प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh chap. ७ pp. ६६-७५
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रियजनको मृत्यु हुँदा
  • “ए लाजरस, बाहिर आऊ!”
  • पुनर्जीवनसम्बन्धी विवरणबाट हामीले सिक्न सक्ने पाठ
  • “चिहानमा हुनेहरू सबै”
  • “पहिलो पुनर्जीवन”
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुन सम्भव छ!
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • मरिसकेकाहरूका लागि आशा—पुनर्जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मृतकहरूका लागि पक्का आशा
    तपाईंको प्रियजनको मृत्यु हुँदा
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh chap. ७ pp. ६६-७५

अध्याय सात

मरिसकेका प्रियजनहरूका लागि साँचो आशा

  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌ भनेर हामी कसरी भन्‍न सक्छौं?

  • मरिसकेका मानिसहरूलाई फेरि जीवन दिन यहोवा इच्छुक हुनुहुन्छ भनेर किन भन्‍न सक्छौं?

  • को-को फेरि जीवित हुनेछन्‌?

१-३. कुन शत्रुले सबैलाई लखेट्‌दै छ? बाइबलको शिक्षाले हामीलाई कसरी ढुक्क बनाउँछ?

कल्पना गर्नुहोस्‌, तपाईंलाई खतरनाक शत्रुले लखेट्‌दै छ। त्यो शत्रु तपाईंभन्दा धेरै बलियो छ र धेरै छिटो दौडन सक्छ। त्यो कठोर छ किनभने त्यसले तपाईंका केही साथीको ज्यान लिइसकेको छ। तपाईंले भाग्ने कोसिस गर्नुभए तापनि त्यसले भेट्टाउनै लागेको छ। बच्ने कुनै आशा देखिंदैन। तर अकस्मात्‌ एक जना मान्छे तपाईंको उद्धार गर्न आइपुग्छ। तिनी त्यो शत्रुभन्दा धेरै बलिया छन्‌। अनि तपाईंको ज्यान बचाइदिने वचन पनि दिन्छन्‌। तपाईं कति ढुक्क महसुस गर्नुहुन्छ!

२ साँच्चै भन्‍नुपर्दा त्यस्तै एउटा शत्रुले तपाईंलाई लखेट्‌दै छ। तपाईंलाई मात्र होइन, त्यसले सबैलाई लखेट्‌दै छ। मृत्यु मानिसको शत्रु हो भनेर हामीले अघिल्लो अध्यायमा सिकिसक्यौं। कोही पनि त्यसबाट भाग्न वा त्यसमाथि विजयी हुन सक्दैन। त्यसले हाम्रो परिवार अनि साथीभाइलाई आफ्नो सिकार बनाइसकेको छ। तर यहोवा मृत्युभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ। उहाँ उद्धारक हुनुहुन्छ अनि हामीलाई धेरै माया गर्नुहुन्छ। उहाँ त्यो शत्रुमाथि विजयी हुन सक्नुहुन्छ भनेर उहाँले देखाइसक्नुभएको छ। अनि उहाँले त्यो शत्रुको नामोनिसान मेटाइदिने प्रतिज्ञा गर्नुभएको छ। बाइबल भन्छ: “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।” (१ कोरिन्थी १५:२६) कति खुसीको कुरा!

३ आफूले चिनेको मान्छे मर्दा कस्तो लाग्छ, एकछिन सोच्नुहोस्‌। यसरी विचार गर्दा यहोवाले गर्नुभएको एउटा प्रतिज्ञा तपाईंले राम्ररी बुझ्नुहुनेछ। कुन प्रतिज्ञा? मरिसकेका प्रियजनलाई फेरि जीवित बनाउने प्रतिज्ञा! (यशैया २६:१९) हो, तिनीहरू फेरि जिउँदो हुनेछन्‌। यसलाई बाइबलमा पुनर्जीवनको आशा भनिएको छ।

प्रियजनको मृत्यु हुँदा

४. (क) प्रियजनको मृत्यु हुँदा येशूले देखाउनुभएको भावनाबाट हामी कसरी यहोवाको भावना बुझ्न सक्छौं? (ख) येशू कोसित घनिष्ठ हुनुभयो?

४ तपाईंको परिवारको कुनै सदस्य वा साथीभाइ बितेको छ कि? मृत्युको चोट सहन असाध्यै गाह्रो हुन्छ। हामी असहाय अनि लाचार महसुस गर्छौं। त्यस्तो बेला हामी परमेश्‍वरको वचन बाइबलबाट सान्त्वना पाउन सक्छौं। (२ कोरिन्थी १:३, ४) आफ्नो साथीको मृत्यु हुँदा येशूले कस्तो महसुस गर्नुभयो भनेर बाइबलमा बताइएको छ। येशू दुरुस्त आफ्नो बुबाजस्तै हुनुहुन्छ। त्यसैले येशूलाई हेरेर हामी यहोवाको भावना बुझ्न सक्छौं। (यूहन्‍ना १४:९) यरूशलेममा छँदा येशू नजिकैको सहर बेथानीमा बस्ने लाजरस अनि तिनका दुई दिदी मरियम र मार्थाकहाँ जाने गर्नुहुन्थ्यो। उहाँ तिनीहरूसित घनिष्ठ हुनुहुन्थ्यो। बाइबल यसो भन्छ: “मार्था, तिनकी बहिनी र लाजरसलाई येशू माया गर्नुहुन्थ्यो।” (यूहन्‍ना ११:५) तर अचानक लाजरसको मृत्यु भयो।

५, ६. (क) लाजरसका नातेदार अनि साथीहरू देखेपछि येशूलाई कस्तो लाग्यो? (ख) येशूले व्यक्‍त गर्नुभएको दुःख अनि शोकले हामीलाई कुन कुरामा ढुक्क बनाउँछ?

५ आफ्नो साथी गुमाउँदा येशूले कस्तो महसुस गर्नुभयो? बाइबल विवरणअनुसार येशू शोक मनाइरहेका नातेदार र साथीहरूलाई भेट्‌न जानुभयो। तिनीहरूलाई देखेपछि येशू धेरै दुःखी हुनुभयो। “अत्यन्तै विचलित भएर उहाँले सुस्केरा हाल्नुभयो।” अनि “येशू रुनुभयो।” (यूहन्‍ना ११:३३, ३५) के लाजरसलाई कहिल्यै भेट्‌न नपाइने भो भनेर येशू रुनुभएको हो? अहँ, होइन। किनभने मानिसहरूले सोच्दै नसोचेको एउटा घटना हुनै लागेको छ भनेर येशूलाई थाह थियो। (यूहन्‍ना ११:३, ४) तैपनि आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा मनमा पर्ने चोट अनि पीडा उहाँले महसुस गर्नुभयो।

६ प्रियजनको मृत्यु हुँदा येशूले व्यक्‍त गर्नुभएको दुःख अनि शोकले हामीलाई एउटा कुरामा ढुक्क बनाउँछ। त्यो हो, येशू अनि उहाँको बुबा यहोवा मृत्युलाई घृणा गर्नुहुन्छ। खुसीको कुरा, यहोवा परमेश्‍वर त्यो शत्रुलाई हराउन सक्नुहुन्छ! उहाँले येशूलाई कस्तो चमत्कार गर्ने शक्‍ति दिनुभयो, अब हेरौं।

“ए लाजरस, बाहिर आऊ!”

७, ८. मानिसको नजरमा लाजरसको लागि किन कुनै आशा थिएन तर येशूले के गर्नुभयो?

७ लाजरसको लासलाई ओडार भित्र राखिएको थियो। येशूले ओडारको मुखमा राखिएको ढुङ्‌गा हटाउने आदेश दिनुभयो। तर मार्थाले आपत्ति जनाइन्‌ किनभने लाजरस मरेको चार दिन भइसकेकोले तिनको लास कुहिन थालिसकेको थियो। (यूहन्‍ना ११:३९) कुहिन थालिसकेको लासलाई के नै गर्न सकिन्थ्यो र?

येशूले लाजरसलाई चिहानबाट बाहिर बोलाउनहुन्छ। तिनलाई पुनर्जीवित पार्नुहुन्छ। लाजरसको परिवार र साथीभाइ खुसी हुन्छन्‌

लाजरस फेरि जीवित हुँदा मानिसहरू असाध्यै रमाए।—यूहन्‍ना ११:३८-४४

८ तैपनि मानिसहरूले ओडारको ढुङ्‌गा हटाए। त्यसपछि येशूले ठूलो सोरमा यसो भन्‍नुभयो: “ए लाजरस, बाहिर आऊ।” अनि के भयो? “त्यो मरेको मानिस . . . उठेर आयो।” (यूहन्‍ना ११:४३, ४४) मानिसहरू कत्ति खुसी भए होलान्‌! वरपर उभिरहेका नातेदार, साथीभाइ वा छिमेकीलाई लाजरस मरिसके भनेर थाह थियो। त्यसैले तिनलाई अहिले आफ्नो अगाडि उभिरहेको देख्दा सुरुमा त पत्याउनै सकेनन्‌। तर आफूले माया गरेको व्यक्‍तिलाई फेरि एक पल्ट जिउँदो देख्न पाउँदा तिनीहरूको खुसीको सीमा रहेन। मृत्युमाथि कत्ति ठूलो विजय!

एलियाले विधवाको छोरालाई पुनर्जीवित पारेपछि विधवा छोरालाई अङ्‌गालो हाल्छिन्‌

एलियाले एउटी विधवाको छोरालाई ब्यूँताए।—१ राजा १७:१७-२४

९, १०. (क) येशूले कसको शक्‍ति पाएर लाजरसलाई फेरि जीवित पार्नुभयो? (ख) पुनर्जीवनसम्बन्धी विवरण पढ्‌नुको फाइदा के हो?

९ येशूले यत्रो चमत्कार आफ्नै शक्‍तिले गरेको हुँ भनी कहिल्यै दाबी गर्नुभएन। लाजरसलाई फेरि जीवित पार्नुअघि येशूले यहोवालाई प्रार्थना गर्नुभएको थियो। कुरा स्पष्ट छ, येशूले त्यो शक्‍ति यहोवाबाट पाउनुभएको थियो। (यूहन्‍ना ११:४१, ४२) तर यहोवाले आफ्नो शक्‍ति चलाएर मरेको मान्छेलाई जीवित पार्नुभएको घटना यही एक चोटि मात्र होइन। परमेश्‍वरको वचनमा नौ जनालाई फेरि जिउँदो बनाइएको विवरण पाइन्छ। तीमध्ये एक जना लाजरस हुन्‌।a यी विवरण पढ्‌नु अनि अध्ययन गर्नु तपाईंलाई रोचक लाग्नेछ। यी विवरणले परमेश्‍वर कसैको पक्षपात गर्नुहुन्‍न भनी सिकाउँछ। उहाँले जवान, वृद्ध, पुरुष, स्त्री, इस्राएली, गैर-इस्राएली गरी विभिन्‍न मानिसलाई फेरि जीवन दिनुभयो। मरिसकेको मानिस फेरि जीवित हुँदा सबै जना असाध्यै खुसी भएका थिए भन्‍ने कुरा पनि यी विवरण पढेर हामी थाह पाउन सक्छौं। उदाहरणको लागि, येशूले एउटी ठिटीलाई ब्यूँताउनुहुँदा तिनका आमाबाबुको “खुसीको सीमा रहेन।” (मर्कूस ५:४२) यहोवाले गर्नुभएको कुरा तिनीहरूले कहिल्यै बिर्सने थिएनन्‌।

पत्रुस तबीतालाई पुनर्जीवित पार्छन्‌

पत्रुसले ख्रीष्टियन स्त्री तबीतालाई ब्यूँताए।—प्रेषित ९:३६-४२

१० हुन त येशूले ब्यूँताउनुभएका मानिसहरू पछि फेरि मरे। त्यसोभए के तिनीहरूलाई फेरि जीवित पार्नुको कुनै अर्थ थिएन? पक्कै थियो। यी विवरणले बाइबलका महत्त्वपूर्ण शिक्षालाई सत्य साबित गर्नुका साथै हामीलाई आशा दिन्छ।

पुनर्जीवनसम्बन्धी विवरणबाट हामीले सिक्न सक्ने पाठ

११. उपदेशक ९:५ को कुरा सत्य हो भनेर लाजरसको विवरणले कसरी प्रमाणित गर्छ?

११ “मरेकाहरूले ता केही पनि जान्दैनन्‌” भनी बाइबल सिकाउँछ। लाजरसको घटनाले यो कुरा साबित गर्छ। फेरि जिउँदो भएपछि के लाजरसले स्वर्गको बखान गरेर मानिसहरूलाई मक्ख पारे? अथवा नरकको डरलाग्दो कथा सुनाएर मानिसहरूलाई तर्साए? अहँ, तिनले त्यस्तो केही गरेनन्‌। लाजरसले त्यस्तो विषयमा कुरा गरे भनेर बाइबलमा कतै लेखिएको छैन। मरेको चार दिनसम्म तिनले ‘केही पनि जानेनन्‌।’ (उपदेशक ९:५) लाजरस मृत्युको गहिरो निद्रामा परेका थिए।—यूहन्‍ना ११:११.

१२. लाजरस साँच्चै जीवित भएका थिए भनेर हामी कसरी पक्का हुन सक्छौं?

१२ लाजरसको विवरणले पुनर्जीवन मिथ्या होइन, वास्तविकता हो भनेर पनि सिकाउँछ। येशूले लाजरसलाई फेरि जिउँदो बनाउनुभएको थुप्रैले देखेका थिए। येशूलाई घृणा गर्ने धर्मगुरुहरूले समेत यस चमत्कारलाई नकार्न सकेनन्‌। बरु तिनीहरूले यसो भने: “यस मानिसले [अर्थात्‌ येशूले] धेरै चमत्कार गर्छ, अब हामी के गरौं?” (यूहन्‍ना ११:४७) पुनर्जीवित भएका लाजरसलाई हेर्न थुप्रै मानिस गएका थिए। लाजरसलाई देखेपछि अझ धेरै मानिसले येशूमा विश्‍वास गरे। लाजरसलाई आफ्नै आँखाले देखेपछि परमेश्‍वरले पठाउनुभएको जन येशू नै हुनुहुँदो रहेछ भनेर मानिसहरू पक्का भए। लाजरसको घटनाले यो कुरा साबित गरिदिएको हुनाले केही निर्दयी यहूदी धर्मगुरुले आरिस गरेर येशू र लाजरस दुवैलाई मार्ने मतो गरे। —यूहन्‍ना ११:५३; १२:९-११.

१३. यहोवाले मरिसकेका मानिसहरूलाई फेरि जिउँदो बनाउन सक्नुहुन्छ भनी हामी किन ढुक्क हुन सक्छौं?

१३ त्यसोभए मरेका मानिसहरू फेरि जीवित हुनेछन्‌ भनेर विश्‍वास गर्नु के अव्यावहारिक कुरा हो? होइन, किनभने “चिहानमा हुनेहरू सबै” एक दिन फेरि जीवित हुनेछन्‌ भनेर येशूले सिकाउनुभयो। (यूहन्‍ना ५:२८) सबै जीवित थोकका सृष्टिकर्ता यहोवा हुनुहुन्छ। त्यसैले उहाँले फेरि सृष्टि गरेर नयाँ जीवन दिन सक्नुहुन्छ भनेर विश्‍वास गर्न के गाह्रो छ र? यहोवाले आफ्नो सम्झनामा हुने जति सबै मानिसलाई फेरि जिउँदो बनाउनुहुनेछ। तर के उहाँले मरिसकेको हाम्रो परिवार, साथीभाइ सबैलाई सम्झन सक्नुहुन्छ? आकासमा गनेर गन्‍नै नसकिने ताराहरू छन्‌ तर यहोवाले ती प्रत्येकलाई नाम दिनुभएको छ! (यशैया ४०:२६) त्यसैले यहोवा परमेश्‍वरले हाम्रा प्रियजनको एक-एक विवरण सम्झन सक्नुहुन्छ अनि तिनीहरूलाई फेरि जिउँदो बनाउन सक्नुहुन्छ।

१४, १५. मरिसकेका मानिसहरूलाई ब्यूँताउन यहोवा इच्छुक हुनुहुन्छ भनेर किन भन्‍न सक्छौं?

१४ मरिसकेका मानिसहरूलाई ब्यूँताउन यहोवा इच्छुक हुनुहुन्छ भनी बाइबल सिकाउँछ। तर हामी कसरी पक्का हुन सक्छौं? वफादार पुरुष अय्यूबले यस्तो प्रश्‍न सोधे: “के मानिस मरेपछि ऊ फेरि जिउँछ?” परमेश्‍वरले ब्यूँताउनुहुने समय नआउन्जेलसम्म चिहानमा पर्खेर बस्नेछु भनेर अय्यूबले बताउँदै थिए। तिनले यहोवालाई यसो भने: “तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्छा गर्नुहुनेछ।”—अय्यूब १४:१३-१५, NRV.

१५ सोच्नुहोस्‌ त, मरिसकेका मानिसहरूलाई फेरि ब्यूँताउन यहोवा साँच्चै इच्छुक हुनुहुन्छ! के यसले हाम्रो मन छुँदैन र? तर भविष्यमा क-कसलाई अनि कहाँ ब्यूँताइनेछ?

“चिहानमा हुनेहरू सबै”

१६. मरिसकेका मानिसहरू फेरि जीवित हुँदा यो पृथ्वी कस्तो अवस्थामा हुनेछ?

१६ भविष्यमा मानिसहरूलाई कसरी ब्यूँताइनेछ, त्यसबारे बाइबलले थुप्रै कुरा बताउँछ। पहिले-पहिले पृथ्वीमा ब्यूँताइएका मानिसहरूले आफ्ना प्रियजनहरूलाई फेरि भेट्‌न पाएका थिए। भविष्यमा पनि त्यस्तै हुनेछ। भनौं भने त्योभन्दा अझै राम्रो हुनेछ। परमेश्‍वर पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउन चाहनुहुन्छ। यसबारे हामीले अध्याय ३ मा पनि सिकिसक्यौं। त्यसैले मरिसकेका मानिसहरू फेरि जीवित हुँदा पृथ्वीमा युद्ध, अपराध र रोगबिमार केही हुनेछैन। खुसी र शान्तिले भरिएको पृथ्वीमा तिनीहरूले सधैंभरि बाँच्ने मौका पाउनेछन्‌।

१७. क-कसलाई ब्यूँताइनेछ?

१७ क-कसलाई ब्यूँताइनेछ? “चिहानमा हुनेहरू सबैले उसको [अर्थात्‌ येशूको] सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌” भनी येशूले बताउनुभयो। (यूहन्‍ना ५:२८, २९) त्यसैगरि प्रकाश २०:१३ यसो भन्छ: “समुद्रले मरिसकेका ती मानिसहरू दिइहाल्यो, जो त्यससँग थियो। मृत्यु र चिहानले पनि मरिसकेका ती मानिसहरू दिइहाले, जो तिनीहरूसँग थिए।” (पृष्ठ २१२-२१३ हेर्नुहोस्‌।) स्पष्ट छ, मानिसजातिको चिहान रित्तो पारिनेछ। चिहानमा रहेका अरबौं मानिस फेरि जीवित हुनेछन्‌। पावलले यसो भने: “परमेश्‍वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌।” (प्रेषित २४:१५) यसको अर्थ के हो?

सुन्दर बगैंचामा मानिसहरू पुनर्जीवित भएर चिहानहरू खाली हुँदा पुनर्मिलनको खुसीयाली छाउनेछ

मरिसकेका मानिसहरूलाई सुन्दर पृथ्वीमा ब्यूँताइनेछ र तिनीहरूले आफ्ना प्रियजनलाई भेट्‌नेछन्‌

१८. ‘परमेश्‍वरको स्तरबमोजिम असल काम गर्नेहरूमा’ को-को पर्छन्‌ र पुनर्जीवनको आशाले गर्दा तपाईं केको डरदेखि मुक्‍त हुन सक्नुहुन्छ?

१८ ‘परमेश्‍वरको स्तरबमोजिम असल काम गर्नेहरूमा’ येशू पृथ्वीमा आउनुअघिका थुप्रै मानिस पर्छन्‌। जस्तै: बाइबलमा उल्लेख गरिएका नूह, अब्राहाम, सारा, मोशा, रूथ, एस्तर। परमेश्‍वरमाथि बलियो विश्‍वास राख्ने ती पुरुष तथा स्त्रीहरूमध्ये कतिपयको विषयमा हिब्रू अध्याय ११ मा वर्णन गरिएको छ। तर यी ‘असल काम गर्नेहरूमा’ अहिले हाम्रो समयमा मृत्यु भएका यहोवाका सेवकहरू पनि पर्छन्‌। पुनर्जीवनको आशाले गर्दा हामी मृत्युको डरदेखि मुक्‍त हुन सकेका छौं।—हिब्रू २:१५.

१९. ‘परमेश्‍वरको स्तरबमोजिम असल काम नगर्नेहरू’ को हुन्‌ र यहोवाले तिनीहरूलाई पनि कस्तो मौका दिनुहुनेछ?

१९ यहोवाबारे थाह नभएकोले उहाँको सेवा गर्ने वा आज्ञा पालन गर्ने मौका नै नपाएका धेरैजसो मानिसबारे के भन्‍न सकिन्छ? ‘परमेश्‍वरको स्तरबमोजिम असल काम नगर्ने’ अरबौं मानिसलाई पनि यहोवाले बिर्सनुहुनेछैन। तिनीहरू पनि फेरि जीवित हुनेछन्‌ अनि तिनीहरूलाई साँचो परमेश्‍वरबारे सिक्ने अनि उहाँको सेवा गर्ने मौका दिइनेछ। मरिसकेका मानिसहरूलाई ब्यूँताउने काम हजार वर्षसम्म चल्नेछ र तिनीहरूलाई पृथ्वीका अरू वफादार मानिससँगै यहोवाको सेवा गर्ने मौका दिइनेछ। सोच्दै कति रमाइलो! यस समयावधिलाई बाइबलमा न्यायको दिन भनिएको छ।b

२०. गेहेन्‍ना भनेको के हो र त्यहाँ को जान्छन्‌?

२० के यसको अर्थ परमेश्‍वरले मर्नेजति सबैलाई फेरि जिउँदो बनाउनुहुनेछ? अहँ, होइन। मरिसकेका कोही-कोही “गेहेन्‍ना”-मा छन्‌ भनी बाइबल बताउँछ। (लूका १२:५) गेहेन्‍ना भनेको प्राचीन यरूशलेमबाहिर फोहोर फाल्ने ठाउँको नाम हो। त्यहाँ लास अनि फोहोर जलाइन्थ्यो। पुनर्जीवन पाउन अयोग्य ठानिएका मानिसहरूको लास त्यहाँ फ्याँकिन्थ्यो। त्यसैले अनन्त विनाशलाई बुझाउन गेहेन्‍ना शब्द उपयुक्‍त छ। जो-जो जीवित छन्‌ अनि जो-जो मरिसकेका छन्‌, तिनीहरू सबैको न्याय गर्न परमेश्‍वरले येशूलाई अह्राउनुभएको छ। तर अन्तिम न्याय भने यहोवा आफैले गर्नुहुनेछ। (प्रेषित १०:४२) परिवर्तन हुन नचाहने अनि यहोवाले खराब ठहराउनुभएका मानिसहरू कहिल्यै ब्यूँताइनेछैनन्‌।

“पहिलो पुनर्जीवन”

२१, २२. (क) अर्को कस्तो प्रकारको पुनर्जीवन पनि छ? (ख) पुनर्जीवित भएर स्वर्ग जाने पहिलो व्यक्‍ति को हुनुहुन्थ्यो?

२१ बाइबलमा अर्को प्रकारको पुनर्जीवनबारे पनि बताइएको छ, जसलाई “पहिलो पुनर्जीवन” भनिन्छ। यस्तो प्रकारको पुनर्जीवनको एउटा मात्र उदाहरण बाइबलमा पाइन्छ। त्यो हो, येशू ख्रीष्टको।

२२ शत्रुहरूले येशूको हत्या गरेपछि यहोवाले आफ्नो वफादार छोरालाई चिहानमा त्यतिकै छोड्‌नुभएन। (भजन १६:१०; प्रेषित १३:३४, ३५) यहोवाले येशूलाई ब्यूँताउनुभयो तर मानिसको रूपमा होइन। ख्रीष्ट “मानिसको रूपमा मर्नुभयो तर अदृश्‍य व्यक्‍तिको रूपमा ब्यूँताइनुभयो” भनी पत्रुसले बताए। (१ पत्रुस ३:१८) यो ठूलो चमत्कार थियो। येशू शक्‍तिशाली अदृश्‍य व्यक्‍तिको रूपमा फेरि जीवित हुनुभयो। (१ कोरिन्थी १५:३-६) यसरी पुनर्जीवित भई स्वर्ग जाने पहिलो व्यक्‍ति येशू हुनुहुन्थ्यो। (यूहन्‍ना ३:१३) तर अरूले पनि यस्तो पुनर्जीवन पाउनेछन्‌।

२३, २४. “सानो बगाल”-मा कति जना छन्‌ र तिनीहरूमा को-को पर्छन्‌?

२३ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले आफ्ना वफादार चेलाहरूलाई तिनीहरूका निम्ति “ठाउँ तयार पार्न” स्वर्ग जाँदै छु भन्‍नुभयो। (यूहन्‍ना १४:२) स्वर्गमा जाने ती मानिसहरूलाई उहाँले “सानो बगाल” भन्‍नुभयो। (लूका १२:३२) वफादार ख्रीष्टियनहरूको यस सानो समूहमा कति जना हुनेछन्‌? प्रकाश १४:१ अनुसार यूहन्‍ना यसो भन्छन्‌: “हेर, मैले थुमालाई [अर्थात्‌ येशू ख्रीष्टलाई] सियोन पर्वतमा उभिरहेको देखें। तिनीसित एक लाख चवालीस हजार जना थिए, जसको निधारमा तिनको र तिनको बुबाको नाम लेखिएको थियो।”

२४ यी १,४४,००० ख्रीष्टियनमध्ये येशूका घनिष्ठ चेलाहरू पनि पर्छन्‌। तिनीहरू सबै पुनर्जीवित भएर स्वर्ग जानेछन्‌। तिनीहरू कहिले पुनर्जीवित हुनेछन्‌? ख्रीष्टको उपस्थितिको दौडान हुनेछन्‌ भनेर पावलले लेखे। (१ कोरिन्थी १५:२३) अहिले हामी त्यही समयमा बाँचिरहेका छौं भनेर अध्याय ९ मा तपाईंले सिक्नुहुनेछ। अहिले हाम्रो समयमा १,४४,००० मध्ये थोरै मात्र जीवित छन्‌ अनि तिनीहरू मर्नेबित्तिकै जीवित हुनेछन्‌ र स्वर्ग जानेछन्‌। (१ कोरिन्थी १५:५१-५५) तर १,४४,००० मा नपर्ने अनगिन्ती मानिससित भने यसै पृथ्वीमा फेरि जीवन पाउने आशा छ।

२५. अर्को अध्यायमा कुन विषय छलफल गर्नेछौं?

२५ हाम्रो शत्रु मृत्युमाथि यहोवा विजयी हुनुहुनेछ। उहाँले त्यसको नामोनिसान मेटाइदिनुहुनेछ! (यशैया २५:८) तर तपाईंको मनमा यो प्रश्‍न आउन सक्छ, ‘पुनर्जीवित भएर स्वर्ग जानेहरूले त्यहाँ के गर्नेछन्‌?’ तिनीहरू स्वर्गमा स्थापित परमेश्‍वरको राज्यको सदस्य हुनेछन्‌। त्यस राज्यबारे अर्को अध्यायमा हामी अझ धेरै कुरा सिक्नेछौं।

a अन्य विवरण १ राजा १७:१७-२४; २ राजा ४:३२-३७; १३:२०, २१; मत्ती २८:५-७; लूका ७:११-१७; ८:४०-५६; प्रेषित ९:३६-४२ र २०:७-१२ मा पाइन्छ।

b न्यायको दिनबारे थप जानकारीको लागि पृष्ठ २१३-२१५ हेर्नुहोस्‌।

बाइबलले के सिकाउँछ?

  • बाइबलमा पाइने पुनर्जीवनसम्बन्धी विवरणले हामीलाई बलियो आशा दिन्छ।—यूहन्‍ना ११:३९-४४.

  • यहोवा मरिसकेका मानिसहरूलाई फेरि जिउँदो बनाउन इच्छुक हुनुहुन्छ।—अय्यूब १४:१३-१५, NRV.

  • चिहानमा हुनेजति सबै फेरि जीवित हुनेछन्‌। —यूहन्‍ना ५:२८, २९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने