रुचि देखाउने सबैसित सम्पर्क राखेर अरूलाई लाभान्वित हुन मदत गर्नुहोस्
१ कसैलाई फेरि भेट्ने वा नभेट्ने निर्णय गर्न कुन कुराले मदत गर्छ? रुचिले! कसैले राज्य समाचारप्रति अलिकति पनि रुचि देखाउँछ भने हामी त्यस व्यक्तिलाई यथाशक्य लाभ प्रदान गर्न चाहन्छौं। अतः व्यक्तिको रुचिलाई विकसित गर्ने र बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित हामी पुनःभेटहरू गर्छौं। साहित्य छाडेका थिएनौं भने पनि त्यसो गर्ने लक्ष्य हाम्रो हो। यो कसरी गर्न सकिन्छ?
२ यदि तपाईंले आजको वैवाहिक समस्याहरूको व्यापकताबारे छलफल गरेर “सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तक दिनुभएको थियो भने, तपाईंले वार्तालाप यसरी सुरु गर्न सक्नुहुन्छ:
▪“अघिल्लो भेटमा हामीले विवाह र अधिक खुशियाली पाउन मदतकारी बाइबलको व्यवहारिक सल्लाहबारे चर्चा गरेका थियौं। के सुखी परिवारहरूमा पनि कहिलेकाहीं समस्याहरू खडा हुँदैनन् र? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले पारिवारिक समस्याहरू समाधान गर्ने मदत दिन अति उत्तम सल्लाह हामीलाई दिन्छ। एकसाथ बाइबल अध्ययन गर्नाले परिवार आशिषित् हुनसक्छ।” पृष्ठ २४६ पल्टाएर अनुच्छेद २३ छलफल गर्नुहोस्। त्यसपछि, यूहन्ना १७:३ पढ्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्न मदत चाहिन्छ कि भनेर सोध्नुहोस्।
३ यदि छोराछोरीहरू र तिनीहरूको प्रशिक्षणको आवश्यकताबारे बताउनुभएको थियो भने, तपाईंले आफ्नो वार्तालाप यसप्रकार जारी राख्न सक्नुहुन्छ:
▪“अघिल्लो भेटमा हामीले छोराछोरीहरूलाई खाँचो पर्ने आध्यात्मिक प्रशिक्षण र आमाबाबुहरूले दिनसक्ने मदतबारे कुरा गरेका थियौं। मैले कुरा गरेको धेरैजसो आमाबाबुहरू आजको जवान मानिसहरूको खराब आचरणबारे चिन्तित छन्। यस सन्दर्भमा तपाईंलाई कस्तो लाग्छ . . . ? [तपाईंको इलाकामा अक्सर भइरहने जवानहरूको एउटा दुराचार उल्लेख गर्नुहोस्। जवाफ दिने मौका दिनुहोस्।] यसबारे बाइबलमा दिएका केही व्यवहारिक सल्लाहहरू हेरौं न।” सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ २४६ पल्टाएर अनुच्छेद २२ को मुख्य बुँदा छलफल गर्नुहोस् अनि एफिसी ६:४ पढेर सुनाउनुहोस्। वास्तवमा धेरैजसो छोराछोरीहरूले अनुशासन र मार्गदर्शन चाहन्छन् भनेर देखाउनुहोस्। यस कुराको प्रबन्ध गर्न आमाबाबुहरू मेहनती भए छोराछोरीहरू खुशी हुनुका साथै तिनीहरू आदर देखाउने पनि हुन्छन्। त्यसपछि आफ्ना छोराछोरीहरूसित कसरी बाइबल अध्ययन गर्नुपर्छ भनी व्याख्या गर्नुहोस्।
४ यदि वार्तालापको विषय पार्थिव प्रमोदवन थियो भने, फेरि रुचि जगाउन तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“परमेश्वरले पृथ्वीलाई प्रमोदवन बनाउनुहुँदा कस्तो हुनेछ भनी जान्न यस पुस्तकका केही चित्रहरू हामीले हेरेका थियौं। तर प्रियजनहरूसित हामीले यो प्रमोदवनमा आनन्द उठाउन सकेनौं भने यसले हाम्रो लागि केही अर्थ राख्दैन। के यसमा तपाईं सहमत हुनुहुन्न र?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको १६२ पृष्ठ पल्टाउनुहोस्। र प्रकाश २१:३, ४, पढेर कसरी हाम्रा प्रियजनहरू सदाका लागि हामीसित हुनसक्छन्, वर्णन गर्नुहोस्। यदि तिनले राम्रो प्रतिक्रिया जनाए भने, मृतकहरू पुनः जीवित हुने कुरा देखाउन यूहन्ना ५:२८, २९ पढेर सुनाउनुहोस्। पुस्तकको आवरण पृष्ठ देखाउँदै भन्नुहोस्: “यो ध्रुव सत्य हो—हामी सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्नसक्छौं।” यो प्रमोदवन नजीकै छ भनेर हामी कसरी भन्नसक्छौं भन्ने विषयमा छलफल गर्न अर्को चोटि भेट्ने चाँजो मिलाउनुहोस्।
५ पुनःभेटको मुख्य उद्देश्य रुचि देखाउने व्यक्तिहरूलाई राज्य समाचारबाट लाभ उठाउन मदत दिनु हो। आध्यात्मिक कुराहरूको भोक जगाउन धेरैजसो मानिसहरूलाई प्रेरणाको जरुरत पर्छ। बाइबल साहित्यहरूले कसरी अझ राम्रोसँग बाइबल बुझ्ने मदत दिनसक्छन् भनी जोड दिंदै यसका व्यवहारिक मूल्यका विशिष्ट बुँदाहरूप्रति तिनीहरूको ध्यान केन्द्रित गर्नुहोस्। यी लक्ष्यहरू पूरा गर्ने पुनःभेटहरूले अरूलाई यथासम्भव उत्कृष्ट तरिकामा लाभान्वित हुन मदत गर्छ।