निरन्तर स्तुतिका बलिदानहरू चढाएर—पहिले राज्यको खोजी गर्नुहोस्
१ पहिले राज्यको खोजी गर्नेहरू यहोवा र उहाँको राज्यबारे अरूसित कुरा गर्न सधैं तत्पर हुन्छन्। (भजन. १४५:११-१३) उहाँको नाउँको प्रशंसा गर्न र राज्य सुसमाचारबारे बोल्न दिनहुँ अवसरहरू पाइन्छन्। (भजन. ९६:२) यहोवाको प्रशंसा गर्न भजनरचयितालाई आनन्द लाग्थ्यो। तिनले यसो भने: “परमेश्वरमै हामीले दिनभरि गर्व गरेका छौं।” (भजन. ४४:८) यदि हामी पनि त्यस्तै महसुस गर्छौं भने राज्य सेवकाईमा नियमित तवरले भाग लिन हामी उत्सुक हुनेछौं।
२ सेवकाईमा कति समय बिताउनु पर्छ भनेर यहोवाले कुनै सीमा नतोक्नु भए तापनि “निरन्तर” उहाँको प्रशंसा गर्न उहाँले हामीलाई प्रोत्साहन दिनुहुन्छ। (हिब्रू १३:१५) हाम्रो व्यक्तिगत परिस्थितिले भ्याएसम्म हर हप्ता यहोवाको प्रशंसा गर्न केही समय बिताउने लक्ष्य हाम्रो हुनुपर्छ। त्यसो गरिरहेका व्यक्तिहरूले शायद बेला बखत वा नियमित तवरले सहायक अग्रगामीको काम गर्न आ-आफ्ना कामकुरामा काँटछाँट गर्न सक्लान्। त्यस्तैगरि सहायक अग्रगामीको सेवाबाट आनन्द उठाइरहेकाहरूले नियमित अग्रगामीमा भर्ती हुनसक्लान्।
३ हाम्रो व्यक्तिगत परिस्थिति जस्तोसुकै होस्, के हामी स्तुतिको बलिदानलाई अझ बढाउन सक्छौं? मूल्याङ्कन छ भने जोश पनि आउँछ। परमेश्वरको वचनको व्यक्तिगत अध्ययनले मूल्याङ्कन बढाउँछ र त्यस्तो मूल्याङ्कनलाई व्यवहारिक ढङ्गमा व्यक्त गर्न मण्डलीका सभाहरूले हामीलाई उत्प्रेरित गर्छ। अरू जोशिला प्रशंसकहरूसँग घनिष्ठ सम्बन्ध राख्नाले ‘सुकर्ममा उत्तेजित’ हुनसक्छौं। (हिब्रू १०:२४) मण्डलीले गर्ने प्रबन्धहरूको पूर्णतया लाभ उठाएर हामीले स्तुतिको बलिदान बढाउन सक्नेछौं।
४ यहोवाको सेवामा अगमवादिनी हन्नाले राम्रो उदाहरण बसालिन्। चौरासी वर्षको उमेरमा पनि तिनी कहिल्यै “मन्दिर छोड़दैन थिइन् [र] . . . रात-दिन उपासना गर्दथिइन्।” (लूका २:३७) मण्डलीका क्रियाकलापहरूमा मनतनले विथोलित हुँदा तिनले ठूलो व्यक्तिगत सन्तुष्टि पाइन्। तिनको विश्वासी सेवाबारे बाइबलले दिने विवरणले आज हामीलाई प्रोत्साहन दिन्छ।
५ “बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ” भनेर पावलले सुझाव दिएका थिए। (रोमी १५:१) शायद तपाईंको मण्डलीमा तपाईंको कृपालु सहयोग र प्रोत्साहनबाट लाभ उठाउन सक्ने त्यस्ता केही व्यक्तिहरू होलान्। क्षेत्र सेवकाईमा तपाईंसँग जान निमन्त्रणा दिंदा मात्र पनि कुरा अर्कै हुनसक्छ। कुनै प्रकाशकलाई परिवहन सुविधा वा सँगै काम गरिदिने व्यक्ति चाहिएको हुनसक्छ। त्यस्तैगरि कोही भने निरास भएका हुनसक्छन् र राज्य सेवाप्रति तिनको जोशलाई फेरि जगाउन प्रोत्साहन र समर्थन दिनसक्ने व्यक्ति तपाईं हुनसक्छ। (१ थिस्स. ५:१४) “पवित्र जनहरूको अभावहरूमा सहायता” दिन तपाईंले देखाउनुभएको इच्छुकताले यहोवाको नाउँको अझ बढी प्रशंसा गर्ने तपाईंको हृदयग्राही इच्छालाई झल्काउँछ।—रोमी १२:१३.
६ यहोवाले हाम्रो निम्ति गरिदिनुभएका कुराहरू र भविष्यमा गर्नुहुने कुराहरूको गन्ती गर्न सक्दैनौं। त्यस्ता आशिष्हरूको मोल हामी कसैगरि पनि चुकाउन सक्दैनौं। ‘सास हुने जति सबैले यहोवाको प्रशंसा गर्नुपर्ने’ कति बलियो कारण!—भजन. १५०:६.