प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 डिसेम्बर p. १५
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • नायाग्रा फल्स—एकदमै विस्मयकारी अनुभव
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • के परमेश्‍वरले मलाई क्षमा दिनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • कमजोरी, दुष्टता र पश्‍चात्तापबीच भिन्‍नता छुट्ट्याउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 डिसेम्बर p. १५

पाठकहरूको प्रश्‍न

हितोपदेश २४:१६ यसो भन्छ: “धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्‌नेछ।” के यसको अर्थ कसैले बारम्बार पाप गरे पनि परमेश्‍वरले उसलाई क्षमा दिनुहुन्छ भन्‍ने हो?

वास्तवमा यस पदमा त्यसो भन्‍न खोजिएको होइन। बरु यस पदमा त्यस्तो व्यक्‍तिबारे कुरा गरिएको हो, जसले बारम्बार विभिन्‍न समस्या र कठिनाइहरूको सामना गर्छ तर ऊ ती सब सहेर फेरि उठ्‌छ।

यस पदको प्रसङ्‌ग विचार गर्नुहोस्‌: “दुष्ट मानिसजस्तो नहोऊ, जो धर्मी मानिसलाई आक्रमण गर्न उसको घरको छेउमा ढुकेर बस्छ; धर्मी मानिसको बास बस्ने थलोलाई उजाड नपार। धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्‌नेछ तर दुष्टचाहिँ विपत्ति आइपर्दा लड्‌नेछ। तिम्रो शत्रु ढल्दा नरमाऊ, उसले ठक्कर खाँदा खुसी नहोऊ।”—हितो. २४:१५-१७.

कसै-कसैको विचारमा पद १६ ले त्यस्तो व्यक्‍तिलाई बुझाउँछ, जसले पाप गर्छ तर पश्‍चात्ताप गरेर परमेश्‍वरसितको सम्बन्ध फेरि राम्रो बनाउँछ। दुई जना बेलायती धर्मगुरुअनुसार ‘पुरातन र आधुनिक समयका प्रचारकहरूले यस पदलाई यही तरिकामा बुझाएका छन्‌।’ यसबारे ती धर्मगुरुहरूले थप यसो भने: “एक जना असल मानिस थुप्रै चोटि गम्भीर पापहरूमा फस्लान्‌ तर तिनले परमेश्‍वरलाई प्रेम गर्न छोड्‌दैनन्‌। अनि पाप गर्दा हरेक चोटि पश्‍चात्ताप गरेर परमेश्‍वरसितको सम्बन्ध कायम राख्छन्‌।” पाप गर्ने प्रलोभनलाई तिरस्कार गर्न नचाहने व्यक्‍तिलाई यस्तो धारणा आकर्षक लाग्न सक्छ। बारम्बार पाप गरे पनि परमेश्‍वरले सधैँ क्षमा दिनुहुन्छ जस्तो तिनलाई लाग्न सक्छ।

तर पद १६ को अर्थ यस्तो होइन।

पद १६ र १७ मा “लड्‌नु” र “ढल्नु” भनेर अनुवाद गरिएको हिब्रू शब्दलाई प्रसङ्‌गअनुसार विभिन्‍न तरिकामा बुझ्न सकिन्छ। यसले शाब्दिक रूपमै लड्‌नु भन्‍ने अर्थ दिन सक्छ, जस्तै: गोरु बाटोमा लड्‌नु, कोही घरको छतबाट लड्‌नु वा धरहरा ढल्नु। (व्यव. २२:४, ८; यसै. ३०:२५) यस शब्दलाई प्रतीकात्मक अर्थमा पनि प्रयोग गर्न सकिन्छ, जस्तै: “ठिटाहरू थाकेर शिथिल हुनेछन्‌ र युवकहरू ठक्कर खाएर लड्‌नेछन्‌।”—यसै. ४०:३०.

तर प्राध्यापक एडवर्ड एच. प्लमट्रेले भनेको यो कुरा याद गर्नुहोस्‌: “[“लड्‌नु”] भनेर अनुवाद गरिएको हिब्रू शब्द कहिल्यै पनि पापमा फस्नुलाई बुझाउन प्रयोग गरिएको छैन।” अर्का बाइबलविद्‌ले पनि पद १६ लाई यसरी व्याख्या गरेका छन्‌: “परमेश्‍वरका मानिसहरूलाई दुःख दिनु बेकार हो किनकि तिनीहरू सधैँ जोगिन्छन्‌ तर दुष्टहरू भने जोगिँदैनन्‌!”

हितोपदेश २४:१६ ले “लड्‌ने” विषयमा कुरा गर्दा पापमा फस्नुलाई नभई पटक-पटक समस्या वा कठिनाइहरूको सामना गर्नुलाई बुझाउँछ। यस दुष्ट युगमा धर्मी मानिसले स्वास्थ्य समस्या वा अन्य किसिमका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। तिनले सरकारबाट तीव्र विरोधको समेत सामना गर्नुपर्ने हुन सक्छ। तर परमेश्‍वरको साथ पाउने कुरामा तिनी ढुक्क हुन सक्छन्‌ र तिनले यस्ता कुराहरूको सफलतासाथ सामना गर्न सक्नेछन्‌। आफैलाई सोध्नुहोस्‌, ‘विभिन्‍न अवस्थामा पछि गएर परमेश्‍वरका सेवकहरूकै भलो भएको के मैले देखेको छैनँ र?’ त्यसो हुनुको कारण के हो? “लड्‌न लागेका सबैलाई यहोवा सहारा दिनुहुन्छ अनि झुकेका सबैलाई उठाउनुहुन्छ” भनेर हामीलाई आश्‍वासन दिइएको छ।—भज. ४१:१-३; १४५:१४-१९.

“धर्मी मानिस” अरूमाथि दुःख आइपरेको देखेर खुसी हुँदैनन्‌। बरु तिनले यस कुराबाट सान्त्वना पाउँछन्‌: “आखिरमा साँचो परमेश्‍वरको डर मान्‍ने मानिसको नै भलो हुन्छ।”—उप. ८:११-१३; अय्यु. ३१:३-६; भज. २७:५, ६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने