“तिमीहरू धन्यवादी होओ”
१ हामीहरू सबैजसोलाई केटाकेटी छँदा कसैले शिष्टता र दया देखाउँदा मूल्यांकन व्यक्त गर्न “कृपया” र “धन्यवाद” जस्ता शब्दहरू प्रयोग गर्न सिकाइएको थियो। पावलले ‘हामीलाई सधैं धन्यवादी हुन’ आग्रह गर्छन् र विशेषगरि हामी यहोवाप्रति कृतज्ञ हुनुपर्छ। (कल. ३:१५, १६) तर, हाम्रो महान् सृष्टिकर्तालाई धन्यवाद कसरी व्यक्त गर्ने नि? अनि उहाँप्रति हामी धन्यवादी हुनुपर्ने त्यस्ता विशेष कारणहरू छन् र?
२ प्रेरित पावलले लेखे: “परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।” (१ कोरि. १५:५७) प्रत्येक वर्ष स्मरणार्थ उत्सवताका हामीलाई यहोवा र ख्रीष्ट दुवैले देखाउनुभएको असीम प्रेमको सम्झना गराइन्छ। त्यस प्रेमले गर्दा नै हामीलाई अनन्त जीवनको आशा दिने छुडौतीको मोलको प्रबन्ध गरियो। (यूह. ३:१६) हाम्रो परिवारमा प्रिय जनको मृत्यु भए तापनि येशूले गर्नुभएको पुनरुत्थानको प्रतिज्ञाप्रति हामी एकदमै कृतज्ञ छौं! यस रीतिरिवाजबाट मुक्ति पाएर कहिल्यै मर्न नपर्ने प्रत्याशाहरू मनन गर्दा हाम्रो हृदय कृतज्ञताले गदगद् हुन्छ। (यूह. ११:२५, २६) यहोवाको छत्रछायाँमा भावी पार्थिव प्रमोदवनमा हामीले अनुभव गर्ने उदेकलाग्दा आशिष्हरूका लागि त झन् धन्यवाद व्यक्त गर्ने शब्दहरू नै पाउन गाह्रो छ। (प्रका. २१:४) त्यसैले, प्रत्येक व्यक्तिसित परमेश्वरलाई ‘आफ्नो धन्यवाद चढाउने’ के यी पर्याप्त कारणहरू होइनन् र?
३ परमेश्वरलाई कसरी धन्यवाद व्यक्त गर्ने: उहाँले भलाइ गर्नुभएको हुनाले हामीले आफ्नो प्रार्थनामा धन्यवाद व्यक्त गर्नु सधैं उपयुक्त छ। (भज. १३६:१-३) अरू विभिन्न सकारात्मक तरिकामा पनि उहाँलाई हाम्रो कृतज्ञता देखाउन हामी अग्रसर हुन्छौं। उदाहरणका लागि, मार्च २३, आइतबार पर्ने ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउन जसरी भए पनि उपस्थित हुनेछौं। स्थानीय मण्डली र विश्वव्यापी कार्यमा हामी प्रसन्नतासाथ ‘आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्छौं।’ (हितो. ३:९) प्राचीनहरू मार्फत प्रबन्ध गरिदिनुभएको मदतको लागि पनि हामी यहोवालाई आभार व्यक्त गर्छौं। प्राचीनहरूलाई पूर्ण समर्थन र सहयोग पनि गर्छौं। (१ थिस्स. ५:१२, १३) हामी सधैं परमेश्वरको नाउँ महिमा गर्न सदाचारी हुने प्रयत्न गर्छौं। (१ पत्रु. २:१२) हाम्रा यी सबै कृतज्ञताका कार्यहरूले यहोवा प्रसन्न हुनुहुन्छ।—१ थिस्स. ५:१८.
४ धन्यवादको सर्वोत्तम अभिव्यक्ति: राज्यबारे प्रचार गर्ने काममा दिलो ज्यान दिंदै पूर्ण रूपमा भाग लिएर, यहोवाको नाउँको सम्मान गरेर, प्रार्थनामा हाम्रो कृतज्ञता जाहेर गरेर अनि सत्यलाई वफादारीसाथ थामी राखेर हाम्रो सृष्टिकर्ताले हाम्रोलागि गर्नुभएका कार्यहरूका लागि हार्दिक धन्यवाद चढाउन सकिने यी केही तरिकाहरू हुन्। “सबै मानिसहरूले उद्धार पाऊन्” भन्ने उहाँको इच्छालाई टेवा दिने पवित्र सेवा चढाउने गतिविधिमा हामी संलग्न भएकोमा यहोवा दंग पर्नुहुन्छ। (१ तिमो. २:३, ४) त्यसकारण, फेब्रुअरी महिनाको हाम्रो राज्य सेवकाई-मा गरिएको आह्वानको प्रतिक्रिया स्वरूप आफ्नो परिस्थिति मिलाउनसक्ने कैयौं प्रकाशकहरू मार्च, अप्रिल र मे महिनामा एक महिना वा त्योभन्दा बढी सहायक अग्रगामी गर्न अग्रसर भइरहेका छन्। सेवकाईमा अझ बढी भाग लिन प्रयत्न गर्नु पनि ‘हामी धन्यवादी हुने’ एउटा राम्रो तरिका हो। के तपाईं अप्रिल महिनामा अग्रगामीहरूको दलमा सम्मिलित हुन सक्नुहुन्छ? मे महिनामा नि?
५ हामीलाई सधैंभरि बाँच्नसक्ने भरपर्दो आशा दिइएको छ। जब यो पूरा हुन्छ, हर्षका साथ यहोवालाई दिनदिनै धन्यवाद दिने हामीसित अरू प्रशस्त कारण हुनेछन्।—भज. ७९:१३.