जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मार्च ६-१२
बाइबलमा पाइने अनमोल धन | यर्मिया १-४
“तँलाई बचाउनलाई म तेरो साथमा छु”
jr-E पृ. ८८ अनु. १४-१५
‘म थकित प्राणलाई सन्तुष्ट गराउनेछु’
थाकेकाहरूलाई स्फूर्ति दिनुहोस्
१४ भविष्यवक्ता यर्मियाले कसबाट प्रोत्साहन पाए साथै ‘थाकेकाहरूलाई’ तिनले कसरी प्रोत्साहन दिए त्यसबारे विचार गर्नुहोस्। (यर्मि. ३१:२५) तिनले विशेषगरि यहोवाबाट प्रोत्साहन पाएका थिए। यहोवाले यसो भनेर प्रोत्साहन दिनुहुँदा तिनले कत्ति हौसला पाए होलान् विचार गर्नुहोस्: ‘म तँलाई किल्ला भएको सहर बनाउँछु . . . तिनीहरूले तँसित युद्ध गर्नेछन्, तर तिनीहरू विजयी हुनेछैनन्, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्नुहुन्छ।’ (यर्मि. १:१८, १९) यहोवाबाट यस्तो प्रोत्साहन पाएकोले तिनले यसो भन्न सके: यहोवा “मेरो बल र मेरो किल्ला, दुःखको दिनमा मेरो शरणस्थान” हुनुहुन्छ।—यर्मि. १६:१९.
१५ यहोवाले यर्मियालाई “म तेरो साथमा छु” भन्नुभएको कुरा निकै रोचक छ। यसबाट अरूलाई प्रोत्साहन दिने सन्दर्भमा तपाईंले केही सिक्नुभयो कि? हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनी वा आफन्तहरूलाई परेको समस्या हामी याद गर्छौं होला तर के व्यावहारिक मदत दिन उत्प्रेरित हुन्छौं? किनभने याद गर्नु एउटा कुरा हो तर मदत गर्नु अर्कै कुरा हो। धेरै जसो अवस्थामा यहोवाले यर्मियालाई मदत गर्नुभएझैं हामीले पनि समस्यामा परेकाहरूलाई समय र साथ दिंदा त्यो असाध्यै प्रभावकारी हुन्छ। कहिलेकाहीं प्रोत्साहनका दुईचार शब्द पनि काफी हुन सक्छ। बोल्न सिपालु हुनुपर्छ भन्ने पनि छैन। तपाईं सरल शब्दमा नै आफ्नो ख्रीष्टियन प्रेम व्यक्त गर्न सक्नुहुन्छ र चासो दिएको अनि साँच्चै ख्याल गरेको देखाउन सक्नुहुन्छ। यसो गर्दा अरूलाई गहिरो छाप पर्नेछ।—हितोपदेश २५:११ पढ्नुहोस्।
मार्च १३-१९
बाइबलमा पाइने अनमोल धन | यर्मिया ५-७
“तिनीहरूले परमेश्वरको इच्छाअनुसार गर्न छोडे”
w८८-E ४/१ पृ. ११-१२ अनु. ७-८
यर्मिया—एक अलोकप्रिय भविष्यवक्ता
७ यहोवाले यर्मियालाई यसरी सजग गराउनुहुन्छ: “तिनीहरूले तँसित युद्ध गर्नेछन्। तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्।” (यर्मिया १:१९) ती यहूदीहरू अनि तिनका शासकहरूले किन यर्मियासित युद्ध गर्न खोज्छन्? किनभने झारा टार्ने हिसाबले यहोवाको उपासना गरिरहेका यहूदीहरूलाई यर्मियाको सन्देशले चस्स घोच्छ। यर्मियाले तिनीहरूलाई यसो भन्दै अझ कडा चेतावनी दिन्छन्: “हेर, तिनीहरूका कान बन्द भएका छन्। तिनीहरू सुन्न सक्तैनन्। हेर, परमप्रभुको वचन तिनीहरूका ठट्टाको कुरो भएको छ। तिनीहरू त्यसमा केही रुचि लिंदैनन्। किनभने सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासमेत तिनीहरू हरेक अन्यायले कमाउनलाई लोभी भएका छन्। औ अगमवक्तादेखि लिएर पूजाहारीहरूसम्मै [जसले नैतिक र आध्यात्मिक मूल्यमान्यता सिकाउनु पर्थ्यो] तिनीहरू हरेक झूटा व्यवहार गर्दछन्।”—यर्मिया ६:१०, १३.
८ पूरा यहूदा राष्ट्र नै मिलेर बलिदान चढाउने काममा लागेको भए तापनि तिनीहरूको मन साँचो उपासनातर्फ थिएन। तिनीहरूलाई असल आचरण भन्दा पनि आफ्नै रीतिथिति प्यारो थियो। अर्कोतिर यहूदी धार्मिक नेताहरूले शान्ति नै नभए पनि “शान्ति, शान्ति” भनेर मानिसहरूलाई झुक्याइरहेका थिए। (यर्मिया ६:१४; ८:११) यसका साथै परमेश्वरसित यहूदीहरूको शान्तिपूर्ण सम्बन्ध छ भनेर तिनीहरूलाई ठगिरहेका थिए। ती यहूदीहरू आफूलाई परमेश्वरले छान्नुभएको विशेष जन सम्झन्थे अनि तिनीहरूसित पवित्र सहर यरूशलेम र मन्दिर पनि भएकोले डराउनु पर्दैन भनी ठान्थे।
w८८-E ४/१ पृ.१२ अनु. ९-१०
यर्मिया—एक अलोकप्रिय भविष्यवक्ता
९ यर्मियाले मन्दिरको मूल-ढोकामा उभिएर त्यहाँबाट प्रवेश गर्ने यहूदीहरूलाई यहोवाको सन्देश यसो भनेर सुनाउनु पर्थ्यो: ‘छली कुरामा भरोसा गरी यो नभन, ‘यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो!’. . . जो व्यर्थका हुनेछ।’ तिनीहरू विश्वासले होइन बरु दृष्टिले हिंडिरहेका थिए। त्यसैले देखिने मन्दिरमाथि गर्व गर्थे। तिनीहरूले वास्तवमा यहोवाले भन्नुभएको यो वचन बिर्सेका थिए: “स्वर्ग मेरो सिंहासन हो र पृथ्वीचाहिं मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले कस्तो भवन बनाउनेछौ?” तिनीहरूले बनाएको मन्दिर जतिसुकै विशाल भए पनि विश्व ब्रह्माण्डको सृष्टिकर्ताको लागि के यो अति सानो हुनेथिएन र? अवश्य!—यर्मिया ७:१-८; यशैया ६६:१.
१० यर्मियाले तिनीहरूलाई सार्वजनिक रूपमा यसो भनेर हप्काउँछन्: ‘तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ व्यभिचार गर्छौ, झूटा शपथ खान्छौ, बाल-देवतालाई धूप बाल्छौ औ तिमीहरू नजानेका देवताहरूका पछि लाग्छौ, . . . यी घृणित कामहरू गरेर अझै ‘हाम्रो छुटकारा हुन्छ’ भन्छौ?’ तिनीहरूले आफू ‘चुनिएको जाति’ भएकोले खराब आचरण भएपनि बलिदान चढाए पुगिहाल्छ नि भन्ने ठानेका थिए। तिनीहरूले छोराछोरीको गल्तीलाई बेवास्ता गरेर पुलपुल्याउने बुबाजस्तो यहोवालाई ठानेको भए त्यो महाभूल हुनेथियो।—यर्मिया ७:९, १०; प्रस्थान १९:५, ६.
jr-E पृ. २१ अनु. १२
“आखिरी समयमा” सेवा गर्दै
१२ यहोयाकीमको शासनको सुरुतिर यहोवाले यर्मियालाई यरूशलेमको मन्दिरमा गएर यहूदीहरूको दुष्टताको पर्दाफास गर्ने आज्ञा दिनुभयो। तिनीहरूले यहोवाको मन्दिरलाई सुरक्षाको जन्तर ठान्थे। तर ‘चोरी, हत्या, व्यभिचार, झूटा शपथ खाने साथै बाल-देवतालाई धूप बाल्ने’ जस्ता गलत काम तिनीहरूले नत्यागे यहोवाले मन्दिरलाई त्याग्नुहुनेथियो। अनि यरूशलेमको मन्दिरमा उपासना गर्ने कपटीहरूलाई पनि यहोवाले प्रधान पूजाहारी एलीको समयमा शिलोको वासस्थानलाई त्याग्नुभएझैं त्याग्नुहुनेथियो। यहूदा ‘उजाड भूमि’ हुनेथियो। (यर्मि. ७:१-१५, ३४; २६:१-६) यस्तो कडा सन्देश घोषणा गर्न यर्मियालाई कति साहस चाहियो होला हामी कल्पना मात्र गर्न सक्छौं। किनभने तिनले एकदमै गण्यमान्य मानिसहरूलाई सार्वजनिक ठाउँहरूमा प्रचार गर्नुपरेको थियो। अहिले पनि सार्वजनिक साक्षीकार्यमा भाग लिन वा ठूला-ठूला घरहरू वा सम्पन्न मानिसहरूलाई साक्षी दिन साहस चाहिन्छ। तर यहोवाले यर्मियालाई मदत गर्नुभयो। अनि हामीलाई पनि मदत गर्नुहुनेछ भन्ने कुरामा ढुक्क हुन सक्छौं।—हिब्रू १०:३९; १३:६.
बहुमूल्य रत्न खोजौं
w८८-E ४/१ पृ.१३ अनु. १५
यर्मिया—एक अलोकप्रिय भविष्यवक्ता
यहूदाले मोल चुकाउँछ
१५ ईसापूर्व ६३२ तिर कल्दी र मादीहरूले अश्शूरलाई पराजित गरिसकेको थियो। यहूदाको दक्षिणमा पर्ने मिश्र पनि शक्तिहीन थिए तर यहूदाको लागि खतरा उत्तरबाट आउने थियो। त्यसैले यर्मियाले आफ्ना सङ्गी यहूदीहरूलाई यस्तो नराम्रो सन्देश सुनाए! ‘हेर, उत्तर देशबाट एउटा जाति आउँदैछ . . . तिनीहरू निष्ठुर र निर्दयी छन्। हे सियोनकी छोरी, तेरो विरुद्धमा लडाइँ गर्न पँक्ति बाँधेर तिनीहरू घोडाहरूमा सवार भएर आउँछन्।’ त्यतिबेला बेबिलोन विश्वशक्तिको रूपमा उदाउनै लागेको थियो। अनि यहोवाले बेबिलोनलाई चलाएर अविश्वासी यहूदीहरूलाई दण्ड दिनुहुने थियो।—यर्मिया ६:२२, २३; २५:८, ९.
मार्च २०-२६
बाइबलमा पाइने अनमोल धन | यर्मिया ८-११
“यहोवाको डोऱ्याइ विना मानिस सफल हुन सक्दैन”
it-1-E पृ. ५५५
काँक्रो
जनावरहरूले बाली नखाओस् भनेर तर्साउन मानिसहरूले बारीमा खम्बा, थाँक्रा वा अरू नै केही चिजहरू गाडेर राख्ने गर्थे। यर्मियाले अरू राष्ट्रका मानिसहरूले बनाएका मूर्तिलाई यस्तै “काँक्राबारीमा राखेका तर्साउने पुत्ला”-सित तुलना गर्छन्।—यर्मि १०:५.
w१५-E ९/१ पृ.१५ अनु. १
के तपाईं ईश्वरदेखि रुष्ट हुनुहुन्छ?
अहिलेका खराब परिस्थितिले मानव शासन पूर्णरूपमा असफल भएको छ भन्ने स्पष्ट प्रमाण दिन्छ। मानव शासनले मानिसहरूलाई शान्ति, सुरक्षा अनि आनन्द दिनुको साटो पृथ्वीमा विनाश निम्त्याइ रहेका छन्। बाइबलमा बताइएको यो कुरा सत्य साबित भएको छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) हो, परमेश्वरको शासनले मात्रै मानिसजातिलाई अनन्त शान्ति र खुसी दिन सक्छ। वास्तवमा परमेश्वरको उद्देश्य नै यही हो।—यशैया ४५:१८.
मार्च २७–अप्रिल २
बाइबलमा पाइने अनमोल धन | यर्मिया १२-१६
“इस्राएलीहरूले यहोवालाई बिर्से”
jr-E पृ. ५१ अनु. १७
छली हृदयको बहकाउमा नपर्नुहोस्
१७ यर्मियाले परमेश्वरले दिनुभएको निर्देशन पालन गर्ने जिम्मेवारी पाएका थिए। यदि यर्मियाको ठाउँमा तपाईं हुनुभएको भए के सबै निर्देशन पालन गर्नुहुनेथियो? एकपटक यहोवाले यर्मियालाई सुतीको पटुका लिएर कम्मरमा बाँध भन्नुभयो। हिंड्दै यूफ्रेटिस नदी भएको ठाउँतिर जाने आज्ञा दिनुभयो। यूफ्रेटिस नदी लगभग ५०० कि.मि. (३०० माइल) टाढा पर्थ्यो। त्यहाँ पुगेपछि पहरामा भएको ओढारभित्र पटुका लुकाएर तिनी यरूशलेम फर्कनुपर्थ्यो। आइपुगेको मात्र के थियो यहोवाले फेरि पटुका लिन तिनलाई फिर्ता पठाउनुहुन्छ। (यर्मिया १३:१-९ पढ्नुहोस्) ओहोर-दोहोर गर्न तिनले लगभग २००० कि.मि. (१,२०० माइल) यात्रा गरेको हुनुपर्छ। महिनौंसम्म हिंडेर यर्मियाले यति लामो यात्रा गरे भन्ने कुरामा केही बाइबल आलोचकहरू शङ्का गर्छन्। (एज्रा ७:९) तर वास्तवमा यो कुरा साँचो हो।
jr-E पृ. ५२ अनु. १८
छली हृदयको बहकाउमा नपर्नुहोस्
१८ कल्पना गर्नुहोस्! यर्मिया असिन पसिन हुँदै यहूदाको पहाड चढ्दै छन्। त्यसपछि तिनी फेरि पहाडबाट ठाडो ओरालो झरेर मरुभूमि हुँदै यूफ्रेटिस नदीतिर यात्रा गर्दै छन्। तिनी किन यस्तो यात्रा गर्दै छन्? एउटा सुतीको पटुका लुकाउन! धेरै दिनसम्म यर्मियालाई नदेखेकोले छिमेकीहरूको मनमा पनि चासो जाग्यो होला। हो, महिनौं यात्रा गरेर परमेश्वरले तोक्नुभएको ठाउँमा पटुका लुकाएर तिनी घर फर्कन्छन्। तर घर आइपुग्ने बित्तिकै यहोवाले तिनलाई फेरि पटुका लिन जाऊ भन्नुहुन्छ। लामो समय बितिसकेकोले पूरै पटुका मक्किएर “बेकाम”-को भइसकेको हुन्छ। कामनाकाजको पटुका लिन फेरि त्यत्रो लामो यात्रा गर्नुपर्दा तिनलाई कस्तो लाग्यो होला। के तिनले ‘यो त अति भयो। अब यसको के काम’ भने? अहँ भनेनन्। तिनी परमेश्वरबाट आकार पाउन तयार थिए। त्यसैले कुनै गुनासो नगरी यहोवाले आज्ञा दिनुभएबमोजिम नै गरे!
jr-E पृ. ५२ अनु. १९-२०
छली हृदयको बहकाउमा नपर्नुहोस्
१९ जिम्मेवारी पूरा गरिसकेपछि मात्र यहोवाले तिनलाई कारण बताउनुहुन्छ। तिनले गरेको कामले यो महत्त्वपूर्ण सन्देश सुनाउन बाटो तयार भयो: ‘यी दुष्ट मानिसहरू जसले मेरो वचन सुन्न इन्कार गऱ्यो, जो आफ्नो मनमा अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्न गए। तिनीहरू यही पटुकाजस्तै हुनेछन्, जो बेकामको भएको छ।” (यर्मि. १३:१०) आफ्ना जनहरूलाई सिकाउने यहोवाको कस्तो राम्रो तरिका! किनभने अनावश्यक जस्तो देखिने काममा पनि यर्मियाले देखाएको आज्ञाकारिताले मानिसहरूको मन छुन यहोवाले धेरै प्रयास गर्नुभयो भनेर स्पष्ट हुन्छ।—यर्मि. १३:११.
२० यहोवाले ख्रीष्टियनहरूलाई अहिले शिक्षा लिन सयौं किलोमिटर हिंड्न लगाउनुहुन्न। तर तपाईं यहोवाको मार्गमा हिंडेको देखेर छिमेकी अनि साथीभाइहरूलाई अचम्म लाग्न सक्छ। तपाईंलाई गिज्याउन पनि सक्छ। पहिरन कोरीबाटी, शिक्षा, जागिर सम्बन्धी तपाईंको छनौट अथवा पिउने सन्दर्भमा तपाईंको दृष्टिकोण देखेर अरूलाई अचम्म लाग्न सक्छ। के तपाईं यर्मियाजस्तै यहोवाको डोऱ्याइअनुसार चल्न कटिबद्ध हुनुहुनेछ? आफ्नो हृदयलाई यहोवाद्वारा आकार लिन दिनुभएकोले तपाईंले गर्नुभएको छनौटले अरूलाई राम्रो साक्षी दिन्छ। जस्तोसुकै अवस्थामा पनि यहोवाको वचनमा पाइने उहाँको डोऱ्याइ पछ्यायौं र विश्वासी र बुद्धिमान् दासले दिने निर्देशनअनुसार चल्यौं भने तपाईंको अनन्त भलाइ हुनेछ। आफ्नो छली हृदयको बहकाउमा पर्नुभन्दा हामी यर्मियाजस्तै यहोवाको डोऱ्याइअनुसार चल्न सक्छौं। त्यसैले दृढ हुनुहोस्, परमेश्वरबाट आकार पाउन तयार हुनुहोस्। यहोवाले तपाईंलाई सधैंभरि उपयोगी भाँडो बनाउनुहुनेछ।
it-1-E पृ. ११२१ अनु. २
कम्मर
यहोवाले इस्राएल र यहूदालाई असाध्यै प्यारो ठान्नुहुन्थ्यो। त्यसैले तिनीहरूलाई आफ्नो कम्मरमा बाँधिएको पटुकासित तुलना गर्नुभयो। (यर्मि १३:११) भविष्यसूचक ढङ्गमा येशूलाई धार्मिकताको पटुका आफ्नो कम्मरमा बाँधेर शासन गरिरहनुभएको व्यक्तिको रूपमा चित्रण गरिएको छ। यसले उहाँले आफ्नो शक्ति सधैं न्याय र वफादारीसाथ प्रयोग गर्नुहुन्छ भन्ने कुरालाई बुझाउँछ। यहोवाद्वारा नियुक्त न्यायकर्ताको रूपमा असल शासन गर्न येशूलाई न्यायले उत्प्रेरित गर्छ।—यशै ११:१, ५.
बहुमूल्य रत्न खोजौं
jr-E पृ. ११८ अनु. ११
के तपाईं ‘यहोवा कहाँ हुनुहुन्छ’ भनेर दिनहुँ सोध्दै हुनुहुन्छ?
११ दुष्टहरू सफल भएको देखेर यर्मियाले यस्तो प्रश्न सोधे। (यर्मिया १२:१, ३ पढ्नुहोस्) तर तिनले यहोवाको न्यायमाथि प्रश्न खडा गर्नको लागि “बहस” गरिरहेका थिएनन्। तिनको सोध्ने तरिकाबाट तिनी यहोवासित बुबा छोराजस्तै घनिष्ठ रहेछ भन्ने कुरा देखिन्छ। यहूदीहरू दुष्ट भए तापनि किन तिनीहरूको फलिफाप भइरहेको छ भनेर यर्मिया बुझ्न चाहन्थे। के तिनले चित्तबुझ्दो जवाफ पाए? उहाँले दुष्टहरूको जड उखेल्नुहुनेछ भनेर यहोवाले तिनलाई विश्वस्त पार्नुभयो। (यर्मि. १२:१४) यहोवाले भन्नुभएको कुरा पूरा भएको देखेपछि तिनले यस मामिलालाई प्रार्थनामा राखे। पक्कै पनि यहोवाको न्यायमाथि तिनको भरोसा अझ बढ्यो होला। त्यसैले सबै कुरा प्रार्थनामार्फत यहोवालाई पोखाएर अझ धेरै उहाँमाथि भर पर्न सके।