प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ९/१५ पृ. ३-७
  • ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक प्रगति गर्दै जानुहोस्‌
  • ‘खँदिलो खानेकुरा परिपक्व मानिसहरूको निम्ति हो’
  • एकता कायम गर्नुहोस्‌
  • यहोवाको इच्छाअनुसार चल्नेहरूलाई साथी बनाउनुहोस्‌
  • “परिपक्वतातर्फ अघि बढौँ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • जवान भाइहरू हो, परिपक्व ख्रिष्टियन बन्‍ने लक्ष्य राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • के तपाईं “परिपक्व” मसीही हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • १७. परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ९/१५ पृ. ३-७
बाइबल पढ्‌दै जाँदा एक परिपक्व ख्रीष्टियनले येशूको विवरणबारे मनमा चित्र कोर्छन्‌

ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्‌

‘ख्रीष्टको पूर्णताको नापसम्म पुग।’ —एफि. ४:१३.

गीत: ६९, ७०

तपाईं के भन्‍नुहुन्छ?

  • साँचो ज्ञान हासिल गर्दा परिपक्व ख्रीष्टियनहरूलाई कस्तो फाइदा हुन्छ?

  • परिपक्व ख्रीष्टियनहरूले मण्डलीको एकतामा कस्तो योगदान पुऱ्‍याउँछन्‌?

  • परिपक्व हुन चाहनेहरूले राम्रो सङ्‌गत छान्‍नु किन जरुरी छ?

१, २. प्रत्येक ख्रीष्टियनले कस्तो प्रगति गर्नु जरुरी छ? उदाहरण दिनुहोस्‌।

एक जना अनुभवी गृहिणीले बजारमा फलफूल किन्दा कस्तो फल छान्छिन्‌? के तिनले सधैं नै हेर्दा ठूलो देखिने वा सस्तो फल किन्छिन्‌ त? अवश्‍य त्यस्तो गर्ने छैनन्‌। बरु, राम्ररी पाकेको, रसिलो, मीठो बास्ना आउने र स्वास्थ्यलाई फाइदा पुऱ्‍याउने फल किन्छिन्‌।

२ राम्ररी पाकेको फलजस्तै हामी पनि आध्यात्मिक रूपमा परिपक्व हुनु जरुरी छ। त्यसैले समर्पण र बप्तिस्मा गरिसकेपछि पनि प्रगति गरिरहनुपर्छ। हाम्रो लक्ष्य भनेको यहोवाको परिपक्व सेवक बन्‍नु हो। परिपक्व हुनु भनेको उमेर बढ्‌नु मात्र होइन, बरु यहोवासित गाँसेको सम्बन्ध अझ बलियो बनाउनु हो। प्रेषित पावलले पनि एफिससका ख्रीष्टियनहरूलाई आध्यात्मिक रूपमा बढ्‌दै जानुपर्ने आवश्‍यकताबारे लेखे। तिनले ती ख्रीष्टियनहरूलाई ‘विश्‍वासमा र परमेश्‍वरको छोराको सही ज्ञानको विषयमा एकरूपता हासिल गर्न, पूरै हुर्किसकेको मानिस हुन अनि ख्रीष्टको पूर्णताको नापसम्म पुग्न’ प्रोत्साहन दिए।—एफि. ४:१३.

३. एफिससका ख्रीष्टियनहरू र अहिलेका ख्रीष्टियनहरूको अवस्था कसरी मिल्दोजुल्दो छ?

३ पावलले एफिससको मण्डलीलाई पत्र लेख्दा मण्डली स्थापना भएको केही वर्ष भइसकेको थियो। त्यहाँका थुप्रै चेलाहरूले आध्यात्मिक रूपमा निक्कै प्रगति गरिसकेका थिए। तर कोही-कोही भने परिपक्व हुन अझ बाँकी थियो। अहिले पनि कुरा त्यस्तै हो। थुप्रै दाजुभाइ दिदीबहिनीले लामो समयदेखि यहोवाको सेवा गरिरहेका छन्‌ र आध्यात्मिक रूपमा परिपक्व छन्‌। तर कसै-कसैले भने प्रगति गर्न अझै बाँकी छ। जस्तै, प्रत्येक वर्ष हजारौंले बप्तिस्मा गर्छन्‌ र तिनीहरूले परिपक्व हुन प्रयास गर्नुपर्ने हुन्छ। तपाईं नि?—कल. २:६, ७.

आध्यात्मिक प्रगति गर्दै जानुहोस्‌

४, ५. परिपक्व ख्रीष्टियनहरू के-कस्ता तरिकामा फरक हुन सक्छ? तर उनीहरूमा कस्तो समानता हुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

४ पाकेको सबै फल एकै किसिमको हुन्छ भन्‍ने छैन। तर पाकेका सबै फलमा केही न केही समानता भने अवश्‍य हुन्छ। त्यसैगरि परिपक्व ख्रीष्टियनहरू पनि बेग्लाबेग्लै राष्ट्र र पृष्ठभूमिका हुन सक्छन्‌। तिनीहरूको स्वास्थ्य, उमेर, व्यक्‍तित्व, रहनसहन र अनुभव पनि फरक-फरक हुन सक्छ। तैपनि तिनीहरू परिपक्व छन्‌ भनेर चिनाउने केही न केही समानता भने हुन्छ। कस्तो समानता?

५ परिपक्व ख्रीष्टियनले आफ्नो जीवनको हरेक पाइलामा येशूको ‘पदचिन्ह पछ्याउँछन्‌।’ (१ पत्रु. २:२१) त्यसोभए उहाँले हामीलाई कस्तो सल्लाह दिनुभएको छ? आफ्नो सारा मनले, सारा ज्यानले र सारा दिमागले यहोवालाई प्रेम गर्न अनि छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न सल्लाह दिनुभएको छ। (मत्ती २२:३७-३९) परिपक्व ख्रीष्टियनले येशूको यो सल्लाह पालन गर्छन्‌। तिनले यहोवासितको सम्बन्धलाई पहिलो स्थानमा राख्छन्‌ र अरूलाई पनि आफैलाई जस्तै प्रेम गर्छन्‌।

एक पाको एल्डरले तिनीभन्दा कम उमेरका एल्डरहरूसित प्रार्थना गर्दै छन्‌

आफूभन्दा कम उमेरका भाइहरूलाई जिम्मेवारी सम्हाल्न मदत गरेर पाको ख्रीष्टियनहरूले ख्रीष्टको जस्तो नम्रता देखाउन सक्छन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌ )

६, ७. (क) परिपक्व ख्रीष्टियनमा के-कस्ता गुणहरू हुन्छन्‌? (ख) हामीले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

६ परिपक्व ख्रीष्टियनले प्रेमबाहेक पवित्र शक्‍तिको फलका अन्य पक्षहरू पनि विकास गर्छन्‌, जस्तै: नम्रता, आत्मसंयम र धीरज। (गला. ५:२२, २३) त्यस्ता गुणहरूले गाह्रो परिस्थितिको डटेर सामना गर्न र निराश हुँदा पनि लत्तो नछाड्‌न मदत गर्छ। व्यक्‍तिगत अध्ययन गर्दा तिनले सही र गलत छुट्याउन मदत गर्ने बाइबलका सिद्धान्तबारे मनन गर्छन्‌। साथै कुनै निर्णय गर्नुपर्दा बाइबलको सिद्धान्तद्वारा तालिम पाएको अन्तस्करणको आवाज सुन्छन्‌। यसरी तिनी परिपक्व छन्‌ भन्‍ने कुरा देखिन्छ। परिपक्व ख्रीष्टियनले यहोवाको तौरतरिका र स्तर नै सही छ भन्‍ने कुरा स्वीकारेर नम्रता देखाउँछन्‌।a तिनी जोसिलो भएर प्रचार गर्छन्‌ र मण्डलीमा एकता कायम राख्न मदत पुऱ्‍याउँछन्‌।

७ यहोवाको सेवा गरेको लामो समय भए तापनि हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘येशू जस्तै हुन र आध्यात्मिक प्रगति गर्दै जान मैले अझै के गर्नुपर्छ?’

‘खँदिलो खानेकुरा परिपक्व मानिसहरूको निम्ति हो’

८. येशूसित धर्मशास्त्रको राम्रो ज्ञान थियो भनेर किन भन्‍न सक्छौं?

८ येशू ख्रीष्टसित धर्मशास्त्रको राम्रो ज्ञान थियो। बाह्र वर्षको उमेरमै उहाँले मन्दिरका शिक्षकहरूसित धर्मशास्त्रमा आधारित छलफल गर्नुभयो। “उहाँको कुरा सुन्‍नेजति सबै उहाँको जवाफ अनि समझशक्‍ति देखेर छक्क” परे। (लूका २:४६, ४७) पृथ्वीमा प्रचारकार्य थालेपछि उहाँले आफ्ना विरोधीहरूलाई चुप गराउन धर्मशास्त्र प्रभावकारी तरिकामा चलाउनुभयो।—मत्ती २२:४१-४६.

९. (क) आध्यात्मिक उन्‍नति गर्न हामीले के गर्नुपर्छ? (ख) बाइबल कसरी अध्ययन गर्नुपर्छ?

९ येशूको अनुकरण गर्दै आध्यात्मिक उन्‍नति गर्ने हो भने हामीले बाइबलको सतही ज्ञानमा मात्र चित्त बुझाउनु हुँदैन। “खँदिलो खानेकुराचाहिं परिपक्व मानिसहरूको निम्ति हो” भनेर बाइबलमा लेखिएको छ। (हिब्रू ५:१४) त्यसैले हामीले बाइबलका गहन कुराहरू बुझ्ने प्रयास गर्नुपर्छ। साथै, “परमेश्‍वरको छोराको सही ज्ञान” लिनुपर्छ। (एफि. ४:१३) के तपाईं हरेक दिन बाइबल पढ्‌नुहुन्छ? के तपाईं हरेक हप्ता पारिवारिक उपासना गर्नुहुन्छ? बाइबलको अध्ययन गर्दा यहोवाको सोचाइ र भावना बुझ्न मदत दिने शास्त्रपदहरू मनन गर्नुहोस्‌। त्यसपछि कुनै निर्णय गर्नुपर्दा ती सिद्धान्तहरू अनुरूप गर्नुहोस्‌। यसो गर्दा तपाईं यहोवासित अझ नजिक हुन सक्नुहुन्छ।

१०. परिपक्व ख्रीष्टियनले परमेश्‍वरको सल्लाह र सिद्धान्तलाई कसरी प्रेम गर्छन्‌?

१० परिपक्व ख्रीष्टियनले धर्मशास्त्रको ज्ञान लिनुको साथै यहोवाको सल्लाह र सिद्धान्तलाई प्रेम गर्छन्‌। कसरी? एउटा तरिका हो, यहोवाको इच्छालाई पहिलो स्थानमा राखेर। साथै तिनले आफ्नो पुरानो स्वभाव, सोचाइ र आनीबानी त्याग्छन्‌ र ख्रीष्टको जस्तै व्यक्‍तित्व धारण गर्छन्‌। यस्तो व्यक्‍तित्व “परमेश्‍वरको असल तथा सही स्तर अनि वफादारीको मागबमोजिम उहाँको इच्छाअनुसार सृष्टि भएको” हुन्छ। (एफिसी ४:२२-२४ पढ्‌नुहोस्‌ ) बाइबल पवित्र शक्‍तिको निर्देशनमा लेखिएको हो। त्यसैले कुनै ख्रीष्टियनले बाइबलको अध्ययन गर्दा पवित्र शक्‍तिको डोऱ्‍याइ पाउँछन्‌। तिनको ज्ञान बढ्‌ने मात्र नभई, बाइबलका सिद्धान्तहरूलाई प्रेम गर्न पनि सिक्छन्‌। यसरी तिनी यहोवासित अझ घनिष्ठ हुन्छन्‌ र तिनको आध्यात्मिक उन्‍नति हुँदै जान्छ।

एकता कायम गर्नुहोस्‌

११. येशूले दिनहुँ कस्ता मानिसहरूसित सङ्‌गत गर्नुपर्थ्यो?

११ पृथ्वीमा हुनुहुँदा येशूले दिनहुँ त्रुटिपूर्ण मानिसहरूसित सङ्‌गत गर्नुपर्थ्यो। उहाँका आमाबुबा र भाइबहिनीहरू त्रुटिपूर्ण थिए। दिनहुँ उहाँको साथसाथै हिंड्‌ने चेलाहरूमा समेत आफैलाई ठूलो ठान्‍ने झुकाव थियो। उदाहरणको लागि, उहाँको मृत्यु हुनुभन्दा अघिल्लो साँझ “सबैभन्दा ठूलो कसलाई मान्‍ने भनेर तिनीहरूबीच चर्को बहस” चलेको थियो। (लूका २२:२४) तर समयको दौडान चेलाहरूले आध्यात्मिक उन्‍नति गरेर परिपक्व हुनेछन्‌ र तिनीहरू एकतामा रहनेछन्‌ भन्‍ने कुरामा येशू विश्‍वस्त हुनुहुन्थ्यो। त्यही साँझ उहाँले चेलाहरूको विषयमा यस्तो बिन्ती गर्नुभयो: “तिनीहरू सबै एक होऊन्‌। हे बुबा, जसरी तपाईं मसित एकतामा हुनुहुन्छ अनि म तपाईंसित एकतामा छु, त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन्‌, . . . हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्‌।”—यूह. १७:२१, २२.

१२, १३. (क) एफिसी ४:१५, १६ ले मण्डलीमा एकता कायम गर्नुपर्ने कुरालाई कसरी जोड दिएको छ? (ख) एक जना भाइले कसरी एकता कायम गर्न सिके?

१२ परिपक्व ख्रीष्टियनले मण्डलीको एकतामा योगदान पुऱ्‍याउँछन्‌। (एफिसी ४:१-६, १५, १६ पढ्‌नुहोस्‌ ) हाम्रो लक्ष्य भनेको ‘आपसमा राम्ररी गाँसिनु’ अर्थात्‌ एकतामा रहेर काम गर्नु हो। यस्तो एकताको लागि नम्रता चाहिन्छ। कुनै भाइ वा बहिनीले चित्त दुखाउने कामकुरा गर्दा पनि परिपक्व ख्रीष्टियनले मण्डलीको एकता जोगाउँछन्‌। त्यसोभए तपाईं चाहिं के गर्नुहुन्छ? कुनै भाइ वा बहिनीले तपाईंको चित्त दुखाएमा तिनीसित बोल्नै छोड्‌नुहुन्छ कि? अथवा सम्बन्ध सुधार्न केही गर्नुहुन्छ? परिपक्व ख्रीष्टियनले समस्यालाई झन्‌झनै बढाउनुको सट्टा तुरुन्तै सुल्झाउँछन्‌।

१३ ऊभलाई विचार गर्नुहोस्‌। पहिले-पहिले अरूको व्यवहारले गर्दा तिनी चित्त दुखाइहाल्थे। त्यसैले तिनले बाइबल अनि धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी) किताबबाट राजा दाऊदको विषयमा अध्ययन गर्ने विचार गरे। तिनले किन दाऊदकै विषयमा अध्ययन गरे? ऊभ यसो भन्छन्‌: “यहोवाकै सेवा गर्ने मानिसहरूले दाऊदलाई दुःख दिएका थिए। जस्तै: राजा शाऊल उनलाई मार्न चाहन्थे, केही मानिसहरूले उनलाई ढुङ्‌गाले हान्‍ने धम्की दिए, यहाँसम्म कि उनकी श्रीमतीले समेत उनको गिल्ला गरिन्‌। (१ शमू. १९:९-११; ३०:१-६; २ शमू. ६:१४-२२) तर अरूले जस्तोसुकै व्यवहार गरे तापनि दाऊदले यहोवालाई प्रेम गर्न छोडेनन्‌। साथै दाऊद क्षमाशील थिए र मैले त्यो गुण विकास गर्नुपरेको थियो। दाऊदको जीवनी अध्ययन गरेपछि मैले आफ्नो दृष्टिकोण बदल्न सकें। अरूले मेरो चित्त दुखाउने काम गर्दा क्षमा दिन्छु र एकता कायम गर्छु।” के तपाईं पनि मण्डलीमा एकता कायम गर्न यस्तै प्रयास गर्दै हुनुहुन्छ?

यहोवाको इच्छाअनुसार चल्नेहरूलाई साथी बनाउनुहोस्‌

१४. येशूले कसलाई आफ्नो साथी बनाउनुभयो?

१४ येशूले सबैसित राम्रो व्यवहार गर्नुभयो। स्त्री, पुरुष, वृद्ध, युवा, यहाँसम्म कि बालबालिकाहरू समेत उहाँसित कुरा गर्न मन पराउँथे। तर उहाँले जो-कोहीलाई घनिष्ठ साथी बनाउनुभएन। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।” (यूह. १५:१४) वफादार भई उहाँलाई साथ दिने र मनैदेखि यहोवाको सेवा गर्नेहरूलाई मात्र येशूले घनिष्ठ साथी बनाउनुभयो। के तपाईं पनि त्यस्तै व्यक्‍तिहरूलाई साथी बनाउनुहुन्छ? त्यसो गर्नु किन आवश्‍यक छ?

१५. परिपक्व ख्रीष्टियनहरूसित सङ्‌गत गर्दा युवाहरूले कस्तो लाभ उठाउन सक्छन्‌?

१५ घामको न्यानो प्रकाश पाउँदा फलफूल सप्रिन्छ। त्यसैगरि, मण्डलीका दाजुभाइ दिदीबहिनीसित न्यानो सम्बन्ध गाँस्दा परिपक्व हुन मदत पाउँछौं। युवाहरू हो, तपाईं भविष्य कसरी राम्रो बनाउने भनेर सोच्दै हुनुहुन्छ कि? यहोवाको सेवामा लामो समय बिताएका र मण्डलीको एकतामा योगदान पुऱ्‍याएका दाजुभाइ दिदीबहिनीसित कुरा गर्नु बुद्धिमानी हो। ती साक्षीहरूले जीवनमा थुप्रै उतारचढाब वा चुनौतीहरू सामना गरेका हुन सक्छन्‌। तिनीहरूले तपाईंलाई सही बाटोमा हिंड्‌न मदत गर्न सक्छन्‌। तिनीहरूसित सङ्‌गत गर्दा तपाईंले सही निर्णय गर्न मदत पाउनुहुन्छ र परिपक्व हुँदै जान सक्नुहुन्छ।—हिब्रू ५:१४ पढ्‌नुहोस्‌।

१६. मण्डलीका अनुभवी साक्षीहरूले एक बहिनीलाई कसरी मदत गरे?

१६ हेल्गालाई विचार गरौं। स्कुलको पढाइ सकिनै लाग्दा तिनका साथीहरू आफ्नो लक्ष्यबारे कुरा गर्दै थिए। तिनीहरूमध्ये थुप्रैले उज्ज्वल भविष्यको लागि विश्‍वविद्यालयमा गएर पढ्‌ने योजना बनाएका रहेछन्‌। हेल्गाले यस विषयमा मण्डलीका परिपक्व दाइदिदीहरूसित कुरा गरिन्‌। उनी यसो भन्छिन्‌: “उहाँहरूले मलाई धेरै मदत गर्नुभयो। पूर्ण-समय सेवा गर्न प्रोत्साहन दिनुभयो। त्यसपछिको पाँच वर्ष मैले अग्रगामी सेवामा बिताएँ। युवावस्थामै यहोवाको सेवा गर्ने निर्णय गरेकोमा म एकदम खुसी छु। मलाई अलिकता पनि पछुतो छैन।”

१७, १८. हामी कसरी सबैभन्दा राम्रो तरिकामा यहोवाको सेवा गर्न सक्छौं?

१७ येशूको अनुकरण गर्दा हामी परिपक्व हुन सक्छौं। हामी यहोवासित अझ नजिक हुन्छौं र दिलोज्यानले यहोवाको सेवा गर्छौं। हामी परिपक्व छौं भने सबैभन्दा राम्रो तरिकामा यहोवाको सेवा गर्न सक्छौं। येशूले आफ्ना चेलाहरूलाई यस्तो प्रोत्साहन दिनुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।”—मत्ती ५:१६.

१८ माथि बताइएझैं परिपक्व ख्रीष्टियनहरूबाट मण्डलीले धेरै लाभ उठाउन सक्छन्‌। कुनै ख्रीष्टियनले आफ्नो अन्तस्करणलाई कसरी प्रयोग गर्छन्‌, त्यसबाट तिनी कत्तिको परिपक्व छन्‌ भन्‍ने कुरा देखिन्छ। अन्तस्करणले हामीलाई सही निर्णय गर्न कसरी मदत गर्छ? हामी कसरी अरूले गरेको निर्णयको कदर गर्न सक्छौं? यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

a जस्तै: अनुभवी तथा वृद्ध भाइहरूले आफूले सम्हालिरहेको जिम्मेवारी आफूभन्दा कम उमेरका भाइहरूलाई सुम्पन्छन्‌ र तिनीहरूलाई ती जिम्मेवारी पूरा गर्न मदत गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने