प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 २/१५ pp. २५-२९
  • महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मानिसहरूले दिने महिमा म स्वीकार्दिनँ”
  • ‘तिमीहरू आफ्नो बुबाको इच्छा पूरा गर्न चाहन्छौ’
  • “यसले गर्दा तिमीहरूले महिमा पाउँछौ”
  • के तपाईं यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के तपाईं परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आउनुहोस्‌, जनभाषण सुन्‍नुहोस्‌ “आज कसले परमेश्‍वरलाई महिमा दिइरहेका छन्‌?”
    ब्यूँझनुहोस्‌!—२००३
  • जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूले परमेश्‍वरलाई महिमा दिन हामीलाई उत्प्रेरित गर्छ!
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 २/१५ pp. २५-२९

महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्‌

“नम्र मानिसले सम्मान पाउँछ।”—हितो. २९:२३.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • हामी परमेश्‍वरबाट कसरी महिमा पाउन सक्छौं?

  • परमेश्‍वरले दिनुहुने महिमा पाउनदेखि हामीलाई के-कस्ता कुराले रोक्न सक्छ?

  • हाम्रो सहनशीलताले गर्दा अरूले कुन अर्थमा महिमा पाउन सक्छन्‌?

१, २. (क) “महिमा”-को लागि प्रयोग गरिएको मौलिक भाषाको शब्दले केलाई बुझाउँछ? (ख) यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

“महिमा।”a यो शब्द सुन्‍नेबित्तिकै तपाईंको मनमा कुन कुरा आउँछ? के तपाईं सृष्टिको सुन्दरताबारे सोच्नुहुन्छ? (भज. १९:१) अथवा धनी, बुद्धिमान्‌ र सफल व्यक्‍तिहरूलाई दिइने प्रशंसा अनि सम्मानबारे पो सोच्नुहुन्छ कि? बाइबलमा “महिमा”-को लागि प्रयोग गरिएको मौलिक शब्दले “गह्रौं” भन्‍ने अर्थ दिन्छ। पुरातन समयका सिक्का बहुमूल्य धातुबाट बनाइएका हुन्थे। सिक्का जति गह्रौं भयो, त्यसको मोल त्यति नै बढी हुन्थ्यो। त्यसकारण “महिमा” भनेर अनुवाद गरिएको शब्दले कुनै मूल्यवान्‌ वा आकर्षक कुरालाई बुझाउँछ।

२ मानिसहरू अक्सर नाम अनि दाम कमाएकाहरूलाई मान गर्छन्‌। तर यहोवा कस्तो मानिसलाई मान गर्नुहुन्छ? हितोपदेश २२:४ यसो भन्छ: “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌।” चेला याकूबले पनि यस्तो लेखे: “आफूलाई यहोवाको नजरमा नम्र बनाओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।” (याकू. ४:१०) यहोवा मानिसहरूलाई कसरी महिमा दिनुहुन्छ? यस्तो महिमा पाउनदेखि हामीलाई के-कस्ता कुराले रोक्न सक्छ? अनि यस्तो महिमा पाउन अरूलाई कसरी मदत गर्न सक्छौं?

३-५. यहोवा हामीलाई कसरी महिमा दिनुहुन्छ?

३ यहोवाबाट महिमा पाउने कुरामा भजनरचयिता विश्‍वस्त थिए। (भजन ७३:२३, २४ पढ्‌नुहोस्‌) आज्ञाकारी मानिसलाई यहोवा कसरी महिमा दिनुहुन्छ? विभिन्‍न तरिकामा। जस्तै:- उहाँको इच्छा बुझ्न यहोवा तिनीहरूलाई मदत दिनुहुन्छ। (१ कोरि. २:७) साथै यहोवा उहाँको कुरा सुन्‍ने अनि उहाँप्रति आज्ञाकारी हुनेहरूलाई आफूसित नजिक हुने मौका दिनुहुन्छ।—याकू. ४:८.

४ सुसमाचार प्रचार गर्ने काम सुम्पेर पनि यहोवाले हामीलाई महिमा दिनुभएको छ। (२ कोरि. ४:१, ७) यो काम पूरा गर्दा हामी यहोवाबाट महिमा पाउँछौं। यहोवाको प्रशंसा गर्न अनि अरूलाई मदत दिन प्रचारकार्यमा भाग लिनेहरूलाई उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “मलाई आदर गर्नेलाई म आदर गर्नेछु।” (१ शमू. २:३०) तिनीहरूले यहोवाको नजरमा असल नाम कमाउँछन्‌ अनि उहाँका अरू सेवकहरूबाट पनि प्रशंसा पाउँछन्‌। यसप्रकार यहोवा तिनीहरूलाई आदर गर्नुहुन्छ।—हितो. ११:१६; २२:१.

५ ‘परमप्रभुको बाटो हेर्ने अनि उहाँको मार्गमा हिंड्‌नेहरूको’ भविष्य कस्तो छ? बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “[यहोवाले] तँलाई देश अधिकार गर्न बढाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्‌।” (भज. ३७:३४) यहोवाले तिनीहरूलाई अनन्त जीवनको आशा दिएर महिमा दिनुभएको छ।—भज. ३७:२९.

“मानिसहरूले दिने महिमा म स्वीकार्दिनँ”

६, ७. थुप्रै मानिसले येशूलाई मसीहको रूपमा किन स्वीकारेनन्‌?

६ यहोवाले दिन चाहनुभएको महिमा पाउनदेखि हामीलाई के-कस्ता कुराले रोक्न सक्छ? एउटा कुरा हो, यहोवासित राम्रो सम्बन्ध नगाँसेका मानिसहरूको विचारधारालाई बढी नै महत्त्व दिनु। येशूको समयका केही शासकबारे प्रेषित यूहन्‍नाले के लेखे, विचार गर्नुहोस्‌: “शासकहरूमध्ये धेरै जनाले [येशूमाथि] विश्‍वास गर्थे तर सभाघरबाट निष्कासित हुन नपरोस्‌ भनेर फरिसीहरूको डरले गर्दा उहाँलाई खुलेआम स्वीकार्दैनथे; किनकि तिनीहरू परमेश्‍वरबाट पाउने प्रशंसाभन्दा मानिसहरूबाट पाउने प्रशंसा बढी मन पराउँथे।” (यूह. १२:४२, ४३) ती शासकहरूले फरिसीहरूको विचारधारालाई त्यति धेरै महत्त्व नदिएको भए कत्ति राम्रो हुने थियो!

७ मानिसहरूले येशूलाई मसीहको रूपमा नस्वीकार्नुको कारणबारे उहाँले स्पष्टसित बताउनुभयो। (यूहन्‍ना ५:३९-४४ पढ्‌नुहोस्‌) वर्षौंदेखि इस्राएलीहरू प्रतिज्ञा गरिएका मसीहको प्रतीक्षामा थिए। येशूले शिक्षा दिन थाल्दा केही मानिसले मसीह देखा पर्ने समय भयो भनेर दानियलको भविष्यवाणीबाट बुझेको हुनुपर्छ। केही महिनाअघि बप्तिस्मा गराउने यूहन्‍नाले प्रचार गर्दा थुप्रै मानिसले यस्तो सोचेका थिए: “कतै यिनी नै ख्रीष्ट हुन्‌ कि?” (लूका ३:१५) मानिसहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेका मसीह अब उनीहरूकै माझमा हुनुहुन्थ्यो। तर व्यवस्थामा पोख्त शिक्षकहरूले उहाँलाई इन्कार गरे। यसको कारण औंल्याउँदै येशूले उनीहरूलाई यसरी सोध्नुभयो: “यदि तिमीहरू एक-अर्काबाट महिमा खोज्छौ अनि एक मात्र परमेश्‍वरले दिनुहुने महिमाचाहिं खोज्दैनौ भने तिमीहरू कसरी मलाई विश्‍वास गर्न सक्छौ?”

८, ९. मानिसहरूले दिने महिमाले गर्दा यहोवाले दिने महिमा कसरी ओझेलमा पर्न सक्छ, उदाहरण दिनुहोस्‌।

८ मानिसहरूले दिने महिमाले गर्दा यहोवाले दिने महिमा ओझेलमा पर्न सक्छ। यो कुरा बुझ्न महिमालाई ज्योतिसित तुलना गरौं। हाम्रो ब्रह्‍माण्ड ज्योतिले भरिपूर्ण छ। तपाईंले पछिल्लो पटक खुला आकाशमा हजारौं तारा कहिले हेर्नुभएको थियो? “ताराको गौरव” साँच्चै अचम्मलाग्दो छ। (१ कोरि. १५:४०, ४१) तर त्यही आकाशलाई झलमल्ल बत्ती बलिरहेको सहरबाट हेर्दा कस्तो देखिन्छ? बत्तीको उज्यालोले गर्दा ताराको चमक देख्न गाह्रो हुन्छ। तर के यसो हुनुको कारण सडक, रङ्‌गशाला र भवनहरूमा बलिरहेको बत्ती ताराभन्दा चहकिलो भएकोले हो? होइन। बत्तीको उज्यालो नजिकै भएकोले ताराको चमक देख्न गाह्रो भएको हो। त्यसकारण सुन्दर ताराहरू हेर्न हामी झलमल्ल बत्ती बलिरहेको सहरबाट अन्तै जानुपर्छ।

९ त्यसैगरि हाम्रो मनमा मानिसबाट महिमा पाउने इच्छा छ भने यहोवाबाट महिमा पाउने कुरा हामीलाई कम महत्त्वपूर्ण लाग्न सक्छ। आफन्त वा परिवारका सदस्यहरूले के सोच्लान्‌ भन्‍ने डरले थुप्रै मानिस राज्य सन्देश स्वीकार्न इन्कार गर्छन्‌। तर मानिसबाट महिमा पाउने इच्छाले के समर्पित ख्रीष्टियनलाई समेत असर गर्छ? मानौं, एक जवान भाइलाई यस्तो इलाकामा प्रचार गर्न खटाइन्छ, जहाँ तिनलाई थुप्रैले चिन्छन्‌ तर तिनी यहोवाका साक्षी हुन्‌ भनेर उनीहरूलाई थाह छैन। के तिनी डराएर पछि हट्‌नेछन्‌? अथवा मानौं, कुनै भाइ वा बहिनी यहोवाको सेवामा अझ धेरै गर्ने लक्ष्य राख्छन्‌ तर अरूले तिनको खिसी गर्छन्‌। के तिनले यहोवाको सेवालाई महत्त्व नदिने व्यक्‍तिहरूको कुरा सुन्‍नेछन्‌? अथवा कुनै ख्रीष्टियनले गम्भीर गल्ती गरेका छन्‌। मण्डलीमा आफूले पाएको जिम्मेवारी गुम्ला वा साथीभाइ अनि परिवारका सदस्यहरू दुःखी होलान्‌ भन्‍ने डरले के तिनले आफ्नो गल्ती लुकाउनेछन्‌? यहोवासितको सम्बन्ध सुधार्नुलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्‌ भने तिनले ‘मण्डलीका एल्डरहरूलाई बोलाउनेछन्‌’ र मदत माग्नेछन्‌।—याकूब ५:१४-१६ पढ्‌नुहोस्‌।

१०. (क) अरूले हामीबारे के सोच्लान्‌ भनेर ज्यादै चिन्ता गऱ्‍यौं भने के हुन सक्छ? (ख) नम्र भयौं भने कुन कुरामा ढुक्क हुन सक्छौं?

१० हामी ख्रीष्टियन परिपक्वतातर्फ अघि बढ्‌दै छौं होला तर सँगी विश्‍वासीले हामीलाई सल्लाह देलान्‌। घमन्डी भयौं, इज्जतबारे ज्यादै चिन्ता गऱ्‍यौं वा सफाइ दिन खोज्यौं भने सल्लाहबाट लाभ उठाउन सक्दैनौं। अथवा मानिलिनुहोस्‌, तपाईं भाइबहिनीसित मिलेर कुनै काम गर्दै हुनुहुन्छ। के तपाईं आफूले निकालेको उपाय अनि आफ्नो मेहनतको जस अरूले नै पाउने हो कि भनेर चिन्ता गर्नुहुन्छ? तपाईं यीमध्ये कुनै अवस्थामा हुनुहुन्छ भने “नम्र मानिसले सम्मान पाउँछ” भन्‍ने कुरा नबिर्सनुहोस्‌।—हितो. २९:२३.

११. अरूले प्रशंसा गर्दा हामीले कस्तो महसुस गर्नुपर्छ र किन?

११ निरीक्षकहरूका साथै मण्डलीमा जिम्मेवारी पाउन ‘अघि बढिरहेका’ भाइहरूले मानिसहरूबाट प्रशंसा खोज्नु हुँदैन। (१ तिमो. ३:१; १ थिस्स. २:६) राम्रो कामको प्रशंसा पाउँदा कुनै भाइले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? तिनले राजा शाऊलले जस्तै आफ्नो निम्ति स्मारक त खडा नगर्लान्‌। (१ शमू. १५:१२) तर यहोवाको असीम अनुग्रहले गर्दा नै उक्‍त काम सम्भव भएको हो र पछि सफल हुन पनि परमेश्‍वरको आशिष्‌ अनि मदत चाहिन्छ भनेर के तिनी स्वीकार्छन्‌? (१ पत्रु. ४:११) अरूले प्रशंसा गर्दा हामी कस्तो महसुस गर्छौं, त्यसले नै हामी कस्तो किसिमको महिमा चाहन्छौं भनेर देखाउँछ।—हितो. २७:२१.

‘तिमीहरू आफ्नो बुबाको इच्छा पूरा गर्न चाहन्छौ’

१२. केही यहूदीले येशूको सन्देश किन सुनेनन्‌?

१२ यहोवाले दिनुहुने महिमा पाउनदेखि हामीलाई रोक्ने अर्को कुरा हो, हाम्रो चाहना। गलत चाहनाले गर्दा हामीलाई सत्य कुरा सुन्‍न पटक्कै मन नलाग्न सक्छ। (यूहन्‍ना ८:४३-४७ पढ्‌नुहोस्‌) ‘आफ्नो बुबा दियाबलको इच्छा पूरा गर्न चाहेकोले’ केही यहूदीले येशूको सन्देश सुनेनन्‌।

१३, १४. (क) अनुसन्धानकर्ताहरूले हाम्रो मस्तिष्क अनि मानव आवाजबारे के पत्ता लगाएका छन्‌? (ख) हामी कसको कुरा सुन्‍नेछौं भनेर केले निर्धारण गर्छ?

१३ हामी आफूलाई सुन्‍न मन लागेको कुरा मात्र सुन्छौं। (२ पत्रु. ३:५) यहोवाले हामीलाई अनावश्‍यक आवाजलाई बेवास्ता गर्न सक्ने क्षमतासहित सृष्टि गर्नुभएको छ। अहिले तपाईं कतिवटा आवाज सुन्‍न सक्नुहुन्छ, एकछिन ध्यान दिएर सुन्‍नुहोस्‌ त। यसरी ध्यान दिएर सुन्‍नुअघि कतिपय आवाज त तपाईंले यादै गर्नुभएको थिएन होला। किन? तपाईंको मस्तिष्कसित ती सबै आवाज टिप्न सक्ने क्षमता भए तापनि यसले तपाईंलाई एउटा मात्र आवाजमा ध्यान दिन मदत गरिरहेको थियो। तर मानिसको आवाज सुन्‍ने सन्दर्भमा भने एकै पटकमा धेरै जनाको कुरामा ध्यान दिनु झनै गाह्रो हुन्छ। अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार हामी एक पटकमा एक जनाको कुरामा मात्र ध्यान दिन सक्छौं। मतलब दुई जना व्यक्‍ति एकैचोटि बोलिरहेका छन्‌ भने कसको कुरामा ध्यान दिने भनेर तपाईंले छान्‍नुपर्ने हुन्छ। तपाईं जसको कुरा सुन्‍न चाहनुहुन्छ, उसैको कुरा सुन्‍नुहुन्छ। आफ्नो बुबा दियाबलको इच्छा पूरा गर्न चाहने यहूदीहरूले येशूको कुरा सुनेनन्‌।

१४ हामीले ‘बुद्धिको घर’ र ‘मूर्खताको घर’ दुवैबाट सन्देश पाइरहेका हुन्छौं भनी बाइबल बताउँछ। (हितो. ९:१-५, १३-१७) हामी कसको कुरा सुन्छौं? हामी जसको इच्छा पूरा गर्न चाहन्छौं, त्यसैको कुरा सुन्छौं। येशूका भेडाहरूले उहाँको सोर सुन्‍नेछन्‌ र उहाँको मार्ग पछ्याउनेछन्‌। (यूह. १०:१६, २७) तिनीहरू “सत्यको पक्षमा” छन्‌। (यूह. १८:३७) “अपरिचित मानिसहरूको सोर तिनीहरूले चिन्दैनन्‌।” (यूह. १०:५) त्यस्ता नम्र मानिसहरूले परमेश्‍वरबाट महिमा पाउँछन्‌।—हितो. ३:१३, १६; ८:१, १८.

“यसले गर्दा तिमीहरूले महिमा पाउँछौ”

१५. पावलले भोगेको सङ्‌कष्टले गर्दा अरूले कसरी ‘महिमा पाउने थिए?’

१५ हामी अरूलाई परमेश्‍वरको महिमा पाउन कसरी मदत गर्न सक्छौं? एउटा तरिका हो, सहनशीलताको उदाहरण बसालेर। एफिससको मण्डलीलाई पठाएको पत्रमा पावलले यस्तो लेखे: “तिमीहरूको खातिर मैले भोगेका यी सङ्‌कष्टहरूको कारण हरेस नखान म तिमीहरूलाई आग्रह गर्छु, किनकि यसले गर्दा तिमीहरूले महिमा पाउँछौ।” (एफि. ३:१३) पावलले भोगेको सङ्‌कष्टले गर्दा एफिससका भाइबहिनीले कुन अर्थमा ‘महिमा पाउने थिए?’ गाह्रो परिस्थितिको बाबजुद ती भाइबहिनीको सेवा गरिरहन पावल तयार भए। यसले गर्दा ख्रीष्टियनको रूपमा आफूले पाएको सुअवसर गहन अनि सबैभन्दा मूल्यवान्‌ छ भनेर तिनीहरूले बुझ्न सके। परीक्षा आइपर्दा पावलले हरेस खाएका भए के ती भाइबहिनीले यहोवासितको आफ्नो सम्बन्ध, आफूले गरेको सेवा अनि आफ्नो आशा महत्त्वपूर्ण छैन भनेर सोच्ने थिएनन्‌ र? सहनशीलताको राम्रो उदाहरण बसालेर पावलले ख्रीष्टको चेलाको रूपमा जस्तोसुकै त्याग गर्नुपरे तापनि त्यो खेर जाँदैन भनेर देखाए।

१६. पावलले लिस्त्रामा कस्तो सङ्‌कष्ट भोगे?

१६ पावलको जोस अनि सहनशीलताले भाइबहिनीलाई कस्तो असर गऱ्‍यो, विचार गर्नुहोस्‌। प्रेषित १४:१९, २० यसो भन्छ: “एन्टिओक र आइकोनियमबाट आइपुगेका यहूदीहरूले भीडलाई उक्साए। अनि तिनीहरूले पावललाई ढुङ्‌गा हाने र तिनी मरे होलान्‌ भन्ठानेर [लिस्त्रा] सहरबाहिर घिसार्दै लगे। तर जब चेलाहरू तिनको वरिपरि उभिए, तिनी उठे र सहरभित्र पसे। अनि भोलिपल्ट बर्णाबाससँग डर्बी गए।” मरणासन्‍न अवस्थामा छोडिएको व्यक्‍तिलाई भोलिपल्टै १०० किलोमिटर लामो पदयात्रा गर्नु कत्ति गाह्रो भयो होला, कल्पना गर्नुहोस्‌ त!

१७, १८. (क) पावलले लिस्त्रामा भोगेका सङ्‌कष्टहरू तिमोथीले कुन अर्थमा राम्ररी देखेका थिए? (ख) पावलको सहनशीलताले तिमोथीमा कस्तो असर पाऱ्‍यो?

१७ पावललाई ढुङ्‌गाले हानिंदा के तिमोथी पनि त्यहीं थिए? प्रेषितको किताबले यसबारे केही बताएको छैन तर सायद थिए होलान्‌। तिमोथीलाई पठाएको दोस्रो पत्रमा पावलले के लेखे, विचार गर्नुहोस्‌: “तिमीले भने मेरो शिक्षा, मेरो जीवनशैली, . . . राम्ररी देखेका छौ। . . . एन्टिओक [सहरबाहिर धपाइएको], आइकोनियम [ढुङ्‌गा हान्‍ने योजना बनाइएको] र लिस्त्रामा [ढुङ्‌गा हानिएको] ममाथि के-के आइपऱ्‍यो, त्यो पनि तिमीलाई थाह छ; तैपनि प्रभुले मलाई यी सबै खेदोहरूबाट छुटाउनुभयो।”—२ तिमो. ३:१०, ११; प्रेषि. १३:५०; १४:५, १९.

१८ तिमोथीले ती घटनाहरू “राम्ररी देखेका” थिए र उनलाई पावलको सहनशीलताबारे राम्ररी थाह थियो। यसले तिमोथीको मनमा गहिरो छाप पाऱ्‍यो। पावल लिस्त्रा आउँदा तिमोथी उदाहरणीय ख्रीष्टियन भइसकेका थिए। “लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे।” (प्रेषि. १६:१, २) पछि तिमोथी थुप्रै गहन जिम्मेवारी वहन गर्न योग्य भए।—फिलि. २:१९, २०; १ तिमो. १:३.

१९. हाम्रो लगनशीलताले अरूमा कस्तो प्रभाव पार्छ?

१९ परमेश्‍वरको इच्छा पूरा गर्न लगनशील भई लागिरह्‍यौं भने हाम्रो उदाहरणले विशेषगरि युवाहरूलाई परमेश्‍वरको बहुमूल्य सेवक बन्‍न मदत गर्न सक्छ। क्षेत्र सेवामा हामी कसरी बोल्छौं, त्यो हेरेर युवाहरूले हामीबाट सिक्छन्‌। साथै गाह्रोसाह्रो परिस्थिति आइपर्दा हामी कसरी त्यसको सामना गर्छौ, त्यो हेरेर पनि लाभ उठाउँछन्‌। वफादार रहिरहने सबैले “उद्धार हासिल गर्नुका साथै अनन्त महिमा पनि पाऊन्‌” भनेर पावलले ‘सबै कुरा सहिरहे।’—२ तिमो. २:१०.

युवाहरू लगनशील भई लागिरहने पाका भाइबहिनीको मोल गर्छन्‌

२०. परमेश्‍वरले दिनुहुने महिमा हामीले किन खोजिरहनुपर्छ?

२० त्यसोभए के हामीले ‘एक मात्र परमेश्‍वरले दिनुहुने महिमा खोजिरहनुपर्दैन’ र? (यूह. ५:४४; ७:१८) निश्‍चय नै पर्छ। (रोमी २:६, ७ पढ्‌नुहोस्‌) “गौरव . . . खोज्नेहरूलाई उहाँले अनन्त जीवन दिनुहुनेछ।” साथै हामीले “निरन्तर असल काम” गर्दा यसले अरू भाइबहिनीलाई वफादार रहिरहन अनि अनन्त जीवन पाउन मदत गर्नेछ। तसर्थ परमेश्‍वरले दिनुहुने महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्‌।

a महिमा भनेर अनुवाद गरिएको मौलिक भाषाको शब्दलाई नेपाली बाइबलमा सम्मान, मान, गौरव, यश, आदर अनि प्रशंसा भनेर पनि अनुवाद गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने