प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ४३ pp. २२२-२२६
  • हाम्रा दाजुभाइ-दिदीबहिनी को हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा दाजुभाइ-दिदीबहिनी को हुन्‌?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • रिसले गलत काम गर्न लगाउन सक्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • असल छोरा र खराब छोरा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ४३ pp. २२२-२२६

अध्याय ४३

हाम्रा दाजुभाइ-दिदीबहिनी को हुन्‌?

एक दिन महान्‌ शिक्षकले एउटा अचम्मको प्रश्‍न सोध्नुभयो। त्यो प्रश्‍न थियो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” (मत्ती १२:४८) के तिमी त्यो प्रश्‍नको जवाफ दिन सक्छौ?—तिमीलाई थाह छ होला, येशूकी आमाको नाम मरियम हो। तर के तिमीलाई उहाँका भाइहरूको नाम थाह छ?—के उहाँका बहिनीहरू पनि थिए?—

येशूका भाइहरू “याकूब, यूसुफ, सिमोन र यहूदा” थिए भनी बाइबल बताउँछ। उहाँका बहिनीहरू पनि थिए। तिनीहरू उहाँले प्रचार गर्नेबेलामा जीवितै थिए। येशू जेठो हुनुभएकोले तिनीहरू सबै उहाँभन्दा साना थिए।—मत्ती १३:५५, ५६; लूका १:३४, ३५.

के येशूका भाइहरू उहाँका चेला बने?—सुरुमा उहाँका भाइहरूले “उहाँमाथि विश्‍वास गर्दैनथे” भनी बाइबल बताउँछ। (यूहन्‍ना ७:५) तर पछि याकूब र यहूदा उहाँका चेला बने अनि तिनीहरूले बाइबलका पुस्तकहरूसमेत लेखे। तिनीहरूले कुन-कुन पुस्तक लेखे, के तिमीलाई थाह छ?—याकूब र यहूदाको पुस्तक।

बाइबलमा येशूका बहिनीहरूको नाम दिइएको छैन। तैपनि उहाँका कम्तीमा पनि दुई बहिनी थिए भनेर हामी भन्‍न सक्छौं। तर त्योभन्दा धेरै पनि हुन सक्छ। के तिनीहरू उहाँका अनुयायी बने?—बाइबलमा यसबारे नलेखिनुको कारण हामीलाई थाह छैन। तर येशूले “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” भनी प्रश्‍न गर्नुको कारण के थियो, तिमीलाई थाह छ?—आऊ, हामी पत्ता लगाऔं!

येशूले आफ्ना चेलाहरूलाई सिकाइरहनुहुँदा एक जना मानिसले बीचैमा कुरा काटेर यसो भने: “हेर्नुहोस्‌, तपाईंका आमा र भाइहरू तपाईंसित कुरा गर्न बाहिर पर्खिरहेका छन्‌।” त्यसैले एउटा महत्त्वपूर्ण पाठ सिकाउन येशूले मौकाको सदुपयोग गर्दै त्यो अचम्मको प्रश्‍न सोध्नुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” आफ्ना चेलाहरूतिर देखाउँदै उहाँले यस्तो जवाफ दिनुभयो: “हेर, मेरी आमा अनि मेरा भाइहरू!”

त्यसपछि आफूले भनेको कुराको अर्थ खुलाउँदै येशूले भन्‍नुभयो: “जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।” (मत्ती १२:४७-५०) येशू आफ्ना चेलाहरूलाई कत्ति प्रेम गर्नुहुन्छ भनेर यसबाट देखिन्छ। आफ्ना चेलाहरू उहाँका लागि आफ्नै दाजुभाइ, दिदीबहिनी अनि आमा जत्तिकै छन्‌ भनेर उहाँ सिकाउँदै हुनुहुन्थ्यो।

येशूले कसलाई आफ्नो दाजुभाइ अनि दिदीबहिनी भन्‍नुभयो?

त्यतिबेला येशूका भाइहरूले—याकूब, यूसुफ, सिमोन र यहूदाले—उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर विश्‍वास गर्दैन थिए। आफ्नी आमालाई गब्रिएल स्वर्गदूतले भनेको कुरामा पनि सायद तिनीहरूले विश्‍वास गरेका थिएनन्‌। (लूका १:३०-३३) त्यसैले तिनीहरूले येशूलाई नराम्रो व्यवहार गरेको हुन सक्छ। कसैले त्यस्तो व्यवहार गर्छ भने ऊ साँच्चैको दाजुभाइ वा दिदीबहिनी हुन सक्दैन। आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई नराम्रो व्यवहार गर्ने कोही मानिसलाई के तिमीले चिनेका छौ?—

बाइबलले एसाव र याकूबबारे बताउँछ। अनि एसाव आफ्नो भाइ याकूबसित एकदमै रिसाएको कुराबारे पनि बताउँछ। एसावले यसो भनेका थिए: “म मेरो भाइ याकूबलाई मार्नेछु।” तिनीहरूकी आमा रिबेका एकदमै डराइन्‌ र एसावले याकूबलाई मार्न नसकोस्‌ भनेर तिनलाई अन्तै पठाइन्‌। (उत्पत्ति २७:४१-४६) तर वर्षौंपछि एसाव परिवर्तन भए र याकूबलाई अङ्‌गालो हालेर म्वाइँ खाए।—उत्पत्ति ३३:४.

पछि, याकूबका १२ जना छोरा भए। तर याकूबका ठूला छोराहरूले आफ्नो भाइ यूसुफलाई माया गर्दैनथे। तिनीहरू यूसुफको डाह गर्थे किनभने उनी बुबाको सबैभन्दा प्यारो छोरा थिए। त्यसैले तिनीहरूले उनलाई मिश्रतिर गइरहेका व्यापारीहरूलाई दासको रूपमा बेचिदिए। अनि आफ्नो बुबालाई चाहिं यूसुफलाई जङ्‌गली जनावरले माऱ्‍यो भनेर बताए। (उत्पत्ति ३७:२३-३६) कस्तो नराम्रो कुरा, हगि!—

पछि यूसुफका दाइहरूले आफ्नो गल्तीप्रति पछुतो गरे। यूसुफले पनि तिनीहरूलाई क्षमा दिए। यूसुफ कसरी येशूजस्तै थिए, तिमीले बुझ्यौ?—येशू समस्यामा पर्दा उहाँका प्रेषितहरू भागे अनि पत्रुसले त उहाँलाई चिन्‍नसमेत इन्कार गरे। तर यूसुफले जस्तै येशूले तिनीहरू सबैलाई क्षमा गर्नुभयो।

कयिनले हाबिललाई गरेको व्यवहारबाट हामीले कस्तो पाठ सिक्नुपर्छ?

अर्को घटना कयिन र हाबिल भन्‍ने दुई दाजुभाइको हो। ती दुईबाट पनि हामी पाठ सिक्न सक्छौं। कयिनले आफ्नो भाइलाई मनदेखि प्रेम नगरेको परमेश्‍वरले देख्नुभयो। त्यसैले उहाँले कयिनलाई आफ्नो व्यवहार परिवर्तन गर्न भन्‍नुभयो। यदि कयिनले परमेश्‍वरलाई साँच्चै प्रेम गरेका भए उसले उहाँको कुरा सुन्‍ने थियो। तर उसले परमेश्‍वरलाई प्रेम गर्दैन थियो। एक दिन कयिनले हाबिललाई यसो भन्यो: “आऊ, हामी बाहिर खेतमा जाऔं।” हाबिल ऊसितै गयो। खेतमा हुँदा कयिनले आफ्नो भाइलाई यत्ति जोरले हान्यो कि तिनको मृत्यु भयो।—उत्पत्ति ४:२-८.

यसबाट हामीले एउटा महत्त्वपूर्ण पाठ सिक्नुपर्छ भनेर बाइबल बताउँछ। त्यो के हो, तिमीलाई थाह छ?—“तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, कि हामीसित एक-अर्काको निम्ति प्रेम हुनुपर्छ। हामी कयिनजस्तो हुनु हुँदैन, जो त्यस दुष्टको थियो।” त्यसैले दाजुभाइ अनि दिदीबहिनीले एकअर्कालाई प्रेम गर्नुपर्छ। तिनीहरू कयिनजस्तो हुनु हुँदैन।—१ यूहन्‍ना ३:११, १२.

कयिनजस्तो हुनु किन खराब कुरा हो?—किनभने ऊ ‘दुष्ट व्यक्‍ति’ सैतान अर्थात्‌ दियाबलबाटको थियो भनी बाइबल बताउँछ। कयिनको काम दियाबलको जस्तै भएकोले उसको बुबा दियाबल हो भन्‍न सकिन्छ।

आफ्नो दाजुभाइ अनि दिदीबहिनीलाई प्रेम गर्नु किन महत्त्वपूर्ण छ, तिमीले बुझ्यौ?—तिनीहरूलाई प्रेम गरेनौ भने तिमी कसको सन्तानजस्तै हुनेछौ?—दियाबलको। तिमी त्यस्तो हुन चाहँदैनौ नि, होइन र?—त्यसो भए तिमी परमेश्‍वरको सन्तान हुन चाहन्छौ भनेर कसरी देखाउन सक्छौ?—आफ्नो दाजुभाइ अनि दिदीबहिनीलाई साँचो प्रेम गरेर।

तर प्रेम भनेको के हो?—प्रेम भनेको हाम्रो मनभित्र हुने एउटा गहिरो भावना हो र यसले हामीलाई मानिसहरूको भलाइ हुने काम गर्न उत्प्रेरित गर्छ। अरूप्रति हाम्रो मनमा राम्रो भावना छ अनि तिनीहरूको लागि हामी राम्रो काम गरिदिन्छौं भने हामीले प्रेम देखाइरहेका हुन्छौं। अनि हामीले प्रेम गर्नुपर्ने हाम्रा दाजुभाइ अनि दिदीबहिनी को हुन्‌?—याद गर, तिनीहरू ठूलो ख्रीष्टियन परिवारका सदस्यहरू हुन्‌ भनी येशूले बताउनुभयो।

आफ्नो दाजुभाइलाई प्रेम गरेको तिमी कसरी देखाउन सक्छौ?

ख्रीष्टियन दाजुभाइ अनि दिदीबहिनीलाई प्रेम गर्नु कत्तिको महत्त्वपूर्ण छ?—बाइबल भन्छ: “जसले आफूले देखेको भाइलाई [अथवा बहिनीलाई] प्रेम गर्दैन, उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।” (१ यूहन्‍ना ४:२०) त्यसैले हामीले ख्रीष्टियन परिवारको कसै-कसैलाई मात्र प्रेम गर्ने गर्नु हुँदैन। सबैलाई प्रेम गर्नुपर्छ। येशूले भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूहन्‍ना १३:३५) के तिमी सबै दाजुभाइ अनि दिदीबहिनीलाई प्रेम गर्छौ?—याद गर, यदि त्यसो गर्दैनौ भने तिमीले परमेश्‍वरलाई साँच्चै माया गरिरहेका हुँदैनौ।

हामी आफ्नो दाजुभाइ अनि दिदीबहिनीलाई साँच्चै प्रेम गर्छौं भनेर कसरी देखाउन सक्छौं?—यदि हामी तिनीहरूलाई प्रेम गर्छौं भने तिनीहरूसँग बोल्न नचाहेर टाढा-टाढा हुनेछैनौं। हामी तिनीहरू सबैसित मित्रैलो व्यवहार गर्नेछौं। हामी सधैं तिनीहरूको भलाइ हुने काम गर्नेछौं र तिनीहरूसित बाँडचुँड गर्न इच्छुक हुनेछौं। अनि तिनीहरू समस्यामा परेको खण्डमा मदत गर्नेछौं किनकि हामी सबै ठूलो परिवारका सदस्य हौं।

सबै दाजुभाइ अनि दिदीबहिनीलाई हामी प्रेम गर्छौं भने त्यसले के प्रमाणित गर्छ?—त्यसले हामी महान्‌ शिक्षक येशूका चेलाहरू हौं भनी प्रमाणित गर्छ। अनि हामी येशूका चेलाहरू हुन चाहन्छौं नि, होइन र?—

दाजुभाइ अनि दिदीबहिनीलाई प्रेम देखाउने विषयमा गलाती ६:१० अनि १ यूहन्‍ना ४:८, २१ मा पनि बताइएको छ। आ-आफ्नो बाइबल पल्टाएर यी पदहरू पढौं न, है!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने