सामाजिक मनोरञ्जन –त्यसका लाभहरूबाट आनन्द उठाउनुहोस्, खतराहरूबाट जोगिनुहोस्
“मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज-मजा गर्नुभन्दा अरू बढी केही छैन।”—उपदेशक २:२४.
१. परमेश्वरले दिनु हुने निर्देशनबाट उहाँका मानिसहरूले मनोरञ्जनबारे के मद्दत पाउँन सक्तछन्?
यहोवाले दिनु हुने निर्देशनले उहाँका सेवकहरूलाई धेरै लाभ पुर्याउँदछ। हामी मनोरञ्जनको क्षेत्रमा यो देख्न सक्तछौं। मनोरञ्जनको विषयमा व्यक्त गरिएका विभिन्न दृष्टिकोणहरू लिएर अचाक्ली गर्न देखिन् मसीहीहरूलाई यहोवाका निर्देशनले बचाउँदछ। उदाहरणका लागि, पहिरन र आचरण सम्बन्धी कडा विचारधारा राख्ने कुनै कुनै धर्मावलम्बीहरूको नजरमा प्रायः हर प्रकारको मोजमज्जा पाप हो। तर अर्कोतिर फेरि यहोवाका नियमहरू र सिद्धान्तहरूको विपरीत हुने मोजमज्जाको पछि धेरै मानिसहरू लाग्दछन्।—रोमी १:२४-२७; १३:१३, १४; एफिसी ४:१७-१९.
२. मनोरञ्जनको विषयमा परमेश्वरको दृष्टिकोणलाई कुन कुराले सुरु मै सङ्केत दियो?
२ तथापि, परमेश्वरका जनहरूको विषयमा चाहिं के भन्न सकिन्छ? वास्तवमा परमेश्वरले मानिसहरूलाई जीवनमा आनन्द उपभोग गर्न सक्ने क्षमता सहित सृजनु भएको थियो। यो कुरा थाह पाउँदा बाइबल अध्ययन गर्न भर्खरै सुरु गर्ने धेरै मानिसहरू छक्क पर्दछन्। परमेश्वरले हाम्रा प्रथम आमा-बाबुलाई काम दिनु भयो। तर त्यो काम आजका थुप्रै असिद्ध मानवहरूले गर्नु परेको दिक्कलाग्दो टन्टा जस्तो थिएन। (उत्पत्ति १:२८-३०) ती विभिन्न लाभदायक कुराहरूबारे सोच्नु होस् जसबाट एउटा पार्थिव प्रमोदवनमा बस्ने हर व्यक्तिले आनन्द उपभोग गर्न सक्नेछन्। कुनै खतराको कारण नहुने जङ्गली जनावरहरूका साथसाथै दैनिक जीवनको एउटा भाग हुने घरेलु पशुहरूलाई हेर्न पाउँदा तिनीहरूको आनन्दको कल्पना गर्नुहोस्! र “हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख” बाट तिनीहरूले कस्तो मीठो-मीठो खाने कुरा पाउनेछन्!—उत्पत्ति २:९; उपदेशक २:२४.
३-५. (क) मनोरञ्जनले के उद्देश्य पूरा गर्नु पर्दछ? (ख) परमेश्वरले इस्राएलीहरूलाई आनन्द मनाउन देखिन् रोक्नु भएन भनेर हामी किन निश्चित हुन सक्तछौं?
३ ती कुराहरूलाई पनि त वास्तवमा एक प्रकारको मनोरञ्जन नै ठान्न सकिन्छ। र मनोरञ्जनको उद्देश्य आज जे छ, प्रमोदवनमा पनि त्यही हुनेछ: अर्थात्, अझ फलदायक कामकुरा गर्नका लागि मानिसलाई पुनः आराम र स्फूर्ति प्रदान गर्नु। मनोरञ्जनले सो उद्देश्य पूरा गर्दा, त्यो एउटा लाभदायक कुरा हुन जान्छ। के यसको अर्थ हाल प्रमोदवनमा नबसेका भए तापनि साँचो उपासकहरूले आफ्नो जीवनमा मनोरञ्जनलाई स्थान दिन सक्छन्? सक्छन्। इनसाइट् अन द स्क्रिपचर्स-ले (Insight on the Scriptures, नेपालीमा उपलव्ध छैन) यहोवाका प्राचीन जनहरूका बीच मनोरञ्जनबारे यसो भन्दछ:
४ “बाइबलका लेखोटहरूमा इस्राएलीहरू बीच हुने खेल तमाशा र मनोरञ्जनबारे कुनै स्पष्ट विवरण दिइएको छैन। तापनि, ती कुराहरू राष्ट्रका धार्मिक सिद्धान्तहरू अनुरूप हुँदा, तिनीहरूलाई दुवै उचित र आवश्यक ठानेको देखिन्छ। बाजा बजाउनु, गाउनु, नाच्नु, कुराकानी गर्नु र कुनै कुनै खेलहरू खेल्नु नै मनोरञ्जनका केही मुख्य रूपहरू थिए। गाउँ खाने कथाहरू भन्ने र गाह्रो-गाह्रो प्रश्नहरूको जवाफ दिन सक्ने मानिसलाई निकै नै श्रद्धाले हेरिन्थ्यो।—न्याय १४:१२”—खण्ड १, पाना १०२.
५ दाऊद विजयी भएर फर्कन्दा, हिब्रू आइमाईहरूले वीणा र खैंजडी बजाउँदै हर्कबढाइँ गरे (हिब्रू, सा-चाक)। (१ शमूएल १८:६, ७) यहाँ यस हिब्रू शब्दको मूल अर्थ “हाँस्नु” हो र कुनै कुनै अनुवादहरूमा “रमाइलो मनाउने आइमाईहरूको” चर्चा गरिएको छ। (बायिङ्गटन, रथरहाम, दी न्यु इङ्गलिश बाइबल) वाचाको सन्दूकलाई सार्दा, “दाऊद र सबै इस्राएलीहरू बडो जोशका साथ आनन्दले [हर्कबढाइँ गर्दै, न्यु व०] गाना, वीणा, सारङ्गी, खैंजडी, मृदङ्ग र झ्याम्टाको सुरमा नाचे।” तथापि, दाऊदकी पत्नी मिकलले एउटा असन्तुलित दृष्टिकोण राखिन्। दाऊदले यो नाचगानमा भाग लिंदा, तिनले आपत्ति व्यक्त गरिन्। (२ शमूएल ६:५, १४-२०) बाबेलबाट फर्केर आउने कैदीहरूले पछि यसरी नै हर्ष मनाउनेछन् भनेर परमेश्वरले भविष्यवाणी गर्नु भएको थियो।—यर्मिया ३०:१८, १९; ३१:४; भजनसंग्रह १२६:२ सित तुलना गर्नुहोस्.
६. मसीही युनानी शास्त्रले हामीलाई मनोरञ्जन सम्बन्धी सही दृष्टिकोण राख्न कसरी मद्दत दिन्छ?
६ हामीले पनि मनोरञ्जनबारे सन्तुलित विचार राख्ने चाहना गर्नुपर्दछ। उदाहरणका लागि, येशू एक जना वैरागी मानिस हुनु हुन्नथ्यो भन्ने कुरा के हामीले बुझेका छौं? लेवीले दिएको “ठूलो भोज” जस्तो आरामदायी अवसरहरूका लागि उहाँ समय निकाल्नु हुन्थ्यो। र उहाँले खाएको र पिएकोमा आत्मधर्मी व्यक्तिहरूले आलोचना व्यक्त गर्दा, येशूले तिनीहरूको विचार र दृष्टिकोणलाई तिरस्कार गर्नु भयो। (लूका ५:२९-३१; ७:३३-३६) उहाँ एउटा विवाह भोजमा उपस्थित हुनु भएर त्यहाँका हर्कबढाइँमा सघाउ पनि पुर्याउनु भएको थियो भन्ने कुरा सम्झना गर्नुहोस्। (यूहन्ना २:१-१०) येशूका सौतेनी भाइ यहूदा अनुसार, मसीहीहरूको आपसमा “प्रीति-भोज” हुँद थियो। यी भोजहरूमा सम्भवतः खाँचोमा परेकाहरूले खान र आरामदायक रमाइलो सङ्गतिबाट आनन्द उठाउन सक्त थिए।—यहूदा १२.
सामाजिक मनोरञ्जनको आफ्नो समय र ठाउँ
७. मनोरञ्जनबारे सन्तुलन कायम राख्नु भनेर परमेश्वरको वचनले कसरी प्रोत्साहित गर्दछ?
७ ‘आनन्द दिने भोजन र प्रसन्न तुल्याउने दाखमद्य’ बारे उपदेशक १०:१९ ले राम्रै कुरा गर्दछ। यसकारण, मनोरञ्जन स्वयं कुनै नराम्रो अथवा खराब कुरा हुन सक्तैन। तापनि, त्यही पुस्तकले यसो भन्दछ: “सबै कुराका लागि समय छ, . . . रूने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय।” (उपदेशक ३:१, ४) हो, बाइबलले उचित प्रकारको मनोरञ्जनको भर्त्सना नगरे तापनि, यसबारे होसियार हुने आवश्यकता चाहिं हामीलाई देखाउँदछ। जस्तो कि, सामाजिक मनोरञ्जनको मात्रा र त्यसमा बिताइने समयबारे हामीलाई सल्लाह दिने गर्दछ। धेरै मानिसहरू भेला भएका भोजहरूमा अक्सर उठ्ने खतराहरूबारे पनि त्यसले हामीलाई चेताउनी दिन्छ।—२ तिमोथी ३:४.
८, ९. हामी बाँचेका समय साल र हाम्रा ईश्वरप्रदत्त कार्य, मनोरञ्जनसित किन सम्बन्धित हुनु पर्दछ?
८ बाबेलबाट फर्केर आए पछि यहूदीहरूले धेरै परिश्रम गर्नु परे तापनि तिनीहरूले आनन्दमय र आरामदायक समयहरू पनि अनुभव गर्ने थिए भनी हामीले अघि नै पढी सक्यौं। तर यर्मियाले चाहिं केही समयअघि यसो भनेका थिए: “हंसी दिल्लगी गर्नेहरूको झुन्डमा म बसिनँ, नता मैले हर्ष मनाएँ।” (यर्मिया १५:१७) आउन लागेको दण्डबारे सन्देश दिने कामको ईश्वरीय जिम्मावारी तिनले पाएका थिए। यसकारण, त्यो समय कुनै प्रकारको रमाइलो मनाउनका लागि उपयुक्त थिएन।
९ आज पनि परमेश्वरको आशाको सन्देशका साथसाथै शैतानको दुष्ट रीतिरिवाजको विरुद्धमा उहाँको न्यायको घोषणा गर्ने जिम्मावारी मसीहीहरूलाई दिइएको छ। (यशैया ६१:१-३; प्रेरित १७:३०, ३१) अतः हाम्रो जीवनमा मनोरञ्जनलाई प्रमुख स्थान दिनु हुँदैन भन्ने कुरा प्रत्यक्ष हुनु पर्दछ। उदाहरणका लागि, खाने कुराको स्वाद बढाउने नून अथवा मसलालाई विचार गर्नुहोस्। के तपाईं यी पदार्थहरूलाई खाने कुराको स्वादै मार्ने गरी अति नै बढी मात्रामा प्रयोग गर्नु हुनेछ? कदापि गर्नु हुने छैन। यूहन्ना ४:३४ र मत्ती ६:३३-मा पाइने येशूका शब्दहरू अनुसार, हाम्रो मुख्य चासोको विषय—अथवा हाम्रो भोजन नै—परमेश्वरको इच्छा गर्नु हुनु पर्दछ। त्यसकारण, मनोरञ्जन चाहिं मसला जस्तो मात्र हुन जान्छ। त्यो हाम्रो निम्ति एउटा थकाइ मेटाउने र स्फूर्तिदायक कुरा हुनुपर्छ। त्यसले हामीलाई थकाउनु अथवा हामीलाई सम्पूर्णतया आफ्नो वशमा पार्नु हुँदैन।
१०. हामी सबैले मनोरञ्जनमा बिताउने समयबारे किन पुनः विश्लेषण गर्न जरुरी छ?
१० तर एक छिन रोकेर सम्झनु होस्: मनोरञ्जनलाई चाँहिदो भन्दा बढी समय र ध्यान दिइएका छैनौं भनी के धेरै जसो मानिसहरूले दाबी गर्दैनन् होला? अन्यथा सोचेका भए, तिनीहरूले अवश्य पनि छाँटकाँट गरी हाल्ने थिए। हाम्रो जीवनमा मनोरञ्जनले वास्तवमा कुन स्थान लिंदछ भनेर के हामी प्रत्येकले एक छिन रोकिएर गम्भीरतापूर्वक र खुला मनले आत्मविश्लेषण गर्नु पर्ने आवश्यकता यसबाट देखिन्दैन र? के मनोरञ्जन चालै न पाउनेगरी हाम्रो जीवनमा एउटा निकै नै प्रमुख कुरा हुन गएको छ कि? उदाहरणका लागि, के हामी घर फर्कना साथै सोझै टेलिभिजन खोल्ने गर्छौं? प्रत्येक सप्ताहन्तमा अर्थात् हर शुक्रबार र शनिवारको रात के हामीले एक मुष्ट समय मनोरञ्जनका लागि अलग्ग छुट्ट्याउने बानी बसालेका छौं? कथङ्कदाचित ती दिनहरूका लागि कुनै खास मनोरञ्जन आयोजित गर्न नपाएर हामी घरमै बस्नु पर्यो भने, के हामी खिस्रिक्क हुन्छौं? अझ थप प्रश्नहरू यस प्रकार छन्: कुनै भेटघाटको भोलिपल्ट बिहान, के हामी मसीही सेवकाईमा भाग लिन अथवा आफ्नो काम गर्ने ठाउँमा राम्रोसित काम गर्न असमर्थ हुन्छौं? सायद राती धेरै अबेरसम्म जागा बसेको अथवा निकै नै टाढा गएको हुनाकारण, के हामी थाकेर फतक्क गलेका हुन्छौं? मनोरञ्जनले हामीमाथि कहिलेकाहीं अथवा अक्सर यस्तो असर पार्दछ भने, के त्यसलाई वास्तवमा उचित र सन्तुलित प्रकारको मोजमज्जा भन्न सकिन्छ र?—हितोपदेश २६:१७-१९ सित तुलना गर्नुहोस्.
११. हामीले मनोरञ्जनका लागि के गर्दछौं, त्यस विषयमा पुनःविचार गर्नु किन उचित हो?
११ सायद हामी मनोरञ्जनका लागि के के गर्दछौं भन्ने विषयबारे पुनः विचार गर्नु पनि राम्रो हुनेछ। हामी परमेश्वरका सेवकहरू हौं भन्दैमा हामीले रोजेको मनोरञ्जन सुहाउँदो हुनेछ भन्न सकिन्दैन। प्रेरित पत्रुसले अभिषिक्त मसीहीहरूलाई लेखि पठाएका यी शब्दहरूमाथि विचार गर्नुहोस्: “किनकि अन्यजातिहरूको इच्छाअनुसार काम गर्ने, लुच्याइँ, अभिलाषा, मतवालापन, मोजमज्जा, मद्यपान र घिनलाग्दा मूर्तिपूजाहरूमा चल्ने, जो बितेका समयमा भयो, सो प्रशस्त होला।” (१ पत्रुस ४:३) पत्रुसले यहाँ औंला ठडाउँदै आफ्ना भाइहरूलाई संसारको नकल गरेको वापत दोषी ठहराइ रहेका थिएनन्। तापनि, मसीहीहरूलाई, दुवै त्यति बेला र आज, सतर्क हुन आवश्यक छ। नत्रता, हानिकारक मनोरञ्जनको सजिलैसित शिकार बन्न सकिन्छ।—१ पत्रुस १:२; २:१; ४:७; २ पत्रुस २:१३.
खतराहरूबाट जोगिनुहोस्
१२. पहिला पत्रुस ४:३-मा कुन प्रकारको खतरालाई जोड दिएको छ?
१२ हामी कुन प्रकारको खतराबारे सतर्क हुनुपर्दछ? पत्रुसले “मतवालीपन, मोजमज्जा र मद्यपान” को यहाँ चर्चा गरे। एक जना जर्मन टिप्पणीकारको व्याख्या अनुसार यहाँ प्रयोग गरिएका युनानी शब्दहरू “विशेषगरी भोज-भतेरहरूमा मद्य पिउनुसित” सम्बन्धित थियो। यसो गर्ने त्यस बेलाको चलन थियो भनेर एक जना स्वीस प्रोफेसरले यस प्रकार लेखेका छन्: “लाजलाग्दो कामहरू गरिने आयोजित जम-घटहरू अथवा नियमित रूपमा भेटघाट गर्ने मानिसहरूको समूहसित यहाँ दिइएको वर्णन सम्बन्धित हुनु पर्दछ।”
१३. भोज-भतेरहरूमा मद्यपानको प्रयोग एउटा पासो कसरी हुन गएको छ? (यशैया ५:११, १२)
१३ ठूलठूला भोज-भतेरहरूमा मद्यपान उपलव्ध भएको हुनाकारण, धेरै मानिसहरू त्यसको पासोमा फँसेका छन्। हुनः त यी पर्दाथहरूको सीमित प्रयोग बाइबलमा निषेध गरिएको छैन। यस कुरालाई पुष्टि दिन, हामी येशूले कानामा भएको विवाह-भोजमा दाख-मद्य बनाउनु भएको घटनालाई विचार गर्न सक्तछौं। निश्चय नै त्यहाँ कसैले पनि बढी मात्रामा पिउने गरेको हुन सक्तैन। नत्रता, मतवालाहरू सित सङ्गत नगर्नू भन्ने परमेश्वरको नियमलाई येशूले पालन गर्नु हुने थियो। (हितोपदेश २३:२०, २१) तर त्यस घटनासित सम्बन्धित यो एउटा सानो विवरणलाई ध्यान दिनु होस्: भोजको मुखियाको भनाइअनुसार अरू भोजहरूमा पहिले असल दाखमद्य टक्राउने गर्दछन् र ‘जब मानिसहरू मातेका हुन्छन्, तब कमसल चाहिं’ उपलब्ध गराउँछन्। (यूहन्ना २:१०) यसबाट यो बोध हुन्छ कि प्रशस्त दाखमद्य सबैका लागि उपलव्ध हुने विवाह-भोजहरूमा यहूदीहरू साधारणतया मातुञ्जेल पिउने गर्द थिए।
१४. मद्यपानको प्रयोगद्वारा उत्पन्न हुनसक्ने खतराहरूको सामना, भोज दिने मसीहीहरूले कुन कुन ढङ्गमा गर्न सक्तछन्?
१४ यसैकारण, आफ्ना पाहुनाहरूले कति र के पिउँदैछन् भनी देखरेख गर्न सकिन्छ भने मात्र आफूले दिने भोजमा दाखमद्य, बियर र अन्य प्रकारका मद्यपान उपलब्ध गराउने फैसला कुनै कुनै मसीहीहरूले गरेका छन्। अघि उल्लेखित यहूदी विवाह-भोजमा जस्तै, घरधनीले स्वयं देखरेख गर्न सक्ने भन्दा बढी सङ्खयामा पाहुनाहरू छन् भने, धेरै मात्रामा मद्यपान उपलव्ध गराउनु एउटा खतरनाक पासो जस्तै हुन सक्छ। सायद त्यहाँ कुनै यस्तो मानिस उपस्थित होला जसले ठूलो सङ्घर्ष गरेर बढी मात्रामा मद्यपान गर्ने बानी छाडेको होला। तर जताततै अनियन्त्रित मात्रामा मद्यपानको प्रयोग भएको देखेर फेरि बढी मात्रामा पिउने र त्यहाँ उपस्थित सबै जनाका लागि एउटा नरमाइलो वातावरणको सृजना गरी दिने परीक्षा उसको सामुन्ने खडा हुन सक्तछ। जर्मनीमा एक जना प्राचीनको भनाइअनुसार, जो केटी-केटीका बाबु पनि हुन्, सङ्गी विश्वासीहरू सित गरिएको सामाजिक भेटघाट तिनका परिवारका लागि लाभदायक हुन्छ। तर बियर सजिलैसित उपलब्ध हुँदा चाहिं समस्याहरू उठने सम्भावना निश्चय नै बढी हुन्छ भन्ने कुरा तिनले थपे।
१५. सामाजिक भेटघाटहरूमा सुहाँउदो देखरेख गर्ने काम कसरी सम्पन्न हुन सक्तछ?
१५ कानामा भएको विवाहमा “भोजका मुखिया” थिए। (यूहन्ना २:८) यसको अर्थ कुनै एउटा परिवारले आफ्नो घरमा केही मानिसहरूलाई भोजन खान अथवा यसो भेट-घाट गर्न बोलाउँदा एक जना मुखिया नियुक्त गर्नुपर्छ भनेको होइन। यस्तो बेलामा देखरेखको काम घरको बाबुले गर्नुपर्छ। तर भोज चाहे दुई परिवार बीच होस् वा त्यसमा अझ बढी मानिसहरू सामेल भएको होस्, त्यहाँ के के हुन्छ, त्यसको देखरेख गर्ने एक जना जिम्मेवार व्यक्ति चाहिं हुनु पर्दछ। आफ्ना छोरा वा छोरी कुनै सामाजिक जमघटमा निम्त्याइँदा धेरै आमा बाबुहरूले यसबारे पहिले नै सोधपुछ गर्छन्। त्यहाँ भेलाहुनेहरूको देखरेख कसले गर्नेछ र देखरेख गर्ने यी व्यक्ति भोजको अन्तसम्मै त्यहाँ उपस्थित हुने छन् वा छैनन् भनेर आमाबाबुहरूले निम्तो दिने व्यक्तिलाई सोधी पठाउँछन्। यस प्रकारको भेटघाटमा उपस्थित हुनका लागि मसीही आमाबाबुहरूले आफ्ना कामकुरामा छाँटकाँट पनि गर्न तयार भएका छन्। यस प्रकार, भेला हुनेहरूले जवान र वृद्ध, दुवैको सङ्गतिबाट आपसमा लाभ उठाउन सक्तछन्।
१६. भेटघाटमा निम्त्याउने मानिसहरूको सङ्खया तोक्ने बेलामा कुन कुन कुरा ध्यानमा राख्नु उचित हुनेछ?
१६ वाचटावर सोसाइटीको क्यानाडा स्थित शाखाले यस प्रकार लेखिपठाएको छ: “हुनः त सामाजिक भेटघाटहरूमा भेला हुने मानिसहरूको सङ्खयालाई सीमित राख्नु भनेर सल्लाह दिइएको थियो। तर ठूला ठूला विवाह-भोजहरू आयोजित गर्नु नै उक्त सल्लाहको विपरीत जानु हो भनेर कुनै कुनै प्राचीनहरूले आफ्नो अर्थ लगाएका छन्। हाम्रा भोजहरूमा निम्त्याइएका मानिसहरूको सङ्खया सानो र नियन्त्रणमा राख्नेसम्मको हुनु पर्छ भनेर सल्लाह दिइएको हुनाकारण, कुनै विवाह भोजमा २०० वा ३०० जनालाई निम्त्याउनु गलत हो भन्ने निष्कर्षमा समेत तिनीहरू पुगेका छन्।”a तर यसरी आफ्नो व्यक्तिगत दृष्टिकोणमा आधारित कुनै एउटा विशेष सङ्खयामाथि जोड दिनुभन्दा, त्यहाँ जति जना नै उपस्थित भए तापनि, पर्याप्त देखरेखको विषयलाई विशेष ध्यान दिनु उचित हुनेछ। कानामा भएको विवाह भोजमा मानिसहरूको निकै नै ठूलो सङ्खया उपस्थित थियो होला। यो कुरा येशूले उपलब्ध गराउनु भएको दाखमद्यको मात्राबाट बोध हुँदछ। तर स्पष्टतया त्यहाँ सुहाउँदो देखरेख गर्ने प्रबन्ध थियो। त्यस बेलाका अन्य अरू भोजहरूमा यस प्रकारको उचित देखरेख गर्ने प्रबन्ध हुँदैन थियो; र भोजहरूमा भेला हुनेहरूको सङ्खया नै अपर्याप्त देखरेखको एउटा कारण हुन सक्तछ। भेलाहुने मानिसहरूको सङ्खया जति ठूलो हुन्छ देखरेख गर्नु पनि उति नै गाह्रो हुन सक्छ। किनकि यस प्रकारका ठूला-ठूला जमघटहरूमा अचाक्ली गर्ने झुकाव भएका कमजोर व्यक्तिहरूले मौका छोप्न सक्छन्। देखरेख गर्ने प्रबन्ध न भएका भेलाहरूमा, यस प्रकारका व्यक्तिहरूले सन्दिग्ध कामकुरालाई बढावा दिन सक्छन्।—१ कोरिन्थी १०:६-८.
१७. कुनै भेटघाट आयोजित गर्दा, मसीही सन्तुलन कसरी देखाउन सकिन्छ?
१७ कुनै पनि सामाजिक भेटघाटलाई राम्रोगरी देखरेख गर्न, योजना र तयारीको खाँचो पर्दछ। तर त्यसलाई एउटा अनुपम अथवा बिर्सन नसक्ने प्रकारको उत्सव बनाउनका लागि हामीले सांसारिक भोजहरूको नकल गर्नु पर्दैन। उदाहरणका लागि, पाहुनाहरूलाई विभिन्न प्रकारको नाटकीय पोशाक लाएर नाचमा भाग लिन लगाउने अथवा सबै जनाले मुखमा मुकुण्डो लगाएर आउनु भनेर निम्तो दिने गर्नु उचित होइन। प्रतिज्ञा गरिएको देशमा इस्राएलीहरूले मिस्रका अथवा अन्य अरू देशका मूर्तिपूजकहरू झैं पोशाक लाएर उपस्थित हुने भोज आयोजित गरे होलान् र? तिनीहरूले त्यस बेलाका मूर्तिपूजकहरू मध्ये लोकप्रिय भएको उत्ताउलो नाचगान आयोजित गरेको हुन सक्छ र? सिनै पर्वतमा त तिनीहरू नाचगानको शिकार भएका थिए। सायद त्यस प्रकारको नाचगान त्यति बेलाका मिस्रीहरूबीच प्रचलित र लोकप्रिय थियो होला। त्यस प्रकारको मनोरञ्जनबारे परमेश्वर र उहाँका परिपक्व दास मोशाको दृष्टिकोण के थियो, त्यो त हामी सबैलाई थाहै छ। (प्रस्थान ३२:५, ६, १७-१९) अतः, कुनै सामाजिक भेटघाटको आयोजित गर्ने भाइ वा अध्यक्षले त्यहाँ नाचगान हुनेछ वा छैन भन्ने विषयलाई ध्यान दिनु पर्दछ; हुनेछ भने, ती मसीही सिद्धान्तहरू अनुरूप होस् भनी तिनले निश्चित गर्नु पर्दछ।—२ कोरिन्थी ६:३.
१८, १९. येशू विवाह भोजमा निम्तो पाउनु भएपछि नै जानु भएको थियो भन्ने कुराबाट के बुझ्न सकिन्छ, र यसलाई हामी कसरी प्रयोगमा ल्याउन सक्तछौं?
१८ अन्तमा, हामीले याद राख्नु पर्दछ कि ‘येशू र उहाँका चेलाहरूलाई विवाहमा जाने निम्तो थियो।’ (यूहन्ना २:२) कुनै एक जना मसीही अथवा एउटा परिवार अरूहरूसित रमाइलो र लाभदायक भेटघाट गर्न अकस्मात जान अवश्य सक्छन्। तर आयोजित सामाजिक भेटघाटहरूका लागि चाहिं, त्यहाँ को को उपस्थित हुनेछन् भनी पहिले नै थाह पाउनु राम्रो हो। यस प्रकार पछिबाट उठ्न सक्ने समस्याहरूलाई पहिले नै रोक्न सकिन्छ। यु. एस. ए. टेनेसीका एक जना प्राचीनले यस कुरालाई महत्त्व दिएको पाउँदछौं, जसका छोरा-छोरीहरू हुर्किएर आज पूर्ण समय सेवकहरू भएका छन्। उनी र उनकी पत्नीले आफ्ना लागि वा आफ्ना छोरा-छोरीका लागि आएको कुनै पनि निम्तो स्वीकार्नअघि, निम्तो दिने व्यक्तिसित सम्पर्क राखेर विशेष रूपमा निम्त्याइएका मानिसहरू मात्र उपस्थित हुने कुरा निश्चित गर्द थिए। यस प्रकार, जो पनि उपस्थित हुन सक्ने भोज, पिकनिक वा खेलकुद जस्ता जमघटहरूमा उत्पन्न हुने पासोहरूबाट तिनका परिवार बच्न सके।
१९ नातेदारहरू, पुराना मित्रहरू अथवा एउटै उमेर वा आर्थिक स्तरका मानिसहरूलाई मात्र निम्तो दिने चलनलाई येशूले बढावा दिनु भएन। (लूका १४:१२-१४; अय्यूब ३१:१६-१९; प्रेरित २०:७-९ सँग तुलना गर्नुहोस्) तपाईंले निम्त्याउनु हुने मानिसहरूलाई सावधानीपूर्वक छान्नु भयो भने विभिन्न उमेर र परिस्थितिका मसीहीहरूलाई तपाईंले सजिलैसित समावेश गर्न सक्नु हुनेछ। (रोमी १२:१३; हिब्रू १३:२) एक दुई जना आत्मिक रूपमा कमजोर अथवा नयाँ होलान्। तिनीहरूले अलिक परिपक्व मसीहीहरू सित सङ्गत गरेर लाभ उठाउन सक्नेछन्।—हितोपदेश २७:१७.
मनोरञ्जनलाई त्यसको ठाउँमा राख्नु
२०, २१. मनोरञ्जनले हाम्रो जीवनमा उचित स्थान पाउनु किन उपयुक्त हो?
२० हामी परमेश्वरका डर राख्ने मानिसहरू भएका हुनाले, मनोरञ्जनका लागि हामी के गर्दछौं, त्यो उचित हो वा होइन र त्यसका लागि हामी कतिको समय बिताउने गर्दछौं जस्ता कुराहरूमा चासो लिन आवश्यक छ। (एफिसी २:१-४; ५:१५-२०) उपदेशकको प्रेरित लेखकको विचार पनि यस्तै थियो: “यसैले म सुख-चैन गर्नुनै सल्लाह दिन्छु, किनभने संसारमा मानिसलाई खानु, पिउनु, मोजमज्जा गर्नुभन्दा अरू असल केही रहे न छ। किनकि यस संसारमा परमेश्वरले दिनुभएको जीवनको अवधिभरि आफ्नो मेहनतको फल यही मात्र रहनेछ।” (उपदेशक ८:१५) यस प्रकारको सन्तुलित मोजमज्जाले शरीरको थकानलाई मेटाउन र यो वर्तमान रीतिरिवाजमा परिआउने समस्या र हतोत्साहहरूलाई हटाउने मद्दत दिन सक्तछ।
२१ उदाहरणका लागि, अस्ट्रियाका एक जना अग्रगामीले तिनकी एउटी पुरानो साथीलाई यसरी लेखि पठाइन्: “हाम्रो अस्तिको भ्रमण अति नै रमाइलो रहयो। हामी करीब ५० जना, फेरलाक भन्ने शहर नजिक पर्ने एउटा सानु तालतिर गयौं। सेकुवा बनाउने तीनवटा अँगेठी, कुर्सी र टेबलहरू र टेबल-टेनिस खेल्ने एउटा टेबल समेत लिएर भाइ बी० आफ्नो भ्यानमा अघि अघि जानु भयो। हामी सबैलाई अति नै रमाइलो लाग्यो। एक जना बहिनीले चाहिं एकर्ड्यन ल्याएकी हुनाकारण, थुप्रै राज्यगानहरू बजाउने-गाउने काम भयो। जवान र वृद्ध भाइहरू, दुवैले सङ्गतिबाट आनन्द उठाउन सके।” राम्रोसित देखरेख गरिएको मनोरञ्जनका मीठा-मीठा सम्झना यी बहिनीले साँचेर राख्न सकिन्। त्यसमा बढता मद्यपान गर्ने अथवा छाडा गतिविधिको खतरा थिएन।—याकूब ३:१७, १८.
२२. सामाजिक मनोरञ्जनबाट आनन्द उठाउँदा हामी प्रत्येकले कुन चेताउनीलाई सधैं मनमा राख्नु पर्दछ?
२२ पावलले हामीलाई असिद्ध शरीरको अभिलाषाहरूको वशमा नपर्नु भनेर आग्रह गरे। हामीलाई परीक्षामा पार्न सक्ने योजनाहरू बनाउँदै नबनाउनु भनी आग्रह गरे। (रोमी १३:११-१४) यसमा सामाजिक मनोरञ्जनका लागि बनाइने योजनाहरू पनि समावेश हुन्छन्। यी कुराहरूमा हामीले उनका सरसल्लाहलाई प्रयोगमा ल्याउनु पर्दछ। यसो गर्यौं भने, हामी ती परिस्थितिहरूबाट बाँच्न सक्नेछौं जसले गर्दा धेरैको विश्वासको जहाज डुबेको छ। (लूका २१:३४-३६; १ तिमोथी १:१९) बरु, हामीले बुद्धिमानीका साथ स्वस्थकर किसिमको मनोरञ्जन रोज्ने छौं। यसले परमेश्वरसितको हाम्रो सम्बन्धलाई कायम राख्ने मद्दत दिनेछ। अतः परमेश्वरको वरदान भन्न मिल्ने किसिमको सामाजिक मनोरञ्जनबाट हामी लाभ उठाउन सक्नेछौं।—उपदेशक ५:१८. (w92 8/15)
[फुटनोट]
a द वाचटावर, अप्रिल १५, १९८४ को अङ्कमा विवाहहरू र विवाह भोजहरूबारे सन्तुलित सरसल्लाह दिइएको थियो। विवाह सम्बन्धी अन्य योजना बनाउनु अघि, हुनेवाला दुलहा र दुलही र तिनीहरूलाई सहयोग पुर्याउने अरूहरूले त्यस सल्लाहलाई पुनः विचार गरेमा लाभदायक हुन सक्तछ।
हामीले के सिक्यौं?
◻ सामाजिक मनोरञ्जनबाट आनन्द उठाउने विषयमा हामीले बाइबलमा के सन्तुलित दृष्टिकोण पाउँदछौं?
◻ मनोरञ्जनमा बिताइने समय र मनोरञ्जनका लागि के गर्दछौं भन्ने कुरालाई ध्यानमा राख्नु किन उचित हो?
◻ खतराहरूबाट जोगिनका लागि एक जना मसीही घरधनीले कुन कुन कुरा गर्न सक्छन्?
◻ उचित र सन्तुलित भएको खण्डमा मनोरञ्जनले मसीहीहरूका लागि के गरी दिन सक्तछ?
[पृष्ठ २७-मा भएको चित्र]
एउटा भेटघाटमा पाहुनाहरू कुनै खतराको शिकार नबनोस् भनेर विचार गर्ने जिम्मेवारी भोजको मुखियाको अथवा घरधनीको हो