अध्याय ५२
प्रभावकारी अर्ती तथा आग्रह
ख्रीष्टियन एल्डरहरू “साँचो शिक्षाद्वारा प्रोत्साहन” दिन सक्ने अर्थात् अर्ती दिने र आग्रह गर्ने हुनै पर्छ। (ती. १:९) कहिलेकाहीं त असाध्यै गाह्रो परिस्थितिमा समेत यसो गर्नै पर्ने हुन्छ। सल्लाह दिंदा बाइबलमा आधारित हुनुपर्छ। त्यसकारण एल्डरहरूले यो सल्लाह पालन गर्नै पर्छ: “अर्ती दिने . . . काममा लागिरह।” (१ तिमो. ४:१३) हुन त यस अध्यायमा छलफल गरिने विषय विशेषगरि एल्डरहरूलाई वा उक्त सुअवसर प्राप्त गर्न अघि बढिरहेकाहरूलाई लागू हुन्छ। तर यही सिद्धान्त छोराछोरीलाई अनि बाइबल विद्यार्थीलाई सिकाउँदा पनि लागू गर्नुपर्छ।
अर्ती दिनुपर्ने तथा आग्रह गर्नुपर्ने अवस्था: कस्तो अवस्थामा अर्ती दिनुपर्ने तथा आग्रह गर्नुपर्ने हुन्छ भनेर तय गर्न यससम्बन्धी बाइबलमा दिइएका विवरण जाँच्नु मदतकारी हुन्छ। एल्डरहरूले गोठालोले झैं परमेश्वरको बगालको हेरचाह गर्नुपर्ने जिम्मेवारीमा ध्यान दिनुपर्छ भनेर प्रेषित पत्रुसले आग्रह गरे। (१ पत्रु. ५:१, २) युवाहरूलाई “सुझबुझ चलाउन” प्रोत्साहन दिनू भनी पावलले तीतसलाई सल्लाह दिए। (ती. २:६) पावलले सँगी ख्रीष्टियनहरूलाई ‘एउटै कुरा बोल्न’ र भाइबहिनीहरूबीच फूट गराउन खोज्नेहरूदेखि जोगिन आग्रह गरे। (१ कोरि. १:१०; रोमी १६:१७; फिलि. ४:२) पावलले थिस्सलोनिकाको मण्डलीका भाइबहिनीले गरिरहेको असल कामको प्रशंसा गरे तापनि तिनीहरूले पाएको निर्देशनबमोजिम अझ राम्ररी हिंड्न आग्रह गरे। (१ थिस्स. ४:१, १०) पत्रुसले सँगी ख्रीष्टियनहरूलाई “शरीरका लालसाहरूदेखि अलग बसिरहो” भनी आग्रह गरे। (१ पत्रु. २:११) यहूदाले आफ्ना ख्रीष्टियन भाइहरूलाई छाडा आचरणमा डुबेका दुष्ट मानिसहरूको प्रभावदेखि बच्नको लागि “विश्वासको निम्ति अझ परिश्रम गरेर लड” भनी आग्रह गरे। (यहू. ३, ४) पापको भ्रामक शक्तिले गर्दा कोही पनि कठोर नहोऊन् भनेर एक-अर्कालाई अर्ती दिन सबै ख्रीष्टियनलाई आग्रह गरिएको छ। (हिब्रू ३:१३) अझसम्म ख्रीष्टमा विश्वास नगरिसकेका यहूदीहरूलाई पत्रुसले यस्तो प्रोत्साहन दिए: “यस टेढो पुस्तासँगसँगै नाश नहोओ।”—प्रेषि. २:४०.
त्यस्ता अवस्थामा दिइने सल्लाहलाई प्रभावकारी बनाउन कस्ता गुणहरू आवश्यक पर्छन्? दिइएको अर्ती र गरिएको आग्रह लागू गरिहाल्नुपर्ने किसिमको हो भनेर अर्ती दिने व्यक्तिले रूखो वा कठोर नभईकन कसरी बुझाउन सक्छन्?
“प्रेमपूर्वक”: “प्रेमपूर्वक” अर्ती दिइएको छैन भने कठोर सुनिन सक्छ। (फिले. ९) तुरुन्तै कदम चालिहाल्नुपर्ने अवस्था छ भने वक्ताको प्रस्तुतिमा त्यस्तो भाव झल्किनुपर्छ। नरम भएर बोल्दा सल्लाह दिनुपरेकोले माफी मागेको जस्तो देखिन सक्छ। अर्कोतर्फ सल्लाह दिंदा गम्भीरता झल्काउनुपर्छ अनि समानुभूति देखाउनुपर्छ। प्रेमपूर्वक दिइएको सल्लाहले श्रोताहरूलाई कदम चाल्न उत्प्रेरित गर्न सक्छ। पावलले आफू अनि आफ्ना सहकर्मीहरूबारे थिस्सलोनिकीहरूलाई यसो भने: “एक जना बुबाले आफ्नो छोराछोरीलाई गरेजस्तै हामीले पनि तिमीहरू हरेकलाई कसरी अर्ती र सान्त्वना दियौं . . . त्यो तिमीहरूलाई राम्ररी थाह छ।” (१ थिस्स. २:११) ती ख्रीष्टियन निरीक्षकहरूले भाइहरूलाई प्रेमपूर्वक अर्ती दिए। तपाईंको अर्ती र आग्रहमा पनि श्रोताप्रतिको साँचो चासो देखियोस्।
कौशलता अपनाउनुहोस्। जसलाई तपाईं सल्लाह दिइरहनुभएको छ, तिनीहरूसित कठोर शैलीमा नबोल्नुहोस्। साथै श्रोतालाई “परमेश्वरको उद्देश्यबारे सबै कुरा” बताउनदेखि पछि नहट्नुहोस्। (प्रेषि. २०:२७) तपाईंले जे सही छ, त्यसैअनुसार गर्न प्रेमपूर्वक आग्रह गरेको हुनाले सल्लाहप्रति कृतज्ञ व्यक्तिहरू न अपमानित महसुस गर्छन् न त तपाईंप्रति तिनीहरूको माया नै सेलाउँछ।—भज. १४१:५.
अर्ती दिनुअघि वा आग्रह गर्नुअघि तोकेरै निष्कपट प्रशंसा गर्दा अक्सर बेस हुन्छ। भाइबहिनीले गरिरहेका असल कामहरू अर्थात् यहोवालाई प्रसन्न पार्न गरिरहेका कामहरूबारे सोच्नुहोस्। जस्तै, तिनीहरूको काममा झल्किने विश्वास, अझ परिश्रम गर्न उत्प्रेरित गर्ने प्रेम र परीक्षाहरूको बेला देखाएको सहनशीलता। (१ थिस्स. १:२-८; २ थिस्स. १:३-५) यसरी प्रशंसा गर्दा तपाईं तिनीहरूको कदर गर्नुहुन्छ र तिनीहरूको कुरा बुझ्नुहुन्छ भनेर तिनीहरूले महसुस गर्छन् र सल्लाह सुन्न मानसिक रूपमा तयार हुन्छन्।
“असाध्यै धीरजी भएर”: अर्ती दिंदा “असाध्यै धीरजी” हुनुपर्छ। (२ तिमो. ४:२) यसो गर्नुमा के समावेश छ? धीरज गर्नुमा अरूले खराबी गर्दा वा रिस उठाउँदा सहनु समावेश छ। धीरजी व्यक्तिले आफ्नो आग्रहअनुसार श्रोताहरूले गर्नेछन् भनी आशा राख्छ। यसरी धीरजी हुँदै अर्ती दिंदा तपाईंले तिनीहरूमा खराबीबाहेक केही देख्नुहुन्न भनेर श्रोताहरूले सोच्नेछैनन्। ख्रीष्टियन भाइबहिनीले आफ्नो क्षमताले भ्याएजति यहोवाको सेवा गरिरहेका छन् भनेर विश्वस्त भएको देखाउनुभयो भने तिनीहरू जे सही छ, त्यही गर्न अझै इच्छुक हुनेछन्।—हिब्रू ६:९.
“साँचो शिक्षाद्वारा प्रोत्साहन” दिएर: एक जना एल्डरले “साँचो शिक्षाद्वारा” कसरी “प्रोत्साहन” दिन सक्छन्? ‘आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्वासयोग्य वचनलाई दह्रोसित पक्रिराखेर।’ (ती. १:९) प्रोत्साहन दिंदा आफ्नो व्यक्तिगत विचारधारालाई नभई परमेश्वरको वचनलाई आधार बनाउनुहोस्। बाइबलअनुसार आफ्नो भनाइ ढाल्नुहोस्। छलफल गरिरहेको विषयमा बाइबलले दिने निर्देशनअनुसार चल्दा कस्ता फाइदा हुन्छन्, त्यसबारे एक-एकगरि बताउनुहोस्। परमेश्वरको वचनअनुसार नचल्दा अहिले अनि भविष्यमा कस्ता नतिजाहरू भोग्नुपर्नेछ, आफ्नो दिमागमा ठप्प राख्नुहोस् र उचित कदम चाल्नु किन जरुरी छ, श्रोताहरूलाई बुझाउन त्यही कुराहरू बताउनुहोस्।
श्रोतालाई तिनीहरूले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनेर स्पष्टसित बताउनुहोस्। तपाईंको तर्क पूर्णतया बाइबलमा आधारित छ भनेर प्रस्ट पार्नुहोस्। कुनै विषयमा निर्णय गर्दा बाइबलले तोकेको हदबारे उल्लेख गर्न सक्नुहुन्छ। दिइएको सल्लाह अनुरूप कदम चाल्ने श्रोताहरूको सङ्कल्पलाई अझ बलियो पार्न उक्त सल्लाह अन्तमा दोहोऱ्याउनुहोस्।
“निर्धक्क भई साहसका साथ” बोलेर: अरूलाई प्रभावकारी तरिकामा अर्ती दिन र आग्रह गर्न “निर्धक्क भई साहसका साथ आफ्नो ख्रीष्टियन विश्वासबारे” बोल्नै पर्छ। (१ तिमो. ३:१३) निर्धक्क भई बोल्न केले मदत गर्छ? भाइबहिनीलाई कुनै काम गर्न आग्रह गर्ने व्यक्तिले पहिला आफैले त्यस “असल कामको उदाहरण” बसालेको हुनुपर्छ। (ती. २:६, ७; १ पत्रु. ५:३) यसरी उक्त व्यक्तिले असल कामको उदाहरण बसालेका छन् भने उनले गर्दै नगरेको काम तिनीहरूबाट आशा गरिरहेका छैनन् भनी तिनीहरूले बुझ्नेछन्। अर्ती दिने र आग्रह गर्ने व्यक्तिले ख्रीष्टको अनुकरण गर्ने कोसिस गरेझैं तिनीहरूले पनि उनको विश्वासको अनुकरण गर्न सकिंदो रहेछ भनेर बुझ्नेछन्।—१ कोरि. ११:१; फिलि. ३:१७.
परमेश्वरको वचनमा आधारित भएर प्रेमपूर्वक अर्ती दिइएको छ र आग्रह गरिएको छ भने परिणाम राम्रो हुनेछ। अर्ती दिने र आग्रह गर्ने जिम्मेवारी पाएकाहरूले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न मेहनत गर्नुपर्छ।—रोमी १२:८.