारे प्रश्‍न सोध्नेको दृष्टिकोण

कसरी जवाफ दिने भनेर निधो गर्नुअघि प्रश्‍न सोध्ने व्यक्‍तिले बाइबलप्रति कस्तो दृष्टिकोण राख्छन्‌ भनेर विचार गर्नुहोस्‌। पुनर्जीवित हुनेबारे सदुकीहरूले सोधेको प्रश्‍नको जवाफ दिंदा येशूले त्यसै गर्नुभयो। सदुकीहरू मोशाले लेखेका पुस्तकहरूलाई मात्र मान्यता दिन्छन्‌ भनेर बुझेपछि ती पुस्तकबाट नै तर्क गर्दै येशूले भन्‍नुभयो: “तर मरेकाहरू ब्यूँतनेछन्‌ भनेर . . . मोशाले पनि बताए।” (लूका २०:३७) बाइबलबारे श्रोताले स्वीकार्न सक्ने वा श्रोतालाई थाह भएको कुनै कुरा बताउँदै कुराकानी गर्नु उपयोगी हुन सक्छ।

तपाईंका श्रोताले बाइबललाई आधिकारिक स्रोतको रूपमा मानिलिंदैनन्‌ भने नि? प्रेषित १७:२२-३१ मा उल्लेख गरिएअनुसार अरियोपागसमा पावलले के गरे, ध्यान दिनुहोस्‌। तिनले बाइबलबारे उल्लेख नगरीकनै बाइबल सत्यबारे बताए। आवश्‍यक पर्दा तपाईं पनि पावलले जस्तै गर्न सक्नुहुन्छ। कुनै-कुनै ठाउँमा कसैसँग धेरै पटक छलफल गरिसकेपछि मात्र बाइबलबारे उल्लेख गर्न सकिन्छ। कुराकानीको दौडान बाइबल देखाउनुअघि यो परमेश्‍वरको वचन हो भनेर सीधै भन्‍नुभन्दा बाइबललाई केलाउनुपर्ने कारण बताउनु उचित हुन्छ। तर परमेश्‍वरको उद्देश्‍य के हो भनेर प्रस्टसँग बताउने लक्ष्य तपाईंले राख्नुपर्छ। त्यसो गर्दा बाइबलले भन्‍न खोजेको कुरा समयमा श्रोता आफैले बुझ्नेछन्‌। हामीले भन्‍ने जस्तोसुकै कुराभन्दा पनि बाइबलमा लेखिएको कुरा अझै प्रभावकारी हुन्छ।—हिब्रू ४:१२.

जवाफ दिंदा “दयालु” हुनुहोस्‌

यहोवाका सेवकलाई “तिमीहरूको बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌” भनेर अह्राइएको छ। यसो भन्‍नु उपयुक्‍त छ किनकि यहोवा स्वयम्‌ दयालु हुनुहुन्छ। (कल. ४:६; प्रस्थ. ३४:६) दयालु बोलीको लायक नभएको व्यक्‍तिप्रति पनि हामी दयालु हुनुपर्छ। हाम्रो बोली मीठो हुनुपर्छ; रूखो, बेसमझको होइन।

थुप्रै मानिस भयङ्‌कर दबाबमा परेका छन्‌, तिनीहरू दिनदिनै मौखिक दुर्व्यवहार भोग्छन्‌। त्यस्ता मानिससँग कुराकानी गर्दा तिनीहरू रूखो बोली बोल्छन्‌। त्यतिबेला हामीले के गर्नुपर्छ? बाइबल भन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।” मीठो बोली बोल्दा हाम्रो विचारसित ठ्याम्मै सहमत नहुनेहरूलाई पनि मनाउन सकिन्छ। (हितो. १५:१; २५:१५) दिनहुँ रूखो व्यवहार भोग्नेहरूसित दयालु व्यवहार गर्दा र मीठो बोली बोल्दा हाम्रो सुसमाचारले तिनीहरूको मन छुन सक्छ।

हामी बाइबल सत्यलाई कदरै नगर्ने व्यक्‍तिसित विवाद गरिरहन चाहँदैनौं। बरु हामीलाई बाइबलबाट तर्क पेस गर्न दिने मानिसहरूसित छलफल गर्न चाहन्छौं। जस्तोसुकै अवस्था सामना गर्नुपरे तापनि परमेश्‍वरका अनमोल प्रतिज्ञा भरपर्दा छन्‌ भनी दयालु र विश्‍वस्त भई बताउनुपर्छ भनेर बिर्सनुहुँदैन।—१ थिस्स. १:५.

व्यक्‍तिगत निर्णय र विवेक

कुनै खास परिस्थितिमा बाइबल विद्यार्थीले वा सँगी विश्‍वासीले ‘के गरूँ’ भनेर सोध्दा तपाईंले कसरी जवाफ दिनुपर्छ? त्यस्तो परिस्थितिमा तपाईं के गर्नुहुन्थ्यो, तपाईंलाई थाह होला। तर हरेक व्यक्‍तिले आफूले गरेको निर्णयको नतिजा आफैले भोग्नुपर्छ। (गला. ६:५) पावलले आफूले प्रचार गरेका मानिसहरूलाई “विश्‍वास देखाएर . . . आज्ञाकारी” हुन प्रोत्साहन दिएको कुरा बताए। (रोमी १६:२६) हामीले पछ्याउनुपर्ने कस्तो राम्रो उदाहरण! आफूलाई बाइबल सिकाउने व्यक्‍तिलाई वा अरू मानिसलाई खुसी पार्न मात्र केही निर्णय गर्नेहरूले मानिसको सेवा गरिरहेका हुन्छन्‌; विश्‍वासअनुसार बाँचिरहेका हुँदैनन्‌। (गला. १:१०) त्यसैले प्रश्‍न सोध्ने मानिसलाई सीधै अनि सरल जवाफ दिंदा सधैं फाइदा नहुन सक्छ।

त्यसो भए बाइबलको निर्देशनसित मेल खानेगरि कसरी जवाफ दिन सक्नुहुन्छ? उक्‍त परिस्थितिलाई सुहाउने बाइबल सिद्धान्त र बाइबलका उदाहरणतर्फ ध्यान खिच्न सक्नुहुन्छ। कुनै-कुनै अवस्थामा त तपाईंले उक्‍त व्यक्‍तिलाई तिनी आफैले बाइबलका ती सिद्धान्त र उदाहरण भेट्टाउन सक्नेगरि अनुसन्धान गर्ने तरिका सिकाउन सक्नुहुन्छ। त्यसपछि ती बाइबल सिद्धान्त र उदाहरणको महत्त्वलाई उक्‍त परिस्थितिमा लागू नगरीकनै छलफल गर्न सक्नुहुन्छ। छलफलपछि तिनलाई बुद्धिमानी निर्णय गर्न मदत गर्ने कुनै कुरा भेट्टाउनुभयो कि भनेर सोध्नुहोस्‌। ती सिद्धान्त र उदाहरणलाई ध्यानमा राख्दै कस्तो निर्णय गर्दा यहोवा प्रसन्‍न हुनुहुन्छ, त्यो विचार गर्न प्रोत्साहन दिनुहोस्‌। यसरी तपाईंले तिनको ‘सोच्ने-बुझ्ने क्षमता चलाएर तिनलाई सही र गलत छुट्ट्याउन तालिम’ दिइरहेको हुनेछ।—हिब्रू ५:१४.

सभामा टिप्पणी दिंदा

सभाहरूमा अक्सर हाम्रो विश्‍वासको जनघोषणा गर्ने मौका पाइन्छ। यसो गर्ने एउटा तरिका हो—सभामा सोधिएका प्रश्‍नको जवाफ दिनु। हामीले कसरी टिप्पणी दिनुपर्छ? यहोवाको प्रशंसा हुने तरिकाले। भजनरचयिता दाऊदले “समुदायहरूमा” त्यसै गरे। (भज. २६:१२) त्यसैगरि हामीले पनि पावलको आग्रहबमोजिम नै भाइबहिनी “प्रेम र सुकर्म गर्न” उत्साहित हुनेगरि टिप्पणी गर्नुपर्छ। (हिब्रू १०:२३-२५) यसो गर्न पहिल्यै पाठ पढेर तयारी गर्नुपर्छ।

टिप्पणी दिने मौका पाउनुभयो भने सरल, स्पष्ट र छोटो टिप्पणी दिनुहोस्‌। अनुच्छेदमा भएका सबै कुरा बताउने नगर्नुहोस्‌; एउटा बुँदाबारे मात्र टिप्पणी गर्नुहोस्‌। यसो गर्दा अरूले पनि टिप्पणी दिने मौका पाउनेछन्‌। विशेषगरि लेखमा प्रयोग गरिएका पदबाट टिप्पणी गर्दा सबैले फाइदा उठाउन सक्छन्‌। छलफल गरिएको बुँदासित पदको कुन भाग सम्बन्धित छ, त्यसमा ध्यान खिच्नुहोस्‌। अनुच्छेदबाट सरर्र पढेर टिप्पणी दिनुको सट्टा आफ्नै शब्दमा टिप्पणी दिने बानी बसाल्नुहोस्‌। प्रश्‍नले मागेको जस्तै जवाफ दिन सकिएन भने पनि चिन्ता नगर्नुहोस्‌। किनकि कहिलेकाहीं अरूलाई पनि आफूले दिएको टिप्पणी मिलेन कि जस्तो लाग्छ।

कुरा स्पष्ट छ, जवाफ दिन प्रश्‍नको उत्तर थाह भएर मात्र पुग्दैन। सुझबुझ चलाएर जवाफ दिनुपर्छ। त्यसमा पनि मनदेखि नै र अरूको मन छुनेगरि जवाफ दिंदा धेरै सन्तुष्टि पाइन्छ।—हितो. १५:२३.

जवाफ दिनुअघि यी कुरा विचार गर्नुहोस्‌

  • प्रश्‍न सोधिनुको कारण

  • जवाफ स्पष्टसित बुझ्न बाँध्नुपर्ने भूमिका

  • अर्को व्यक्‍तिलाई चासो लाग्ने विषयप्रति आदर देखाउँदै आफ्नो अडान बताउने तरिका

  • दयालु र विश्‍वस्त भई आफ्नो कुरा बताउने तरिका

  • आफै निर्णय गर्न मदत गर्नका लागि सीधै जवाफ दिने हो कि बाइबल सिद्धान्त र बाइबल उदाहरण बताउने हो

सभामा कसरी टिप्पणी दिन सकिन्छ?

  • प्रश्‍नको जवाफ दिने पहिलो मौका पाउनुभएको छ भने सरल र सीधै जवाफ दिनुहोस्‌।

  • छलफल अघि बढाउन (१) उल्लिखित पद छलफल गरिएको बुँदासित कसरी सम्बन्धित छ, देखाउनुहोस्‌ (२) विषयवस्तुले हाम्रो जीवनलाई कसरी असर गर्छ, उल्लेख गर्नुहोस्‌ (३) प्राप्त जानकारी कसरी प्रयोग गर्न सक्छौं, व्याख्या गर्नुहोस्‌ वा (४) मुख्य बुँदा प्रस्ट्याउने छोटो अनुभव सुनाउनुहोस्‌।

  • अरूले दिएका टिप्पणी ध्यान दिएर सुन्‍नुभयो भने थप बुँदामा टिप्पणी गर्न सक्नुहुन्छ।

  • आफ्नै शब्दमा टिप्पणी दिने प्रयास गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने