जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
फेब्रुअरी ६-१२
बाइबलमा पाइने अनमोल धन | यशैया ४७-५१
“यहोवाको आज्ञा पालन गर्दा आशिष् पाइन्छ”
ip-2-E पृ. १३१ अनु. १८
यहोवाले हाम्रो भलाइको लागि सिकाउनुहुन्छ
१८ यहोवाबाट शक्ति पाएर भविष्यवक्ता यसो भन्छन्: “परमप्रभु परमेश्वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ। परमप्रभु, जो तेरा उद्धारक र इस्राएलका पवित्र परमप्रभु हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, ‘म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फाइदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।” (यशैया ४८:१६ख, १७) यहोवाले भन्नुभएका मनै छुने यी शब्दहरूले इस्राएलीहरू बेबिलोनबाट छुटकारा पाउने कुरामा ढुक्क भए होलान्। यहोवा तिनीहरूको उद्धारक हुनुहुन्छ। (यशैया ५४:५) इस्राएलीहरूले आज्ञा पालन गरेर आफूसित घनिष्ठ भएको यहोवा चाहनुहुन्छ। उहाँको आज्ञा पालन गर्नु नै साँचो उपासना गर्नु हो। त्यसका लागि यहोवाले इस्राएलीहरूलाई ‘तिनीहरू हिंड्नुपर्ने बाटो’ देखाउनुहुन्छ।
ip-2-E पृ. १३१ अनु. १९
यहोवाले हाम्रो भलाइको लागि सिकाउनुहुन्छ
१९ यहोवा आफ्ना जनहरूको जीवनमा सुख छाओस् भन्ने चाहनुहुन्छ। त्यसबारे सुन्दर ढङ्गमा यसरी व्यक्त गर्नुहुन्छ: “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!” (यशैया ४८:१८) सर्वशक्तिमान् परमेश्वरले गर्नुभएको कस्तो मनै छुने आग्रह! (व्यवस्था ५:२९; भजन ८१:१३) यहोवाको आज्ञा पालन गरेको भए तिनीहरू कैदमा जानु पर्ने थिएन। बरु तिनीहरूले निरन्तर बगिरहने नदीझैं प्रशस्त शान्ति पाउने थिए। (भजन ११९:१६५) तिनीहरूले यहोवालाई प्रसन्न पार्न गरेका असल काम समुद्रका छालहरूझैं अनगिन्ती हुनेथिए। (आमोस ५:२४) इस्राएलीहरूप्रतिको गहिरो चासोले गर्दा यहोवाले तिनीहरूलाई बाटो देखाउनुहुन्छ। अनि त्यसैमा हिंड्न न्यानो आग्रह गर्नुहुन्छ। तर दुःखको कुरा तिनीहरूले यहोवाको आज्ञा पालन गर्दैनन्।
ip-2-E पृ. १३२ अनु. २०-२१
यहोवाले हाम्रो भलाइको लागि सिकाउनुहुन्छ
२० इस्राएलीहरूले पश्चात्ताप गरेमा नतिजा कस्तो हुनेथियो? यहोवा यसो भन्नुहुन्छ: “तेरो वंश पनि बालुवासरह हुनेथियो र तेरा सन्तान त्यसका कणसरह हुनेथियो! त्यसको नाउँ मबाट कहिल्यै काटिने थिएन! त्यो मेरो सामने नाश हुने थिएन।” (यशैया ४८:१९) यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञाबारे तिनीहरूलाई बताउनुहुन्छ। उहाँले अब्राहामलाई तिनको ‘सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह’ तुल्याउँछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। (उत्पत्ति २२:१७; ३२:१२) तर अब्राहामको सन्तान विद्रोही भएकोले प्रतिज्ञा गरिएको आशिष् पाउने अधिकार तिनीहरूले गुमाए। तिनीहरू यति खराब भए कि यहोवाको व्यवस्थाअनुसार वास्तवमा ती राष्ट्र मेटिन योग्य थियो। (व्यवस्था २८:४५) तर यहोवा तिनीहरू पूरै नाश भएको चाहनुहुन्न। अनि तिनीहरूलाई पूर्णरूपमा त्याग्न पनि चाहनुहुन्न।
२१ यी पदहरूमा लुकेको महत्त्वपूर्ण सिद्धान्त अहिले यहोवाका उपासकहरूलाई लागू हुन्छ। यहोवा जीवनको स्रोत हुनुभएकोले जीवन कसरी बिताउने, त्यसबारे उहाँलाई सबैभन्दा राम्रोसँग थाह छ। (भजन ३६:९) उहाँले हाम्रो आनन्द खोस्न नभई हाम्रो भलाइको लागि निर्देशन दिनुहुन्छ। अनि साँचो ख्रीष्टियनहरू यहोवाको शिक्षाअनुसार चलेर उहाँको भलाइको कदर गरेको देखाउँछन्। (मीका ४:२) उहाँको आज्ञाले हामीलाई आध्यात्मिक सुरक्षा दिनुको साथै उहाँसितको सम्बन्ध टुट्नदेखि जोगाउँछ। साथै सैतानको खराब प्रभावबाट पनि अलग रहन मदत गर्छ। परमेश्वरको आज्ञा पछाडि लुकेको सिद्धान्त विचार गऱ्यौं भने उहाँले हाम्रै भलाइको लागि सिकाउनुहुन्छ भनेर देख्न सक्छौं। साँच्चै! “उहाँका आज्ञाहरू बोझिला” छैनन्। उहाँको आज्ञाअनुसार चल्यौं भने ‘कहिल्यै काटिनु’ अर्थात् नाश हुनुपर्ने छैन।—१ यूहन्ना २:१७; ५:३
बहुमूल्य रत्न खोजौं
it-1-E पृ. ६४३ अनु. ४-५
सम्बन्धविच्छेद
सम्बन्धविच्छेदको लाक्षणिक अर्थ। बाइबलमा वैवाहिक सम्बन्धलाई लाक्षणिक अर्थमा पनि प्रयोग गरिएको छ। (यशै ५४:१, ५, ६; ६२:१-६) लाक्षणिक अर्थमा सम्बन्धविच्छेद गरेको वा पत्नीलाई त्यागेको विषयमा पनि बाइबलमा चर्चा गरिएको पाइन्छ।—यर्मि ३:८
ईसापूर्व ६०७ मा यहूदी राज्य पतन भयो र यरूशलेम सहरलाई विनाश गरेर त्यहाँका बासिन्दाहरूलाई कैद गरेर बेबिलोनको निर्वासनमा लगियो। निर्वासनमा जाने यहूदीहरूलाई भविष्यसूचक ढङ्गमा यहोवाले यसरी सोध्नुहुन्छ: ‘मैले पठाएको तिम्रो आमाको त्याग-पत्र कहाँ छ?’ (यशै ५०:१) तिनीहरूको “आमा” अर्थात् इस्राएल राष्ट्रलाई यहोवाले त्याग्नुमा जायज कारण थियो। यहोवाले आफ्नो करार तोड्नुभएको थिएन बरु तिनीहरूले उहाँको व्यवस्था विपरीत काम गरेको हुँदा उहाँले त्याग्नु भएको थियो। तर बाँकी रहेका इस्राएलीहरूले पश्चात्ताप गरे। अनि मातृभूमिमा फर्काएर पहिलाको जस्तै घनिष्ठ सम्बन्ध विकास गर्न मदत गर्नुहोस् भनी प्रार्थना गरे। यहोवाले आफ्नो नामको खातिर तिनीहरूलाई यरूशलेमको विनाश भएको ७० वर्षपछि ईसापूर्व ५३७ मा मातृभूमिमा फर्काउनुभयो।—भज १३७:१-९; विवाह शीर्षक हेर्नुहोस्।
फेब्रुअरी १३-१९
बहुमूल्य रत्न खोजौं
w०६-E ३/१५ पृ. ११ अनु. २
“लाक्षणिक अर्थ” भएको महत्त्वपूर्ण कथा
त्यसोभए “स्वतन्त्र स्त्री” अर्थात् सारा र तिनको छोरा इसहाकले कसलाई सङ्केत गर्छ? पावलले बताएअनुसार “बाँझी स्त्री”-ले परमेश्वरको सङ्गठनको स्वर्गको भागलाई सङ्केत गर्छ। येशू पृथ्वीमा आउनुअघि पवित्र शक्तिद्वारा अभिषिक्त “सन्तानहरू” नभएकोले एक अर्थमा त्यस स्त्रीलाई बाँझी भन्न सुहाउँछ। (गला ४:२७; यशै ५४:१-६) तर इस्वी संवत् ३३ पेन्तिकोसको दिन पुरुष अनि स्त्रीहरूको एउटा समूहमाथि पवित्र शक्ति खन्याइयो। यसप्रकार तिनीहरूलाई परमेश्वरको सङ्गठनको स्वर्गको भागलाई चित्रण गर्ने स्त्रीको सन्तानको रूपमा अभिषेक गरियो। त्यस स्त्रीको सन्तानलाई परमेश्वरले धर्मपुत्रको रूपमा स्विकार्नुभयो अनि नयाँ करारको आधारमा तिनीहरू ख्रीष्टको सङ्गी उत्तराधिकारी भए। (रोमी ८:१५-१७) ती सन्तानमध्ये एक जना प्रेषित पावलले यस्तो लेखे: “माथिको यरूशलेम स्वतन्त्र छ र तिनी हाम्री आमा हुन्।”—गलाती ४:२६.
फेब्रुअरी २०-२६
बाइबलमा पाइने अनमोल धन | यशैया ५८-६२
‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’
ip-2-E पृ. ३२२ अनु. ४
परमेश्वरको स्तर बमोजिमको असल काम प्रशस्त हुन्छ
“ग्रहणयोग्य वर्ष”
४ यशैया लेख्छन्: “परमप्रभु परमेश्वरको आत्मा ममाथि छ, किनकि नम्रहरूलाई सुसमाचार सुनाउनलाई परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई, कैदमा परेकाहरूलाई स्वतन्त्रता र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नलाई पठाउनुभएको छ।” (यशैया ६१:१) सुसमाचार प्रचार गर्ने जिम्मेवारी कसले पाउँछ? यो जिम्मेवारी सुरुमा यशैयाले नै पाएजस्तो देखिन्छ। किनभने बेबिलोनको कैदमा परेका इस्राएलीहरूले छुटकारा पाउनेबारे तिनले लेखे। तर येशूले यशैयाको भविष्यवाणी आफूमाथि लागू गर्नुहुँदा उक्त भविष्यवाणीको विस्तृत पूर्ति भयो। (लूका ४:१६-२१) बप्तिस्माको बेला येशू पवित्र शक्तिद्वारा अभिषिक्त हुनुभयो। त्यसैले नम्र मानिसहरूलाई सुसमाचार सुनाउन उहाँलाई पठाइएको थियो भन्न सक्छौं।—मत्ती ३:१६, १७.
ip-2-E पृ. ३२६-३२७ अनु. १३-१५
सियोनमा परमेश्वरको स्तर बमोजिमको असल काम प्रशस्त हुन्छ
१३ इस्वी संवत् ३३ पेन्तिकोसको दिनदेखि लाक्षणिक अर्थमा परमेश्वरले “धर्मको वृक्ष” रोप्नुभयो। किनभने उहाँले त्यतिबेला “परमेश्वरको इस्राएल” अर्थात् साहसी अभिषिक्त जनहरूको नयाँ राष्ट्र खडा गर्नुभयो। (गलाती ६:१६) शताब्दियौंको दौडान यी “वृक्ष”-को सङ्ख्या बढेर १,४४,००० पुग्यो। अनि तिनीहरूले असल काम गरेर यहोवाको महिमा गरिरहेका छन्। (प्रकाश १४:३) तर सन् १९१९ भन्दा केही समय अघि परमेश्वरको इस्राएलका बाँकी सदस्यहरूको जोस केही हदसम्म सेलाएको थियो। तर सन् १९१९ मा परमेश्वरले तिनीहरूलाई पुनः नयाँ जोसले भरिदिनुभयो। त्यसबेलादेखि प्रशस्त आध्यात्मिक पानी दिएर यहोवाले यी धर्मका वृक्षलाई हराभरा बनाउनुभएको छ।—यशैया २७:६.
१४ यी “वृक्ष”-को कामबारे यशैया अझै यस्तो लेख्छन्: “तिनीहरूले पुराना उजाड भएका ठाउँहरू बसाल्नेछन्। तिनीहरूले अघिअघिका नष्ट भएका ठाउँहरू बनाउनेछन् र तिनीहरूले उजाड रहेका शहरहरूलाई फेरि बनाउनेछन्।” (यशैया ६१:४) फारसी राजा कोरेसबाट उर्दी पाएपछि बेबिलोनबाट फर्केका यहूदीहरूले लामो समयदेखि विनाश अवस्थामा भएको यरूशलेम सहर त्यसमा भएको मन्दिर पुनः निर्माण गर्छन्। पुनर्स्थापनाको यो कामले इस्वी संवत् ३३ र पछि १९१९-मा हुने महत्त्वपूर्ण घटनालाई सङ्केत गर्छ।
१५ इस्वी संवत् ३३ मा मानिसहरूले येशूलाई पक्रेर मारिदिएकाले चेलाहरू साह्रै निराश भए। (मत्ती २६:३१) तर उहाँ पुनर्जीवित हुनुभएपछि चेलाहरूसित भेट्नुभयो, यसले गर्दा तिनीहरूले ठूलो प्रोत्साहन पाए। साथै पवित्र शक्ति पाउनासाथ तिनीहरू प्रचारकार्यमा व्यस्त भए। अनि “यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” तिनीहरूले येशूको विषयमा साक्षी दिए। (प्रेषित १:८) यसरी एक अर्थमा तिनीहरूले साँचो उपासनालाई पुनर्स्थापना गरे। त्यसरी नै येशूले वर्षौंदेखि आध्यात्मिक रूपमा “उजाड रहेका सहरहरू”-लाई पुनर्स्थापना गर्न सन् १९१९ देखि अभिषिक्त जनहरूलाई मदत गर्नुभयो। सयौंवर्ष देखि पादरीहरूले मानिसहरूलाई यहोवाको ज्ञान सिकाउनुको साटो रीतिथिति र गैर धर्मशास्त्रीय शिक्षाहरू सिकाउँदै आएका थिए। अभिषिक्त ख्रीष्टियनहरूले यस्ता शिक्षा अनि गतिविधिलाई मण्डलीबाट हटाएर साँचो उपासनालाई पुनर्स्थापना गरे र निरन्तर अघि बढाए। त्यसपछि तिनीहरूले मानव इतिहासमा पहिला कहिल्यै नभएको विशाल प्रचार अभियानको सुरुवात गरे।—मर्कूस १३:१०.
फेब्रुअरी २७–मार्च ५
बाइबलमा पाइने अनमोल धन | यशैया ६३-६६
“नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं”
ip-2-E पृ. ३८३ अनु. २३
“मैले सृष्टि गरेको कुरामा सदासर्वदा आनन्द गर”
२३ यहोवाले यस दुष्ट संसारलाई हटाउनुहुने दिनबारे यूहन्नाले दर्शनमा देखेको कुरा प्रकाशको किताबमा उल्लेख गरिएको पाउँछौं। तिनले सैतानलाई अगाध खाडलमा फालिएको दर्शन देख्छन्। (प्रकाश १९:११–२०:३) त्यसपछि यशैयाले भनेका जस्तै कुराहरू यूहन्नाले लेख्छन्: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें।” यस दर्शनमा यहोवाले पृथ्वीमा कसरी राम्रो अवस्था ल्याउनुहुनेछ त्यसबारे उल्लेख गरिएको पाउँछौं। (प्रकाश २१:१, ३-५) कुरा स्पष्ट छ, “नयाँ आकाश र नयाँ पृथ्वी”-बारे यशैयाले गरेको भविष्यवाणी साँच्चै पूरा हुनेछ! नयाँ आकाशले परमेश्वरको राज्यलाई चित्रण गर्छ। नयाँ पृथ्वीले उहाँको शासनको अधीनमा बस्ने मानिसहरूले बनेको नयाँ समाजलाई बुझाउँछ। सबै जना उहाँको शासनको अधीनमा बस्दा पृथ्वीमा साँच्चै ठूलो शान्ति छाउनेछ। त्यतिबेला ‘अघि-अघिका कुराहरू अर्थात् [रोगबिमार, दुःखकष्ट साथै मानिसहरूले भोगिरहेका अन्य समस्याहरू]-को सम्झना हुनेछैन, स्मरणमा पनि आउनेछैनन्।’ त्यतिबेला हाम्रो सम्झनामा आउने कुनै पनि कुराले हामीलाई अहिले जस्तो पिरोल्ने छैन। यी प्रतिज्ञाहरू निकै सान्त्वनादायी छ।
ip-2-E पृ. ३८४ अनु. २५
“मैले सृष्टि गरेको कुरामा सदासर्वदा आनन्द गर”
२५ यहोवाले यरूशलेमलाई अहिले पनि “हर्षित” हुने कारण दिनुभएको छ। कसरी? नयाँ आकाश अर्थात् परमेश्वरको राज्य सन् १९१४ मा स्थापना भएको कुरा हामीलाई थाह छ। समयको दौडान १,४४,००० सह-शासकहरू पनि शासनमा सहभागी हुनेछन्। भविष्यसूचक ढङ्गमा यसलाई “नयाँ यरूशलेम” भनिएको छ। (प्रकाश २१:२) यसबारे यहोवा यसो भन्नुहुन्छ: “हेर, म यरूशलेमलाई हर्षित र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।” परमेश्वरले नयाँ यरूशलेमलाई चलाएर प्रशस्त आशिष् वर्षाउनुहुनेछ भन्ने कुरा यसबाट बुझ्न सक्छौं। त्यसैले नयाँ संसारमा कुनै किसिमको दुःखकष्ट हुनेछैन, कोही पनि रुने वा विलाप गर्नेछैनन्। यहोवाले सबैको “मनोरथ” पूरा गरिदिनुहुनेछ।—भजन ३७:३, ४.