अध्याय ३५
म कसरी परमेश्वरको साथी बन्न सक्छु?
आफ्नो जीवनमा ठूलो चोट सहनुपर्दा जेरोमिले परमेश्वरसितको मित्रताको महत्त्व बुझे। उनी भन्छन्: “म १२ वर्षको हुँदा बुबा हामीलाई छोडेर जानुभयो। एक रात म निदाउनै सकिनँ अनि बुबालाई जसरी भए पनि हामीकहाँ फर्काइदिनुहोस् भनेर यहोवालाई बिन्ती गरेँ।”
निराश भएको बेला जेरोमिले बाइबल पढ्न थाले। बाइबल पढ्दै जाँदा भजन १०:१४ मा लेखिएको कुराले उनको मन छोयो। त्यस पदमा यहोवाबारे यसो भनिएको छ: “जालमा परेको त्यो मानिसले तपाईँकै बाटो हेर्छ; तपाईँ अनाथको मदतगार हुनुहुन्छ।” जेरोमि भन्छन्: “यहोवा मसँग कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्यो। अनि मलाई उहाँ मेरो मदतगार र बुबा हुनुहुन्छ भन्नुभएको महसुस भयो। उहाँभन्दा असल बुबा मैले कहाँ पाउनु र?”
तपाईँ जेरोमिको जस्तो अवस्थामा हुनुहोस् वा अर्कै अवस्थामा, यहोवा तपाईँलाई साथी बनाउन चाहनुहुन्छ भनेर बाइबलमा बताइएको छ। बाइबल भन्छ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यस भनाइको अर्थ के हो, विचार गर्नुहोस्: तपाईँ उहाँलाई देख्न सक्नुहुन्न अनि उहाँ तपाईँको दौँतरी पनि होइन। तैपनि यहोवाले तपाईँलाई उहाँको साथी बन्न निम्तो दिनुभएको छ।
तर परमेश्वरसित मित्रता गाँस्न तपाईँले कदम चाल्नुपर्छ। उदाहरणको लागि, तपाईँले एउटा बिरुवा रोप्नुभएको छ भने त्यो आफसेआफ हुर्किँदैन। त्यो बिरुवा राम्ररी हुर्कियोस् भन्ने चाहनुहुन्छ भने तपाईँले त्यसमा नियमित पानी हाल्नुपर्छ अनि त्यसलाई उपयुक्त वातावरणमा राख्नुपर्छ। परमेश्वरसित साथी बन्न पनि हामीले प्रयास गर्नुपर्छ। तपाईँ कसरी परमेश्वरसित मित्रता गाँस्न सक्नुहुन्छ?
बाइबल अध्ययन गर्नुको महत्त्व
मित्रता गाँस्न दोहोरो कुराकानी गर्नुपर्छ—साथीको कुरा सुन्ने अनि आफ्नो कुरा बताउने। परमेश्वरसित मित्रता गाँस्न पनि दोहोरो कुराकानी गर्नुपर्छ। बाइबल पढ्दा र अध्ययन गर्दा परमेश्वरले हामीलाई बताउन चाहनुभएको कुरा हामीले सुनिरहेका हुन्छौँ।—भजन १:२, ३.
तपाईँलाई अध्ययन गर्न रमाइलो लाग्दैन होला। धेरै युवालाई अध्ययन गर्नभन्दा टिभी हेर्न, गेम खेल्न वा साथीहरूसँग समय बिताउन मन पर्छ। तर तपाईँ परमेश्वरसित मित्रता गाँस्न चाहनुहुन्छ भने तपाईँले मेहनत गर्नै पर्छ। उहाँको कुरा सुन्न तपाईँले उहाँको वचन अध्ययन गर्नै पर्छ।
तर चिन्ता नगर्नुहोस्। बाइबल अध्ययन गर्नुलाई बोझ ठान्नुपर्दैन। तपाईँलाई अध्ययन गर्न त्यत्ति मन पर्दैन होला। तैपनि तपाईँ रमाइलो तरिकामा अध्ययन गर्न सिक्न सक्नुहुन्छ। तपाईँले गर्नुपर्ने पहिलो काम भनेको बाइबल अध्ययनको लागि समय छुट्ट्याउनु हो। लायस नाम गरेकी किशोरी भन्छिन्: “मैले एउटा तालिका बनाएकी छु। म बिहान उठ्नेबित्तिकै बाइबलको एउटा अध्याय पढ्ने गर्छु।” पन्ध्र वर्षीया मारियाको भने तालिका फरक छ। उनी भन्छिन्: “राती सुत्नुअघि म थोरै भए पनि बाइबल पढ्ने गर्छु।”
अध्ययन गर्ने आफ्नो तालिका बनाउन पृष्ठ २९२ मा भएको पेटी हेर्नुहोस्। त्यसपछि ३० मिनेटजति बाइबल अध्ययन गर्न तपाईँले कुन समय छुट्ट्याउन सक्नुहुन्छ, तल लेख्नुहोस्।
․․․․․
कहिले पढ्ने भनेर समय छुट्ट्याउनु त सुरुवात मात्र हो। तपाईँले अध्ययन गर्न थाल्नुभएपछि भने बाइबल पढ्न सधैँ सजिलो हुँदैन रहेछ भनेर थाह पाउनुहुनेछ। तपाईँ ११ वर्षीय जिजरेलसित सहमत हुनुहुन्छ होला, जो कुरा नलुकाई यसो भन्छन्: “बाइबलको कुनै-कुनै विवरण बुझ्न गाह्रो छ अनि त्यत्ति रमाइलो पनि छैन।” तपाईँलाई पनि त्यस्तै लाग्छ भने हरेस नखानुहोस्। हरेक चोटि बाइबल अध्ययन गर्नु भनेको वास्तवमा तपाईँको साथी यहोवाको कुरा सुन्न समय निकाल्नु हो। त्यसैले तपाईँले जति मेहनत गर्नुहुन्छ, बाइबल अध्ययन त्यति नै रमाइलो र अर्थपूर्ण हुनेछ।
प्रार्थना गर्नु महत्त्वपूर्ण छ
प्रार्थना गरेर हामी परमेश्वरसित कुरा गर्छौँ। हामीले प्रार्थना गर्ने कत्ति ठूलो सुअवसर पाएका छौँ, सोच्नुहोस् त! तपाईँ यहोवा परमेश्वरलाई दिनमा वा रातमा जतिबेला पनि प्रार्थना गर्न सक्नुहुन्छ। उहाँ सधैँ तपाईँको कुरा सुन्न तयार हुनुहुन्छ। त्यति मात्र होइन, तपाईँको कुरा सुन्न उहाँ इच्छुक पनि हुनुहुन्छ। त्यसैले बाइबलमा तपाईँलाई यस्तो आग्रह गरिएको छ: “हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।”—फिलिप्पी ४:६.
यस बाइबल पदमा बताइएजस्तै तपाईँ यहोवासित विभिन्न विषयमा कुरा गर्न सक्नुहुन्छ। तपाईँ आफ्ना समस्या अनि चिन्ता-फिक्रीबारे उहाँलाई बताउन सक्नुहुन्छ। साथै तपाईँ धन्यवाद पनि दिन सक्नुहुन्छ। साथीहरूले तपाईँको लागि केही राम्रो काम गरिदिए भने के तपाईँ तिनीहरूलाई धन्यवाद दिनुहुन्न र? त्यसैगरि तपाईँ यहोवालाई पनि धन्यवाद दिन सक्नुहुन्छ। उहाँलेजति तपाईँको लागि राम्रो काम अरू कसले गरिदिएको छ र?—भजन १०६:१.
तपाईँ कुन-कुन कुराको लागि यहोवालाई धन्यवाद दिन चाहनुहुन्छ, लेख्नुहोस्।
․․․․․
कहिलेकाहीँ तपाईँलाई विभिन्न कुराको डर-चिन्ताले सताउन सक्छ। भजन ५५:२२ भन्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।”
तपाईँ आफ्ना कुन-कुन चिन्ताबारे प्रार्थना गर्न चाहनुहुन्छ, लेख्नुहोस्।
․․․․․
व्यक्तिगत अनुभव
परमेश्वरसितको मित्रताको अर्को पक्ष पनि छ, जुन तपाईँले बेवास्ता गर्नु हुँदैन। भजनरचयिता दाउदले लेखे: “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ।” (भजन ३४:८) आफ्नो ज्यानै जान सक्ने अवस्थाबाट बचेपछि दाउदले ३४ औँ भजन रचेका थिए। दाउद आफ्नो ज्यान लिन खोज्ने राजा साउलबाट भागिरहेका थिए। तिनी असाध्यै गाह्रो परिस्थितिबाट गुज्रिरहेका थिए। तिनले ज्यान जोगाउन पलिस्तियालीहरूकहाँ शरण लिनुपऱ्यो, जो तिनका शत्रु थिए। त्यहाँ ज्यानै जाने खतरामा पर्दा दाउदले चलाखीपूर्ण तरिकामा बौलाएको नाटक गरे अनि त्यहाँबाट उम्किए।—१ समुएल २१:१०-१५.
हुनत दाउद मृत्युको मुखबाट बचे तर तिनले आफ्नै चलाखीले गर्दा बचेको हो भन्ने सोचाइचाहिँ राखेनन्। बरु तिनले यहोवालाई त्यसको श्रेय दिए। तिनले भजन ३४ को सुरुतिर लेखे: “मैले यहोवालाई प्रार्थना गरेँ र उहाँले मलाई जवाफ दिनुभयो। उहाँले मेरा सबै डर हटाइदिनुभयो।” (भजन ३४:४) दाउदले व्यक्तिगत अनुभवबाट यहोवा भलो हुनुहुन्छ भनेर थाह पाएका थिए। त्यसैले तिनले अरूलाई यस्तो आग्रह गर्न सके: “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ।”a
यहोवाले तपाईँको ख्याल राख्नुभएको कुनै अनुभव सम्झिन सक्नुहुन्छ कि? सम्झिन सक्नुहुन्छ भने त्यसबारे तल लेख्नुहोस्। तपाईँको अनुभव विशेष हुनुपर्छ भन्ने छैन। तपाईँले दिनदिनै पाएका आशिष्हरूबारे सोच्नुहोस्, जसमध्ये कुनै-कुनै तपाईँले खासै याद नगर्नुभएको हुन सक्छ।
․․․․․
सायद तपाईँले आफ्नो आमाबुबाबाट बाइबलको कुरा सिक्नुभयो। त्यसो हो भने त्यो तपाईँको लागि आशिष् नै हो। तैपनि तपाईँ आफैले परमेश्वरसित मित्रता गाँस्न कोसिस गर्नुपर्छ। यदि तपाईँले त्यसो गरिसक्नुभएको छैन भने यस अध्यायमा भएका सुझावहरू लागू गरेर परमेश्वरसित मित्रता गाँस्न सक्नुहुन्छ। यहोवाले तपाईँको प्रयासमा आशिष् दिनुहुनेछ। बाइबल भन्छ: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ।”—मत्ति ७:७.
यस विषयमा थप जानकारी पाउनको लागि यसै किताबको खण्ड १, अध्याय ३८ र ३९ पढ्नुहोस्
अर्को अध्यायमा
के तपाईँलाई परमेश्वरमाथि विश्वास गर्नुको कारणबारे अरूलाई बताउन गाह्रो लाग्छ? त्यसो हो भने आफ्नो विश्वासबारे अरूलाई कसरी बताउन सक्नुहुन्छ, सिक्नुहोस्।
[फुटनोट]
a कुनै-कुनै बाइबलमा “चाखेर हेर” भन्ने अभिव्यक्तिलाई “पारख गरेर हेर” र “जाँचेर हेर” भनेर अनुवाद गरिएको छ।—नयाँ संशोधित संस्करण र पढ्न सजिलो संस्करण।
मुख्य शास्त्रपद
“आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन्।”—मत्ति ५:३.
सुझाव
तपाईँले दिनमा चार पृष्ठजति बाइबल पढ्नुभयो भने लगभग एक वर्षमा पूरै बाइबल पढेर सिद्ध्याउन सक्नुहुन्छ।
के तपाईँलाई थाह थियो ...
तपाईँले यो किताब पढिरहनुभएको अनि यसमा भएका बाइबलआधारित सुझावहरू लागू गरिरहनुभएको कुराबाट यहोवाले व्यक्तिगत रूपमा तपाईँको चासो लिनुहुन्छ भनेर देखिन्छ।—युहन्ना ६:४४.
मेरो योजना!
व्यक्तिगत बाइबल अध्ययनबाट पूरापूर लाभ उठाउन म यसो गर्नेछु: ․․․․․
प्रार्थना गर्ने बानी बसाल्न म यसो गर्नेछु: ․․․․․
यसबारे मैले आमाबुबालाई सोध्न चाहेको कुरा यो हो: ․․․․․
तपाईँलाई कस्तो लाग्छ?
● तपाईँ अझ रमाइलो तरिकामा व्यक्तिगत बाइबल अध्ययन कसरी गर्न सक्नुहुन्छ?
● यहोवा किन त्रुटिपूर्ण मानिसहरूको प्रार्थना सुन्न इच्छुक हुनुहुन्छ?
● प्रार्थनाको गुणस्तर बढाउन तपाईँ के गर्न सक्नुहुन्छ?
[पृष्ठ २९१ मा भएको ठूलो अक्षरको क्याप्सन]
“म सानो छँदा प्रार्थनामा एउटै कुरा दोहोऱ्याइरहन्थेँ। तर अहिले भने बेलुका प्रार्थना गर्दा त्यो दिन के-के राम्रो भयो अनि के-के नराम्रो भयो भनेर बताउने कोसिस गर्छु। प्रत्येक दिन फरक हुने भएकोले मैले प्रार्थनामा बताउने कुरा पनि दोहोरिँदैन।”—इभ
[पृष्ठ २९२ मा भएको पेटी/चित्र]
बाइबलमा के-के छ, पत्ता लगाउनुहोस्
१. तपाईँलाई पढ्न मन लागेको बाइबलको कुनै विवरण रोज्नुहोस्। पढेको कुरा बुझ्न प्रार्थना गरेर बुद्धि माग्नुहोस्।
२. ध्यान दिएर पढ्नुहोस्। सिद्ध्याउने धुनमा हतार-हतार पढ्नुहोस्। कल्पना गर्दै पढ्नुहोस्। बाइबल अध्ययनलाई जीवन्त बनाउन आफ्ना विभिन्न इन्द्रिय प्रयोग गर्नुहोस्। जस्तै: विवरणमा के-के भइरहेको छ, हेर्नुहोस्; कस्तो कुराकानी भइरहेको छ, सुन्नुहोस्; त्यहाँको बास्ना सुँघ्नुहोस् अनि खानेकुराको स्वाद लिनुहोस्।
३. भर्खरै पढेको कुराबारे सोच्नुहोस्। आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्:
● यहोवाले यो विवरण बाइबलमा किन लेख्न लगाउनुभयो?
● बाइबलका कुन-कुन पात्रहरूको अनुकरण गर्नुपर्छ अनि कुन-कुन पात्रहरूको नराम्रो उदाहरणबाट पाठ सिक्नुपर्छ?
● यस पढाइबाट म कस्तो व्यावहारिक पाठ सिक्न सक्छु?
● यस विवरणबाट यहोवाबारे अनि उहाँको काम गर्ने तरिकाबारे म के सिक्न सक्छु?
४. यहोवालाई छोटो प्रार्थना गर्नुहोस्। बाइबल अध्ययनबाट तपाईँले के सिक्नुभयो अनि सिकेको कुरा आफ्नो जीवनमा कसरी लागू गर्न चाहनुहुन्छ, उहाँलाई बताउनुहोस्। यहोवाले तपाईँलाई उहाँको वचन अर्थात् पवित्र बाइबल दिनुभएकोमा धन्यवाद दिन कहिल्यै नबिर्सनुहोस्।
[चित्र]
“तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।”—भजन ११९:१०५.
[पृष्ठ २९४ मा भएको पेटी/चित्र]
महत्त्वपूर्ण काम पहिला गर्नुहोस्
के तपाईँलाई प्रार्थना गर्न वा बाइबल अध्ययन गर्न समय नै छैन जस्तो लाग्छ? तपाईँले कुन काम पहिला गर्नुहुन्छ, त्यसले फरक पार्छ।
यसो गरेर हेर्नुहोस्: एउटा भाँडो लिनुहोस् र त्यसमा ठूलठूला ढुङ्गाहरू राख्नुहोस्। त्यसपछि टन्नै बालुवा भर्नुहोस्। अब त्यो भाँडो ढुङ्गा र बालुवाले पूरै भरियो।
अब त्यो भाँडो खालि गर्नुहोस् तर ढुङ्गा र बालुवा नफाल्नुहोस्। यसपालि चाहिँ यसरी भाँडो भर्नुहोस्: पहिला बालुवा हाल्नुहोस्। त्यसपछि ढुङ्गा हाल्नुहोस्। ढुङ्गाहरू अटाएन कि? बालुवा पहिला हालेपछि सबै ढुङ्गा अटाउन गाह्रै हुन्छ।
निष्कर्ष? बाइबल भन्छ: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्, सो तिमीहरूले पक्का गर्न सक।” (फिलिप्पी १:१०) यदि तपाईँले कम महत्त्वपूर्ण काममा धेरै समय बिताउनुभयो भने अझ महत्त्वपूर्ण कामको लागि समय बाँकी हुनेछैन। जस्तै: रमाइलो गर्न धेरै समय बिताउँदा आध्यात्मिक गतिविधिको लागि समय बाँकी रहनेछैन। तर यदि बाइबलको सल्लाह लागू गर्नुभयो भने तपाईँले आध्यात्मिक गतिविधिको लागि अनि रमाइलो गर्न पनि समय पाउनुहुनेछ। त्यसैले तपाईँ आफ्नो भाँडोमा पहिला के हाल्नुहुन्छ, त्यसले फरक पार्छ।
[पृष्ठ २९० मा भएको चित्र]
तपाईँले रोप्नुभएको बिरुवालाई हुर्काउन मलजल गर्नुपरेझैँ परमेश्वरसितको मित्रता बलियो बनाउन पनि तपाईँले आफ्नो तर्फबाट कोसिस गर्नुपर्छ