अध्याय ४९
गालीलमा अर्को प्रचार भ्रमण
करिब दुई वर्षसम्म तीव्र रूपमा प्रचार गरिसकेपछि के अब येशू सुस्त भएर चुप लागि आरामसाथ बस्नुहुनेछ? यसको विपरीत, गालीलमा तेस्रो भ्रमण सुरु गर्दै उहाँ आफ्नो प्रचारकार्य अझ बढाउनुहुन्छ। यस इलाकाभित्रका सबै सहर र गाउँहरूमा उहाँ जानुहुन्छ र त्यहाँका सभाघरहरूमा शिक्षा दिंदै र राज्यको सुसमाचार प्रचार गर्दै हिंड्नुहुन्छ। यस भ्रमणमा देखेका कुराहरूबाट प्रचारको काम अझ जोडसित बढाउने आवश्यकता उहाँले महसुस गर्नुहुन्छ।
येशू जता जानुहुन्छ, त्यतै परमेश्वरसितको सम्बन्ध राम्रो बनाउन आवश्यक परेका र ढाडसको खाँचो भएका मानिसहरू देख्नुहुन्छ। तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता छन् र तिनीहरूका लागि उहाँको मनमा दया जागेर आउँछ। उहाँ आफ्ना चेलाहरूलाई भन्नुहुन्छ: “साँच्चै, फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्। त्यसकारण, फसलका मालिकलाई आफ्नो बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।”
येशूको एउटा योजना छ। लगभग एक वर्षअघि छानेका १२ प्रेषितहरूलाई आफूकहाँ बोलाउनुहुन्छ। तिनीहरूलाई दुई-दुई गरी मिलाएर प्रचारकहरूका छ वटा टोली बनाउनुहुन्छ र तिनीहरूलाई उपदेश दिंदै भन्नुहुन्छ: “अन्यजातिहरूको इलाकामा नजाओ र सामरीहरूको सहरमा पनि नपस; बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ जो हराएका भेडाहरूजस्ता छन्। जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’ ”
तिनीहरूले प्रचार गर्नुपरेको राज्य त्यही राज्य हो जसको निम्ति प्रार्थना गर्न भनी तिनीहरूलाई नमुना प्रार्थनामा येशूले सिकाउनुभएको थियो। यस अर्थमा राज्य नजिकै आइपुगेको छ कि परमेश्वरले नियुक्त गर्नुभएका राजा येशू ख्रीष्ट त्यहाँ उपस्थित हुनुहुन्छ। उहाँका चेलाहरू त्यो ईश्वरीय सरकारका प्रतिनिधिहरू हुन् भनेर प्रमाणित गर्नका लागि उहाँले तिनीहरूलाई रोगीहरू निको पार्ने र मरेकाहरूलाई ब्यूँताउने शक्ति पनि दिनुहुन्छ। यसप्रकारको सेवा सित्तैंमा गर्नू भनेर उहाँले तिनीहरूलाई आदेश दिनुहुन्छ।
यसपछि उहाँले आफ्ना चेलाहरूलाई प्रचार-भ्रमणका लागि भौतिक कुराहरूको तयारी नगर्न भन्नुहुन्छ। “तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ। यात्राको लागि खाजाको पोको, अर्को एकसरो लुगा, चप्पल अनि लौरो पनि नलैजाओ; किनकि कामदार भोजनको हकदार हुन्छ।” समाचारको कदर गर्नेहरूले खानेकुरा र सुत्ने ठाउँ दिनेछन्। यस विषयमा येशू अझै भन्नुहुन्छ: “तिमीहरू जुन सहर वा गाउँमा पसौला, त्यहाँ को योग्य छ भनी खोज र त्यो ठाउँ नछोडुन्जेल तिनीसँगै बस।”
यसपछि राज्यको समाचार लिएर घरका मानिसहरूकहाँ कसरी जानुपर्छ भनेर येशू शिक्षा दिनुहुन्छ। “जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर्नुका साथै शान्तिको कामना गर; त्यस घरमा भएकाहरू योग्य रहेछन् भने तिमीहरूले कामना गरेको शान्ति तिनीहरूमाथि रहोस्; तर यदि योग्य रहेनछन् भने तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्किआओस्। यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट बाहिर निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धूलो टकटकाइदेओ।”
तिनीहरूले प्रचार गरेको समाचार तिरस्कार गर्ने सहरले वास्तवमा कडा न्याय भोग्नुपर्ने कुरा येशू प्रकट गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, न्यायको दिनमा सदोम र गमोराले भन्दा त्यस सहरले चर्को दण्ड पाउनेछ।” मत्ती ९:३५–१०:१५; मर्कूस ६:६-१२; लूका ९:१-५.
▪ येशूले गालीलमा तेस्रो प्रचार भ्रमण कहिले सुरु गर्नुहुन्छ र यस भ्रमणबाट उहाँ कुन कुराको आवश्यकता अझ जोडसित महसुस गर्नुहुन्छ?
▪ आफ्ना १२ जना चेलाहरूलाई प्रचारको काममा पठाउँदा तिनीहरूलाई के शिक्षा दिनुहुन्छ?
▪ चेलाहरूले राज्य नजिकै आएको छ भनेर प्रचार गर्नु किन उचित हो?