प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 नोभेम्बर pp. ८-१३
  • हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले किन आपसमा प्रेम गर्नुपर्छ?
  • एकअर्कालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?
  • एकअर्काबीचको प्रेमलाई हामी कसरी प्रगाढ बनाउन सक्छौँ?
  • अहिले एकअर्कालाई प्रेम देखाउनु किन झनै जरुरी छ?
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
  • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”
    जागा रहो!
  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 नोभेम्बर pp. ८-१३

अध्ययन लेख ४७

हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ?

“हामी आपसमा प्रेम गरिरहौँ किनकि प्रेम परमेश्‍वरबाट आउँछ।”—१ युह. ४:७.

गीत १०९ प्रगाढ प्रेम

परिचयa

१-२. (क) प्रेषित पावलले किन प्रेम “सर्वोत्तम” गुण हो भने? (ख) हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौँ?

प्रेषित पावलले विश्‍वास, आशा र प्रेमबारे चर्चा गरेपछि अन्तमा यसो भने: “यीमध्ये सर्वोत्तमचाहिँ प्रेम हो।” (१ कोरि. १३:१३) पावलले किन यसो भने? किनभने भविष्यमा हामीले आशा गरेका कुराहरू पूरा भइसकेका हुनेछन्‌। त्यसैले नयाँ संसारबारे परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वास गरिरहनुपर्नेछैन। तर यहोवा र मानिसहरूलाई भने हामीले सधैँ प्रेम गरिरहनुपर्छ। वास्तवमा भन्‍ने हो भने उहाँहरूप्रतिको हाम्रो प्रेम बढ्‌दै जानेछ।

२ हामीले यहोवा र मानिसलाई सधैँ प्रेम गर्नुपर्छ। त्यसैले आउनुहोस्‌, तीन वटा प्रश्‍न विचार गरौँ। पहिलो, हामीले किन आपसमा प्रेम गर्नुपर्छ? दोस्रो, एकअर्कालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ? तेस्रो, एकअर्काबीचको प्रेमलाई हामी कसरी प्रगाढ बनाउन सक्छौँ?

हामीले किन आपसमा प्रेम गर्नुपर्छ?

३. हामीले किन आपसमा प्रेम गर्नुपर्छ?

३ एकअर्कालाई प्रेम गर्नु किन महत्त्वपूर्ण छ? एउटा कारण, प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो। येसुले प्रेषितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (युह. १३:३५) साथै एकअर्कालाई प्रेम गर्छौँ भने हामी एकतामा रहन सक्छौँ। पावलले प्रेम “एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो” भने। (कल. ३:१४) तर हामीले प्रेम गर्नुपर्ने अर्को महत्त्वपूर्ण कारण पनि छ। यसबारे प्रेषित युहन्‍नाले यस्तो लेखे: “जसले परमेश्‍वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।” (१ युह. ४:२१) एकअर्कालाई प्रेम गर्दा हामीले परमेश्‍वरलाई प्रेम गरेको देखाइरहेका हुन्छौँ।

४-५. परमेश्‍वरप्रतिको प्रेम र भाइबहिनीप्रतिको प्रेम कसरी सम्बन्धित छ? उदाहरणसहित बताउनुहोस्‌।

४ परमेश्‍वरप्रतिको प्रेम र भाइबहिनीप्रतिको प्रेम कसरी सम्बन्धित छ? यो कुरा बुझ्न मुटु र शरीरका अन्य अङ्‌गहरूबीचको सम्बन्ध विचार गरौँ। डाक्टरले नाडी छामेर मुटुको अवस्था कस्तो छ भन्‍नेबारे केही कुरा थाह पाउन सक्छन्‌। यस उदाहरणबाट के सिक्न सक्छौँ?

५ डाक्टरले नाडी छामेर मुटुको अवस्थाबारे केही कुरा थाह पाउन सक्छन्‌। त्यसैगरि भाइबहिनीप्रतिको हाम्रो प्रेम कत्तिको बलियो छ भन्‍ने कुरा जाँचेर परमेश्‍वरप्रतिको हाम्रो प्रेम कत्तिको प्रगाढ छ भनेर केही कुरा थाह पाउन सक्छौँ। यदि भाइबहिनीप्रतिको हाम्रो प्रेम सेलाउँदै गएको याद गऱ्‍यौँ भने त्यो कुरा परमेश्‍वरप्रतिको हाम्रो प्रेम पनि सेलाउँदै गइरहेको सङ्‌केत हुन सक्छ। तर भाइबहिनीलाई प्रेम देखाइरहेका छौँ भने त्यो कुरा परमेश्‍वरप्रतिको हाम्रो प्रेम प्रगाढ छ भन्‍ने कुराको चिन्ह हो।

६. भाइबहिनीप्रतिको हाम्रो प्रेम सेलाउँदै जानु किन गम्भीर समस्या हो? (१ युहन्‍ना ४:७-९, ११)

६ यदि भाइबहिनीप्रतिको हाम्रो प्रेम सेलाउँदै गइरहेको छ भने त्यो गम्भीर समस्या हो। किन? किनभने त्यो कुरा यहोवासितको हाम्रो सम्बन्ध कमजोर भएको सङ्‌केत हुन सक्छ। यस कुरालाई स्पष्ट पार्दै प्रेषित युहन्‍नाले यसो भने: “जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन, उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।” (१ युह. ४:२०) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले “आपसमा प्रेम” गऱ्‍यौँ भने मात्रै यहोवा हामीसित खुसी हुनुहुनेछ।—१ युहन्‍ना ४:७-९, ११ पढ्‌नुहोस्‌।

एकअर्कालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?

७-८. भाइबहिनीलाई प्रेम गरेको देखाउने केही तरिका बताउनुहोस्‌।

७ बाइबलमा पटक-पटक “आपसमा प्रेम गर” भन्‍ने आज्ञा दिइएको छ। (युह. १५:१२, १७; रोमी १३:८; १ थिस्स. ४:९; १ पत्रु. १:२२; १ युह. ४:११) तर प्रेम एउटा भावना हो, जुन मानिसको आँखाले देख्न सक्दैन। त्यसोभए अरूलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ? आफ्नो बोली र व्यवहारबाट।

८ भाइबहिनीलाई प्रेम गरेको देखाउने थुप्रै तरिका छन्‌। केही उदाहरण विचार गरौँ: “एकअर्कासित साँचो बोल्नू।” (जक. ८:१६) “आपसमा शान्ति कायम राख।” (मर्कु. ९:५०) “एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।” (रोमी १२:१०) “एकअर्कालाई स्वीकार गर।” (रोमी १५:७) “एकअर्कालाई . . . क्षमा गरिरहो।” (कल. ३:१३) “एकअर्काको बोझ बोक्ने गर।” (गला. ६:२) “एकअर्कालाई . . . सान्त्वना दिइरहो।” (१ थिस्स. ४:१८) “एकअर्काको उत्थान गरिरहो।” (१ थिस्स. ५:११) “एकअर्काका लागि प्रार्थना गर।”—याकु. ५:१६.

तस्बिरहरूको सँगालो: १. एक बहिनी प्रार्थना गर्दै छिन्‌। २. तिनी अर्की बहिनीको कुरा सुन्दै छिन्‌। ३. तिनी बिरामी परेकी वृद्ध दिदीसित भिडियो कल गर्दै छिन्‌। ४. तिनी उपहारसितै नोट पठाउन केही लेख्दै छिन्‌। ५. तिनी हातमा प्लास्टर गरिएकी बहिनीसँगै खाना खाँदै छिन्‌।

दुःखमा परेका भाइबहिनीलाई हामी कसरी मदत गर्न सक्छौँ? (अनुच्छेद ७-९ हेर्नुहोस्‌)

९. अरूलाई सान्त्वना दिनु किन प्रेम देखाउने एउटा महत्त्वपूर्ण तरिका हो? (तस्बिर पनि हेर्नुहोस्‌।)

९ अघिल्लो अनुच्छेदमा बताइएका केही तरिकामध्ये प्रेम देखाउने एउटा तरिका विचार गरौँ। पावलले यस्तो सल्लाह दिए: “एकअर्कालाई . . . सान्त्वना दिइरहो।” अरूलाई सान्त्वना दिनु किन प्रेम देखाउने एउटा महत्त्वपूर्ण तरिका हो? “सान्त्वना” भनेर अनुवाद गरिएको ग्रीक शब्दबारे बाइबलसम्बन्धी एउटा किताबमा यसो भनिएको छ: त्यस शब्दको अर्थ “कुनै व्यक्‍तिले कठिन परीक्षाको सामना गर्दा तिनलाई प्रोत्साहन दिन तिनको छेवैमा उभिनु हो।” त्यसैले दुःखमा परेका भाइबहिनीलाई सान्त्वना दिँदा हामीले तिनीहरूलाई हरेस नखान अनि जीवनको बाटोमा हिँडिरहन मदत गरिरहेका हुन्छौँ। दुःखमा परेका कुनै भाइबहिनीको आँसु पुछिदिँदा हामीले तिनलाई प्रेम गरेको देखाइरहेका हुन्छौँ।—२ कोरि. ७:६, ७, १३.

१०. करुणा महसुस गर्नु र सान्त्वना दिनु कसरी सम्बन्धित छ?

१० करुणा महसुस गर्नु र सान्त्वना दिनु कसरी सम्बन्धित छ? करुणा भएको व्यक्‍ति दुःखमा परेकाहरूलाई सान्त्वना दिन र तिनीहरूलाई कुनै तरिकामा मदत गर्न उत्प्रेरित हुन्छन्‌। त्यसैले करुणा महसुस नगरी हामी अरूलाई सान्त्वना दिन सक्दैनौँ। पावलले यहोवाको करुणालाई उहाँले दिनुहुने सान्त्वनासित कसरी जोडे, विचार गर्नुहोस्‌। तिनले उहाँबारे यसो भने: “उहाँ कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।” (२ कोरि. १:३) यहोवाले मानिसहरूप्रति करुणा महसुस गर्नुहुने भएकोले पावलले उहाँलाई “कोमल कृपाका बुबा” भने। त्यसैले उहाँलाई करुणाका मूल भन्‍न सकिन्छ। अनि त्यही करुणाले गर्दा उहाँ हामीलाई “सबै परीक्षामा सान्त्वना” दिन उत्प्रेरित हुनुहुन्छ। (२ कोरि. १:४) जसरी मूलको शुद्ध पानीले तिर्खाएकाहरूलाई स्फूर्ति दिन्छ, त्यसैगरि यहोवा दुःखमा परेकाहरूलाई स्फूर्ति र सान्त्वना दिनुहुन्छ। करुणा महसुस गर्ने र अरूलाई सान्त्वना दिने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ? एउटा तरिका भनेको सान्त्वना दिन मदत गर्ने गुणहरू विकास गर्नु हो। तीमध्ये केही गुण के-के हुन्‌?

११. कलस्सी ३:१२ र १ पत्रुस ३:८ अनुसार अरूलाई प्रेम गर्न र सान्त्वना दिन हामीले कुन-कुन गुण विकास गर्नुपर्छ?

११ हामी कसरी हरेक दिन एकअर्कालाई प्रेम गरिरहन र ‘सान्त्वना दिइरहन’ सक्छौँ? भ्रातृस्नेह, दया अनि एकअर्काको पीडा महसुस गर्नेजस्ता गुणहरू विकास गरेर। (कलस्सी ३:१२; १ पत्रुस ३:८ पढ्‌नुहोस्‌।) यी गुणहरूले हामीलाई के गर्न मदत गर्छ? करुणा र त्यससित सम्बन्धित गुणहरूलाई आफ्नो व्यक्‍तित्वको अभिन्‍न भाग बनायौँ भने दुःखमा परेकाहरूलाई सान्त्वना नदिई हामी बस्नै सक्दैनौँ। हो, येसुले भन्‍नुभएझैँ “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ। असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ।” (मत्ति १२:३४, ३५) साँच्चै, दुःखमा परेका भाइबहिनीलाई प्रेम देखाउने एउटा महत्त्वपूर्ण तरिका सान्त्वना दिनु हो।

एकअर्काबीचको प्रेमलाई हामी कसरी प्रगाढ बनाउन सक्छौँ?

१२. (क) हामी किन सचेत रहनुपर्छ? (ख) अब हामी कुन प्रश्‍न छलफल गर्नेछौँ?

१२ हामी सबै जना ‘आपसमा प्रेम गरिरहन’ चाहन्छौँ। (१ युह. ४:७) तर हामीले येसुको यस चेतावनीलाई पनि मनमा राख्नुपर्छ: “धेरै जनाको प्रेम सेलाएर जानेछ।” (मत्ति २४:१२) यहाँ येसुले आफ्ना अधिकांश चेलाबीचको प्रेम सेलाएर जानेछ भन्‍न खोजिरहनुभएको थिएन। तर यस संसारको स्वार्थी मनोभावको प्रभावमा नपर्न हामी सचेत रहनुपर्छ। यस कुरालाई मनमा राख्दै एउटा महत्त्वपूर्ण प्रश्‍न विचार गरौँ: भाइबहिनीप्रतिको हाम्रो प्रेम बलियो छ कि छैन भनेर थाह पाउने के कुनै तरिका छ?

१३. कस्तो कुराले गर्दा हाम्रो प्रेमको जाँच हुन सक्छ?

१३ अरूप्रतिको हाम्रो प्रेम कत्तिको बलियो छ भनेर थाह पाउने एउटा तरिका कुनै परिस्थितिमा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ भनेर जाँच्नु हो। (२ कोरि. ८:८) त्यस्तै एउटा परिस्थितिबारे प्रेषित पत्रुसले बताएका छन्‌। तिनले यसो भने: “सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।” (१ पत्रु. ४:८) अरूले गल्ती गर्दा वा हाम्रो चित्त दुखाउँदा हाम्रो प्रेमको जाँच हुन सक्छ।

१४. पहिलो पत्रुस ४:८ अनुसार हामीमा कस्तो किसिमको प्रेम हुनुपर्छ? उदाहरणसहित बताउनुहोस्‌।

१४ पत्रुसका शब्दहरूलाई केलाएर हेरौँ। पद ८ को पहिलो भागमा बताइएअनुसार हाम्रो प्रेम “प्रगाढ” हुनुपर्छ। पत्रुसले यहाँ चलाएको “प्रगाढ” शब्दको शाब्दिक अर्थ “तन्काउनु” हो। त्यस पदको दोस्रो भागमा त्यस्तो प्रेमले के गर्छ भनेर बताइएको छ। त्यसले भाइबहिनीका पापहरू ढाक्छ। कल्पना गर्नुहोस्‌, एउटा टेबुलमा दागैदाग छ। हामी एउटा कपडालाई तनक्क तन्काएर टेबुलको एउटा वा दुइटा मात्र होइन, सबै दाग ढाक्न सक्छौँ। त्यसैगरि यदि हामीमा भाइबहिनीप्रति प्रगाढ प्रेम छ भने हामी तिनीहरूको एउटा वा दुइटा कमजोरी मात्र होइन, “असङ्‌ख्य पापहरू” ढाक्न अर्थात्‌ क्षमा दिन सक्छौँ।

१५. भाइबहिनीप्रतिको प्रेम प्रगाढ छ भने हामीले के गर्न सक्नेछौँ? (कलस्सी ३:१३)

१५ भाइबहिनीप्रतिको हाम्रो प्रेम प्रगाढ छ भने क्षमा दिन एकदमै गाह्रो हुँदा समेत हामीले तिनीहरूलाई क्षमा दिन सक्नेछौँ। (कलस्सी ३:१३ पढ्‌नुहोस्‌।) भाइबहिनीलाई क्षमा दिन सक्यौँ भने तिनीहरूप्रतिको हाम्रो प्रेम प्रगाढ छ र हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ। अरूको चिढ्याउने आनीबानी वा कमीकमजोरीलाई बेवास्ता गर्न हामीलाई अरू केले मदत गर्न सक्छ?

एक भाइ ग्रुप फोटोहरूमध्ये एउटा डिलिट गर्दै छन्‌। अर्को फोटो प्रिन्ट गरेर फ्रेममा राखेर सजाइएको छ।

जसरी हामी राम्रा फोटोहरू राखेर नराम्रा फोटोहरू डिलिट गर्छौँ, त्यसैगरि हामी भाइबहिनीसितको मीठा सम्झनाहरू साँचेर राख्छौँ र तीता सम्झनाहरू भुल्ने कोसिस गर्छौँ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६-१७. भाइबहिनीको सानोतिनो गल्ती बेवास्ता गर्न हामी अरू के गर्न सक्छौँ? उदाहरणसहित बताउनुहोस्‌। (तस्बिर पनि हेर्नुहोस्‌।)

१६ भाइबहिनीका नराम्रा गुणहरूमा होइन, राम्रा गुणहरूमा ध्यान दिनुहोस्‌। एउटा उदाहरण विचार गरौँ। तपाईँ भाइबहिनीसित एउटा जमघटमा हुनुहुन्छ। तपाईँ तिनीहरूसित रमाइलो गर्नुहुन्छ अनि अन्तमा ग्रुप फोटो खिच्नुहुन्छ। एउटा मात्र फोटो खिच्यो भने ‘कस्तो आउँछ, कस्तो आउँछ’ भन्‍ने लागेकोले तपाईँ अरू दुई वटा फोटो पनि खिच्नुहुन्छ। अब तपाईँसित तीन वटा फोटो छन्‌। तर एउटा फोटोमा एक जना भाइले अनुहार बिगारिरहेको तपाईँ याद गर्नुहुन्छ। तपाईँ त्यो फोटो के गर्नुहुन्छ? पक्कै पनि डिलिट गर्नुहुन्छ किनभने तपाईँसित अरू दुई वटा फोटो छन्‌, जसमा ती भाइलगायत ग्रुपका सबै जना मुस्कुराइरहेका छन्‌।

१७ ती फोटोहरूलाई हाम्रो सम्झनामा भएका कुराहरूसित तुलना गरेर हेरौँ। हामी सबैले साधारणतया भाइबहिनीसित यादगार समय बिताएका हुन्छौँ। तर मानौँ, एकचोटि कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुख्ने केही कुरा भने वा गरे। त्यस्तो सम्झनालाई तपाईँले के गर्नुपर्छ? बिग्रिएको फोटो डिलिट गरेजस्तै त्यस्तो तीतो सम्झना पनि बिर्सने कोसिस गर्नुभए कसो होला? (हितो. १९:११; एफि. ४:३२) हामी ती भाइ वा बहिनीले गरेको सानोतिनो गल्ती बिर्सन सक्छौँ किनभने तिनीसित बिताएका थुप्रै मीठा सम्झना हामीसित छन्‌। हामी त्यस्ता मीठा सम्झनाहरूलाई साँचेर राख्न चाहन्छौँ।

अहिले एकअर्कालाई प्रेम देखाउनु किन झनै जरुरी छ?

१८. यस लेखमा हामीले प्रेमबारे कस्ता महत्त्वपूर्ण कुराहरू सिक्यौँ?

१८ हामी एकअर्काप्रतिको प्रेमलाई किन प्रगाढ बनाइरहन चाहन्छौँ? हामीले छलफल गरेझैँ भाइबहिनीलाई प्रेम गरेको देखाउँदा यहोवालाई प्रेम गरेको देखाइरहेका हुन्छौँ। हामी भाइबहिनीलाई प्रेम गरेको कसरी देखाउन सक्छौँ? एउटा तरिका, तिनीहरूलाई सान्त्वना दिएर हो। यदि हामी तिनीहरूप्रति करुणा महसुस गर्छौँ भने तिनीहरूलाई ‘सान्त्वना दिइरहन’ सक्नेछौँ। हामी एकअर्काप्रतिको प्रेमलाई कसरी प्रगाढ बनाइरहन सक्छौँ? भाइबहिनीको गल्तीले गर्दा क्षमा दिन गाह्रो हुँदा समेत क्षमा दिन सक्दो गरेर।

१९. अहिले एकअर्कालाई प्रेम देखाउनु किन झनै जरुरी छ?

१९ अहिले एकअर्कालाई प्रेम देखाउनु किन झनै जरुरी छ? यसको कारणबारे पत्रुसले यसो भने: “सबै कुराको अन्त नजिक आइपुगेको छ। त्यसैले . . . आपसमा प्रगाढ प्रेम गर।” (१ पत्रु. ४:७, ८) यस दुष्ट संसारको अन्त नजिकिँदै जाँदा चेलाहरूले कस्तो अवस्थाको सामना गर्नुपर्नेछ भनेर येसुले बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।” (मत्ति २४:९) यस्तो घृणा सहँदै यहोवाप्रति वफादार भइरहन हामी एकतामा रहनुपर्छ। सैतानले हामीमा फुट ल्याउन गर्ने प्रयास विफल हुनेछ किनभने हामी “एकतामा पूर्ण रूपमा गाँस्ने [प्रेमको] बन्धनमा” बाँधिएका छौँ।—कल. ३:१४; फिलि. २:१, २.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीले भाइबहिनीलाई किन प्रेम गर्नुपर्छ?

  • हामी भाइबहिनीलाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?

  • अरूलाई क्षमा दिन तयार हुनु किन प्रेमको अभिव्यक्‍ति हो?

गीत १३० क्षमा दिने गरौँ!

a अहिले भाइबहिनीलाई प्रेम देखाउनु झनै जरुरी भएको छ। किन? हामी तिनीहरूलाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने