येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो?
के तपाईंसँग येशूको वास्तविक फोटो छ? सायद छैन किनभने येशूले कहिल्यै आफ्नो चित्र वा मूर्ति बनाउन लगाउनुभएन। तैपनि शताब्दियौंको दौडान कलाकारहरूले आफ्नो कलाकृतिमा उहाँको चित्र र मूर्ति बनाएको पाइन्छ।
ती चित्रकारहरूलाई येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो भनेर थाह थिएन। तिनीहरूले प्रायः आफू बस्ने ठाउँको प्रचलन, धार्मिक आस्था र मानिसहरूको मागअनुसार येशूको आकृति बनाउने गर्थे। यसले गर्दा येशूको वास्तविकता र उहाँको शिक्षाहरू ओझेलमा पर्न सक्थ्यो। साथै येशूलाई हेर्ने मानिसहरूको दृष्टिकोणमा असर पर्न सक्थ्यो।
केही कलाकारहरूले येशूलाई लामो कपाल-दाह्री भएको कमजोर र दुःखी मान्छेको रूपमा चित्रण गर्छन्। अरू कतिले भने येशूलाई आत्मिक प्राणीको रूपमा वा वरपरका मानिसहरूको वास्ता नराख्ने एकलकाँटे व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। के यस्ता कलाकृतिहरूले येशूको वास्तविक चिनारी बुझ्न मदत गर्छ? येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो भनेर कसरी थाह पाउन सक्छौं? एउटा तरिका भनेको बाइबलको विवरण राम्रोसँग केलाउनु हो। बाइबलमा येशूसम्बन्धी बताइएको विवरण जाँच्यौं भने येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो भनेर दिमागमा चित्र कोर्न सक्छौं। साथै हामीले उहाँलाई कुन दृष्टिकोणले हेर्नुपर्छ, त्यो पनि थाह पाउन सक्छौं।
“तपाईंले मेरो निम्ति एउटा शरीर तयार पार्नुभयो”
येशूले बप्तिस्मा गर्ने बेला आफ्नो प्रार्थनामा यी शब्दहरू व्यक्त गर्नुभएको थियो। (हिब्रू १०:५; मत्ती ३:१३-१७) येशूको निम्ति तयार पारिएको शरीर कस्तो थियो? येशूले बप्तिस्मा गर्नुभन्दा तीस वर्षअघि गब्रिएल नामको स्वर्गदूतले मरियमलाई यसो भनेका थिए: “तिमीले गर्भधारण गर्नेछ्यौ र एउटा छोरो जन्माउनेछ्यौ, . . . परमेश्वरको छोरा।” (लूका १:३१, ३५) त्यसैले पहिलो मानिस आदम सुरुमा त्रुटिरहित भएजस्तै येशू पनि त्रुटिरहित व्यक्ति हुनुहुन्थ्यो। येशू पक्कै पनि हृष्टपुष्ट र हट्टाकट्टा हुनुहुन्थ्यो। उहाँको अनुहार र केही आनीबानी उहाँको यहूदी आमा मरियमसँग मिल्दोजुल्दो थियो होला।
रोमीहरूको प्रचलनभन्दा ठिक उल्टो यहूदीहरूमाझ दाह्री पाल्ने प्रचलन थियो। येशूले पनि दाह्री-जुङ्गा पाल्नुभएको थियो। दाह्री यहूदीहरूमाझ प्रतिष्ठा र आदरको चिन्ह थियो। तर दाह्री चिटिक्क मिलाएको हुनुपर्थ्यो, असाध्यै लामो वा फोहोर हुनु हुँदैनथ्यो। येशूले पनि आफ्नो कपाल र दाह्री चिटिक्क मिलाएर काट्नुभएको कल्पना गर्न सक्छौं। शिमशोनजस्तै नाजिरीहरूले मात्र कपाल कहिल्यै काट्दैन थिए।—गन्ती ६:५; न्यायकर्ता १३:५.
तीस वर्षको हुँदासम्म येशूले सिकर्मीको रूपमा काम गर्नुभयो। त्यतिबेला अहिलेको जस्तो अत्याधुनिक उपकरणहरू नभएकोले सिकर्मीले काम गर्न निकै मेहनत गर्नुपर्थ्यो। (मर्कूस ६:३) त्यसैले येशू शारीरिक रूपमा तन्दुरुस्त र बलियो हुनुहुन्थ्यो भन्ने कुरामा कुनै दुई मत छैन। आफ्नो सेवाको सुरुतिर येशूले गाईवस्तु, भेडा र ढुकुर बेच्नेहरू अनि सराफीहरूलाई मन्दिरमा व्यापार गरिरहेका भेट्टाउनुभयो। उहाँ एक्लैले “तिनीहरू सबैलाई तिनीहरूका भेडा र गाईवस्तुको साथमा मन्दिरबाट लघार्नुभयो अनि पैसा साट्नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो।” (यूहन्ना २:१४-१७) त्यस्तो असाधारण काम गर्न निकै बल र साहस चाहिन्छ नि होइन? परमेश्वरले सुम्पनुभएको जिम्मेवारी येशूले पूरा गर्नुभयो: “मैले अरू सहरहरूमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) पूरै प्यालेस्टाइनमा हिंडेर सुसमाचार प्रचार गर्नु कुनै बच्चाको खेल थिएन।
“मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
“कठोर श्रमले थाकेका र भारले दबिएका” मानिसहरूलाई येशूले यस्तो न्यानो निमन्त्रणा दिंदा तिनीहरूको मन कत्ति छोयो होला। (मत्ती ११:२८-३०) येशू दयालु र मायालु हुनुहुन्थ्यो। त्यसैले उहाँबाट सिक्न इच्छुक हुनेहरूले स्फूर्ति पाउने थिए। साना केटाकेटीहरू समेत येशूको नजिक आउन रुचाउँथे। बाइबल भन्छ: “उहाँले ती केटाकेटीहरूलाई आफ्नो अँगालोमा लिनुभयो।”—मर्कूस १०:१३-१६.
हुन त येशूले पनि आफ्नो मृत्युअघि दु:ख र पीडा भोग्नुभयो तर उहाँ सधैं निराशामा डुबिरहने मानिस हुनुहुन्नथ्यो। उदाहरणको लागि, उहाँ विवाह भोजमा जानुहुन्थ्यो। कानामा भएको विवाह भोजमा उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभयो। (यूहन्ना २:१-११) अरू थुप्रै अवसरमा येशूले मानिसहरूलाई धेरै राम्रा शिक्षाहरू सिकाउनुभयो।—मत्ती ९:९-१३; यूहन्ना १२:१-८.
त्यति मात्र होइन, येशूले गर्नुभएको प्रचारकार्यले गर्दा थुप्रै मानिसले अनन्त जीवनको आशा पाए। (यूहन्ना ११:२५, २६; १७:३) सत्तरी जना चेलाहरूले येशूलाई प्रचारकार्यबारे आफ्नो अनुभव सुनाउँदा उहाँ “असाध्यै खुसी हुनुभयो” र यसो भन्नुभयो: “तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।”—लूका १०:२०, २१.
“तिमीहरूबीच भने यस्तो हुनु हुँदैन”
येशूका समयका धर्मगुरुहरू मानिसहरूको ध्यान आफूतर्फ खिचेर उनीहरूमाथि अख्तियार जमाउन खोज्थे। (गन्ती १५:३८-४०; मत्ती २३:५-७) तर त्यसको ठिक उल्टो येशूले आफ्ना प्रेषितहरूलाई अरूमाथि “हैकम” नचलाउन निर्देशन दिनुभयो। (लूका २२:२५, २६) येशूले यस्तो चेतावनी दिनुभयो: “शास्त्रीहरूदेखि होसियार बस, किनकि तिनीहरू लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्, बजारहरूमा विशेष अभिवादन गरेको चाहन्छन्।”—मर्कूस १२:३८.
येशू अरूको ध्यान आफूतर्फ खिच्न चाहनुहुन्नथ्यो। एक पटक चाड मनाउन जाँदा उहाँ भीडसँगै मिसिनुभयो र कसैले नदेख्नेगरि सुटुक्क जानुभयो। (यूहन्ना ७:१०, ११) आफ्नो एघार जना प्रेषितमाझ पनि उहाँ विशेष देखिन खोज्नुहुन्नथ्यो। त्यसैले धोकेबाज यहूदाले भीडसामु येशूलाई चिनाउन चुम्बन गरे।—मर्कूस १४:४४, ४५.
येशू कस्तो देखिनुहुन्थ्यो भनेर हामीसँग विस्तृत जानकारी छैन। त्यसैले कलाकृतिहरूमा चित्रण गरिएको जस्तो उहाँ देखिनुहुन्न भन्ने निष्कर्षमा पुग्न सक्छौ। येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो भन्ने कुराभन्दा पनि अहिले हामी उहाँलाई कुन दृष्टिकोणले हेर्छौं, त्यो कुरा महत्त्वपूर्ण छ।
“केही बेरपछि संसारले मलाई देख्नेछैन”
येशूले यी शब्दहरू भन्नुभएकै दिन उहाँ मारिनुभयो र चिहानमा गाडिनुभयो। (यूहन्ना १४:१९) उहाँले “धेरैको निम्ति फिरौतीस्वरूप” आफ्नो ज्यान दिनुभयो। (मत्ती २०:२८) तेस्रो दिनमा परमेश्वरले येशूलाई आत्मिक शरीरमा पुनर्जीवित पार्नुभयो र केही चेलाहरूसामु “प्रकट हुने अनुमति दिनुभयो।” (१ पत्रुस ३:१८; प्रेषित १०:४०) यस पटक चेलाहरूसामु देखा पर्दा येशू कस्तो देखिनुहुन्थ्यो? उहाँ पहिलेभन्दा अलि फरक देखिनुहुन्थ्यो। त्यसैले उहाँका आफ्नै चेलाहरूले समेत उहाँलाई झट्टै चिन्न सकेनन्। मरियम मग्दलिनीले उहाँलाई देख्दा बगैंचे ठानिन् अनि इम्माउस जाँदा दुई जना चेलाले उहाँलाई अपरिचित व्यक्ति ठाने।—लूका २४:१३-१८; यूहन्ना २०:१, १४, १५.
त्यसोभए आज हामीले येशूलाई कसरी हेर्नुपर्छ? येशूको मृत्यु भएको साठी वर्षपछि प्रेषित यूहन्नाले येशूलाई दर्शनमा देखे। यूहन्नाले येशूलाई मृत अवस्थामा क्रसमा झुन्डिरहेको देखेनन्, बरु तिनले येशूलाई “राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु”-को रूपमा देखे। उहाँले परमेश्वरका सबै शत्रुहरूलाई छिट्टै नाश गर्नुहुनेछ र मानिसहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ।—प्रकाश १९:१६; २१:३, ४.