प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fy chap. १ pp. ४-१२
  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?
  • पारिवारिक आनन्दको रहस्य
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवार के हो?
  • तनाउग्रस्त परिवार
  • पारिवारिक आनन्दको रहस्य
  • पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌
    पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌
  • परिवार—मानव आवश्‍यकता!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्‌ने
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
पारिवारिक आनन्दको रहस्य
fy chap. १ pp. ४-१२
[पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र]

अध्याय एक

पारिवारिक आनन्दको के कुनै रहस्य छ?

पृष्ठ ५-मा भएको चित्र

१. बलिया परिवारहरू मानव समाजका लागि किन महत्त्वपूर्ण हुन्‌?

पृथ्वीको सबैभन्दा पुरानो संस्था परिवार हो र मानव समाजमा यसको महत्त्वपूर्ण भूमिका छ। बलियो समाज निर्माणमा बलिया परिवारहरूले इतिहासभरि विशेष मदत पुऱ्‍याएका छन्‌। केटाकेटीलाई हुर्काएर परिपक्व वयस्क बनाउने सर्वोत्तम प्रबन्ध पनि परिवार नै हो।

२-५. (क) सुखी परिवारमा बच्चाले अनुभव गर्ने सुरक्षा व्याख्या गर्नुहोस्‌। (ख) केही परिवारहरूमा कस्ता समस्याहरू देखा परेको रिपोर्ट गरिएका छन्‌?

२ आनन्दित परिवार शरणस्थान तथा सुरक्षास्थल हो। एक छिन आदर्श परिवारको कल्पना गर्नुहोस्‌। साँझपख खाना खाने बेलामा मायालु आमाबाबु छोराछोरीसित बसेर दिनभरिका घटनाहरूबारे चर्चा गर्छन्‌। केटाकेटीहरूले स्कूलमा भएका कुराहरू रुचि तथा जोशका साथ आमाबाबुलाई भन्छन्‌। यसरी सँगै बिताइएका यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ।

३ आनन्दित परिवारमा हुर्किरहेको बच्चाले बिरामी हुँदा पनि कुनै कुराको चिन्ता गर्नुपर्दैन। उसको रेखदेख गर्ने आमाबाबु छन्‌ र खाँचो परेमा उनीहरू पालैपालो उसैको खाटको छेउमा रात काट्‌न पनि तयार हुन्छन्‌। उसलाई थाह छ, ऊ आफ्नो कलिलो जीवनका समस्याहरूबारे आमाबाबुसित कुरा गर्नसक्छ, उनीहरूबाट सल्लाह पाउनसक्छ। हो, बाहिरी संसार कति नै दुःखग्रस्त किन नहोस्‌ तर बच्चा ढुक्क हुन्छ।

४ छोराछोरी हुर्केपछि तिनीहरू प्रायः विवाह गर्छन्‌ र आफ्नो बेग्लै परिवार सुरु गर्छन्‌। एउटा पूर्वीय उखानअनुसार “आफ्नो बच्चा भएपछि मात्र मानिसले आफ्नो आमाबाबुको कति गुन मान्‍नुपर्छ, त्यो महसुस गर्नथाल्छ।” यी हुर्किसकेका बच्चाहरूले प्रेम र कृतज्ञताको गहिरो भावसाथ आ-आफ्ना परिवारहरूलाई आनन्दित बनाउन खोज्छन्‌। तिनीहरूले आ-आफ्ना वृद्ध आमाबाबुको हेरचाह गर्छन्‌ र यी वृद्ध आमाबाबुले पनि बडो आनन्दपूर्वक आफ्ना नातिनातिनीसित समय बिताउँछन्‌।

५ शायद तपाईं सोच्नुहोला: ‘म मेरो परिवारलाई माया गर्छु। तर मेरो परिवार यहाँ वर्णन गरिएको परिवारजस्तो छैन। हामी पतिपत्नी बेग्लाबेग्लै समय काममा जान्छौं। हाम्रो एकअर्कासित अक्सर भेट हुँदैन। हाम्रो कुराकानी पनि धेरैजसो पैसाकै विषयमा हुन्छ।’ अथवा ‘मेरा छोराछोरी र नातिनातिनीहरू अर्कै शहरमा बस्छन्‌ र तिनीहरूसित मेरो भेटघाट भएको छैन’ भन्‍नुहुन्छ कि? हो, अक्सर अनेकौं कारणले गर्दा आदर्श पारिवारिक जीवन अनुभव गर्न सकिंदैन। तापनि धेरैको पारिवारिक जीवन आनन्दित हुन्छ। कसरी? पारिवारिक आनन्दको के कुनै रहस्य छ? छ। तर त्यसबारे छलफल गर्नुअघि हामीले एउटा अर्को महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिनुपर्छ।

परिवार के हो?

६. यस पुस्तकमा कुन प्रकारका परिवारहरूको छलफल गरिनेछ?

६ पश्‍चिमी देशका अधिकांश परिवारहरूमा प्रायः बुबा, आमा र छोराछोरी हुन्छन्‌। बाजेबज्यै सकेसम्म आफ्नो घरमा अलग्गै बस्छन्‌। टाढाका नातेदारहरूसित सम्पर्क कायम राखे तापनि तिनीहरूका लागि विशेष केही गर्नुपर्दैन। विशेषतः यस्तै प्रकारको परिवारबारे यस पुस्तकमा छलफल गरिनेछ। तथापि, हालसालै अर्कै प्रकारका परिवारहरू पनि निकै बढेका छन्‌। ती हुन्‌, आमा वा बुबा मात्र भएको परिवार, सौतेला परिवार तथा आमाबाबु कुनै कारणवश एकसाथ नबस्ने परिवार।

७. ठूला परिवारहरू भन्‍नाले के बोध हुन्छ?

७ कुनै कुनै संस्कृतिहरूमा ठूला परिवारहरू पनि हुन्छन्‌। यस्तो प्रबन्धमा बाजेबज्यैको हेरविचार छोराछोरीले नियमित रीतिले गर्छन्‌। टाढाका नातेदारहरूसित पनि घनिष्ठ सम्बन्ध कायम राखिन्छ। उदाहरणका लागि, परिवारका सदस्यहरू मिलेर आफ्ना भदाभदै र अझ टाढाका नातेदारहरूलाई समेत पढाउने खर्च बेहोर्छन्‌। यो पुस्तकमा छलफल गरिने सिद्धान्तहरू यस प्रकारका ठूला परिवारहरूमा पनि लागू हुन्छ।

तनाउग्रस्त परिवार

८, ९. केही देशहरूमा उठेका कुन समस्याहरूले गर्दा परिवारको रूप बदलिंदैछ भन्छौं?

८ आज परिवारमा परिवर्तन आइरहेछ। तर कठै, त्यसले कसैलाई फाइदा पुऱ्‍याएको छैन। यसको एउटा उदाहरण भारतमा देखिन्छ। त्यहाँ पत्नी आफ्नो पतिको परिवारसित बसेर घरमा सासुससुराको निर्देशनअनुसार काम गर्छिन्‌। तथापि आजभोलि थुप्रै भारतीय नारीहरूले घरबाहिर जागिर खान थालेका छन्‌। तापनि तिनीहरूले घरमा पहिलेजस्तै आफ्नो साबिक कामकुरा गरोस्‌ भन्‍ने अपेक्षा गरिन्छ। तर जागिरे स्वास्नीमानिसले घरमा अन्य सदस्यहरूको तुलनामा कति काम गर्नुपर्ने हो? यो प्रश्‍न आज थुप्रै देशहरूमा उठेको छ।

९ पूर्वीय देशहरूमा टाढा टाढाका नातेदारबीच पनि घनिष्ठ सम्बन्ध राख्ने चलन हुन्छ। तर अब भने पश्‍चिमी व्यक्‍तिवादको प्रभावमा परेर यस्ता सम्बन्धहरू कमजोर हुँदैछन्‌। तसर्थ, धेरैको दृष्टिमा परिवारका वृद्ध सदस्यहरूको रेखदेख गर्नु, कर्तव्य तथा विशेषाधिकार नभएर बोझ भइसक्यो। केही वृद्ध आमाबाबुहरूसित घोर दुर्व्यवहार गरिन्छ। हो, आज थुप्रै देशहरूमा वृद्ध मानिसहरूलाई हेलचक्य्राइँ तथा दुर्व्यवहार गरिन्छ।

१०, ११. युरोपेली देशहरूमा परिवारको बदलिंदो रूप के कस्ता तथ्यहरूबाट झल्किन्छ?

१० पारपाचुके पनि झन्‌ झन्‌ बढ्‌दो छ। स्पेनमा १९९० को दशक सुरु हुनासाथै ८ वटा विवाहमा एउटा विवाह पारपाचुकेमा टुंगिन थाल्यो। पारपाचुकेको दरमा यो चर्को वृद्धि हो किनभने करीब २५ वर्षअघि १०० वटा विवाहमा एउटा मात्र पारपाचुके हुन्थ्यो। युरोपभरि सबैभन्दा बढी पारपाचुके हुने देश बेलाइत हो। त्यहाँ आमा वा बुबा मात्र भएका परिवारहरू अचानक बढेको देखिन्छ।

११ जर्मनीमा पनि धेरै जनाले विवाह गर्ने परम्परालाई पूर्णतः त्याग्न थालेको जस्तो छ। सन्‌ १९९० को दशकमा ३५ प्रतिशत जर्मन परिवारहरूमा एक जना व्यक्‍ति र ३१ प्रतिशतमा चाहिं दुइ जना व्यक्‍ति पाइएको छ। फ्रान्सका मानिसहरूले पनि विवाह गर्न प्रायः छाडि नै सकेका छन्‌। विवाह गर्नेहरूले पनि पटक-पटक र पहिलेभन्दा चाँडचाँडो पारपाचुके गर्दैछन्‌। विवाहित दम्पतीहरूले उठाउनुपर्ने जिम्मेवारीबाट मुक्‍त भएर सँगै बस्न रुचाउने मानिसहरूको संख्या पनि बढ्‌दैछ। यस्तै चलन विश्‍वभरि देखिन्छ।

१२. आधुनिक परिवारमा आएका परिवर्तनहरूले केटाकेटीहरूमाथि के कस्तो संकष्ट ल्याएको छ?

१२ छोराछोरीलाई चाहिं के हुँदैछ? संयुक्‍त राज्य अमेरिका र अन्य देशहरूमा अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्‌दैछ। थुप्रै आमाहरू २० वर्ष पनि पुगेका हुँदैनन्‌। त्यस्ता अधिकांश केटीहरूले एउटाभन्दा बढी बच्चा बेग्लाबेग्लै बुबाबाट जन्माएका हुन्छन्‌। प्राप्त विश्‍व रिपोर्टअनुसार घरबारविहीन लाखौं बच्चाहरू सडकमा घुम्दैछन्‌; यस्ता केही बच्चाहरू घरमा दुर्व्यवहार गरिएकोले भागेका हुन्छन्‌ भने केहीलाई चाहिं आफ्नै परिवारले उप्रान्त तिनीहरूको हेरचाह गर्न नसकेर घरबाट लखटेका हुन्छन्‌।

१३. कुन व्यापक समस्याहरूले गर्दा परिवारहरूको आनन्द हरण भइरहेछ?

१३ हो, परिवार संकटग्रस्त छ। अघि चर्चा गरेका समस्याहरूबाहेक आज युवा विरोध, बच्चाहरूप्रति दुर्व्यवहार, पतिपत्नीबीच मारपिट, मतवालापन र अन्य विध्वंसात्मक समस्याहरूले गर्दा थुप्रै परिवारहरूको आनन्द हरण भएको छ। अनगिन्ती बच्चा तथा वयस्कहरूका लागि परिवार शरणस्थान हुन छाडेको छ।

१४. (क) कसैकसैको विचारमा पारिवारिक संकटका कारणहरू के के हुन्‌? (ख) एक जना प्रथम शताब्दीका अधिवक्‍ताले वर्तमान संसारको वर्णन कसरी गरे र उनका शब्दको पूर्तिले पारिवारिक जीवनमा के असर पारेको छ?

१४ यस्तो पारिवारिक संकट किन? कसै कसैले स्त्रीजाति घरबाहिर काम गर्न थालेपछि यस्तो भएको हो भन्छन्‌। अरू भने आजको नैतिक पतनलाई दोष दिन्छन्‌। यसबाहेक अन्य कारणहरू पनि छन्‌। तर पारिवारिक जीवनमाथि यस्ता थुप्रै दबाबहरू आइपर्नेछन्‌ भनी करीब दुइ हजार वर्षअघि एक जना प्रख्यात अधिवक्‍ताले यो भविष्यवाणी गरेका थिए: “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍व[र]भन्दा बरु सुख-विलास निको मान्‍ने।” (२ तिमोथी ३:१-४) आज यी शब्दहरूको पूर्तिमाथि कसले शंका गर्नसक्छ र? यस्ता परिस्थितिहरू माझ परिवार संकटग्रस्त नभए के हुन्थ्यो?

पारिवारिक आनन्दको रहस्य

१५-१७. पारिवारिक सुखको रहस्य बताउने कुन आधिकारिक स्रोतलाई यस पुस्तकले संकेत गर्नेछ?

१५ पारिवारिक आनन्द कसरी प्राप्त गर्न सकिन्छ, यसबारे सरसल्लाह दिनेहरूको कुनै कमी छैन। पश्‍चिमी देशहरूमा आत्मविकाससम्बन्धी अनगिन्ती पुस्तक तथा पुस्तिकाहरूले सल्लाह दिने गर्छन्‌। तर समस्या के हो भने, मानव सल्लाहकारहरूको कुरा आपसमा मिल्दैन। साथै, जुन सल्लाह आज उपयुक्‍त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ।

१६ अतः परिवारका लागि भरपर्दो निर्देशन कहाँबाट पाउन सकिन्छ? के तपाईं करीब १,९०० वर्षअघि लेखिएको पुस्तकलाई विचार गर्न तयार हुनुहुन्छ? के तपाईं यस्तो पुस्तकलाई पुरानो तथा कामै नलाग्ने ठान्‍नुहुन्छ? किनकि पारिवारिक सुखको रहस्य यस्तै एउटा पुस्तकमा छ।

१७ त्यो पुस्तक बाइबल हो। प्राप्त सबै प्रमाणअनुसार यो स्वयं परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको थियो। बाइबलमा हामी यसो भनिएको पाउँछौं: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) परिवारहरूले आज झेल्नु परेको तनाउ तथा समस्याहरू ‘सच्याउन’ बाइबलले कसरी मदत दिनसक्छ, त्यो विचार गर्न हामी तपाईंलाई यो पुस्तकद्वारा प्रोत्साहित गर्छौं।

१८. वैवाहिक जीवनसम्बन्धी बाइबलको सल्लाह आधिकारिक हो भनी स्वीकार्नु किन मनासिब छ?

१८ तर बाइबलले परिवारलाई सुखी हुन मदत दिनसक्छ भनी तपाईंलाई पत्यार लाग्दैन भने यो एउटा कुरा विचार गर्नुहोस्‌: बाइबल लेख्ने प्रेरणा दिनुहुने व्यक्‍ति नै विवाहको आरम्भक पनि हुनुहुन्छ। (उत्पत्ति २:१८-२५) बाइबल भन्छ, उहाँको नाउँ यहोवा हो। (भजन ८३:१८) उहाँ नै सृष्टिकर्ता र ‘पिता हुनुहुन्छ जसबाट स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ।’ (एफिसी ३:१४, १५) यहोवाले पारिवारिक जीवनलाई हेर्दै आउनुभएको छ। उठ्‌ने समस्याहरू उहाँ जान्‍नुहुन्छ र तिनको समाधान पनि उहाँले बताउनुभएको छ। इतिहासभरि ज-जसले आफ्नो पारिवारिक जीवनमा बाइबलका सिद्धान्तहरूलाई साँचो हृदयसाथ प्रयोगमा ल्याए, तिनीहरूले बढी सुख अनुभव गरे।

१९-२१. वैवाहिक समस्याहरू समाधान गर्ने बाइबलको शक्‍ति कुन कुन आधुनिक अनुभवहरूबाट प्रदर्शित हुन्छ?

१९ उदाहरणका लागि, इन्डोनेसियाकी एउटी गृहिणीलाई जुवा खेल्ने कुलत लागेको थियो। तिनले वर्षौंदेखि आफ्ना तीन जना छोराछोरीको हेलचक्य्राइँ र पतिसित पनि प्रायः सधैं झगडा गर्थिन्‌। यसैबीच तिनले बाइबल अध्ययन गर्न थालिन्‌। बाइबलमा भनिएका कुराहरूमाथि तिनले बिस्तारै विश्‍वास गर्न थालिन्‌। बाइबलको उपदेशलाई प्रयोगमा ल्याउन थालेपछि तिनी असल पत्नी भइन्‌। बाइबलका सिद्धान्तहरूमा आधारित तिनका प्रयासहरूद्वारा तिनको परिवार आनन्दित हुनसक्यो।

२० स्पेनकी एउटी गृहिणी भन्छिन्‌: “विवाह गरेको वर्ष दिन नबित्दै हाम्रो जीवनमा गम्भीर समस्याहरू उठ्‌न थाले।” तिनी र तिनको पतिबीच मिल्ने कुरा धेरै थिएन। तिनीहरू अक्सर एकअर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे। सानी छोरी हुँदाहुँदै पनि तिनीहरूले कानुनी ढंगमा अलग हुने फैसला गरे। तर यसो हुनअघि बाइबलमा भनिएको कुरामाथि विचार गर्न तिनीहरूलाई प्रोत्साहित गरियो। त्यहाँ विवाहित पुरुष तथा स्त्रीहरूलाई दिइएको सल्लाह तिनीहरूले अध्ययन गरे। चाँडै तिनीहरू आपसमा शान्तिपूर्वक कुरा गर्नसक्ने भए र तिनीहरूको सानो परिवार सुखी तथा एकताबद्ध भयो।

२१ बाइबलले वृद्धहरूलाई पनि मदत दिन्छ। उदाहरणका लागि, एउटा जापानी दम्पतीको अनुभवलाई विचार गर्नुहोस्‌। पति निकै झोंकी मिजासका थिए र कहिलेकाहीं हिंस्रक पनि हुन्थे। यस दम्पतीका दुइ छोरीहरूले आमाबाबुको विरोधको बावजूद बाइबल अध्ययन गर्न सुरु गरे। केही समयपछि अध्ययनमा तिनीहरूका बुबा पनि सामेल भए। तर आमाले चाहिं विरोध गर्न छाडिनन्‌। तथापि, समय बित्दै जाँदा तिनले आफ्नो परिवारमाथि बाइबल सिद्धान्तहरूको राम्रो प्रभाव परेको महसुस गर्न थालिन्‌। छोरीहरूले तिनको राम्रोसित रेखदेख गर्न थाले र पति पनि निकै नरम मिजासका भए। यस्तो परिवर्तन देखेर त्यस स्त्री स्वयं बाइबल अध्ययन गर्न तयार भइन्‌ र यसले तिनीमाथि पनि राम्रो प्रभाव पाऱ्‍यो। त्यस वृद्ध स्त्री बारम्बार यसो भन्थिन्‌: “हामी साँच्चैको विवाहित दम्पती भयौं।”

२२, २३. बाइबलले कसरी हर जातिका मानिसहरूलाई पारिवारिक जीवनको आनन्द उठाउने मदत दिन्छ?

२२ यी व्यक्‍तिहरू ती धेरैमध्ये हुन्‌ जसले पारिवारिक सुखको रहस्य भेट्टाएका छन्‌। तिनीहरूले बाइबलको सल्लाहलाई स्वीकारेर प्रयोगमा ल्याएका छन्‌। हुन त तिनीहरू पनि सबै मानिसहरूजस्तै उही हिंस्रक, अनैतिक र आर्थिक तनाउग्रस्त संसारमा बस्छन्‌। तिनीहरू पनि असिद्ध छन्‌। तापनि वैवाहिक प्रबन्धको आरम्भकको इच्छा पूरा गर्ने कोसिस गर्दा तिनीहरूलाई आनन्द लाग्छ। किनकि बाइबल भन्छ यहोवा परमेश्‍वरले “तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। . . . तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।”—यशैया ४८:१७.

२३ बाइबल आजभन्दा करीब दुइ हजार वर्षअघि लेखिएको भए तापनि त्यसमा पाइने सल्लाह आज पनि पूर्णतः व्यवहारिक छ। त्यो हर प्रकारका मानिसका लागि लेखिएको थियो। बाइबल कुनै अमेरिकी अथवा पश्‍चिमी पुस्तक होइन। यहोवाले “एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।” अतः उहाँलाई सबै ठाउँका मानिसहरूको बनौट थाह छ। (प्रेरित १७:२६) बाइबल सिद्धान्तहरू सबैका लागि व्यवहारिक हुन्छन्‌। तिनलाई तपाईंले प्रयोगमा ल्याउनुभयो भने तपाईंलाई पनि पारिवारिक आनन्दको रहस्य थाह हुनेछ।

के तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ?

आज परिवारलाई के भइरहेको छ? —२ तिमोथी ३:१-४.

पारिवारिक प्रबन्धको सुरुआत कसले गऱ्‍यो? —एफिसी ३:१४, १५.

पारिवारिक आनन्दको रहस्य के हो? —यशैया ४८:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने