प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १२/१ pp. १४-१९
  • “तिमीहरू धन्यवादी होओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरू धन्यवादी होओ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धन्यवादी हुने कारणहरू
  • मोशालाई दिइएको व्यवस्थाबाट तीनवटा पाठ
  • धन्यवादका हाम्रा अभिव्यक्‍तिहरू
  • अग्रगामी मनोभाव खेती गर्नुहोस्‌ र त्यसलाई कायम राख्नुहोस्‌
  • “धन-सम्पत्तिले” धन्यवादी देखाउने
  • “धन्यवादी होओ”
    हाम्रो राज्य सेवकाई—२००८
  • “तिमीहरू धन्यवादी होओ”
    हाम्रो राज्य सेवकाई—१९९७
  • धन्यवादी मनोवृत्ति देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • दिंदा पाइने आनन्द
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १२/१ pp. १४-१९

“तिमीहरू धन्यवादी होओ”

“ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्‌। . . . औ तिमीहरू धन्यवादी होओ।”—कलस्सी ३:१५.

१. मसीही मण्डली र शैतानको नियन्त्रणमा रहेको संसारबीच हामी कस्तो भिन्‍नता पाउँछौं?

संसारभरि यहोवाका साक्षीहरूको ९४,६०० मण्डलीहरूमा हामी धन्यवादी मनोभाव पाउँछौं। हरेक सभाको सुरु र अन्तमा प्रार्थना हुन्छ अनि यसमा यहोवालाई धन्यवाद चढाइएका अभिव्यक्‍तिहरू पनि हुन्छन्‌। जवान तथा वृद्ध अनि नयाँ तथा पुराना साक्षीहरू उपासना अनि आनन्दमय सङ्‌गतिको लागि भेला हुँदा तिनीहरूको मुखबाट अक्सर “धन्यवाद,” “तपाईंलाई स्वागत छ” वा त्यस्तै अन्य अभिव्यक्‍तिहरू सुन्छौं। (भजन १३३:१) ‘परमेश्‍वरलाई नचिन्‍ने, येशूको सुसमाचार नमान्‍नेहरूमा’ व्याप्त स्वार्थी मनोभावको तुलनामा यो कत्ति भिन्‍न छ! (२ थिस्सलोनिकी १:८) हामी बैगुनी संसारमा छौं। अनि यस संसारको देव को हो भनेर विचार गर्दा यो त्यति छक्कलाग्दो कुरा होइन किनभने शैतान अर्थात्‌ दियाबल आत्म-केन्द्रित सोचाइको प्रमुख प्रवर्तक हो अनि त्यसकै घमण्ड र विद्रोही मनोभाव मानव समाजमा व्याप्त छ!—यूहन्‍ना ८:४४; २ कोरिन्थी ४:४; १ यूहन्‍ना ५:१९.

२. हामीले कुन चेतावनी पालन गर्नुपर्छ र कस्ता प्रश्‍नहरूमाथि हामी विचार गर्नेछौं?

२ शैतानको संसारले हामी घेरिएको हुँदा यसको मनोभावबाट भ्रष्ट नहुन होसियार हुनुपर्छ। प्रथम शताब्दीमा प्रेरित पावलले एफिससका मसीहीहरूलाई यसरी सम्झाए: “यस संसारको रीतिअनुसार, आकाशको शक्‍तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्माअनुसार तिमीहरू अघि एकपल्ट चल्दथियौ। जुनमध्ये हामी पनि हाम्रो शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा एकपल्ट बसेका थियौं, र अरू बाँकीजस्तै हामी पनि स्वभावैले क्रोधका सन्तान भएका थियौं।” (एफिसी २:२, ३) आज थुप्रै मानिसहरूको सन्दर्भमा पनि यस्तै भन्‍न सकिन्छ। त्यसोभए हामी कसरी धन्यवादी मनोभाव कायम गर्न सक्छौं? यहोवाले कस्तो मदत दिनुहुन्छ? हामी साँच्चै धन्यवादी छौं भनेर कस्ता व्यावहारिक तरिकाहरूमा देखाउन सक्छौं?

धन्यवादी हुने कारणहरू

३. हामी कुन कुराको लागि यहोवाप्रति धन्यवादी छौं?

३ यहोवाले हामीमाथि वर्षाउनुभएका प्रशस्त आशिष्‌हरू खास गरी विचार गर्दा हामी आफ्नो सृष्टिकर्ता तथा जीवनदाता यहोवा परमेश्‍वरप्रति कृतज्ञ हुन्छौं। (याकूब १:१७) हामी जीवित भएकोमा दिनहुँ यहोवालाई धन्यवाद दिन्छौं। (भजन ३६:९) हामी वरपर यहोवाको हस्तकलाको प्रशस्त प्रमाण देख्छौं, जस्तै सूर्य, चन्द्र र ताराहरू। जीवन धान्‍ने खनिजहरूको प्रचुर भण्डार, अत्यावश्‍यक ग्याँसहरूको समिश्रणको सही सन्तुलन अनि प्रकृतिका जटिल चक्रहरू सबैले स्वर्गमा हुनुहुने मायालु पिताप्रति हामी कत्ति ऋणी छौं भनेर प्रमाणित गर्छ। राजा दाऊदले यस्तो भजन गाए, “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन। यदि तिनको विषयमा भनेर मैले बोले भनेता तिनको गन्ती हुनैसक्‍तैन।”—भजन ४०:५.

४. हामीले मण्डलीमा आनन्द उठाउने आनन्दमय सङ्‌गतिको लागि किन यहोवालाई धन्यवाद दिनुपर्छ?

४ पार्थिव प्रमोदवनमा बाँचिरहेको नभए तापनि यहोवाका सेवकहरूले आज आध्यात्मिक प्रमोदवनको आनन्द उठाइरहेका छन्‌। हामी, हाम्रा राज्यभवन अनि अधिवेशन तथा सम्मेलनहरूमा आफ्ना सँगी विश्‍वासीहरूमाझ परमेश्‍वरको आत्माको फल परिचालन भइरहेको महसुस गर्छौं। निस्सन्देह, पटक्कै वा खासै धार्मिक पृष्ठभूमि नभएका मानिसहरूलाई प्रचार गर्दा कोही-कोही साक्षीहरू पावलले गलातीको मण्डलीलाई लेखेको कुरा बताउँछन्‌। तिनीहरू पहिला “शरीरका कामहरू[तर्फ]” ध्यान खिच्छन्‌ अनि आफ्ना श्रोताहरूलाई उनीहरूले के याद गरे भनी सोध्छन्‌। (गलाती ५:१९-२३) धेरैजसोले अहिलेको मानव समाज यस्तै छ भनेर तुरुन्तै मानिलिन्छन्‌। परमेश्‍वरको आत्माको फलसम्बन्धी विवरण देखाएर स्थानीय राज्यभवनमा यसको प्रमाण आफैले हेर्न निमन्त्रणा दिइँदा थुप्रैले यसरी तुरुन्तै मानिलिन्छन्‌: “परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ।” (१ कोरिन्थी १४:२५) अनि यो स्थानीय राज्यभवनमा मात्र सीमित छैन। तपाईं जुनसुकै ठाउँमा यात्रा गर्नुभए तापनि साठी लाखभन्दा बढी यहोवाका साक्षीहरूमध्ये कसैलाई भेट्‌नुहुँदा एउटै सुखी, आनन्दमय मनोभाव पाउनुहुनेछ। साँच्चै, यो उत्थानदायी सङ्‌गति यहोवालाई धन्यवाद दिने कारण हो जसले यो सम्भव बनाउन आफ्नो आत्मा पठाउनुहुन्छ।—सपन्याह ३:९; एफिसी ३:२०, २१.

५, ६. परमेश्‍वरले दिनुभएको सबैभन्दा ठूलो वरदान अर्थात्‌ छुडौतीको लागि हामी धन्यवादी भएको कसरी देखाउन सक्छौं?

५ यहोवाले दिनुभएको सर्वोत्तम सिद्ध उपहार अर्थात्‌ उत्तम वरदान उहाँको पुत्र, येशू हुनुहुन्छ, जसद्वारा छुडौतीको बलिदान प्रबन्ध गरियो। प्रेरित यूहन्‍नाले यस्तो लेखे, “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएपछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ।” (१ यूहन्‍ना ४:११) हो, यहोवाप्रति प्रेम र कृतज्ञता देखाएर मात्र होइन तर अरूप्रति प्रेम प्रकट हुने ढङ्‌गमा जीवन बिताएर छुडौतीको बलिदानप्रति धन्यवादी भएको हामी देखाउँछौं।—मत्ती २२:३७-३९.

६ यहोवाले पुरातन इस्राएलसित गर्नुभएको व्यवहारलाई विचार गरेर पनि कृतज्ञता देखाउने सन्दर्भमा धेरै कुरा सिक्न सक्छौं। मोशामार्फत त्यस राष्ट्रलाई दिनुभएको व्यवस्थाद्वारा यहोवाले मानिसहरूलाई थुप्रै पाठहरू सिकाउनुभयो। “व्यवस्थामा ज्ञान र सत्यको रूप पाएर” हामीले पावलको यो सल्लाह पालन गर्न मदत पाउने थुप्रै कुरा सिक्न सक्छौं: “तिमीहरू धन्यवादी होओ।”—रोमी २:२०; कलस्सी ३:१५.

मोशालाई दिइएको व्यवस्थाबाट तीनवटा पाठ

७. दशांश दिने प्रबन्धले इस्राएलीहरूलाई कसरी यहोवाप्रति धन्यवादी हुने मौका दियो?

७ मोशालाई दिइएको व्यवस्थामा इस्राएलीहरूले उहाँको भलाइको लागि साँचो मूल्यांकन देखाउन सक्ने तीनवटा तरिका यहोवाले बताउनुभयो। पहिलो, दशांश थियो। भूमिको उब्जनीलगायत “पशुमा गाई-वस्तु वा भेडा बाख्रा जे होस्‌, दशांश” “परमप्रभुको निम्ति पवित्र” हुनुपर्थ्यो। (लेवी २७:३०-३२) इस्राएलीहरूले आज्ञा पालन गर्दा यहोवाले प्रचुर मात्रामा आशिष्‌ दिनुभयो। “ ‘जम्मै दशांश भण्डारमा ल्याऊ, र मेरो घरमा भोजन रहोस्‌। यसरी मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ’ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।”—मलाकी ३:१०.

८. स्वैच्छिक बलि र दशांशबीच कस्तो स्पष्ट भिन्‍नता थियो?

८ दोस्रो, दशांश दिनुको अलावा इस्राएलीहरूले स्वैच्छिक अनुदान दिने प्रबन्ध यहोवाले मिलाउनुभयो। उहाँले इस्राएलीहरूलाई यसो भन्‍न मोशालाई निर्देशन दिनुभयो: “जब तिमीहरू मैले तिमीहरूलाई लैजाने देशमा पुग्छौ, तब तिमीहरूले त्यस देशको अन्‍न खाँदा परमप्रभुको निम्ति डोलाउने बलि चढ़ाउनू।” पहिलो पीठोको फुलौरामा “डोलाउने” रोटी तिनीहरूले पुस्तौंसम्म “परमप्रभुको निम्ति अर्पण” गर्नुपर्थ्यो। याद गर्नुहोस्‌, यो पहिलो पीठोको फुलौराको लागि कुनै परिमाण तोकिएको थिएन। (गन्ती १५:१८-२१) तर इस्राएलीहरूले धन्यवाद चढाउँदै अनुदान दिंदा तिनीहरूले यहोवाबाट आशिष्‌ पाउने आश्‍वासन पाएका थिए। इजकिएलले दर्शनमा देखेको मन्दिरको सन्दर्भमा पनि यस्तै खाले प्रबन्ध भएको पाउन सकिन्छ। हामी यस्तो लेखिएको पाउँछौं: “अगौटेफलका सबैभन्दा पहिले फलहरू र तिमीहरूका सबै किसिमका भेटी जम्मै पूजाहारीहरूकानै होऊन्‌। तिमीहरूको घरमा आशिष आउनलाई आह्रीमा मुछेको सबैभन्दा पहिलो ढिको पनि पूजाहारीहरूलाईनै दिनू।”—इजकिएल ४४:३०.

९. सिला-बाला बटुल्ने प्रबन्धद्वारा यहोवाले के सिकाउनुभयो?

९ तेस्रो, यहोवाले सिला-बाला टिप्ने प्रबन्ध मिलाउनुभयो। परमेश्‍वरले यस्तो निर्देशन दिनुभयो, “जब तिमीहरू आफ्नो बाली काट्‌छौ, तब तिमीहरूले खेतको कुना कुनासम्मै नकाटनू। कटनीको सिला-बाला नबटुल्नू। तिमीहरूले आफ्नो दाखबारीका फल निखारीकन नटिप्नू, औ दाखबारीमा झरेका फलहरू नबटुल्नू। तीचाहिं गरीब र परदेशीहरूका निम्ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।” (लेवी १९:९, १०) यस पटक पनि कुनै परिमाण तोकिएको थिएन। खाँचोमा परेकाहरूलाई कति छोड्‌ने भनेर प्रत्येक इस्राएलीले आफै निर्णय गर्नुपर्ने थियो। बुद्धिमान्‌ राजा सुलेमानले यसरी सही वर्णन गरे: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” (हितोपदेश १९:१७) यसरी यहोवाले अभावमा परेकाहरूप्रति अनुकम्पा र चासो देखाउन सिकाउनुभयो।

१०. इस्राएलका मानिसहरू धन्यवादी हुन नसक्दा परिणाम कस्तो भयो?

१० इस्राएलीहरूले आज्ञाकारी भई दशांश ल्याउँदा, स्वैच्छिक अनुदान दिंदा अनि गरिबहरूको लागि प्रबन्ध गर्दा यहोवाले आशिष्‌ दिनुभयो। तर इस्राएलका मानिस धन्यवादी हुन चुक्दा तिनीहरूले यहोवाको अनुग्रह गुमाए। यसले गर्दा विपत्ति र अन्ततः निर्वासन खप्नुपऱ्‍यो। (२ इतिहास ३६:१७-२१) त्यसोभए हाम्रा लागि कस्ता पाठहरू छन्‌?

धन्यवादका हाम्रा अभिव्यक्‍तिहरू

११. हामी यहोवाप्रति धन्यवादी छौं भनेर देखाउने एउटा प्रमुख तरिका के हो?

११ यहोवालाई प्रशंसा अनि धन्यवाद व्यक्‍त गर्न सक्ने एउटा प्रमुख तरिकामा “भेटी” समावेश छ। हो, मसीहीहरूको हैसियतमा हामी मोशालाई दिइएको व्यवस्थाको अधीनमा नभएको हुँदा जनावर वा उब्जनीको बलि चढाउन हामी बाध्य छैनौं। (कलस्सी २:१४) यद्यपि, प्रेरित पावलले हिब्रू मसीहीहरूलाई यस्तो आग्रह गरे: “हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) यहोवालाई प्रशंसाको बलि चढाउन जन सेवकाईमा होस्‌ वा सँगी मसीहीहरूको “समुदायहरूमा” आफ्नो क्षमता तथा स्रोतसाधन प्रयोग गरेर होस्‌, स्वर्गमा हुनुहुने पिता यहोवा परमेश्‍वरलाई हामी हृदयस्पर्शी धन्यवाद चढाउन सक्छौं। (भजन २६:१२) यसो गर्दा इस्राएलीहरूले यहोवाप्रति धन्यवाद व्यक्‍त गरेका तरिकाहरूबारे हामी के सिक्न सक्छौं?

१२. जहाँसम्म हाम्रो मसीही जिम्मेवारीको कुरा छ, दशांशको प्रबन्धबाट हामी के सिक्न सक्छौं?

१२ सर्वप्रथम, हामीले छलफल गरेझैं दशांशको प्रबन्ध वैकल्पिक थिएन; यो प्रत्येक इस्राएलीको दायित्व थियो। मसीहीहरूको हैसियतमा सेवकाईमा भाग लिने तथा मसीही सभाहरूमा उपस्थित हुने हाम्रो जिम्मेवारी हो। यी क्रियाकलापहरू वैकल्पिक होइनन्‌। अन्तको समयबारे गरिएको महान्‌ भविष्यवाणीमा येशूले स्पष्टसित यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४; २८:१९, २०) मसीही सभाहरूको सन्दर्भमा प्रेरित पावल यस्तो लेख्न उत्प्रेरित भए: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोडौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) प्रचार गर्नु र सिकाउनुका साथै मण्डलीका सभाहरूमा हाम्रा भाइहरूसित नियमित तवरमा सङ्‌गत गर्न पाउनुलाई एउटा सुअवसर र सम्मान ठान्दै यो जिम्मेवारीलाई खुसीसाथ स्वीकारेर हामी यहोवाप्रति धन्यवादी भएको देखाउँछौं।

१३. स्वैच्छिक अनुदान र सिला-बाला टिप्ने प्रबन्धबाट कस्तो पाठ सिक्न सकिन्छ?

१३ साथै, इस्राएलीहरूले आफ्नो मूल्यांकन देखाउन सक्ने अर्को दुइटा प्रबन्धबारे विचार गरेर पनि हामी लाभ उठाउन सक्छौं—स्वैच्छिक अनुदान र सिला-बाला टिप्ने। दशांशमा जस्तो स्वैच्छिक अनुदान र सिला-बाला टिप्ने प्रबन्धमा कुनै खास परिमाण तोकिएको थिएन। बरु, यसले यहोवाको सेवकको हृदयमा कत्तिको मूल्यांकन छ, त्यसअनुसार कुनै कदम चाल्न उत्प्रेरित गर्न सक्थ्यो। त्यसरी नै, सेवकाईमा सहभागिता र मसीही सभाहरूमा उपस्थिति, यहोवाका प्रत्येक सेवकको आधारभूत जिम्मेवारी हो भनेर हामीले मूल्यांकन गरे तापनि के हामी पूरा तनमन अनि इच्छुक मनोभावले भाग लिन्छौं? के हामी त्यसलाई यहोवाले हाम्रो निम्ति गर्नुभएका कुराहरूको लागि हृदयस्पर्शी मूल्यांकन व्यक्‍त गर्ने मौका ठान्छौं? के हामी आफ्नो व्यक्‍तिगत परिस्थितिले अनुमति दिएअनुसार यी क्रियाकलापहरूमा खुला मनले भाग लिन्छौं? अथवा हामीले यी कुराहरू आफूले पूरा गर्नै पर्ने दायित्व मात्र ठानेर गर्छौं? निस्सन्देह, यी प्रश्‍नहरूको हामी प्रत्येकले व्यक्‍तिगत तवरमा जवाफ दिनुपर्छ। प्रेरित पावलले यसरी व्यक्‍त गरे: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।”—गलाती ६:४.

१४. यहोवालाई चढाउने सेवामा उहाँले हामीबाट के आशा गर्नुहुन्छ?

१४ यहोवा परमेश्‍वरलाई हाम्रो परिस्थिति राम्ररी थाह छ। उहाँलाई हाम्रा सीमितताहरू थाह छ। उहाँका सेवकहरूले इच्छुकतापूर्वक चढाएका ठूला, साना सबै बलिदानहरूको उहाँले मूल्यांकन गर्नुहुन्छ। हामी सबैले एउटै परिमाण चढाएको उहाँले आशा गर्नुहुन्‍न नता हामी त्यसो गर्न नै सक्छौं। भौतिक कुराहरू दिने सन्दर्भमा छलफल गर्दा प्रेरित पावलले कोरिन्थका मसीहीहरूलाई यसो भने: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।” (२ कोरिन्थी ८:१२) यो सिद्धान्त, परमेश्‍वरलाई चढाउने हाम्रो सेवामा पनि लागू हुन्छ। यहोवालाई हाम्रो सेवा ग्रहणयोग्य हुने आधार हामीले कति चढाउँछौं, त्यसले होइन तर कसरी अर्थात्‌ आनन्दसाथ र तनमनले गर्छौं, त्यसले निर्धारण गर्छ।—भजन १००:१-५; कलस्सी ३:२३.

अग्रगामी मनोभाव खेती गर्नुहोस्‌ र त्यसलाई कायम राख्नुहोस्‌

१५, १६. (क) अग्रगामी सेवकाई र धन्यवादी हुनेबीच कस्तो सम्बन्ध छ? (ख) अग्रगामी गर्न नसकेकाहरूले कसरी अग्रगामी मनोभाव देखाउन सक्छन्‌?

१५ यहोवालाई हाम्रो धन्यवाद देखाउने एउटा सन्तोषजनक तरिका पूर्ण-समय सेवकाईमा प्रवेश गरेर हो। यहोवाप्रति प्रेमबाट उत्प्रेरित र उहाँको अनुग्रहको लागि कृतज्ञताले गर्दा थुप्रै समर्पित सेवकहरूले यहोवाको अझ बढी सेवा गर्न आफ्नो जीवनमा ठूल-ठूला परिवर्तनहरू गरेका छन्‌। कोही-कोही नियमित अग्रगामीको हैसियतमा सेवा गर्न सक्षम हुन्छन्‌ र मानिसहरूलाई सत्यको सुसमाचार प्रचार गर्न तथा सिकाउन प्रत्येक महिना औसतन ७० घण्टा बिताउँछन्‌। अरू, विभिन्‍न परिस्थितिले गर्दा सीमित भएकाहरू भने समय समयमा सहायक अग्रगामीको हैसियतमा सेवा गरेर महिनामा ५० घण्टा बिताउँछन्‌।

१६ तर नियमित वा सहायक अग्रगामीको हैसियतमा सेवा गर्न नसक्ने यहोवाका थुप्रै सेवकहरू नि? तिनीहरूले अग्रगामी मनोभाव खेती गर्नुका साथै त्यसलाई कायम राखेर धन्यवाद देखाउन सक्छन्‌। कसरी? अग्रगामी गर्न सक्नेहरूलाई प्रोत्साहन दिएर, आफ्ना छोराछोरीमा पूर्ण-समय सेवकाईलाई पेसाको रूपमा अँगाल्ने इच्छा राखिदिएर अनि आफ्नो परिस्थितिअनुसार प्रचारकार्यमा लगनशील भई भाग लिएर। यहोवाले हाम्रो निम्ति गर्नुभएका, अहिले गरिरहनुभएको अनि पछि गर्नुहुने कुराहरूप्रति हाम्रो हृदयमा कत्तिको मूल्यांकन छ, त्यो हाम्रो सेवकाईमा झल्कन्छ।

“धन-सम्पत्तिले” धन्यवादी देखाउने

१७, १८. (क) हामी आफ्नो “धन-सम्पत्तिले” कसरी धन्यवादी मनोभाव देखाउन सक्छौं? (ख) विधवाको भेटीबारे येशूले कस्तो निष्कर्ष निकाल्नुभयो र किन?

१७ हितोपदेश ३:९ यस्तो टिप्पणी गर्छ, “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्‌ र तेरा सबै आम्दानीको सबैभन्दा पहिलो अंशले परमप्रभुको इज्जत गर्‌।” यहोवाका सेवकहरूले अहिले दशांश चढाउनु पर्दैन। बरु, पावलले कोरिन्थको मण्डलीलाई यस्तो लेखे: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) विश्‍वव्यापी राज्य प्रचारकार्यलाई समर्थन गर्न स्वैच्छिक अनुदान दिंदा पनि हाम्रो धन्यवाद झल्कन्छ। हार्दिक मूल्यांकनले हामीलाई यो नियमित तवरमा गर्न उत्प्रेरित गर्छ र सम्भव भए, प्रारम्भिक मसीहीहरूले झैं साप्ताहिक तवरमा गर्नु बेस हो।—१ कोरिन्थी १६:१, २.

१८ यहोवाप्रति हाम्रो कृतज्ञता झल्काउने कुरा हामीले दिने परिमाणमा आधारित होइन। बरु, हामी कस्तो मनोभावले दिन्छौं, त्यो महत्त्वपूर्ण हो। मन्दिरको ढुकुटीमा भेटी खसालिरहेका मानिसहरूलाई हेर्दा येशूले यही कुरा देख्नुभयो। एउटी गरिब विधवाले “त्यहाँ दुई पैसा चढ़ाएकी” देख्नुहुँदा येशूले यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ता चढ़ाएकी छ। किनकि यी सबैले तिनका प्रशस्ताबाट भेटी चढ़ाएका छन्‌, तर यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढ़ाएकी छ।”—लूका २१:१-४.

१९. आफ्नो कृतज्ञता देखाउने तरिकाहरू पुनरावलोकन गर्नु किन राम्रो हो?

१९ हामी कसरी धन्यवादी हुन सक्छौं भनी देखाउने यो अध्ययनले हामीलाई कृतज्ञता देखाउने तरिकाहरू पुनरावलोकन गर्न उत्प्रेरित गरोस्‌। के हामी यहोवालाई चढाउने प्रशंसाको बलिदान बढाउनुका साथै विश्‍वव्यापी कार्यलाई भौतिक तवरमा अझ बढी सहयोग गर्न सक्छौं कि? हामीले जुन हदसम्म धन्यवादी मनोभाव देखाउँछौं, त्यसमा हाम्रो उदार मायालु पिता, यहोवा खुसी हुनुहुनेछ भनेर ढुक्क हुन सक्छौं।

के तपाईंलाई सम्झना छ?

• हामी कस्ता कारणहरूका लागि यहोवाप्रति धन्यवादी हुनुपर्छ?

• दशांश दिने, स्वैच्छिक अनुदान र सिला-बाला टिप्नेबाट हामी कस्ता पाठहरू सिक्न सक्छौं?

• हामी कसरी अग्रगामी मनोभाव खेती गर्छौं?

• यहोवालाई धन्यवाद चढाउन हामी कसरी आफ्नो “धन-सम्पत्ति” चलाउन सक्छौं?

[पृष्ठ १५-मा भएका चित्रहरू]

“हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो”

[पृष्ठ १६-मा भएका चित्रहरू]

व्यवस्थाबाट सिक्न सकिने कुन तीनवटा पाठ यहाँ देखाइएको छ?

[पृष्ठ १८-मा भएका चित्रहरू]

हामी कस्ता बलिदानहरू गर्न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने