प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ७/१५ pp. १४-१९
  • “तिमीहरूको छुटकारा नजिक आउँदैछ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूको छुटकारा नजिक आउँदैछ!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • महासङ्‌कष्टको सुरुवात
  • जाँच र न्यायको समय
  • परमेश्‍वरको राज्यमा सूर्यझैं चम्किनेछन्‌
  • परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • प्रकाशको किताबले तपाईँको भविष्यबारे के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ७/१५ pp. १४-१९
प्रथम शताब्दीको एक ख्रीष्टियन परिवार छतबाट शत्रुहरूले मन्दिरको बाहिरी पर्खाल भत्काएको हेर्दै

“तिमीहरूको छुटकारा नजिक आउँदैछ!”

“खडा भएर आफ्नो शिर उठाओ, किनकि तिमीहरूको छुटकारा नजिक आउँदैछ।”—लूका २१:२८.

गीत: १३३, ४३

हामीले के सिक्यौं?

  • इस्वी संवत्‌ ६६ को जस्तै कुन घटना हामी सबैले चाँडै भोग्नेछौं?

  • “महान्‌ बेबिलोन”-को पतनपछि कस्तो जाँच हुनेछ?

  • मत्ती २४:३१ मा कस्तो कामबारे बताइएको छ?

१. इस्वी संवत्‌ ६६ मा कस्तो घटना घट्यो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

घटना इस्वी संवत्‌ ६६ को हो। यरूशलेम सहरमा अकल्पनीय घटनाहरू घटिरहेका छन्‌। रोमी अफिसर फ्लोरस्‌ले मन्दिरको ढुकुटीबाट १७ तोडा सिक्का खोस्छन्‌। यहूदीहरू त्यसको तुरुन्तै प्रतिकार गर्छन्‌ र थुप्रै रोमी सेनालाई मार्छन्‌; रोमबाट स्वतन्त्र भएको घोषणासमेत गर्छन्‌। यो देखेर रोमी सेना पनि चुप लागेर बस्दैन; कारबाही गर्न तुरुन्तै फर्कन्छ। तीन महिना नबित्दै रोमी गभर्नर सेस्टियस ग्यालसको नेतृत्वमा आएका ३० हजार सिपाहीले यरूशलेम सहरलाई घेर्छन्‌। यहूदीहरू सुरक्षाको लागि मन्दिरतर्फ भाग्न बाध्य हुन्छन्‌। तर रोमी सेना त्यतिकैमा रोकिंदैन। तिनीहरू मन्दिरको बाहिरी पर्खालसम्मै पुग्छन्‌ र त्यसलाई भत्काउन थाल्छन्‌। सहरका मानिसहरू डर-त्रासले भयभीत छन्‌। मानिलिनुहोस्‌ त्यतिबेला तपाईं यरूशलेम सहरमा बसोबास गरिरहेको एक ख्रीष्टियन हुनुहुन्छ। यी सबै घटना आफ्नै आँखाअघि घट्‌दा तपाईं कस्तो महसुस गर्नुहुन्छ?

२. इस्वी संवत्‌ ६६ मा ख्रीष्टियनहरूले के गर्नुपर्थ्यो? यो कसरी सम्भव भयो?

२ येशूले वर्षौंअघि दिनुभएको यो चेतावनी तपाईं झल्याँस्स सम्झनुहुन्छ: “जब यरूशलेमलाई सैनिकहरूले घेरेको तिमीहरूले देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ। अनि यहूदियामा हुनेजति डाँडाहरूतिर भाग्न थालून्‌, सहरभित्र हुनेहरू निस्किजाऊन्‌ र बाहिर हुनेहरू त्यसभित्र नपसून्‌।” (लूका २१:२०, २१) तर तपाईंलाई यस्तो लाग्ला: “रोमी सेनाले पूरै सहर घेरिसक्यो। म कसरी भाग्ने?” अब एउटा अनौठो घटना घट्‌छ। अचानक रोमी सेना सहर छोडेर जान थाल्छ। यसबारे पनि येशूले पहिले नै भन्‍नुभएको थियो: “ती दिन घटाइनेछन्‌” अर्थात्‌ आक्रमण केही समयको लागि रोकिने थियो। (मत्ती २४:२२) यही मौकामा अन्य विश्‍वासी ख्रीष्टियनसँगै यरूशलेम सहरबाट तपाईं तुरुन्तै निस्कनुहुन्छ।a केही वर्षपछि अर्थात्‌ इस्वी संवत्‌ ७० मा रोमी सेना फेरि यरूशलेम छिर्छ। यसपालि भने तिनीहरूले सहरलाई पूरै विनाश गर्छन्‌। तर येशूको चेतावनी पालन गरेकोले तपाईं बच्नुहुन्छ।

३. ख्रीष्टियनहरूले अब छिट्टै कस्तो घटना सामना गर्नुपर्ने हुन्छ? यस लेखमा हामी कस्तो कुरा विचार गर्नेछौं?

३ हामी सबैले यस्तै घटना छिट्टै सामना गर्नेछौं। येशूले प्रथम शताब्दीमा दिनुभएको चेतावनीले हाम्रो समयमा अचानक आउने “महासङ्‌कष्ट”-को दौडान के हुन्छ भनेर बुझ्न पनि मदत गर्छ। (मत्ती २४:३, २१, २९) त्यतिबेला विश्‍वासी ख्रीष्टियनहरू बचेको जस्तै अब हुने विश्‍वव्यापी विनाशबाट पनि “एउटा ठूलो भीड” बच्नेछ। (प्रकाश ७:९, १३, १४ पढ्‌नुहोस्‌) भविष्यमा हुने यी घटनाहरूबारे बाइबलमा के बताएको छ? यो कुरा बुझ्नु महत्त्वपूर्ण छ, किनभने यसमा हाम्रो जीवनै मुछिएको छ। आउनुहोस्‌ यस्ता घटनाहरूले हामीलाई कस्तो असर गर्नेछ, विचार गरौं।

महासङ्‌कष्टको सुरुवात

४. महासङ्‌कष्ट कसरी सुरु हुनेछ?

४ महासङ्‌कष्ट कसरी सुरु हुनेछ? “महान्‌ बेबिलोन”-को विनाशसँगै यो सुरु हुनेछ। बाइबलमा सबै झूटो धर्मलाई ‘महान्‌ बेबिलोन, वेश्‍याहरूकी आमा’ भनिएको छ। (प्रका. १७:५-७) झूटो धर्मलाई किन वेश्‍यासित तुलना गरिएको हो? किनकि यसका धर्मगुरुहरू परमेश्‍वरप्रति वफादार छैनन्‌। तिनीहरूले येशू र उहाँको राज्यलाई समर्थन गर्नुको सट्टा मानव सरकारहरूलाई समर्थन गरेका छन्‌। तिनीहरूले बाइबलको शिक्षालाई लत्याएका छन्‌। तिनीहरूको उपासना परमेश्‍वरको अभिषिक्‍त जनहरूको उपासना जस्तो शुद्ध छैन। (२ कोरि. ११:२; याकू. १:२७; प्रका. १४:४) त्यसोभए महान्‌ बेबिलोनलाई कसले विनाश गर्नेछ? यहोवा परमेश्‍वरले “आफ्नो सोच पूरा गर्न” त्यस “दस वटा सिङ” भएको ‘चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावरको मनमा यो कुरा हालिदिनुहुनेछ।’ “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर”-ले संयुक्‍त राष्ट्र सङ्‌घलाई चित्रित गर्छ र “दस वटा सिङ”-ले त्यसलाई समर्थन गर्ने सबै राजनैतिक शक्‍तिलाई बुझाउँछ।—प्रकाश १७:३, १६-१८ पढ्‌नुहोस्‌।

५, ६. महान्‌ बेबिलोनको विनाश हुँदा झूटो धर्मका सबै मानिसहरू विनाश हुनेछैनन्‌ भन्‍ने निष्कर्षमा किन पुग्न सक्छौं?

५ महान्‌ बेबिलोनको विनाश हुँदा के झूटो धर्मका सबै मानिसहरू पनि विनाश हुनेछन्‌? यस्तो नहुन सक्छ। किनभने यहोवाले जकरियालाई त्यस समयबारे एउटा भविष्यवाणी गर्न लगाउनुभएको थियो। पहिला झूटो धर्ममा मुछिएको एक जना मानिसबारे विवरण यसो भन्छ: “त्यसले भन्‍नेछ, ‘म त अगमवक्‍ता होइन, तर किसान मात्र हुँ, किनकि तरुण अवस्थादेखि नै भूमि मेरो भाग भएको छ।’ औ कसैले त्यसलाई ‘तिम्रो आङमा भएका यी चोटचाहिं के हुन्‌?’ भनी सोधे भने, त्यसले जवाफ दिनेछ, ‘यी मेरा प्रियहरूका घरमा मैले पाएका चोटहरू हुन्‌।’” (जक. १३:४-६) हो, झूटो धर्मका केही नेताहरूले समेत आफ्नो धर्म त्याग्नेछन्‌ र झूटो धर्मसित कुनै सम्बन्ध नभएको कुरा बताउनेछन्‌।

६ त्यसबेला परमेश्‍वरको सेवकलाई के हुनेछ? येशू यसो भन्‍नुहुन्छ: “भनौं भने, ती दिन नघटाइने हो भने कोही मानिस बच्नेछैन। तर चुनिएकाहरूका लागि ती दिन घटाइनेछन्‌।” (मत्ती २४:२२) इस्वी संवत्‌ ६६ मा यरूशलेमको विनाश ‘घटाइएको’ थियो अर्थात्‌ केही समयको लागि रोकिएको थियो। यसले गर्दा “चुनिएकाहरू” अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियनहरूले सहरबाट भाग्ने मौका पाएका थिए। त्यसै गरी बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूका लागि महासङ्‌कष्टको दिन पनि ‘घटाइनेछ’ अर्थात्‌ केही समयको लागि रोकिनेछ। कुनै पनि राजनैतिक शक्‍तिले परमेश्‍वरका सेवकहरूलाई नाश गर्न पाउने छैनन्‌। बरु, सबै झूटो धर्मको विनाश भएपछि केही समय शान्ति हुनेछ।

जाँच र न्यायको समय

७, ८. झूटो धर्मको विनाशपछि कस्तो मौका हुनेछ? त्यस बेला परमेश्‍वरका सेवकहरू अन्य मानिसहरूभन्दा कसरी फरक देखिनेछ?

७ झूटो धर्मको विनाशपछि हामीले कस्तो मौका पाउनेछौं? हामी वास्तवमा कस्तो मानिस हौं भनेर प्रमाणित गर्ने मौका पाउनेछौं। त्यतिबेला धेरैजसो मानिसले “पहाडका चट्टानहरूमा” अर्थात्‌ मानव सङ्‌गठनमा सुरक्षा र मदत खोज्नेछन्‌। (प्रका. ६:१५-१७) तर यहोवाका सेवकहरू सुरक्षाको लागि यहोवामै भर पर्नेछन्‌। प्रथम शताब्दीमा केही समयको लागि विनाश रोकिंदा यहूदीहरू धर्म परिवर्तन गरेर ख्रीष्टियन बन्‍ने समय थिएन। बरु ख्रीष्टियन भइसकेकाहरूले आफ्नो कामद्वारा येशूको आज्ञा पालन गरेको देखाउने समय थियो। त्यसैगरि भविष्यमा महासङ्‌कष्टको विनाश केही समयको लागि रोकिंदा मानिसहरूले साँचो धर्म अङ्‌गाल्नेछन्‌ भनेर आशा गर्न सकिंदैन। बरु सबै साँचो उपासकहरूका लागि यहोवाप्रति आफ्नो प्रेम र ख्रीष्टका अभिषिक्‍त भाइहरूलाई आफ्नो समर्थन छ भनेर प्रमाणित गर्ने मौका हुनेछ।—मत्ती २५:३४-४०.

८ त्यतिबेला कस्तो जाँच हुनेछ भनेर अहिले हामीलाई सबै कुरा थाह छैन। तैपनि अवस्था कठिन हुनेछ र हामीले केही त्याग गर्नुपर्ने हुन सक्छ। प्रथम शताब्दीमा पनि ख्रीष्टियनहरूले आफ्नो घरबार छोड्‌नुपरेको थियो र अप्ठ्यारो अवस्थाको सामना गर्नुपरेको थियो। (मर्कू. १३:१५-१८) त्यसैले हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: “के म भौतिक चिजबीज छोड्‌न सक्छु? के म यहोवाप्रति वफादार रहनेछु?” सोच्नुहोस्‌! त्यतिबेला भविष्यवक्‍ता दानियल जस्तै यहोवा परमेश्‍वरलाई उपासना गरिरहने हामी मात्रै हुनेछौं।—दानि. ६:१०, ११.

९, १०. (क) महासङ्‌कष्टको दौडान परमेश्‍वरका सेवकहरूले कस्तो सन्देश सुनाउनेछन्‌? (ख) शत्रुहरूले के गर्नेछन्‌?

९ महासङ्‌कष्टको बेला ‘राज्यको सुसमाचार’ सुनाइने छैन। त्यो “अन्त”-को समय हुनेछ। (मत्ती २४:१४) त्यतिबेला परमेश्‍वरका सेवकहरूले न्यायको कडा सन्देश सुनाउने छन्‌। कस्तो सन्देश? त्यो सन्देश सैतानको दुष्ट संसार विनाश हुनै लागेको छ भन्‍ने पनि हुन सक्छ। यस सन्देशलाई बाइबलमा ठूलठूला असिनाहरूसित तुलना गर्दै यसरी बताइएको छ: “लगभग बीस किलो तौल भएका ठूलठूला असिनाहरू आकाशबाट मानिसहरूमाथि बर्सिए। असिनाको विपत्तिले गर्दा मानिसहरूले परमेश्‍वरको निन्दा गरे, किनकि यो विपत्ति ज्यादै विनाशकारी थियो।”—प्रका. १६:२१.

१० त्यतिबेला शत्रुहरूले के गर्नेछन्‌? मागोगको गोग अर्थात्‌ राष्ट्रहरूको एक समूहले त्यतिबेला के गर्नेछ भनेर भविष्यवक्‍ता इजकिएलमार्फत यहोवाले यसरी बताउनुभएको छ: “परमप्रभु परमेश्‍वरको यो वाणी छ, ‘त्यस बेला एउटा विचार तेरो मनमा आउनेछ, र तैंले खराब युक्‍ति निकाल्नेछस्‌। तैंले भन्‍नेछस्‌, “पर्खालविनाका गाउँहरू भएको देशलाई म आक्रमण गर्नेछु। मूल-ढोका र बारहरूविनै बस्ने, पर्खालद्वारा सुरक्षित नभएका शान्ति र ढुक्कसित बस्ने जातिहरूलाई म आक्रमण गर्नेछु।” ती ध्वंश भएका ठाउँहरूमा अहिले फेरि जाति-जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु सम्पत्ति प्राप्त गरेर, संसारको केन्द्रमानै आफ्नो घर बनाएर बस्तैछन्‌। ती ठाउँहरूलाई लुट्‌दै, सखाप र आबादीलाई ध्वंश पार्दै आउने प्रतीक्षामा तिमीहरू बसेका छौ।’” (इज. ३८:१०-१२) परमेश्‍वरका सेवकहरू अरू सबैभन्दा फरक देखिनेछन्‌। तिनीहरू “संसारको केन्द्रमा” भएझैं हुनेछन्‌। राष्ट्रहरूका लागि यो असह्‍य हुनेछ र तिनीहरूले परमेश्‍वरको सेवकलाई आक्रमण गर्नेछ।

११. (क) महासङ्‌कष्टमा हुने घटनाक्रमबारे हामीले के कुरा बुझ्नुपर्छ? (ख) आकाशमा चिन्हहरू देख्दा मानिसहरू के गर्नेछन्‌?

११ त्यसपछि के हुनेछ? त्यतिबेला के-कस्ता घटनाहरू हुनेछन्‌ भनेर बाइबलमा क्रमबद्ध रूपमा बताइएको छैन। तर कुनै-कुनै घटनाहरू एकैसाथ हुन सक्छन्‌। यस युगको आखिरी समयबारे भविष्यवाणी गर्नुहुँदा येशूले यसो भन्‍नुभयो: “सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू देखिनेछन्‌ अनि समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्‌। अनि पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्‌काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन्‌, किनकि आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌। तब तिनीहरूले मानिसको छोरालाई शक्‍ति र ठूलो गौरवसहित बादलमा आउँदै गरेको देख्नेछन्‌।” (लूका २१:२५-२७; मर्कूस १३:२४-२६ पढ्‌नुहोस्‌) यस भविष्यवाणीअनुसार के आकाशमा साँच्चै डरलाग्दा चिन्हहरू देखिने हो? यो कुरा अहिले हामीलाई थाह छैन। तर जेहोस्‌, जब हाम्रा शत्रुहरूले ती चिन्हहरू देख्छन्‌, तिनीहरू भयभीत र आतङ्‌कित हुनेछन्‌।

ख्रीष्टियनहरू महासङ्‌कष्टमा आफूलाई बचाइनेछ भन्‍ने कुरामा ढुक्क देखिन्छन्‌

हामी बचाइनेछौं भन्‍ने कुरामा ढुक्क छौं (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

१२, १३. (क) येशू “शक्‍ति र ठूलो गौरवसहित” आउनुहुँदा के हुनेछ? (ख) त्यसबेला परमेश्‍वरका सेवकहरूले के गर्नेछन्‌?

१२ येशू “शक्‍ति र ठूलो गौरवसहित” आउनुहुँदा के हुनेछ? उहाँले वफादार सेवकहरूलाई इनाम दिनुहुनेछ, तर अरूलाई सजाय दिनुहुनेछ। (मत्ती २४:४६, ४७, ५०, ५१; २५:१९, २८-३०) मत्तीको विवरणमा येशूले एउटा उदाहरणमार्फत यो कुरा बुझाउनुभयो। उहाँले भन्‍नुभयो: “जब मानिसको छोरा आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ, तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ। तब उसको सामुन्‍ने सबै जातिहरू भेला गराइनेछन्‌ अनि गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्टाएजस्तै उसले मानिसहरूलाई छुट्टाउनेछ। अनि उसले भेडालाई आफ्नो दाहिने हाततिर र बाख्रालाई देब्रे हाततिर राख्नेछ।” (मत्ती २५:३१-३३) भेडा र बाख्रालाई के हुनेछ? बाख्राहरू अर्थात्‌ वफादार नरहनेहरू “सधैंका लागि नाश हुनेछन्‌” अनि भेडाहरू अर्थात्‌ वफादार रहनेहरूले “अनन्त जीवन पाउनेछन्‌।”—मत्ती २५:४६.

१३ बाख्राखाले मानिसहरूले आफू “सधैंका लागि नाश हुनेछन्‌” भनेर थाह पाएपछि के गर्नेछन्‌? तिनीहरू “शोक गर्दै आफ्नो छाती पिट्‌नेछन्‌।” (मत्ती २४:३०) तर येशूका अभिषिक्‍त भाइहरू र तिनीहरूलाई समर्थन गर्नेहरूले चाहिं के गर्नेछन्‌? तिनीहरूले येशूले भन्‍नुभएझैं गर्नेछन्‌: “यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ, किनकि तिमीहरूको छुटकारा नजिक आउँदैछ।” (लूका २१:२८) हो, तिनीहरू आफूलाई बचाइनेछ भन्‍ने कुरामा ढुक्क छन्‌।

परमेश्‍वरको राज्यमा सूर्यझैं चम्किनेछन्‌

१४, १५. मागोगको गोगको आक्रमणपछि जम्मा गर्ने कस्तो काम हुनेछ? यो जम्मा गर्ने काम कसरी पूरा हुनेछ?

१४ मागोगको गोगले परमेश्‍वरका सेवकहरूलाई आक्रमण गर्न थालेपछि के हुन्छ? यसबारे बाइबलमा यस्तो लेखिएको छ: “[मानिसको छोराले] आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई तिनीहरूले पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट जम्मा गर्नेछन्‌।” (मर्कू. १३:२७; मत्ती २४:३१) यो जम्मा गर्ने कामले केलाई बुझाउँछ? के यसले इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि अभिषिक्‍त ख्रीष्टियनहरूलाई जम्मा गर्न थालिएको कुरालाई बुझाउँछ? होइन। अथवा के यसले बाँकी रहेका अभिषिक्‍त जनहरूलाई अन्तिम छाप लगाउने कुरालाई बुझाउँछ? त्यो पनि होइन। (मत्ती १३:३७, ३८) त्यो अन्तिम छाप महासङ्‌कष्ट सुरु हुनुअघि लगाइनेछ। (प्रका. ७:१-४) त्यसोभए येशूले भन्‍नुभएको यो जम्मा गर्ने कामले केलाई बुझाउँछ त? यसले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूले स्वर्गीय इनाम पाउने कुरालाई बुझाउँछ। (१ थिस्स. ४:१५-१७; प्रका. १४:१) मागोगको गोगले आक्रमण गर्न सुरु गरेको केही समयपछि यो घटना हुनेछ। (इज. ३८:११) त्यसपछि येशूले भन्‍नुभएको यो कुरा पूरा हुनेछ: “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरू भने त्यसबेला आफ्नो बुबाको राज्यमा सूर्यझैं चम्किनेछन्‌।”—मत्ती १३:४३.b

१५ चर्च जाने धेरै ख्रीष्टियनले आफूलाई मानव शरीरमै स्वर्ग लगिनेछ भनी विश्‍वास गर्छन्‌। साथै येशू पृथ्वीमा शासन गर्न आउनुहुँदा तिनीहरूले उहाँलाई देख्नेछ भनेर पनि मानिलिन्छन्‌। के यो विश्‍वास सही हो? होइन। किनकि बाइबलमा यस्तो लेखिएको छ: “मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ” र येशू “आकाशका बादलहरूमा” आउनेछ। (मत्ती २४:३०) यी दुवै अभिव्यक्‍तिले येशूको उपस्थिति अदृश्‍य हुनेछ भनेर बुझाउँछ। साथै “रगत र मासु परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन” भनेर पनि लेखिएको छ। त्यसैले स्वर्ग लगिनेहरू पहिले “परिवर्तन” हुनु जरुरी छ। यो परिवर्तन “एकै क्षणमा, आँखाको एक निमेषमा, बिगुलको अन्तिम आवाजको दौडान” हुनेछ।c (१ कोरिन्थी १५:५०-५३ पढ्‌नुहोस्‌) हो, बाँकी रहेका अभिषिक्‍त जनहरू आँखाको एक निमेषमै स्वर्ग लगिनेछन्‌।

१६, १७. थुमाको विवाह हुनुअघि के हुनुपर्छ?

१६ एक लाख चवालीस हजारका बाँकी सबैलाई स्वर्ग लगिएपछि “थुमाको विवाह” हुने समय नजिक आइपुगेको हुनेछ। (प्रका. १९:९) तर त्यो विवाह हुनुअघि केही हुनेछ। यो कुरा त तपाईंले बुझिसक्नुभएको छ, अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिनुभन्दा केही समयअघि गोगले परमेश्‍वरका सेवकहरूलाई आक्रमण गर्नेछ। (इज. ३८:१६) त्यतिबेला परमेश्‍वरका सेवकहरू निस्सहाय देखिनेछन्‌। तिनीहरूले के गर्नेछन्‌? तिनीहरूले यहोशापातलाई दिइएको यो निर्देशन पालन गर्नेछन्‌: “यो लडाइँ तिमीहरूले लड्‌नेछैनौ। दृढ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराऊ, नता आत्तियौ।” (२ इति. २०:१७) यस्तो स्थितिमा येशूले कस्तो कदम चाल्नुहुनेछ? सबै अभिषिक्‍त जनहरू स्वर्ग लगिसकेपछि हुने घटनाबारे प्रकाश १७:१४ मा यस्तो लेखिएको छ: “तिनीहरूले थुमासित युद्ध गर्नेछन्‌ तर थुमा प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा भएको हुनाले तिनीहरूमाथि विजय हासिल गर्नेछन्‌। साथै, बोलाइएका, चुनिएका र विश्‍वासीहरूले पनि विजय हासिल गर्नेछन्‌, जो थुमासँग छन्‌।” येशू आफ्ना सह-शासकसहित परमेश्‍वरका सेवकहरूलाई बचाउन आउनुहुनेछ।

१७ यसले आरमागेडोनको युद्ध निम्त्याउने छ। यस युद्धले यहोवाको पवित्र नामलाई उच्च पार्नेछ। (प्रका. १६:१६) त्यसबेला बाख्राखाले सबै मानिसहरू “सधैंका लागि नाश हुनेछन्‌।” पृथ्वीमा दुष्टको नामोनिसान हुनेछैन र ठूलो भीडले महासङ्‌कष्टको अन्तिम चरण वा आरमागेडोन पार गर्नेछ। त्यसपछि प्रकाशको किताबमा बताइएझैं थुमाको विवाह हुनेछ। (प्रका. २१:१-४)d पृथ्वीमा बाँचेकाहरू सबैले परमेश्‍वरको कृपा, उहाँको महान्‌ प्रेम र उदारता अनुभव गर्नेछन्‌। साँच्चै! त्यो दिन हामीले त्यस विवाह भोजको आनन्द उठाउनेछौं। त्यो दिनको हामी उत्सुकतासाथ प्रतीक्षा गर्छौं।—२ पत्रुस ३:१३ पढ्‌नुहोस्‌।

१८. भविष्यमा थुप्रै रोचक घटना हुने भएकोले अहिले हामीले के गर्नुपर्छ?

१८ भविष्यमा यस्ता रोचक घटनाहरू हुने भएकोले अहिले हामीले के गर्नुपर्छ? यहोवाले पत्रुसलाई यस्तो लेख्न प्रेरित गर्नुभयो: “यी सबै कुराहरू यसरी पग्लने भएकोले तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ, अनि तिमीहरूले यहोवाको दिनको उपस्थितिलाई सधैं सम्झँदै प्रतीक्षा गर्नुपर्छ, . . . त्यसकारण, हे प्रियहरू हो, तिमीहरूले यी कुराहरूको प्रतीक्षा गरिरहेको हुनाले अन्तमा उहाँको नजरसामु तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन भरमग्दुर कोसिस गर।” (२ पत्रु. ३:११, १२, १४) त्यसैले हामी आध्यात्मिक तवरमा शुद्ध भइरहौं अनि शान्तिका राजकुमार येशू ख्रीष्टलाई समर्थन गरिरहौं।

a अप्रिल १५, २०१२ को प्रहरीधरहरा, पृष्ठ २५-२६ हेर्नुहोस्‌।

b जुलाई १५, २०१३ को प्रहरीधरहरा, पृष्ठ १३-१४ हेर्नुहोस्‌।

c पृथ्वीमा बाँकी रहेका वफादार अभिषिक्‍त जनहरूलाई मानव शरीरमा स्वर्गमा लगिनेछैन। (१ कोरि. १५:४८, ४९) जसरी यहोवाले येशूको भौतिक शरीरको अस्तित्व मेटाउनुभयो, त्यसरी नै उहाँले अभिषिक्‍त जनहरूको शरीरको अस्तित्वलाई पनि मेटाउन सक्नुहुन्छ।

d भजन ४५ ले पनि घटनाक्रम कस्तो हुनेछ भन्‍ने सङ्‌केत दिन्छ। सुरुमा राजाले युद्ध गर्नेछ अनि त्यसपछि विवाह हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने