अध्याय ४०
दयाको एउटा पाठ
येशू अझै नाइनमै हुनुहुन्छ होला, जहाँ उहाँले हालै एउटी विधवाको छोरालाई ब्यूँताउनुभएको थियो, अथवा उहाँ सम्भवतः नजिकको एउटा सहरतिर जाँदै हुनुहुन्छ। यसप्रकारका असाधारण कामहरू गर्न सक्ने व्यक्तिलाई सिमोन नाम भएका एक जना फरिसीले नजिकबाट हेर्न चाहन्छन्। त्यसकारण तिनले येशूलाई आफूकहाँ भोजन गर्ने निम्तो दिन्छन्।
उहाँले त्यहाँ उपस्थित हुनेहरूलाई सहायता दिने एउटा मौका देख्नुहुन्छ। कर उठाउनेहरू र पापीहरूसँग बसेर खाने निम्तो येशूले पहिले पनि स्वीकार्नुभएको थियो। त्यसरी नै अब पनि फरिसी सिमोनको निम्तो उहाँ स्वीकार्नुहुन्छ। तथापि उहाँ सिमोनको घरमा प्रवेश गर्नुभएपछि पाहुनाहरूलाई साधारणतया दिइने आत्मीयता येशूले पाउनु हुन्न।
चप्पल लगाएर धूलो बाटोबाट हिंडेर आउँदा खुट्टा तातो र फोहर हुन्छन्। यसकारण पाहुनाहरूको खुट्टा चिसो पानीले धोइदिएर आतिथ्य दर्साउने चलन छ। तर येशू आउनुहुँदा उहाँको खुट्टा कसैले धोइदिंदैन। न त त्यसबेलाको साधारण शिष्टाचारअनुसार उहाँलाई कसैले स्वागत गर्दै आलिङ्गन नै गर्छन्। अनि आतिथ्य गर्ने चलनअनुसार उहाँको कपालमा तेल पनि लगाइदिंदैनन्।
अतिथिहरू टेबुलमा बसेर भोजन गरिरहेको बेलामा निम्तो नपाएकी एउटी स्त्री चुपचाप कोठामा पस्छे। ऊ अनैतिक जीवन बिताएर सहरमा बसेकी छे भनी सबैलाई थाह छ। सम्भवतः उसले येशूका शिक्षाहरू सुनेकी छे, खासगरि ‘भारले दबिएका सबै मानिसहरूलाई स्फूर्ति पाउन’ उहाँकहाँ आउने निम्तो उसले सुनेकी हुनुपर्छ। आफूले देखेकी र सुनेकी कुराहरूबाट प्रभावित भएर उसले येशूलाई खोज्छे र आखिरमा फेला पार्छे।
येशू बस्नुभएको टेबुलको पछाडि ऊ आउँछे र उहाँका पाउनेर घुँडा टेक्छे। उसका आँसुहरू उहाँका पाउमा खस्दा आफ्नो कपालले त्यसलाई पुस्छे। अनि एउटा भाँडोबाट सुगन्धित तेल झिकेर त्यो उहाँका पाउमा कोमलता साथ घस्दै उहाँका पाउलाई चुम्बन गर्छे। सिमोनले अप्रसन्नता देखाउँदै हेरिरहन्छन्। तिनले मनमनै यसो भन्छन्: “यदि यी मानिस भविष्यवक्ता हुँदा हुन् त यिनलाई छुने यो स्त्री को हो र कस्तो खालकी हो भनेर यिनलाई थाह हुनेथियो, किनकि यो त पापीनी हो।”
तिनको विचारलाई बुझेर येशू भन्नुहुन्छ: “सिमोन, म तिमीलाई केही भन्न चाहन्छु।”
तिनी भन्छन्: “गुरुज्यू, भन्नुहोस्!”
येशू भन्न थाल्नुहुन्छ: “कुनै एक जना साहुका दुई ऋणी थिए; एक जनालाई पाँच सय दिनार र अर्कोलाई पचास दिनार ऋण लागेको थियो। ऋण चुक्ता गर्न तिनीहरूसित केही नहुँदा, तिनले ती दुवैलाई खुला मनले माफी दिए। अब भन त, ती दुईमध्ये कुनचाहिंले त्यो साहुलाई बढी प्रेम गर्नेछ?”
प्रश्नको कुनै तुक नदेखेर सिमोन मतलबै नराखी भन्छन्: “मेरो विचारमा जसलाई तिनले बढ्ता माफी दिए उसैले।”
येशू भन्नुहुन्छ: “तिमीले ठीक भन्यौ।” अनि त्यस स्त्रीतिर फर्किंदै सिमोनलाई उहाँ भन्नुहुन्छ: “के तिमी यस स्त्रीलाई देख्दैछौ? म तिम्रो घरभित्र पसें तर तिमीले मेरो खुट्टा धुनलाई पानी दिएनौ। तर यस स्त्रीले भने आफ्नो आँसुले मेरो खुट्टा भिजाएर आफ्नो कपालले पुछी। तिमीले मलाई चुम्बन गरेनौ तर यस स्त्रीले भने म भित्र पसेदेखिनै मेरो खुट्टामा चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो टाउकोमा तेल घसेनौ तर यस स्त्रीले मेरो खुट्टामा सुगन्धित तेल घसी।”
यसप्रकार त्यस स्त्रीले आफ्नो बितेको अनैतिक जीवनका लागि मनबाट नै पश्चात्ताप जाहेर गर्छे। त्यसकारण येशू आफ्नो कुरा टुङ्ग्याउँदै भन्नुहुन्छ: “उसका पापहरू धेरै भए तापनि ती क्षमा भएका छन्, किनकि उसले धेरै प्रेम गरी। तर जसलाई थोरै क्षमा दिइन्छ, उसले थोरै नै प्रेम गर्छ।”
येशूले कुनै प्रकारले पनि अनैतिकतालाई ढाकछोप वा समर्थन गर्नुभएको होइन। बरु जीवनमा गल्ती गरेर आफ्नो गल्ती स्वीकार्दै मानसिक आरामका निम्ति येशूकहाँ आउनेहरूप्रति उहाँको दयालु दृष्टिकोणलाई यस घटनाले प्रदर्शित गर्छ। त्यस स्त्रीका निम्ति साँचो स्फूर्ति दिंदै येशू भन्नुहुन्छ: “तिम्रा पापहरू क्षमा भएका छन् . . . तिम्रो विश्वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ।” लूका ७:३६-५०; मत्ती ११:२८-३०.
▪ येशूलाई घरधनी सिमोनले कसरी स्वागत गर्छन्?
▪ येशूलाई कसले फेला पार्छे र किन?
▪ येशू कुन दृष्टान्त बताउनुहुन्छ र त्यो कसरी लागू गर्नुहुन्छ?