प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs अध्या. ३ पृ. २९-३९
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको शत्रु
  • यस संसारको मालिक को हो?
  • सैतानको संसार सधैँभरि टिक्नेछैन
  • नयाँ संसार नजिकै छ!
  • किन यति धेरै दुःख अनि पीडा?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • अरू हामीभन्दा उच्च छन्‌
    महान्‌ शिक्षकबाट सिकौं
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • अदनको बगैँचामा जीवन कस्तो थियो?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs अध्या. ३ पृ. २९-३९

अध्याय तीन

परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?

१. परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?

परमेश्‍वरले राम्रो उद्देश्‍य लिएर मानिसजाति बनाउनुभएको थियो। उहाँले पहिलो मानव दम्पती आदम र हव्वा सृष्टि गरेर सुन्दर बगैँचामा राख्नुभयो। तिनीहरूले छोराछोरी जन्माऊन्‌, पूरै पृथ्वीलाई प्रमोदवन बनाऊन्‌ र पशुपक्षीको हेरचाह गरून्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्थ्यो।—उत्पत्ति १:२८; २:८, ९, १५; नोट ७ हेर्नुहोस्‌।

२. (क) परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ? (ख) बाइबलले कस्ता मानिसहरू सधैँभरि बाँच्नेछन्‌ भनेर बताउँछ?

२ अहिले यो संसार जुन हालतमा छ, त्यो विचार गर्दा के तपाईँलाई हामीले कुनै दिन प्रमोदवनमा जीवन बिताउन पाउँछौँ जस्तो लाग्छ? खुसीको कुरा, यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ: “मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।” (यसैया ४६:९-११; ५५:११) हो, उहाँले जुन उद्देश्‍य राखेर पृथ्वी अनि मानिसजाति बनाउनुभयो, त्यो पक्कै पूरा गर्नुहुन्छ। उहाँलाई कुनै कुराले रोक्न सक्दैन। यहोवा परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुको खास कारण थियो। “उहाँले व्यर्थैमा त्यो बनाउनुभएन।” (यसैया ४५:१८) उहाँ पृथ्वी मानिसहरूले भरिएको चाहनुहुन्छ। तर उहाँ कस्ता मानिसहरूले पृथ्वी भरिएको चाहनुहुन्छ? अनि तिनीहरू कहिलेसम्म बाँचून्‌ भनेर चाहनुहुन्छ? बाइबल भन्छ: “धर्मीहरूले [अर्थात्‌, आज्ञाकारी मानिसहरूले] पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९; प्रकाश २१:३, ४.

३. अहिले पृथ्वीको हालत देख्दा हाम्रो मनमा कस्तो प्रश्‍न उठ्‌न सक्छ?

३ तर अहिले मानिसहरू बिरामी हुन्छन्‌ अनि तिनीहरूको मृत्यु हुन्छ। थुप्रै ठाउँमा मानिसहरू लडाइँ गरिरहेका छन्‌ र एकअर्काको ज्यान लिइरहेका छन्‌। यस्तो होस्‌ भनेर परमेश्‍वरले पक्कै चाहनुभएको थिएन। त्यसोभए परमेश्‍वरको उद्देश्‍य किन पूरा भएन त? बाइबलले मात्र यसको जवाफ दिन्छ।

परमेश्‍वरको शत्रु

४, ५. (क) अदनको बगैँचामा हव्वासित बोल्ने व्यक्‍ति वास्तवमा को थियो? (ख) सोझो अनि इमानदार मानिससमेत कसरी चोर बन्‍न सक्छ?

४ बाइबलले परमेश्‍वरको एउटा शत्रु छ भनेर बताउँछ, जसलाई “दियाबल अनि सैतान” भनिएको छ। सैतानले अदनको बगैँचामा सर्पलाई आफ्नो कठपुतली बनाएर हव्वासित कुरा गऱ्‍यो। (प्रकाश १२:९; उत्पत्ति ३:१) हव्वालाई सर्पले नै बोलेजस्तो लाग्यो।—नोट ८ हेर्नुहोस्‌।

५ त्यसोभए के सैतानलाई पनि परमेश्‍वरले नै बनाउनुभएको थियो? थिएन! परमेश्‍वरले पृथ्वी बनाउनुहुँदा स्वर्गमा भएको एक जना स्वर्गदूतको बुद्धि भ्रष्ट भयो र त्यसले आफूलाई दियाबल बनायो। (अय्युब ३८:४, ७) कसरी त्यस्तो भयो? सोझो अनि इमानदार मानिस कसरी चोर बन्‍न सक्छ, विचार गर्नुहोस्‌। ऊ जन्मँदै चोर त हुँदैन। तर उसले अरूको कुराको लोभ गर्छ। त्यो कुरालाई कसरी आफ्नो बनाउने भनेर उसले मनमा खेलाइरहन्छ र उसको त्यस्तो कुइच्छा झन्‌झनै बढ्‌दै जान्छ। अन्तमा मौका पाउनेबित्तिकै उसले त्यो कुरा चोर्छ। यसरी ऊ आफ्नै कामले गर्दा चोर बन्छ।—याकुब १:१३-१५ पढ्‌नुहोस्‌; नोट ९ हेर्नुहोस्‌।

६. एक जना स्वर्गदूत कसरी परमेश्‍वरको शत्रु बन्‍न पुग्यो?

६ यहोवा परमेश्‍वरले आदम र हव्वालाई बनाउनुभएपछि तिनीहरूलाई छोराछोरी जन्माएर ‘पृथ्वी भर्दै जाओ’ भन्‍नुभयो। (उत्पत्ति १:२७, २८) यो सुनेर त्यस स्वर्गदूतले यस्तो सोचेको हुनुपर्छ, ‘मानिसको सबै शाखासन्तानले यहोवाको सट्टा मेरो उपासना गरे कत्ति बेस हुन्थ्यो!’ मानिसजातिले चढाउने उपासनामाथि यहोवाको मात्र हक लाग्छ। तर त्यस स्वर्गदूतले आफ्नो हक नलाग्ने कुरा कसरी पाउने भनेर आफ्नो मनमा खेलाइरह्‍यो, जसले गर्दा उसको कुइच्छा झन्‌झन्‌ बढ्‌दै गयो। त्यो स्वर्गदूत मानिसहरूले त्यसको उपासना गरोस्‌ भनेर चाहन्थ्यो। यसकारण त्यसले हव्वासित झूट बोल्यो र उनलाई बहकायो। (उत्पत्ति ३:१-५ पढ्‌नुहोस्‌) यसरी त्यो स्वर्गदूत परमेश्‍वरको शत्रु अर्थात्‌ सैतान बन्यो।

७. (क) आदम र हव्वा किन मरे? (ख) हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ?

७ परमेश्‍वरले आदम र हव्वालाई एउटा रूखको फल नखानू भन्‍नुभएको थियो। तर तिनीहरूले यहोवा परमेश्‍वरको कुरा मानेनन्‌। (उत्पत्ति २:१७; ३:६) उहाँको आज्ञा नमानेर तिनीहरूले पाप गरे। त्यसैले उहाँले भन्‍नुभएझैँ पछि तिनीहरू मरे। (उत्पत्ति ३:१७-१९) आदम र हव्वाका छोराछोरी गर्भैदेखि पापी भएकोले उनीहरू पनि मर्नुपऱ्‍यो। (रोमी ५:१२ पढ्‌नुहोस्‌) आदम र हव्वाका छोराछोरी कसरी गर्भैदेखि पापी भए भनेर बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्‌। मानौँ, तपाईँ तावामा रोटी बनाउँदै हुनुहुन्छ र त्यो तावामा प्वाल परेको छ। तपाईँले त्यस तावामा जति वटा रोटी बनाए पनि प्वाल परेको भागमा रोटी डढ्‌छ र कालो दाग बस्छ। आदम र हव्वाले परमेश्‍वरको आज्ञा नमान्दा तिनीहरू पापी भए। आदम र हव्वाले पाप गरेपछि मात्र तिनीहरूले छोराछोरी जन्माएको हुनाले आदम र हव्वाको पापको “दाग” हामीलाई पनि लाग्यो। हामी सबै जना पापी हौँ, त्यसैले बूढाबूढी हुन्छौँ र मर्छौँ।—रोमी ३:२३; नोट १० हेर्नुहोस्‌।

८, ९. (क) सैतानले आदम र हव्वाको मनमा कस्तो गलत विचार हाल्न खोज्दै थियो? (ख) यहोवा परमेश्‍वरले सैतान अनि आदम र हव्वालाई किन तुरुन्तै नाश गर्नुभएन?

८ सैतानको कुरा पत्याएर आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌। यसरी सैतानले यहोवा परमेश्‍वरको विद्रोहको बिउ रोप्यो। आदम र हव्वाले यहोवा परमेश्‍वर झूट बोल्नुहुन्छ, उहाँ खराब शासक हुनुहुन्छ, त्यसैले उनीहरूको भलो चिताउनुहुन्‍न भन्ठानेको सैतान चाहन्थ्यो। सैतानले वास्तवमा तिनीहरूको मनमा यस्तो गलत विचार हाल्न खोज्दै थियो: ‘के गर्नुपर्छ भनेर परमेश्‍वरले सिकाइराख्नु पर्दैन। के असल, के खराब हामी आफैले छुट्ट्याउन सक्छौँ।’ अब यहोवा परमेश्‍वरले के गर्नुहुने थियो? उहाँले सैतान अनि आदम र हव्वालाई तुरुन्तै नाश गरेर त्यो विद्रोह साम्य पार्न पनि सक्नुहुन्थ्यो। तर के त्यसो गर्दा सैतानको आरोप झूटो हो भनेर साबित गर्न सकिन्थ्यो र? सकिँदैन थियो।

९ त्यसैले यहोवा परमेश्‍वरले ती विद्रोहीहरूलाई तुरुन्तै नाश गर्नुभएन। बरु उहाँले मानिसहरूलाई आफूखुसी अख्तियार चलाउने मौका दिनुभयो। यसो गर्दा सैतान गलत साबित हुने थियो। साथै यहोवा मानिसको भलो चिताउनुहुन्छ भन्‍ने कुरा साबित हुने थियो। यसबारे थप कुरा हामी अध्याय ११ मा सिक्नेछौँ। तर आदम र हव्वाको काम तपाईँलाई कस्तो लाग्यो? के तिनीहरूले सैतानको कुरा पत्याएर परमेश्‍वरको आज्ञा नमान्‍नु ठीक थियो? आदम र हव्वालाई सबै कुरा दिनुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कहिल्यै बिरामी र बूढाबूढी हुनु नपर्ने अनि मर्नु नपर्ने जीवन दिनुभएको थियो। तिनीहरूलाई सुन्दर ठाउँ र रमाइलो काम दिनुभएको थियो। तर सैतानले तिनीहरूको भलो हुने एउटा काम पनि गरेको थिएन। तपाईँ त्यहाँ हुनुभएको भए के गर्नुहुने थियो?

१०. हामी सबैले कस्तो महत्त्वपूर्ण निर्णय गर्नुपर्छ?

१० आज हामी सबैले सैतान अनि परमेश्‍वरमध्ये कसको पक्ष लिने, निर्णय गर्नुपर्छ। अनि हामीले जे रोज्छौँ, त्यसैमा हाम्रो जीवन निर्भर हुन्छ। हामी यहोवा परमेश्‍वरको पक्ष लिएर सैतानलाई गलत साबित गर्न पनि सक्छौँ अथवा सैतानको पक्ष लिएर त्यसको अधीनमा बस्न पनि सक्छौँ। (भजन ७३:२८; हितोपदेश २७:११ पढ्‌नुहोस्‌) दुःखको कुरा, परमेश्‍वरको आज्ञा मानेर उहाँको पक्ष लिने मानिसहरू थोरै छन्‌। भनौँ भने यस संसारको मालिक परमेश्‍वर हुनुहुन्‍न। त्यसोभए यस संसारको मालिक को हो त?

यस संसारको मालिक को हो?

सैतानले येसुलाई संसारको सबै सरकार वा राज्य दिन्छु भन्यो

संसारको सबै राज्य आफ्नो नभएको भए सैतानले येसुलाई ती राज्यहरू दिन्छु भन्‍न सक्थ्यो र?

११, १२. (क) सैतानले येसुसित गरेको कुराकानीबाट हामी कुन कुरा थाह पाउन सक्छौँ? (ख) यस संसारको शासकबारे बाइबलले के बताउँछ?

११ यस संसारको मालिक को हो भनेर येसुलाई राम्ररी थाह थियो। एक चोटि सैतानले उहाँलाई “संसारका सबै राज्य र त्यसको महिमा देखायो।” त्यसपछि सैतानले येसुलाई यसो भन्यो: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।” (मत्ति ४:८, ९; लुका ४:५, ६) सोच्नुहोस्‌ त, ती सबै राज्य सैतानको नभएको भए के त्यसले येसुलाई त्यसो भन्‍न सक्थ्यो र? सक्दैनथ्यो। यसको मतलब यो संसारको मालिक अर्थात्‌ शासक सैतान नै हो।

१२ तपाईँलाई लाग्ला: ‘सैतान यस संसारको मालिक कसरी हुन सक्छ? के सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले नै सबै थोक सृष्टि गर्नुभएको होइन र?’ (प्रकाश ४:११) हो, यहोवाले नै सबै थोक सृष्टि गर्नुभएको हो। तैपनि येसुले सैतानलाई “यस संसारको शासक” भन्‍नुभयो। (युहन्‍ना १२:३१; १४:३०; १६:११) पावलले पनि सैतानलाई “यस युगको ईश्‍वर” भने। (२ कोरिन्थी ४:३, ४) त्यसैगरि येसुका अर्का चेला युहन्‍नाले “सारा संसार त्यस दुष्टको हातमा परेको छ” भनेर लेखे।—१ युहन्‍ना ५:१९.

सैतानको संसार सधैँभरि टिक्नेछैन

१३. हामीलाई नयाँ संसार किन चाहिन्छ?

१३ हामी बाँचिरहेको यो संसार झन्‌झनै डरलाग्दो हुँदै गइरहेको छ। जताततै युद्ध, भ्रष्टाचार, कपट र हिंसा बढ्‌दै गइरहेको छ। मानिसहरूले लाख कोसिस गरे पनि ती कुराहरूलाई काबूमा राख्न सकेका छैनन्‌। तर परमेश्‍वरले अब चाँडै एउटा ठूलो युद्ध लड्‌दै हुनुहुन्छ, जसलाई बाइबलमा आरमागेडोन भन्‍ने नाम दिइएको छ। त्यो युद्ध लडेर उहाँले यस दुष्ट संसारलाई नाश गर्नुहुनेछ अनि त्यसको ठाउँमा नयाँ संसार बसाल्नुहुनेछ, जहाँ धर्मी मानिसहरू मात्र हुनेछन्‌।—प्रकाश १६:१४-१६; नोट ११ हेर्नुहोस्‌।

१४. परमेश्‍वरले कसलाई आफ्नो राज्यको राजा बनाउनुभयो? बाइबलमा येसुबारे कस्तो भविष्यवाणी गरिएको थियो?

१४ नयाँ संसार बसाल्न परमेश्‍वरले स्वर्गमा आफ्नो सरकार बनाउनुभएको छ। यो सरकारलाई बाइबलमा परमेश्‍वरको राज्य भनिएको छ। यहोवा परमेश्‍वरले येसु ख्रिष्टलाई त्यस राज्यको राजा बनाउनुभयो। येसु “शान्तिका राजकुमार” हुनुहुनेछ र उहाँको सरकारको कहिल्यै अन्त हुनेछैन भनेर हजारौँ वर्षअघि बाइबलमा भविष्यवाणी गरिएको थियो। (यसैया ९:६, ७) येसुले आफ्ना चेलाहरूलाई त्यस सरकारको लागि यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ति ६:१०) परमेश्‍वरको यस राज्यले संसारका सबै सरकारलाई कसरी हटाउनेछ भनेर हामी अध्याय ८ मा सिक्नेछौँ। (दानिएल २:४४ पढ्‌नुहोस्‌) त्यसपछि परमेश्‍वरको राज्यले पूरै पृथ्वीलाई एउटा सुन्दर बगैँचाजस्तै बनाउनेछ।—नोट १२ हेर्नुहोस्‌।

नयाँ संसार नजिकै छ!

मानिसहरू नयाँ संसारमा गाउँदै, बाजागाजा बजाउँदै र रमाइलो गर्दै

१५. “नयाँ पृथ्वी” भनेको के हो?

१५ बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “हामी . . . नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ, जहाँ धार्मिकताले बास गर्नेछ।” (२ पत्रुस ३:१३; यसैया ६५:१७) बाइबलको कुनै-कुनै पदमा पृथ्वीमा बस्ने मानिसहरूलाई बुझाउन पनि “पृथ्वी” शब्द चलाइएको छ। (उत्पत्ति ११:१) त्यसैले धार्मिकताले बास गर्ने “नयाँ पृथ्वी” भनेको परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँको आशिष्‌ पाउने मानिसहरू हुन्‌।

१६. नयाँ संसारमा बस्ने मौका पाउनेहरूलाई परमेश्‍वरले कस्तो जीवन दिनुहुनेछ र त्यो जीवन पाउन हामीले के गर्नुपर्छ?

१६ परमेश्‍वरको नयाँ संसारमा बस्नेहरूले “अनन्त जीवन” पाउनेछन्‌ भनेर येसुले प्रतिज्ञा गर्नुभयो। (मर्कुस १०:३०) त्यस्तो जीवन पाउन हामीले के गर्नुपर्छ? यसको जवाफ पाउन कृपया युहन्‍ना ३:१६ र १७:३ पढ्‌नुहोस्‌। नयाँ संसारको जीवनबारे बाइबल के भन्छ, अब विचार गरौँ।

१७, १८. पृथ्वीभरि शान्ति हुनेछ र हामी कुनै कुरादेखि डराउनुपर्ने छैन भनेर किन भन्‍न सक्छौँ?

१७ दुष्ट मानिस, युद्ध, अपराध र हिंसा हुनेछैन। पृथ्वीमा एक जना पनि दुष्ट मानिस हुनेछैन। (भजन ३७:१०, ११) परमेश्‍वरले “पृथ्वीबाट . . . युद्ध नामेट पार्नुहुन्छ।” (भजन ४६:९; यसैया २:४) पृथ्वीमा परमेश्‍वरलाई माया गर्ने र उहाँको आज्ञा मान्‍ने मानिसहरू मात्र हुनेछन्‌। पृथ्वीमा सधैँभरि शान्ति भइरहनेछ।—भजन ७२:७.

१८ यहोवा परमेश्‍वरको आज्ञा मान्‍ने मानिसहरू कुनै कुरादेखि डराउनुपर्ने छैन। पुरातन समयमा इस्राएलीहरूले परमेश्‍वरको आज्ञा पालन गर्दा उहाँले तिनीहरूको रक्षा गर्नुभयो। (लेवी २५:१८, १९) परमेश्‍वरले पूरै पृथ्वीलाई प्रमोदवन बनाउनुभएपछि हामी कोहीसित वा कुनै कुरासित पनि डराउनु पर्दैन। हामी सधैँ ढुक्क भएर बाँच्न सक्नेछौँ!—यसैया ३२:१८; मिका ४:४ पढ्‌नुहोस्‌।

१९. नयाँ संसारमा किन कोही पनि भोको बस्नुपर्ने छैन?

१९ कोही पनि भोको बस्नुपर्ने छैन। “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।” (भजन ७२:१६) यहोवा “हाम्रा परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ” र “पृथ्वीले आफ्नो उब्जनी दिनेछ।”—भजन ६७:६.

२०. पूरै पृथ्वी कस्तो हुनेछ?

२० पूरै पृथ्वी प्रमोदवन हुनेछ। मानिसहरूले सुन्दर-सुन्दर घर बनाउनेछन्‌ र बगैँचा लगाउनेछन्‌। (यसैया ६५:२१-२४; प्रकाश ११:१८ पढ्‌नुहोस्‌) पूरै पृथ्वी अदनको बगैँचाजस्तै सुन्दर हुनेछ। यहोवा परमेश्‍वरले हामीले चिताएको सबै कुरा पूरा गरिदिनुहुनेछ। परमेश्‍वरले “आफ्नो मुठी खोल्नुहुन्छ अनि सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ” भनेर बाइबलमा भनिएको छ।—भजन १४५:१६.

२१. मानिस र जङ्‌गली जनावरबीचको मेलमिलापबारे बाइबलले के बताउँछ?

२१ मानिस र जङ्‌गली जनावर मिलेर बस्नेछन्‌। जङ्‌गली जनावरहरूले मानिसहरूलाई कुनै हानि गर्नेछैनन्‌। साना नानीबाबुहरूसमेत अहिले हामीलाई डर लाग्ने हिंस्रक जनावरहरूसित खेल्न सक्नेछन्‌।—यसैया ११:६-९; ६५:२५ पढ्‌नुहोस्‌।

२२. बिरामीहरूलाई येसुले के गर्नुहुनेछ?

२२ कोही बिरामी पर्नेछैन। येसु पृथ्वीमा हुनुहुँदा उहाँले थुप्रै बिरामीलाई निको पार्नुभयो। (मत्ति ९:३५; मर्कुस १:४०-४२; युहन्‍ना ५:५-९) परमेश्‍वरको राज्यको राजा येसुले चाँडै सबै बिरामीलाई निको पार्नुहुनेछ। त्यसपछि कसैले पनि “म बिरामी छु” भन्‍नेछैन।—यसैया ३३:२४; ३५:५, ६.

२३. मरिसकेका मानिसहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ?

२३ मरिसकेका मानिसहरूलाई फेरि जीवित पारिनेछ। परमेश्‍वरले मरिसकेका लाखौँ मानिसलाई फेरि जीवित पार्ने प्रतिज्ञा गर्नुभएको छ। “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌” भनेर बाइबल बताउँछ।—युहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌; प्रेषित २४:१५.

२४. तपाईँ प्रमोदवनमा किन जीवन बिताउन चाहनुहुन्छ?

२४ यहोवा परमेश्‍वरको विषयमा सिकेर उहाँको सेवा गर्ने वा आफूलाई जे मन लाग्छ त्यही गर्ने, त्यो हामी प्रत्येकले रोज्नुपर्छ। हामीले यहोवा परमेश्‍वरको सेवा गर्ने निर्णय गऱ्‍यौँ भने हाम्रो भविष्य उज्ज्वल हुनेछ। एक जना व्यक्‍तिले आफ्नो मृत्यु भएपछि आफूलाई सम्झन बिन्ती गर्दा येसुले उसलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लुका २३:४३) आउनुहोस्‌, हामी पनि येसु ख्रिष्टबारे सिकौँ। उहाँले परमेश्‍वरका प्रतिज्ञाहरू पूरा गर्न कसरी मदत गर्नुहुनेछ भन्‍नेबारे अझ धेरै कुरा जानौँ।

सारांश

एक: परमेश्‍वरले हामीलाई खास उद्देश्‍यसहित सृष्टि गर्नुभयो

“धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९

परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?

  • उत्पत्ति १:२८

    मानिसहरूले पृथ्वीलाई प्रमोदवन बनाएको र जनावरहरूको हेरचाह गरेको परमेश्‍वर चाहनुहुन्थ्यो।

  • यसैया ४६:९-११; ५५:११

    परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ, कुनै कुराले उहाँलाई रोक्न सक्दैन।

दुई: पृथ्वीको हालत किन यस्तो छ?

“सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ युहन्‍ना ५:१९

यस संसारको शासक को हो?

  • युहन्‍ना १२:३१

    येसुले सैतानलाई यस संसारको शासक भन्‍नुभयो।

  • याकुब १:१३-१५

    सैतानले आफ्नो हक नलाग्ने कुरा पाउने इच्छा गऱ्‍यो।

  • उत्पत्ति २:१७; ३:१-६

    सैतानले हव्वालाई बहकायो, आदम र हव्वाले यहोवा परमेश्‍वरको आज्ञा मानेनन्‌। पछि आदम र हव्वा दुवै मरे।

  • रोमी ३:२३; ५:१२

    आदमबाट जन्मजातै पाप सरेकोले हामी पनि मर्छौँ।

  • २ कोरिन्थी ४:३, ४

    सैतान मानिसहरूलाई बहकाउँछ।

तीन: परमेश्‍वरको राज्यले समस्याहरू समाधान गर्नेछ

“तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा . . . पृथ्वीमा पनि पूरा होस्‌।”—मत्ति ६:१०

यहोवाले के गर्नुहुनेछ?

  • दानिएल २:४४

    परमेश्‍वरको सरकारले संसारका सबै सरकारलाई हटाउनेछ।

  • प्रकाश १६:१४-१६

    परमेश्‍वरले यस दुष्ट संसारलाई आरमागेडोनमा नाश गर्नुहुनेछ।

  • यसैया ९:६, ७

    यहोवाले येसुलाई स्वर्गमा स्थापित आफ्नो सरकारको राजा नियुक्‍त गर्नुभयो। येसुले पूरै पृथ्वीमा शासन गर्नुहुनेछ।

चार: परमेश्‍वरको राज्यले पृथ्वीलाई प्रमोदवन बनाउनेछ

“तपाईँ आफ्नो मुठी खोल्नुहुन्छ अनि सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ।”—भजन १४५:१६

परमेश्‍वरको राज्यले हाम्रो लागि के गर्नेछ?

  • भजन ४६:९

    युद्ध, अपराध र हिंसा हुनेछैन।

  • यसैया ३२:१८; ६५:२१-२४

    नयाँ संसारमा सबैको सुन्दर घर र बगैँचा हुनेछ अनि पृथ्वीभरि शान्ति हुनेछ।

  • भजन ७२:१६

    कोही पनि भोको बस्नुपर्ने छैन।

  • यसैया ११:६-९

    मानिस र जङ्‌गली जनावर मिलेर बस्नेछन्‌।

  • यसैया ३३:२४; प्रेषित २४:१५

    कोही पनि बिरामी हुनेछैन अनि मरिसकेका मानिसहरूलाई फेरि जीवित पारिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने