प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ६/१५ pp. ३-७
  • ख्रीष्ट—परमेश्‍वरको शक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्ट—परमेश्‍वरको शक्‍ति
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उदार हुन सिकाउने चमत्कार
  • “सबैले खाए र तृप्त भए”
  • पृथ्वीका प्राकृतिक शक्‍तिहरूमाथि नियन्त्रण
  • परमेश्‍वर र ख्रीष्टको अनुकरण गर्नुहोस्‌
  • “ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • येसुले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पृथ्वीमा हुनुहुँदा येसुले के गर्नुभयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ६/१५ pp. ३-७
येशूको शासनले पृथ्वीभरि नै आशिष्‌ ल्याउनेछ

ख्रीष्ट—परमेश्‍वरको शक्‍ति

“ख्रीष्ट नै परमेश्‍वरको शक्‍ति ... हुनुहुन्छ।”—१ कोरि. १:२४.

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • विवाह भोजमा पानीलाई दाखमद्यमा परिणत गरेर येशूले कस्ता गुणहरू देखाउनुभयो?

  • मत्ती १४:१४-२१ मा उल्लेख गरिएको चमत्कार गर्न येशूलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो?

  • डरलाग्दो आँधीबेहरीलाई शान्त पारेर येशूले के देखाउनुभयो?

१. पावलले किन “ख्रीष्ट नै परमेश्‍वरको शक्‍ति ... हुनुहुन्छ” भनेर लेखे?

यहोवा परमेश्‍वरले असाधारण तरिकामा येशू ख्रीष्टमार्फत आफ्नो शक्‍ति प्रदर्शित गर्नुभयो। पृथ्वीमा छँदा येशूले थुप्रै चमत्कार गर्नुभयो। तीमध्ये केही चमत्कार बाइबलको मत्तीदेखि यूहन्‍नासम्मका किताबहरूमा रेकर्ड गरिएका छन्‌। यी विवरणहरूले हाम्रो विश्‍वास बलियो बनाउँछ। (मत्ती ९:३५; लूका ९:११) येशूले परमेश्‍वरबाट अथाह शक्‍ति पाएर नै चमत्कारहरू गर्नुभएको थियो। त्यसैले त प्रेषित पावलले ख्रीष्टको विषयमा यस्तो लेखे, “ख्रीष्ट नै परमेश्‍वरको शक्‍ति ... हुनुहुन्छ।” (१ कोरि. १:२४) त्यसोभए येशूले गर्नुभएका चमत्कारहरू हाम्रो लागि किन महत्त्वपूर्ण छन्‌?

२. येशूले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौं?

२ येशूले ‘आश्‍चर्यजनक कार्यहरू’ गर्नुभयो भनी प्रेषित पत्रुसले बताए। (प्रेषि. २:२२) पृथ्वीमा छँदा येशूले गर्नुभएका चमत्कारहरूबाट भविष्यमा उहाँले शासन गर्दा मानिसहरूले थुप्रै आशिष्‌ पाउनेछन्‌ भनेर सिक्न सक्छौं। नयाँ संसारमा येशूले अझै ठूलठूला चमत्कारहरू गर्नुहुनेछ, जसबाट पृथ्वीका सबै मानिसले लाभ उठाउनेछन्‌। साथै येशूले गर्नुभएका चमत्कारहरूबाट उहाँ र उहाँको बुबा यहोवाका गुणहरूबारे पनि सिक्न सक्छौं। त्यसैले आउनुहोस्‌, येशूले गर्नुभएका केही चमत्कारबारे छलफल गरौं अनि ती चमत्कारहरूले हामीलाई अहिले र भविष्यमा कस्तो असर गर्छ, विचार गरौं।

उदार हुन सिकाउने चमत्कार

३. (क) येशूले किन पहिलो चमत्कार गर्नुभयो? (ख) कानाको विवाह भोजमा येशूले कसरी उदारता देखाउनुभयो?

३ गालीलको कानामा भएको एउटा विवाह भोजमा येशूले पहिलो चमत्कार गर्नुभयो। त्यस भोजमा सोचेभन्दा पनि धेरै पाहुना आएका हुन सक्छन्‌। कारण जेसुकै होस्‌, दाखमद्य सिद्धियो। येशूकी आमा मरियम पनि त्यस विवाह भोजमा गएकी थिइन्‌। वर्षौंदेखि तिनले आफ्नो छोराबारे गरिएका सबै भविष्यवाणीमा पक्कै मनन गरेकी हुनुपर्छ। अनि येशू “सर्वोच्च परमेश्‍वरको छोरा” कहलाइनुहुनेछ भनेर पनि तिनलाई थाह थियो। (लूका १:३०-३२; २:५२) त्यतिबेलासम्म येशूको चमत्कार नदेखेको भए तापनि उहाँसित चमत्कार गर्ने शक्‍ति छ भनेर तिनी विश्‍वास गर्थिन्‌ कि? जेहोस्‌, मरियम र येशू दुवैलाई नवविवाहित जोडीप्रति दया लाग्यो। उहाँहरू त्यस जोडीलाई लज्जित महसुस गर्नदेखि जोगाउन चाहनुहुन्थ्यो। पाहुनाहरूको राम्रो अतिथिसत्कार गर्नु त्यस जोडीको कर्तव्य हो भन्‍ने कुरा येशूलाई थाह थियो। त्यसैले उहाँले ३८० लिटर पानीलाई ‘असल दाखमद्यमा’ परिणत गर्नुभयो। (यूहन्‍ना २:३, ६-११ पढ्‌नुहोस्‌) येशूलाई त्यो चमत्कार गर्नै पर्छ भन्‍ने कुनै बाध्यता थिएन। तैपनि उहाँ मानिसहरूको ख्याल राख्नुहुन्थ्यो र आफ्नो बुबाजस्तै उदार हुनुहुन्थ्यो। त्यसैले उहाँले त्यो चमत्कार गर्नुभयो।

४, ५. (क) येशूको पहिलो चमत्कारले हामीलाई के सिकाउँछ? (ख) कानामा भएको चमत्कारले नयाँ संसारमा हुने कस्तो कुराबारे सिकाउँछ?

४ येशूले चमत्कार गरेर पर्याप्त मात्रामा असल दाखमद्यको प्रबन्ध गरिदिनुभयो। यसबाट हामी के सिक्न सक्छौं? येशूले राजीखुसी यो चमत्कार गर्नुभएको कुराबाट उहाँ र उहाँको बुबा मानिसहरूको भावना बुझ्नुहुन्छ भनेर थाह पाउँछौं। यहोवा र येशू कन्जुस हुनुहुन्‍न बरु उदार हुनुहुन्छ। यस चमत्कारले नयाँ संसारमा “सारा मानिसहरूका निम्ति” पर्याप्त खानेकुराको प्रबन्ध गर्न यहोवाले उदार भई आफ्नो शक्‍ति चलाउनुहुनेछ भनेर पनि देखाउँछ।—यशैया २५:६ पढ्‌नुहोस्‌।

५ कल्पना गर्नुहोस्‌ त, यहोवा परमेश्‍वरले चाँडै मानिसहरूको हर जायज चाहना र आवश्‍यकता पूरा गर्नुहुनेछ। जस्तै: सबैले राम्रो घरमा बस्न र पौष्टिक खानेकुरा खान पाउनेछन्‌। नयाँ संसारमा यहोवा परमेश्‍वरले उदार भई दिनुहुने राम्रा-राम्रा कुराहरूबारे कल्पना गर्दा हामी कत्ति खुसी हुन्छौं नि, होइन र?

एक युवक आफ्नो भाषण अभ्यास गर्दै छन्‌ र  मण्डलीका  एल्डर सुन्दै छन्‌

उदार भई अरूको निम्ति समय निकाल्दा हामीले येशूको अनुकरण गरिरहेका हुन्छौं (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. येशूले कसको लागि आफ्नो शक्‍ति प्रयोग गर्नुभयो? हामी कसरी उहाँजस्तै उदार हुन सक्छौं?

६ ढुङ्‌गालाई रोटीमा परिणत गर्नुहोस्‌ भनेर सैतानले येशूलाई प्रलोभनमा पार्न खोज्दा के भयो, त्यो पनि विचार गर्नुहोस्‌। उहाँले आफ्नो आवश्‍यकता पूरा गर्न आफूसित भएको शक्‍ति प्रयोग गर्नुभएन। (मत्ती ४:२-४) तर अरूको आवश्‍यकता पूरा गर्न भने उहाँ आफ्नो शक्‍ति प्रयोग गर्नदेखि कहिल्यै पछि हट्‌नुभएन। येशूको यस्तो निःस्वार्थ मनोभाव हामी कसरी अनुकरण गर्न सक्छौं? उहाँले “दिने गर” भन्‍ने आज्ञा परमेश्‍वरका सेवकहरूलाई दिनुभएको छ। (लूका ६:३८) त्यसैले हामी अरूलाई आफ्नो घरमा खानाको लागि अनि आध्यात्मिक कुराहरू बाँडचुँड गर्नका लागि निम्तो दिएर उदारता देखाउन सक्छौं। साथै सभापछि कसैलाई मदत गर्न समय निकालेर पनि हामी उदारता देखाउन सक्छौं। जस्तै: कुनै भाइले आफ्नो भाषणको तयारी गर्दा सुनिदिन सक्छौं। अथवा अरूलाई प्रचारकार्यमा अझै उन्‍नति गर्न मदत दिन सक्छौं। यसरी मौका पाउनेबित्तिकै अरूलाई आध्यात्मिक र भौतिक मदत गरेर हामी येशूजस्तै उदार हुन सक्छौं।

“सबैले खाए र तृप्त भए”

७. सैतानको युग रहुन्जेल कस्तो समस्या रहिरहनेछ?

७ गरिबी भनेको नौलो समस्या होइन। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई तिनीहरूको देशमा गरिबीको अन्त कहिल्यै हुनेछैन भनेर बताउनुभएको थियो। (व्यव. १५:११) त्यसको सयौं वर्षपछि येशूले पनि ‘गरिबहरू सधैंभरि हुन्छन्‌’ भनेर बताउनुभयो। (मत्ती २६:११) तर के यसको मतलब उहाँले पृथ्वीमा सधैंभरि गरिबहरू हुनेछन्‌ भन्‍न खोज्दै हुनुहुन्थ्यो? होइन। बरु उहाँले सैतानको दुष्ट युग रहुन्जेल गरिबहरू हुनेछन्‌ भनेर बुझाउँदै हुनुहुन्थ्यो। येशूका चमत्कारहरूले उहाँको राज्य अहिलेको संसारभन्दा बेग्लै हुनेछ भनेर देखाउँछ। त्यसबेला गरिबी हुनेछैन अनि सबैले प्रशस्तै खान पाउनेछन्‌ र तृप्त हुनेछन्‌।

८, ९. (क) येशूले हजारौं मानिसलाई किन खुवाउनुभयो? (ख) यो चमत्कारको कुन कुराले तपाईंको मन छोयो?

८ यहोवा परमेश्‍वरको बारेमा भजनरचयिताले यस्तो लेखे, “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भज. १४५:१६) आफ्नो बुबाको अनुकरण गर्दै ‘परमेश्‍वरको शक्‍ति ख्रीष्टले’ पनि धेरै पटक आफ्नो मुठी खोल्नुभयो र अरूको इच्छालाई सन्तुष्ट पार्नुभयो। उहाँले केवल आफ्नो शक्‍ति प्रदर्शित गर्न यसो गर्नुभएको थिएन। बरु उहाँ वास्तवमै अरूको ख्याल राख्नुहुन्थ्यो। मत्ती १४:१४-२१ को विवरण विचार गरौं। (पढ्‌नुहोस्‌) चेलाहरू खानेकुराबारे कुरा गर्न येशूकहाँ आए। तिनीहरू भोकाएका मात्र थिएनन्‌ बरु भीड थकित र भोकले कमजोर भएकाले निकै चिन्तित पनि थिए। त्यो भीड सहर-सहरबाट येशूको पछि-पछि हिंड्‌दै आएको थियो। (मत्ती १४:१३) त्यसैले भीडलाई खानेकुरा किन्‍न पठाइदिनुहोस्‌ भनेर चेलाहरूले येशूलाई आग्रह गरे। येशूले के गर्नुभयो?

९ येशूले पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि लगभग ५,००० पुरुषका साथै थुप्रै स्त्री र साना केटाकेटीलाई खुवाउनुभयो। यसरी येशूले आफ्नो शक्‍ति स-साना बच्चालगायत सबै परिवारको ख्याल राख्न चलाउनुभयो। यो कुराले हाम्रो मन छुँदैन र? साथै येशूले त्यतिबेला प्रशस्तै खानेकुराको प्रबन्ध गरिदिनुभएको थियो भनेर हामी भन्‍न सक्छौं। किनभने “सबैले खाए र तृप्त भए” भनेर बाइबलमा लेखिएको छ। यसले गर्दा ती मानिसहरूले लामो यात्रा गरेर आ-आफ्नो घर फर्कन बल पाए। (लूका ९:१०-१७) सबै जना खाएर तृप्त भइसकेपछि चेलाहरूले उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डालो भरियो।

१०. अब चाँडै कस्तो परिवर्तन आउनेछ?

१० मानव शासकहरू लोभी र भ्रष्ट भएकोले अहिले लाखौं मानिसलाई गाँस, बास र कपासजस्ता आधारभूत आवश्‍यकता पूरा गर्नसमेत धौधौ परिरहेको छ। हाम्रा केही दाजुभाइ दिदीबहिनीले पनि जसोतसो गर्जो टारिरहेका त छन्‌ तर “तृप्त” हुन सकेका छैनन्‌। तर यहोवाप्रति आज्ञाकारी मानिसहरू भ्रष्टाचार र गरिबीमुक्‍त संसारमा बाँच्न पाउने समय चाँडै आउँदै छ। यदि तपाईंसित चमत्कार गर्ने शक्‍ति भएको भए के तपाईंले मानिसजातिको आवश्‍यकता पूरा गर्नुहुने थिएन र? सर्वशक्‍तिमान्‌ परमेश्‍वरसित यसो गर्ने शक्‍ति र इच्छा दुवै छ। हो, उहाँले हामीलाई दुःखदायी अवस्थाबाट छुटकारा दिने समय नजिकै छ।—भजन ७२:१६ पढ्‌नुहोस्‌।

११. येशूले सबै मानिसको लागि आफ्नो शक्‍ति प्रयोग गर्नुहुनेछ भनेर तपाईं किन पक्का हुनुहुन्छ? तपाईं के गर्न चाहनुहुन्छ?

११ पृथ्वीमा छँदा येशूले सानो इलाकामा साढे तीन वर्षको लागि मात्र चमत्कारहरू गर्नुभएको थियो। (मत्ती १५:२४) तर चाँडै उहाँले महिमित राजाको रूपमा पृथ्वीको चारै कुनाका मानिसहरूलाई मदत गर्न चमत्कारहरू गर्नुहुनेछ। (भज. ७२:८) येशूका चमत्कारहरूले उहाँ आफ्नो शक्‍ति हाम्रो हितको लागि प्रयोग गर्न इच्छुक हुनुहुन्छ भनेर देखाउँछ। हुन त हामी चमत्कार गर्न सक्दैनौं तर मानिसहरूको ध्यान परमेश्‍वरको प्रेरित वचनतर्फ खिच्ने काममा भने जोसका साथ लाग्न सक्छौं। बाइबलका भविष्यवाणीहरूले उज्ज्वल भविष्य नजिकै छ भन्‍ने कुराको ग्यारेन्टी दिन्छ। हामी समर्पित साक्षीहरूसित भविष्यबारे यस्तो अनमोल ज्ञान भएकोले के यसबारे मानिसहरूलाई बताउनु हाम्रो जिम्मेवारी होइन र? (रोमी १:१४, १५) येशूले भविष्यमा गर्नुहुने कुराबारे मनन गर्दा हामी परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न उत्प्रेरित हुन्छौं।—भज. ४५:१; ४९:३.

पृथ्वीका प्राकृतिक शक्‍तिहरूमाथि नियन्त्रण

१२. येशू पृथ्वीको बनोट राम्ररी जान्‍नुहुन्छ भन्‍ने कुरामा हामी किन पक्का हुन सक्छौं?

१२ यहोवा परमेश्‍वरले पृथ्वी र यसमा भएका सम्पूर्ण कुराको सृष्टि गर्नुहुँदा येशू ख्रीष्ट मुख्य “कारीगरझैं उहाँको छेउमा” हुनुहुन्थ्यो। (हितो. ८:२२, ३०, ३१, NRV; कल. १:१५-१७) त्यसैले येशू पृथ्वीको बनोट राम्ररी जान्‍नुहुन्छ। प्राकृतिक स्रोतसाधनको सदुपयोग र व्यवस्थापन कसरी गर्ने भन्‍ने कुरा उहाँलाई राम्ररी थाह छ।

येशूले चमत्कार गरेर आँधीबेहरी शान्त पार्नुहुन्छ

येशूले गर्नुभएका चमत्कारहरूबाट तपाईंले उहाँबारे के सिक्नुभयो? (अनुच्छेद १३, १४ हेर्नुहोस्‌)

१३, १४. येशू प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ भनेर बुझाउने एउटा उदाहरण दिनुहोस्‌।

१३ प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रणमा राखेर येशूले आफू “परमेश्‍वरको शक्‍ति” भएको कुरा देखाउनुभयो। उदाहरणको लागि, आफ्ना चेलाहरूको ज्यानै खतरामा पार्ने आँधीबेहरी आउँदा येशूले के गर्नुभयो, विचार गर्नुहोस्‌। (मर्कूस ४:३७-३९ पढ्‌नुहोस्‌।) एक जना बाइबलविद्‌ले यस्तो लेखे, “[मर्कूस ४:३७ मा “ठूलो बतास” भनेर अनुवाद गरिएको] ग्रीक शब्दले डरलाग्दो आँधीबेहरीलाई बुझाउँछ। यो सानोतिनो हावाहुरी नभई सबै कुरालाई तलमाथि पछार्दै वर्षा अनि मेघको गर्जनसँगै आउने हुरी हो।”

१४ त्यसबेलाको परिस्थितिलाई एकैछिन कल्पना गर्नुहोस्‌: डरलाग्दो आँधीबेहरी चलिरहेको छ अनि समुद्रको ठूलठूला छालहरूले डुङ्‌गालाई यताउता पछारिरहेको छ। निकै खैलाबैला भए तापनि येशू निद्रामा हुनुहुन्छ। किनभने दिनभरि प्रचार गरेकोले उहाँ थाक्नुभएको छ। येशूका चेलाहरू निकै डराउँछन्‌ र उहाँलाई ब्युँझाउँदै यसो भन्छन्‌, “हामी मर्नै आँट्यौं!” (मत्ती ८:२५) तब येशू उठ्‌नुहुन्छ अनि बतास र समुद्रलाई हप्काउँदै यसो भन्‍नुहुन्छ, “चुप लाग्‌! शान्त भइजा!” नतिजा? बतास थामिन्छ अनि ‘समुद्र पूरै शान्त हुन्छ।’ (मर्कू. ४:३९) येशू प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ भन्‍ने कुराको कत्ति ठूलो प्रमाण!

१५. यहोवा परमेश्‍वरले प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रण गर्ने आफ्नो क्षमता कसरी देखाउनुभएको छ?

१५ येशू ख्रीष्टको शक्‍तिको स्रोत यहोवा हुनुहुन्छ। त्यसैले सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं। केही उदाहरण विचार गर्नुहोस्‌। नूहको समयमा जलप्रलय ल्याउनुअघि यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो, “अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी वर्षाउनेछु।” (उत्प. ७:४) साथै प्रस्थान १४:२१ मा हामी यस्तो लेखिएको पाउँछौं, ‘परमप्रभुले जोरसित पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई पछि पन्छाइदिनुभयो।’ योना १:४ मा पनि यस्तो लेखिएको छ, “परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो र समुद्रमा प्रचण्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तै भयो।” यहोवा परमेश्‍वर प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ भनेर थाह पाउनु साँच्चै खुसीको कुरा हो। नयाँ संसारमा उहाँले पृथ्वीको राम्ररी हेरविचार गर्नुहुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौं।

१६. यहोवा र येशू प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ भनेर थाह पाउँदा हामी किन प्रोत्साहन पाउँछौं?

१६ हाम्रा सृष्टिकर्ता र उहाँको मुख्य “कारीगर”-को अथाह शक्‍तिबारे मनन गर्दा हामी साँच्चै प्रोत्साहन पाउँछौं। उहाँहरूले १,००० वर्षसम्म आफ्नो पूरै ध्यान पृथ्वीलाई दिनुहुँदा सबै मानिसले सुरक्षा पाउनेछन्‌। डरलाग्दो प्राकृतिक प्रकोपहरू कहिल्यै हुनेछैन। आँधीबेहरी, सुनामी वा भूकम्पजस्ता कुराहरूदेखि डराउनुपर्नेछैन। प्राकृतिक शक्‍तिहरूले गर्दा कसैको ज्यान जानेछैन, कोही अङ्‌गभङ्‌ग हुनेछैन। किनभने ‘परमेश्‍वरको बासस्थान मानिसहरूसित हुनेछ।’ (प्रका. २१:३, ४) त्यस समयको कल्पना गर्दा के हामी खुसीले ओतप्रोत हुँदैनौं र? ख्रीष्टले आफ्नो हजार वर्षीय शासनमा यहोवाबाट पाएको शक्‍ति चलाएर प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रण गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।

परमेश्‍वर र ख्रीष्टको अनुकरण गर्नुहोस्‌

१७. हामीले यहोवा र येशूको अनुकरण गर्न सक्ने एउटा तरिका के हो?

१७ हामी यहोवा र येशूले जस्तो प्राकृतिक प्रकोपहरूलाई रोक्न त सक्दैनौं। तर हामीसित पनि केही हदसम्म शक्‍ति छ। यसलाई हामी कसरी प्रयोग गर्न सक्छौं? एउटा तरिका हो, हितोपदेश ३:२७ लागू गरेर। (पढ्‌नुहोस्‌) हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले गाह्रो अवस्थाको सामना गर्दा हामी उनीहरूलाई भौतिक, भावनात्मक र आध्यात्मिक मदत दिन सक्छौं। (हितो. १७:१७) जस्तै: प्राकृतिक प्रकोपको चपेटामा परेका दाजुभाइ दिदीबहिनीलाई हामी मदत गर्न सक्छौं। यी अनुभवहरू विचार गर्नुहोस्‌: डरलाग्दो तुफानले एक जना विधवा बहिनीको घर भताभुङ्‌ग पारेको थियो। आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले दिएको मदतको लागि धन्यवाद दिंदै तिनले यसो भनिन्‌, “यहोवाको सङ्‌गठनमा हुन पाएकोमा म साँच्चै खुसी छु। यस सङ्‌गठनबाट मैले भौतिक रूपमा मात्र नभई आध्यात्मिक रूपमा पनि मदत पाएँ।” आँधीबेहरीले आफ्नो घरमा पुऱ्‍याएको क्षति देखेर एक अविवाहित बहिनी अन्योलमा परेकी थिइन्‌। ख्रीष्टियन दाजुभाइ दिदीबहिनीबाट मदत पाएपछि तिनले यसो भनिन्‌, “म कति आभारी छु, शब्दमा बयानै गर्न सक्दिनँ। यहोवा, तपाईंलाई धेरै धन्यवाद छ।” हो, अरूको साँच्चै ख्याल राख्ने दाजुभाइ दिदीबहिनी भएको यस सङ्‌गठनको भाग हुन पाएकोमा हामी औधी खुसी छौं। त्योभन्दा पनि खुसीको कुरा त, यहोवा र येशू साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ।

१८. येशूले गर्नुभएका चमत्कारहरू किन मन छुने खालका छन्‌?

१८ पृथ्वीमा छँदा येशूले उहाँ “परमेश्‍वरको शक्‍ति” हुनुहुन्छ भन्‍ने कुरा देखाउनुभयो। तर उहाँले कुन उद्देश्‍यले यसो गर्नुभयो? के उहाँले कहिल्यै आफूसित भएको शक्‍ति अरूमाथि प्रभाव जमाउन वा आफ्नो फाइदाको लागि चलाउनुभयो? अहँ! बरु उहाँले चमत्कारहरू गरेर मानिसहरूलाई साँच्चै माया गरेको देखाउनुभयो। यसबारे थप कुरा हामी अर्को लेखमा छलफल गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने