जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
सेप्टेम्बर ३-९
बाइबलमा पाइने अनमोल धन | युहन्ना १-२
“येसु पहिलो चमत्कार गर्नुहुन्छ”
jy-E पृ. ४१ अनु. ६
उहाँको पहिलो चमत्कार
यो येसुले गर्नुभएको पहिलो चमत्कार हो। येसुको यो चमत्कार देखेर उहाँका नयाँ चेलाहरूको विश्वास बलियो हुन्छ। त्यसपछि येसु, उहाँकी आमा अनि उहाँका भाइहरू गालिल समुद्रको उत्तर-पश्चिमतिर पर्ने कफर्नहुम सहरमा जानुहुन्छ।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E युह १:१ को अध्ययन नोट
वचन: वा “लोगोस।” ग्रीकमा, हो लोगोस। पदवीको रूपमा प्रयोग गरिएको यो अभिव्यक्ति युह १:१४ र प्रका १९:१३ मा पनि पाइन्छ। युहन्नाले यो पदवी येसुलाई लागू हुन्छ भनेर बताए। येसु मानिसको रूपमा पृथ्वीमा जन्मनुअघि स्वर्गमा अदृश्य व्यक्तिको रूपमा छँदा, पृथ्वीमा आएर त्रुटिरहित मानिसको रूपमा सेवा गर्दा अनि स्वर्ग फर्केर महिमित पारिनुभएपछि पनि उहाँलाई यो पदवी दिइएको पाउँछौँ। अरू स्वर्गदूतहरूलाई अनि मानिसहरूलाई परमेश्वरबाट आएको जानकारी र निर्देशन दिन येसुले परमेश्वरको वचन अर्थात् प्रवक्ताको रूपमा काम गर्नुभयो। त्यसैले येसु पृथ्वीमा आउनुअघि यहोवा परमेश्वर आफ्नो वचन, आफ्नो प्रवक्ता येसुमार्फत मानिसहरूसित कुरा गर्नुहुन्थ्यो भन्न सक्छौँ।—उत्प १६:७-११; २२:११; ३१:११; प्रस्थ ३:२-५; न्या २:१-४; ६:११, १२; १३:३.
सित: शा., “तर्फ।” यस प्रसङ्गमा ग्रीक नामयोगी प्रोस-ले नजिकको सम्बन्ध अनि सहकार्यलाई बुझाउँछ। साथै, यसले दुई फरक व्यक्तिलाई पनि बुझाउँछ। यस प्रसङ्गमा यो ग्रीक नामयोगीले वचन र एक मात्र साँचो परमेश्वर फरक-फरक व्यक्ति हुनुहुन्छ भनेर देखाउँछ।
वचन ईश्वर हुनुहुन्थ्यो: वा “वचन ईश्वरीय हुनुहुन्थ्यो [वा, “ईश्वरजस्तै हुनुहुन्थ्यो”]।” युहन्नाको यस वाक्यले “वचन” (ग्रीकमा, हो लोगोस; यसै पदको वचन शीर्षकको अध्ययन नोट हेर्नुहोस्) अर्थात् येसु ख्रिष्टको एउटा गुण वा विशेषताबारे वर्णन गर्छ। येसु यहोवा परमेश्वरको जेठो छोरा हुनुहुन्छ अनि उहाँमार्फत नै परमेश्वरले बाँकी सबै कुरा सृष्टि गर्नुभयो। यस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले येसुलाई “ईश्वर; ईश्वरजस्तै; ईश्वरीय” भन्न सुहाउँछ। थुप्रै अनुवादकले यस अभिव्यक्तिलाई “वचन परमेश्वर हुनुहुन्थ्यो” भनेर अनुवाद गरेका छन्; यसरी तिनीहरूले येसु र सर्वशक्तिमान् परमेश्वर बराबर हुनुहुन्छ भनेर सङ्केत गरेका छन्। तर युहन्नाले “वचन” र परमेश्वर एउटै हुनुहुन्छ भनेर बताउन खोजिरहेका थिएनन् भन्न सक्ने ठोस कारणहरू छन्। पहिलो, यस अभिव्यक्तिको अगाडि र पछाडिका वाक्यहरूमा ‘वचन परमेश्वरसित हुनुहुन्थ्यो’ भनेर बताइएको छ। साथै, पद १ र २ मा ग्रीक शब्द थिओस तीन पटक प्रयोग गरिएको छ। पहिलो र तेस्रो चोटि प्रयोग गरिँदा ग्रीक भाषामा थिओस शब्दको अगाडि अर्को ग्रीक शब्द हो पनि प्रयोग गरिएको छ तर दोस्रो चोटि प्रयोग गरिँदा भने हो शब्द प्रयोग गरिएको छैन। यसरी दोस्रो चोटि थिओस शब्द उल्लेख गरिँदा त्यसको अगाडि हो प्रयोग नगरिनु उल्लेखनीय छ भनी थुप्रै बाइबलविद्हरू बताउँछन्। यस प्रसङ्गमा थिओस शब्दको अगाडि हो आउँदा त्यसले सर्वशक्तिमान् परमेश्वरलाई चिनाउँछ तर हो प्रयोग नगरिँदा भने थिओस शब्दले विशेषणको काम गर्छ र “वचन”-को गुण वा विशेषताबारे बताउँछ। त्यसैले अङ्ग्रेजी, फ्रान्सेली अनि जर्मन भाषाका थुप्रै बाइबल अनुवादहरूमा यस वाक्यलाई नयाँ संसार अनुवाद-मा जसरी नै अनुवाद गरिएको छ। अनि ती अनुवादहरूले ‘वचन ईश्वरजस्तै; ईश्वरीय हुनुहुन्थ्यो’ भन्ने अर्थ दिन्छ। यो कुरालाई समर्थन गर्ने अर्को आधार पनि छ। सम्भवतः तेस्रो वा चौथो शताब्दीतिर युहन्नाको किताबलाई कप्टिक भाषाका साहिडिक अनि बोहाइरिक जस्ता उपभाषाहरूमा अनुवाद गरियो। ती अनुवादहरूमा युह १:१ मा थिओस शब्दलाई पहिलो पटक देखा परेको ठाउँ र दोस्रो पटक देखा परेको ठाउँमा भिन्नाभिन्नै तरिकामा अनुवाद गरिएको छ। ती अनुवादहरूमा “वचन” ईश्वरजस्तै हुनुहुन्छ भनेर “वचन”-को गुणबारे बताइएको छ तर वचन र उहाँको बुबा, सर्वशक्तिमान् परमेश्वर बराबर हुनुहुन्छ भनेर बताइएको छैन। यस पदसित मेल खाने अर्को पद कल २:९ मा येसुमा “परमेश्वरका गुणहरू पूर्ण छन्” भनेर बताइएको छ। अनि २प १:४ मा येशूका सङ्गी उत्तराधिकारीहरू समेत ‘परमेश्वरजस्तै अदृश्य हुनेछन्’ भनेर बताइएको छ। साथै, हिब्रू भाषामा प्रयोग गरिएको ‘ईश्वर’ अर्थ दिने एल अनि एलोहिम शब्दलाई अनुवाद गर्न सेप्टुआजिन्ट बाइबलमा प्रायजसो ग्रीक शब्द थिओस चलाइएको छ। ती हिब्रू शब्दहरूको अर्थ “शक्तिशाली; बलवान्” हो भन्ने मान्यता छ। ती हिब्रू शब्दहरू सर्वशक्तिमान् परमेश्वर, अन्य देवता अनि मानिसहरूलाई बुझाउन प्रयोग गरिन्थ्यो। वचनलाई “ईश्वर” वा “शक्तिशाली” भनेर सम्बोधन गरिनु यसै ९:६ सित पनि मेल खान्छ, जसमा मसीह “शक्तिशाली ईश्वर” (“सर्वशक्तिमान् परमेश्वर” त होइन) कहलाइनुहुनेछ अनि उहाँको प्रजा बन्ने सुअवसर पाएकाहरूका लागि “युगयुगका पिता” हुनुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो। उहाँको बुबा “सेनाहरूका यहोवाको” जोसले गर्दा यो सम्भव हुनेथियो।—यसै ९:७.
nwtsty-E युह १:२९ को अध्ययन नोट
परमेश्वरको पाठो: येसुले बप्तिस्मा गरिसक्नुभएपछि अनि सैतानका प्रलोभनहरूको सामना गरेर फर्किसक्नुभएपछि बप्तिस्मा गराउने युहन्नाले उहाँलाई “परमेश्वरको पाठो” भनेर मानिसहरूसामु चिनाए। हामी यो अभिव्यक्ति यस पद र युह १:३६ मा मात्र पाउँछौँ। (अतिरिक्त लेख क७ हेर्नुहोस्।) येसुलाई पाठोसित तुलना गरिनु सुहाउँदो छ। बाइबलका विभिन्न विवरणहरू हेर्ने हो भने पापको प्रायश्चित गर्न अनि परमेश्वरसितको सम्बन्ध पुनर्स्थापित गर्न भेडाहरूको बलि चढाइन्थ्यो भन्ने कुरा थाह पाउँछौँ। ती बलिदानहरूले येसुले मानिसजातिको लागि आफ्नो त्रुटिरहित शरीर बलिदानस्वरूप अर्पण गर्नुहुने कुरालाई पूर्वचित्रण गर्थ्यो। “परमेश्वरको पाठो” भन्ने अभिव्यक्तिले प्रेरित धर्मशास्त्रमा उल्लेख गरिएको विभिन्न कुरालाई सङ्केत गरेको हुनुपर्छ। बप्तिस्मा गराउने युहन्नासित हिब्रू धर्मशास्त्रको राम्रो ज्ञान थियो। त्यसैले तिनले प्रयोग गरेको अभिव्यक्तिले निम्नमध्ये कुनै एउटा वा एउटाभन्दा धेरै कुरालाई सङ्केत गरेको हुनुपर्छ: अब्राहामले आफ्नो छोरा इसहाकको सट्टामा बलि चढाएको भेडा (उत्प २२:१३), मिश्रमा दासत्वमा परेका इस्राएलीहरूले मारेको पाठो, जसले गर्दा तिनीहरूको लागि छुटकाराको बाटो खुलेको थियो (प्रस्थ १२:१-१३) वा यरुसलेममा परमेश्वरको वेदीमा हरेक दिन बिहान र साँझ चढाइने पाठो (प्रस्थ २९:३८-४२)। युहन्नाको मनमा यसैयाको भविष्यवाणी पनि आएको हुन सक्छ, जहाँ यहोवाको “सेवक”-लाई “काट्न लागिएको भेडाझैँ . . . लगियो” भनेर बताइएको छ। (यसै ५२:१३; ५३:५, ७, ११) कोरिन्थका ख्रिष्टियनहरूलाई पहिलो पत्र लेख्दा प्रेषित पावलले येसुलाई “हाम्रो निस्तारको पाठो” भनेका छन्। (१को ५:७) प्रेषित पत्रुसले “निष्खोट अनि बेदाग पाठो अर्थात् ख्रिष्टको अमूल्य रगत”-बारे बताएका छन्। (१प १:१९) अनि प्रकाशको किताबमा २५ भन्दा धेरै पटक महिमित येसुलाई प्रतीकात्मक अर्थमा “पाठो” भनिएको छ।—यसका केही उदाहरणहरू: प्रका ५:८; ६:१; ७:९; १२:११; १३:८; १४:१; १५:३; १७:१४; १९:७; २१:९; २२:१.
सेप्टेम्बर १०-१६
बाइबलमा पाइने अनमोल धन | युहन्ना ३-४
“येसुले सामरी स्त्रीलाई साक्षी दिनुभयो”
nwtsty-E युह ४:६ को अध्ययन नोट
थाक्नुभएको: येसु “थाक्नुभएको” कुरा धर्मशास्त्रमा यही पदमा मात्र उल्लेख गरिएको छ। त्यतिबेला दिउँसोको लगभग बाह्र बजेको थियो अनि सायद त्यस बिहान उहाँले यहुदियाको यर्दन उपत्यकादेखि सामरियाको सुखार भनिने सहरसम्मको यात्रा गर्नुभएको थियो। उहाँले ९०० मिटर (३००० फिट) भन्दा लामो ठाडो उकालो बाटोमा यात्रा गर्नुभएको थियो।—युह ४:३-५; अतिरिक्त लेख क७ हेर्नुहोस्।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E युह ३:२९ को अध्ययन नोट
दुलहाको साथी: बाइबलकालीन समयमा दुलहाको नजिकका साथीले तिनको कानुनी प्रतिनिधिको भूमिका निभाउँथे अनि विवाहको सबै चाँजोपाँजो मिलाउने काममा पनि मुख्य भूमिका खेल्थे। उनलाई दुलहा र दुलही मिलाइदिने व्यक्तिको रूपमा हेरिन्थ्यो। विवाहको दिनमा जन्ती दुलहा वा तिनको बुबाको घरमा आइपुग्थ्यो अनि त्यहाँ विवाह-भोज सुरु हुन्थ्यो। विवाह-भोजमा दुलहाले दुलहीसित कुरा गर्दा दुलहाको स्वर सुनेपछि तिनको साथी खुसी हुन्थे। किनकि उनलाई आफ्नो जिम्मेवारी राम्ररी पूरा गरेँ भन्ने महसुस हुन्थ्यो। बप्तिस्मा गराउने युहन्नाले आफूलाई “दुलहाको साथी”-सित तुलना गरे। यस सन्दर्भमा दुलहा येसु हुनुहुन्थ्यो अनि उहाँका चेलाहरू समूहको रूपमा उहाँको प्रतीकात्मक दुलही थिए। मसीहको बाटो तयार पार्दै बप्तिस्मा गराउने युहन्नाले येसु ख्रिष्टको “दुलही”-को सुरुका सदस्यहरूसित उहाँको परिचय गराए। (युह १:२९, ३५; २को ११:२; एफि ५:२२-२७; प्रका २१:२, ९) यसरी परिचय गराइसकेपछि “दुलहाको साथी”-को जिम्मेवारी पूरा भयो र त्यसपछि उनको भूमिका त्यत्ति महत्त्वपूर्ण हुने थिएन। युहन्ना आफैले पनि येशूको भूमिका र आफ्नो भूमिकाबारे यसो भनेका थिए: “उहाँ बढ्दै जानुपर्छ तर म भने घट्दै जानुपर्छ।”—युह ३:३०.
nwtsty-E युह ४:१० को अध्ययन नोट
जीवन दिने पानी: शा., “जीवित पानी।” यस ग्रीक अभिव्यक्तिको शाब्दिक अर्थ बगिरहेको पानी, मूलको पानी वा विभिन्न मुहानबाट पानी जम्मा भएर बनेको इनारको पानी भन्ने हुन्छ। यसले भाँडामा वा कुनै ठाउँमा जम्मा गरेर राखिएको पानीलाई बुझाउँदैन, जुन अचल अवस्थामा हुन्छ। लेवी १४:५ मा “खोलाको पानी” भनी अनुवाद गरिएको हिब्रू अभिव्यक्तिको शाब्दिक अर्थ “जीवित पानी” भन्ने हुन्छ। यर्मि २:१३ र १७:१३ मा यहोवा “जीवित पानीको मूल,” “जीवन दिने पानीको मूल” अर्थात् जीवन दिने प्रतीकात्मक पानीको मूल हुनुहुन्छ भनेर बताइएको छ। सामरी स्त्रीसित कुरा गर्नुहुँदा येसुले “जीवन दिने पानी” भन्ने अभिव्यक्ति प्रतीकात्मक अर्थमा प्रयोग गर्नुभएको थियो तर ती स्त्रीले सुरुमा उहाँ साँच्चैको पानीबारे कुरा गर्दै हुनुहुन्छ भन्ठानिन् जस्तो देखिन्छ।—युह ४:११.
सेप्टेम्बर १७-२३
बाइबलमा पाइने अनमोल धन | युहन्ना ५-६
“उचित मनसाय राखेर येसुलाई पछ्याउनुहोस्”
nwtsty-E युह ६:१० को अध्ययन नोट
लगभग ५ हजार पुरुष थिए: यस चमत्कारबारे उल्लेख गर्दा मत्तिले मात्र त्यहाँ “स्त्री र साना केटाकेटी” पनि थिए भनेर बताए। (मत्ति १४:२१) त्यसैले येसुले चमत्कारपूर्ण तरिकामा खुवाउनुहुँदा त्यहाँ खाने मानिसहरूको सङ्ख्या १५,००० नाघेको हुन सक्छ।
nwtsty-E युह ६:१४ को अध्ययन नोट
भविष्यवक्ता: प्रथम शताब्दीका थुप्रै यहुदीहरू व्य १८:१५, १८ मा उल्लेख गरिएका मोसाजस्ता भविष्यवक्ताको पर्खाइमा थिए, जो मसीह हुनेथिए। प्रसङ्ग विचार गर्ने हो भने संसारमा आउने भन्ने अभिव्यक्तिले मसीह देखा पर्ने कुरालाई बुझाएको हुनुपर्छ। यस पदमा बताइएको विवरण युहन्नाले मात्र उल्लेख गरेका छन्।
nwtsty-E युह ६:२७, ५४ को अध्ययन नोट
नाश भएर जाने खानेकुरा . . . सधैँभरि रहिरहने र . . . अनन्त जीवन दिने खानेकुरा: कोही-कोही मानिसहरू केवल भौतिक लाभको लागि मात्र उहाँ र उहाँका चेलाहरूको पछि लागिरहेका छन् भनेर येसुलाई थाह थियो। हुनत भौतिक खानेकुराले मानिसलाई हरेक दिन जिउन मदत गर्छ तर परमेश्वरको वचनबाट पाइने “खानेकुरा”-ले भने मानिसहरूलाई अनन्त जीवन पाउन मदत गर्छ। येसुले मानिसहरूलाई ‘सधैँभरि रहिरहने र अनन्त जीवन दिने खानेकुरा’-को लागि परिश्रम गर्न अर्थात् आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्न अनि आफूले सिकेका कुरामा विश्वास गर्न आज्ञा दिनुभयो।—मत्ति ४:४; ५:३; युह ६:२८-३९.
मेरो शरीर खान्छ र मेरो रगत पिउँछ: प्रसङ्ग विचार गर्ने हो भने मानिसहरूले येसु ख्रिष्टमाथि विश्वास गरेर प्रतीकात्मक अर्थमा उहाँको शरीर खानु र रगत पिउनुपर्छ भनेर उहाँले बताउँदै हुनुहुन्थ्यो। (युह ६:३५, ४०) येसुले यो कुरा इस्वी संवत् ३२ तिर भन्नुभएको थियो। त्यसैले उहाँले प्रभुको साँझको भोजबारे बताइरहनुभएको त थिएन, जुन उहाँले एक वर्षपछि मात्र स्थापना गर्नुहुने थियो। यस पदका शब्दहरू येसुले “यहुदीहरूको निस्तार चाड” आउनुअघि बताउनुभएको थियो। (युह ६:४) त्यसैले उहाँको कुरा सुन्नेहरूको मनमा आउनै लागेको निस्तार चाडको अनि मिश्र छोड्नुअघि इस्राएलीहरूको जीवन जोगाउन पाठोको रगतले खेलेको महत्त्वपूर्ण भूमिकाको सम्झना आएको हुनुपर्छ। (प्रस्थ १२:२४-२७) त्यसैगरि, आफूले बगाउने रगतले पनि चेलाहरूको लागि अनन्त जीवनको बाटो खोल्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरालाई येसु जोड दिँदै हुनुहुन्थ्यो।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E युह ६:४४ को अध्ययन नोट
नखिचेसम्म: हुनत यहाँ “खिच्नु” भनेर अनुवाद गरिएको ग्रीक क्रिया माछाले भरिएको जाल तान्ने कुरालाई बुझाउन प्रयोग गरिन्छ (युह २१:६, ११) तर यसको अर्थ परमेश्वर मानिसहरूलाई तिनीहरूको इच्छाविपरित जबरजस्ती आफूतिर तान्नुहुन्छ भन्ने होइन। यहाँ प्रयोग गरिएको ग्रीक क्रियाको अर्थ “आकर्षित गर्नु” भन्ने पनि हुन्छ। सायद येसुले यर्मि ३१:३ मा बताइएको कुरालाई सङ्केत गर्नुभएको पनि हुन सक्छ, जहाँ यहोवाले आफ्ना जनहरूलाई यसो भन्नुभएको पाउँछौँ: “मैले तिमीलाई अटल प्रेम देखाएर आफूतिर खिचेको छु।” (सेप्टुआजिन्ट-मा यस पदमा युह ६:४४ मा प्रयोग गरिएकै ग्रीक क्रिया प्रयोग गरिएको छ।) त्यसैगरि येसु पनि हरकिसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नुहुन्छ भनेर युह १२:३२ मा बताइएको छ। यहोवाले मानिसहरूलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ भनेर धर्मशास्त्रले देखाउँछ। उहाँको सेवा गर्ने कि नगर्ने भनेर हरेकले आफै निर्णय गर्न सक्छन्। (व्य ३०:१९, २०) उचित मनसाय भएका व्यक्तिहरूलाई यहोवा कोमल तरिकामा आफूतर्फ खिच्नुहुन्छ। (भज ११:५; हित २१:२; प्रे १३:४८) यहोवा बाइबलको सन्देशमार्फत अनि आफ्नो पवित्र शक्तिमार्फत यसो गर्नुहुन्छ। युह ६:४५ मा उद्धृत गरिएको यसै ५४:१३ को भविष्यवाणी यहोवाले आफूतर्फ खिच्नुभएका व्यक्तिहरूको सन्दर्भमा लागू हुन्छ।—युह ६:६५ तुलना गर्नुहोस्।
nwtsty-E युह ६:६४ को अध्ययन नोट
कसले आफूलाई धोका दिनेछ भनेर येसुलाई . . . थाह थियो: येसु यहुदा इस्करियोतबारे बताउँदै हुनुहुन्थ्यो। बाह्र प्रेषित छान्नुअघि येसुले रातभरि आफ्नो बुबालाई प्रार्थना गर्नुभएको थियो। (लुका ६:१२-१६) त्यसैले सुरुमा यहुदा परमेश्वरप्रति वफादार थिए। तर हिब्रू धर्मशास्त्रका विभिन्न भविष्यवाणीहरूबाट येसुले आफ्नो एक जना घनिष्ठ साथीले आफूलाई धोका दिनेछ भन्ने कुरा थाह पाउनुभएको थियो। (भज ४१:९; १०९:८; युह १३:१८, १९) येसु मानिसको सोचाइ अनि हृदयमा भएको कुरा थाह पाउन सक्नुहुन्थ्यो। त्यसैले जब यहूदा दुष्ट हुँदै जान थाले, तब येसुले तिनको हृदयमा आएको परिवर्तन याद गर्नुभयो। (मत्ति ९:४) यहोवासित भविष्यबारे थाह पाउन सक्ने क्षमता छ। त्यसैले येसुले भरोसा गर्ने एक जना साथीले उहाँलाई धोका दिनेछ भनेर यहोवालाई थाह थियो। तर यहोवाका गुणहरू अनि उहाँले विगतमा मानिसहरूसित गर्नुभएको व्यवहारलाई विचार गर्ने हो भने यहुदाले नै येसुलाई धोका दिनेछ भनेर यहोवाले पहिल्यै पूर्वनिर्धारण गर्नुभएको थियो भनेर सोच्नु उचित देखिँदैन।
पहिल्यैदेखि: शा., “सुरुदेखि।” यस शब्दले यहुदाको जन्म भएको समय वा येसुले रातभरि प्रार्थना गरेपछि तिनलाई प्रेषितको रूपमा छान्नुभएको समयलाई बुझाउँदैन। (लुका ६:१२-१६) बरु यसले यहुदाको हृदयमा दुष्ट विचार आउन थालेको समयलाई बुझाउँछ, जुन येसुले तुरुन्तै थाह पाउनुभएको थियो। (युह २:२४, २५; प्रका १:१; २:२३) साथै यस शब्दबाट हामी के पनि बुझ्न सक्छौँ भने यहुदाले जे गरे, त्यो हृदयमा एक्कासि आएको परिवर्तनले गर्दा गरिएका काम थिएनन्। तिनले जे गरे, पहिल्यै राम्ररी सोचविचार गरेर अनि योजना बनाएर गरे। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा “पहिल्यै” वा “सुरु” भनेर अनुवाद गरिएको ग्रीक शब्द आर्खे-ले प्रसङ्गअनुसार फरक-फरक समयलाई बुझाउँछ। उदाहरणको लागि, २प ३:४ मा “सुरुवातदेखि” भन्ने शब्दले सृष्टिको सुरुवातलाई बुझाउँछ। तर अधिकांश विवरणहरूमा भने यसले खासै लामो समय अगाडिको कुरालाई बुझाउँदैन। जस्तै, प्रेषित पत्रुसले पवित्र शक्ति अन्य जातिका मानिसहरूमाथि आयो, “जसरी सुरुमा हामीमाथि पनि आएको थियो” भनेर बताए। (प्रे ११:१५) पत्रुसले यहाँ आफू जन्मेको समय वा आफूलाई प्रेषितको रूपमा छानिएको समयबारे बताइरहेका थिएनन्। बरु तिनले इस्वी संवत् ३३ पेन्तिकोसको दिनबारे बताइरहेका थिए। त्यतिबेला परमेश्वरले खास उद्देश्यको लागि पवित्र शक्ति खन्याउन ‘सुरु’ गर्नुभएको थियो। (प्रे २:१-४) “सुरुदेखि” भन्ने शब्दले प्रसङ्गअनुसार कसरी फरक-फरक समयलाई बुझाउँछ भन्नेबारे थप उदाहरणहरू लुका १:२; युह १५:२७ र १यु २:७ मा पाउन सक्छौँ।
सेप्टेम्बर २४-३०
बाइबलमा पाइने अनमोल धन | युहन्ना ७-८
“येसुले आफ्नो बुबाको महिमा गर्नुभयो”
cf-E पृ. १००-१०१ अनु. ५-६
“यस्तो लेखिएको छ”
५ आफ्नो सन्देश कसबाट आएको हो भनेर मानिसहरूले बुझेको येसु चाहनुहुन्थ्यो। उहाँले यसो भन्नुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।” (युह ७:१६) अर्को पटक उहाँले यसो भन्नुभयो: “म आफूखुसी केही पनि गर्दिनँ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, ती नै कुराहरू बोल्छु।” (युह ८:२८) साथै उहाँले यसो पनि भन्नुभयो: “म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ तर मसित एकतामा हुनुहुने बुबाले मद्वारा आफ्नो काम गर्दै हुनुहुन्छ।” (युह १४:१०) बारम्बार परमेश्वरको लिखित वचनबाट उद्धरण गरेर येसुले आफूले भनेको यी कुरा सत्य हो भनेर प्रमाणित गर्नुभयो।
६ बाइबलमा लिपिबद्ध येसुका शब्दहरू राम्ररी अध्ययन गर्ने हो भने उहाँले हिब्रू धर्मशास्त्रका आधाभन्दा धेरै किताबबाट प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गमा उद्धरण गर्नुभएको कुरा थाह पाउँछौँ। यो कुरा सुरुमा त्यति उल्लेखनीय नलाग्ला। हामीलाई लाग्ला, येसुले साढे तीन वर्ष मानिसहरूलाई सिकाउने र प्रचार गर्ने काम गर्नुभयो, उहाँले त प्रेरित धर्मशास्त्रका सबै किताबबाट उद्धरण गर्नुपर्ने होइन र? तर वास्तवमा उहाँले सबै किताबबाट उद्धरण गर्नुभएको हुन पनि सक्छ। याद गर्नुहोस्, बाइबलमा येसुले भन्नुभएका र गर्नुभएका कुराहरूमध्ये केही मात्र रेकर्ड गरिएका छन्। (युह २१:२५) साँच्चै भन्ने हो भने बाइबलमा रेकर्ड गरिएका येसुका भनाइहरू ठूलो स्वरमा सरर्र पढ्ने हो भने केही घण्टामा नै पढिसिद्ध्याउन सक्छौँ। अब सोच्नुहोस्, केही घण्टामै पढिसिद्ध्याउन सकिने भनाइहरूमा त येसुले हिब्रू धर्मशास्त्रको आधाभन्दा धेरै किताबबाट उद्धरण गर्नुभयो भने आफ्नो सेवाको दौडान उहाँले सबै किताबबाट उद्धरण गर्नुभएन होला र! साथै, विचार गर्नुपर्ने अर्को कुरा, मानिसहरूलाई सिकाउँदा अधिकांश समयमा येसुसित धर्मशास्त्रका मुठाहरू थिएन। प्रसिद्ध डाँडाको उपदेश दिनुहुँदा उहाँले थुप्रै पटक हिब्रू धर्मशास्त्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गमा उद्धरण गर्नुभयो, त्यो पनि आफ्नो स्मरणशक्ति प्रयोग गरेर!
बहुमूल्य रत्न खोजौँ
nwtsty-E युह ८:५८ को अध्ययन नोट
म थिएँ: येसुले आफूले ‘अब्राहामलाई देखेको’ कुरा बताउनुहुँदा उहाँको विरोध गर्ने यहुदीहरूले उहाँलाई ढुङ्गाले हान्न खोजे। किनभने तिनीहरूको भनाइअनुसार येसु ‘५० वर्ष पनि पुग्नुभएको थिएन।’ (युह ८:५७) येसु तिनीहरूलाई आफू मानिस भएर जन्मनुअघि अनि अब्राहाम जन्मनुभन्दा पनि अघि नै स्वर्गमा शक्तिशाली स्वर्गदूतको रूपमा अस्तित्वमा थिएँ भनी बुझाउन चाहनुहुन्थ्यो। यस पदले येसु परमेश्वर हुनुहुन्छ भनेर देखाउँछ भनी कोही-कोही दाबी गर्छन्। तिनीहरू यहाँ प्रयोग गरिएको ग्रीक अभिव्यक्ति एगो एइमी (कुनै-कुनै बाइबलमा यस अभिव्यक्तिलाई “म हुँ” भनेर अनुवाद गरिएको छ) सेप्टुआजिन्ट बाइबलको प्रस्थ ३:१४ बाट उद्धरण गरिएको हो र ती दुवै पदलाई एउटै तरिकामा अनुवाद गर्नुपर्छ भनेर तर्क गर्छन्। तर यस प्रसङ्गमा ग्रीक क्रिया एइमी-ले येसु “अब्राहाम अस्तित्वमा आउनुभन्दा” अघिदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो र त्यसबेलासम्म पनि अस्तित्वमा हुनुहुन्थ्यो भनेर बुझाउँछ। त्यसैले यस अभिव्यक्तिलाई “म हुँ”-को सट्टा “म थिएँ” भनेर भूतकालमा अनुवाद गर्नु उचित छ। निकै अघिका थुप्रै अनुवादलगायत विभिन्न आधुनिक अनुवादहरूमा पनि यस अभिव्यक्तिलाई यसरी नै अनुवाद गरिएको छ। रोचक कुरा, युह १४:९ मा पनि ग्रीक क्रिया एइमी-लाई भूतकालमै अनुवाद गरिएको छ: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप?” अरू थुप्रै अनुवादमा पनि यस्तै शब्दहरू प्रयोग गरिएको छ। यसबाट हामी ग्रीक क्रिया एइमी-लाई “म थिएँ” भनेर भूतकालमा अनुवाद गर्नु व्याकरणका हिसाबले सही छ भनेर थाह पाउँछौँ। साथै, येसुले युह ८:५४, ५५ मा भन्नुभएका शब्दहरू विचार गर्ने हो भने पनि उहाँले आफू र आफ्नो बुबा एउटै व्यक्ति हो भन्न खोजिरहनुभएको थिएन भनेर बुझ्न सक्छौँ।