सबै कुरा परमेश्वरको महिमाको निम्ति गर्नुहोस्
१ आफ्ना भाइबहिनीहरूसितको संगति कति आनन्ददायी हुन्छ! (१ कोरि. १६:१७, १८) सभाहरू, सम्मेलनहरू, अधिवेशनहरू र क्षेत्र सेवकाईमा हामी यसरी भेटघाट गर्छौं। आफ्नो घरमा अतिथिहरू आउँदा र त्यस्तै अन्य अनौपचारिक अवसरहरूमा पनि हामी तिनीहरूसित मैत्रीभाव कायम गर्छौं। यसो गर्दा, हामीले अतिथि-सत्कार देखाउनुको साथै एकअर्कालाई प्रोत्साहन प्रदान गर्छौं। (रोमी १२:१३; १ पत्रु. ४:९) विवाह भोजमा अतिथि-सत्कार गर्ने प्रबन्ध मिलाउँदा अप्रिल १५, १९८४ को द वाचटावर-मा दिएको असल सल्लाहलाई मनमा राख्नुहोस्। विशेषतः सबै कुरा परमेश्वरको महिमाको निम्ति हुनुपर्छ। सो गर्न, कति अतिथिहरूलाई जमघट गराउने र भीडलाई कसरी नियन्त्रण गर्ने भनी निर्णय गर्नुपर्छ। यसका लागि पृष्ठ १९ र २० मा दिएको सल्लाहलाई ध्यान दिनुहोस्।
२ आयोजित सामाजिक जमघटहरू: चाहे “खाऔं अथवा पिऔं, अथवा जेसुकै गरौं” हामीले परमेश्वरको महिमाको निम्ति गर्नुपर्छ। (१ कोरि. १०:३१-३३) कतिले यो सल्लाहलाई अपनाएका छैनन्। त्यसो हुँदा सम्हाल्न नसक्ने अति ठूलो सामाजिक जमघटहरूको कारणले समस्याहरू बढ्छन्। कतिपय अवसरहरूमा सयौं मानिसहरूलाई भव्य कार्यक्रमहरूमा आमन्त्रित गर्ने र त्यहाँ सांसारिक मनोरञ्जन प्रस्तुत गर्ने गरिन्छ। कहिलेकाहीं त्यहाँ उपस्थित हुनेहरूलाई प्रवेश-शुल्क वा अरू शुल्कहरू तिर्न आग्रह गरिन्छ। यस्ता जमघटहरू र सांसारिक जमघटहरूबीच कुनै भिन्नता छैन। जुन चाहिं शिष्टाचार र बाइबल सिद्धान्तहरूबाहिरको मनोवृत्ति हो।—रोमी १३:१३, १४; एफि. ५:१५-२०.
३ मनोरञ्जन गृहहरू भाडामा लिएर धेरै संख्यामा साक्षीहरू भेला भएर उचित देखरेखबिना अहितकर र सांसारिक प्रवृत्ति झल्कने मनोरञ्जन गरेको रिपोर्ट पाइएको छ। होटेल र बिदा मनाउने ठाउँहरूमा पनि “यहोवाका साक्षीहरू”-को हप्ते बिदा भनी विज्ञापन गरेर त्यस्तै प्रकारले रमझम गरिएको छ। यस्ता ठूला झुन्डहरूलाई ठीकसित रेखदेख गर्न गाह्रो भएको हुनाले समस्याहरू उत्पन्न भएका छन्। यसो गर्दा उपद्रव, अत्यधिक मद्यपान र कहिलेकाहीं अनैतिक कामसमेत भएको छ। (एफि. ५:३, ४) निस्सन्देह, यस्ता आचरणहरू प्रदर्शित हुने सामाजिक जमघटहरूले यहोवाको महिमा गर्दैनन्। बरु, त्यस्ता जमघटहरूले मण्डलीको असल नाउँमाथि निन्दा ल्याउँछ र अरूलाई ठोक्कर पुऱ्याउँछ।—१ कोरि. १०:२३, २४, २९.
४ मसीहीहरूलाई अतिथि-सत्कार देखाउन प्रोत्साहन गरिएको छ। तर ज्यादा आध्यात्मिक आदानप्रदानलाई जोड दिनुपर्छ। (रो. १:११. १२) साधारणतः कम्ती जमघट हुने व्यवस्था मिलाउनु उत्तम हुन्छ। आवर मिनिस्ट्री (हाम्रो सेवकाई) पुस्तकको पृष्ठ १३५-६ मा यसरी बताइएको छ: “मसीही मैत्रीभावको निम्ति कहिलेकाहीं धेरै परिवारहरूलाई निमन्त्रण गर्न सकिन्छ। . . . यस्ता अवसरहरूमा त्यहाँ हुने कुराको निम्ति अतिथि-सत्कार गर्ने व्यक्तिले आफू व्यक्तिगत तवरमा जिम्मेवार भएको महसुस गर्नु युक्तिसंगत छ। यो कुरा मनमा राख्दै, यस्ता झुन्डहरूको संख्या सीमित र समयावधि पनि उचित हुनुपर्ने बुद्धिमानी कुरालाई विवेकी मसीहीहरूले बुझेका छन्।” यदि हाम्रो लक्ष्य आफ्ना मित्रहरूलाई आध्यात्मिक तवरमा प्रोत्साहन दिनु हो भने, भव्य सत्कारको जरुरत पर्दैन भनी येशूले देखाउनुभयो।—लूका १०:४०-४२.
५ संगी मसीहीहरूलाई आतिथ्य देखाउनु राम्रो कुरा हो। तथापि, घरैमा साधारण जमघट गर्नु र सांसारिक मनोवृत्तिलाई झल्काउँदै भाडाको मनोरञ्जन गृहमा धुमधामसित रमझम गर्नु बीच ठूलो अन्तर छ। अतः यस्ता अवसरहरूमा निम्तो दिनुहुँदा, त्यहाँ हुने क्रियाकलापहरू सम्हाल्नसक्ने किसिमको छ वा छैन तपाईं निश्चित हुनुपर्छ।
६ साँच्चै, यहोवाले हामीलाई आनन्ददायी प्रोत्साहन प्राप्त हुने भ्रातृत्वको आशिष् दिनुभएको छ। यसले हामीलाई राम्रो काममा लागिरहन प्रेरित गर्छ। (मत्ती ५:१६; १ पत्रु. २:१२) सामाजिक क्रियाकलापहरूमा भद्रता र विवेक प्रदर्शित गरेर हामी सदैव परमेश्वरको महिमा गर्नेछौं र अरूलाई प्रोत्साहन दिनेछौं।—रोमी १५:२.