तिनीहरूलाई निमन्त्रणा दिनुहोस्
१ शताब्दीऔंअघि दिइएको निमन्त्रणा आज विश्वभरि २३३ वटा देशहरूमा दिइंदैछ: “आऊ हामी परमप्रभुको पर्वतमा . . . जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंडनेछौं।” (यशै. २:३) मानिसहरूले अनन्त जीवन पाओस् भनेर तिनीहरूको आध्यात्मिक प्रगतिमा सहायता पुऱ्याउने एउटा उत्तम तरिका तिनीहरूलाई यहोवाको संगठनतर्फ डोऱ्याउनु हो।
२ कुनै कुनै प्रकाशकले आफ्नो बाइबल विद्यार्थीले गृह बाइबल अध्ययनमा राम्रो प्रगति नगरूञ्जेल तिनीहरूलाई राज्यभवनमा आउने निमन्त्रणा दिन हिचकिचाउनसक्छन्। तापनि कहिलेकाहीं बाइबल अध्ययन सुरु हुनुअघि नै मानिसहरू मण्डलीका सभाहरूमा उपस्थित हुन थाल्दछन्। मानिसहरूलाई सभाहरूमा भेला हुने निमन्त्रणा र प्रोत्साहन दिन हामीले ढिला सुस्ती गर्नु हुँदैन।
३ कसरी गर्ने: आफ्नो इलाकाको सभाहरूबारे मानिसहरूलाई जानकारी दिन हाते पर्चाको प्रयोग गर्नुहोस्। हाम्रा सभाहरूमा उपस्थित हुन पैसा तिर्नु पर्दैन र कुनै चन्दा संकलन गरिंदैन भनेर तिनीहरूलाई बताउनुहोस्। सभाहरू कसरी सञ्चालन गरिन्छन्, त्यसबारे बताउनुहोस्। त्यहाँ छलफल गरिने विषय बाइबल अध्ययन गर्ने विषयवस्तु नै हुन् र त्यही विषयसम्बन्धी साहित्यहरू पनि उपलब्ध गराइन्छ भनेर बताउनुहोस्। त्यहाँ विभिन्न पृष्ठभूमिका र पेसाहरूमा संलग्न मानिसहरूबारे जानकारी दिनुहोस्। ती मानिसहरू आफ्नै इलाकाका हुन् र जुनसुकै उमेरका बच्चाहरू पनि आउनसक्छन् भनेर बताउनुहोस्। हामीसित अध्ययन गर्नेहरूलाई हामीले निमन्त्रणा दिनुपर्छ र उपस्थित हुन तिनीहरूलाई मदत दिन इच्छुक छौं भनेर पनि थाह दिनुपर्छ।
४ जीवनको निम्ति यहोवाले गर्नुभएको प्रबन्धमा भाग लिन बाइबलको अन्ततिर एउटा यस्तो न्यानो निमन्त्रणा दिइएको छ: “आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस।’ . . . जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।” (प्रका. २२:१७) हाम्रा सभाहरूमा उपस्थित हुन मानिसहरूलाई हामीले निमन्त्रणा दिनैपर्छ।
५ परमेश्वरका जनहरूका मण्डलीहरूमा अहिले आउने हजारौं नयाँ प्रशंसकहरूलाई यशैया ६०:८ ले भविष्यसूचक रूपमा “बादलझैं उडने र ढुकुरझैं तिनीहरूका झ्यालमा उडने” ढुकुरसँग चित्रण गर्छ। हामी सबैले नयाँ मानिसहरूलाई सभाहरूमा आउने निमन्त्रणा दिनसक्छौं र तिनीहरूको सुबिधाको निम्ति प्रबन्धहरू पनि मिलाउनसक्छौं। यसरी यहोवालाई हामीले जम्मा गर्ने काममा सहयोग गरिरहेका हुनेछौं।—यशै. ६०:२२.