तपाईंलाई आनन्दित तुल्याउन कुन कुराको आवश्यकता छ?
जनताद्वारा छानिएका राजनितिज्ञहरू जनतालाई आनन्दित पार्ने हर प्रयास गर्छन्। आखिर तिनीहरूको काम नै त्यही हो। तर पोलेण्डको एउटा पत्रिकाले “मोह-भङ्ग र विमुख भएका निर्वाचक-समूह”-बारे लेखेको छ। एकजना पत्रकार व्याख्या गर्दछन् कि संयुक्त राज्य “औपचारिक राजनीतिदेखि वाक्क भएको” एउटा समाज भएको छ। अर्का एक जना लेखकले “फ्रान्समा राजनीतिप्रति बढ्दो उदासीनता” बारे हामीलाई भन्छन्। यसप्रकारको व्यापक उदासीनता र असन्तोष यी तीनवटा देशहरूमा मात्र सीमित छैन र यसबाट के देखिन्छ भने मानिसहरूलाई आनन्दित पार्ने आफ्नो प्रयासमा राजनीतिज्ञहरू सफल हुन सकेका छैनन्।
धार्मिक नेताहरूले पनि आनन्द दिने प्रतिज्ञा गर्दछन्। यस जीवनमा नभए तापनि अर्को जुनीमा। मानिसहरूको आत्मा अमर छ वा त्यो अर्को ठाउँमा जान्छ भन्ने विश्वास नै तिनीहरूको यो प्रतिज्ञाको आधार रहेको छ। यस कुरालाई अनेक कारणहरूले गर्दा धेरै मानिसहरू स्वीकार गर्दैनन् र बाइबलले त स्पष्ट रूपमा त्यसको खण्डन गर्दछ। आनन्दित हुनका लागि धर्मको आवश्यकता छैन भनी लाखौंले बुझ्न थालेका छन् भनेर खाली गिर्जाघरहरू र तिनको घट्दो सदस्य सङ्खयाले देखाउँछ।—उत्पत्ति २:७, १७; इजकिएल १८:४, २० सङ्ग तुलना गर्नुहोस्.
चाँदीका असन्तुष्ट प्रेमीहरू
राजनीति होस् वा धर्म, कुनैमा पनि आनन्द पाउन सकिएको छैन भने आनन्द पाइन्छ कहाँ? सम्भवतः व्यापारको क्षेत्रमा पाइन्छ कि? यसले पनि आनन्द दिने दावा गर्दछ। स्पष्ट ढङ्गले विज्ञापनको माध्यमद्वारा आफ्नो पक्षमा त्यसले यसो भन्दछ: पैसाले किन्न सकिने सबै नै भौतिक पदार्थहरू र सेवाहरूद्वारा आनन्द प्राप्त गर्न सकिन्छ।
यस तरिकाबाट आनन्दको खोजी गर्नेहरूको सङ्खया बढ्दो जस्तो देखिन्छ। केही वर्ष अघि जर्मनीका ५० प्रतिशत् परिवारहरू पूरै ऋणमा डुबेका थिए। त्यसैकारण त दे साईत भन्ने प्रतिष्ठित जर्मन अखबारले “तीमध्ये धेरै मानिस कहिले पनि ऋण मुक्त हुने छैनन्” भनेर भविष्यवाणी गरेकोमा के आश्चर्य। त्यसले यो पनि व्याख्या गऱ्यो: “बैंकले कर्जा दिनसक्ने जति कर्जा लिन त सजिलो छ तर कर्जाको पासोबाट निस्कन साह्रै नै गाह्रो छ।”
अन्य अति नै औद्यौगिक राष्ट्रहरूमा पनि कुनै भिन्न परिस्थिति छैन। केही वर्षअघि, डेभिड क्याप्लोभिज भन्ने न्यु योर्क-को सिटी यूनिभर्सिटीका एक जना समाज-शास्त्रीको अनुमानअनुसार अमेरिकाका दुईदेखि अढाई करोड परिवारहरू पूरै ऋणमा डुबेका थिए। तिनले भने, “मानिसहरू ऋणले थिचिएका छन् र यसले गर्दा तिनीहरूको जीवन बर्बाद भइरहेकोछ।”
यो सुन्दा त त्यहाँ पनि आनन्द छ जस्तो लाग्दैन र! तर राजनीति र धर्म दुवैले प्राप्त गर्न नसकेको कुरा व्यापारिक संसारबाट प्राप्त गर्न सकिन्छ भनेर हामीले आशा गर्नु मिल्छ र? धनी राजा सुलेमानले एक पटक यो लेखे: “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुखभोग पाउने छैन। यो पनि व्यर्थ हो।”—उपदेशक ५:१०.
भौतिक सम्पदाहरूमा आनन्द खोज्नु हावामा महल बनाउनु जस्तै हो। बनाउँदा त बडो मजा आउन सक्छ तर त्यसमा बस्न खोज्नु भयो भने तपाईंलाई फसाद पर्नेछ।
आनन्द प्राप्त गर्न सकिन्छ, तर कसरी?
प्रेरित पावल यहोवालाई “आनन्दित परमेश्वर” (न्यु व०) भन्दछन्। (१ तिमोथी १:११) मानिसहरूलाई आफ्नै स्वरूपमा सृष्टि गर्नु भएर आनन्दित परमेश्वरले तिनीहरू- लाई पनि आनन्दित हुने क्षमता दिनुभयो। (उत्पत्ति १:२६) तर तिनीहरूले परमेश्वरको सेवा गरेमा मात्र आनन्द पाउने थिए र यस कुरालाई भजनसंग्रहका लेखकले यसप्रकार देखाएका छन्: “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै हुनुहुन्छ।” (भजनसंग्रह १४४:१५ख) हामीले परमेश्वरको सेवा गर्नु भनेको के हो र उहाँको सेवा गर्दा साँचो आनन्द कसरी पाउन सकिन्छ भन्ने कुरा राम्ररी बुझ्नका निम्ति न्यु वर्ल्ड ट्रान्सलेशन-ले “आनन्द” र “आनन्दित” भन्ने शब्दहरू प्रयोग गरेको करीब ११० ठाउँहरू मध्येबाट केहीलाई विचार गर्नु बेस होला।
आत्मिक आवश्यकताहरूको पहिचान गर्ने
परमेश्वरका पुत्र येशू ख्रीष्टले आफ्नो प्रसिद्ध पहाडी उपदेशमा यसो भन्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) आनन्दित हुनका लागि विलासी जीवन बिताए पुग्छ भनी मानिसहरूलाई भरमाउने प्रयास व्यापारिक संसारले गर्छ। त्यसले भन्दछ: घरमा एउटा कम्प्युटर, भिडियो क्यामरा, टेलिफोन, मोटरगाडी, खेलका नयाँ-नयाँ उपकरणहरू, डिजाइनदार लुगाहरू प्राप्त गर्नु नै आनन्दित हुनु हो। तर त्यसले यो कुरा चाहिं भन्दैन कि करौडौं मानिसहरूसित यी कुराहरू नभएर पनि तिनीहरू आनन्दित छन्। यी कुराहरूले सम्भवतः जीवनलाई केही हदसम्म आरामदायी र सुविधाजनक पार्न सक्ला तर आनन्दित हुनका लागि यी कुराहरू अत्यावश्यक होइनन्।
आफ्नो आध्यात्मिकताबारे चेतनशील हुनेहरूले पावलले गरे जस्तै यसो गर्नु पर्दछ: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:८) किन? किनभने आध्यात्मिक आवश्यकताहरू पूरा गर्न सकेमा अनन्त जीवन पाउन सकिन्छ।—यूहन्ना १७:३.
आफूसित पैसा छ भने राम्रा-राम्रा कुराहरू किनेर आनन्द उठाएमा कुनै खराबी छ र? सम्भवतः छैन। तरपनि हामीले किन्न सक्छौं भन्दैमा जे मन लाग्यो सोही नकिन्ने बानी बसाल्दा हाम्रो आध्यात्मिकता अझ बलियो हुन सक्छ। यसबाट हामी सन्तोष मान्न सिक्तछौं र आनन्दित रहन सक्छौं। जस्तो कि येशूले गर्नुभयो जबकि सांसारिक स्तरहरूअनुसार उहाँको आर्थिक अवस्था त्यति राम्रो थिएन। (मत्ती ८:२०) र पावलले पनि यस्तो लेख्दा आफू दुःखी थिएनन्: “जुनसुकै परिस्थितिमा म भएँ पनि त्यसैमा सन्तुष्ट रहन मैले सिकेको छु। म घट्न पनि जान्दछु, बढ्न पनि जान्दछु। हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु।”—फिलिप्पी ४:११, १२.
यहोवामा भरोसा राख्ने
आफ्नो आध्यात्मिक आवश्यकताबारे चेतनशील हुनुको अर्थ परमेश्वरमाथि भरोसा गर्न इच्छुक हुनु हो र यसले आनन्द दिन सक्छ भनी राजा सुलेमानले यसो भने: “परमप्रभुमा भरोसा राख्ने मानिस आशीषित हुन्छ।”—हितोपदेश १६:२०.
तथापि के यो कुरा साँचो होइन कि धेरै जसो मानिसहरू परमेश्वरमा भन्दा आफ्नो धन र सम्पत्तिमा भरोसा राख्तछन्? यस दृष्टिकोणअनुसार “परमेश्वरमाथि हामी भरोसा राख्तछौं” भन्ने अभिव्यक्ति लेख्ने सबैभन्दा अनुचित ठाउँ पैसा बाहेक अरू हुनै सक्तैन। तापनि त्यो अभिव्यक्ति अमेरिकी मुद्रामै देख्नुहुनेछ।
पैसाले किन्न सक्ने कुनै पनि कुराको कमी नभएका राजा सुलेमानले बुझेका थिए कि भौतिक सम्पदामा भरोसा गर्नाले सदा आनन्दित रहन सकिंदैन। (उपदेशक ५:१२-१५) बैंक टाटपल्टेमा वा महँगी बढेमा बैंकमा जम्मा गरिएको सबै धन खतम हुन्छ। घर-जग्गा भयङ्कर तूफानहरूबाट नष्ट हुन सक्छ। बीमाहरूबाट केही हदसम्म नोक्सान बेहोर्नु परे तापनि भावनात्मक चोटको क्षतिपूर्ति चाहिं हुन सक्तैन। अचानक बजार भाव खस्नाले स्टक्स र ऋण-पत्र एकै रातमा बेकम्मा हुन सक्छन्। कति नै धेरै तलब पाउने नोकरी पनि अनेक कारणहरूले गर्दा आज छ भोली नरहला।
यी सबै कारणहरूले गर्दा यहोवामा भरोसा गर्नेहरूले येशूको यस चेतावनीलाई सुन्नु मै बुद्धि छ भनी ठान्छन्: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, जहाँ चोरहरूले फोरेर चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, और चोरले पनि चोर्दैन।”—मत्ती ६:१९, २०.
सधैं नै हाम्रा आवश्यकताहरूलाई पूरा गरी दिनु हुने सर्वशक्तिमान परमेश्वरमाथि हामीले आफ्नो भरोसा राखेका छौं भनी थाह हुँदा जतिको सुरक्षा र आनन्द अनुभव गर्न सकिन्छ त्यतिको त अरू कुनै कुराबाट पनि अनुभव गर्न सकिन्दैन।—भजनसंग्रह ९४:१४; हिब्रू १३:५, ६.
ईश्वरीय हप्कीलाई स्वीकार गर्ने
प्रेममय भावनासाथ एउटा साँचो मित्रले सल्लाह, अथवा हप्की नै दिए पनि त्यसको स्वागत गरिन्छ। परमेश्वरको सेवक अय्यूबको एक जना मित्र भनाउदाले एक पटक आत्म-श्रेष्ठताको भाव देखाउँदै अय्यूबलाई भने: “त्यो मानिस धन्यको हो जसलाई परमप्रभुले चेताउनुहुन्छ।” यो सिद्धान्त साँचो थियो। तर एलिपजले त्यतिखेर यी शब्दहरूद्वारा भन्न खोजेको कुरा अर्थात् अय्यूबबाट कुनै घोर अपराध भएको छ भन्ने कुरा चाहिं सत्य थिएन। एलिपज कस्तो ‘दुःखदायी सान्त्वनादाता’ थियो! तर पछि यहोवाले अय्यूबलाई प्रेमपूर्वक हप्काउनु हुँदा त्यस हप्काइलाई अय्यूबले नम्रतापूर्वक स्वीकार गरे र अझै आनन्ददायी मार्गमा हिंडे।—अय्यूब ५:१७; १६:२; ४२:६, १०-१७.
अय्यूबसित सोझै आफै बोल्नु भएजस्तै गरी आज परमेश्वर आफ्ना सेवकहरूसित बोल्नु हुन्न। बरु तिनीहरूलाई उहाँ आफ्नो वचन र आत्माद्वारा निर्देशित आफ्नो सङ्गठनद्वारा नसिहत दिनुहुन्छ। तथापि भौतिक कुराहरूका पछि लाग्ने मसीहीहरूसङ्ग नियमित तवरले बाइबल अध्ययन गर्ने नता समय र शक्ति नै रहन्छ न यहोवाको सङ्गठनले प्रबन्ध गरेका सभाहरूमा उपस्थित हुने प्रवृत्ति नै हुन्छ।
परमेश्वरबाट हप्की पाउने व्यक्तिले हितोपदेश ३:११-१८ अनुसार त्यसप्रकारको हप्की स्वीकार्नु बुद्धिमत्तापूर्ण कुरा हो भनी बुझ्दछ: “बुद्धि पाउने र समझ-शक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फायदा सुनभन्दा बढी हुन्छ। त्यो मूगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनैसक्तैन। बुद्धिको दाहिने हातमा दीर्घायु र त्यसको देब्रे हातमा धन र यश हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन् र त्यसका सबै बाटाहरू उन्नतितिर लान्छन्। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, रत्नलाई बलियो गरी समात्नेहरू सुरक्षित रहन्छन्।”
शुद्ध र शान्तप्रिय हुने
येशूले आनन्दित मानिसलाई “हृदयमा शुद्ध” हुनेहरू र “मेल-मिलाप गराउनेहरू” भनी वर्णन गर्नु भएको छ। (मत्ती ५:८, ९) तर भौतिकवादी जीवनशैलीलाई प्रोत्साहन दिने यस संसारमा हाम्रो हृदयमा स्वार्थपूर्ण, सम्भवतः अशुद्ध इच्छाहरूले जरो गाड्न कति सजिलो छ! ईश्वरीय बुद्धिले निर्देशित नहुने हो भने गलत तरिकाले धनवान हुन खोज्नुतर्फ हामी सजिलैसित लाग्नेछौं जसले गर्दा अरूहरूसितको हाम्रो शान्तमय सम्बन्ध बिग्रिन सक्तछ! त्यसैले त बिना कारण बाइबलले यसप्रकार चेतावनी दिएको होइन: “रूपिया-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमोथी ६:१०.
रूपिया-पैसाको लोभले अहंवादी प्रवृत्तिलाई प्रोत्साहन दिन्छ। जसले गर्दा असन्तोष, कृतघ्नता, र लोभले प्रश्रय पाउँछ। यसप्रकारको गलत भावनाको विकास हुन नदिनका लागि कुनै पनि ठूलो आर्थिक निर्णय गर्नुभन्दा पहिले केही मसीहीहरूले यसप्रकारका प्रश्नहरू आफैलाई सोध्छन्: के साँच्चै नै मलाई यसको आवश्यकता छ? के मलाई यतिको महँगो चीज अथवा राम्रो तलब भएको तर बढी समय खाने नोकरीको आवश्यकता छ र? जबकि अन्य लाखौं मानिसहरू यी कुराहरू बिना पनि बाँच्नु परिरहेछ? बरु के म आफ्नो पैसा र समय साँचो उपासनामा अझ ठूलो भाग लिन खर्च गर्न सक्छु कि? अथवा विश्वव्यापी प्रचार कार्यलाई सहयोग पुऱ्याउन सक्ने छु कि? होइन भने, मैंले जति सुविधाहरू नपाएका मानिसहरूलाई म मदत दिन सक्छु कि?
धैर्य धारण गर्ने
अय्यूबले धैर्य धारण गर्नु पर्ने परीक्षाहरूमध्ये एउटा परीक्षा आर्थिक नोक्सानी थियो। (अय्यूब १:१४-१७) तिनको उदाहरणले देखाउँछ कि जीवनको हरेक क्षेत्रमा धैर्य धारण गर्नु आवश्यक छ। केही मसीहीहरूले सतावट, कसैले प्रलोभन, अझ कसै कसैले नराम्रो आर्थिक अवस्थाहरू सहनु पर्दछ। तर हरेक अवस्थामा धैर्य धारण गर्दा यहोवाबाट इनाम पाइन्छ। यो कुरा मसीही चेला याकूबले अय्यूबबारे लेख्दा यसो भने: “हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं।”—याकूब ५:११.
आत्मिक हितलाई बेवास्ता गरेर आफ्नो आर्थिक अवस्था सुधार्ने प्रयास गर्दा क्षणिक आर्थिक आराम पाउन सकिएला तर के यसले परमेश्वरको राज्य अन्तर्गत पाइने स्थायी आर्थिक राहतबारे हाम्रो दृष्टिलाई सँधै नै चम्किलो राख्ने मदत दिनेछ र? के यसप्रकारको जोखिम उठाउनु उचित हो?—२ कोरिन्थी ४:१८.
अहिले र सदाका निम्ति आनन्द पाउने
मानिसहरू के कारणले खुशी हुन्छन् भन्ने यहोवाको दृष्टिकोणलाई कसै कसैले जरुर पनि प्रतिवाद गर्दछन्। धेरै समयसम्म हुने लाभको उपेक्षा गर्दै तिनीहरू परमेश्वरले दिनु भएका सुझावहरू अनुसार हिंड्नमा तुरुन्त व्यक्तिगत फायदा देख्तैनन्। भौतिक कुराहरूमा भरोसा गर्नु व्यर्थ हो र त्यसबाट निराशा मात्र उत्पन्न हुन्छ भन्ने कुरा बुझ्न तिनीहरू असमर्थ छन्। बाइबलका लेखकले ठीकै सोध्छन्: “जब धन-सम्पत्ति बढ्छ तब खाने मुख पनि धेरै बढ़छ। औ धन-सम्पत्ति हेर्नबाहेक त्यसलाई अरू के लाभ हुन्छ र?” (उपदेशक ५:११; उपदेशक २:४-११; ७:१२ पनि हेर्नुहोस्।) साँच्चै नै, हामीलाई नभइ नहुने कुराप्रतिको हाम्रो चासो कति चाँडो हराएर जान्छ र त्यो कुरा अलिक दिनपछि नै आलमारीमा थन्किएर ठाउँ र धूलो पो खाइरहेको हुन्छ!
आफ्नो छिमेकीसित भए जति सबै थोक आफूले पनि थुपार्नु पर्छ भन्ने प्रवृत्ति एउटा साँचो मसीहीले राख्न हुँदैन। किनभने कसैको प्रतिष्ठा ऊसङ्ग के छ भन्ने कुरामा होइन तर ऊ कस्तो छ भन्ने कुरामा भर पर्छ भनी उसलाई राम्ररी थाह छ। यहोवासितको एउटा राम्रो सम्बन्धको आनन्द उठाउनु र उहाँको सेवामा व्यस्त रहनु—यसले नै एकजना व्यक्तिलाई आनन्दित तुल्याउँछ भन्ने विषयमा उसलाई कुनै शङ्का हुँदैन। (w93 6/1)
[पृष्ठ ४-मा भएको चित्र]
भौतिक चीजहरूले मात्र सदा आनन्दित तुल्याउन सक्तैन
[पृष्ठ ५-मा भएको चित्र]
बाइबल भन्दछ: “धन्य आत्मामा दरिद्र हुनेहरू”