खराब कुराहरूलाई घृणा गरौं
यहोवा पवित्र परमेश्वर हुनुहुन्छ। पुरातन समयमा उहाँ “इस्राएलका पवित्र जन” हुनुहुन्थ्यो र त्यहीअनुरूप उहाँले इस्राएलीहरू पनि सफा, निष्खोट भएको चाहनुहुन्थ्यो। (भजन ८९:१८) उहाँले आफ्ना छानिएका जनहरूलाई यसो भन्नुभयो: “तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।” (लेवी ११:४५) “परमप्रभुको डाँड़ामा उक्लन” चाहने हरेकको “हात निष्कलंक र . . . हृदय शुद्ध” हुनुपर्थ्यो। (भजन २४:३, ४) त्यसको अर्थ पापी कार्यहरूबाट अलग बस्नु मात्रै थिएन। “दुष्टतालाई घृणा गर्नु” खाँचो थियो।—हितोपदेश ८:१३.
इस्राएल राष्ट्रले गलत कार्यहरू चिनेर त्यसबाट अलग बस्न सकोस् भनेर यहोवाले दयापूर्वक आफ्नो विस्तृत व्यवस्था दिनुभयो। (रोमी ७:७, १२) यी व्यवस्थाहरूमा नैतिकतासम्बन्धी कडा निर्देशनहरू थिए। जारी, समलिंगी, हाडनाताकरनी र पशुसम्भोगजस्ता सबै कार्यहरूलाई अपवित्र, आध्यात्मिक रूपमा दूषित पार्ने कुराहरू भनी चिनाइएको थियो। (लेवी १८:२३; २०:१०-१७) त्यस्ता नीच कार्य गर्ने दोषीहरूलाई इस्राएल राष्ट्रबाट निकालिन्थ्यो।
अभिषिक्त मसीहीहरूको मण्डली “परमेश्वरका इस्राएल” भएपछि तिनीहरूले पनि त्यस्तै नैतिक स्तरहरू पालन गर्नुपर्थ्यो। (गलाती ६:१६) मसीहीहरूले “जुन कुरो खराब छ, त्यसलाई घृणा” गर्नुपर्थ्यो। (रोमी १२:९) यहोवाले इस्राएललाई भन्नुभएका शब्दहरू तिनीहरूलाई पनि लागू हुन्थ्यो: “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” (१ पत्रुस १:१५, १६) करनी, जारी, समलिंगी, हाडनाताकरनी र पशुसम्भोगजस्ता अपवित्र कामहरूले मसीही मण्डलीलाई भ्रष्ट हुन दिनु हुन्थेन। त्यस्ता कार्यहरूमा संलग्न नहुन अस्वीकार गर्नेहरू परमेश्वरको राज्यमा पस्न पाउनेछैनन्। (रोमी १:२६, २७; २:२२; १ कोरिन्थी ६:९, १०; हिब्रू १३:४) यी “आखिरी दिनमा” “अरू भेड़ा[मा]” पनि त्यही स्तरहरू लागू हुन्छन्। (२ तिमोथी ३:१; यूहन्ना १०:१६) फलस्वरूप अभिषिक्त मसीही तथा अरू भेडाहरू नैतिक रूपमा स्वच्छ र स्वास्थ्यकर मानिसहरू मिलेर बनेको छ। यसले गर्दा तिनीहरू यहोवाका साक्षीहरूको हैसियतमा आफ्नो परमेश्वरको नाउँ वहन गर्न योग्य भएका छन्।—यशैया ४३:१०.
मण्डलीलाई स्वच्छ राख्ने
यसको विपरीत संसारले सबै प्रकारको अनैतिकताप्रति आँखा चिम्लिन्छ। साँचो मसीहीहरू अरूभन्दा बेग्लै भए तापनि अहिले यहोवाको सेवा गर्ने थुप्रै व्यक्तिहरू कुनै समय संसारको भाग थिए भनेर बिर्सनु हुँदैन। पवित्र परमेश्वरलाई चिन्नुअघि आफ्नो पतित शरीरका इच्छा तथा मनगढन्ते कुराहरूमा लाग्नु र “ज्यादै उपद्रवहरूमा” लटपटिनुमा कुनै आपत्ति छैन भन्ठान्ने पनि थुप्रै थिए। (१ पत्रुस ४:४) पतित व्यक्तिहरूको घृणित चलनहरूबारे बताइसकेपछि प्रेरित पावलले यसो भने: “तिमीहरूमा कोही कोही यस्तै थिए।” तिनले अझै यसो भने: “तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:११.
कस्तो सान्त्वनादायी कथन! कुनै व्यक्तिले पहिला जस्तोसुकै काम गरे पनि ख्रीष्टको महिमामय सुसमाचार सुनेर आफ्नो हृदयमा छाप परेपछि जीवनमा परिवर्तन गर्छन्। यहोवा परमेश्वरलाई विश्वास गर्नुका साथै आफूलाई समर्पण गर्छन्। त्यसपश्चात् तिनले परमेश्वरसामु स्वच्छ अनि शुद्ध नैतिक जीवन बिताउँछन्। (हिब्रू ९:१४) तिनले पहिला गरेको पापबाट क्षमा पाउँछन् र अब ‘अगाड़िका कुराहरूतिर लम्कनसक्छन्।’a—फिलिप्पी ३:१३, १४; रोमी ४:७, ८.
दाऊदले हत्या र जारी गरेका थिए तैपनि तिनले पश्चात्ताप गरेको हुँदा यहोवाले क्षमा दिनुभयो। त्यस्तैगरि मनश्शेले पनि अनैतिक मूर्तिपूजा र रक्तपात गरेका थिए तैपनि पश्चात्ताप गरेकोले उहाँले क्षमा दिनुभयो। (२ शमूएल १२:९, १३; २ इतिहास ३३:२-६, १०-१३) हामीले निष्कपट र नम्रतापूर्वक पश्चात्ताप गरेर यहोवालाई पुकाऱ्यौं भने उहाँ क्षमा गर्न तयार हुनुहुन्छ। यसको लागि हामी साँच्चै कृतज्ञ हुनसक्छौं। यहोवाले दाऊद तथा मनश्शे दुवैलाई क्षमा त दिनुभयो तर तिनीहरूसँगसँगै इस्राएलले पनि पापी कार्यहरूका परिणाम भोग्नुपऱ्यो। (२ शमूएल १२:११, १२; यर्मिया १५:३-५) त्यस्तैगरि यहोवाले पश्चात्तापी पापीहरूलाई माफी त दिनुहुन्छ तैपनि तिनीहरूका आफ्नै कार्यको कारण कतिपय परिणामहरू भने तिनीहरूले भोग्नैपर्ने हुन्छ।
भोग्नैपर्ने नतिजाहरू
उदाहरणका लागि, अनैतिक अश्लील जीवन बिताएको कारण एड्सबाट संक्रमित व्यक्तिले सत्य स्वीकार्लान् र जीवनमा आमूल परिवर्तन गरेर समर्पण तथा बप्तिस्मासमेत लेलान्। अब तिनी आध्यात्मिक तवरमा स्वच्छ मसीही हुनका साथै तिनको परमेश्वरसित राम्रो सम्बन्ध हुन्छ र भविष्यको लागि पनि अद्भुत प्रत्याशा छ। तर तिनी अझै एड्स रोगी हुन्। अन्ततः एड्सको कारण तिनको मृत्यु हुनसक्छ। यो दुःखको कुरा हो तर तिनको विगतको आचरणले गर्दा यो भोग्नैपर्ने परिणाम हो। अरू मसीहीहरूले भने विगतको घोर अनैतिकताका असरहरू अर्कै तरिकामा भोग्नुपर्ला। बप्तिस्मा लिएको वर्षौंपछिसम्म पनि शायद यस रीतिरिवाजमा बाचुञ्जेल तिनीहरूले पहिलेकै जीवनशैलीमा फर्किने आफ्नो शरीरका तीव्र इच्छाहरूसित संघर्ष गर्नुपर्ला। यहोवाको आत्माको मदतद्वारा धेरैले यसको प्रतिरोध गर्नसक्छन्। तर तिनीहरूले निरन्तर संघर्ष गरिरहनुपर्छ।—गलाती ५:१६, १७.
आफ्नो तीव्र इच्छाहरूलाई नियन्त्रण गरुञ्जेल त्यस्ताहरूले पाप त गर्दैनन्। तर तिनीहरूले अझै शक्तिशाली शारीरिक आवेगहरूसित संघर्ष गरिरहनुपरेको छ र तिनीहरू पुरुषहरू हुन् भने मण्डलीमा जिम्मेवारी वहन गर्न ‘अग्रसर’ नहुने निर्णय गर्नु नै बुद्धिमानी हुनेछ। (१ तिमोथी ३:१, NW) किन? किनभने मण्डलीले प्राचीनहरूमाथि कत्ति भरोसा राख्छ भन्ने कुरा तिनीहरूलाई थाह छ। (यशैया ३२:१, २; हिब्रू १३:१७) निजी मामिलाहरूमा प्राचीनहरूको सल्लाह लिइन्छ साथै संवेदनशील परिस्थितिहरू पनि सँभाल्नुपर्ने हुन्छ भनेर तिनीहरूले बुझेका छन्। निरन्तर फोहर शारीरिक इच्छाहरूसित लडिरहनु परेकाहरूले मण्डलीमा जिम्मेवारी वहन गर्न अग्रसर हुनु नता मायालु, बुद्धिमानी न व्यवहारिक नै हुनेछ।—हितोपदेश १४:१६; यूहन्ना १५:१२, १३; रोमी १२:१.
बप्तिस्मा लिनुअघि कुनै व्यक्ति बाल यौन उत्पीडक थिए भने परिणाम अर्कै हुनसक्छ। सत्य सिकेपछि तिनले पश्चात्ताप गर्छन् र मण्डलीमा त्यस्तो क्रूर पाप नल्याउन आफूमा आमूल परिवर्तन गर्छन्। त्यसपछि तिनले आफ्नो गलत आवेगहरूलाई पूर्णतया त्यागेर राम्रो प्रगति गर्लान् र मण्डलीमा जिम्मेवारी वहन गर्न ‘अग्रसर’ हुने विचार पनि गर्लान्। तर तिनी अझै टोलछिमेकमा पहिलेकै बाल यौन उत्पीडकको रूपमा चिनिन्छन् भने नि? के तिनी “निर्दोष, . . . मण्डली बाहिरकाहरूबाट असल नाउँ कमाएको . . . निष्कलंक” हुन्छन् त? (१ तिमोथी ३:१-७, १०; तीतस १:७) अहँ, हुनेछैनन्। तसर्थ तिनी मण्डलीमा जिम्मेवारीहरू वहन गर्न योग्य हुनेछैनन्।
जब समर्पित मसीहीले पाप गर्छन्
हामी कमजोर छौं र बप्तिस्मापछि पनि पाप गर्नसक्छौं भनी यहोवाले बुझ्नुहुन्छ। प्रेरित यूहन्नाले आफ्नो समयका मसीहीहरूलाई यसो लेखे: “तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तछु। औ कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्ना २:१, २) हो, यदि पाप गर्ने बप्तिस्माप्राप्त मसीहीहरूले साँचो पश्चात्ताप गरेर आफ्नो गलत मार्ग त्याग्छन् भने यहोवाले येशूको बलिदानको आधारमा क्षमा दिनुहुनेछ।
प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा यसको एउटा उदाहरण देखियो। प्रेरित पावलले त्यस नयाँ मण्डलीमा हाडनाताकरनीको घटना सुनेपछि त्यसमा सम्मिलित पुरुषलाई बहिष्कृत गर्ने निर्देशन दिए। पछि त्यस पापीले पश्चात्ताप गरे अनि पावलले तिनलाई पुनस्थार्पित गर्न मण्डलीलाई सल्लाह दिए। (१ कोरिन्थी ५:१, १३; २ कोरिन्थी २:५-९) अतः यहोवाको करुणा र येशूको छुडौतीको बलिदानको महान् मूल्यद्वारा त्यस मानिसले आफ्नो पाप पखाले। आज पनि त्यस्तै घटनाहरू हुनसक्छन्। तथापि, गम्भीर पाप गर्ने बप्तिस्माप्राप्त व्यक्तिले पश्चात्ताप गर्लान् र यहोवाले क्षमा पनि दिनुहुन्छ होला तर तिनले आफ्नो पापका परिणामहरू अझै भोग्नुपर्ने हुनसक्छ।—हितोपदेश १०:१६, १७; गलाती ६:७.
उदाहरणका लागि, एक समर्पित केटीले व्यभिचार गर्लिन्, अनि आफ्नो कार्यको लागि भावविह्वल भएर पछुतो पनि गर्लिन् र अन्ततः मण्डलीको मदतद्वारा आध्यात्मिक तवरमा पुनः स्वस्थ पनि होलिन्। तर अनैतिकताको कारण गर्भवती भइन् भने नि? अब आफूले पहिला गरेको कार्यले गर्दा त्यसको नतिजा तिनले भोग्नैपर्छ। जारी गर्ने पुरुषले पश्चात्ताप गर्लान् र बहिष्कृत नहोलान्। तर तिनको निर्दोष पत्नीसित पारपाचुके गर्ने धर्मशास्त्रीय आधार छ र तिनले पारपाचुके गर्ने निर्णय पनि गर्नसक्छिन्। (मत्ती १९:९) पत्नीले त्यसो गरेमा त्यस पुरुषले यहोवाबाट क्षमा पाए तापनि बाचुञ्जेल आफ्नो पापको गम्भीर परिणाम भोग्नैपर्ने हुन्छ।—१ यूहन्ना १:९.
आफ्नी पत्नीलाई निर्दयतापूर्वक पारपाचुके गरेर अर्को स्त्रीलाई विवाह गर्ने पतिबारे के भन्न सकिन्छ? शायद तिनले अन्ततः पश्चात्ताप गर्लान् र मण्डलीमा पुनस्थार्पित पनि होलान्। समयको दौडान तिनले प्रगति गर्नुका साथै “सिद्धतातर्फ” [“परिपक्वतातर्फ,” NW] बढ्लान्। (हिब्रू ६:१) तर जबसम्म तिनकी पहिलो पत्नीले अर्को विवाह गर्दिनन्, तबसम्म तिनी मण्डलीमा जिम्मेवारी वहन गर्न योग्य ठहरिनेछैनन्। तिनी “एउटै स्त्रीका पत्नी” होइन, किनभने तिनीसित आफ्नो पहिलो पत्नीलाई पारपाचुके गर्ने कुनै धर्मशास्त्रीय आधार थिएन।—१ तिमोथी ३:२, १२.
मसीहीले खराब कुराहरूप्रति घृणाको भावना विकास गर्न के यी सशक्त कारणहरू होइनन् र?
बाल यौन उत्पीडकबारे के भन्न सकिन्छ नि?
बप्तिस्माप्राप्त वयस्क मसीहीले बच्चालाई यौन उत्पीडन गर्छन् भने नि? के त्यो पापी त्यत्तिको दुष्ट छ र जसलाई यहोवाले क्षमै दिनसक्नुहुन्न? क्षमा दिनै सकिंदैन भन्नु मिल्दैन। ‘पवित्र आत्मा विरुद्ध पाप गर्नेले’ क्षमा पाउनेछैन भनेर येशूले भन्नुभयो। अनि सत्य थाह पाइसकेपछि पनि जानाजानी पाप गर्ने बानी बसाल्नेहरूलाई कुनै बलिदान बाँकी रहँदैन भनी पावलले भने। (लूका १२:१०; हिब्रू १०:२६, २७) बच्चासित हाडनाताकरनी गर्ने होस् वा अन्य तरिकाद्वारा यौन दुर्व्यवहार गर्ने वयस्क मसीही नै किन नहोस्, तिनलाई क्षमा दिनै मिल्दैन भनेर बाइबलमा कहीं पनि उल्लिखित छैन। निस्सन्देह, हृदयदेखि नै निष्कपटतासाथ पश्चात्ताप गर्छन् र आफ्नो आचरणमा आमूल परिवर्तन गर्छन् भने तिनको पाप पक्कै सफासित पखाल्न सकिन्छ। तर तिनले अझै पहिले खेती गरेको गलत शारीरिक आवेगहरूसित संघर्ष गर्नुपर्ला। (एफिसी १:७) अनि त्यस्ता परिणामहरू पनि हुनसक्छन् जुन तिनले भोग्नैपर्छ।
आफू बसेको मुलुकको कानुनअनुसार सम्भवतः यौन उत्पीडकले झ्यानखानामा केही समय बिताउनुपर्ला वा सरकारबाट अन्य केही दण्ड पाउलान्। मण्डलीले तिनलाई यसबाट सुरक्षा दिनेछैन। यसबाहेक, त्यस मानिसले आफूमा भएको गम्भीर कमजोरी देखाएका हुनाले अब उप्रान्त यसबारे ख्याल राख्नुपर्छ। तिनले पश्चात्ताप गरेमा आध्यात्मिक प्रगति गर्न, क्षेत्र सेवकाईमा भाग लिन, ईश्वरतान्त्रिक सेवकाई पाठशालामा समेत भाग लिन र सेवा सभामा प्रस्तुत गरिने प्रदर्शनहरू, क्षेत्र सेवकाईका अनुभवहरू र घरधनी बन्ने जस्ता प्रस्तुतिहरूमा भाग लिन तिनलाई प्रोत्साहन दिइनेछ। तर, यसो भन्दैमा तिनी मण्डलीमा जिम्मेवारी वहन गर्न योग्य हुनेछन् भनेको चाहिं होइन। यसका धर्मशास्त्रीय कारणहरू के हुन्?
एउटा कारण त प्राचीन “आत्मसंयमी” हुनुपर्छ। (तीतस १:८, NW) हो, हामी कोही पनि पूर्णतया आत्मसंयमी छैनौं। (रोमी ७:२१-२५) तर बच्चासित यौन दुर्व्यवहार गरेर पाप गर्ने समर्पित मसीहीले आफूमा असामान्य शारीरिक कमजोरी भएको प्रकट गर्छन्। त्यस्तो वयस्कले अरू केटाकेटीसित पनि दुर्व्यवहार गर्नसक्ने सम्भावना अनुभवले देखाएको छ। हो, हरेक बाल यौन उत्पीडकले पाप नदोहोऱ्याउला तर धेरैले दोहोऱ्याउँछन्। अनि कुन व्यक्तिले केटाकेटीलाई फेरि यौन उत्पीडन गर्नेछन् या कसले गर्नेछैनन् भनेर मण्डलीले प्रत्येकको हृदय जाँच्न सक्दैन। (यर्मिया १७:९) तसर्थ, पावलले तिमोथीलाई दिएको सल्लाह बच्चालाई यौन उत्पीडन दिएका बप्तिस्माप्राप्त वयस्कहरूमा झनै लागू हुन्छ: “कुनै मानिसमाथि झट्टै हात राखेर, अरू मानिसहरूका पापमा सहभागी नहोऊ। आफूलाई पापबाट अलग राख।” (१ तिमोथी ५:२२) हाम्रा केटाकेटीको सुरक्षाको लागि बाल यौन उत्पीडक भनेर चिनिने मानिस मण्डलीमा जिम्मेवारी वहन गर्न योग्य ठहरिनेछैनन्। यस अतिरिक्त तिनी अग्रगामी गर्न वा अन्य कुनै विशेष, पूर्ण-समय सेवाको लागि योग्य ठहरिनेछैनन्।—प्रस्थान २१:२८, २९ को सिद्धान्त तुलना गर्नुहोस्।
कसै कसैले प्रश्न गर्लान्: ‘के अरूले अर्कै प्रकारको पाप गरेर पश्चात्ताप गरेको जस्तो देखिए तापनि फेरि त्यही पाप दोहोऱ्याएको छैन र?’ हो, तर यहाँ ध्यान दिनुपर्ने केही पक्षहरू छन्। उदाहरणका लागि, एक वयस्कले अर्को वयस्कसित अनैतिक व्यवहार गर्न खोज्छन् भने त्यस वयस्कले त्यसको प्रतिरोध गर्न सक्नुपर्छ। केटाकेटीलाई झुक्याउन, अलमल्याउन वा तर्साउन धेरै सजिलो छ। बालकमा मूर्खता लुकेको हुन्छ भनी बाइबलले बताउँछ। (हितोपदेश २२:१५; १ कोरिन्थी १३:११) येशूले केटाकेटीलाई नम्रता, सुधोपनका उदाहरणको रूपमा चलाउनुभयो। (मत्ती १८:४; लूका १८:१६, १७) बच्चा निष्कपट हुनु भनेको तिनमा पटक्कै अनुभव नहुनु पनि हो। अधिकांश केटाकेटी सोझो, भुलाउन सजिलो हुनाकारण आफूले चिनेको र विश्वास गरेको षड्यन्त्रकारी वयस्कको दुर्व्यवहारमा पर्नसक्ने खतराहरू हुन्छ। अतः, यहोवाले मण्डलीलाई दिनुभएको जिम्मेवारीमा केटाकेटीको सुरक्षा पनि पर्छ।
राम्रो प्रशिक्षण पाएका केटाकेटीले आफ्नो आमाबाबु, प्राचीन तथा अन्य वयस्कहरूको आज्ञा पालन गर्न तथा आदर गर्न सिक्छन्। (एफिसी ६:१, २; १ तिमोथी ५:१, २; हिब्रू १३:७) यस्तो अख्तियारप्राप्त वयस्कले बच्चाको निष्कपट विश्वासको दुरुपयोग गर्दै फकाएर सम्भोग गर्छन् वा केटाकेटीसित जबरजस्ती यौनसम्बन्ध राख्छन् भने, त्यो जति आघातपूर्ण विकृति अरू हुनेछैन। यस्तो यौन उत्पीडन भोगेकाहरूले भावनात्मक तवरमा लामो समयसम्म पीडा महसुस गर्छन्। यसकारण त्यस्तो बाल यौन उत्पीडकले मण्डलीबाट कठोर अनुशासन पाउनुका साथै तिनलाई मण्डलीका अन्य कामकुराहरू पनि गर्न दिइनेछैन। तिनले मण्डलीको जिम्मेवारी वहन गर्न नसक्नु महत्त्वपूर्ण नभई मण्डलीलाई शुद्ध निष्खोट राख्नु चिन्ताको विषय हुनुपर्छ।—१ कोरिन्थी ५:६; २ पत्रुस ३:१४.
बाल यौन उत्पीडकले निष्कपटतासाथ पश्चात्ताप गर्छन् भने तिनले बाइबलीय सिद्धान्त लागू गर्नुको बुद्धिलाई बुझ्नेछन्। खराब कुरालाई घृणा गर्न सिकेमा आफूले गरेको कुरालाई हेला गर्नेछन् र फेरि त्यो पाप नदोहोऱ्याउन संघर्ष गर्नेछन्। (हितोपदेश ८:१३; रोमी १२:९) यस अतिरिक्त तिनले पक्कै पनि यहोवाको प्रेमको महानतालाई धन्यवाद दिनेछन्, जसको फलस्वरूप तिनीजस्ता पश्चात्तापी पापीहरूले अझै पवित्र परमेश्वरलाई उपासना गर्न पाउनेछन् र पृथ्वीमा बास गर्ने “सोझाहरू[मध्ये]” हुनसक्नेछन्।—हितोपदेश २:२१.
[फुटनोट]
a मे १, १९९६, प्रहरीधरहरा अंकको “पाठकहरूका प्रश्नहरू” हेर्नुहोस्।
[पृष्ठ २८-मा भएको ठूलो अक्षरको क्याप्सन]
यहोवाले पश्चात्तापी पापीहरूलाई माफी त दिनुहुन्छ तैपनि तिनीहरूका आफ्नै कार्यको कारण कतिपय परिणामहरू भने तिनीहरूले भोग्नैपर्ने हुन्छ