प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ३/१५ pp. २५-२९
  • “पछाडि फर्केर” नहेर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “पछाडि फर्केर” नहेर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ती सुनौला दिनहरू
  • विगतमा गरेका त्यागहरू
  • विगतका तीता अनुभवहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “सीधा अगाडि” भविष्यतर्फ हेर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • नयाँ संसारमा प्रवेश पाउने छुटकाराको निम्ति तयारी गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • मेरो पछि लाग—यो आज्ञा पालन गर्नुमा के समावेश छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ३/१५ pp. २५-२९

“पछाडि फर्केर” नहेर्नुहोस्‌

“आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने कोही पनि परमेश्‍वरको राज्यको लायक हुँदैन।”—लूका ९:६२.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

हामीले किन ‘लूतकी पत्नीलाई सम्झनुपर्छ’?

कुन तीन वटा कुराबारे हामीले सोचिरहनु हुँदैन?

हामी कसरी यहोवाको सङ्‌गठनसँगसँगै अगाडि बढिरहन सक्छौं?

१. येशूले कस्तो चेतावनी दिनुभयो र यसबारे कस्तो प्रश्‍न उठ्‌छ?

“लूतकी पत्नीलाई सम्झ!” (लूका १७:३२) येशूले लगभग २,००० वर्षअघि दिनुभएको यो चेतावनी आज हाम्रो लागि झनै महत्त्वपूर्ण छ। तर येशूको यो गम्भीर चेतावनीको अर्थ के हो? उहाँको यो भनाइ सुन्‍ने यहूदीहरूले उहाँले भन्‍न खोज्नुभएको कुरा तुरुन्तै बुझे। लूतकी पत्नीलाई भएको घटना तिनीहरूलाई थाह थियो। आफ्नो परिवारसँगै सदोमबाट भाग्दा तिनले अनाज्ञाकारी भई पछाडि फर्केर हेरिन्‌ र नुनको थाम भइन्‌।—उत्पत्ति १९:१७, २६ पढ्‌नुहोस्‌।

२. लूतकी पत्नीले किन पछाडि फर्केर हेरेकी हुन सक्छिन्‌? अनाज्ञाकारी हुँदा तिनले कस्तो मोल चुकाउनु पऱ्‍यो?

२ तर लूतकी पत्नीले किन पछाडि फर्केर हेरिन्‌? आफूले छोडेर आएको सहरमा के भइरहेको थियो भनी जान्‍न तिनलाई खुलदुली भयो कि? आफूलाई बताइएको कुरा पत्यारै नलागेकोले वा त्यसमा विश्‍वास नगरेकोले तिनले फर्केर हेरिन्‌ कि? वा आफूले सदोममा छोडेर आउनुपरेका कुराहरूलाई बिर्सनै नसकेर तिनले पछाडि फर्केर हेरेकी थिइन्‌ कि? (लूका १७:३१) कारण जेसुकै होस्‌, अनाज्ञाकारी भई पछाडि फर्केर हेर्दा तिनले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। कस्तो दुःखको कुरा! अनि सदोम र गमोराका भ्रष्ट बासिन्दाहरू मरेकै दिनमा तिनको पनि मृत्यु भयो। त्यसैकारण त येशूले यसो भन्‍नुभयो: “लूतकी पत्नीलाई सम्झ!”

३. हामीले प्रतीकात्मक अर्थमा पछाडि फर्केर हेर्नु हुँदैन भनेर येशूले कसरी जोड दिनुभयो?

३ हामी पनि प्रतीकात्मक अर्थमा पछाडि फर्केर हेर्नै नहुने समयमा बाँचिरहेका छौं। यही कुरालाई जोड दिंदै, चेला बन्‍नुअघि आफ्नो घरपरिवारसित बिदा माग्न चाहने एक जना मानिसलाई उहाँले यस्तो जवाफ दिनुभयो: “आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने कोही पनि परमेश्‍वरको राज्यको लायक हुँदैन।” (लूका ९:६२) के येशूले यसरी जवाफ दिनु कठोर वा अव्यावहारिक थियो? पक्कै थिएन किनभने उहाँको चेला बन्दा आइपर्ने जिम्मेवारीबाट पन्छिन त्यस मानिसले केवल एउटा बहाना बनाइरहेको थियो भनी येशूलाई थाह थियो। यसरी विभिन्‍न काम देखाएर पन्छिन खोज्नु भनेको “पछाडि फर्केर” हेर्नु हो भनी येशूले बताउनुभयो। खेत जोतिरहेको खेतालाले चाहे एकछिनको लागि पछिल्तिर हेरोस्‌ वा हलोलाई भुइँमा राखेर पछाडि फर्कोस्‌, त्यसमा कुनै भिन्‍नता छ र? अहँ छैन किनभने दुवै अवस्थामा उसको ध्यान अलमलिन्छ र काममा बाधा पुग्न सक्छ।

४. हाम्रो आँखा कुन कुरामा केन्द्रित हुनुपर्छ?

४ विगतका कुराहरूमा ध्यान दिनुको साटो अगाडि भएका कुराहरूमा आफ्नो आँखा केन्द्रित गर्नुपर्छ। यो कुरा हितोपदेश ४:२५ मा स्पष्टसँग बताइएको छ: “तेरो आँखाले तेरो अगि सीधा हेरोस्‌, सामनेतिर के छ सो तेरो आँखाले एक टक लाएर हेरोस्‌।”

५. पछाडि फर्केर नहेर्नुमा कस्तो जायज कारण छ?

५ पछाडि फर्केर नहेर्नुमा जायज कारण छ। त्यो के हो? हामी “अन्तको दिनमा” बाँचिरहेका छौं। (२ तिमो. ३:१) केवल दुई वटा दुष्ट सहरको मात्र नभई परमेश्‍वरले पूरै युगको विनाश गर्नुहुनेछ। लूतकी पत्नीको जस्तै अवस्थामा पुग्नदेखि जोगिन हामीलाई कुन कुराले मदत गर्नेछ? सर्वप्रथम, हामीलाई पछाडि फर्केर हेर्न लोभ्याउने केही कुरा के-के हुन्‌ भनी थाह पाउनु जरुरी छ। (२ कोरि. २:११) त्यसोभए आउनुहोस्‌, त्यस्ता कुराहरू के हुन्‌ र ती कुराहरूमा ध्यान नदिन के गर्न सक्छौं, त्यसबारे विचार गरौं।

ती सुनौला दिनहरू

६. कहिलेकाहीं हामीलाई विगतका कुराहरू ठीकसित याद हुँदैन भनेर किन भन्‍न सक्छौं?

६ एउटा स्पष्ट खतरा भनेको विगतका दिनमा सबै कुरा राम्रो थियो भन्‍ने गलत सोचाइ हो। कहिलेकाहीं हामीलाई विगतका कुराहरू ठीकसित याद हुँदैन। बितेका समयमा भोग्नुपरेका दुःखहरूलाई चटक्कै बिर्सेर रमाइला पलहरूलाई चाहिं बढाइचढाइ गरेर सम्झिरहेको हामीलाई यादै नहुन सक्छ र विगतका दिनहरू वास्तवमा जसरी बितेका थिए त्योभन्दा धेरै राम्रोसँग बितेको थियो जस्तो हामीलाई लाग्न सक्छ। यसरी पुरानो कुरालाई सम्झिरहँदा अतीतको यादले हामीलाई पिरोल्न सक्छ। तर बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “उहिले-उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध, किनभने त्यो ता मूर्ख सवाल हो।” (उप. ७:१०) यस्तो सोचाइ किन खतरनाक छ?

७-९. (क) मिश्रमा छँदा इस्राएलीहरूलाई के भयो? (ख) इस्राएलीहरू रमाउन सक्ने कस्ता कारण थिए? (ग) इस्राएलीहरूले केको लागि गनगन गर्न थाले?

७ मोशाको समयका इस्राएलीहरूलाई के भयो, विचार गर्नुहोस्‌। हुन त सुरुमा इस्राएलीहरूलाई मिश्रमा पाहुनाको रूपमा राम्रो व्यवहार गरिएको थियो। तर यूसुफको मृत्युपछि मिश्रीहरूले इस्राएलीहरूलाई ‘अघोर भार लगाएर सताउनलाई तिनीहरूमाथि कामदारहरू खटाए।’ (प्रस्थ. १:११) अन्तमा, फिरऊनले इस्राएलीहरूको जनसङ्‌ख्या नबढोस्‌ भनेर एक प्रकारको नरसंहार गर्ने आदेशसमेत दिए। (प्रस्थ. १:१५, १६, २२) त्यसकारण यहोवाले मोशालाई यसो भन्‍नुभएकोमा हामीले छक्क मान्‍नु पर्दैन: “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दु:ख मलाई थाह छ।”—प्रस्थ. ३:७.

८ आफू दास भएको भूमिबाट छुटकारा पाउँदा इस्राएलीहरू कत्ति आनन्दित भए होलान्‌, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? हठी फिरऊन र तिनका मानिसहरूमाथि यहोवाले दस विपत्ति ल्याउँदा उहाँले उल्लेखनीय ढङ्‌गमा आफ्नो शक्‍ति प्रयोग गर्नुभएको इस्राएलीहरूले देखेका थिए। (प्रस्थान ६:१, ६, ७ पढ्‌नुहोस्‌) अन्तमा गएर मिश्रीहरूले इस्राएलीहरूलाई जान अनुमति दिने मात्र होइन तर गइहाल्न जोड गर्दै यति धेरै सुन र चाँदी दिए कि ‘इस्राएलीहरूले मिश्रीहरूलाई लूटे’ भन्‍न मिल्थ्यो। (प्रस्थ. १२:३३-३६) अनि लाल समुद्रमा फिरऊन र तिनका सेनाको विनाश भएको देखेर इस्राएलीहरू झनै रमाए। (प्रस्थ. १४:३०, ३१) त्यस्ता रोमाञ्चकारी घटनाहरू देख्न पाउँदा तिनीहरूको विश्‍वास कत्ति बलियो भयो होला!

९ तर छक्कलाग्दो कुरा, त्यसरी चमत्कारपूर्ण ढङ्‌गमा छुटकारा पाएको केही समय नबित्दै ती इस्राएलीहरूले गनगन गर्न थाले। केको लागि? खानेकुराको लागि! तिनीहरू यहोवाले प्रबन्ध गर्नुभएको खानेकुराप्रति असन्तुष्ट भए र यसो भनेर गनगन गरे: “हामीले मिश्र देशमा सित्तैंमा खानपाएको माछा, काँक्रा, खरबुजा, कन्दहरू, प्याज, लसून हामी सम्झन्छौं। तर अब ता हाम्रो बल शिथिल भइसक्यो। यहाँ अरू कुरो पाइँदैन, यो मन्‍न छोडी अरू केही देखिंदैन।” (गन्ती ११:५, ६) हो, तिनीहरूको दृष्टिकोण टेढो भएको थियो। यतिसम्म टेढो भएको थियो कि तिनीहरू आफू जुन ठाउँमा दास भएका थिए, त्यहीं फर्कन चाहन्थे! (गन्ती १४:२-४) इस्राएलीहरूले पछाडि फर्केर हेरे र यहोवाको अनुमोदन गुमाए।—गन्ती ११:१०.

१०. इस्राएलीहरूको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१० यसबाट आज हामी कस्तो पाठ सिक्न सक्छौं? समस्या अनि कठिनाइ आइपर्दा हामी सुनौलोजस्तो देखिने विगतका कुराहरूबारे मात्र सोचिरहने नगरौं, त्यो कुरा हामीले सत्य सिक्नुभन्दा अगाडिको समेत हुन सक्छ। विगतका अनुभवबाट सिकेका पाठहरूमा मनन गर्नु वा सुखद क्षणहरूमा रम्नु गलत कुरा होइन। तर यस सन्दर्भमा सन्तुलित हुनु र व्यावहारिक दृष्टिकोण कायम राख्नु आवश्‍यक छ। त्यसो गरेनौं भने वर्तमान जीवनदेखि झनै असन्तुष्ट हुन सक्छौं र पहिलेकै जीवनशैली अपनाउने प्रलोभनमा पर्न सक्छौं।—२ पत्रुस २:२०-२२ पढ्‌नुहोस्‌।

विगतमा गरेका त्यागहरू

११. विगतमा आफूले गरेका त्यागहरूबारे कोही-कोहीलाई कस्तो लाग्छ?

११ दुःखको कुरा, कोही-कोही विगतमा आफूले गरेका त्यागहरू झलझली सम्झन्छन्‌ र ‘मौकामा चौका हानिनँ’ भनी सोच्छन्‌। हुनसक्छ तपाईंले उच्च शिक्षा, ठूलो ओहदा वा धनसम्पत्ति हासिल गर्ने मौका पाउनुभएको थियो तर तपाईंले ती कुराहरूको पछि नलाग्ने निर्णय गर्नुभयो। हाम्रा भाइबहिनीहरूमध्ये थुप्रैले व्यापार, मनोरञ्जन, शिक्षा वा खेलकुदको क्षेत्रमा धेरै पैसा कमाउने मौकालाई त्यागेका छन्‌। अहिले निकै समय बितिसक्दा पनि अन्त अझै आएको छैन। त्यसोभए के तपाईं यसरी सोच्नुहुन्छ: “ती मौका खेर जान नदिएको भए अहिले म कहाँ पुगिसक्थें होला!”

१२. आफूले त्यागेका कुराहरूप्रति पावलले कस्तो महसुस गरे?

१२ प्रेषित पावलले येशूको अनुयायी बन्‍नको लागि थुप्रै कुरा त्यागे। (फिलि. ३:४-६) आफूले त्यागेका कुराहरूबारे तिनले कस्तो महसुस गरे? तिनी यसो भन्छन्‌: “जुन कुराहरू मेरो निम्ति फाइदाजनक थिए, ती कुराहरूलाई मैले ख्रीष्टको खातिर हानिकारक सम्झेको छु।” किन? तिनी अझै भन्छन्‌: “मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको उत्कृष्ट मोलसामु सबै कुरालाई म हानिको सम्झन्छु। उहाँको खातिर मैले सबै हानि बेहोरेको छु अनि ती कुराहरूलाई रद्दी ठान्छु, ताकि मैले ख्रीष्टलाई प्राप्त गर्न सकूँ।”a (फिलि. ३:७, ८) जसरी फोहोर फालिसकेपछि त्यसलाई सम्झेर कसैले दुःख मान्दैन, त्यसैगरि संसारमा आफूले नाम-दाम कमाउन सक्ने मौका त्यागेकोमा पावल पछुताएनन्‌। तिनले ती मौकाहरूलाई कुनै मोलको ठानेनन्‌।

१३, १४. पावलले बसालेको उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं?

१३ आफूले गुमाए जस्तो लागेको मौकाहरूबारे सोच्ने झुकाव हामीमा देखा पऱ्‍यो भने हामीलाई कुन कुराले मदत गर्न सक्छ? पावलको उदाहरण अनुकरण गर्नुहोस्‌। कसरी? आफूसित अहिले भएका कुराहरूको मोल गर्नुहोस्‌। तपाईंले यहोवासित अमूल्य सम्बन्ध गाँस्न सक्नुभएको छ र उहाँको नजरमा वफादार साबित हुनुभएको छ। (हिब्रू ६:१०) यहोवाले अहिले र भविष्यमा दिनुहुने आशिष्‌लाई संसारले दिने कुनै पनि भौतिक कुरासित तुलना गर्न सकिन्छ र?—मर्कूस १०:२८-३० पढ्‌नुहोस्‌।

१४ पावलले बताएको अर्को कुराले हामीलाई वफादार भई यहोवाको सेवा गरिरहन मदत गर्नेछ। पावलले बताएअनुसार तिनी ‘पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर लम्किरहेका’ थिए। (फिलि. ३:१३) यहाँ पावलले बताएका दुई वटा महत्त्वपूर्ण कदम याद गर्नुहोस्‌। पहिलो, आफूले विगतमा त्यागेका कुराहरूलाई हामीले बिर्सनुपर्छ, ती कुराहरूबारे बढ्‌तै चिन्तित भएर आफ्नो अमूल्य समय र शक्‍ति खेर फाल्नु हुँदैन। दोस्रो, दौड सिध्याउनै लागेको धावकले जस्तै हामी पनि अगाडि भएका कुराहरूमा ध्यान केन्द्रित गर्दै अघि लम्कनुपर्छ।

१५. यहोवाका वफादार सेवकहरूको उदाहरण मनन गऱ्‍यौं भने कस्तो लाभ उठाउन सक्छौं?

१५ चाहे विगतका होऊन्‌ वा वर्तमान समयका, परमेश्‍वरका वफादार सेवकहरूको उदाहरण मनन गऱ्‍यौं भने पछाडि नफर्की अघि बढिरहने थप उत्प्रेरणा पाउँछौं। उदाहरणको लागि, अब्राहाम र साराले ऊर सहरलाई सम्झिरहेका भए “तिनीहरूसित फेरि त्यहीं फर्कने मौका हुनेथियो।” (हिब्रू ११:१३-१५) तर तिनीहरू त्यहाँ फर्केनन्‌। मोशाले पहिलो पटक मिश्र छोड्‌दा कुनै पनि इस्राएलीले भन्दा धेरै कुरा त्याग गरे। तैपनि तिनले आफूले त्यागेका कुराहरूको चाह गरेको कुनै रेकर्ड बाइबलमा पाउँदैनौं। बरु बाइबल विवरण यसो भन्छ: “तिनले मिश्रका धनसम्पत्तिलाई भन्दा ख्रीष्टको नाताले निन्दा सहनुलाई बढी मोलको ठाने। किनकि आफूले पाउने इनाममा तिनले आफ्नो नजर लगाएका थिए।”—हिब्रू ११:२६.

विगतका तीता अनुभवहरू

१६. विगतका तीता अनुभवहरूले हामीमा कस्तो असर पार्न सक्छ?

१६ विगतका सबै अनुभवहरू मीठा नहुन सक्छन्‌। आफूले विगतमा गरेका गल्ती अथवा पापले हामीलाई पिरोलिरहेको हुन सक्छ। (भज. ५१:३) हामीले पाएको कडा सल्लाहले हामीलाई अहिलेसम्म पनि बिजाइरहेको हुन सक्छ। (हिब्रू १२:११) हामीमाथि साँच्चै अन्याय हुँदा वा अन्याय भयो जस्तो लाग्दा त्यही कुरा मात्र हाम्रो दिमागमा खेलिरहन सक्छ। (भज. ५५:२) त्यस्ता तीता अनुभवहरूले गर्दा पछाडि फर्केर नहेर्न हामी के गर्न सक्छौं? तीन वटा उदाहरण विचार गरौं।

१७. (क) प्रेषित पावलले किन आफूलाई ‘पवित्र जनहरूमध्ये सबैभन्दा सानो’ भने? (ख) नकारात्मक सोचाइले दबिएर पछि नहट्‌न पावललाई कुन कुराले मदत गऱ्‍यो?

१७ विगतका गल्तीहरू। प्रेषित पावलले आफू ‘पवित्र जनहरूमध्ये सबैभन्दा सानो’ हुँ भनी बताए। (एफि. ३:८) तिनलाई किन त्यस्तो लाग्यो? तिनी बताउँछन्‌: “किनभने मैले परमेश्‍वरको मण्डलीलाई खेदो गरें।” (१ कोरि. १५:९) पहिला आफूले खेदो गरेका केही भाइबहिनीको अगाडि पर्दा पावललाई कस्तो लाग्यो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यस्ता नकारात्मक सोचाइबाट दबिनुको सट्टा आफूलाई देखाइएको असीम अनुग्रहमा तिनले ध्यान केन्द्रित गरे। (१ तिमो. १:१२-१६) यसो गर्दा तिनी झनै कृतज्ञ हुन सके र सेवाको काममा लागिरहन उत्प्रेरित भए। तिनले बिर्सन चाहेका कुराहरूमा तिनको पापपूर्ण आचरण पनि समावेश थियो। विगतमा गरेका गल्तीहरूलाई परिवर्तन गर्न नसकिने भएकोले त्यसबारे मात्र सोचिरह्‍यौं भने हामी बेकारमा थकित हुनेछौं। यसो गर्नुको साटो, यहोवाले हामीलाई देखाउनुभएको कृपामा आफ्नो ध्यान केन्द्रित गरौं र उहाँको सेवामा अहिले आफ्नो शक्‍ति प्रयोग गरौं।

१८. (क) आफूले पाएको सल्लाहप्रति नकारात्मक भयौं भने नतिजा कस्तो हुन सक्छ? (ख) सल्लाह स्वीकार्ने सम्बन्धमा सुलेमानले बताएको कुरा हामी कसरी पालन गर्न सक्छौं?

१८ कडा सल्लाह। विगतमा पाएको सल्लाहले हामीलाई अझैसम्म बिजाइरहेको हुन सक्छ। यसको कारण हामीले पीडा महसुस गर्ने मात्र नभई “हरेस” खाने हदसम्म पनि पुग्न सक्छौं। (हिब्रू १२:५) चाहे आफूले पाएको सल्लाहलाई इन्कार गरेर त्यसलाई “हलुका” ठानौं वा त्यसलाई स्वीकारेर पछि “हरेस” खाऔं, त्यसको नतिजा एउटै निस्कन्छ अर्थात्‌ हामीले त्यो सल्लाहबाट कुनै फाइदा उठाउन सक्दैनौं। त्यसकारण सुलेमानका यी शब्दहरूमा ध्यान दिनु कत्ति उत्तम हुनेछ: “अर्तीलाई समातिराख्‌ र त्यसलाई कहिल्यै नछोड्‌, त्यसलाई राम्ररी पालन गर, किनभने त्यो तेरो जीवन हो।” (हितो. ४:१३) जसरी सवारी चालकले बाटोमा राखिएका सङ्‌केतको पालना गर्छन्‌, त्यसरी नै हामी पनि सल्लाह स्वीकारौं, लागू गरौं र अघि बढौं।—हितो. ४:२६, २७; हिब्रू १२:१२, १३ पढ्‌नुहोस्‌।

१९. हामी कसरी हबकूक र यर्मियाको विश्‍वासको अनुकरण गर्न सक्छौं?

१९ साँच्चै अन्याय हुँदा वा अन्याय भयो जस्तो लाग्दा। कहिलेकाहीं हाम्रो अवस्था पनि भविष्यवक्‍ता हबकूकको जस्तै हुन सक्छ जसले न्यायको लागि यहोवालाई बिन्ती गरे। उहाँले केही अन्यायपूर्ण कामहरू किन हुन दिनुभयो भनी तिनले बुझेका थिएनन्‌। (हब. १:२, ३) तर पछि तिनले यसो भने: “म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।” (हब. ३:१८) हामीले पनि ती भविष्यवक्‍ताको विश्‍वासको अनुकरण गर्नु कत्ति महत्त्वपूर्ण छ! प्राचीन समयका यर्मियाले जस्तै न्यायका परमेश्‍वर यहोवामा पूर्णतया विश्‍वास गर्दै “धैर्यसाथ उहाँको प्रतीक्षा” गरौं। यदि त्यसो गऱ्‍यौं भने ठीक समयमा सबै कुरा सच्याइनेछ भनेर ढुक्क हुन सक्छौं।—विला. ३:१९-२४.

२०. ‘लूतकी पत्नीलाई सम्झेको’ हामी कसरी देखाउन सक्छौं?

२० हामी रोमाञ्चकारी समयमा बाँचिरहेका छौं। अहिले थुप्रै उल्लेखनीय कुराहरू भइरहेका छन्‌ र निकट भविष्यमा अझै हुनेछन्‌। त्यसैले हामी प्रत्येक नै यहोवाको सङ्‌गठनसँगसँगै अगाडि बढौं। बाइबलमा दिइएको सल्लाहबमोजिम पछाडि फर्केर नहेरौं बरु अगाडिका कुराहरूतिर ध्यान केन्द्रित गरौं। यसरी हामी ‘लूतकी पत्नीलाई सम्झेको’ देखाउनेछौं।

[फुटनोट]

a यहाँ “रद्दी” भनी अनुवाद गरिएको मौलिक शब्दले “कुकुरहरूलाई फालिने कुरा,” “गोबर,” “दिसा”-लाई पनि बुझाउन सक्छ। एक बाइबलविद्‌का अनुसार पावलले प्रयोग गरेको यस शब्दले “अब उप्रान्त आफूले कुनै सरोकार नराख्ने मूल्यहीन वा घृणित कुरादेखि अलग्गै रहने दृढतालाई” बुझाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने