बाइबलको दृष्टिकोण
के पृथ्वी आगोले भस्म हुनेछ?
आणविक विध्वंसले डढ्नु, दन्केको सूर्यको रापले खरानी हुनु अथवा रीसले चूर हुनुभएको परमेश्वरद्वारा जलाइनु। विनाश हुने तरिका फरक फरक होला तर मानिसजातिको घर अर्थात् यो ग्रह, पृथ्वी पक्कै पनि चर्को रापले भस्म हुनेछ, व्यापक विनाश हुनेछ भनी अधिकांश मानिसहरू विश्वस्त छन्।
मानिसले पृथ्वीलाई क्षति पुऱ्याएको सजायस्वरूप परमेश्वरले पृथ्वीलाई प्रचण्ड आगोले नाश गर्नुहुन्छ भन्ने संकेत बाइबलमा पाइन्छ भन्ने व्यक्तिहरू पनि छन्। अरू चाहिं अस्ट्रेलियास्थित अडिलेड विश्वविद्यालयका प्राध्यापक पल डेभिसको विचारसित सहमत छन्। तिनी भन्छन्, पृथ्वी प्रचण्ड विनाशतिर लम्किरहेको छ र आगोको विनाशबाट पृथ्वी उम्कनै सक्नेछैन। अन्तिम तीन मिनेट (अंग्रेजी) पुस्तकमा तिनले आफ्नो सिद्धान्त यसरी पेश गर्छन्: “सूर्य झन् झन् दन्कँदै गएपछि त्यसले पृथ्वीलाई . . . स्वाहा पार्नेछ। हाम्रो पृथ्वी त आगोको एउटा भुङ्ग्रो मात्र हुनेछ।” के पृथ्वीको हालत साँच्चै यस्तै हुनेछ? बाइबलमा प्रचण्ड आगोको विनाशलाई संकेत गरिएका पदहरू हामीले कसरी बुझ्नुपर्ने हो?
के परमेश्वर चासो राख्नुहुन्छ?
यर्मिया १०:१०-१२ मा हामीलाई यस्तो जानकारी दिइएको छ: “परमप्रभु ता साँचो परमेश्वर हुनुहुन्छ, . . . उहाँनै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो सामर्थले सृजनुभयो जसले आफ्नो ज्ञानले संसारलाई स्थापित गर्नुभयो, आफ्नो बुद्धिले उहाँले आकाशलाई फैलाउनुभयो।” परमेश्वरले पृथ्वी बनाउनुभयो र त्यसलाई स्थापित गर्नुभयो। त्यसकारण उहाँले बुद्धि, प्रेम र समझदारी चलाउँदै बडो होशियारीपूर्वक यस पृथ्वी तयार पार्नुभयो। यो सदासर्वदा रहिरहनुका साथै मानिसजातिको सुन्दर घर हुनेथियो।
परमेश्वरले सृजनुभएको मानिसजातिबारे बाइबल यस्तो विवरण पेश गर्छ: “नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। औ परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।’ ” (उत्पत्ति १:२७, २८) सृजने काम सिद्धिएपछि उहाँले कुनै सन्देहबिना यस्तो घोषणा गर्नसक्नुभयो, “त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) उहाँ त्यो जिउँका तिउँ रहेको चाहनुहुन्थ्यो। पहिलो सन्तान जन्माउन लागेको दम्पतीले आफ्नो नवजात शिशुलाई कहाँ सुताउने, कसो गर्ने, सबै प्रबन्ध मिलाएझैं परमेश्वरले पनि एउटा सुन्दर बगैंचा बनाउनुभयो र त्यसको गोडमेल तथा हेरचाह गर्न आदमलाई त्यहाँ राख्नुभयो।—उत्पत्ति २:१५.
आदमले सिद्धतालाई लत्याए, पृथ्वीको हेरचाह गर्ने आफ्नो कर्तव्य पन्छाए। तर के परमेश्वरले आफ्नो उद्देश्यलाई बेवास्ता गर्नुभयो? यशैया ४५:१८ ले संकेत गरेअनुसार उहाँले त्यसो गर्नुभएको छैन। त्यहाँ यसो लेखिएको छ: “स्वर्ग सृजने परमप्रभु यसो भन्नुहुन्छ, . . . जसले पृथ्वी रच्नुभयो . . . उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नालाई बनाउनुभयो।” (यशैया ५५:१०, ११ पनि हेर्नुहोस्।) हुन त, आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न मानिसले लापरवाही गऱ्यो। तैपनि परमेश्वरले पृथ्वी र पृथ्वीवासीहरूबारे जे गर्ने उद्देश्य राख्नुभएको थियो, त्यो पूरा गरी नै रहनुभएको छ। पुरातन समयका इस्राएल राष्ट्रलाई दिइएको व्यवस्थाअनुसार हरेक सातौं वर्षमा “भूमिलाई विशेष विश्राम होस्” भन्ने प्रबन्ध पनि गरिएको थियो। यसमा मानिसले जनावरहरूलाई पनि केही हदसम्म सुरक्षा दिनुपर्ने व्यवस्थाहरू समावेश थिए। (लेवी २५:४; प्रस्थान २३:४, ५; व्यवस्था २२:१, २, ६, ७, १०; २५:४; लूका १४:५) यसबाट परमेश्वर मानिसजाति र मानिसको जिम्मामा सुम्पिएका सम्पूर्ण कुराहरूप्रति चासो राख्नुहुन्छ भनी प्रष्टै देखिन्छ। माथि उल्लिखित यस्ता कुराहरू त बाइबलमा दिइएका केही उदाहरणहरू मात्र हुन्।
“पहिलो पृथ्वी”
त्यसोभए, आपसमा बाझिएजस्तो देखिने बाइबलका पदहरूलाई कसरी मिलान गर्नसक्छौं त? तीमध्ये एउटा पद हो २ पत्रुस ३:७। त्यहाँ यसो लेखिएको छ: “तर अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका छन्।” अर्को चाहिं प्रकाश २१:१ हो, जहाँ यसो लेखिएको छ: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले।”
पत्रुसका यी शब्दहरूको शाब्दिक अर्थ लाउने हो र पृथ्वी ग्रह साँच्चै आगोले डढ्ने हो भने, वास्तविक आकाश अर्थात् ताराहरू र अन्य आकाशीय पिण्डहरू पनि आगोद्वारा विनाश हुनेछन्। तथापि, यो व्याख्या मत्ती ६:१० र भजन ३७:२९ जस्ता आश्वासनदायी शास्त्रपदहरू विपरीत छन्। ती शास्त्रपदहरूमध्ये मत्ती ६:१० मा “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्,” तथा भजन ३७:२९ मा “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्” लेखिएको छ। यसबाहेक, अत्यन्त तातो ग्याँसको प्रचण्ड आँधी चलिरहने भुङ्ग्रोजस्तो तातो सूर्य तथा ताराहरूमा आगो पऱ्यो भने त के होला हँ?
बाइबलमा “पृथ्वी” शब्द अक्सर लाक्षणिक अर्थमा प्रयोग गरिएको छ। जस्तै, उत्पत्ति ११:१ यसो भन्छ: “त्यसबेला जम्मै पृथ्वीमा एउटै भाषा थियो।” यहाँ प्रयोग गरिएको “पृथ्वी” शब्दले सामान्यतया मानिसजाति वा मानव समाजलाई संकेत गर्छ। (१ राजा २:१, २; १ इतिहास १६:३१ पनि हेर्नुहोस्।) दोस्रो पत्रुस ३:५, ६ मा पनि “पृथ्वी” शब्द लाक्षणिक अर्थमा प्रयोग गरिएको छ। यसले नूहको दिनमा दुष्ट मानव समाज जलप्रलयमा नाश भएको तर नूह र तिनको परिवारलगायत सम्पूर्ण ब्रह्माण्ड जोगाइएको घटनालाई संकेत गर्छ। (उत्पत्ति ९:११) त्यसैगरि २ पत्रुस ३:७ अनुसार पृथ्वी भनेको नाश हुने “अभक्त मानिसहरू” हुन्। यो व्याख्या बाइबलका बाँकी कुराहरूसित मेल खान्छ। विनाशको निम्ति छुट्याएर राखिएको दुष्ट समाज नै माथि उल्लिखित प्रकाश २१:१ मा बताइएको “पहिलो पृथ्वी” हो।
मायालु हेरविचार गर्ने पार्थिव पिताले आफ्नो घरलाई जोगाउन कुनै कसर बाँकी नराखेझैं यहोवा परमेश्वर पनि आफ्नो सृष्टिप्रति निकै गहिरो चासो लिनुहुन्छ। एकपटक उहाँले यर्दनको उर्वरा उपत्यकाबाट अनैतिक दुष्ट मानिसहरूलाई हटाउनुभएर त्यस भूमिको हेरचाह गर्न नयाँ व्यक्तिहरू नियुक्त गर्नुभएको थियो। तिनीहरू उहाँको करारमा बाँधिएका थिए र तिनीहरूले उहाँका ऐनहरू पालन गरेमा ‘त्यसका पूर्व बासिन्दालाई झैं तिनीहरूलाई त्यसले उकेलेर फालिदिने थिएन।’—लेवी १८:२४-२८.
“नयाँ पृथ्वी”
लैंगिक दुराचार, घोर हिंसा र राजनैतिक भ्रष्टाचारले भरिएको समाजले गर्दा आज पृथ्वी प्रदूषित भएको छ। परमेश्वरले मात्र पृथ्वीलाई जोगाउन सक्नुहुन्छ। उहाँले निश्चय नै जोगाउनुहुनेछ। प्रकाश ११:१८ अनुसार उहाँले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरको डर राख्ने र सँगी मानवहरूलाई प्रेम गर्ने मानिसहरू पुनर्स्थापित तथा नयाँ पारिएको पृथ्वीमा बसोबास गर्नेछन्। (हिब्रू २:५; तुलना गर्नुहोस् लूका १०:२५-२८) परमेश्वरको स्वर्गीय राज्यको निर्देशनमा आमूल परिवर्तनपछिको पृथ्वीलाई बाइबलले “नयाँ पृथ्वी” भन्छ। यो नयाँ मानव समाज हो।
भजन ३७:२९ जस्ता शास्त्रपदहरू पढ्दा र मत्ती ६:१० मा उद्धरित ख्रीष्टका शब्दहरूको अर्थ बुझ्दा हामी के कुरामा विश्वस्त हुन्छौं भने, न ता अनियन्त्रित प्राकृतिक शक्तिले न मानिसको भएभरको विनाशकारी शक्तिले नै यस पृथ्वी ग्रहलाई नाश गर्न सक्नेछ। तिनीहरूले परमेश्वरको उद्देश्य विफल पार्नसक्ने छैनन्। (भजन ११९:९०; यशैया ४०:१५, २६) विश्वासी मानिसजाति यस पृथ्वीको असीम सुन्दरताबीच रहनेछन् र सधैंभरि आनन्दित हुनेछन्। वास्तवमा पृथ्वीको भविष्य यस्तै हुनेछ। किनकि मानिसजातिको मायालु सृष्टिकर्ताको उद्देश्य परापूर्वकालदेखि यही नै थियो, यही नै छ।—उत्पत्ति २:७-९, १५; प्रकाश २१:१-५.