पालन गर्ने होओ—सुन्ने मात्र होइन
१ वचन पालन गर्ने होओ, सुन्ने मात्र होइन भनेर बाइबलले दिएको सल्लाहलाई आज साँचो मसीहीहरू हृदयंगम गर्छन्। (याकू. १:२२) यही कुराले गर्दा तिनीहरू र ओठे सेवा चढाउने मसीही भनौंदाहरूबीचको भिन्नता प्रष्ट देखिन्छ। (यशै. २९:१३) परमेश्वरको इच्छा गर्नेहरूले मात्र उद्धार पाउनेछन् भनेर येशूले प्रष्ट्याउनुभयो।—मत्ती ७:२१.
२ धार्मिक कार्यहरूबिना उपासना अर्थहीन हुन्छ। (याकू. २:२६) अतः आफैलाई यी प्रश्नहरू सोध्नुपर्ने हो: ‘मेरो विश्वास साँचो हो भनेर मेरो कामले कसरी प्रमाणित गर्छ? आफ्नो विश्वासअनुरूप मैले जीवन बिताइरहेको छु भनेर कुन कुन कुराले देखाउँछ? म अझै कसरी पूर्णतया येशूको अनुकरण गर्नसक्छु?’ यी प्रश्नहरूका इमानदार जवाफले परमेश्वरको इच्छा पूरा गर्न हामीले के कस्ता प्रगतिहरू गऱ्यौं अथवा अझै के गर्न बाँकी छ, त्यो बुझ्न मदत गर्नेछ।
३ येशूका अनुयायीहरूको हैसियतमा हामीले पनि भजनरचयिताले व्यक्त गरेका यी शब्दहरूलाई जीवनको प्रमुख लक्ष्य बनाउनुपर्छ: “परमेश्वरमै हामीले दिनभरि गर्व गरेका छौं, र सदा तपाईंकै नाउँमा हामी धन्यवाद चढ़ाउँछौं।” (भज. ४४:८) साँचो मसीही धर्म जीवनको मार्ग हो। अनि यो हाम्रो प्रत्येक दिन र प्रत्येक कार्यबाट प्रकट हुन्छ। यहोवाको प्रशंसा गर्ने हार्दिक इच्छा हाम्रो सम्पूर्ण गतिविधिमा प्रदर्शित हुँदा साँच्चै हामी सन्तुष्ट हुन्छौं!—फिलि. १:११.
४ यहोवाको प्रशंसा गर्न नैतिक जीवन यापन गरेर मात्रै पुग्दैन: परमेश्वरले हामीबाट असल आचरण मात्रै माग गर्नुभएको भए आफ्नो व्यक्तित्व परिष्कृत गर्ने विषयमा मात्र ध्यान दिए पुग्थ्यो। तथापि, हाम्रो उपासनामा यहोवाका अद्वितीय गुनहरू चारैतिर घोषणा गर्नु र उहाँको नाउँको आमघोषणा गर्नु पनि समावेश छ।—हिब्रू १३:१५; १ पत्रु. २:९.
५ हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कार्यहरूमध्ये जनसमक्ष सुसमाचार प्रचार गर्नु पनि एक हो। यसैको लागि येशूले आफैलाई समर्पित गर्नुभयो। किनकि यो समाचार सुन्ने जतिले अनन्त जीवन पाउनेछन् भनेर उहाँलाई थाह थियो। (यूह. १७:३) आज “प्रचारको काम” त्यतिबेला जत्तिकै महत्त्वपूर्ण छ। मानिसहरूले उद्धार पाउने एक मात्र तरिका यो नै हो। (प्रे. ६:४; रोमी १०:१३) चिरकालीन फाइदाहरूलाई बुझेको हुँदा नै पावलले “वचन प्रचार गर” र “तयार रह” भनेर सल्लाह दिए। तिनले दिएको यस सल्लाहको कारण हामी बुझ्नसक्छौं।—२ तिमो. ४:२.
६ हामीले आफ्नो जीवनमा परमेश्वरको प्रशंसा कुन हदसम्म गर्नुपर्ने हो? भजनरचयिताको भनाइअनुसार यहोवाको प्रशंसा गर्ने विषयमा तिनी दिनभरि एक चित्तको हुन्थे। के हामी पनि त्यस्तै महसुस गर्दैनौं र? अवश्य गर्छौं। कुनै व्यक्ति भेट्दा त्यसलाई यहोवाको नाउँबारे कुरा गर्न पाउने सम्भाव्य मौकाको रूपमा लिनेछौं। हाम्रो वार्तालापलाई आध्यात्मिक कुरातिर मोड्ने उचित अवसरहरू खोज्नेछौं। मण्डलीले गरेको क्षेत्र सेवकाई प्रबन्धहरूमा हामी नियमित भाग लिने प्रयत्न गर्नेछौं। अनुकूल परिस्थिति भएकाहरूले अग्रगामी सेवाबारे गम्भीरतासाथ विचार गर्नसक्छन्। किनकि यसो गऱ्यौं भने हामीले प्रचार कार्यलाई दिनहुँ आफ्नो जीवनमा प्राथमिकता दिनसक्छौं। परमेश्वरको इच्छा निरन्तर पालन गऱ्यौं भने हामी आनन्दित हुनेछौं भन्ने आश्वासन परमेश्वरको वचनले दिन्छ।—याकू. १:२५.